पोखरा:   पोखरामा जारी प्रधानमन्त्री (पिएम) कप कास्की जिल्ला स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा लेखनाथले विजयी हासिल गरेको छ ।  कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा पोखरा र...

पाल्पा:  माउण्ट एभरेष्ट युवा क्लबले बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडाले ‘स्वस्थ्यका लागि खेलकुद, खेलकुदका लागि माउण्ट एभरेष्ट युवा क्लब’ भन्ने नारासहित आयोजना गरेको बगनासकाली साविक वडास्तरीय भलिबल प्रतियोगितामा जनज्योती युवा क्लब दान्सिंघा (वडा नम्बर ६) च्याम्पियन भएको छ ।   शहिद केवल गाहा ‘कुँवेर’ स्मृति खेलमैदानमा आज (आइतबार) सम्पन्न फाइनल खेलमा नवप्रभात युवा क्लब गोपाल्दी  (वडा नम्बर ९) लाई २५–१९, २५–२१ र २५–१६ को सेटमा पराजिल गर्दै दान्सिंघा च्याम्पियन बनेको हो ।   च्याम्पियन बनेको दान्सिंघाले नगद रु १५ हजारसहित स्वर्ण पदक तथा प्रमाणपत्र प्राप्त गर्याे र यसैगरि उपविजेता बनेको गोपाल्दीले १० हजारसहित रजत पदक तथा प्रमाणपत्र हात पार्यो ।   सो प्रतियोगिताबाट सान्त्वना स्थान हाँसिल गरेको बगनासकाली ७ टाकीचौरले ५ हजारसहित कास्य पदक तथा प्रमाणपत्र प्रदान गरेको क्लबका सल्लाहकार विष्णु राना (सजल) ले जानकारी दिए ।   उनका अनुसार गत १६ गतेदेखि सञ्चालनमा रहेको सो प्रतियोगितामा कुल २४ टिमको सहभागिता रहेको थियो । सो प्रतियोगिता सम्पन्न गर्न प्रथम पुरस्कार जीत बहादुर थापाले सौजन्य गरेका थिए । भने तृतीय पुरस्कार सौजन्य वीर बहादुर आलेले गरेका थिए ।   यसैगरि बगनासकाली ५ का वडासदस्य प्रकास न्यौपाने, निवर्तमान वडाध्यक्ष इश्वर राना लगायतले आर्थिक सहयोग गरेका थिए ।    प्रतियोगिताबाट विजेता तथा उपविजेता टोलीलाई पुरस्कार सौजन्यदाता लिला थापामगर, क्लबका अध्यक्ष दान बहादुर राना, समाजसेवी गुन बहादुर आले तथा वडा ५ स्थित तल्लोकोलडाँडाका अग्रजहरुले पुरस्कार वितरण गरेका थिए ।  

पोखरा  : पोखरा भलिबल प्रशिक्षण केन्द्रले आयोजना गर्ने क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ ।   आगामी २२ देखि २५ गतेसम्म पोखरा नदीपुर छन्त्याल समाजको भलिबल कोर्टमा आयोजना हुने क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा सम्पूर्ण तयारी पुरा भएको आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   कार्यक्रम संयोजक मनोज खड्काले सो प्रतियोगिताको विजेता टिमलाई १ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने बताए । उनका अनुसार उपविजेता टोलीले ६० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।   यसैगरि महिलातर्फ प्रथम र द्धितिय हुुने समुहले क्रमशः ४० हजार, २५ हजार र शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, उदीयमान खेलाडी, डिफेन्डर, सेटर र सर्भर घोषित हुने खेलाडीलाईसमेत नगद पुरस्कारको व्यवस्था गरिएको छ ।     सो प्रतियोगितामा टिम दर्ताका लागि पुरुषतर्फ ६ हजार र महिला तर्फ ४ हजार रुपैयाँ निर्धारण गरिएको पोखरा भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष कुल प्रसाद छन्त्याल (कुशल)ले बताए ।   उनले सो प्रतियोगितामा भलिबल संघले मान्यता दिएको राष्ट्रिय खेल तथा एनभिए लिग खेलेका दुई जना खेलाडीमात्र टिममा समावेश गर्न पाइने जानकारी दिए ।   पोखरा नदीपुर छन्त्याल समाजको भलिबल कोर्टमा ४ दिनसम्म चल्ने प्रतियोगितामा पुुरुष तर्फ ३० र महिला तर्फ १५ समुहको सहभागिता रहने आयोजकको अपेक्षा छ ।    २०७३ सालमा स्थापना भएपनि पोखरा भलिबल प्रशिक्षण केन्द्रको यो तेस्रो संकरणको भलिबल प्रतियोगिता हो । सो क्लबले प्रतियोगिता सञ्चालन गरि गतवर्ष मृगौला पीडित सुरज गुरुङलाई १ लाख आर्थिक सहयोग प्रदान गरेको थियो ।  

  पोखरा । प्रदेश खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत बागलुङ जिल्ला टिम च्याम्पियन भएको छ ।   पोखरामा सम्पन्न प्रतियोगिताम बागलुङले १७ स्वर्ण, २ रजत र २ कास्य पदक प्राप्त गरी टिम च्याम्पियन भएको हो । यसै गरी तनहुँ ४ स्वर्ण, १ रजत र ३ कास्य सहित दोश्रो र स्याङजा ३ स्वर्ण, ४ रजत र ५ कास्य पदक प्राप्त गरी तेश्रो भएको छ ।   प्रतियोगिता अन्तर्गत महिला स्पाइरिङ ४० देखि ५९ केजी मुनीको तौलमा बागलुङका चार जना खेलाडीहरुले स्वर्ण पदक जितेका छन् । सुनिता भण्डारी, शुष्मिता थापा मगर, हिहिला अदै, पल्पसा घर्ती मगरले स्वर्ण पदक जितेका हुन् । त्यस्तै ६० देखि ६५ केजी तौल माथी कास्कीकी निकिता तामाङ र तनहुँकी सोनिका थापाले स्वर्ण पदक जिते ।   त्यस्तै महिला प्याट्रनतर्फ तनहुँकी मोनिका कुंवर, बागलुङकी लली कुमारी वुढा मगर, सुनिता भण्डारी, शुष्मिता थापा मगर र बसन्ती वुढा मगरले स्वर्ण पदक जितेका छन् ।   पुरुष स्पाइरिङतर्फ ४५ देखि ७९ केजीको विभिनन तौलमा बागलुुङका खगेन्द्र धर्ती मगर, श्रीप्रसाद वुढा मगर, प्रविन वुढा मगर, एक्सन पुन मगर, प्रकाश वुढा मगर, पञ्चविर वुढा मगर र मिथुन घर्ती मगरले स्वर्ण पदक जितेका छन् भने ८० देखि ८५ केजी तौल माथीको प्रतिष्पर्धामा तनहुँका सोम बहादुर गुरुङ र स्याङजाका राजन रसाइलीले स्वर्ण पदक जितेका छन् ।   पुरुष प्याट्रनतर्फ प्रतिष्पर्धामा स्याङजाका विभस घर्ती मगर र भिम बहादुर गाहाले स्वर्ण पदक हात पारेका छन् । त्यस्तै बागलुङका प्रविन वुढा र श्रीप्रसाद वुढा मगरले तथा तनहुँका गोपाल चन्दले स्वर्ण पदक जितेका छन् । 

   पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गण्डकी प्रदेश स्तरीय एथलेटिक्समा ९ वटा स्वर्ण पदक जित्दै कास्की प्रथम भएको छ ।   पोखरा रंगशालामा शनिबार सम्पन्न एथ्लेटिक्सको विभिन्न स्पर्धामा कुल ९ स्वर्ण पदक जित्दै कास्की प्रथम भएको हो । प्रतियोगितामा कास्कीले ४ रजत र ३ कास्यपदक जितेको छ ।   त्यस्तै गोरखाले ६ वटा स्वर्ण, ३ वटा रजत र एक कास्य पदक जित्दै दोस्रो बन्यो । नवलपुरले ४ स्वर्ण, ८ रजत र ९ कास्य पदक जित्दै तेस्रो स्थान प्राप्त गरेको छ ।   प्रतियोगितामा ५ हजार मिटर महिलातर्फ स्याङजाकी जानकी खरालले २१ मिनेट ५० सेकेण्डमा पुरा गर्दै प्रथम भइन् । यस्तै उक्त दुरी २१ मिनेट ५७ सेकेण्डमा पुरा गर्दै तनहुँकी नम्रता गुरुङ दोस्रो हुँदा पर्वतकी संगीता विक तृतिय भइन् । उनले निर्धारित दुरी २२ मिनेट ४८ सेकेण्डमा पुरा गरिन् । पुरुषतर्फ गोरखाका दिनेश बोगटी प्रथम, गोरखाकै नवराज गुरुङ द्वितिय र पर्वतका आशिष कुँवर तृतिय भएका छन् । प्रतियोगितामा निर्धारित दुरी बोगटीले १६ मिनेट २० सेकेण्ड, गुरुङले १६ मिनेट ४४ सेकेण्ड र कुवरले १६ मिनेट ४७ सेकेण्डमा पुरा गरेका थिए । ८ सय मिटर पुरुष दौडतर्फ पर्वतका अनिल कुवर प्रथम, गोरखाका विकास पोखरेल द्वितिय,  नवलपुरका नारायण चौधरी तृतिय भए । कुवरले सो दुरी २ मिनेट ४ सेकेण्डमा पुरा गर्दै प्रथम भएका हुन् । पोखरेलले  २ मिनेट ६ सेकेण्ड ३१ मिलिसेकेण्ड र चौधरीले २ मिनेट ६ सेकेण्ड ६६ मिलिसेकेण्डमा पुरा गरेका थिए । सोही विधाको महिलातर्फ २ मिनेट ४४ सेकेण्डमा पुरा गर्दै स्याङ्जाकी चन्द्रकला खराल प्रथम, २ मिनेट ५२ सेकेण्डमा दुरी पुरा गरेकी नवलपुरकी यमुना थापा द्वितिय र २ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै बाग्लुङकी पार्वती नेपाली तृतिय भईन् ।   त्यसैगरि ४ सय मिटर पुरुष दौडतर्फ नवलपुरका नारायण चौधरी, लमजुङका विमित भुजेल र नवलपुरकै प्रकाश महतो क्रमश प्रथम, द्वितिय र तृतिय भए । चौधरीले ५२ सेकेण्ड, भुजेलले ५४ सेकेण्ड ६२ मिलिसेकेण्ड र महतोले ५४ सेकेण्ड ६३ मिलिसेकेण्डमा सो दुरी पुरा गरे । महिलातर्फ स्याङ्जाकी चन्द्रकला खराल प्रथम, कास्कीकी सविना खातुन मिया र रितु भण्डारी क्रमशः द्वितिय र तृतिय भए । प्रतियोगितामा खरालले १ मिनेट १०सेकेण्डमा उक्त दुरी पुरा गरिन् । सबिनाले १ मिनेट १२ सेकेण्डमा पुरा गर्दा भण्डारीले १ मिनेट १४ सेकेण्ड लगाइन् ।   २ सय मिटर दौडमा महिलातर्फ २९ सेकेण्ड ५० मिलिसेकेण्डमा पुरा गर्दै कास्कीकी अनिसा भण्डारी प्रथम भईन् । तनहुँकी निशा घर्तिले ३० सेकेण्डमा पुरा गर्दै दोस्रो भइन् । भने नवलपुरकी अप्सरा विकले ३२ सेकेण्डमा सो दुरी पुरा गरिन् । यस्तै पुरुषतर्फ कास्कीका सुदिप जोशी प्रथम भए । उनले  २४ सेकेण्ड १९ मि.सि.मा उक्त दुरी पुरा गरे ।  नवलपुरका समिर महतोले २४ सेकेण्ड ६६ मि.सि. लगाएर पुरा गर्दै द्वितिय भने तृतिय भएका तनहुँका प्रभ बहादुर थापाले २४ मिनेट ३ सेकेण्डमा पुरा गरे ।   