पोखरा:   पोखरामा जारी प्रधानमन्त्री (पिएम) कप कास्की जिल्ला स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा लेखनाथले विजयी हासिल गरेको छ ।  कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा पोखरा र...

पोखरा:   पोखरा महानगरपालिका १ मा सक्रिय रहदैं आएको बुद्ध टोल युवा क्लबाको अध्यक्षमा असिम थापा चयन भएका छन् ।    आज (शनिबार) सम्पन्न क्लबको दोस्रो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि अमिस थापाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएका हुन् ।     थापा नेतृत्व समितिको उपाध्यक्षमा सन्तोष गुरुङ, सचिवमा रेशम सापकोटा, सह–सचिवमा विकास केसी र कोषाध्यक्षमा दिपक कार्की सर्वसम्मत चयन भएको अध्यक्ष थापाले जानकारी दिए ।   उनका अनुसार समितिको सदस्यहरुमा कैलास गुरुङ, अनुप पुन, अर्जुन परियार, बिनोद गुरुङ, निकेश गुरुङ, संगम दर्जी, कुमार गुरुङ, राज गुरुङ, अनिता गुरुङ र एनि गुरुङ चुनिएकी छिन् ।   त्यसैगरि समितिको सल्लाहकारमा प्रदीप राई, राधा गुरुङ, मुक्ति सागर गुरुङ र बिनिता गुरुङलाई चयन भएका छन् ।   सामाजिक क्रियाकलाप तथा खेलकुदमा विशेष सक्रिय रहदैं आएको सो क्लबले स्वर्गीय विरेन गुरुङको स्मृतिमा प्रत्येक वर्ष पोखराकै सर्वाधिक राशीको ‘सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिता’ आयोजना गर्दै आएको छ ।   सो क्लबले कोरोना महामारीको समयमा केयौं विपन्न परिवारलाई राहात स्वरुप  खाद्यान्नका समाग्री तथा स्वास्थ्य समाग्रीहरु प्रदान समेत गरेको थियो ।    यसअघि क्लबको अध्यक्षका रुपमा विजया गुरुङले नेतृत्व गर्दै आएकी थिइन् । 

पोखरा :  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको आयोजना भएको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि आयोजक गण्डकी फोनिजले जितेको छ ।   फोनिजको २३ औं स्थापना दिवस मनाउने क्रममा फोनिज गण्डकीले आयोजना र कास्की जिल्ला शाखाको सहआयोजनामा भएको पुरुष तथा महिला मैत्रीपुर्ण फुटसलमा दुवै खेलमा फोनिज विजयी भएको हो । पुरुष टिममा फोनिज गण्डकीले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको टिमलाई टाइब्रेकरमा ५-४ गोल अन्तर पराजित गरेको हो । महिला तर्फ फोनिज गण्डकीको टिमले कास्कीमा महिला पत्रकारको टिमलाई टाइब्रेकरमै ४-३ गोल अन्तर हराएको हो ।  पुरुषतर्फ निर्धारित समयमा ४-४ गोल भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । निर्धारित समयमा फोनिजको तर्फबाट प्रबिन मगरले २ गरे भने सुशान्त गाहा र सुरज थापाले एक÷एक गोलको योगदान दिए । यस्तै खेलकुद पत्रकार मञ्चका लागि अनुप पौडेलले २ तथा मन क्षेत्री र बिजय नेपालीले १/१ गोल गरे ।  महिलातर्फ निर्धारित समयमा फोनिज गण्डकीबाट जुना थापाले पेनाल्टी मार्फत गोल गर्दा महिला पत्रकारको तर्फबाट दिपा पौडेलले बराबरी गोल फर्काइन् । दुवै टिमले निर्धारित समयमा बराबरी गोल गरेपछि खेलमा बिजेताको टुंगो टाइब्रेकरबाट लागेको खेल संयोजक सुशान्त गाहा मगरले जानकारी दिए ।  बिजेता फोनिज गण्डकीको टिमले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता टिमले मेडल र प्रमाणपत्र पाए । विजेता तथा उपविजेता टिमलाई गण्डकी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव तेजबहादुर गुरुङले पुरस्कार वितरण गरेका थिए ।  कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले खेलकुद स्वास्थ्यको लागि लाभदायक भएको वताउँदै यसले आपसी भाईचारामा पनि वृद्धि हुने वताए । पत्रकारहरु लेख्ने मात्र होइन स्वस्थ्य हुनुपनि जरुरी रहेको मिडिया कप बेला बेलमा हुनुपर्नेमा उनको जोड थियो । ‘खेलकुदले पत्रकारको निर्णय गर्ने क्षमताको विकास हुन्छ, यसले पत्रकारहरुलाई सिर्जनशिल पनि बनाउँछ,’ उनले भने, ‘त्यसैले पनि आगामी दिनमा अन्य खेल गर्दै जानुस तपाईहरुसँग प्रदेश खेलकुद परिषद साथ मै छ ।’ ३९ वर्षपछि पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदमा पत्रकारले कलम र आवाज मार्फत साथ दिन उनको आग्रह थियो । पत्रकारले गरेको खबरदारी र राम्रा कार्यको प्रचार प्रसारले प्रदेशमा हुने खेलमा महत्वपूर्ण भूमिका खेल्ने उनको धारणा थियो ।  कार्यक्रममा फोनिज गण्डकी सल्लाहकार हुमबहादुर गुरुङ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी र फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीस मगर लगायतले मैत्रीपुर्ण खेलले स्वस्थ्य रहँदै पत्रकारिता गर्ने समयमा प्राविधिक शब्दहरुमा ज्ञान हुने बताएका थिए ।   

