पोखरा: एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता खेल्ने गण्डकी प्रदेशको टोली घोषणा भएको छ । गण्डकी भलिबल संघले ३ विदेशीसहित १२ खेलाडीको घोषणा गरेको हो । टोलीमा विदेशी खेलाडीको रुपमा ट्युनिसियाका फाहिम मिलाडी, कंगोका यानिक सेशा र भारतका रोमन कुमार छन् । यसअघि केन्याका निकोशल मातुयी ल्याउने तय भएपनि अन्तिम समयमा उनको ठाउँमा भारतका रोमनलाई ल्याइएको प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङले जानकारी दिए । गण्डकी अघिल्लो संस्करणको उपविजेता टोली पनि हो । यसपटक टाइगर कपमा सञ्जुविक्रम शाह गण्डकीको टोलीमा फर्किएका छन् । सञ्जुले केही समय गण्डकीको कप्तानी गरेका थिए । पछिल्लो समय हेल्प नेपालबाट खेल्दै आएका उनी टाइगर कपमा गण्डकीमा फर्किएका हुन् । सञ्जुसँगै गण्डकीको टोलीमा हरि पाण्डे, विवश आले, सन्तोष विक र इन्द्र विक समावेश छन् । यस्तै नरबहादुर सुनार, हिमाल सुनारी, विश्वास अधिकारी र कुञ्जन शाहीले पनि गण्डकीको टोलीबाट खेल्दैछन् । टोलीको प्रशिक्षक रमेश केसी छन् । शनिबारबाट सुरु हुने पाँचौं संस्करणको टाइगर कप भलिबल १९ गतेसम्म चल्नेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुन लागेको प्रतियोगितामा सहभागी हुन विदेशी खेलाडी तथा टोली पोखरा आइरहेका छन् ।
पोखरा: एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा आयोजक टोलीमा अनुबन्ध भएका ३ विदेशी खेलाडी पोखरा आइपुगेका छन् । थाइल्यान्डका जान्तिमा नोराथात, नान्तिकान टुनिपो र अम्फा सोमसुरात आयोजकबाट टोलीबाट टाइगर कप खेल्न बिहीबार साँझ पोखरा आइपुगेका हुन् । उनीहरुलाई स्वागत गर्न कप्तान अरुणा शाही, प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङ, गण्डकी प्रदेश भलिबल प्रशिक्षक रमेश केसीसहितका टोली पोखरा विमानस्थल पुगेका थिए । आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले पहिलोपटक आयोजक महिला टोली सहभागी बनाउन लागेको हो । आयोजक टोलीको नेतृत्व राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाहीले गर्ने छिन् । टोलीको प्रशिक्षकको रुपमा अर्जुन घिमिरे रहनेछन् । टोलीमा तीन विदेशीसहित राष्ट्रिय यु–२० टोलीबाट खेलेका ४ खेलाडी समावेश छन् । गत साउनमा भएको काभा यू–२० महिला भलिबलमा नेपालको कप्तानी गरेकी मिना सुनारसहित निशा चौधरी, अनुषा चौधरी र आरती चौधरी टाइगर कपमा आयोजकको टोलीमा छन् । यसबाहेक गण्डकी प्रदेशबाट खेलिरहेका खेलाडीलाई टोलीमा समावेश गरिएको छ । माघ १२ देखि १९ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने उक्त प्रतियोगितामा महिलातर्फ आयोजकसहित एक विदेशी गरी ६ टोलीले सहभागिता जनाएका छन् । आयोजकका अनुसार विभागीय टोलीबाहेक अन्य टोली पनि विदेशी खेलाडी अनुबन्ध गर्ने छन् । पुरुषतर्फ पनि एक विदेशीसहित ६ टोली सहभागी भएका छन् ।
काठमाडौं: आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ । मलेसियाको युकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग ८३ रनले पराजित भएको हो । अष्ट्रेलियाले दिएको एक सय ४० रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ५६ रनमा समेटियो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक १८ रन जोडिन् । पूजाबाहेक अन्य नेपाली खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । अष्ट्रेलियाका लागि जुलिटि मोर्टोन, लिली बासिङ्थवाइट र हसरत गिलले समान दुई÷दुई विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३९ रनको योगफल तयार गरेको थियो । अष्ट्रेलियाका लागि काइम्हे ब्रेले ३४ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ४५ रन बनाएकी हुन् । इलियनर लारोसाले ३९ बलमा तीन चौका प्रहार गर्दै ३१ रन बनाइन् । हसरत गिलले ३०, क्लोइ क्याथरिनले अविजित १६ र इनेस आकेओनले आठ रन बनाइन् । बलिङतर्फ नेपालकी कप्तान पूजा महतोले तीन विकेट लिइन् भने सीमना केसीले दुई र रिया शर्माले एक विकेट झारेकी थिइन् । विश्वकपमा नेपालको यो लगातार तेस्रो हार हो । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच र दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो । यो जितसँगै अष्ट्रेलियाले समूह चरणको खेलमा अपराजित रहँदै सुपर सिक्समा छनोट भएको छ । अष्ट्रेलियाले यसअघि स्कटल्याण्डलाई नौ र बङ्गलादेशलाई दुई विकेटले पराजित गरेको थियो ।
पोखरा: कास्कीको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका १०/११ घान्द्रुकमा तेस्रो घान्द्रुक पर्यटन महोत्सव आगामी फागुन ७ देखि १० गतेसम्म हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले घान्द्रुक पर्यटन महोत्सव आगामी फागुन ७ देखि सुरु हुने बताए । ‘सबै मौसममा पर्यटन भन्ने नारालाई आत्मसाथ गर्दै तेस्रो घान्द्रुक पर्यटन महोत्सव फागनु ७ देखि १० गतेसम्म सञ्चालन गर्दै छौं’, अध्यक्ष गुरुङले भने, ‘४ दिनसम्म सञ्चालन हुने महोत्सवमा क्लबस्तरीय पुरुष भलिबल, बास्केटबल, भेन्ट्रान्स भलिबल, घोडादौड, छेलो लगायतका प्रतियोगिता आयोजना गरिएको छ ।’ अध्यक्ष गुरुङले खेलकुदलाई पर्यटनसँग जोड्न महोत्सवमा खेलकुदलाई जोडिएको बताए ।‘खेलकुद पनि पर्यटनसँग जोडिएको छ, पर्यटन महोत्सवमा खेलकुदलाई जोड्दा खेलाडी र पर्यटकीय क्षेत्रलाई दुवैलाई फाइदा छ, उनले भने, ‘ढुङ्गेनी गाउँले परिचित घान्द्रुकलाई जोड्न खेलकुदले पनि महत्वपूर्ण योगदान पुग्ने अपेक्षासमेत लिएका छौं । मेश्रम बराह मावि घान्द्रुकको प्राङ्गणमा हुने महोत्सवमा क्लबस्तरीय पुरुष भलिबल, बास्केटबल, भेन्ट्रान्स भलिबल, घोडादौड, छेलो लगायतका प्रतियोगिता आयोजना गरिएको छ । क्लबस्तरीय भलिबल र खुल्ला बास्केटबल प्रतियोगिताको विजेताले क्रमशः १ लाख २२ हजार २ सय २२ र उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडर र प्रमाणपत्र प्राप्त गर्ने लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक एवम् महोत्सव संयोजक अमृत गुरुङले जानकारी दिए । उनका अनुसार भलिबल र बास्केटबल प्रतियोगितामा सहभागिता जनाउन एक समूहलाई ६÷६ हजार शुल्क निर्धारण गरिएको छ । प्रतियोगिताको दुवै विधामा सेमिफाइनलबाट बाहिरिने दुवै समूहलाई नगद १०÷१० हजार पुरस्कार प्रदान गर्ने गुरुङले जानकारी दिए । यस्तै महोत्सवमा आयोजित भेन्ट्रान्स भलिबल प्रतियोगिताको बिजेताले नगद ३० हजार उपविजेता टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । भेन्ट्रान्स भलिबलमा सहभागिताका लागि एक समूहलाई ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । यस्तै महोत्सवमा आयोजित घोडादौड प्रतियोगितामा प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार पुरस्कार प्राप्त गर्नेछन् । महोत्सवको पत्येक साँझ सास्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिएको आयोजकले जनाएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रकमा एकैदिन २ हजार ५ सय पर्यटकलाई राख्न सक्ने क्षमताको ६० वटा होटल र ३० वटा होमस्टे सञ्चालनमा रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका कोषाध्यक्ष कृष्ण गुरुङले जानकारी दिए । पोखराबाट साढे २ घण्टाको सवारी यात्रामा पोखरा बागलुङसडकखण्डको नयाँपुल, विरेठाटीहुँदे घान्द्रुक पुग्न सकिन्छ । घान्द्रुकबाट भैसीखर्क–टाडापानी,वनठाटी, देउराली हुँदै म्याग्दीको घोडेपानी र घान्द्रुुक हुँदै टाडापानी–इसरु, दोबाटो, मुल्डेहुँदै म्याग्दीको खोर्पा लेक र हिडन लेक जान सकिन्छ भने, घान्द्रुक,छोम्रोङ हुदै अन्नपूर्ण बेसक्यापसमेत जान सकिन्छ ।
