काठमाडौं: आईसीसी यू १९ विश्वकप प्रतियोगितामा पाकिस्तानसँग नेपाल ५ विकेटले पराजित भएको छ । दक्षिण अफ्रिकाको इस्ट लण्डनमा भएको खेलमा नेपालले दिएको १ सय ९८ रनको लक्ष्य पाकिस्तानले ४७ ओभर ४ बलमा ५ विकेट गुमाउँदै भट्टायो । पाकिस्तानका लागि अजान अवैसले सर्वाधिक ६३ रन बनाए । ८२ बलको सामना गरेका उनले ६ चौका प्रहार गरे । त्यस्तै, पाकिस्तानी ओपनरद्वय श्यामल हुसेन र शाहजिब खानले समान ३७ रन बनाए । नेपालका लागि आकाश चन्दले तीन विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १ सय ९७ रन बनाएको थियो । नेपालका लागि विपिन रावलले ६८ बलमा ३९ रन बनाए भने दिपक डुम्रेले ५८ बलमा २६ रन बनाए । त्यसैगरी, कप्तान देव खनालले ३७ बलमा २३ रन जोड्दा सुवास भण्डारीले २४ बलमा २० रन बनाए । पाकिस्तानका अराफात मिन्हासले तीन तथा उबैद शाह र अहमद हुसेनले समान दुई विकेट लिए । यसअघि आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको थियो । नेपालले अर्को खेल अफगानिस्तानसँग शुक्रबार खेल्नेछ ।
पोखरा: पोखरामा जारी २३ औं आहा! रारा पोखरा गोल्डकपमा राइजिङ स्टारलाई १–० ले हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब क्वार्टरफाइनल प्रवेश गरेको छ । आर्मीका लागि कप्तान भरत खवासले निर्णायक गोल गरे । उनले खेलको २७ औं मिनेटमा क्रसबाट आएको बललाई पेनाल्टीबक्सबाट डाइभिङ गर्दै बललाई जाली चुमाएका थिए । अधिकांश नयाँ खेलाडी उतारेको आर्मी र पहिलो पटक सहभागी भएको राइजिङ स्टारबीच कडा प्रतिस्पर्धा भएको थियो । खेलको दोस्रो हाफमा राइजिङले आर्मीलाई दबाबमा राखे पनि गोल गर्न सकेनन् । आर्मीलाई गोलकर्तासमेत रहेका भरत खवासले कप्तानी भूमिका सम्हालेका थिए । उनी प्रतियोगिताको म्यान अफ दी म्याचसमेत बनेका छन् ।
पाल्पा: स्टेप रामपुरले महिला भलिबल खेलाडी अस्मिता घर्ती मगरलाई उपचारको लागि आर्थिक सहयोग गरेको छ । खेल अभ्यासको क्रममा चोट लागेर घाइते भएकी मगरलाई स्टेप रामपुरको पहलमा विभिन्न संस्था तथा व्यक्तिबाट सङ्कलन भएको एक लाख छ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । अस्मिताको निवास रामपुर नगरपालिका–६, तालपोखरा पुगेर रकम हस्तान्तरण गरेको हो । अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप राना, जिल्ला भलिबल सङ्घका अध्यक्ष राजु गुरुङ, अन्धकारमुक्ति साकोसका अध्यक्ष सागर प्रसाद देवकोटा, नमस्ते पाल्पा दक्षिण कोरियाका संस्थापक कोषाध्यक्ष तथा नेपाल प्रतिनिधि मोहन थापा, स्टेप रामपुरका उपाध्यक्ष जमुना राना, प्रशिक्षक कमल राना लगायतको उपस्थितिमा अस्मिता र उनका दाजु कृष्ण घर्ती मगरलाई रकम प्रदान गरिएको हो । रकम हस्तान्तरण गर्दै अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप रानाले अस्मिताको शिघ्रस्वास्थ्य लाभको कामना गर्दै समाज र राष्ट्रलाई चिनाउने खेलाडीहरूका लागि राज्यको नजर पुग्नु आवश्यक रहेको बताए । जिल्ला भलिबल सङ्घका अध्यक्ष राजु गुरुङले अस्मिता प्रतिभावान उदाउँदो खेलाडी रहेको बताउँदै जिल्ला भलिबल सङ्घले पनि आवश्यक पहल गरिरहेको बताए । । अन्धकारमुक्ति साकोसका अध्यक्ष सागर प्रसाद देवकोटा खेलप्रतिभाको जिम्मा राज्यले लिनु पर्ने अवस्थामा युवाहरूले अभियान सञ्चालन गर्नु पर्ने अवस्था आएको भन्दै राज्यको नजर पुग्नु पर्नेमा जोड दिए । स्टेप रामपुरका खेल प्रशिक्षक कमल रानाले मकाउ मगर सङ्घबाट प्राप्त ५० हजार, नमस्ते पाल्पा कोरियाबाट प्राप्त ३१ हजार, सञ्जय मेमोरियल फाउण्डेशनबाट प्राप्त १० हजार सहित जिल्ला भलिबल सङ्घ, नगर भलिबल सङ्घका पदाधिकारी लगायत विभिन्न संस्था तथा व्यक्तिहरू बाट सङ्कलन भएको रकम हस्तान्तरण गरिएको जानकारी दिए । अस्मिताले गत वर्ष १८ मुनिको राष्ट्रिय भलिबल प्रतियोगितामा लुम्बिनी प्रदेशबाट खेलेकी थिईन् । साथै राष्ट्रिय स्तरको सिनियर महिला भलिबलमा समेत सहभागिता जनाउन सुरु गरेकी छिन । अस्मितालाई यसअघि अध्ययनरत विद्यालय कुँवरवर्ती ईङ्गलिश बोर्डिङ स्कुल तिलोत्तमा रुपन्देहीले पनि उपचारको लागि एक लाख प्रदान गरेको थियो । गत कार्तिकमा दैनिक अभ्यासको क्रममा लिगामेन्ट गएपछि मगरले मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार गराउँदै आएकी छिन ।
पोखरा: पोखरामा पुन समाज नेपालको आयोजनामा माघ १५ देखि १९ गतेसम्म प्रथम पुन हिल कप खुल्ला क्लबस्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने भएकाे छ । पुन समाज नेपालको स्थापन दिवसको अवसरमा प्रथम पुन हिल कप खुल्ला क्लबस्तरीय भलिबल प्रतियोगिता आयोजना गरेको समाजका महासचिव खिमन शेरपुजा पुनले जानकारी दिए । उनका अनुसार प्रथम पुन हिल कप खुल्ला क्लबस्तरीय भलिबल प्रतियोगितामा महिला/पुरुष र प्रौढ भलिबल प्रतियोगिता आयोजना हुनेछ । खुल्ला क्लबस्तरीय पुरुष भलिबल तर्फको विजेताले नगद १ लाख ११ हजार १ सय ११ र उपविजेताले नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै भलिबल प्रतियोगितामा सहभागिता जनाउन एक टिमलाई ८ हजार रुपैयाँ शुल्क कायम गरिएको छ । खुल्ला क्लबस्तरीय महिला प्रतियोगिताको विजेताले ६६ हजार ६ सय ६६ उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सहभागिता जनाउन ६ हजार रुपैयाँ प्रवेश शुल्क कायम गरिएको छ । यस्तै ४० वर्ष माथिको प्रौढ भलिबल प्रतियोगिताको विजेताले ३३ हजार ३ सय ३३ र उपविजेताले २० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् भने सहभागिता जनाउन ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । पुन समाज नेपालका महासचिव पुनले खुल्ला क्लबस्तरीय महिला÷पुरुषतर्फ कुनै पनि टिममा प्रदेश र राष्ट्रिय टिमका कुनै पनि खेलाडी समावेश गर्न नपाइने बताए । ‘खुल्ला क्लबस्तरीय महिला/पुरुष भलिबलको तयारी तीव्र पारेका छौं, प्रतियोगिता माघ १५ देखि १९ गतेसम्म रामघाटमा सञ्चालन हुनेछ’, पुनले भने, ‘महिला/पुरुषतर्फ नै प्रदेश र राष्ट्रिय तर्फका खेलाडी समावेश गर्न पाइने छैन ।’ खेलाडी उत्पादनलाई मध्यनजर गर्दै प्रदेश र राष्ट्रिय टिमका सदस्यहरु समावेश गर्न नपाइने नियम राखिएको उनले बताए । प्रतियोगिता पुन समाज नेपाल पोखराको रामघाटमा सञ्चालन हुनेछ । पुन समाज नेपालले २०६३ साल माघ १५ लाई स्थापना दिवसको अवसरमा मनाउँदै आएको महासचिव पुनले बताए ।
