पोखरा ।      पोखरामा सम्पन्न फाइभ ए साइड एमेच्योर फुटसल प्रतियोगितामा एन डलर एफसी च्याम्पियन बनेको छ ।   रानीपौवा स्पोर्टस् सेन्टरमा शनिबार भएको फाइनल खेलमा मित्रबन्धु एक्स गेम हाउसलाई...

पोखरा:  बगर भाई खलक ६० वर्ष माथीको ‘सुपर भेट्रान’ फुटबल खेल्न भारत जाने भएको छ ।   मित्रराष्ट्र भारतको उत्तराखण्ड राज्यको देहरादुनमा यहि जेठ २६ देखि २९ गते सम्म आयोजना हुने ‘प्रथम राष्ट्रिय मास्र्टस स्पोर्टस २०२३’ अन्तर्गत हुने ‘सुपर भेट्रान’ फुटबलमा सहभागिता जनाउन त्यस तर्फ जान लागेको हो । भारततर्फ प्रस्थान गर्न लागेको टोलीलाई वडा प्रहरी कार्यालय बगरले एक कार्यक्रम गरी बिदाई गरेको छ । बिदाई कार्यक्रममा आफ्ना भनाई राख्दै पोखरा महानगर पालिका वडा नं १ का अध्यक्ष सहारा प्रधानले जितको शुभकामना दिंदै खेलकुद संगै सामाजिक अभियानमा सक्रिय भाई खलकले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन लागेकोमा खुसी व्यक्त गर्दै प्रतियोगिताले पोखरालाई खेलकुद मार्फत परिचय गराउन सहयोग मिल्ने बताए । कार्यक्रममा  वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरिक्षक सालिकराम तिमिल्सिनाले भाई खलकले समाजमा सचेतना जगाउने संगै खेल अभियानमा सक्रियता पूर्वक अघि बढेकोमा खुसी व्यक्त गर्दै यसले सामाजिक रुपान्तरणमा समेत महत्वपूर्ण भूमिका खेलेको बताए । आफू सक्रियपूर्वक खेलमा जोडिन नसके पनि पाको उमेरमा पनि खेलकुदलाई अभिन्न बनाउन सकिन्छ भन्ने कुरालाई उदाहरणको रुपमा भाई खलकले स्थापित गरेको छ ।” सो अवसरमा सामाजसेवी तथा वडा प्रहरी कार्यालयका निर्माण तथा सम्भार समितिका अध्यक्ष पुरोषतम श्रेष्ठ, बगर भाई खलकका अध्यक्ष दिल बहादुर गुरुङ, महासचिव याम बहादुर गुरुङले आफ्ना भनाई राखेका थिए । पहिलो पटक ‘सुपर भेट्रान’ फुटबलमा सहभागिता जनाउन लागेको टोलीमा १५ जना रहेका छन् । टोलीमा पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको जमघट छ । जसमा ६९ वर्षिय दिनेश कुमार श्रेष्ठ, ६९ वर्षिय केशव (आनन्द) रञ्जित, ६८ वर्षिय चिन बहादुर गुरुङ, ६६ वर्षिय दिल बहादुर गुरुङ, ६५ वर्षिय जसकाजी गुरुङ र राम बहादुर गुरुङ, ६२ वर्षिय कृष्ण बजिमय, अम्बर गुरुङ र रमेश कुमार श्रेष्ठ, ६१ वर्षिय लोक बहादुर गुरुङ, ६० वर्षिय युद्ध बहादुर गुरुङ, जुनकाजी गुरुङ, ओमकार गिरी, धन कुमार गुरुङ (सन्तोष) र शकिल गुरुङ रहेका छन् । टोली बुधबार बिहान भारतका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको अध्यक्ष गुरुङले बताए । बिदाई कार्यक्रममा पोखरा महानगर वडा नं १ का अध्यक्ष प्रधानले खेलाडीहरुलाई मायाँको चिनो स्वरुप खेल पोशाका प्रदान गरेका थिए । बगर भाई खलकले तमु धिं युकेद्वारा हालै युकेमा सम्पन्न भेट्रान फुटबलमा समेत सहभागिता जनाएको थियो । ६० वर्ष माथीको फुटबल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै पहिलो पटक भारता जान लागेको हो । नेपालमा भेट्रान फुटबल आयोजना गर्ने श्रेय