काठमाडौं: आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाले नेपाललाई जितका लागि एक सय ४० रनको लक्ष्य दिएको छ । मलेसियाको युकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ३९ रनको योगफल बनाएको हो । अष्ट्रेलियाका लागि काइम्हे ब्रेले सर्वाधिक ४५ रनको योगदान दिइन् । उनले ३४ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ४५ रन बनाएकी हुन् । इलियनर लारोसाले ३९ बलमा तीन चौका प्रहार गर्दै ३१ रन बनाइन् । हसरत गिलले ३०, क्लोइ क्याथरिनले अविजित १६ र इनेस आकेओनले आठ रन बनाइन् । बलिङतर्फ नेपालकी कप्तान पुजा महतोले तीन विकेट लिइन् भने सिमना केसीले दुई र रिया शर्माले एक विकेट झारिन् । अष्ट्रेलियाविरुद्धको खेलमा नेपाललाई जित्नै पर्ने दबाब रहेको छ । नेपालले सुपर सिक्सको यात्रा तय गर्नका लागि पनि समूह ‘डि’ को सबैभन्दा बलियो टोलीका रूपमा रहेको अष्ट्रेलियालाई जित्नै पर्ने दबाब रहेको हो । यसअघि अष्ट्रेलियाले स्कटल्याण्डलाई नौ र बङ्गलादेशलाई दुई विकेटले पराजित गरेको थियो । अष्ट्रेलिया भने विश्वकपको सिक्समा छनोट भइसकेको छ । नेपालले यसअघि खेलको दुई खेलमा दुवैमा पराजित भएको छ । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच र दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो । आज अष्ट्रेलियासँग पराजित भएमा नेपाल प्रतियोगिताबाट बाहिरिने छ । अहिले नेपाल जवाफी ब्याटिङमा उत्रेको छ ।
काठमाडौं: आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज अष्ट्रेलियाविरुद्धको खेलमा नेपालले टस हारेको छ । मलेसियाको युकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा भर्खरै भएको टसमा अष्ट्रेलियाले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । योसँगै नेपालले पहिला बलिङको निम्तो पाएको हो । अष्ट्रेलियाविरुद्धको खेलमा नेपाललाई जित्नै पर्ने दबाब रहेको छ । नेपालले सुपर सिक्सको यात्रा तय गर्नका लागि पनि समूह ‘डि’ को सबैभन्दा बलियो टोलीका रूपमा रहेको अष्ट्रेलियालाई जित्नै पर्ने दबाब रहेको हो । यसअघि अष्ट्रेलियाले स्कटल्याण्डलाई नौ र बङ्गलादेशलाई दुई विकेटले पराजित गरेको थियो । अष्ट्रेलिया भने विश्वकपको सिक्समा छनोट भइसकेको छ । नेपालले यसअघि खेलको दुई खेलमा दुवैमा पराजित भएको छ । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच र दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो । आज अष्ट्रेलियासँग पनि पराजित भएमा नेपाल प्रतियोगिताबाट बाहिरिने छ । नेपालको प्लेइङ–११ मा कप्तान पूजा महतोसँगै साना प्रविन, सावित्रा धामी, रिया शर्मा, अलिशाकुमारी यादव, कृष्मा गुरुङ, तृषना विक, ज्योत्सिका मरासिनी, सिमाना केसी, रचना चौधरी र अनु कडायत छन् ।