काठमाडौं: दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले आज (बुधबार) बलियो प्रतिद्वन्द्वी पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । समूहको पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको नेपाललाई समूह चरण पार गर्न पाकिस्तानविरुद्धको आजको खेल महत्त्वपूर्ण रहेको छ । पाकिस्तानले भने पहिलो खेलमा अफगानिस्तानलाई हराएको थियो । न्युजिल्यान्डविरुद्धको पहिलो खेलमा जितको लागि तीन सय तीन (३०३) रनको लक्ष्य पाएको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ३८ रन बनाउन सकेको थियो । पाकिस्तानलाई हराउन नेपाललाई बलिङ र ब्याटिङमा सुधारिएको प्रदर्शन गर्ने चुनौती छ । विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालले समूहको तेस्रो तथा अन्तिम खेल २६ तारिख अफगानिस्तानसँग खेल्नेछ । विश्वकपमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, बङ्गलादेश, आयरल्यान्ड र अमेरिका, समूह ‘बी’ मा इङ्गल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड तथा समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे र नामिबिया रहेका छन् । हरेक समूहको शीर्ष तीनमा रहने टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।
पोखरा: नेपाल भुतपुर्व खेलाडी मञ्च कास्कीलाई १८ औं संस्करणको सफल पोखरा म्याराथनका लागि चिप्स हस्तान्तरण गरिएको छ । १८ औं पोखरा म्याराथनको युके संयोजक तथा सामाजिक अभियन्ता मन्जु गुरुङले मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीलाई सोमबार चिप्स हस्तान्तरण गरेकी हुन । स्तन क्यान्सर पिडित समेत रहेकी पुर्व भलिबल खेलाडी गुरुङले क्यान्सर पछिको जीवन सम्भव रहेको भन्दै म्याराथनमा च्यारिटी रन समेत गर्दै आएकी छिन । युकेमा रहेका सहयोगीहरुले चुप्सको सौजन्य गरेका हुन । साथै मञ्चका अध्यक्ष पराजुली, निवर्तमान अध्यक्ष तेज गुरुङ र प्रतियोगिता संयोजक दिलबहादुर गुरुङले उनलाई पोखरामा स्वागत समेत गरेका छन् । १८ औं संस्करणलाई पुर्ण प्रविधीमैत्री बनाउन यश पटक सबै इभेन्टमा चिप्सको प्रयोग गरिदै छ । चिप्स जडानले प्रतियोगितालाई थप स्तरीय बनाउने आयोजकको विस्वास रहेको छ । मञ्चका अध्यक्ष हरि पराजुलीले आफुहरुलाई आवश्यक पर्ने चिप्स आएको सुनाए । उनले यसले म्याराथनको गुणस्तरीयतालाई अझ प्रभावकारी बनाउन मद्दत मिल्ने बताए । प्रतियोगिता संयोजक दिल बहादुर गुरुङले खुल्ला म्याराथन, पगण्डकी प्रदेशस्तरीय म्याराथन, महिला हाफ म्याराथन, १० किमि (महिला/पुरुष), ५ किमि (छात्र/छात्रा) दौडमा चिप्सको प्रयोग हुने जानकारी दिए । ह्विलचियर, दृस्टीविहिन र भेट्रान दौडमा चिप्सको प्रयोग हुने छैन । संस्थाका निवर्तमान अध्यक्ष तेज गुरुङले अन्तर्राष्ट्रिय म्याराथनको अनुसरण गर्दै चिप्स प्रयोगलाई अघि बढाउने प्रयास अघिल्लो वर्षबाट सुरु गरि यस पटक पुरै दौडमा प्रयोग गरिने बताए । चिप्सले धावकको समयको गणना गर्नेछ । स्टार्टिङ र इन्डिङ पोइन्टमा सेन्सर जडान हुनेछ ।
पोखरा: प्रदेश खेलकुद परिषद गण्डकीले पोखरा रंगशाला व्यवस्थापनको जिम्मा जिल्ला खेलकुद विकास समिति कास्कीलाई दिने निर्णय गरेको छ । प्रदेश खेलकुद परिषदका अध्यक्ष एवं गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिम्खडाको अध्यक्षतामा बसेको परिषदको सातौं बोर्ड बैठकले उक्त निर्णय गरेको हो । परिषदको निर्देशन अनुसार गठित पोखरा रंगशाला व्यवस्थापन सहजीकरण समितिले पेश गरेको सुझाव र प्रतिवेदनका आधारमा प्रदेश खेलकुद परिषदको अर्को निर्णय नभएसम्मको लागि रंगशालाको व्यवस्थापन जिल्ला खेलकुद विकास समिति कास्कीलाई दिने निर्णय गर्नुका साथै रंगशालाबाट प्राप्त आम्दानी तथा खर्च ३/३ महिनामा परिषदबाट स्विकृत गराई खर्च गर्न सक्ने गरी जिल्ला खेलकुद विकास समिति कास्कीको प्रस्तावित निर्णयलाई परिषदको बैठकले अनुमोदन र समर्थन