पोखरा:    सातौँ कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट कास्कीका पत्रकार खेम सारु मगर र स्याङ्जाका पत्रकार गोपाल बहादुर जिटी सम्मानित भएका छन् ।  फोनिज गण्डकीले आयोजना गरेको पुरस्कार अर्पण समारोह...

   मोरङ । गएको वर्ष मोरङमा सवारी दुर्घटनाबाट एक सय २९ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार आर्थिक वर्ष २०७८-७९ मा एक हजार दुई सय ८५  विभिन्न सवारी दुर्घटनाबाट उक्त मृत्यु भएको हो । उक्त दुर्घटनामा तीन सय ५३ जना गम्भीर घाइते र एक हजार छ सय ५४ जना घाइत भएका थिए ।      आव २०७७-७८ मा विभिन्न एक हजार एक सय ६२ वटा सवारी दुर्घटनाबाट एक सय ४२ जनाको मृत्यु हुनुका साथै तीन सय ४९ जना गम्भीर घाइते र एक हजार चार सय २० जना घाइते भएका थिए । आव २०७६-७७ मा चार सय ८७ वटा सवारी दुर्घटनाबाट ८९ जनाको मृत्यु हुनुका साथै दुई सय सात जना गम्भीर घाइते र पाँच सय २३ जना घाइते भएको ट्राफिक कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिनुभयो ।      कार्यालयले आव २०७८-८९ मा ७१ हजार पाँच सय १७ सवारी साधनलाई कारवाही गरी रु चार करोड ५७ लाख एक हजार राजस्व सङ्कलन गरेको छ । आव २०७७-७८ मा ७० हजार एक सय २९ सवारी साधनलाई कारवाही गरी रु चार करोड २० लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ भने आव २०७६-७७ मा ५४ हजार दुई सय नौ सवारी साधनलाई कारवाही गरी रु तीन करोड १९ लाख ९५ हजार पाँच सय राजस्व सङ्कलन गरेको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।      कार्यालयले दुर्घटना न्यूनीकरण गर्नका लागि ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरेको छ । कार्यालयका अनुसार आव २०७८-७९ मा पाँच हजार तीन सय ९९ वटा कार्यक्रमबाट एक लाख ३३ हजार छ सय पाँच जना, छ सय ७७ पटक विद्यालयमा गरिएको कार्यक्रमबाट १९ हजार पाँच जना विद्यार्थी लाभान्वित भएका छन् ।      आव २०७७-७८ मा तीन हजार आठ ४९ वटा कार्यक्रमबाट ५२ हजार एक सय २६ जना, चार सय ३३ पटक विद्यालयमा गरेको कार्यक्रमबाट ५२ हजार एक सय २६ विद्यार्थी लाभान्वित भएका छन् भने आव २०७६-७७ मा तीन हजार पाँच सय ४४ कार्यक्रमबाट ४५ हजार पाँच सय ६७ जना र दुई सय ५० पटक विद्यालयमा गरिएको कार्यक्रमबाट चार हजार पाँच सय १० विद्यार्थी लाभान्वित भएको निरीक्षक कार्कीले बताउनुभयो ।  चालु आव २०७९-८० को साउन मसान्तसम्ममा ८३ विभिन्न सवारी दुर्घटनाबाट आठ जनाको मृत्यु हुनुका साथै एक सय २१ जना घाइते भएका छन् ।      सोही अवधिमा तीन हजार छ सय ५७ सवारी साधनलाई कारवाही गरी रु २३ लाख १८ हजार ५०० राजस्व सङ्कलन गरिएको छ । कार्यालयले सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि बूढीगङ्गाको निमुवादेखि विराटनगर रानीसम्म ५० वटा ट्राफिक नियमसम्बन्धी चेतनामूलक होडिङ बोर्ड राख्नुका साथै विराटनगर प्रवेशद्वारसम्म १० वटा प्रहरीको डमी बोर्ड राखिएको छ ।      बाटोको अवस्था, मादक पदार्थ सेवन र तीव्रगतिमा सवारीसाधन सञ्चालनले ८० प्रतिशत दुर्घटना हुने गरेको निरीक्षक कार्कीले बताउनुभयो । मोटरसाइकल दुर्घटना गर्ने चालकमध्ये अधिकांश १५ देखि ३० वर्ष उमेरका युवा रहेको उहाँको भनाइ छ ।      कार्यालयले दुर्घटना न्यूनीकरण गर्न दैनिकरुपमा विभिन्न २० स्थानमा ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै ६५ स्थानमा मादक पदार्थ सेवनलगायत जाँच गर्ने गरेको छ । 

  भोजपुर । एक समयमा नेपालभर आवश्यक पर्ने टक (डोली पैसा) छापिएको ऐतिहासिक टक्सार बजारको अस्तित्व अब भने मेटिँदै गएको छ । खासगरी टक्सार बजारमा बसाइँसराइका कारण कलात्मक शैलीमा निर्माण गरिएका घर जीर्ण बनेका छन् भने कतिपय घर भत्किन थालेका छन् ।   टक्सारमा टक छाप्ने पेशा शाक्य वंशले गर्दै आएको स्थानीय जानकार बताउँछन् । यहाँ टकमारी गरी बनाइएका एक तोला र दुई तोला तौलका टक (डोली पैसा) राणा शासनमा प्रचलनमा थिए । टक काट्ने पहिलो कालीगढ देवदत्त शाक्य रहेको स्थानीयवासी बताउँछन् । पाटनबाट टक्सार आएका नेवार जातिले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृति यहाँ भित्र्याएका थिए । टक्सारमा नेपालकै पहिलो शाक्यमुनि बौद्ध विहारसमेत छ । उक्त बौद्ध विहार १९९३ सालमा स्थापना गरिएको हो । राणाहरूले टक्सारबाट डोली पैसा चलाएका बेला यहाँ मठमन्दिर, विहार, गुम्बा, चैत्य, धारा, पाटीपौवा र मूर्ति बनाइएको स्थानीय ८५ वर्षीय हरि ताम्राकारले बताउनुभयो ।    