बागलुङ: भुजीखोलाको किनारै किनार ढोरपाटन घुम्न जानेहरु धेरैले सोध्छन् ‘‘केही वर्ष पहिले बाढी र पहिराले बढारेको खोला यही हो ?’’ कुलबहादुर गहभरी आँसु पार्नुहुन्छ । विस्तारै ओभाउँदै गरेको घाउ कोट्याएजस्तै लाग्छ उहाँलाई । परिवार उजाडिएसँगै बास उडाएको भदौ १७ गतेको त्यो राती सम्झिँदै भन्नुहुन्छ, ‘‘हो यही खोला हो, हाम्रो त घर उजाडियो, परिवार खोस्यो पहिरोले ।’’ भुजीखोलाले बगाएका उहाँका छोरा नारायण विकको एक सातापछि शव भेटिएको थियो । उहाँसँगै बाढीमा बगेका बुहारी टेकमाया, छोरी तिर्सना र नातीनी मनिष विक अहिले पनि बेपत्ता छन् । एउटै परिवारका चार जना सदस्य गुमाउनुभएका कुलबहादुर बिस्तारै कालो दिन बिर्सने प्रयास त गर्नुहुन्छ तर हरेक बर्षको भदौ र बेला बेलामा आउने प्रश्नले उहाँको घाउमा नुनचुक लगाउन भने छोडेको छैन । बेपत्ताको आशा पनि मारिसक्नुभएका कुलबहादुरको न घर छ नत परिवारनै । कुलबहादुर जस्तै ढोरपाटन नगरपालिका–९ बोबाङको भुजीखोला आसपासमा दुई वर्षअघिको घाउ नओभाएकाहरु धेरै छन् । दुई वर्षअघि भुजीखोलामा आएको बाढी पहिरामा परेर मृत्यु भएका २२ जना र बेपत्ता रहेका १५ जना सबैको परिवारका आँखा ओभाएका छैनन् । विसं २०७७ भदौको महिना केही दिनदेखि निरन्तर वर्षा भइरहेको थियो । भुजीखोला आफ्नै लयमा थियो । जतीसुकै ठूलो वर्षा हुँदा पनि आफ्नो लय नछोड्ने भुजीखोलाले वर्षापछि बाढी आए पनि घरमा पसेर विध्वंश मच्चाउला भनेर कसैले सोचेनन् । खोलाको बहाव आफ्नै गतिमा थियो । अघिल्ला वर्ष पनि खोला यसैगरी सुसाउँथ्यो र अहिले उसै गरिरहेको छ । बाउबाजेका पालादेखि बस्दै आएको खोला किनारका बस्ती बेँसी झरेका बेला बोबाङबासीका आश्रयस्थल थिए । ढोरपाटन र बुकीमा बसेर गाईबाख्रा पाल्ने अधिकांश बोबाङवासीको छ महिनाको बसाई भुजीखोला छेउछाउमा भए पनि उनीहरुको स्थायी बसोबास त्यहीँ हो । भदौ १७ भुजीखोला किनारका स्थानीयका लागि कालो दिन बन्यो । रातको १२ बजे यही खोलामा एक्कासी उर्लेको बाढीले ऐया पनि भन्न नपाई सबै बगाइदियो । बाढीपहिराले ढोरपाटन नगरपालिका वडा नं ९ देखि ६ सम्मको खोला किनार बढार्यो । कसैलाई लछारेर किनारा लगायो, कसैको प्राण लियो र धेरै जना अझै बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय बागलुङको तथ्याङ्कअनुसार भुजीखोलाको बाढीपहिराका कारण ढोरपाटनका मात्रै ३७ जनाले ज्यान गुमाएका थिए । पन्ध्र जना अझै बेपत्ता छन् । ढोरपाटन–९ को सुर्तिबाङमा पहिरो खसेर भुजीखोला थुनिएपछि नरसंहार मच्याउने गरी बाढी आएको बोबाङका वडाध्यक्ष खीमबहादुर घर्ती मगर बताउनुहुन्छ । कहिले भेटिएलान् हराएकाहरु ? भदौ १७ गते रातको १२ बजेदेखि सम्पर्कविहीन भएका ४० जनामध्ये तीन जना घाइते अवस्थामा भेटिए । त्यसयता निरन्तर एक महिनाको खोजीमा २२ जनाको शव भुजीखोला र बडिगाड खोलाको किनारमा भेटिए । एकै पटक सम्पर्कविहीन भएका १५ जनाको अझै पत्तो छैन । ‘‘प्राय ठूलो बाढीपहिरामा परेकाहरु बेपत्ता हुन्छन्, भेटिँदैनन्, हाम्रो प्रहरीले लामो समय खोज्यो तर भेटेन’’, प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले भन्नुभयो ‘‘स्थानीयले केही भेटेर खबर गरे प्रहरीले थप खोजी गर्ने हो, नभए उनीहरुको परिवारलाई राहत र पुनःस्थापनामा सहभागी गराइएको छ ।’’ बेपत्ता नभेटिँदा परिवारलाई भने पिरोल्ने गरेको छ । वडा नं ९ का टेकमाया विक, तिर्सना विक, मनिषा विक, रोशन विक, रवि विक, सुरेन्द्र विक, जितबहादुर घर्ती, प्रकृति पुन, मनकुमारी विक, उमिसा विक, हस्तमाया विक, तुलमती विक, कौशिला पुन, विशाल पुन र मोहन विक अझै बेपत्ता हुनुहुन्छ । क्षतिपछिको पुनःनिर्माण र पुनःस्थापना बाढीपहिराको खबर पाएलगत्तै तत्कालीन गृहमन्त्री रामबहादुर थापा र गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पहिरो प्रभावित क्षेत्रमा पुग्नुभएको थियो । हेलिकप्टर चढेर ढोरपाटन पुग्नुभएका दुवैले राहत र पुनःस्थापनाको कुरा त गर्नुभयो । अहिले पीडितहरु भन्छन् , ‘‘उहाँहरु चढेर आएको हेलिकप्टरको हावासँगै उडे पीडितलाई दिएका आश्वासनहरु ।’’ गण्डकी सरकारले प्रति मृतक रु ५० हजार र सङ्घीय सरकारको रु दुई लाख नगद राहतबाहेक पीडितले केही पाएनन् । तत्कालीन आवश्यकता पूरा गर्दा नै पाएको नगद राहत सकियो । बाढीपहिराले ढोरपाटनमा ठूलो क्षति पुगेपछि सरकारले तत्कालै मन्त्रिपरिषद् बैठकमार्फत बागलुङलाई विपत् जोखिम क्षेत्र घोषणा गरेको थियो । तर दुई वर्षसम्म उक्त घोषणा सरकारको कागजमै सीमित भएको छ । जिल्लाभरि छ सय ३२ घर पुनःनिर्माण गर्नुपर्ने गरी भत्केका छन् । ढोरपाटनमा मात्रै एक सय ३२ घरमा क्षति पुगेको थियो । बाढीले घरबास उठाएको दुई वर्षमा बल्ल सरकारले विपत् जोखिम क्षेत्रमा कार्यक्रम ल्याएको छ । समयमा पुनःनिर्माणका कार्यक्रम नआउँदा पीडित बसाइ सरेर अन्यत्रै गएका छन् । कतिपयको अझै बिचल्ली छ । ‘‘कसैले आफैँले घर बनाए, केहीको नगरपालिकाले दिएको ससानो रकमले घर बनेको छ’’ वडाध्यक्ष घर्ती भन्नुहुन्छ ‘‘निजी आवास पुनःनिर्माण तथा पुनःस्थापना अनुदान कार्यक्रममा झमेला हुँदा पीडित झन पीडामा छन् ।’’ गृह मन्त्रालयअन्तर्गत रहेको ‘राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण’ को कार्यक्रम कार्यान्वयन गरिरहेको जिल्ला प्रशासन कार्यालयले यही साता मात्रै ६९ घरका लागि पहिलो किस्ताको रकम पठाएको छ भने १६ घरको पहिलो किस्ता पाइपलाइनमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले बताउनुभयो । निजी आवास पुनःनिर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि २०७७ बने पनि जिल्लामा कार्यान्वयन ढिलागरी भएको थियो । कार्यविधिको दफा ४ को उपदफा ३ बमोजिम प्रक्रिया पुगेका घर पुनःनिर्माणमा राज्यले सहयोग गर्ने उल्लेख छ । कार्यविधिअनुसार पहाडी जिल्लामा घर बनाउन रु चार लाख, घडेरीका लागि रु तीन लाख गरी पीडितले रु सात लाखसम्म पाउने व्यवस्था छ । उक्त रकममध्ये गाउँपालिका भए १० प्रतिशत र नगरपालिका भए १५ प्रतिशत स्थानीय तहले लगानी गर्नुुपर्छ । प्रदेश सरकारले ३० प्रतिशत लगानी गरेपछि बाँकी रकम सङ्घले व्यवस्थापन गर्नुपर्छ । नगरपालिकाले राहत कोषमा जम्मा भएको रकमबाट दिएको अनुदानले घर बनाएकाले कार्यविधिले तोकेको रकम पाउने वा नपाउने भन्नेमा भने अन्योल छ ।
बागलुङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालले बागलुङ नगरपालिकाका तत्कालीन उपप्रमुखसहित पाँच जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दर्ता गरको छ । बागलुङ नगरपालिकाले नदीजन्य पदार्थको कर सङ्कलनमा प्रदेश सरकारले तोकेको दरभन्दा कम दर राखी मिलेमतोमा कर उठाएर नगरपालिकालाई हानी नोक्सानी पुर्याएको भन्दै आयोगमा उजुरी परेको थियो । उक्त उजुरी माथिको अनुसन्धानमा नगरपालिकाले ढुङ्गा, गिट्टी र बालुवाको बिक्री वितरणका लागि सूचना प्रकाशन गर्दा र ठेक्का लगाउँदा प्रदेश सरकारले कानुन बमोजिम तोकेको दररेटभन्दा घटी निर्धारण गरेको ठहर गर्दै आयोगले मुद्दा दर्ता गरेको हो । नगरपालिकाले कम दररेट राख्दा नेपाल सरकारलाई रु १७ लाख ४० हजार ६६ हानी नोक्सानी पुर्याई भ्रष्टाचार गरेको पुष्टि हुन आएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बामोजिम मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताउनुभयो । सो भ्रष्टाचार कार्यमा संलग्न रहेको भन्दै आयोगले बागलुङ नगरपालिकाका तत्कालीन उप्रमुख सुरेन्द्र खड्का, तत्कालीन वडाध्यक्ष जीवन आचार्य, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजिवी उपाध्याय र तत्कालीन राजस्व शाखा सदस्य सचिव काशिराम शर्मालाई विपक्षी बनाइ आरोपपत्र दायर गरेको हो ।