गर्ने निर्णय गरेको छ । यो निर्णय संगै रंगशालाको सरसफाई, मर्मत सम्भार, सूरक्षा व्यवस्थापन, पानी र विद्युतीकरणलगायत सम्पूर्ण खेल संघहरुलाई सबै खेलका प्रशिक्षणहरु रंगशाला केन्द्रितको व्यवस्था मिलाउन समेत जिल्ला खेलकुद विकास समिति कास्कीलाई जिम्मेवारी दिने गरी निर्णय गरेको छ । साथै योग खेलको विकास र प्रवद्र्धनका लागि गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्यतर्फले योग अभ्यास र आर्यूवेद सञ्चालनका लागि उपयूक्त कोठा उपलव्ध गराउने निर्णय गरेको छ । सो निर्णय कार्यान्वयनका लागि पोखरा रंगशाला ब्वयस्थापन सहजीकरण समितिलाई जिम्मेवारी समेत तोकेको छ । पोखरा रंगशालाको ब्यवस्थापनको जिम्मेवारी जिल्ला खेलकुद विकास समिति कास्कीलाई दिइएको बारे जिल्ला प्रशासन कार्यालय, कास्की, पोखरा महानगरपालिकाको कार्यालय, जिल्ला प्रहरी कार्यालय, कास्की र राष्ट्रिय खेलकुद परिषदलाई बोधार्थ पत्रबाट जानकारी दिएको छ ।
पोखरा: पोखरामा आजदेखि सुरु भएको २३ औं संस्करणको आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालामा भएको उद्घाटन खेलमा थ्री स्टार क्लबले विजयी सुरुवात गरेको छ । थ्री स्टार क्लबले आयोजक सहारा क्लबलाई २–१ गोल अन्तरले हराउँदै आहा! रारा पोखरा गोल्ड कप फुटबलको क्वार्टर फाइनलमा पुगेको छ । थ्री स्टारको जीतमा योगेश गुरुङ र एञ्जल महर्जनले समान १÷१ गोल गरे भने सहाराका लागि आशिष गुरुङले सान्त्वना १ गोल फर्काए । पहिलो हाफ १–१ को बराबरीमा सकिएपनि दोस्रो हाफमा थ्री स्टारले थप १ गोल गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो । बुधबार त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । माघ २० गतेसम्म चल्ने प्रतियोगितामा एक विदेशीसहित १२ टिमले सहभागी जनाएका छन् । प्रतियोगितामा भुटानको राष्ट्रिय लिग विजेता क्लब पारो एफसीसहित साविक विजेता संकटा, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, एपीएफ, मनाङ मर्स्याङ्दी, जावलाखेल युथ क्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्रीस्टार, राइजिङ स्टार र आयोजक सहारा क्लब सहभागीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १२ लाख १ हजार रुपैयाँ र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाउनेछन् ।
पोखरा: सहारा क्लबले यस वर्ष नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य आयुष घलानलाई नगदसहित सम्मान गरेको छ । पोखरामा आजदेखि सुरु भएको २३ औं आहा ! रारा पोखरा गोल्डकपको उद्घाटन समारोहमा सहारा क्लबले यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान आयुष घलानलाई नगद ५० हजार ५ रुपैयाँ र सम्मानपत्रले सम्मान गरेको हो । राष्ट्रिय टिमका मिडफिल्डर घलान हेटौडा उपमहानगरपालिका वडा १८ का हुन् । निकै मेहनति उनले अष्टे«लियाविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रदर्शन गर्दै राष्ट्रको गौरवलाई उच्च राख्ने फुटबल खेलाडीमध्ये एक जनालाई क्लबले वर्षेनी सम्मान गर्दै आएको छ । कास्की जिल्ला फुटबल संघका पूर्व अध्यक्ष एवं क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङको यो पुरस्कारको प्रायोजन गरेका छन् । २०७४ सालदेखि हालसम्म भरत खवास, किरणकुमार लिम्बु, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन बिष्ट र अनन्त तामाङ सम्मानि भइसकेका छन् ।