विसं १८७२ देखि १८८७ सम्म यहाँ डोली पैसा बन्ने गरेको ऐतिहासिक तथ्य पाइन्छ । तत्कालीन सरकारले १८७० सालदेखि भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, इलामसहितका पूर्वी पहाडमा खनिज पदार्थ उत्खनन् गर्न थालेपछि टक्सारमा अड्डासमेत स्थापना गरिएको थियो ।   अड्डा स्थापनापछि पाटनबाट ल्याइएका कालीगढले फलाम र तामाका डोली पैसा बनाउने गरेका थिए । विसं २००७ पछि स्थापना गरिएको सरकारी अड्डा भोजपुर बजारमा स्थापना गरिएसँगै टक काट्ने काम हटेपछि बजार पनि सुनसान बनेको ताम्राकार बताउनुहुन्छ । विगतमा भोजपुरको धोद्लेखानीबाट तामा ल्याएर यहाँ डोली पैसा बनाउने गरिन्थ्यो ।   टक्सारमा बनेका हस्तकलाका सामग्री चीनको तिब्बत, भारतको दार्जिलिङ, आसाम, सिलगढी र कोलकातासम्म निर्यात हुने गरेको थियो । धोद्लेखानीबाट तामा ल्याएर टकसँगै  विभिन्न सामग्री निर्माण गरिन्थ्यो । तर त्यो खानी पनि अहिले बन्द भएको छ । दशकौँ अघिसम्म सयौँको सङ्ख्यामा रहेका यहाँका उद्योग अहिले सातवटामा सीमित छन् । विसं १८७२ मा यही बजारबाट तामाको डोली पैसाका नामले प्रख्यात टक छापिने गरेको थियो । अहिले यस्तो ऐतिहासिकस्थल सुनसान छ ।   लाखौँ मूल्यका धातुका सामग्री उत्पादन हुने र डोली पैसा छाप्ने टक्सार बजार सुनसान छ । बजारको भू–भाग तत्कालीन खिकामाछा थुमअन्तर्गत रहेको यहाँका बूढापाका बताउँछन् । इतिहासअनुसार १६औँ शताब्दीको अन्त्यतिर पाल्पाका सेन राजाको राज्यअन्तर्गत यो रहेको पाइन्छ । माझकिरातको खिकामाछामा टक काट्ने काम भएसँगै त्यतिबेला यहाँ थुप्रै माल, अड्डा अदालत पनि खोलिएका थिए ।   “सम्पदा समय–समयमा मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएका छन्”, ताम्राकारले भन्नुभयो, “यहाँका बासिन्दा आफ्नो घरबार छाडेर अन्यत्र गएपछि बजारको बेहाल भएको छ ।” हुनेखाने वर्ग अन्यत्र गएपछि बजार दूरवस्थामा पुगेको हो । सोही क्षेत्रमा रहेको सरस्वती गुम्बाको पनि संरक्षण हुनसकेको छैन । टक्सार बजारबाट भोजपुरको सिद्धकालीसम्म गुफाबाट पुग्न सकिने उहाँले बताउनुभयो ।   ‘मिनी पाटन’ भनेर पनि चिनिने यो बजार भोजपुर सदरमुकामबाट करिब डेढ किलोमिटरको दूरीमा अवस्थित छ । यहाँ नजिकै टक्सार विमानस्थलसमेत छ । “टक्सार बजारका धातु उद्योगलाई ब्युँताएर यसको मौलिक पहिचानलाई जीवित बनाइराख्न पलायन भएका व्यवसायीलाई अभिप्रेरित गर्नुपर्ने खाँचो छ”, स्थायीय कुमार श्रेष्ठले भन्नुभयो । यहाँको मौलिक कला र उद्योगको संरक्षणका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराउन जरुरी छ । यहाँका सामग्री देशभित्रमात्रै होइन, विदेशमा समेत निर्यात हुने गर्छन् । अहिले बजारको मागलाई यहाँका उद्योगले धान्न सकिरहेका छैनन् ।   “धातुका सामग्री बनाउने जनशक्ति पलायन भएपछि यस्तो अवस्था आएको हो”, उहाँले भन्नुभयो । बसाइँ सरेर गएकाहरुले आफ्नो घर बिक्री नगरी अलपत्र छाडिदिँदा बजारका घर मक्किन र भत्किन थालेका छन् । घुम्न आउने पर्यटकले ‘मिनी पाटन’को नामले पुकार्ने गरेका छन् । यो बजार सुनसान बन्दा भोजपुरकै चिनारी धमिलो हुँदै गएको श्रेष्ठ  बताउनुहुन्छ । “टक्सार बजार देशकै पहिचान बोकेको ऐतिहासिक ठाउँ हो”, उहाँले भन्नुभयो । यहाँ कलात्मक शैलीमा निर्माण गरिएका घरसँगै मठ मन्दिर भत्किन थालेका छन् । यसको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने स्थानीयको माग छ । 

  बागलुङ । तीन वर्षदेखि लगातार बागलुङमा डेङ्गुका बिरामी भेटिन थालेका छन् । विगत दुई वर्षदेखि दक्षिण बागलुङको जैमिनी र बागलुङकै बलेवा क्षेत्रमा बिरामी देखिएकामा यो वर्ष भने बागलुङको अन्य स्थानमा पनि भेटिएको हो ।    लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण भएमा बिरामीको मृत्युसमेत हुने जोखिम हुन्छ । धवलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र पोखरेलका अनुसार अस्पतालमा उपचार गर्न आएका बिरामीमा पनि छिटफुट रुपमा डेङ्गुको सङ्क्रमण पुष्टि भइरहेको छ ।    उच्च ज्वरो, रुघाखोकीसमेतका लक्षण देखिएपछि उपचारका लागि आएकालाई डेङ्गु परीक्षण गर्दा पुष्टि भएको उहाँले बताउनुभयो । दुई वर्षअघि चार, गत वर्ष तीन जना बिरामीमा डेङ्गु देखिएपछि धवलागिरि अस्पतालमै उपचार गरिएको थियो । यो वर्ष पनि लक्षणसहितका बिरामी धेरै देखिएको पोखरेलले बताउनुभयो । लामखुट्टेको टोकाइबाट सर्ने भएकाले आम नागरिकलाई सचेत रहन स्वास्थ्य कार्यालय बागलुङले पनि सबैलाई आग्रह गरेको छ ।   