  काठमाडौं:   विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज जारी गरेको महिलाको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ ।      नयाँ वरीयता अनुसार नेपाल १०२औँ स्थानमा रहेको हो । यसअघि नेपाल १०१औँ स्थानमा रहेको थियो । दक्षिण एसियाली राष्ट्रको वरियतामा भने नेपाल दोस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत छ ।      भारत ५८ औँ स्थानमा छ । बङ्गलादेश १४७, श्रीलङ्का १५३, माल्दिभ्स १५६ र भुटान १७६औँ स्थानमा छ । विश्व वरियताको शीर्ष स्थानमा भने अमेरिका छ । यसैगरी दोस्रो स्थानमा जर्मनी छ भने तेस्रो स्थानमा स्वीडेन छ । इङ्ग्ल्यान्ड चौँथो स्थानमा रहँदा फ्रान्स पाँचौँ स्थानमा छ । नेदरल्याण्ड छैठौँ, क्यानडा सातौँ, स्पेन आठौँ, ब्राजिल नवौँ र उत्तर कोरिया १०औँ स्थानमा छन् । 

काठमाडौं:  १७ वर्षमुनिको राष्ट्रिय पुरुष फुटबल टोलीका लागि पहिलो चरणमा ६० खेलाडी छनोट भएका छन् ।   अखिल नेपाल फुटबल सङ्घ एन्फाले  पहिलो चरणको बन्द प्रशिक्षणका लागि ६० खेलाडी छनोट भएको जनाएको छ ।   एन्फाले १७ वर्षमुनिको साफ च्याम्पियनसिप र एएफसी एसियन कप छनोटका लागि खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरेको हो। एन्फाले टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई नियुक्त गरिसकेको छ ।   श्रीलङ्कामा आउँदो सेप्टेम्बर ५ देखि सुरु हुने साफ १७ वर्षमुनिको च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा परेको छ  ।     नेपालको समूहमा भारत र भुटान रहेका छन् । यस्तै समूह ‘ए’ मा आयोजक श्रीलङ्का, माल्दिभ्स र बङ्गलादेश छन् । 

पोखरा:   पोखरा महानगरपालिका १ वडा कार्यालयले सामाजिक क्रियाकलापमा सक्रिय रहदैं आएको विभिन्न क्लब तथा विद्यालयलाई खेलकुद समाग्री प्रदान वितरण गरेको छ ।   सोमबार एक कार्यक्रमको आयोजना गर्दै पोखरा १ का वडाध्यक्ष साहरा प्रधानको नेतृत्वमा ६ वटा क्लब र ३ विद्यालयलाई खेलकुदको समाग्री सहयोग प्रदान गरेको हो ।   राष्ट्रिय उच्च मावि, सँस्कृत मावि र रत्न प्राविलाई भलिबल, बास्केटबल तथा फुटबल सहयोग गरिएको वडा सदस्य शोभा गुरुङले जानकारी दिइन् । उनका अनुसार बिटी क्लब, बगर भाइखलक, भिमकाली क्लब, त्रिशक्ति युवा क्लब, रत्न समाज र इन्द्रेणी एकीकृत विकासकेन्द्रलाई ७/७ थान फुटबल सहयोग गरिएको थियो ।    जसमध्ये ५/५ वटा प्रशिक्षण बल र २/२ वटा म्याच बल वितरण गरिएको सदस्य गुरुङले जानकारी दिइन् । उनले फुटबल विकासमा लागेको क्लबहरुलाई वडाबाट खेलकुदका समाग्री प्रदान गर्ने कार्यतालिका अनुरुप सहयोग गरेको बताईन् ।  उनले आगामी दिनमा समेत वडा कार्यालय रहेको महसुस गर्ने गरि विभिन्न सामाजिक संस्था तथा क्लबहरुसँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने बताईन् । यसैगरी बल ग्रहणगर्दै बिटी क्लबकी अध्यक्ष विजया गुरुङले वडाप्रति आभार प्रकट गरिन् ।   विगत लामो समयदेखि फुटबलको विकासमा लागिपरेको क्लबलाई खेलकुद समाग्री सहयोग गर्नु उदाहरणीय कार्य रहेको भन्दै खुशी व्यक्त गरिन् । ‘पोखरामा क्रियाशिल क्लब मध्य हामी पनि हौं, उनले भनिन्, ‘प्रतियोगिता तथा क्लबमा सहयोग धेर थोर पाउँदै आएका छौं अहिले वडाबाट पनि फुटबल सहयोग पाएका छौं । यसले गर्दा हामीलाई फुटबलको क्षेत्रमा थप काम गर्न उतप्रेरण मिलेको छ ।’

साफ यू-२० च्याम्पियनसिप फुटबलमा आज नेपालले  तेस्रो खेल घरेलु टोली भारतसँग प्रतिस्पर्धा गर्दैछ । भुवनेश्वर स्थित कालिंगा रङ्गशालामा जारी प्रतियोगितामा नेपाल लगातार तेस्रो जित निकाल्दै फाइनलमा पुग्ने योजनामा छ ।   भारतलाई हराएमा नेपालले फाइनल यात्रा तय गर्नेछ । नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले खेलाडीले राम्रो प्रदर्शन गरिरहेकोले जित निस्कनेमा विश्वास ब्यक्त गर्नुभएको छ । ‘‘भारत घरेलु टोली हो । तर, हाम्रो खेलाडीको मनोबल उच्च छ । हामी सबै खेल जित्दै अगाडि बढ्न चाहन्छौं,’’ केसीले भन्नुभयो । नेपाल र भारतबीचको खेल साँझ ७ः१५ बजे सुरु हुनेछ ।    उपाधि चुम्ने लक्ष्यका साथ भारत गएको नेपालले अघिल्ला दुई खेलमा लगातार जित निकालेको छ । नेपालले यसअघि पहिलो खेलमा माल्दिभ्सलाई ४-० र दोस्रो खेलमा श्रीलङ्कालाई ३-० गोलले पराजित गरेको थियो । पाँच टोली सहभागि प्रतियोगितामा नेपाल तालिकाको दोस्रो स्थानमा छ । नेपालले दुई खेलबाट ६ अङ्क बनाएको छ । तीन खेलमा अपराजित रहेको बङ्गलादेश ९ अङ्कसहित शीर्षस्थानमा छ ।   यता अघिल्ला दुई खेलमा एक जित र एक हारको नतिजा निकालेको भारतका लागि नेपालसँगको खेल महत्वपूर्ण छ । भारत पनि नेपाललाई रोकेर अगाडिको यात्रा कायम राख्ने दाउमा छ । दुई खेलबाट तीन अङ्क बनाएको भारत तेस्रो स्थानमा छ ।   माल्दिभ्स र श्रीलङ्काले भने अङ्कको खाता खोल्न सकेका छैनन् । नेपालले लिग चरणको अन्तिम खेल मङ्गलबार बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ । राउन्ड रोबिन लिगका आधारमा सञ्चालित प्रतियोगिताको शीर्ष दुई टोलीबीच शुक्रबार फाइनल प्रतिस्पर्धा हुनेछ । 

  पोखराको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको २० औँ संस्करणमा आयोजकलाई रु तीन लाख ४७ हजार आठ सय  घाटा लागेको छ ।   प्रतियोगिताको आयोजक सहारा क्लब पोखराले आज पत्रकार सम्मेलन आयोजना गरी आयव्यय सार्वजनिक गरेको हो । प्रतियोगितामा विभिन्न प्रायोजन तथा सङ्घसंस्थाबाट कूल आम्दानी रु ६६ लाख ४१ हजार एक सय ८१ भएकामा खर्च रु ६९ लाख ८९ हजार भएको क्लबले जनाएको छ ।    कोभिड-१९ को सङ्क्रमणका कारण सेमिफाइनल र फाइनल खेलमा बाहेक बिना दर्शक खेलाइएको प्रतियोगितामा रु १२ लाख ६२ हजार आठ सय २६ नोक्सान भए पनि विषम् परिस्थितिलाई मध्यनजर गरी सहारा हङकङबाट रु पाँच लाख एक हजार, सहारा युकेबाट रु तीन लाख र सहारा अष्ट्रेलियाबाट रु एक लाख थप सहयोग प्राप्त भएकाले नोक्सान कम भएको अर्थ सङ्कलन उपसमिति संयोजक सुनिल गुरुङले बताउनुभयो ।   प्रतियोगितालाई मुख्य प्रायोजक हिमश्री फुड्स्बाट रु १३ लाख ५१ हजार, गण्डकी प्रदेश खेलकुद परिषद्बाट रु पाँच लाख, राष्ट्रिय खेलकुद परिषद्बाट रु चार लाख ९२ हजारसहित विभिन्न सङ्घ संस्थाबाट सहयोग प्राप्त भएको थियो ।   यसैगरी खेलाडी दैनिक भ्रमण खर्चमा रु २७ लाख ४८ हजार एक सय ५०, टिम प्रोत्साहन खर्च रु १७ लाख ९३ हजार नौ सय ५०, रेफ्री खर्च रु चार लाख २६ हजार आठ सय ८५, प्रचारप्रसार, आयोजक टिम तयारीलगायत शीर्षकमा खर्च भएको क्लबले जनाएको छ । गत माघ ६ देखी १५ गतेसम्म २० औँ संस्करणको प्रतियोगिता सञ्चालन भएको थियो ।    प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको नेपाल एपीएफ फुटबल क्लबले जित्दा मनाङ मस्र्याङ्दी फुटबल क्लब उपविजेता बनेको थियो । सहाराले फुटबल प्रतियोगिता आयोजनाबाट सङ्कलित रकमबाट सहारा फुटबल एकेडेमी सञ्चालन गर्दै आएको छ ।

मुस्ताङ:  पोखरा आफ्नो क्षेत्रमा विकासका पूर्वाधार निर्माण गर्ने सपना प्राय सबै नेताको हुन्छ ।    गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले आफ्नो क्षेत्रमा विकास निर्माणका कार्य मात्रै गरेनन् । उनले उपल्लो मुस्ताङको लोवान्थाङमा गल्फ कोर्स निर्माण गर्नका लागि निकै कसरतमा लागिपरेका थिए ।    फलस्वरुप परिक्षण पनि सफल भैसकोको छ । उनी यतिबेला गल्फमै व्यस्त देखिएका छन् । गल्फ कोर्समै रमाइरहेका छन् ।   उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको लोवाथाङमा अवस्थित गल्फकोर्स नेपालकै सबैभन्दा उच्च स्थानको कोर्स हो । प्रदेश सांसद विष्टका अनुसार उक्त गल्फ कोर्स समुन्द्री सतहदेखि ४ हजार ६ सय ४५ मिटर उचाइमा रहेको छ । यो नेपालको हाई अल्टिच्युडमा भएको पहिलो कोर्स हो ।   पोखरा, चितवन र धरानमा १÷१ वटा, काठमाडौँमा ३ र अहिलेको उपल्लो मुस्ताङमा थपिएको १ गरि कुल नेपालमा ७ वटा गल्फ कोर्स रहेका छन् । नेपालको सबैभन्दा उचाइमा रहेको उपल्लो मुस्ताङको गल्फ कोर्समा यतिबेला   गल्फरहरु तथा प्रदेश सांसद इन्द्रधारा विष्ट रमाइरहेका छन् ।  १५ तस्बिरमा हेरौं, सांसद विष्ष्टको गल्फ मोह ।   तस्बिर: राकेश थापामगर                            

काठमाडौँ  :   साफ यू(२० च्याम्पियनसिप अन्तर्गत बुधबार भएको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३–० ले पराजित गरेको छ । प्रतियोगितामा लगातार दोस्रो जितसँगै नेपाल फाइनल नजिक पनि पुगेको छ ।   भारतको भुवनेश्वर स्थित कालिंगा रंगशालामा नेपाललाई लगातार दोस्रो जित दिलाउने क्रममा कप्तान आयुष घलान, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले १–१ गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि नेपालले दोस्रो हाफमा आक्रमण रणनीति बुन्दै जित पक्का गरेको हो । लगातार दोस्रो जित दर्ता गरेको नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।   खेलको २३ औं मिनेटमा मुहमेधु मुन्सिफले श्रीलंकालाई अग्रता दिलाउने सुवर्ण अवसर खेर फाले । उनले अफसाइड ट्रयाप बिट गर्दै अघि बढाएको बल वन भर्सेस वनको स्थितिमा प्रहार गर्दा पोस्टमा लागेर बाहिरिएको थियो ।   खेलको २९ औं मिनेटमा नेपालले गोल गरेपनि रेफ्रीले उक्त गोललाई मान्यता दिएनन् । कर्नरबाट आएको रिबाउन्डमा अजय चौधरीको शक्तिशाली प्रहार श्रीलंकाको डिफेन्डरलाई लाग्दै गोल भएको थियो । तर रेफ्रीले त्यसअघि नै रिबाउन्डमा जुध्ने क्रममा आशिष राईबाट फल भएको निर्णय दिए ।   ४४ औं मिनेटमा कप्तान आयुष घलानको लामो फ्रिकिकमा सुगम सुवालको हेडर पोस्टभन्दा थोरै बाहिर गयो । खेल दौरान कालिंगा रंगशालामा पटक पटक फ्लड लाइट बन्द हुँदा खेल रोकिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि नेपालले मनग्य नकर्मीलाई दोस्रो हाफमा मैदान प्रवेश गराएको थियो ।   ५२ औं मिनेटमा मोहमद साहिलको हेडर पोस्टमा लागेर फर्कंदा नेपाल पछि पर्नबाट जोगियो । कप्तान थेसान थुस्मिकाको लामो थ्रो इनलाई साहिलले ६ यार्ड बक्सनजिकबाट फ्लिक हेडर गर्दा गोलरक्षक इश्वर गुरुङ बिट भएका थिए ।   खेलको ५९ औं मिनेटमा कप्तान आयुषले नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । अभिषेक वाइबाको क्रसलाई गोलरक्षकले पन्च गरेपछि आएको बललाई आयुषले गोलमा परिणत गरेका थिए । उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको पहिलो टचकै प्रहार गोल भएको थियो ।   अग्रता लिएको केही मिनेटमा नै नेपालले कृतिशको गोलमा अग्रता दोब्बर पार्यो आयुषकै पासमा कृतिशले दोस्रो गोल गरे । आयुषले पेनाल्टी क्षेत्र भित्रबाट दिएको लेअपलाई कृतिशले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट पहिलो टचमै टप कर्नरमा गोल गरेका थिए ।   खेलको ८४ औं मिनेटमा नेपालले ३-० को अग्रता लियो । सुगम सुवालको पासमा मनग्यले पेनाल्टी क्षेत्र भित्रबाट सहजै गोल गर्दै जित सुनिश्चित गरे । खेलको इन्ज्युरी समयमा गोलरक्षक इश्वर गुरुङले मुन्सिफको प्रहारलाई विफल पार्दै आफ्नो लगातार दोस्रो क्लिन सिट राखे ।