पुरुष हाईजम्पतर्फ कास्कीका सागर नेपाली प्रथम, नवलपुरका रिख बहादुर घर्ति द्वितिय र नवलपुरकै ओमबहादुर मस्राङ्गी तृतिय भए । यस्तै महिलातर्फ लम्जुङकी सिमा श्रेष्ठ प्रथम , तनहुँकी तिर्था ढकाल द्वितिय र कास्कीकी कुसुम रानामगरले तृतिय स्थान प्राप्त गरिन् ।   त्यस्तै ज्याभ्लिन थ्रोमा पुरुषतर्फ लम्जुङका तिर्थमान तामाङ, मनाङका विकासबाबु बराम र लम्जुङका यूनिक तामाङ क्रमशः प्रथम, द्वितिय र तृतिय भए । महिलातर्फ तनहुँकी विनिता कार्की प्रथम, सोनु नेपाली द्वितिय र विनिसा राना तृतिय भइन् ।   त्रिपलजम्पमा पुरुषतर्फ नवलपुरका नारायण चौधरी, नवलपुरकै समिर महतो र पर्वतका शंकर कुँवर क्रमशः प्रथम, द्वितिय र तृतिय भए ।   महिला डिक्स थ्रो स्पर्धामा कास्कीकी सोनु नेपाली प्रथम, गोरखाकी मञ्जु गुरुङ द्वितिय र नवलपुरकी लक्ष्मी थनेत तृतिय भएको जिल्ला एथ्लेटिक्स कास्कीका उपाध्यक्ष इन्द्र मल्लले जानकारी दिइन् ।

कास्की:   कास्कीको माछापुच्छ्रे गाउँपालिका तत्वाधन र भलिबल संघले संविधान दिवसको अवसरमा ‘गण्डकी प्रदेश अन्तर गाउँपालिकास्तरीय भलिबल प्रतियोगिता (माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप) आयोजना गर्ने भएको छ ।   पोखरामा आज (आइतबार) पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी ३० गतेदेखि असोज १ गतेसम्म ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित प्रतियोगिता आयोजना गरिने जानकारी दिइएको हो ।   माछापुच्छ्रे गाउँपालिका भलिबल संघका अध्यक्ष राम पुनले गण्डकी प्रदेशमै पहिलोपटक अन्तर गाउँपालिकास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्न लागेको बताए ।    उनले सो प्रतियोगिताका लागि गण्डकी प्रदशको ८५ स्थानीय तहलाई पत्राचार गरिसेको बताए ।  ‘हामीले यस प्रदेशको सबै स्थानीय निकायलाई आधिकारिक रुपमा मेल गरिसकेका छौं, उनले भने, ‘तयारी तिब्र भइरहेको छ । हाम्रो मुख्य लक्ष्य भनेको युवाहरुलाई एक सुत्रमा बाँध्ने र आपसी सद्भाव कायम गराउने हो । त्यसैले हाम्रो प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्नेछ ।’   उनका अनुसार सो प्रतियोगिताको विजेता टोलीले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २ लाख प्राप्त गर्नेछ । यसैगरि उपविजेताले  विजेता टोलीले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु १ लाख २० हजार हात पर्नेछ ।    सो प्रतियोगिताबाट अन्तिम दुई सेमीफाइनलमा प्रवेश गरेका दुई टिमलाई समेत सान्त्वना पुरस्कार स्वरुप शिल्ड, मेडल तथा प्रमाणपत्रसहति नगद रु ३०/३० प्रदान गरिने अध्यक्ष पुनले बताए ।    उनका अनुसार सो प्रतियोगिताबाट एक जनालाई सर्वाेत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत गरिनेछ भने  अन्य ६ वटा विधामासमेत जनही ७ हजारको दरले उत्कृष्ट पुरस्कारको व्यवस्था गरिएको छ ।   सो प्रतियोगितामा सहभागिता जनाउनका लागि टिम दर्ता शुल्क नगद रु ५ हजार निर्धारण गरिएको सचिव मोहनसिंह तामाङले बताए । उनले प्रतियोगिता अवधिभर हाँस्यव्यङ्ग्य प्रहशन तथा मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम समावेश गरिएको बताए ।    माछापुच्छ्रे गाउँपालिकाले सहयोगमा सम्पन्न हुने सो प्रतियोगिता माछापुच्छ्रे गाउँपालिका वडा २ भुर्जुङखोलामा सञ्चालन हुनेछ । भने सो मेलालाई २० हजार दर्शकले अवलोकन गर्ने आयोजकले जनाएको छ ।   

पोखरा   :  नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गण्डकी प्रदेश स्तरिय बुद्धिचाल प्रतियोगीताको पुरुषतर्फ लमजुङका सविनचन्द्र घिमिरे प्रथम भएका छन् ।    कुल ५ राउण्ड मध्ये ४ राउण्डमा जित र एक राउण्डमा बराबरी गर्दै कुल साढे ४ अंकका साथ उनी प्रथम भएका हुन् । यसैगरी कुल साढे ४ अंकका साथ मुस्ताङका राजन पहाडी द्धितिय भए । उनले पनि कुल ५ राउण्ड मध्ये ४ राउण्डमा जित र एक राउण्डमा बराबरी खेलेका थिए ।    यसैगरी बागलुङका लेख बहादुर थापा ४ अंकका साथ तृतिय भए । उनले ४ खेलमा जित र एक खेलमा हार बेहोरेका थिए । पुरुषतर्फ २३ जना प्रतियोगिले भाग लिएका थिए ।   यसैगरी बुद्धिचाल प्रतियोगीताको महिलातर्फ कास्कीकी पुजा भण्डारी प्रथम हुन सफल भइन् । उनले कुल ५ राउण्ड खेलमा ५ वटै खेल जित्दै प्रथम हुन सफल बनेकी हुन् ।  यसैगरी ४ राउण्डमा प्रथम र एक राउण्डमा पराजय भोगेर कुल ४ अंक जोडेकी लमजुङकी स्तुती खवास द्धितिय बनिन् । ३ राउण्डमा जित एक राउण्डमा हार र एक राउण्डमा बराबरी खेलेकी बागलुङकी झरना थापा तृतिय बनिन् । महिलातर्फ १३ जना खेलाडीले नाम दर्ता गराएपनि १२ जना खेलाडीले प्रतियोगितामा सहभागीता जनाए ।   बुद्धिचाल प्रतियोगितामा गण्डकी प्रदेशका कास्की, तनहुँ , बागलुङ, लमजुङ, मुस्ताङ, पर्वत, स्याङजा र नवलपुर जिल्लाले सहभागीता जनाएका थिए । मनाङ, गोरखा र म्याग्दि जिल्लाले भने सहभागीता जनाएन । बुद्धिचाल प्रतियोगिताको लागि संयोजकको जिम्मेवारी ओम प्रसाद उपाध्याय र प्रशिक्षकको जिम्मेवारी शुक्र प्रसाद प्रधानलाई दिइएको थियो ।   प्रदेश स्तरिय बुद्धिचाल प्रतियोगीता पोखरा सिर्जनाचोकस्थित स्टार लाउञ्ज एण्ड बारमा भएको हो । प्रथम, द्धितिय र तृतिय भई छनोट भएका खेलाडी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने  नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी बन्नेछन् । उनीहरुले अब केही दिनपछि बन्दप्रशिक्षणमा सहभागिता जनाउने प्रशिक्षक प्रधानले बताए ।   

  पोखरा : पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पुरुष क्रिकेट छनौंट खेल पोखरा रंगशालामा जारी छ ।    प्रदेशका विभिन्न ८ जिल्लाका ४८ खेलाडीहरुलाई ४ टिममा विभाजन गरि प्रतिस्पर्धा गराइएको छ । ‘प्रतियोगितामा जिल्ला जिल्ला विच प्रतिस्पर्धा गराइने कार्यक्रम थियो, तर खराब मौसमका कारण ति खेलाडीहरुलाई ४ टिममा विभाजन गराई क्याम्पको शैलिमा प्रतिस्पर्धा गराइएको हो’,गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्सन प्रजुले बताए ।   चारै टिमका प्रतिस्पर्धा सकिएपछि आइतबार साँझसम्म प्रदेशका खेलाडीहरुको चयन गरिने प्रजुले जनाए । शनिबार दुई तथा आइतबार दुई वटा खेल गराइने उनले बताए । यिनै प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी प्रदेश टिममा चयन हुने उनको भनाई छ ।

पोखरा  :  पोखराको लामाचौरमा सम्पन्न भएको लामाचौर कप महिला  तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फ गण्डकी प्रदेश र विभागीय नेपाल पुलिस क्लबलाई संयुक्त विजेता घोषणा गरेको छ ।   लगातारको वर्षापछि खेल हुन नसकेपछि आयोजक नव आदर्श सामुदायिक विकास समाजले लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फ गण्डकी प्रदेश र विभागीय नेपाल पुलिस क्लबलाई संयुक्त विजेता घोषणा गरेको हो । निर्धारित तालिकाअनुसार १४ गते फाइनल हुनुपर्ने भएपनि वर्षाका कारण खेल दुई दिन पछि धकेलिएको थियो । तर, बिहीबारको लागि तय भएको फाइनल र तेस्रो स्थानको खेल पनि वर्षाले हुन नसक्ने भएपछि आयोजकले क्लबसँगकै सहमतिमा गण्डकी र पुलिसलाई संयुक्त विजेता घोषणा गरेको हो ।   नव आदर्श सामुदायिक विकास समाजले बिहीबार बिज्ञप्ति जारी गर्दै मौसम प्रतिकुलका कारण आयोजक, जुरी निर्णायक र चारवटै टिमको सहमतिमा खेल स्थगन गरी पुलिस र गण्डकीलाई पहिलो र दोस्रो वापतको पुरस्कार रकम तथा आर्मी र एपिएफलाई तेस्रो पुरस्कार रकम बराबर बाँडेर दिने उल्लेख गरेको छ ।   निर्णयबमोजिम फाइनलमा पुगेको नेपाल पुलिस क्लब र गण्डकी प्रदेशको टिमले प्रथम पुरस्कार र दोस्रो पुरस्कारवापत जोडेर हुने कुल २ लाख ५० हजार २ सय २२ रुपैयाँ आधा आधा बाँडेर लिएका छन् । उपाधीसहित प्राप्त हुने ट्रफीमा अर्को एक थप गरी दुवै टिमलाई बाँडिएको छ । यसैगरी, तेस्रो स्थानको लागि प्रतिस्पर्धाको तयारीमा रहेका त्रिभुवन आर्मी क्लब र एफिएफले तेस्रो स्थान वापत प्राप्त हुने ५० हजार १ सय ११ रुपैयाँ बाँडेर लिएका छन् । तेस्रोलाई प्राप्त हुने ट्रफी समेत थप गरि प्रदान गरिएको जुरी कमिटी संयोजक समेत रहेका भलिबल संघका केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङले बताए ।   गण्डकीले नेपाल एपिएफ क्लबलाई ३–२ को सेटमा तथा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।   भदौं ११ बाट शुरु भएको प्रतियोगिताको पहिलो दिन चार खेल तय भएपनि एक खेल मात्रै र दोस्रो दिन पनि एक खेल मात्रै भएपछि खेल दुई दिन लम्विन पुगेको थियो । बिहीबार पनि खेल हुन सकेन ।   