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अहिले हलमा प्रर्दशन भइरहेको फिल्म ‘प्रकाश’ हेरेपछि कतिपय दृश्य र विम्बमा आपत्ति जनाएका हुन् । शिक्षा मन्त्री पौडेलले फिल्ममा राजनीतिक पूर्वाग्रहसहित निर्माण गरिएको भन्दै विश्वज्योति हलमा फिल्म हेरेपछि प्रतिक्रिया दिंदै फिल्ममा प्रयोग भएका कतिपय दृश्य र विम्ब राजनीतिक पूर्वाग्रहसहित राखिएको आफूले बुझेको बताएका हुन् । जनयुद्ध लडेर आएको पार्टीप्रति फिल्म लक्षित गरिएको भन्दै फिल्मले देखाएका केही दृश्यमा समेत आपत्ति जनाए । फिल्ममा कम्युनिस्ट पार्टीको झण्डा देखाइएको छ भने माओवादी युद्धको पृष्ठभूमि र बेपत्ता परिवारको प्रसंग पनि जोडिएको छ । यस्ता विम्बहरु राजनीतिक आस्थासँग जोडिएर प्रस्तुत भएको बताउँदै मन्त्री पौडेलले भने, ‘मैले फिल्मभन्दा शिक्षकसँग भन्दा एउटा आस्थासँग सम्बन्धित देखें । राजनीतिसँग सम्बन्धित । त्यहाँ प्रस्तुत भएको विम्व, झण्डा, आफैं पनि शहीदको छोरा, विकृति गर्ने निर्वाचन जिताएको त्यही सम्बन्धित पार्टीबाट, त्यसको सन्देश शिक्षासँगभन्दा पनि राजनीतिसँग सम्बन्धित भएर फिल्म प्रकट भएको मलाई महसुस हुन्छ ।’ स्वयं पनि माओवादी आन्दोलनमा होमिएका नेता पौडेलले फिल्ममा जुन स्थानको कथा देखाइएको हो त्यहींका जनताले यो कति यथार्थ हो भनेर फैसला गर्ने जनाए । ‘फिल्मको अन्त्यमा जे देखाइयो त्यो हो कि होइन भन्ने कुरा जुम्लाका जनताले फैसला गर्ने कुरा हो,’ उनले भने । नेपालमा शिक्षाको स्तर फिल्ममा प्रस्तुत भएको भन्दा धेरै अघि बढेको बताउँदै मन्त्री पौडेलले सामुदायिक विद्यालयको अवस्था पनि सुधारिएको बताए । तर फिल्ममा देखाइएजस्तो समावेशिता र गरिबीको कुराप्रति आफ्नो ऐक्यबद्धता रहेको उनले सुनाए । अहिले हलमा प्रदर्शन भइरहेको फिल्मले पहिलो साता घरेलु बक्स अफिसमा लगभग १ करोड रुपैयाँ ग्रस कमाएको छ । फिल्मले दोस्रो सप्ताहन्त पनि सन्तोषजनक व्यापार गरेको छ । दिनेश राउत निर्देशित फिल्ममा प्रदीप खड्का, दीया मास्के, रेणु योगी, राजन खतिवडा र प्रकाश घिमिरेको प्रमुख भूमिका छ । अनलाइन खबरबाट
काठमाडौँ । नेपालीको महान् चाड दशैँ–तिहार नजिकिँएसँगै भृकुटीमण्डपस्थित खुला बजारमा किनमेल गर्नेको चहल पहल बढ्न सकेको छैन । विशेष गरी यहाँ दशैँको एक महिनाअघिदेखि सामान किनमेलका लागि घुइँचो हुने गर्दछ । सस्तो मूल्यमा सामान पाउने खुला बजारमा दशैँको रौनकले नछोए पनि व्यापार नखस्किएको काठमाडौँ निम्न वर्गीय व्यापार सङ्घले जनाएको छ । सङ्घका उपाध्यक्ष गोविन्द पौडेलले भन्नुभयो, “ खुला बजारमा दशैँका लागि किनमेल गर्नेको चहल पहल छैन । विभिन्न अवरोह पार गर्दै अहिले परिवार पाल्न सक्ने अवस्थामा व्यापारी छन् । व्यापारी उत्साहित नै छन् ।” दैनिक २० देखि ३० हजार ग्राहक आउने बजारमा विशेषगरी दशैँ आउन १५ दिन बाँकी हुँदामात्रै व्यापार सुरु हुने उहाँको तर्क छ । गत दुई वर्ष कोरानाका कारण खासै धेरै चहलपहल नभए पनि यस वर्षको दशैँमा व्यापार हुनेमा उहाँ ढुक्क हुनुहुन्छ । पछिल्लो वर्ष हरेक सामानको मूल्यवृद्धि भएको उल्लेख गर्दै उपाध्यक्ष पौडेलले कच्चा पदार्थको मूल्य बढ्नुको असर सामानमा परेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “ सवारीसाधन पार्किङस्थल नहुँदा व्यापारमा असर परेको छ । बजारमा शौचालय अपुग छ । ” काठमाडौँको पुरानो खुद्रा बजारका रूपमा परिचित सो खुला बजारका अधिकांश व्यवसायी उपत्यका बाहिरका छन् । साना व्यवसायीले थोरै पूँजीबाट जीविकोपार्जन गर्दै आएका छन् । विगत तीन वर्ष कोरोना महामारीले गर्दा व्यापार नभए पनि अहिले भने व्यापारले गति लिएको १२ वर्षदेखि कपडा व्यवसाय गर्दै आउनुभएका सूर्य पौडेलले बताउनुभयो । “व्यापार नभएर कोरोनाकालमा परिवार पाल्नै मुस्किल थियो, अहिले भने व्यापारले गति