समेत भाई खलकलाई छ । ‘स्वास्थ्यका लागि एक घनटा व्ययाम, नागरिक हरुको लागि नौलो आयाम’ भन्ने नाराका साथ विगत १२ वर्ष देखि निरन्तर भेट्रान फुटबलको आयोजनाले नेपालमा मात्रै नभई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चर्चा बटुलेको छ । यसै विच भाई खलकले सञ्चालन गरेको ग्रासरुट लेभलका फुटबल प्रशिक्षक मनिष क्षेत्रीलाई उपचारका लागि नगद रु ५ हजार सहयोग गरेको छ । उनी विगत एक वर्ष देखि घुँडाको चोटका कारण समस्यामा रहेका छन् । 

काठमाडौं:  नव प्रवेशी चर्च ब्वाइज पहिलो सिजन नै सहिद स्मारक  ‘ए’ डिभिजन लिगको च्याम्पियन बनेको छ ।    मंगलबार २५औं चरणमा थ्री स्टारसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइज एक खेल बाँकी छँदै लिगको च्याम्पियन बन्न सफल भएको हो ।   विस।स २०६६ मा राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता भएर चर्च ब्वाइजले आधिकारिक रुपमा फुटबल यात्रा सुरु गरेको थियो । त्यसपछि  ‘सी’ डिभिजन छनोट खेलेको चर्च ब्वाइज २०१८–१९ को सिजनमा ‘सी’ डिभिजन च्याम्पियन बनेर ‘बी’ डिभिजनमा बढुवा भयो । त्यसपछि चर्च ब्वाइज २०२१–२२ को सिजनमा ‘बी’ डिभिजन च्याम्पियन बन्दै शीर्ष डिभिजनमा उक्लिएको चर्च ब्वाइज शीर्ष डिभिजनमा पहिलो सिजन नै च्याम्पियन बन्न सफल भयो ।  चर्च ब्वाइज छनोट हुँदै  ‘सी’, ‘बी’ र  ‘ए’ च्याम्पियन बन्ने दोस्रो क्लब बनेको छ ।    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलको १६औँ मिनेटमा लाकेन लिम्बुले वान भर्सेस वानको स्थितिमा गोल गर्न चुक्दा थ्री स्टार अग्रत लिनबाट चुक्यो । लगत्तै १७औँ मिनेटमा अन्जन विष्टको क्रसमा आशिष चौधरीको हेडर गोल रक्षक अरुण ब्लोनले बचाए । २१औँ मिनेटमा अशोक खवासको पासमा अजयी मार्टिन्सको वान भर्सेस वानको प्रहार पहिलो बार नजिकैबाट बाहिरिएपछि फेरि थ्री स्टार अग्रता लिनबाट चुक्यो ।   ३६औँ मिनेटमा अन्जन विष्टको फ्रिकिक गोलरक्षक अरुणले पञ्च गर्दा कप्तान विक्रम लामाले क्लियर गर्दै थ्री स्टारको संकट टारे । लगत्तै ३७औँ मिनेटमा एरिक विष्टको कर्नरमा अनन्त तामाङले गरेको हेडर अरुणले उत्कृष्ट बचाए । दोस्रो हाफमा पनि दुवै टोलीले केही आक्रमण बुनेपनि गोल गर्न नसक्दा खेल बराबरीमा टुंगियो ।   यस बराबरीसँगै च्याम्पियन बनेको चर्च ब्वाइजको २५ खेलबाट ४६ अंब पुगेको छ । चर्च ब्वाइजले अन्तिम खेलमा एफसी खुमलटारसँग खेल्दैछ । यो खेलमा अंक गुमाएपनि चर्च ब्जाइजलाई कुनै असर पर्ने छैन । चर्च ब्वाइजसँगको बराबरीले थ्री स्टारलाई भने रेलिगेसनको दवाव कायमै छ ।   