महिलातर्फ बुधबार सर्वाधिक चार पटकको च्याम्पियन न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल पुलिसले लगातार दोस्रो वर्ष तथा समग्रमा दोस्रोपटक उपाधि हात पारेको थियो ।   पहिलो संस्करणमा फाइनलमा पुलिस एपिएफसँग पराजित हुँदै उपाधिविमुख बन्दा अघिल्लो संस्करणमा न्यू डायमन्डलाई नै हराएर उपाधि जितेको थियो । गण्डकी प्रदेशलाई २५–१७, २५–१७ र २५–१५ ले हराएर आर्मीले तेस्रो स्थान हासिल गरेको छ ।   महिलातर्फ पुलिसकी उषा भण्डारी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । व्यक्तिगत विधागततर्फ न्यू डायमण्डकी प्रगती नाथ उत्कृष्ट सेटर, आर्मीकी साफिया पुन उत्कृष्ट ब्लकर, डायमन्डकी सलिना बुढा मगर उत्कृष्ट सर्भर, पुलिसकी कामना विष्ट उत्कृष्ट स्पाइकर र डायमन्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिवेरो घोषित भइन् । पुलिसका रुपेश कुमार विष्ट उत्कृष्ट प्रशिक्षक बने। उनीहरु सबैले ट्रफी पाएका छन् ।   नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा गत भदौं ११ देखि भएको प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टिमको सहभागिता रहेको थियो । महिलातर्फ नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र गण्डकी प्रदेश तथा पुरुषतर्फ नेपाल पुलिस, एपिएफ, त्रिभुवन आर्मी क्लब, मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको सहभागिता रहेको थियो ।

  पोखरा : पोखरामा आयोजना हुने नवौँ खेलकुदका लागि आजदेखि पोखरामा खेलाडी छनौट प्रतियोगिता सुरु भएको छ ।    नवौँ खेलकुदका लागि पोखरामा सुरु भएको छनौट खेल अन्र्तगत महिला भलिबलमा बागलुङ, कास्की, लमजुङ र स्याङ्जा विजयी भएका छन् ।    पोखरा रंगशाला भलिबल कोर्टमा भएको खेलमा बागलुङले तनहुँलाई सोझो सेटमा पराजित गरेको छ ।    बागलुङले पहिलो सेट २५–१७ र दोस्रो सेट २५–१७ मा आफ्नो पक्षमा पार्दै विजयी भएको हो ।    त्यसभन्दा अगाडी पोखरा रंगशालाको बहुुउद्धेश्यीय कवर्ड हलमा भएको खेलमा कास्कीले नवलपुरलाई पराजित गरेको छ । कास्कीले नवलपुरलार्य सोझो सेटमा पराजित गरेको हो ।  कास्कीले पहिलो सेट २५–१३ र दोस्रो सेट २५–१६ मा नवलपुरलाई पराजित गरेको हो ।    पर्वत र लमजुङबीचको खेलमा लमजुुङ विजयी भएको छ । लमजुङले पर्वतलाई सोझो सेटमा पराजित गरेको हो । लमजुङले पहिलो सेट २५–२१ र दोस्रो सेट २५–२२ ले पर्वतलाई पराजित गरेको हो ।  बहुउद्धेश्यीय कवर्ड हलमा भएको खेलमा नै स्याङ्जाले मुस्ताङलाई सोझो सेटमा पराजित गरेको छ ।    स्याङ्जाले मुस्ताङलाई पहिलो सेटमा २५–०३ र दोस्रो सेट २५–११ मा पराजित गरेको हो । आजबाट सुरु भएको छनौट खेलमा गण्डकी प्रदेशका ११ जिल्लाका विभिन्न खेलका खेलाडी तथा प्रशिक्षकहरु पोखरा आएका छन् । आज पोखरामा रंगशालामा अन्य खेलहरु समेत सञ्चालन भएका छन् ।