लिएको छ ।” उहाँले भन्नुभयो, “अब चाडबाड नजिक आए व्यापार धेरै हुनेमा उत्साहित छौँ ।” पछिल्लो वर्षमा चीनबाट सामान आयात नहुँदा पनि व्यवसायमा खासै असर नपरेको व्यवसायीहरू बताउँछन् । अहिले नेपालमै उत्पादन भएका कपडा ग्राहकलाई बिक्री गरिरहेको र ग्राहकले मन पराइरहेको पनि व्यारीकोे भनाइ छ । कपडादेखि इलेक्ट्रोनिक्स सामानसम्म पाइने खुला बजारमा एक हजार २ सय ६५ ‘स्टल’ छन् भने अधिकांश व्यापारीले दुई स्टल प्रयोग गर्दै आएका छन् । बजारभित्र आठ सय ४४ पसल सञ्चालनमा रहँदा ३० देखि ३५ हजार परिवार बजारमा आश्रित छन् । स्टल भाडासँगै व्यवसायीले सरसफाइ, बिजुली र सुरक्षाको पैसा पनि तिर्नुपर्छ । बजारभित्र कपडा, जुत्ताचप्पल, कस्मेटिक, भाँडाकुँडा, खेलौना, झोला, रेडिमेड कपडालगायतका व्यवसाय सञ्चालनमा छन् । लामो समय कोरोना महामारीले भृकुटीमण्डप बजार पनि सुनसान बनेको थियो । व्यवसायीको राहतका लागि समाज कल्याण परिषद्ले एक महिनाको भाडा पनि छुट दिएको थियो । व्यवसायीले प्रत्येक महिनाको स्टल भाडा समाज कल्याण परिषद्लाई र हरेक वर्ष काठमाडौँ महानगरपालिकालाई कर तिर्दै आएका छन् । महानगरलाई प्रत्येक व्यापारीले रु तीन हजार आठ सयदेखि सात हजार पाँच सयसम्म कर तिर्दै आएको उपाध्यक्ष पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो बजारमा कुनै पनि बेरुजु छैन, हरेक महिनाको १५ गतेभित्र भाडा समाज कल्याण परिषद्लाई तिर्दै आएका छौँ ।” मध्यम तथा निम्न वर्गले किनमेल गर्ने बजारलाई थप व्यवस्थित गर्न २४सै घण्टा सुरक्षागार्ड पनि खटाइएको छ । सुरक्षागार्डलाई पनि निम्न वर्गीय व्यवसायीले नै तलब सुविधा दिँदै आएका छन् । परिषद्ले बजारलाई सुन्दर र व्यवस्थित गर्न सेमी परमानेन्ट (ढलानसहितको जस्तापाताले छाउने) यसअघि नै निर्णय गरिसकेको छ । तर कामले भने अझै गति लिन सकेको छैन । बजारलाई सेमी परमानेन्ट गर्न सुरु गरेर उद्घाटनसमेत गरिएको भए पनि अर्थाभावले काम अघि बढ्न नसकेको परिषद्का प्रशासन प्रमुख तथा सूचना अधिकारी सञ्जयकुमार मल्लिकले जानकारी दिनुभयो । “पालमुनि लामो समय बस्दा कुनै पनि बेला दुर्घटना हुनसक्ने अवस्था हेरेर परिषद्ले स्टल बनाउने विगतमा नै निर्णय गरिसकेको छ, त्यसको उद्घाटनसमेत भइसकेको छ”, उहाँले भन्नुभयो । अब नीति तथा कार्यक्रमअन्तर्गत बजेट भए काम अघि बढाउने परिषद्को योजना रहेको उहाँले बताउनुभयो । सूचना अधिकारी मल्लिकले बजारमा ढल व्यवस्थापन अहिलेको टड्कारो आवश्यकता रहेको उल्लेख गर्दै तत्काल बजारको व्यवस्थापन गर्न तीन–चारवटा परिषद्ले योजना बनाएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “सिसीक्यामेरा लगाउने, सुरक्षामा सहयोग, पानीको निकास र सरसफाइमा ध्यान दिने भनेर अहिले व्यवस्थापनमा लागेका छौँ ।” अहिले भएका शौचालय पर्याप्त नभए पनि व्यवस्थित गर्न सके थप प्रभावकारी हुने उहाँको तर्क थियो । “शौचालय अपुग छैनन्, बजार बाहिर पनि र भित्र पनि छन्, त्यसलाई व्यवस्थित गरेमात्र हुन्छ थप गर्नुपर्दैन”, उहाँले भन्नुभयो । गुणस्तरीय सामान, सरल र सुपथ मूल्यमा सामान पाइने भएकाले भृकुटीमण्डपमा विगत १० वर्षदेखि किनमेल गर्ने गरेको उपभोक्ता नेत्रप्रसाद सापकोटाले बताउनुभयो । भृकुटीमण्डप बजारमा अन्य स्थानमा भन्दा निकै सस्तो सामान पाइने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “ठूला चाडपर्वमा आवश्यक सामान यहीबाट किनमेल गर्छु, मसहित सबै परिवारलाई आवश्यक सामान यहीबाट किन्छौँ । बाहिर महँगी बढेको महसुस हुन्छ तर यहाँ किन्दा त्यस्तो लाग्दैन ।” पन्ध्र वर्षदेखि कपडा व्यवसाय गर्दै आउनुभएका व्यवसायी शिव धमलाले भर्खरैमात्र तीज, कुशेऔँसीजस्ता चाड सकिएको जनाउँदै दशैँको व्यापार सुरु नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले सुनसानजस्तै