डेङ्गुविरुद्ध स्वास्थ्य कार्यालयले दशवटै पालिकाका सबै स्वास्थ्यचौकीका प्रमुख र अन्य स्वास्थ्यकर्मीलाई तालिमसमेत दिएको थियो । रगत जाँचपछि मात्र डेङ्गु पत्ता लगाउन सकिने भएकाले पालिका तहमा पनि आवश्यक किट पठाइएको जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले बताउनुभयो । एक बिरामीबाट अर्कोमा सजिलै सर्ने भएकाले सतर्कता अपनाउन सचेतना कार्यक्रम सञ्चालन गर्ने, बिरामी आएमा उपचारको व्यवस्था मिलाउने र लामखुट्टे बस्ने पानीका स्रोत हटाउने तयारी सुरु भइसकेको उहाँले जानकारी दिनुभयो ।    “धेरै ज्वरो आउने, शरीर र टाउको दुख्ने डेङ्गुको लक्षण हुन्”, डा पोखरेलले भन्नुभयो, “सतर्कता अपनाउन सकिएन भने कोरोना भाइरसभन्दा यो खतरा हुनसक्छ ।” बिरामी बढी सिरियस हुने भएकाले लामखुट्टेबाट बच्नकै लागि बढी सचेत बन्नुपर्ने उहाँले सुझाव दिनुभयो ।    गाडी बनाउने ग्यारेज, पानी जम्ने पोखरीलगायत सफा राख्न र घर–घरमा पनि खुला ड्रममा पानी नराख्न आग्रह गरिएको बागलुङ नगर स्वास्थ्य कार्यालय प्रमुख रामप्रसाद खनालले बताउनुभयो । खनालका अनुसार सफा पानीमा लामखुट्टेले फुल पार्ने र डेङ्गु लामखुट्टेकै टोकाइबाट सर्छ । “एकपटक सङ्क्रमण भएपछि दोहोरिने दर बढी भएकाले पहिल्यै सचेत बन्नुपर्छ”, उहाँले भन्नुभयो ।   वर्षात्को बेला देखिने अन्य धेरै प्रकारका रोगको पनि सङ्क्रमण बढेको छ । अस्पतालमा दैनिक चार सयदेखि पाँच सय जनासम्म बिरामी उपचार र स्वास्थ्य परीक्षण गर्न आउन थालेका छन् । अस्पतालको भीडले पनि वर्षात्जन्य रोग बढेको देखिएको डा पोखरेलले बताउनुभयो ।  

महेन्द्रनगर    :    ‘गौराको बिरुडो ठूलो, दशैँको जमरा                            आउनी रए झानी रए तै लोली गमरा’   बिहीबार महेन्द्रनगरस्थित खुलामञ्चमा देउडिया (गीतकार) रमेश पन्तले यसै गीतबाट देउडा खेल सुरु गर्नुभयोे । देउडा खेल सुरु गर्दा माहोल रोमाञ्चक बन्यो । महेन्द्रनगरमा दुई वर्षपछि बिहीबार देउडा भाका गुञ्जिएको हो । हरेक वर्ष महेन्द्रनगरको खुलामञ्चमा महिनौँसम्म चल्ने देउडा खेल दुई वर्ष कोरोना महामारीका कारण हुन सकेन ।    “बल्ल दुई वर्षपछि देउडा खेल्न पाइयो यसपटक रहर पूरा गर्छु ।” देउडिया पन्तले भन्नुभयो, “दुई वर्षपछि देउडा खेल्न पाउँदा निकै खुसी छु ।” दुई वर्षपछि देउडा खेल्न पाउँदा भीमदत्त नगरपालिका–७ का परमानन्द भट्ट पनि उत्साही देखिन्थे । “देउडामा रमाउन पाउँदा अर्कै जोश जाँगर आउँछ, दुई वर्ष घरभित्रै थुनिए ।” उहाँले भन्नुभयो, “देउडामार्फत हुने सवाल–जवाफ रोचक हुन्छ, यो साथीभाइको भेटघाट हुने माध्यम पनि बनेको छ ।”   बिहीबार बिरुडा भिजाएर विधिवतरूपमा गौरापर्व सुरु भएपछि सुदूरका गाउँबस्तीमा देउडा भाका गुञ्जिन थालेका छन् । गौरापर्वको सुरुआतसँगै यहाँको माहोल देउडामय बनेको छ । गौराका अवसरमा गाउँदेखि बजारसम्मका महिला–पुरुष देउडामा रम्न थालेका छन् ।   महेन्द्रनगर बजार क्षेत्रमा मात्रै एक दर्जन बढी थलोमा देउडा खेल सुरु भएको छ । केही थलोमा विभिन्न सङ्घसंस्थाले अगुवाइ गरेका छन् । यहाँको खुलामञ्चमा महाकाली साहित्य सङ्गमले देउडा आयोजना गरेको छ भने महेन्द्र स्मारकमा खप्तड समाजले देउडा प्रतियोगिताको आयोजना गरेको छ । त्यसैगरी अन्यथलोमा समेत देउडा खेल सुरु भएको छ ।   गौरापर्वमा गौराको महत्व छुट्टै भए पनि प्रमुख आकर्षण नै देउडा भएकाले युवायुवतीसमेत देउडामा झुम्ने गरेको देउडिया रमेश पन्त बताउँछन् । “देउडा खेल्दा डेढ पाइला अगाडि र पछाडि सर्ने भएकाले देउडा भनिएको हो”, उहाँले भन्नुभयो, “देउडा लोक नृत्य पनि हो । यो हाम्रो ऐतिहासिक, धार्मिक महत्व र हाम्रो पहिचान पनि हो ।” देउडामा देव गाथाहरूलाई मनोरञ्जनात्मकरूपमा प्रस्तुत गरिन्छ ।   “देउडामा भेदभाव पनि हुँदैन यो खेल नारी पुुरुष, युवा पाका सबै पुुस्ताले खेल्न पाउँछन्, यसमा जातीय विभेद पनि हुँदैन”, उहाँले भन्नुभयो, “यसको संरक्षण र संवद्र्धन गर्नु जरुरी छ ।” उहाँले पछिल्लो समय यसको महत्व अझ बढेको बताउनुभयो ।    देउडामा पुराना धार्मिक र राजनीतिक कथादेखि समाजका गतिविधि गीतमार्फत बाहिर ल्याउने गरिन्छ । गीतमार्फत नै गतल प्रवृत्तिका विरुद्ध प्रहारसमेत हुने साहित्यकार कविराज भट्टले बताउनुभयो । “सुदूरपश्चिममा अन्य चाडपर्व र मेला जात्रामा पनि देउडा खेलिन्छ”,  उहाँले भन्नुभयो, “गौराका बेला देउडाको महत्व झन् बढी हुन्छ ।”  