पोखरा: एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा आयोजकले पहिलोपटक टोली सहभागी बनाउँदैछ । पाँचौं संस्करणमा आइपुग्दा आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले पहिलोपटक आयोजक महिला टोलीले सहभागी बनाउन लागेको हो । आयोजक टोलीको नेतृत्व राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाहीले गर्ने छिन् । अरुणा नेपाली भबिलककै सर्वाब्धिक सफल कप्तान हुन् । एक दशकदेखि राष्ट्रिय टोलीमा रहेकी अरुणाले सन् २०१९ देखि राष्ट्रिय टोलीको नेतृत्व गर्दै आएकी छन् । टोलीको प्रशिक्षकको रुपमा अर्जुन घिमिरे रहनेछन् । उनले गत असोजमा भएको एभरेष्ट महिला भलिबल लिगमा चितवन शक्तिको प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेका थिए । उनकै प्रशिक्षणमा एभरेष्ट भलिबल क्लबले पहिलो पटक एनभिए महिला भलिबलको उपाधि जितेको थियो । प्रशिक्षक घिमिरेले टोलीमा तीन विदेशी खेलाडी अनुबन्ध गरेका छन् । अनुबन्ध हुनेमा थाइल्यान्डका जान्तिमा नोराथात, नान्तिकान टुनिपो र अम्फा सोमसुरात छन् । अम्फा मिडल ब्लकर हुन् भने जान्तिमा र नान्तिकान आउट साइड हिटर हुन् । तिनै जना खेलाडी थाइल्यान्डमा जारी लिग खेलेका टोलीका खेलाडी रहेको टोलीका प्रशिक्षक अर्जुन घिमिरेले जानकारी दिए । ‘उहाँहरु थाइल्यान्डको लिग खेलेका टिमका खेलाडी हुनुहुन्छ । लिगको टप–८ बाट बाहिरिएको टोलीका सदस्य हुनुहुन्छ । उहाँहरुको खेल हेरेको राम्रै छ,’ उनले भने । टोलीमा तीन विदेशीसहित राष्ट्रिय यु–२० टोलीबाट खेलेका ४ खेलाडी समावेश छन् । गत साउनमा भएको काभा यू–२० महिला भलिबलमा नेपालको कप्तानी गरेकी मिना सुनारसहित निशा चौधरी, अनुषा चौधरी र आरती चौधरी टाइगर कपमा आयोजकको टोलीमा छन् । यसबाहेक गण्डकी प्रदेशबाट खेलिरहेका खेलाडीलाई टोलीमा समावेश गरिएको प्रशिक्षक घिमिरेले बताए । प्रशिक्षक घिमिरेकाअनुसार विदेशी खेलाडीसँगै टोलीको प्रशिक्षण गर्न एक दिनमात्रै हुनेछ । ‘उहाँहरुसँगै टेनिङ गर्न एक दिन मात्रै हुने हो । इन्डिभिजन सबै राम्रो छ । टिम कम्बिनेशनको डर हो,’ उनले भने, ‘कसरी हुन्छ विजयी हुनुपर्छ भन्ने हाम्रो लक्ष्य हो । टिम कम्बिनेशन मिल्यो भने उपाधि जित्छौं ।’ व्यक्तिगत रुपमा अहिले पनि खेलाडीले टेनिङ गरिरहेको प्रशिक्षक घिमिरले बताए । माघ १२ देखि १९ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने उक्त प्रतियोगितामा महिलातर्फ आयोजकसहित एक विदेशी गरी ६ टोलीले सहभागिता जनाएका छन् । आयोजकका अनुसार विभागीय टोलीबाहेक अन्य टोली पनि विदेशी खेलाडी अनुबन्ध गर्ने छन् । पुरुषतर्फ पनि एक विदेशीसहित ६ टोली सहभागी भएका छन् । प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फको विजेताले ५ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन् । उपविजेतालाई समान २ लाख ८५ हजार ५५५ र तृतीय हुने टोलीले १ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
पोखरा: एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता माघ १२ देखि १९ गतेसम्म पोखरा रंगशालामा हुँदैछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा दुई विदेशीसहित ६–६ टोलीले भाग लिनेछन् । यो संस्करणमा विदेशी टोलीको रुपमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्ड र पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब कुरुक्षेत्र भलिबल टिम सहभागी छन् । पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब सहभागिता जनाएका छन् । महिलातर्फ सहभागी हुने टोलीमा नेपाल एपीएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल छन् । यसपाली आयोजकले छुट्टै महिला टिम सहभागी बनाएको छ । पुरुषतर्फ गण्डकी र महिलातर्फ आयोजक टोलीमा ३–३ विदेशी खेलाडी समावेश गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा विभागीयबाहेक अन्य टोलीले पनि विदेशी खेलाडीलाई अनुबन्ध गर्ने भएकाले प्रतियोगिता