छ, दशैँका ग्राहक बढेका छैनन् ।” नेपालमै उत्पादन भएका चिनियाँ र नेपाली सामान बिक्री गर्ने गरेको बताउँदै उहाँले पछिल्लो समय धेरैजसो नेपाली सामान नै बढी बिक्री भइरहेको जानकारी दिनुभयो । उहाँले कपडामा मात्रै ४० प्रतिशतले महँगी बढेको सुनाउनुभयो । कपडामा बढेको महँगीले सधैँ आउने ग्राहक भड्किन खोज्ने भन्दै उनीहरूलाई सम्झाउन समय खर्चिनु परेकोसमेत उहाँले गुनासो पोख्नुभयो । उहाँले भृकुटीमण्डप बजारमा आफूले दिनसक्ने मूल्यमा कपडा पाउने भएकाले विगत पाँच वर्षदेखि किनमेल गर्न आउने गरेको धनगढीकी जेनी ओझाले बताउनुभयो । स्नातक दोस्रो वर्षमा अध्ययनरत उहाँले भन्नुभयो, “यहाँ हामीले भनेकै मूल्यमा सामान पाउँछौँ । यहाँका कपडाको गुणस्तर पनि आजसम्म राम्रै छ, अब दशैँमा किनमेल गर्न पनि यतै आउने हो ।” अर्का व्यवसायी विकास थापाले गत दुई वर्ष खासै व्यापार गर्न नपाए पनि यस वर्षको दशैँले भने उत्साह थप्नेमा आफू आशावादी रहेको बताउनुभयो । उहाँले नेपाली उत्पादन बिक्री गर्न पाएकामा खुसी व्यक्त गर्दै धेरैजसो भृकुटीमण्डप बजारमा विद्यार्थी युवा–युवती किनमेलका लागि आउने बताउनुभयो ।
काठमाडौं । व्यावसायिक कृषिमा भोजपुरको किसान आकर्षित बनेका छन् । कृषिमा कम भविष्य देख्नेका लागि कृषक उदाहरणीयसमेत बन्न थालेका छन् । यहाँका कृषकले कृषि व्यवसाय गरेर लाखौँ आम्दानी गरिरहेका छन् । जिल्लामा उत्पादन भएका कृषि उपजले बाहिरी जिल्लाका बजारमा समेत स्थान पाउन थालेका छन् । सबै स्थानीय तहमा कृषकले व्यवस्थित ढङ्गले कृषि व्यवसाय सञ्चालन गरिरहेका छन् । यहाँ उत्पादन भएका अकबरे खुर्सानी, तरकारी तथा फलफूल धरान, विराटनगर तथा काठमाडौँलगायत सहरमा पुग्न थालेका छन् । सडकको सहज पहुँच भएका स्थानका कृषकको फार्मबाट नै सोझै कृषि उत्पादन बाहिरी जिल्लामा जाने अवस्था बनेको छ । यसबाट व्यवसायलाई थप राहत पुगेको कृषक रमिला श्रेष्ठ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कृषि कर्म बाँच्ने आधार बनेको छ । व्यावसायिकरूपमा गरेको तरकारी खेतीले वार्षिक रु आठ लाखसम्म आम्दानी हुन्छ ।” यहाँको उत्पादन जिल्लासँगै धरान, विराटनगर, काठमाडौँलगायत स्थानमा जाने गरेको छ । सडकको सहज पहुँचका कारण फार्मबाट बेच्न पाएको किसान बताउँछन् । त्यस्तै जिल्लाको टेम्केमैयुङ गाउँपालिकाका कृषक नगेन्द्र राईले पनि सात रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीको खेती गर्दै आउनुभएको छ । उहाँले स्थानीय बजारमा प्रतिकेजी रु एक सय ५० देखि तीन सयसम्ममा खुर्सानी बेच्न गरेको जानकारी दिनुभयो । कृषक राईले भन्नुहुन्छ, “खर्सुानी तथा तरकारी खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ । बजारको मागलाई पूरा गर्न नै समस्या छ । तर यस वर्ष मेरो भने ढुसीलगायतका रोगका कारण केही खुर्सानीका बोटमा क्षति भयो । तर पनि राम्रै आम्दानी गरिरहेको छु ।” टेम्केमैयुङ –८ गोगने सल्लेनीका कृषक शम्भु नेपालले २२ रोपनी क्षेत्रफलमा ड्रागन फलको व्यावसायिक खेती गरिरहनुभएको छ । कृषक नेपालले अहिले २२ रोपनी क्षेत्रफलमा डा«गनफल र १८ रोपनी क्षेत्रफलमा कागतीको व्यावसायीक खेती गरिरहनुभएको छ । उहाँले एक हजार बोट कुरिलो, एभोकाडोलगायतका बिरुवासमेत लगाउनुभएको छ । उहाँले दानाबोटे फलफूल तथा कृषि फार्ममा अहिले एक हजार पाँच सय बढी पिलरमा ड्रागनफल लगाउनुभएको छ । ड्रागन र कागती बिक्रीबाट वार्षिक रु १२ लाख बढी आम्दानी हुने कृषक नेपालको भनाइ छ । अरुण गाउँपालिका–६ जरायोटारका प्रेमकुमार राईले पनि एभोकाडोको व्यावसायिक खेती गरिरहनुभएको छ । करिब पाँच वर्ष विदेश बसेर आउनुभएका राईले आफ्नै देशमा केही गर्ने उद्देश्यले एभोकाडोको व्यावसायिकखेती सुरु गरेको जानकारी दिनुभयो । उहाँको फार्ममा अहिले एक हजार सय बढी एभोकाडोको बिरुवा छन् । एभोकाडो प्रतिकेजी रु तीन सयदेखि रु पाँच सयसम्ममा बिक्री हुने गरेको उहाँको भनाइ छ । केही वर्षबाट यसले उत्पादन दिन थाल्ने र वार्षिकरूपमा रु ३० लाखसम्म आम्दानी लिने लक्ष्य राखेको राईको भनाइ छ । कृषक राई भन्नुहुन्छ, “विदेशमा धेरै समय बसेँ, त्यहाँ धेरै दुःख गरियो । तर सोचेअनुसारको आम्दानी गर्न सकिएन, अहिले आफ्नै ठाउँमा व्यावसायिक एभोकाडो ९घ्यूफल० खेतीमा लागेको छु । मेरो वार्षिक रु ३० लाख आम्दानी लिने लक्ष्य छ ।” सरकारले कृषकलाई प्रोत्साहन गर्ने विभिन्न खालका कार्यक्रम सञ्चालनमा ल्याएसँगै यसतर्फ कृषकको आर्कषण बढेको देखिन्छ । पछिल्लो समय फार्म नै दर्ता गरेर कृषि तथा पशुपालन व्यवसाय गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । यसबाट धेरै कृषकले आफ्नो आयस्रोतमा वृद्धि गरेका छन् । यस वर्ष पनि कृषक लक्षित कार्यक्रम सरकारले सञ्चालनका लागि बजेट पठाएको छ । यसबाट अझै धेरै कृषकलाई लाभ पुग्ने देखिन्छ । कृषि ज्ञान केन्द्र भोजपुरमार्फत नमूना कृषि फार्म, सुन्तला बगैँचा व्यवस्थापन, खाद्यन्न फलफूल, तरकारी खेती विस्तार, पशु सेवाअन्तर्गत च्यापकटर वितरण, बाख्रापालन, भेडापालन, अण्डा उत्पादन, बङ्गुरपालनलगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ । यहाँका धेरै कृषकले व्यावसायिक कृषिबाट राम्रो आम्दानी गर्दै आएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । यहाँका उत्पादन अहिले बाहिरी बजारमा जान थालेको अवस्था छ । विभिन्न स्थानीय तहमा पकेट क्षेत्र तथा ब्लक सञ्चालन भइरहेको छ । सरकारले कृषि तथा पशुपालनमा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालनमा ल्याएसँगै यस क्षेत्रमा युवाको समेत आकर्षण बढेको छ । तर कतिपय कानुनी जटिलता तथा पहुँचका आधारमा अनुदान वितरण हुँदा लक्षित कृषकसम्म पुग्न नसेकाले यसतर्फ सजग हुन सरोकारवला पक्षले सुझाव दिएका छन् ।
पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गण्डकी प्रदेश स्तरिय महिला फुटबलमा स्याङ्गजा र पुरुष फुटबल तर्फ नवलपुरले जितेको छ । पोखरा रंगशालाको बि ग्राउन्डमा शनिबार सम्पन्न भएको खेलमा कास्कीलाई शुन्यको विरुद्ध ५ गोल गर्दे स्याङ्गजाले जित निकालेको हो । स्याङ्गजाको जितमा पुष्पा गुरुङले खेलको १२ औ मिनेटमा गोलको खाता खोलेकी थिइन । त्यस्तै खेलको २२ औ मिनेटमा टीम क्यापटेन शुष्मा जिटीले गोल गर्दे गोल संख्या दोब्वर बनाएकी थिइन । खेल अवधीभर कास्की माथि हावी भएको प्रतियोगितको ३९ र ४० औ मिनेटमा सुक्रिया मियाँले २ गोल गरेकी थिइन । त्यस्तै खेलको ४८ औ मिनेटमा पुष्पा गुरुङले आफनो टीमको लागि अर्को १ गोल थप्दै जित सुनिश्चित गरेकी थिइन । विजयी खेलाडीहरुलाई एक कार्यक्रम बिच ट्रफी,मेडल र प्रमाणपत्र वितरण गरिएको कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्जवल रन्जितले बताए । विजयीजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्दे कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य दिल बहादुर गुरुङले भोलि बेलुकी सम्म नवौ राष्ट्रिय प्रतियोगितमा सहभागी हुने गण्डकी प्रदेशको फुटबल खेलाडीहरुको अन्तिम नामवली प्रकाशन गरिने बताए । त्यसको लागि प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज गुरुङको संयोजकत्वमा ५ सदस्य कोर टीम बनाएको गुरुङले जनाए । पुरुष फुटबलमा नवपुरको जित पोखरा रंगशालामा शनिबार सम्पन्न भएको पुरुष फुटबलमा लमजुङ्गलाई शुन्यको विरुद्ध १ गोल गर्दे नवलपुरले जित निकालेको छ । नवलपुरको जितमा खेलको ४३ औ मिनेटमा टेक बहादुर पाटाले गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा लमजुङ्गले खेल अन्तिम सम्म फर्कने प्रयास गरे पनि सफल हुन सकेन । अन्तत खेलको नजिता नवलपुरलाईलाई सुम्पन्न बाध्य भयो ।