देउडा सुदूरपश्चिमको पहिचानसमेत रहेको उहाँको बताउनुभयो ।    गौरा सुरु भएदेखि यहाँका गाउँबस्तीमा १५–२० दिनसम्म देउडा खेल्ने गरिन्छ । “देउडामा वर्तमान राजनीतिक स्थिति र समाजमा घटेका घटना र विकृतिमाथि ब्यङग्य पनि गरिन्छ । माया प्रेमका कुरासमेत आउँछन्”, उहाँले भन्नुभयो, “देउडालाई सांस्कृतिक चटनीका रूपमा पनि लिन सकिन्छ ।”   गोलो घेरामा एक–आपसमा हात बाँधेर ठूलो समूहले गाउँदै नाच्ने गरिन्छ । त्यसैगरी गौरापर्वकै अवसरमा ढुस्को धुमारीलगायतका खेलहरू पनि खेलिन्छन । “यी जति पनि खेल खेलिन्छन्, सबैमा देवी–देवताको गाथा मनोरञ्जनात्कमरूपमा गाइन्छ ।” स्थानीय टीकादत्त जोशीले भन्नुभयो, “हाम्रा यी परम्परा हराउँदै जान थालेका छन्, युवापुस्ताले यसको संरक्षण गर्नु जरुरी छ ।” संस्कृति मासिँदै गए पहिचानसमेत हराउँदै जाने भएकाले यसको पुस्तान्तरण आवश्यक रहेको उहाँले बताउनुभयो ।   “देउडामा यो ठाउँको इतिहास, संस्कृति र साहित्य छ”, उहाँले भन्नुभयो, “अहिले त मनोरञ्जनका रूपमा मात्रै देउडा खेलिन्छ तर त्यसो होइन, देउडा इतिहास र संस्कृतिसँग जोडिएको छ, अहिलेका पिँढीले यो बुझ्न जरुरी छ ।”  गौरापर्वमा साथीभाइ भेटघाट गर्ने अवसर पनि मिल्ने भएकाले देउडा गीतमा गाउँघरको सम्झना, माया, प्रेम र पुराना चालचलनका भाका हालेर गाइने गरिन्छ । पछिल्लो समय देउडाको मौलिकता हराउन लागेकप्रति पाका पुस्ताले चिन्ता व्यक्त गरेका छन् ।

भोजपुर  :  एक समयमा नेपालभर आवश्यक पर्ने टक (डोली पैसा) छापिएको ऐतिहासिक टक्सार बजारको अस्तित्व अब भने मेटिँदै गएको छ । खासगरी टक्सार बजारमा बसाइँसराइका कारण कलात्मक शैलीमा निर्माण गरिएका घर जीर्ण बनेका छन् भने कतिपय घर भत्किन थालेका छन् ।   टक्सारमा टक छाप्ने पेशा शाक्य वंशले गर्दै आएको स्थानीय जानकार बताउँछन् । यहाँ टकमारी गरी बनाइएका एक तोला र दुई तोला तौलका टक (डोली पैसा) राणा शासनमा प्रचलनमा थिए । टक काट्ने पहिलो कालीगढ देवदत्त शाक्य रहेको स्थानीयवासी बताउँछन् । पाटनबाट टक्सार आएका नेवार जातिले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृति यहाँ भित्र्याएका थिए । टक्सारमा नेपालकै पहिलो शाक्यमुनि बौद्ध विहारसमेत छ । उक्त बौद्ध विहार १९९३ सालमा स्थापना गरिएको हो । राणाहरूले टक्सारबाट डोली पैसा चलाएका बेला यहाँ मठमन्दिर, विहार, गुम्बा, चैत्य, धारा, पाटीपौवा र मूर्ति बनाइएको स्थानीय ८५ वर्षीय हरि ताम्राकारले बताउनुभयो ।    विसं १८७२ देखि १८८७ सम्म यहाँ डोली पैसा बन्ने गरेको ऐतिहासिक तथ्य पाइन्छ । तत्कालीन सरकारले १८७० सालदेखि भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, इलामसहितका पूर्वी पहाडमा खनिज पदार्थ उत्खनन् गर्न थालेपछि टक्सारमा अड्डासमेत स्थापना गरिएको थियो ।   अड्डा स्थापनापछि पाटनबाट ल्याइएका कालीगढले फलाम र तामाका डोली पैसा बनाउने गरेका थिए । विसं २००७ पछि स्थापना गरिएको सरकारी अड्डा भोजपुर बजारमा स्थापना गरिएसँगै टक काट्ने काम हटेपछि बजार पनि सुनसान बनेको ताम्राकार बताउनुहुन्छ । विगतमा भोजपुरको धोद्लेखानीबाट तामा ल्याएर यहाँ डोली पैसा बनाउने गरिन्थ्यो ।   टक्सारमा बनेका हस्तकलाका सामग्री चीनको तिब्बत, भारतको दार्जिलिङ, आसाम, सिलगढी र कोलकातासम्म निर्यात हुने गरेको थियो । धोद्लेखानीबाट तामा ल्याएर टकसँगै  विभिन्न सामग्री निर्माण गरिन्थ्यो । तर त्यो खानी पनि अहिले बन्द भएको छ । दशकौँ अघिसम्म सयौँको सङ्ख्यामा रहेका यहाँका उद्योग अहिले सातवटामा सीमित छन् । विसं १८७२ मा यही बजारबाट तामाको डोली पैसाका नामले प्रख्यात टक छापिने गरेको थियो । अहिले यस्तो ऐतिहासिकस्थल सुनसान छ ।     लाखौँ मूल्यका धातुका सामग्री उत्पादन हुने र डोली पैसा छाप्ने टक्सार बजार सुनसान छ । बजारको भू–भाग तत्कालीन खिकामाछा थुमअन्तर्गत रहेको यहाँका बूढापाका बताउँछन् । इतिहासअनुसार १६औँ शताब्दीको अन्त्यतिर पाल्पाका सेन राजाको राज्यअन्तर्गत यो रहेको पाइन्छ । माझकिरातको खिकामाछामा टक काट्ने काम भएसँगै त्यतिबेला यहाँ थुप्रै माल, अड्डा अदालत पनि खोलिएका थिए ।   “सम्पदा समय–समयमा मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएका छन्”, ताम्राकारले भन्नुभयो, “यहाँका बासिन्दा आफ्नो घरबार छाडेर अन्यत्र गएपछि बजारको बेहाल भएको छ ।” हुनेखाने वर्ग अन्यत्र गएपछि बजार दूरवस्थामा पुगेको हो । सोही क्षेत्रमा रहेको सरस्वती गुम्बाको पनि संरक्षण हुनसकेको छैन । टक्सार बजारबाट भोजपुरको सिद्धकालीसम्म गुफाबाट पुग्न सकिने उहाँले बताउनुभयो ।   ‘मिनी पाटन’ भनेर पनि चिनिने यो बजार भोजपुर सदरमुकामबाट करिब डेढ किलोमिटरको दूरीमा अवस्थित छ । यहाँ नजिकै टक्सार विमानस्थलसमेत छ । “टक्सार बजारका धातु उद्योगलाई ब्युँताएर यसको मौलिक पहिचानलाई जीवित बनाइराख्न पलायन भएका व्यवसायीलाई अभिप्रेरित गर्नुपर्ने खाँचो छ”, स्थायीय कुमार श्रेष्ठले भन्नुभयो । यहाँको मौलिक कला र उद्योगको संरक्षणका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराउन जरुरी छ । यहाँका सामग्री देशभित्रमात्रै होइन, विदेशमा समेत निर्यात हुने गर्छन् । अहिले बजारको मागलाई यहाँका उद्योगले धान्न सकिरहेका छैनन् ।   “धातुका सामग्री बनाउने जनशक्ति पलायन भएपछि यस्तो अवस्था आएको हो”, उहाँले भन्नुभयो । बसाइँ सरेर गएकाहरुले आफ्नो घर बिक्री नगरी अलपत्र छाडिदिँदा बजारका घर मक्किन र भत्किन थालेका छन् । घुम्न आउने पर्यटकले ‘मिनी पाटन’को नामले पुकार्ने गरेका छन् । यो बजार सुनसान बन्दा भोजपुरकै चिनारी धमिलो हुँदै गएको श्रेष्ठ  बताउनुहुन्छ । “टक्सार बजार देशकै पहिचान बोकेको ऐतिहासिक ठाउँ हो”, उहाँले भन्नुभयो । यहाँ कलात्मक शैलीमा निर्माण गरिएका घरसँगै मठ मन्दिर भत्किन थालेका छन् । यसको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने स्थानीयको माग छ । 

  काठमाडौँ ।  विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रको अमिताभ बुद्ध मार्गमा काठमाडौँ महानगरपालिकाले कालोपत्र गरेको सडक तीन महिना पनि टिकेन ।        बौद्ध क्षेत्रको टुसालबाट महाँकाल र सम्पदा मार्ग हुँदै बौद्ध चैत्य पुग्न सकिने सडक गत आर्थिक वर्षमा कालोपत्र भएको थियो । कालोपत्र भएको तीन महिना पनि सडक नटिकी भत्केर पानी जम्न थालेको बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक नयनकुमार लामाले राससलाई जानकारी दिनुभयो ।        “विकास निर्माणका कामबाट हुने कमिसनको खेल र काममा झारा टार्ने प्रवृत्तिले यस्तो भएको हो, महानगरपालिकाले तीन महिना पनि नटिक्ने कस्तो कालोपत्र गर्यो ?, तोकिएको गुणस्तरमा काम नहुँदा यस्तो भयो, समितिले तीनपटक बजेट छुट्याए पनि महानगरपालिकाले नै गर्न खोजेकाले यो सडकको काम गर्न दिइएको हो”, उहाँले भन्नुभयो ।         कालोपत्र हुनु एक वर्षअघि भने यो सडक समितिको बजेटबाट मर्मत सम्भार गरिएको थियो । विश्व सम्पदा क्षेत्रको सडक बनाएको तीन महिनामै भत्कँदा पर्यटकका माध्यमबाट देशका बारेमा गलत सन्देश गएको स्थानीय व्यवसायी मङ्गलकुमार श्रेष्ठ बताउनुहुन्छ । जसका कारण स्थानीयवासी, पर्यटक र बौद्धनाथ चैत्यमा दर्शनका लागि आउने भक्तजनले वर्षामा हिलो र हिउँदमा धुलोको बीचबाट जान बाध्य हुनुपरेको छ ।        महानगरपालिकाको रु नौ करोड लागतमा निर्माण भएको करिब एक किमी सडक तीन महिना पनि नटिक्दा स्थानीयवासी, पर्यटक र बौद्धनाथ दर्शन गर्न आउने भक्तजन दैनिक प्रभावित हुने गरेका छन् । काठमाडौँ महानगरपालिका–६ का पूर्वअध्यक्ष दीपेन्द्रकुमार लामा निर्माण व्यवसायीले गुणस्तरहीन काम गरेकाले सडकको कालोपत्र तीन महिना पनि नटिकेको बताउनुहुन्छ ।        “महानगरपालिका निर्माण विभाग प्रमुख राम थापालाई गुणस्तरहीन काम भएकाले भुक्तानी रोकेर राम्रो काम गराउन भनेँ, वडाले त्यहाँभन्दा बढी गर्न नसक्ने भएकाले सडक बनाएको केही समयमै भत्कियो, अहिले हिँड्न नै समस्या भएको छ”, उहाँले भन्नुभयो ।   यस सम्बन्धमा महानगरपालिका निर्माण विभाग प्रमुख थापासँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा आफू बैठकमा भएकाले केही भन्न नसक्ने बताउनुभयो । विदेशबाट आउने धेरै पर्यटक बस्ने हायात रिजेन्सी होटलको पूर्वोत्तरको पर्खालको यो सडकको दुरावस्थाले नेपालले विश्व सम्पदा क्षेत्रलाई कति महत्व दिएको छ भन्ने सन्देश जाने महानगरपालिका– ६ का अध्यक्ष भुवन लामा बताउनुहुन्छ ।        आफू वडामा निर्वाचित हुनुअघि बनेको सडक भएकाले यस विषयमा के–के भएको भन्ने बुझी महानगरपालिकाको कार्यपालिका बैठकमा कुरा उठाउने उहाँले जानकारी दिनुभयो ।

