काठमाडौं: एसियाली क्रिकेट काउन्सिल एसीसी प्रिमियर कप क्रिकेट आजदेखि नेपालमा सुरु हुँदैछ । नेपालसहित १० वटा देशले खेल्ने प्रतियोगिताका खेलहरु त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछन् । पहिलो खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । मलेसियासँगका पछिल्ला ५ वटा खेलमध्ये नेपाल सबैमा विजयी भएको छ । आज हुने अर्को खेलमा हङकङ र सिङ्गापुरले मूलपानी मैदानमा खेल्नेछन् । प्रिमियर कपको समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब र समूह बी मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । नेपालले तीन खेल कीर्तिपुर मैदानमा र एउटा खेल मूलपानीमा खेल्नेछ । नेपालले दोस्रो खेल वैशाख ८ गते ओमानसँग खेल्नेछ । नेपालले साउदी अरबसँग वैशाख ११ गते मूलपानीमा खेल्नेछ । त्यस्तै, वैशाख १४ गते कतारसँग नेपालको खेल हुनेछ । सेमिफाइनल वैशाख १६ गते र फाइनल वैशाख १८ गते हुनेछ । एसीसी प्रिमियर प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।
पोखरा: पोखरा स्पोट्र्स अवार्डमा विभिन्न खेल संघ, संस्था, क्लबका प्रतिनिधि तथा विद्यार्थीहरुको सहभागिता गराउन सोमबार पोखरामा आयोजित छलफल कार्यक्रममा वक्ताहरुले सुझाव दिएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार पोखरा रंगशालामा आयोजना गरेको छलफल कार्यक्रममा विभिन्न खेल संघ संस्थाका पदाधिकारीहरुले पोखरा स्पोट्र्स अवार्ड खेलकुदकर्मीहरुको ठुलो इभेण्ट भएकोले उक्त कार्यक्रममा खेल संघ, संस्था, क्लवका प्रतिनिधि तथा बिद्यार्थीहरुको सहभागिता गराउन वक्ताहरुmले सुझाव दिएका हुन् । वैशाख २३ गते पोखरा सभागृह हलमा आयोजना हुने स्पोर्टस् अवार्डको पूर्व सन्ध्यामा भएको छलफल कार्यक्रममा बोल्दै प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङले पोखरा स्पोर्टस् अवार्ड मोफसलको उत्कृष्ट अवार्ड भएको बताए । यसले खेलसंस्कृतिको विकास गर्नका लागि समेत सहयोग पुगेको बताउँदै प्रदेश खेलकुद परिषद गण्डकीको तर्फबाट सहयोगलाई निरन्तरता दिने बताए । नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले मञ्चले अवार्ड कार्यक्रममा हरेका तप्काका खेलाडीहरुलाई समेट्नु राम्रो पक्ष भएको भन्दै यस्ता कार्यक्रमले खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए । कार्यक्रमलाई सफल बनाउन सबैले अपनत्व लिनेगरि तयारी गर्न सुझाव दिए । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डी.बी. नेपालीले स्पोर्टस् अवार्ड पोखराको एउटा उत्कृष्ठ ‘इभेन्ट’ रहेको बताए । उनले कार्यक्रमलाई सफल पार्न विभिन्न संघसंस्थाहरुको पनि उत्तिकै भूमिका रहने बताए । अवार्ड कार्यक्रमले खेल क्षेत्रमा उत्साह थपेको बताए । उनले यही क्षेत्रमा केही गर्छु भन्नेहरुका लागि हौषला थप्ने विश्वास व्यक्त गरे । कार्यक्रममा सातौं पोखरा स्पोर्टस् अवार्ड-२०७९ का मूल आयोजक समितिका संयोजक दीननाथ बरालले वैशाख २३ गते हुने अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड दिने प्रदान गरिने जानकारी दिए । आफुहरुले अवार्डलाई सभ्य र भब्य बनाउन विभन्नि क्षेत्रका संघ संस्थाहरुसँगको छलफललाई तिव्र बनाइएको बताए । हाम्रोले नभई राम्रोले अवार्ड पाउनेमा निश्चिन्त बन्न उनको आग्रह थियो । सो कार्यक्रममा पोखरा स्पोर्टस् अवार्ड कार्यक्रमलाई सफल बनाउन गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका, केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि.लगायतले सहयोग गर्ने तय भैसकेको मञ्चका सचिव शशी कुमार पौडेलले जानकारी दिए । यसैगरी उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको सचिव पौडेलले जानकारी दिए । अवार्ड कार्यक्रम भव्य बनाउन मुल आयोजक समिति र तेह्र वटा विभिन्न उपसमिति गठन गरिएको छ ।
पोखरा: प्रदेश खेलकुद परिषद गण्डकीको टोली अन्तर प्रदेश भ्रमणमा निस्किएको छ । ५ दिनको भ्रमणका लागि परिषदको टोली आइतबार पोखराबाट हिंडेको हो । टोलीले लुम्विनी, कर्णाली र सुदुर पश्चिम प्रदेशको भ्रमण गर्ने भएको परिषदका कार्यालय प्रमुख टोपलाल भुसालले जानकारी दिएका छन् । परिषदका सदस्य सचिव घनश्याम पौडेलको नेतृत्वमा भ्रमणमा हिंडेको टोलीले अन्तर प्रदेशमा भइरहेका खेलकुद गतिविधि, पूर्वाधार निर्माणलगायतका विषयमा जानकारी लिने संगै तिनै प्रदेशका खेलकुद मन्त्री, सदस्य सचिवहरु संग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ । “परिषद गठन पछि हामी पहिलो पटक अन्तर प्रदेश भ्रमणमा निस्किएका हौं” परिषदका सदस्य तथा भ्रमण टोलीका संयोजक गिरमान गुरुङले भने–“यो भ्रमणले प्रदेश खेलकुदहरु संग सम्वन्ध विस्तार संगै सिकाईहरु आदान प्रदान गर्न समेत सहयोग मिल्ने छ ।” भ्रमण टोलीमा परिषदका कार्यकारी सदस्यद्वय दिल बहादुर गुरुङ र ऋषीराम गौतम, परिषदका सदस्यहरु योगेन्द्र शेरचन, बासु वराल, चन्द्रा घले गुरुङ, विष्णु माया गुरुङ, जिल्ला खेलकुदका अध्यक्षहरु तोरण बानियाँ, शान्त सिंह बस्नेत, र सेत बहादुर पुन रहेका छन् भने लेखा प्रमुख निलकण्ठ ढकाल पनि टोलीमा रहेका छन् ।
पाेखरा: हङकङमा जारी फेयरब्रेक आमन्त्रण क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री आबद्ध बार्मी आर्मी सेमिफाइनलमा पराजित भएको छ । कुलन क्रिकेट क्लब हङकङमा भएको दोस्रो सेमिफाइनल खेलमा फाल्कोन्सले आर्मीलाई ६ विकेटले पराजित गरेको हो । आर्मीले दिएको १ सय ५९ रनको लक्ष्य फाल्कोन्सले १८ दशमलब १ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । फाल्कोन्सका लागि चमरा अथापाथुले ५० बलमा ८ चौका र ५ छक्काको सहयोगमा ७८ रनको अर्धशतकीय ईनिङ खेलिन् । मरिजानी कप्पाले १० बलमा अविजित २३ रन बनाउँदा मारिको हिल ११ बलमा १९ रन बनाउँदै अविजित रहिन् । आर्मीका लागि रुविना क्षेत्रीले ४ ओभरमा ४१ रन खर्चिएर २ विकेट लिईन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । आर्मीका लागि दिरेन्द्र डोट्इनले २९ बलमा ४२ रन बनाउँदा फतिमा साना ३० बलमा ४५ रनमा अविजित रहिन् । रुबिना क्षेत्रीले ९ बलमा २ चौका सहयोगमा १३ रन बनाएकी थिईन् ।
पोखरा: गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले पोखरालाई खेलकुदको राजधानी नभएर खेलकुदको आर्कषक गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । तेस्रो टाइगर कप अन्र्तराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको आयव्यय सार्वजनिक गर्न टाइगर ग्रुप अफ नेपालले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘हामी अहिले खेलकुदको राजधानी खोजिरहेको छौं, जहाँ आर्कषक गन्तव्य बन्छ त्यो राजधानी हो, सांसद बरालले भने, ‘पोखरा एकसमय राष्ट्रिय खेलाडीको जग नै थियो, अहिले विस्तारै हराउँदै गएको छ यसमा सबैको ध्यान पु¥याउँदै खेलाडी उत्पादनमा ध्यान दिन आवश्यक छ ।’ उनले खेलकुद क्षेत्रको पूर्वाधार विकास गर्ने जिम्मा राज्यको भएको भन्दै विभिन्न प्रतियोगिता सञ्चालन र खेलाडी उत्पादनमा क्लब र विभिन्न संघसंस्थाले त्यसमा सहयोग गर्नुपर्नेमा बताए । टाइगर कपमा १६ लाख बढीको टिकट बिक्री, ५ लाख बढी रकम बचत टाइगर ग्रुप अफ नेपालले आयोजना गरेको तेस्रो टाइगर कप अन्र्तराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा ९० लाख ६७ हजार ५५ रुपैया आम्दानी भएको छ । पोखरामा माघ ८ देखि १४ गतेसम्म सञ्चालन भएको तेस्रो टाइगर कप अन्र्तराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा ९० लाख ६७ हजार ५५ रुपैयाँ आम्दानी हुँदा ८५ लाख १५ हजार १ सय १४ रुपैया खर्च भएको टाइगर ग्रुप अफ नेपालका कोषाध्यक्ष हरिबहादुर श्रेष्ठले बताए । उनका अनुसार टिकट प्रवेश शुल्कबाट १६लाख ७५ हजार ५ सय, सुश्री मिडिया प्रालिबाट १४ लाख ५० हजार, राष्ट्रिय खेलकुद परिषद्बाट ८ लाख पोखरा महानगरपालिकाबाट ७ लाख, प्रदेश खेलकुद परिषद गण्डकीबाट ५ लाख र विभिन्न संघसंस्था, व्यक्तिबाट ३९ लाख ४१ हजार ५सय ५५ रुपैयाँ सहयोग प्राप्त भएको टाइगर ग्रुप अफ नेपालले जनाएको छ । त्यस्तै खर्च तर्फ पुरस्कार तथा प्रोत्साहनमा १९ लाख ३० हजार, सहभागी टिमको यातायात र आवासमा १३ लाख २० हजार, विदेशी टिम खर्च ७ लाख ६६ हजार ९ सय, खेलाडीहरुको पोशाक तथा सोभिनियर ट्याक सुट खर्च १ लाख २४ हजार ९ सय, रेफ्रि अफिसियल र जुरी खर्च ६ लाख ३९ हजार ६ सय ७०, समारोह व्यवस्थापन खर्च ४ लाख २७ हजार ८ सय ७०, कार्यालय व्यवस्थापन खर्च २ लाख ६३ हजार ४ सय ३१ रुपैयाँ खर्च भएको अध्यक्ष शर्माले बताए । त्यस्तै प्याराफिट,मञ्च टेन्ट र साउण्ड सिस्टम खर्च १३ लाख ३१ हजार ९ सय ४२, प्रवद्र्धन प्रचार र विज्ञापन खर्च ५ लाख ४७ हजार ५ सय, अतिथि सत्कार खर्च १ लाख ५० हजार, खेल मैदान खर्च २ लाख २२ हजार १ सय ५६, स्वंयमसेवक खर्च १ लाख ४९ हजार ८ सय २५, मसलन्द तथा स्टेशनी खर्च ८८ हजार ९ सय ३३, टफि मेडल तथा प्रमाणपत्र खर्च ३ लाख ९८ हजार ३ सय ३५, सचिवालय खर्च ८५ हजार र औषधी तथा खानेपानी खर्च ६८ हजार ६ सय ४५ रुपैयाँ खर्च भएको टाइगर ग्रुप नेपालका कोषाध्यक्ष श्रेष्ठले बताए । पोखरामा सम्पन्न भएको तेस्रो टाइगर कप अन्र्तराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुष तर्फ गण्डकी प्रदेश र महिलातर्फ नेपाल एपिएफ क्लबले उपाधि जितेका थिए । यस्तै प्रतियोगितामा महिलातर्फ नेपाल एपिएफ क्लब, होङ्गाजी न्यू डायमण्ड स्पोर्टस क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशको सहभागिता रहेको थियो । यस्तै पुरुषतर्फ नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र एसटि जोसेफ वाड स्पोर्टस क्लब श्रीलंकाको टोलिकोे सहभागिता रहेको थियो ।
काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन् । लिगको आठौं चरण अन्तर्गत मंगलवार एन्फा कम्प्लेक्स र च्यासल मैदानमा एकएक खेल हुनेछ । दुवै खेल दिउँसो २ बजबोट शुरु हुनेछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै च्यासल मैदानमा साबिक विजेता मच्छिन्द्र फुटबल क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ ।
पोखरा: बलियो नेपाल कपमा– अन्तर एकेडेमी टि –२० क्रिकेट प्रतियोगितामा स्टार क्रिकेट एकेडेमी च्याम्पियन बनेको छ । पोखरा रङ्गशालामा आज (सोमबार) भएको फाइनल खेलमा कर्णाली एकेडेमीलाई ७ विकेटले हराउँदै बलियो नेपाल कप २०२३ को उपाधि स्टार क्रिकेट एकेडेमीले जितेको हो । उपाधिसँगै स्टार क्रिकेट एकेडेमीले नगद रु ५० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको कर्णाली एकेडेमीले नगद रु २५ हजार हात पार्याे । यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको कर्णालीले १९.१ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै केवल ७२ रनको बनाउन सफल रह्यो । कर्णालीका बिराट भण्डारीले २७ बल खेली सर्वाधिक १५ रन बनाए । रोशनले व्यक्तिगत १० रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । स्टारका लागि सुमित पराजुलीले आफ्नो व्यक्तिगत ४ ओभरमा १७ रन खर्चिंदै ३ विकेट लिन सफल भए । त्यस्तै शुभम खनालले २ तथा कप्तान अम मिश्र, निर्मल गुरुङ र महेश भरले समान १ विकेट लिए। ७३ रनको लक्ष्य पक्ष्याउंदै जवाफी ब्याटिङ गरेको स्टार क्रिकेट एकेडेमीले उक्त लक्ष्य केबल ९.५ ओवर खेली ३ विकेट गुमाउंदै पुरा गर्यो। स्टारका लागि ओपनर अनमोलले ३० बलमा २५ रन बनाए भने कप्तान अमर मिश्रले केबल ९ बलमा २२ रन बनाए । विशालले ८ रन र अंकितले अविजित १५ रन बनाए । स्टारका लागि बिक्रम सिंहले चौका प्रहार गर्दै खेलमा जित निकाल्न सफल रहे। बलिङ तर्फ भने कर्णालीका सन्दिप ठकुरी, भरत क्षेत्री र आदित्य शाहले समान १–१ विकेट लिन सफल रहे । फाईनल खेलको प्लेयर अफ द म्याच स्टार क्रिकेट एकेडेमीका सुमित अर्याल चुनिए । यस्तै प्रतियोगिताको उत्कृष्ट बलर पोखरा क्रिकेट एकेडेमीका प्रदीप अर्याल, उत्कृष्ट ब्याटस्म्यान, विराट सिंह भण्डारी, र प्लेयर अफ द सिरिज स्टार क्रिकेट एकेडेमीका कप्तान अमर मिश्र पुरस्कृत भए । विजेता तथा उपविजेता टोलीलाई सांसद सोविता भण्डारी लगायतले पुरस्कार वितरण गरेकी थिइन् ।
पोखरा: कास्कीको मादी गाउँपालिका ३ याङ्जाकोटमा २५६७ औं बुद्ध जयन्तीको अवसरमा बैशाख पूर्णिमा मेला हुने भएको छ । याङ्जाकोट मिलन युवा क्लबको आयोजनामा बैशाख २१ देखि २३ गतेसम्म बुद्ध जयन्तीको अवसरमा मेला आयोजना गर्न लागेको आज (आइतबार) पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । याङ्जाकोट मिलन युवा क्लबका अध्यक्ष बिकास गुरुङले २५६७ औं बुद्ध जयन्तीको अवसरमा बैशाख पूर्णिमा मेला आयोजना गरेको बताए । ‘दुईवर्ष सम्म कोरोना भाइरसका कारण मेला आयोजना गर्न सकेनौं, अध्यक्ष गुरुङले भने, २ वर्षपछि ‘२५६७’ औं बुद्ध जयन्तीको अवसरमा बैशाख पूर्णिमा मेला आयोजना गर्न लागेका हौं, यस मेलाले मादी गाउँपालिका र याङ्जाकोटको पर्यटन क्षेत्रमा सहयोग पुग्ने आशा राखेका छौं ।’ उनका अनुसार भलिबल प्रतियोगितामा प्रथम हुने समूहले १ लाख १ हजार १ सय ११ र दोस्रो हुने समूहले ५५हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछन् । यस्तै बास्केटबल प्रतियोगितामा प्रथम हुने समूहले १ लाख १ हजार १ सय ११ र दोस्रो हुने समूहले समान ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछन् । भलिबल प्रतियोगिता खुल्ला वडा स्तरीय र बास्केटबल प्रतियोगिता खुल्ला हुने क्लबले जनाएको छ । यस्तै सामुहिक नृत्य तर्फ प्रथम हुने समूहले ५० हजार दोस्रो हुने समूहले ५५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् । ठेलो प्रतियोगितामा प्रथम हुने समूहले २५ हजार र दोस्रो हुने समूहले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने, रस्साकस्सी प्रतियोगितामा प्रथम हुने समूहले १५ र दोस्रो हुने समूहले १० हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् । कुर्ची दौड प्रतियोगितामा प्रथम हुने समूहले ५ र दोस्रो हुने समूहले ३ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् । यस्तै क्लबले हाफ म्याराथन समेत आयोजना गर्ने भएको छ । म्याराथन तर्फ प्रथम हुने समूहले १५, दोस्रो हुने समूहले १० र तेस्रो हुने समूहले ५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् । मेलामा करिव २५ लाख आम्दानी र २१ लाख ५९ हजार ३ सय २२ रुपैया खर्च हुने अनुमान क्लबले गरेको छ ।
पोखरा: बलियो नेपाल कप यू-१९ टि-२० क्रिकेटमा घरेलु टोली पोखरा क्रिकेट एकेडेमी र कर्णाली क्रिकेट एकेडेमीले विजयी सुरुवात गरेका छन् । पोखरा रंगशालमा बुधबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा कर्णाली प्रदेश विजयी भएको हो । टस हारेर व्याटिङमा उत्रिएको कर्णालीले २० ओभर खेल्दै ४ विकेटको नोक्सानीमा १३४ रन जोडेको थियो । तर जवाफी व्याटिङमा उत्रिएको पलसर सिइसीले १९.५ ओभरमा सबै १० विकेट गुमाउँदै १२४ रन मात्रै जोड्न सक्यो । कर्णालीका लागि विराट भण्डारीले ५२ बलमा ५९, खेमराज खड्काले ४९ बलमा ४९ रन बनाउँदा मनिष थापाले ९ रन बनाएका थिए । यता पल्सर सिइसीका लागि २९ रन खर्चिएर ४ विकेट लिएका थिए । जवाफी व्याटिङमा पल्सर सिइसीका लागि सन्दिप विष्टले ३७, विपिन न्यौपानेले २० र १६ रन बनाए भने कर्णालीका लागि विराट भण्डारीले २, लक्की वमले र भरत क्षेत्रीले १ विकेट हात पारे । खेलमा विराट भण्डारी म्यान अफ दि म्याच घोषित भए । यता दोश्रो खेलमा घरेलु मैदानको फाइदा उठाउँदै पोखरा क्रिकेट एकेडमीले जनकपुर क्रिकेट एकेडेमी विरुद्ध ६ विकेटले महत्वपूर्ण जित हात पारेको छ । पोखरा विरुद्ध व्याटिङको सुरुवात गरेको जनकपुरलाई २० ओभरमा १०१ रनमा खुम्चाएको पोखराका लागि प्रदिप अर्यालले महत्वपूर्ण ३ विकेट हात पारेका छन् । जनकपुरका लागि साजन कुमार अग्रवालले १२ र अखिल श्रवणले ८ रन बाहेक अन्यले खासै दोहोरो रन जोड्न सकेनन् । जनकपुरका विरुद्ध व्याटिङका उत्रिएको पोखराका लागि खेलमा म्यान अफ दि म्याच समेत रहेका सिव्रिन श्रेष्ठले २१ बलमा नट आउट रहँदै २७, सोहेल कुंवरले २७ बलमा २७ रन सफल श्रेष्ठले २५ बलमा १९ रनको योगदान दिए । जनकपुरका लागि राजेश कुमार दाश र रोहन यादवले समान १–१ विकेट हात पार्दा अखिल श्रवणले २ विकेट झारे । यस अघि प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरका प्रमुख धनराज आचार्य खेल पर्यटन विकासका लागि यस्ता खेल कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । दुई समूहमा विभाजन गरी हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा खेलाइने छ । ६ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसै गरी म्यान अफ दि म्याचमा समेत नगद २ हजार ५ सय प्रदान गरिने छ । २७ गतेसम्म संचालन हुने प्रतियोगिताको पोखरा क्रिकेट एकेडेमी, जनकपुर क्रिकेट एकेडेमी, स्टार क्रिकेट एकेडेमी, इलाम क्रिकेट एकेडेमी, कर्णाली क्रिकेट एकेडेमी र पल्सर सिइसिको सहभागिता रहेको छ ।