पोखरा:  प्रथम गण्डकी प्रदेशस्तरिय फुल कन्ट्याक्ट प्रतियोगिता सम्पन्न भएको छ ।   प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा फुल कन्ट्याक्ट कराते संघ गण्डकी प्रदेशको समन्वयमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा ३५ केजी तौल पुरुष तर्फ स्याङजाका सुरेश सार्कीले स्वर्ण पदक जितेका छन् । उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित समेत भए । उनलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य खगेन्द्र क्षेत्रीले नगद ५ हजार सहित पुरस्कृत गरे ।  सोही तौल स्पर्धामा तनहुँका सन्जन गुरुङले रजत पदक जित्दा म्याग्दीका अशिम सारु मगर र कास्कीका सत्कार प्रतेलले कास्य पदक जिते । ४५ केजी तौल पुरुषतर्फ गोर्खाका अर्मान गुरुङले कास्कीका विक्रम सुनारलाई फाइनलमा पराजित गर्दै स्वर्ण पदक जितेका छन् । कास्कीका संगम खड्का र स्याङजाका समिर खाँडले कास्य पदक हात पारे ।   ५५ केजी तौलतर्फ स्याङजाका निरज राना मगरले स्वर्ण, कास्कीका दिपेश ठकुरीले रजत, कास्कीका कृष्ण थापा मगर र तनहुँका गौरव थापाले कास्य पदक जिते ।पुरुष खुल्ला तौलमा स्याङजाका सञ्जय कुमार गुप्ताले स्वर्ण, म्याग्दीका लिला बहादुर बिकले रजत, कास्कीका अर्जुन विश्वकर्मा र गोर्खाका कुमार रोक्काले कास्य पदक हात पारे ।   त्यस्तै महिलातर्फको खुल्ला तौलतर्फ गोर्खाकी कविता नेपालीले स्वर्ण, स्याङजाकी चिन मायाँ दर्लामीले रजत, कास्कीकी कला क्षेत्री र पर्वतकी रोजा गुरुङले कास्य पदक जितेका छन् ।महिलातर्फ नै भएको ५० केजी तौलमा कास्कीकी सरगम कुमालले फाइनल प्रतिस्पर्धामा कास्कीकै मेनुका अधिकारीलाई पराजित गरी स्वर्ण पदक जितेकी छन् । म्याग्दीकी सकृया पुन र नवलपुरकी आरती विकले कास्य पदक प्राप्त गर्न सफल रहेका छन्  । प्रतियोगितामा बिजेता खेलाडीहरुलाई गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडा, प्रदेश खेलकुद गण्डकीका सदस्य सचिव श्रीधर शर्मा, कार्यकारी सदस्य ऋषीराम गौतम, सदस्य खगेन्द्र क्षेत्रीलागतयले ट्रफी मेडल र प्रमाण पत्र वितरण गरेका थिए । सो अवसरमा मन्त्री सिंखडाले खेलकुद क्षेत्रलाई अझै व्यवस्थित बनाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् । दुई दिन सम्म सञ्चालन भएको प्रतियोगितामा मुख्य निर्णायकको भूमिकामा विजय आले मगर रत्न बहादुर आले, हरि बहादुर खड्का (नाराज) र कृष्ण बहादुर नेपाली रहेका थिए ।   प्रतियोगितामा मनाङ र मुस्ताङ बाहेक ९ जिल्लाका महिला तथा पुरुष खेलाडीहरु गरी ६० जनाको सहभागिता रहेको थियो ।     

पोखरा: गण्डकी प्रदेशस्तरिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि कास्कीले जितेको छ ।   प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनलमा नवलपुरलाई १८ रनले पराजित गरेको हो । उपाधि जिते संगै कास्कीले ट्रफीका साथ नगद १ लाख हात पार्न सफल भएको छ  भने उपविजेता रहेको नवलपुरले नगद रु ५० हजार प्राप्त गरेको छ ।   नवलपुरले टस जितेर व्याटिङको निम्तो दिएको कास्कीलाई आफ्नो होम ग्राउण्डमा पुरै २० ओभर खेल्दै ८ विकेटको क्षतीमा १४२ रन बनाएको थियो । खेलमा अभिषेक थापाले २५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै अविजित ३६ रनको पारी खेले । त्यस्तै सोहेल कुँवरले ३२ बलमा ३३ रन, किरण पौडेलले २१ र कृष्ण पौडेलले व्यक्तिगत १० रन बनाएका छन् ।   नवलपुरबाट बलिङ गरेका अपराजित पौडेलले ४ ओभरको स्पेलमा १९ रन खर्चिएर ३ विकेट लिए । कैलाश पगेनीले २ विकेट हात पार्दा शिसिर भुसाल र विशाल पौडेलले समान १–१ विकेट लिएका थिए ।   यता १४३ रनको लक्ष्यका साथ मैदानमा उत्रिएको नवलपुर १२४ रनमा समेटिन पुग्यो । नवलपुरलाई व्याकफुटमा धकेल्न कास्कीका सिव्रिन श्रेष्ठको बलिङ रह्यो । उनले ओपनर रोविन तिमिल्सिनालाई डक आउट पेभिलिएन फर्काए पछि नवलपुरले सम्हालिने मौका नै पाएन । सिव्रिनले नवलपुरका सन्देश बस्नेतलाई व्यक्तिगन १३ रनमा आउट गरे । यता अभिषेक थापाले समेत २ विकेट झारे । उनले प्रोमिस अर्याललाई १७ र रिजन काफ्लेलाई १९ रनमा नै पेविलिएनको बाटो देखाए ।    गत जेठ १४ गतेबाट सुरू भएको प्रतियोगितामा म्यान अफ दि सिरिजको उपाधि नवलपुरका अपराजित पौडले घोषित भएका छन् । उनले ट्रफीसहित नगद ४ हजार हात पारे । उनी नै बेष्ट बलर घोषित भए । वेष्ट व्याट्म्यान कास्कीका मुस्कान थापा बन्न सफल भए । उनीहरुले जनही नगद २–२ हजार हात पारे । फाइनल खेलको म्यान अफ दि म्याच भने कास्कीका अभिषेक थापा भएका छन् । उनले नगद १ हजार प्राप्त गरे ।   प्रतियोगितामा विजेता टिम तथा खेलाडीहरुलाई कार्यक्रमका संयोजक एवं प्रदेश खेलकुदका कार्यकारी सदस्य ऋषीराम गौतम र कास्की क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पुरस्कार वितरण गरेका थिए ।   प्रतियोगितामा कास्की, तनहुँ, नवलपुर, गोर्खा, पर्वत, स्याङजा, बागलुङ र म्याग्दीको गरी ८ टिमको सहभागिता रहको थियो ।  

म्याग्दी:  गण्डकी प्रदेशस्तरिय परम्परागत ठेलो प्रतियोगितामा पर्वत जिल्लाले कब्जा जमाएको छ ।   प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शनिबार म्याग्दीको बेनीमा सम्पन्न प्रतियोगितामा पर्वतले क्लिन स्विप गर्दै कब्जा जमाएको हो । पर्वतले पहिलो, दोश्रो र तेश्रो तिनै स्थानमा कव्जा जमाएको छ । पर्वतका किरण विकले १४।०१ मिटरको दुरी ठेलो फाल्दै पहिलो स्थान प्राप्त गर्न सफल भए । उनले नगद रु २५ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पारे ।   त्यस्तै पर्वतका राजेन्द्र हमालले १३,९७ मिटरको दुरी फाल्दै दोश्रो भए भने निशान बोहराले १२,८२ मिटर ठेलो फाल्दै तेश्रो स्थानमा चित्त बुझाए । दोश्रो भएका हमालले नगद रु १५ हजार र तेश्रो भएका बोहराले नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिताका संयोजक योगेन्द्र शेरचनले जानकारी दिएका छन्।   प्रतियोगितामा म्याग्दी, बागलुङ र पर्वतका गरी १२ खेलाडीहरुको सहभागिता रहेको थियो । लमजुङ र कास्कीले प्रतियोगितामा सहभागिता जनाउने बताए पनि अन्तिम समयमा अनुपस्थित रहेका थिए ।   प्रतियोगितामा बिजेता खेलाडीहरुलाई बेनी नगरपालिकाका प्रमुख सुरज केसी, प्रदेश खेलकुद परिषदकी सदस्य चन्द्रा घले गुरुङ, जिल्ला खेलकुद म्याग्दीका अध्यक्ष दिनेश केसी लगायतले नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।   ठेलो प्रतियोगिता गण्डकी प्रदेशमा परम्पराको रुपमा खेलिदै आएकोमा सो को सरक्षण, प्रवर्द्धन र प्रचार प्रसारका लागि आयोजना गरिएको परिषदका सदस्य समेत रहेका शेरचनले बताएका छन्।   

पोखरा:  नयाँ गल्ली क्लबको आयोजनामा सम्पन्न तेस्रो देशना चन्द स्मृति नयाँ गल्ली कप सेभेन ए साइड फुटबल प्रतियोगितामा केआइइसी बुन एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका–१ स्थित पुरानोटुडिखेल मैदानमा शनिबार भएको फाइनलमा गन्नी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै केआइइसी बुन एफसी च्याम्पियन बनेको हो ।   बुन एफसीलाई च्याम्पियन बनाउन आशिष गुरुङले निर्णायक गोल गरे ।   उनको गोलसँगै उपाधि जितेको बुन एफसीले नगद १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको गन्नी एफसीले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्याे ।   कुल ४७ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट बुन एफसीका आशिष गुरुङ सर्वोत्कृष्ट खेलाडीका रुपमा ट्रफीसहित नगद रु १० हजारबाट पुरस्कृत भए । यस्तै उत्कृष्ट गोलरक्षकका रुपमा  सोही टिमकै जनम गुरुङ, उत्कृष्ट डिफेन्डरका रुपमा सोही क्लबकै सरोज तितुङ घोषित भए ।    यस्तै उत्कृष्ट मिडफिल्डरका रुपमा  मनोज गुरुङ र उत्कृष्ट फरवार्डका रुपमा गन्नी एफसीका सन्दिप रानामगर घोषित भए । उनीहरुलाई ट्रफीसहित जनही नगद रु ५ हजार प्रदान गरिएको अर्थ संयोजक हिटलर घलेले जानकारी दिए ।    उनका अनुसार अनुशासित टिमको उपाधि भने करापुटार एफसीले जितेको थियो ।   प्रतियोगिताबाट विजेता तथा उपविजेता टोली सदस्यहरुलाई स्वर्गीय देश्ना चन्दका परिवार, प्रदेश खेलकुद परिषदका सदस्य शुभकन्या गुरुङ, इन्द्रेणी एकीकृत विकास केन्द्रका अध्यक्ष भानुभक्त अधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए । 

काठमाण्डौ:  नेपालले मलेसियासँगको महिला टी–२० क्रिकेट शृङ्खला जितेको छ ।    आज भएको पाँचौँ तथा निर्णायक खेलमा घरेलु टोली मलेसियालाई तीन विकेटले हराउँदै नेपालले शृङ्खला ३–२ ले जितेको हो ।   बाङ्गीमा मलेसियाले दिएको एक सय १० रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ७ विकेट गुमाएर भेट्टायो । नेपालका सीता रानामगरले सर्वाधिक ३४ रन बनाइन् । कप्तान रुविना क्षेत्रीले २३ रन जोडिन् । अप्सरी बेगम १५ तथा ज्योति पाण्डे १४ रनमा अविजित रहिन् । बिन्दु रावल र इन्दु बर्मा समान ५ तथा कविता कुँवर ४ रनमा आउट भइन् ।   मलेसियाकी हमिजाहले सर्वाधिक दुई विकेट लिइन् । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो ।   मलेसियाकी वान जुलिया मोहम्मद रोस्दीले सर्वाधिक ४७ रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन । महिराह इजाती इस्मालीले २० रन बनाइन् । नेपालकी कविता कुँवरले दुई र ईश्वरी विष्टले एक विकेट लिइन् ।   नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा ७ विकेट र तेस्रो खेलमा २७ रनले विजयी भएको थियो ।   