झनै रोमाञ्चक हुने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । प्रतियोगिताको फम्र्याटसमेत नयाँ रोमाञ्चक खालको बनाउन लागिएको संयोजक ज्ञवालीले बताए । पाँचौं संस्करणमा पुरुष र महिला दुवैतर्फको विजेताले समान ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेतालाई समान २ लाख ८५ हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । तृतीय हुने टोलीले १ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिने प्रतियोगिता संयोजक ज्ञवालीले जानकारी दिए । प्रतियोगितालाई डिजिटल प्रविधिमैत्री बनाउँदै एलईडी स्क्रिन डिजिटल बोर्डको व्यवस्था गरिएको ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । प्रतियोगितालाई अन्र्तराष्ट्रिय स्तरकै बनाउने प्रयास भइरहेको उनको भनाइ छ । प्रतियोगिताका खेलहरु एक्सन स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण हुनेछ । प्रतियोगिता पाचौं संस्करणसम्म आईपुग्दा विदेशी टिमहरुले भाग लिनु नेपाली भलिबल प्रेमीका लागि सुखद भएको अध्यक्ष शर्माले बताए । प्रतियोगिताबाट बचत भएको रकम विगतमा जस्तै स्वास्थ्य, खेलकुद, शिक्षा, सामाजिक क्षेत्रमा खर्च गर्ने आयोजकको तयारी छ । प्रतियोगिताका लागि प्यारापिट, कोर्ट बनाउने काम भइरहेको अध्यक्ष शर्माले बताए । २ हजार सिट क्षमताको प्यारापिट हुने पाँचौँ टाइगर कप भलिबलमा दर्शक क्षमता बढाएर २ हजार पु¥याएको छ । यसअघि दर्शकको चाप धेरै हुने गरेकाले यसपालि दर्शक क्षमता बढाइएको प्रतियोगिताको संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । अघिल्ला संरकणमा दर्शकको चापलाई मध्यनजर गर्दै दर्शक क्षमता बढाइएको उनको भनाइ छ । यस संस्करणमा अनलाइनबाट टिकट काट्न पाउने व्यवस्था गरिएको छ । खेल हेर्नका लागि इसेवामार्फत अनलाइनबाट काट्न सकिनेछ । ‘यसपाली अनलाइनबाटै टिकट काट्ने व्यवस्था गरेका छौं । यदि काटेर पनि सिट नहुने स्थिति नबनोस् भनेर अनलाइनबाट टिकट काट्नेका लागि छुट्टै सिटको व्यवस्था गरिएको छ,’ उनले भने । प्रतियोगितामा टिकट काटी प्रवेश गर्ने दर्शकमध्येबाट गोलाप्रथाबाट एकजनालाई एउटा टिसर्ट र फाइलनमा एकजनालाई एउटा सामसुङ मोबाइल प्रदान गरिने आयोजकले जनाएको छ ।
काठमाडौं: मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित भएको छ । मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८ दशमलव चार ओभरमा नौ विकेटको क्षतिमा पूरा ग¥यो । स्कटल्यान्डका लागि पिपा स्प्रोलले ४७ बलमा तीन चौकाको सहयोगमा ३५ रन बनाइन् । त्यसैगरी, ग्याब्रियला फोन्टेन्लाले १२ रन जोडिन् । बलिङतर्फ नेपालकी सिमना केसी र रचना चौधरीले समान दुई–दुई विकेट लिए भने कप्तान पूजा महतो र कृष्मा गुरुङले समान एक÷एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले १८ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ७३ रन मात्रै बनाउन सक्यो । नेपालका लागि कप्तान पूजा महतोले ४३ बलमा तीन चौकाको सहयोगमा २७ रन जोडिन । त्यसैगरी, सावित्री धामीले १० रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । स्कटल्यान्डका लागि मैसी म्याकिरा एक्लैले पाँच विकेट लिइन् भने अमी बलडाइ र नइमा शेखले समान दुई÷दुई विकेट लिए । त्यस्तै, क्रिस्टी म्यायाकोलले एक विकेट झारिन् । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको थियो । जितसँगै स्कटल्यान्डले सुपर सिक्समा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । स्कटल्यान्ड पहिलो खेलमा अष्ट्रेलियासँग पराजित भएको थियो ।