पोखरा । पोखरा उद्योग वाणिज्य संघमा देशकै प्रतिष्ठित उद्योगी घराना केसी ग्रुपको ‘इण्ट्रि’ भएको छ । संघको कर्पोरेट सदस्यमा केसी ग्रुपका बन्दना कार्की निर्विरोध चयन हुनुभएको हो । उहाँले युनाइटेड इदी मर्दि हाइड्रोपावर कम्पनी प्रालिका तर्फबाट उक्त पदमा प्रतिनिधीत्व गर्नुभएको हो । माछापुच्छ्रे बैंक प्रालिका निर्देशक समेत रहनुभएका कार्की पोखराको जोण्टा क्लव, नेपाल भारत मैत्री संघ लगायत अन्य सामाजिक संघसंस्थामा पनि क्रियाशिल हुनुहुन्छ । संघको अर्को कर्पोरेट सदस्यमा इजी टे«डिङ प्रालिका रामप्रसाद कँडेल मनोनित हुनुभयो । पोखरा उद्योग वाणिज्य संघले ३४औं महाधिवेशन यहि भदौ २४ र २५ गते हुँदैछ । त्यसको पूर्वाद्र्धमै उहाँहरु निर्विरोध हुनुभएको हो । महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योग र वाणिज्यतर्फका २ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, उपमहासचिवसहित २९ सदस्यीय कार्यसमिति चयन गर्नेछ । निवर्तमान अध्यक्ष कार्यसमितिको पदेन सदस्य हुने व्यवस्था रहेको छ । संघको कार्यसमिति सदस्यमा खुलातर्फ १०, कर्पोरेट २ जना, औद्योगिकबाट १ जना तथा बस्तुगतबाट ४ सदस्य हुने व्यवस्था छ । ४ जना सदस्य अध्यक्षले मनोनित गर्ने विधानमा उल्लेख छ ।
काठमाडौं । तराई (मधेश क्षेत्रको प्रमुख नगदे बालीका रूपमा लगाइने जुटखेती क्रमिकरूपमा घट्दै आएको छ । विशेष गरी सुनसरी, मोरङ र झापामा सबैभन्दा धेरै जुटखेती उत्पादन हुने गर्दछ । पछिल्लो समय जुटखेतीतर्फ किसानको आकर्षण भने घट्दै गइरहेको छ । लगानी अनुकूल प्रतिफल प्राप्त नहुनु, प्रशोधनको नयाँ प्रविधि नहुनु तथा मजदुर अभावका कारण उनीहरुको आकर्षण घट्दै गएको हो । झन्झटिलो प्रशोधन प्रक्रिया र मजदुर अभावका कारणले पनि जुटखेती क्रमिकरूपमा घट्दै गएको जनाइएको छ । जुटको मूल्य पनि खासै नपाइने र झन्झटिलो प्रशोधन प्रक्रिया, सिँचाइको असुविधालगायतका कारणले जुटखेतीको क्षेत्रफल घटाएको किसान बताउँछन् । कुनै समय जुटखेतीका लागि उर्वर मानिने सुनसरीको दक्षिणवर्ती सीमावर्ती क्षेत्र नरसिंह भोक्राहा गाउँपालिका, हरिनगर गाउँपालिकाको गौतमपुर, रामनगर भुटाहा, घुस्की, वसन्तपुर, कोसी गाउँपालिकाको पश्चिम कुशाहा, लौकही, श्रीपुर र हरिपुर क्षेत्रमा जुटखेती अहिले आधाभन्दा कम भइसकेको छ । त्यसैगरी देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्ज, मध्यहर्षाही, राजगञ्ज सिनुवारी, साहेबगञ्ज, इनरुवा नगरपालिकाको बबिया र जल्पापुरलगायतका क्षेत्रका किसानले लगाउँदै आएका जुट (पटुवा) यस वर्ष आधाभन्दा कम छ । थोरै जग्गामा जुटखेती भए पनि मजदुरको अभावमा अहिलेसम्म जुट खेतमै सुक्ने अवस्था आएको स्थानीय किसान वीरेन्द्र यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय सरकारले जुटखेती गर्नेका लागि राहत दिए धेरै खेती गर्ने थियौँ, कहिले दिएन ।” सुनसरीका किसानले केही वर्ष अघिसम्म जुटबाट राम्रो आम्दानी गर्ने गर्थे । यतिबेला उनीहरू व्यावसायिकरूपमा जुटखेती गर्थे । तर अचेल भने दाउराका लागि मात्रै जुटखेती गर्ने गरेको कोसी गाउँपालिकाका किसान ललित यादवले बताउनुभयो । उहाँ भन्नुहन्छ, “मेहेनत गरेर खेती लगाउने समयमा जन ९मजदुर० पाउँदैन, दिनरात गरेर खेती लगायो काट्नेदेखि बिक्री गर्न समस्या हुन्छ ।” आर्थिक वर्ष २०७५÷७६ मा प्रदेश नं १ मा सात हजार दुई सय ८५ हेक्टर क्षेत्रफलमा जुटखेती गरिएको थियो । यसबाट १२ हजार नौ सय ५९ मेट्रिक टन जुट उत्पादन भएको थियो । आव २०७६÷७७ मा जुटखेती सात हजार पाँच सय ५५ हेक्टर क्षेत्रफलमा लगाउँदा १० हजार एक सय ६५ मेट्रिक टन उत्पादन भएको थियो । त्यस्तै आव २०७७÷७८ मा सात हजार चार सय १५ हेक्टर क्षेत्रफलमा जुटखेती गरिएको थियो । पछिल्लो केही वर्षयता जुटखेती क्रमिकरूपमा घट्दै गएको जुट अनुसन्धान केन्द्र इटहरीका प्रमुख तीर्थराज रिजालले बताउनुभयो । उहाँले नगदे बाली भए पनि खेती गर्ने प्रविधि झन्झटिलो भएकाले हरेक वर्ष घट्दै गएको जानकारी दिनुभयो । नेपालमा उत्पादित कच्चा जुट भारत र बङ्गलादेशमा समेत निर्यात गरिन्थ्यो । पछिल्लो समय भने नेपालमा रहेका उद्योगलाई धान्न नसकेर उद्योग बन्द भएका छन् । यसरी उद्योग बन्द हुँदा यसकोे प्रत्यक्ष असर सरकारलाई पर्ने गर्दछ । तसर्थ जुट किसानलाई प्रोत्साहन गर्न विभिन्न प्रकारको कार्यक्रम तीनै तहको सरकारले ल्याउन आवश्यक देखिन्छ ।
काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व आज देशभरका कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी मनाइँदै छ । यस अवसरमा कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमा कागको स्पर्शलगायत दोषबाट मुक्त भइने विश्वास छ । यसैले वर्ष दिनसम्म कागले स्पर्श गरेका वा अन्य काग दोष लागेका मानिसले आज कागेश्वरीको दर्शन गर्नैपर्ने मान्यता राख्छन् । यसै अवसरमा कागेश्वरीमा हरियो मकै चढाएमा कागले बारीमा लगाएको मकै नखाने धार्मिक विश्वाससमेत रहेको छ । श्रावण शुक्ल पूर्णिमा र गङ्गा दशहरा पर्वका अवसरमा रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा पुगेका भक्तजनले त्यहाँबाट ल्याएको जल आज कागेश्वरीमा चढाउनुपर्छ भन्ने विधिसमेत रहेको छ । गोसाइँकुण्ड पुग्नेले कागेश्वरीमा आई आजका दिन जल नचढाए धार्मिक यात्रा पूरा नहुने जनविश्वास रहेको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी महादेव मन्दिरमा लाग्ने मेलामा देश–विदेशबाट लाखौँ भक्तजनको भीड लाग्छ । कागे अष्टमीसमेत भनिने आजका दिन कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं १ मा पर्ने यो मन्दिर क्षेत्रमा आउनेलाई सहज सुविधा दिन लागिएको छ । मन्दिर जान यातायात सहज बनाउने व्यवस्था गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले जानकारी दिनुभयो । कोरोनाअघि नगरपालिकाले तीन दिनसम्म मेला गरी यो पर्व मनाउने गरेको थियो । कोरोना जोखिम कायमै रहेकाले विसं २०७७ देखि तीन दिने मेला नगरी एक दिन पूजा आराधना गर्ने व्यवस्था मिलाइएको छ । मन्दिर परिसरमा हाल दुई सय २७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति विशेष आकर्षणका रूपमा रहेको छ । यो नेपालकै ठूलो कागको मूर्ति हो । यहीँको लोकतान्त्रिक सहिद उद्यानमा एक हजार किलोको विश्वकै ठूलो कागको मूर्ति निर्माण भएको छ । एक हजार किलोको अष्टधातुको कागको मूर्ति बनाउन स्थानीयवासीले धातु दान गरी सहयोग गरेका छन् । यसै मन्दिरको समेत नाम जोडेर कागेश्वरी मनोहरा नगरपालिकाको नामकरण भएको छ । यस पर्वका अवसरमा नगरपालिकाले प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन नगरपालिकाभर सार्वजनिक बिदा दिँदै आएको छ । नामकरण भएदेखि नै महोत्सवको आयोजना नगरपालिकाले गर्दै आएको छ । भदौमा लाग्ने मेलाका अवसरमा यहाँको तामाङ एवं नेवार समुदायका सांस्कृतिक झाँकी प्रदर्शन गरिनुका साथै स्थानीय उत्पादनको समेत प्रदर्शन गरिन्छ । कागेश्वरीमा लाग्ने मेला भर्न काठमाडौँ उपत्यकाका तीन जिल्लाका साथै नजिकका नुवाकोट, सिन्धुपाल्चोक, काभे्रपलाञ्चोक, रसुवा, दोलखा, रामेछाप, सिन्धुलीलगायत जिल्लाका मानिसको बढी भीड लाग्ने गरेको छ । देशका विभिन्न जिल्लाबाट आई काठमाडौँ उपत्यकामा बसोबास गर्ने मानिस पनि कागको स्पर्शबाट बच्न आजका दिन कागेश्वरी जाने गर्छन् । कागे अष्टमीका अवसरमा कागेश्वरी महादेव मन्दिर जान नसक्ने भक्तजनले हनुमानढोका र पशुपति क्षेत्रमा रहेको कागेश्वरी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्ने गरेका छन् । देशका अन्य स्थानमा रहेको कागेश्वरी मन्दिरमा पनि आज पूजा, आराधना गर्न भक्तजन पुग्ने गर्छन् ।