  कञ्चनपुर । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको शुक्लाफाँटा नगरपालिकाको पूर्वी सीमा नदी वनहरा छेउमा झुपडी बनाई बस्दै आएका भूमिहीन परिवारलाई ज्यान जोगाउनै मुस्किल हुन थालेको छ । वनहरा नदीले भूमिहीन परिवार बसोबास गर्दै आएको क्षेत्रतर्फ कटान गर्न थालेपछि उनीहरु जोखिममा परेका हुन् ।    “एकातर्फ नदीले जग्गा कटान गरिरहेको छ”, पीडित दलबहादुर बोहराले भन्नुभयो, “अर्कातर्फ नालामा वर्षाको पानी भरिन्छ, बाढी आए भाग्ने ठाउँ नै छैन ।” आकाशमा वर्षा गराउने बादल आउने क्रम सुरु भएसँगै झुपडी छाडेर सुरक्षित स्थानमा जानुपर्ने बाध्यता भएको उहाँले बताउनुभयो । रातिका बेला वर्षा हुन थालेपछि नजिकैको नदीमाथि बनाइएको पुलमा ओत लाग्नका लागि जाने गरेको पीडित प्रकाश साउदले बताउनुभयो ।    “वर्षा कतिबेला हुन्छ थाहा हुँदैन”, उहाँले भन्नुभयो, “त्यही भएर बालबालिकासहित पुलमुनि छाडा चौपायासँगै सुत्नुपर्ने बाध्यता छ ।” दिउँसो झुपडीमा गर्मीका कारण बस्नै सकिँदैन । वर्षा भए झोपडी चुहिन्छ । यस्तो अवस्थामा पुलमुनि सुत्नुको विकल्प नभएको उहाँ बताउनुहुन्छ । शिविरमा बस्दै आएका परिवारका छानामा राखिएका त्रिपाल पुराना भइसकेका छन् । त्यसबाट वर्षात्को पानी चुहिन्छ । अत्यावश्यक सामान जोगाउनका लागि निकै समस्या भएको भूमिहीन परिवारको दुःखेसो छ ।    वन क्षेत्र नजिकै बस्दै आएका भूमिहीन परिवारलाई नदीको बाढीसँगै जङ्गली जनावरको समेत उत्तिकै डर छ । “झुपडी छेउबाटै गए राति बाघले गाईलाई मारेर घिसार्दै वन क्षेत्रमा लग्यो”, पीडित अमृता साउदले भन्नुभयो, “जीउ जोगाउनसमेत मुस्किल भइसकेको छ, सुरक्षित स्थानमा शिविर सार्न पाए ज्यान जोगिन्थ्यो ।”    डडेल्धुराको आलितालमा पहिराले घरखेत सबै बगाएर लग्दा भूमिहीन भएर शिविरमा बस्न आएको उहाँले बताउनुभयो । “पीडित भएर बस्नका लागि ठाउँ खोज्दै यहाँ आइपुग्यौँ, यहाँ पनि सुरक्षितरूपमा बस्न नपाइने भएको छ, राति लामखुट्टेले टोकेर हैरान बनाउँछन्, बालबालिकालाई लामखुट्टेबाट जोगाउन जाग्रामसमेत बस्नुपर्छ, नदीमा बाढी आए पूरै परिवार जाग्राम नै बस्छौँ”, उहाँले भन्नुभयो ।   पुनःस्थापनको आशैआशमा बस्नुपर्ने अवस्था आएको उहाँले दुखेसो पोख्नुभयो । नदीको वारि र पारि गरी दुई ठाउँमा आर्यघाटसमेत रहेको छ । “नजिकमा मजदुरी पाइँदैन, कयौँ रात भोकै पनि सुतेका छौँ”, पीडित मानध्वज लुहारले भन्नुभयो, “टाढा गएर फर्कन सकिँदैन, परिवारलाई एक्लै छाडेर जान पनि सकिँदैन, यसैगरी दुई दशक बित्नै लागे पनि पुनःस्थापनको कुनै निकायबाट पहलसम्म हुनसकेको छैन ।”   नदीको दूषित पानी पिउनुपर्ने बाध्यता भएकाले बालबालिकासहित युवादेखि बूढापाकासम्म बिरामी पर्ने गरेका उनीहरुको भनाइ छ । पीडित कलावती दमाइले भन्नुभयो, “उपचारका लागि आर्थिक अभाव हुँदा झुपडीमै पीडा सहेर बस्नुपर्ने अवस्था रहेको छ, आधारभूत स्वास्थ्य केन्द्रबाट सामान्य किसिमको औषधिमात्रै पाइन्छ, स्वास्थ्यकर्मीले औषधि बाह्य क्षेत्रबाट खरिद गर्नुपर्ने लेखिदिन्छन्, पैसा हुँदैन, औषधि खरिद गर्न पाउँदैनाँै, त्यसपछि एउटै विकल्प पीडा सहनुमात्रै रहन्छ ।” दुई दशकदेखि भूमिहीन परिवारले बस्दै आएको शिविरमा १२ परिवारमात्रै बस्दै आएका थिए ।    “शव जलाएको धुवाँ शिविरसम्म पुग्ने गर्दछ, पहिला पहिला शव जलाएको गन्ध आउँदा निकै अप्ठ्यारो हुन्थ्यो”, शिविरका बासिन्दाले भन्नुभयो, “अब बानी नै परिसक्यो, यो क्षेत्र छाडेर अरु ठाउँ जान सकिँदैन, कुन ठाउँ गएर बस्ने हो, पहाडमा छदा बाबुबाजेले अरुको काम गरे, कामै नपाइने भएपछि बाध्य भएर यहाँ आइपुगेका हौँ, यस क्षेत्रमा समेत जीवन जिउन निकै कठिन छ ।”   डडेल्धुराका पहिरो पीडितसमेत थपिएपछि शिविरमा २८ परिवार बस्दै आएका छन् । शिविरमा बाजुरा, बझाङ, अछाम, बैतडी र डडेल्धुराबाट आएका भूमिहीन परिवारको बसोबास रहेको छ । शिविरमा बसोबास गर्दै आएका परिवारको एउटै भनाइ रहेको छ, “हामीलाई सुरक्षित स्थानमा पुनःस्थापन गरिदिनुपर्यो ।”

  दमौली । तनहुँको व्यास नगरपालिका–४ निवासी इन्द्र गुरुङको आधा जीवन फुटबल खेलेरै बित्यो । उहाँ सानै हुँदादेखि फुटबल खेल्नुहुन्थ्यो । उहाँले खेल्न सुरु गरेदेखि नै जिल्लामा व्यवस्थित खेलमैदान थिएन । उमेरले ३५ पुग्नुभएका उहाँ जिल्लामा हालसम्म पनि व्यवस्थित खेलमैदान नबन्दा निराश हुनुहुन्छ ।    गुरुङ हाल अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बाट मान्यताप्राप्त रेफ्रीको भूमिका हुनुहुन्छ । जिल्लाका विभिन्न ठाउँमा आयोजना हुने फुटबल खेलमा उहाँले रेफ्रीको भूमिका निभाइरहनुभएको छ ।    “म पूर्व खेलाडी र फुटबललाई एकदमै माया गर्ने मान्छे, आधा जीवन फुटबलमै गयो, न आफू खेल्दा राम्रो मैदानमा खेल्न पाइयो न त अहिलेका खेलाडीले राम्रो मैदानमा खेल्न पाएका छन्”, गुरुङ भन्नुहुन्छ, “न पहिला न अहिले, न हिजो न आज खेलसँग सम्बन्धित निकायले खेल मैदानलाई अनि खेलाडीलाई वास्ता नगरेको देख्दा नरमाइलो लाग्छ ।”   आफूले पनि राम्रो खेलमैदानमा खेल्न नपाएको र अहिलेका खेलाडीले पनि राम्रो खेलमैदानमा खेल्न नपाएकामा उहाँको गुनासो छ । “जिल्लामा फुटबलप्रति एकदमै आकर्षण छ, तर खेल्ने वातावरण छैन, सम्बन्धित निकाय किन हो कुन्नी कानमा तेल हालेर बसेको छ”, उहाँले प्रश्न गर्नुभयो, “व्यवस्थित रङ्गशाला बनाउन केले छेकेको रहेछ ?”   खेलाडी अनि खेलमैदानका लागि भन्दा पनि पार्टीगत हिसाबले काम गर्ने प्रवृत्ति रहेको गुरुङको आरोप छ । “खेलाडीलाई प्रोत्साहन गर्ने परम्परा नै छैन”, उहाँले भन्नुभयो, “त्यसो भएपछि कसरी खेलकुद र खेलाडीको विकास हुन्छ ।”    जिल्लामा व्यवस्थित रङ्गशाला नहुँदा जस्तोसुकै खेलमैदानमा पनि खेल खेलाउनुपर्ने बाध्यता छ । व्यास–३ स्थित खुलामैदानमा कयौ वर्ष फुटबल प्रतियोगिता भए । अहिले यो मैदानलाई नगरपालिकाले पार्क बनाउन लागेको छ । यसको विकल्पमा विपी वनवाटिकामा खेल सञ्चालन हुँदै आएको छ । फुटबल खेलाडी प्रेम आलेमगरले व्यवस्थित मैदानको अभावमा फुटबल खेलाडीले सीप सिक्न नपाएको बताउनुभयो ।   भलिबलका खेलाडी एवं प्रशिक्षक पदम सुनार जिल्लामा भलिबलको राम्रो सम्भावना भए पनि पूर्वाधार अभावका कारण खेलाडीले राम्रो गर्न नसकेको बताउनुहुन्छ । “जस्तो छ त्यस्तैमा खेलाडीले प्रशिक्षण गर्नुपर्ने अवस्था छ, अनि कसरी खेलाडीको सीप विकास हुन्छ ?”, उहाँले भन्नुभयो । व्यास–२ निवासी खेलप्रेमी विवेक भट्टराईले व्यवस्थित खेलमैदान नहुनु दुःखद् रहेको बताउनुभयो । “सदरमुकाममै व्यवस्थित खेलमैदान नहुनु दुःखद पक्ष हो, यो वा त्यो भन्नै पाइँदैन, सरोकारवालाहरुले जिम्मेवारी लिनुपर्छ”, उहाँ भन्नुहुन्छ ।   दमौलीकै खेलप्रेमी अन्जिपकुमार श्रेष्ठले भएको खेलमैदानलाई व्यवस्थित गराउनुभन्दा पार्क बनाइएको भन्दै गुनासो गर्नुभयो । अर्का युवा किरण श्रेष्ठले व्यवस्थित खेलमैदान बनाउन यतिसारो किन गाह्रो भएको भन्दै सरोकारवाला निकायलाई प्रश्न गर्नुभयो । व्यास–१३ का मेघनाथ आचार्य व्यवस्थित खेलमैदान निर्माणका लागि सबैले दबाब दिनुपर्ने बेला आएको बताउनुहुन्छ ।    केही दिन अगाडि दमौलीस्थित विपी वनवाटिकामा प्रथम मेयरकप फुटबल प्रतियोगिता आयोजना गरियो । प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट खेलाडी खेल खेल्न आए । कुनै टिममा त विदेशी खेलाडी पनि थिए । विपी वनवाटिकास्थित खेलमैदान पानी परेपछि हिलाम्य भयो । हिलाम्य खेलमैदानमै खेल सञ्चालन गर्न आयोजक बाध्य भयो ।    “हिलै हिलो भएको खेलमैदानमा खेल्नुपर्दा खेलाडीलाई कस्तो भयो होला ?”, म्याग्दे गाउँपालिका–७ हर्षपुर घर भई हाल व्यास–३ बस्ने मोहन बरालीले भन्नुभयो, “जिल्लामा त राम्रो खेलमैदान नै छैन भन्ने छाप खेलाडीमा पर्यो ।”   केही दिन अगाडि जिल्ला खेलकुद विकास समितिले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तनहुँबाट खेलाडी छनोट गर्यो । समितिका अध्यक्ष अनिल पाण्डे पूर्वाधार अभावकै बीचमा खेल सञ्चालन गरेर खेलाडी छनोट गर्न बाध्य भएको बताउनुभयो । “खेलकुद पूर्वाधार निर्माणका लागि राज्यको कम चासो हुँदा खेलकुदका गतिविधि सञ्चालन गर्न समस्या हुने गरेको छ, खेलकुद सञ्चालनका लागि पूर्वाधार छैन, भित्र खेलाइने खेलका लागि कभर्डहल छैन, भलिबल कोर्ट छैन”, पाण्डेले भन्नुभयो ।    विपी वनवाटिकास्थित खेलमैदानमा रङ्गशाला बनाउने कुरा चलेको धेरै भयो । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको उक्त खेलमैदान नगरपालिकालाई हस्तान्तरण गरिएको छ । रङ्गशाला बनाउने चर्चा त्यत्तिकै सेलाएको छ । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले खेलप्रति आकर्षण बढे पनि खेलमैदान नहुँदा समस्या भएको बताउनुभयो । “खेलकुद मैदानलाई व्यवस्थित गर्नेतर्फ जनप्रतिनिधि गम्भीर भएर लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।    नगरपालिकाले भने विपी वनवाटिकास्थित खेलमैदानलाई व्यवस्थित गराउनेतर्फ गम्भीर रहेको बताएको छ । नगरपालिकाका प्रवक्ता एवं नगर खेलकुद विकास समितिका अध्यक्ष जीवन गुरुङले उक्त खेलमैदानलाई खेल खेल्न सक्ने बनाइने बताउनुभयो । “यो मैदानलाई व्यवस्थित गराउनकै लागि बीचमा रहेको कभर्डहल सारेका छौँ”, उहाँले भन्नुभयो ।