पोखरा:    जुम्लाका धावक धिराबहादुर बुढा र गणना भण्डारीले तेश्रो अन्नपूर्ण म्याराथनको उपाधि जितेका छन् ।  शनिबार सम्पन्न भएको अन्नपूर्ण सेञ्चुरी महोत्सव अन्र्तगत म्याराथन प्रतियोगितामा पुरुषतर्फ जुम्लाका धिरा बहादुर बुढाले जितेका हुन् ।  जुम्लाका धावक धिरा बहादुर बुढाले ४ घण्टा १० मिनेट ५१ सेकेण्डमा दुरी पार गर्दै उपाधि जितेका हुन् । यस्तै नेपाल आर्मीका धावक होमलाल श्रेष्ठले ४ घण्टा १२ मिनेट ३२ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भएका छन् भने, आर्मीका धावक नै बेद बहादुर सुनुवारले ४ घण्टा १६मिनेट ४८ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भएका छन् ।  यस्तै महिलातर्फको म्याराथन प्रतियोगितामा पनि जुम्लाका धावक गणना भण्डारीले उपाधि जितेका छन् । उनले ५ घण्टा ४३ मिनेट २ सेकेण्डमा दुरी पार गर्दै उपाधि चुमेका हुन् । यस्तै धादिङकी रशिला तामाङले ६ घण्टा ५ मिनेट २ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भईन् भने, ओखलदुङ्गाकी चोकी शेर्पाले ६ घण्टा ११ मिनेट १६ सेकेण्डमा दुरी पूरा गर्दै तेस्रो भईन् ।  म्याराथन पुरुषतर्फ प्रथम हुने धावकले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७५ हजार पुरस्कार पाएका छन् । यस्तै महिलातर्फ प्रथम हुने धावकले ७५ हजार,  दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । अन्नपूर्ण हिमालको आधार शिविरबाट सुरु भएर म्याराथन माछापुच्छ«े आधार शिविर, बगर, देउराली, किम्रोङखोला, उरी हुँदै घान्द्रुकमा आएर सम्पन्न भएको थियो ।   सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली मौसिर हर्जोगको टोलीले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले म्याराथनको समेत आयोजना गर्दै आएको छ । दुईवर्ष कोरोना भाइरसका कारण रोकिएको म्याराथन तेस्रो संस्करणको म्याराथन आज अन्नपूर्ण आरोहण दिवसको अवसरमा सम्पन्न भएको हो ।   

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका १०–११ घान्द्रुकमा आयोजित गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि तनहुँको ठकुरी समाज बाबियोडाँडाले जितेको छ ।  शनिबार सम्पन्न भएको फाइनल खेलमा ठकुरी समाज तनहुँले घान्द्रुक क्ल्यूलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो । ठकुरी समाज तनहुँले क्ल्यूलाई २५–१८, २३–२५, २५–१६,२१–२५ र निर्णायक तथा पाँचौ सेट १५–११ ले जित्दै उपाधि जितेको हो ।    उपविजेता घान्द्रुक क्ल्यू  उपाधि विजेता ठकुरी समाज तनहुँले नगद ८० हजार पुरस्कार प्राप्त ग¥यो भने, उपविजेता घान्द्रुक क्ल्यूले ५० हजार पुरस्कार प्राप्त गरेको छ । गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितामा १३ समूहको सहभागिता रहेको थियो ।  सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली मौसिर हर्जोगको टोलीले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले म्याराथन तथा महोत्सव सञ्चालन गर्दै आएको छ ।