देउखुरी । तीजको रौनक जताततै थियो । तीजमा माइतीको घर आएका तथा गाउँकै रहेका महिला दिदीबहिनी जम्मा भएर दिउँसो गाउँको सालडाँडामा पुगेर नाचगान गरेर बेलुकी घर फकिँदै गर्दा चट्याङले दुई किशोरीलाई एकै चिहान बनायो । यही भदौ १३ गते मङ्गलबार (तीजको दिन) बेलुका घोराही–१२ गुरौँगाउँका १२ महिला, बालबालिका चट्याङमा परेका थिए ।   मङ्गलबार बेलुकी करिब साढे ५ बजे चट्याङ लागेर दुई जनाको ज्यान गयो । नौ जना घाइते भए । सोही घटनामा घाइते भएकाको मन अझैसम्म झस्किरहन्छ ।  तीजको दिन रातो साडी लगाएर नाच्ने रहरसँगै दिदीबहिनी टिकटक बनाउँदै रमाइलो गरेको बेलाको दृश्य मोबाइलमा हेरेर  टोलाउँदै आँशु पुछ्दै  गर्नुभएकी घोराही–१२ गुरैकी जयन्ती घर्तीले भन्नुभयो, “सँगै नाचेको भिडियो टिकटकमा राख्ने रहर पूरा नहुँदै बहिनीलाई  आँखा अगाडि गुमाउनुपर्यो, मनै थाम्नै सकिएको छैन ।” सोह्र वर्षीया बहिनी दीपा घर्तीले चट्याङमा परेर अकालमा ज्यान गुमाउनुपर्यो  । आँखामा राखे पनि नबिझाउने बहिनी गुमाउँदा एक्लै भएको उहाँले बताउनुभयो । यतिबेला गुरौँगाउँ नै शोकमा परेको छ ।   दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा यमकुमारी साह उपचाररत भेटिनुभयो । उहाँलाई चट्याङ लागेको करिब २४ घण्टा बितिसकेको छ । मङ्गलबार बेलुका ५ बजे घटना भएको थियो उपचारका लागि घोराही ल्याउँदा बुधबार ५ बजेको थियो । गुरौँगाउँबाट उहाँसहित नौ बिरामीलाई घोराहीबजार ल्याउन २४ घण्टा लाग्यो । यमकुमारीलाई चट्याङ लाग्दा  आफूसँगै रमाइलो गर्न गएकी १९ वर्षीया छोरी मनिषा साहको घटनास्थलमै मृत्यु भयोे ।   आँखा अगाडि छोरी गुमाउनुपर्दा उहाँँलाई सम्हालिन गाह्रो भएको छ । यमकुमारीका चार छोरी चट्याङमा परेकामा दुई महिनाकी छोरी जेनिसालाई पनि चट्याङले घाइते बनाएको छ । “नाचेर रमाइलो गर्ने भनेर सालडाँडाको नयाँ बस्तीमा दिउँसो दुई वजेदखि नाच्न गएका थियौँ, ठूलो पानी पर्न थालेपछि साँझ पाँच वजे घर फर्किने बेलामा अचानक चट्याङले हान्यो, हामी सबै ढल्यौँ, होश आउँदा नजिकै रहेकी छोरी जलेर प्राण त्यागिसकेकी थिइन्”, उहाँले भन्नुभयो । चट्याङको चपेटामा परेका सबै बेहोस भएका थियौँ । अहिले शरीर थलिएको छ, खुट्टा सुन्निएका छन् । त्यो घटनाले मन स्थिर हुनसकेको छैन ।    घाइतेलाई उपचारका लागि समयमै अस्पताल पुर्याउन सकिएन । त्यो ठाउँ भौगोलिकरूपमा विकट छ । सडक र सञ्चारको सुविधा छैन । घटना भएपछि गाउँलेका घरघरमा खबर गर्न हिँड्दाहिँड्दै थकाइ लागेको थियो । साँघुरो कच्ची बाटोका कारण डोको र कपडाको झोलुङ्गा बनाएर घाइतेलाई अस्पताल ल्याउनुपरेको सोही घटनामा परेकी घोराही–१२ की  बेलकुमारी घर्तीले बताउनुभयो । घटना भएपछि आकुलब्याकुल भएका गुरौँवासी रातभर सुत्न सकेनौँ । घाइतेलाई उपचारका लागि अस्पतालसम्म पुर्याउन पनि नसकेको उहाँले बताउनुभयो । गाउँका युवा, बलिया सबै रोजीरोटी र कामको सिलसिलामा विदेशी भूमिमा गएका छन् । गाउँमा महिला, बालबालिका र ज्येष्ठ नागरिकमात्रै रहेको बेलकुमारीको भनाइ थियो  ।    सोही वडाका वडाध्यक्ष द्रोर्ण बहकरीले आफ्नो वडाको पीडा देखेर निकै दुःखी भएको बताउनुभयो । यसका लागि नगर कार्यपालिकाबाट दुर्गमका नागरिकको आधारभूत सेवाका लागि विशेष पहल गर्न लगाउने बचन दिनुभयो । “कहिले पनि त्यो ठाउँमा फोन लाग्दैन, बिजुली बत्तीको पनि व्यवस्था छैन, खानेपानीको समस्या पनि उस्तै छ,  उहाँले भन्नुभयो, “अब कसरी हुन्छ गुरौँका नागरिकका लागि केही गरेरै छाड्नेछु”, उहाँले भन्नुभयो ।   घाइते सबैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । बिरामीको उपचार गर्दा अस्पतालमा लाग्ने सबै खर्च घोराही उपमहानगरले व्यहोर्ने नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो । ज्यान गुमाएकाहरूको परिवारलाई विपद् व्यवस्थापन समितिबाट रकमसहित राहतको व्यवस्था गर्ने उहाँले बताउनुभयो । घाइतेलाई मानसिक पीडा धेरै छ । उपचारसँगै परामर्शको काम भइरहेको सम्बद्ध चिकित्सकको भनाइ थियो ।   चट्याङ लागेर घाइते हुनेमा १५ वर्षीया निरुता साह, १५ वर्षीया जयन्ती घर्ती, १६ वर्षीया यामुसरी थापा, ३८ वर्षीया यमकुमारी साह रहेको दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिनुभयो । यसैगरी सामान्य घाइते हुनेमा चार वर्षकी जेनिशा साह, १४ वर्षीया अन्जना घर्ती, १५ वर्षीया सावित्रा वली, ३८ वर्षीया बेलकुमारी घर्ती, ४२ वर्षीया मनकुमारी वली रहेको प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिनुभयो ।