धनकुटा । प्रस्तर कलाको क्षेत्रमा काम गर्ने सिल्पकार श्रीकृष्ण जोशीले काम गर्न छाडेपछि अब धनकुटामा पत्थर (ढुङ्गा) का मूर्तिहरु बन्न बन्द भएको छ । जिल्लामा जोशी मात्र यस क्षेत्रका एक दक्ष र अनुभवी व्यक्ति हुनुहुन्थ्यो । स्वास्थ्यमा समस्या देखापरेपछि उहाँले दुई वर्षअघिदेखि काम गर्न छाडेपछि अव धनकुटामा मूर्तिकलाको एक अध्याय सकिएको छ । बहत्तर वर्षिय धनकुटा नगरपालिका–६ निवासी जोशीले काम गर्ने क्रममा आफ्नो स्वास्थ्यले साथ नदिएपछि मूर्ति निर्माण काम गर्न छाडेको जानकारी दिनुभयो । “उच्च रक्तचापले बिरामी भएर हात कमजोर भयो, परिवारले पनि काम नगर्नु भनेपछि छाडिदिएँ”, उहाँले भन्नुभयो । यस क्षेत्रमा उहाँ झण्डै २५ वर्षसम्म क्रियाशील हुनुहुन्थ्यो । विसं २०३० देखि १८ वर्ष सरकारी सेवा गरेर २०५२ सालमा निवृत्त भएपछि उहाँ यस क्षेत्रमा संलग्न हुनु भएको हो । कुनै प्रशिक्षण नलिएका जोशीले सानैबाट मूर्तिकलामा रुची भएकाले जागिर छाडेपछि यसलाई आफ्नो निर्वाहको माध्यम बनाउनु भएको थियो । कलाकारितामा लागेपछि नाम र दाम मिलेको बताउँदै उहाँले भन्नुभयो, “यसले मलाई पाँच जनाको परिवारको जीवनयापनका लागि सहज भएको थियो । अब यो काम छाडेपछि भने आर्थिक समस्याले पिरोलेको छ ।” उहाँले निर्माण गरेका पत्थरका मूर्ति विभिन्न मन्दिर र सार्वजनिक स्थलमा स्थापना गरिएका छन् । प्रारम्भमा एक मूर्तिको एक हजार आठ सय रुपैंयामा काम गरेका जोशीले पछिल्लो समय एक लाखसम्म लिने गरेको बताउनुभयो । उहाँका अनुसार एक फुट पत्थरको मूर्ति बनाउन १५ दिनदेखि एक महिना लाग्ने गर्दछ । उहाँले आफूले निर्माण गरेका मूर्तिहरु जिल्ला बाहेक काठमाडौँ , रोल्पा, तेह्रथुम, सुनसरीका लागि ७० भन्दा स्थानमा स्थापना गरिएको जानकारी दिनुभयो । काठमाडौँ त्रिभुवन विश्वविद्यालयका लागि लक्ष्मीप्रसाद देवकोटाको शालिक, धनकुटा छिन्ताङ्ग हत्या काण्डका १६ शहिद मध्ये १० वटा शालिक, धनकुटाका शहिद भीमनारायण श्रेष्ठको शालिक, धनकुटाका प्रजातन्त्र सेनानी डगलसिंह लिम्बूको शालिक जोशीका मुख्य कृति हुन् । आफ्नो एकल प्रयासमा चार वर्ष लगाएर धनकुटा नगरपालिका–६ को लहरे चौतारा भन्ने स्थानमा निःशुल्क रुपमा विशाल पत्थरमा कुँदेर गणेश र महाकालीको मूर्तिसँगै मन्दिर र पार्क बनाउनुभएपछि जोशी देशभरि चर्चामा आउनुभएको थियो । विसं २०५९ देखि २०६३ मा निर्मित यस श्री शक्ति विनायक मन्दिर तथा पार्कमा ती मूर्ति बाहेक सिमेन्टबाट बनेको सिड्नी साई बाबा, भीमसेन, गजराजलगायत विभिन्न मूर्तिहरु यहाँको मुख्य आकर्षण रहेको छ । यस क्षेत्रमा नाम र दाम भए पनि नयाँ पुस्तामा जागरण र धैर्यता नभएकाले प्रस्तर कलालाई दोस्रो पुस्तामा हस्तान्तरण गर्न नसकिएको उहाँको गुनासो छ । “अहिलेका पुस्ताहरु कम्प्युटरमा बटम थिचेर तुरुन्त बन्ने वस्तु खोज्छन् तर पत्थरमा मूर्ति बनाउने त्यस्तो सोच र धैर्यताले सम्भव छैन”, जोशीले भन्नुभयो । नेपाल सरकारको क्षेत्रीय प्रतिभा पुरस्कार (२०६७), राष्ट्रिय प्रतिभा पुरस्कार (२०७९), साविक जिल्ला विकास समिति धनकुटा, धनकुटा नगरपालिकालगायत देशका विभिन्न सङ्घ/संस्थाबाट उहाँ सम्मानित तथा पुरस्कृत हुनुहुन्छ ।
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–५ अधिकारीचौरको अस्तु–ओडारबोट जोड्ने मोटरेवल पुल निर्माण थालिएको छ वर्ष भयो तर छ वर्षमा पुलको ४० प्रतिशत काम पनि हुनसकेको छैन । पुलको दुईतिर पिलर उठाएको वर्षौँ भए पनि अरु काम भने हुुनसकेको छैन । मोटरेवल पुल निर्माणका लागि वाइटी रफिना जेभी कन्ट्रक्सनले विसं २०७३ असोज ४ गते सडक डिभिजन कार्यलयसँग सम्झौता गरेको थियो । सोह्र महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएको पुलको काम ४० प्रतिशतमात्रै भएको उक्त कार्यालयका प्रमुख बलिराज मल्लले जानकारी दिनुभयो । कार्यालयबाट पटक–पटक काम गर्न ताकेता गरे पनि निर्माण कम्पनीले अटेरी गरेपछि गत वर्ष पुस १ गते ठेक्का सम्झौता तोड्ने सूचना प्रकाशन गरेको उहाँको भनाइ थियो । सूचना प्रकाशपछि निर्माण कम्पनीका प्रमुख काम सक्छौँ भनेर आएको तर काम नगरी गत असारदेखि सम्पर्कमा नआएको उहाँले बताउनुभयो । “गत वर्ष पुस १ गते सम्झौता तोड्ने भनेर हामीले सूचना प्रकाशन ग¥यौँ, त्यसपछि ठेकेदार कम्पनीका प्रमुख काम गर्छौँ भनेर सम्पर्कमा आउनुभयो, तर उहाँले असारसम्म कुनै पनि काम गर्नु भएन, असारपछि उहाँहरु हाम्रो सम्पर्कमै हुनुहुन्न”, कार्यालय प्रमुख मल्लले भन्नुभयो । कार्यालयले ठेक्का तोड्ने प्रक्रियामा अगाडि बढाइसकेको उहाँको भनाइ थियो । ठेकेदार कम्पनीको पेश्की जमानतसमेत जफत गरिएको र अब नयाँ सम्झौता गरिने बताउनुभयो । उक्त कम्पनीले हालसम्म ४० प्रतिशत मात्रै काम गरेको छ । निर्माण कम्पनीले सडक डिभिजन कार्यालयसँग रु तीन करोड ५० लाखको लागतमा ठेक्का सम्झौता गरेको थियो । पुलको दुवैतिर निर्माण गरिएको पर्खाल भूजीखोलामा आएको बाढीका कारण भत्किएर क्षति पुगेको छ । निर्माण सुरु भएको लामो समयसम्म पुल सम्पन्न नहुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ । भूजीखोलामाथि निर्माण थालिएको पुल नबन्दा अधिकारीचौर, नाथुरी, भैँसीखर्क, घैयाखेत र बाहुनगाउँका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको छ । हिउँदको समयमा खोला सानो हुँदा गाडी वारपार गर्न सके पनि बर्खाको समयमा भने ठप्प हुने गरेको छ । अधिकारीचौरका अधिकांशले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । बर्खामा गाडी खोला नतर्ने भएपछि उनीहरुले उत्पादन गरेको तरकारी बारीमै कुहिएर नष्ट हुने गरेको छ । “गाउँ मोटरबाटोले जोडियो, पुल पनि बन्न थाल्यो भनेर कृषिमा लगानी गरियो, अहिले पुल नबन्दा उत्पादन भएका सागसब्जी, गोलभेँडा, बन्दा सबै बारीमा कुहिएर नष्ट भएका छन्, पुल बन्न थालेको छ वर्ष बितिसक्यो, अहिलेसम्म दुईतिर पिलरमात्रै उठाइएको छ, अरु कामै गरेको छैन”, स्थानीयवासी शिवराज कँडेलले भन्नुभयो, “पुल नबन्दा बजारमा तरकारी र फलफूल पुर्याउन निकै सकस भएको छ, यो समय त गाडी नै चल्दैन, त्यसले गर्दा हामी निकै मारमा परेका छौँ, हाम्रो माग कसैले सुनेन ।” भूजीखोला बढेपछि गत असार पहिलो सातादेखि गाडीहरू ठप्प भएको उल्लेख गर्दै उहाँले ठेकेदार कम्पनी र सम्बन्धित निकायको बेवास्ताका कारण यतिका वर्ष बितिसक्दा पनि पुल बन्न नसकेको गुनासो गर्नुभयो । समयमै पुल नबन्दा स्थानीयवासी दुई मिनेटमा पुग्न सकिने ठाउँमा ४५ मिनेटभन्दा बढी यात्रा गर्न बाध्य भएको कँडेलले बताउनुभयो । “पुल बनेको भए वारिबाट पारि सडकमा पुग्न दुई मिनेट पनि लाग्दैन तर अहिले हामी एक घण्टा लगाएर पारि तर्ने गर्छौँ, बजारबाट सामान लिनपर्यो भने दिनैभरि लाग्छ, गाउँले मिलेर पटक–पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गरायौँ तर कुनै सुनुवाइ भएन”, उहाँले भन्नुभयो, “गाउँमा कोही बिरामी पर्यो भने तत्काल अस्पताल पु¥याउनसक्ने अवस्था छैन, गाउँमा सडक छ तर पुल नहुँदा गाडी चल्दैन, त्यसले गर्दा हामीले दुःख भोग्नुपरेको छ, अझै कति समय लाग्ने हो यो पुल बन्न रु” पुल अलपत्र पार्ने निर्माण कम्पनी र ठेकेदारलाई कडा कारबाही गर्नुपर्ने स्थानीयवासीले माग गर्दै आएका छन् । तोकिएको समयमा पुल नबन्दा बारीमा उत्पादन भएका फलफूल र तरकारी कुहिँदा लाखौँको नोक्सानी व्यहोर्नुपरेको स्थानीय कृषक कृष्णलाल कँडेलको गुनसो थियोे । “वर्षौँ भयो पुल बन्न थालेको खै अहिलेसम्म बनेको ?, त्यस्ता ठेकेदारलाई कारबाही हुनुपर्छ, यो पुल त सिङ्गो गाउँलेको भविष्यसँग जोडिएको छ, समयमै पुल बन्ला भनेर लाखौँ रकम लगानी गरियो, अहिले आम्दानी गर्ने बेला नोक्सान मात्रै भइरहेको छ”, उहाँले भन्नुभयो, “हिउँदमा भएको भए मान्छेले पनि बोकेर बजारसम्म पुर्याउन सकिन्छ, पानी झरी पर्छ कसरी लाने ?, खोला तार्नै सकिन्न ।” मोटरबाटोले गाउँ नजोडिँदा हिउँदको समयमा उत्पादन गरेका फलफूल तथा तरकारी भरीया लगाएर बुर्तिबाङ बजारसम्म पुर्याउने गरिएकामा मोटरबाटोले गाउँ जोडिएपछि तरकारी लिन घरमै पनि गाडी आइपुग्ने उहाँले बताउनुभयो । “मोटरबाटो गाउँमा पुगेपछि त निकै सजिलो भएको थियो, पहिले मान्छे लगाएर बजारमा लैजानुपथ्र्यो, बाटो आएपछि व्यापारीहरु घरमै गाडी लिएर लिन आउँथे”, कँडेलले भन्नुभयो, “यस्तो बर्खाको समय छ, खोला उर्लेर आएको छ, अहिले त न गाडी आउँछ, न बोकेर बजार पु¥याउन सकिने अवस्था छ, त्यसैले गर्दा तरकारी फलफूल गाई भैँसीलाई दिन बाध्य भएका छौँ ।”
पर्सा । पर्साको वीरगञ्जमा डेङ्गु र स्क्रब टाइफसका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । वीरगञ्जको नारायणी अस्पताल तथा निजी क्लीनिकमा दिनहुँ डेङ्गु र स्क्रब टाइफसका बिरामी उपचारका लागि आउन थालेका छन् । नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा उदयनारायण सिंहका अनुसार सातायता दैनिक जसो बिरामी फेला पर्न थालेका छन् । खासगरी वीरगञ्ज बाहिरबाट आएका नागरिकमा बढीजसो डेङ्गु र स्क्रब टाइफसको लक्षण देखिएको उहाँले बताउनुभयो । बिरामीको सङ्ख्या बढ्न थालेपछि चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् । हाल दैनिक रुपमा १५ देखि २० जनामा डेङ्गु र स्क्रब टाइफसका बिरामी अस्पताल भर्ना हुन थालेका चिकित्सकले बताएका छन् । बिरामीमा उच्च ज्वरो, टाउको दुख्ने, शरीर र मांसपेशी दुख्ने, शरीरका विभिन्न भागमा साना र ठूला रातो डाबर आउने जस्ता लक्ष्यण देखिने गरेको डा सिहले बताउनुभयो ।
दोधारा चाँदनी : सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत रुपमा सुरु भएको छ । भाद्र शुक्लपक्ष पञ्चमीदेखि सुरु हुने यो पर्व आज पहिलो दिन घर घरमा बिरुडा राखि मनाइँदै छ । आजको दिनलाई बिरुडा पञ्चमी भन्ने गरिन्छ । आज ब्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुआत गरिन्छ । तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सिँगारपटार गरी त्यसभित्र पञ्च अन्न मास, कलौँ, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा बनाउने चलन छ । बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ । गौरादेवीको पूजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ । पुत्रदा एकादशीको ब्रत बसिसकेपछि भाद्र महिनाको बिरुडा पञ्चमीदेखि गौरा पर्व बिधिवत रुपमा सुरु हुने यसका जानकार गोमती भट्टले बताउनुभयो । “एक महिना अगाडिदेखि नै शुद्ध शाकाहार र बह्मचर्यको पालना गरी बिरुडा पञ्चमीको दिन महिलाले मास, कलौँ, गहत, गहुँ र गुरुस मिलाएर तामाको भाडामा भिजाउने गरिन्छ”, उहाँले भन्नुभयो, “बिरुडा भिजाउँदा माङ्गलकी सगुन फाँग गाउँछौँ ।” बिरुडा भिजाउने बेला महिलाले डोटेली भाषामा सगुन तथा बिरुडा भिजाउने बेलाको फाग गाउने चलन छ । फागमा सबै नारी गौरा पर्वको व्रत लिन लागेका र आफूले पनि यो व्रत लिने इच्छा गरेकाले बिरुडाका लागि आवश्यक दाल तथा अन्न सामग्री खोजी दिन महादेव (डोटेली भाषामा मयासर)लाई नगरमा गएर मागी ल्याउन आग्रह गरेको कुराकानीबाट कथाको आरम्भ हुने पण्डित कविराज भट्टले बताउनुभयो । “मयासरले यो वर्ष आफ्नो घरमा केही पनि नभएको हुनाले अर्को वर्ष सुरु गर्न भन्दा गौराले जिद्दी गरेपछि उनकै आग्रह बमोजिम नगरमा कलौँ बिरुडी खोज्न गएको प्रसङ्ग फागमा आउँछ”, उहाँले भन्नुभयो, “यो पुरुषको व्रतबन्ध गरेजस्तै महिलाले दुबधागो लाउने पर्व पनि हो ।” यसरी भिजाएका बिरुडालाई षष्ठीका दिन पखाल्ने चलन छ । सप्तमी र अष्टमीलाई गौराको विशेष दिन मानिन्छ । सप्तमीका दिन नजिकैको धान खेतमा गएर धानसँगै उम्रिएको साउँ (धानजस्तै देखिने घाँस)बाट गौराको प्रतिमा बनाइ ‘गौराघर’ मा भित्र्याउने ब्रतालु सरस्वती अवस्थी बताउनुहुन्छ । “गौरा हाम्रो ठूलो पर्व हो, पुरुषजस्तै नारीले पनि यज्ञोपवितका रुपमा दुबधागो लगाउने गछौँँ”, उहाँले भन्नुभयो, “गौराको पूजा अर्चनाले विशेष गरी श्रीमान तथा घरपरिवारका सदस्य निरोगी, दीर्घायु, परिवारमा सुख समृद्धि कायम हुन्छ ।” अष्टमी अर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मङ्गलगानका साथ गौरा नचाइन्छ । त्यसै क्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ, त्यहाँ अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाका साथमा नचाउने गरिन्छ । आजकै दिनदेखि ठाउँठाउँमा देउडासमेत खेलिने चलन छ । प्राचीन कालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान् शिवकी अर्धाङ्गीनी शक्तिस्वरुपा पार्वती (गौरी)लाई गौरा देवीको रुपमा पूजा अर्चना गरिँदै आएको पाइन्छ । तिनै शिवगौरीको स्थानीय लोकरीतिअनुसार पूजाअर्चना गरिने पर्व नै गौरा हो । यो पर्व अगस्ति ताराको उदयका हिसाबले शुक्ल या कृष्ण दुवै पक्षमा पर्छ । शुक्ल पक्षमा परेको गौरालाई उज्याली गौरा भनिन्छ भने कृष्ण पक्षमा परेको गौरालाई अन्यारी गौरा भनिन्छ । यी दुवै गौरालाई अति पवित्र मानिए पनि उज्याली गौरालाई विशेष महत्वका साथ हेर्ने गरिनछ । गौराकै अवसरमा आजदेखि सुदूरपश्चिमका विभिन्न स्थानमा गौरा कार्यक्रम राखिएको छ । कञ्चनपुरमा पनि महाकाली साहित्य सङ्गमलगायत संस्थाले गौराको अवसरमा विभिन्न कार्यक्रम राखेका छन । साहित्यकार रमेश पन्त ‘मीतबन्धु’का अनुसार आजदेखि महेन्द्रनगरस्थित खुला मञ्चमा गौरा महोत्सव आयोजना गरिएको छ । “गौराको अवसरमा सुदूरपश्चिमका लोकगीत देउडा, डुस्को, धुमारीलगायत विविध गतिविधि गर्दैछौँ, उहाँले भन्नुभयो, “परम्परालाई जोगाउन र पुस्तान्तरणका लागि पनि हामीले कार्यक्रम गर्न लागेका हौँ ।” काठमाडौँ तथा विदेशमा रहेका सुदूरपश्चिमेलीले पनि गौरा पर्व धुमधामका साथ मनाउने गर्छन् ।
विराटनगर । विराटनगर महानगरपालिकाले आफूले गरेको निर्णय कार्यान्यवनलाई तीव्रता दिएको छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित होटलले जतिसक्दो चाँडो अग्नि नियन्त्रण यन्त्र राखिने भएको छ । महानगरले विराटनगरका सबै होटलले अग्नि नियन्त्रण यन्त्र राख्नुपर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयनका लागि होटल सञ्चालकलाई बोलाएर महानगरले छलफलसमेत गरेको छ । एक महिना अगाडि तीनपैनी छेउमा रहेको नाङ्लो रेष्टुरेण्टमा आगलागी भएको थियो । रेष्टुरेण्टमा अग्नि नियन्त्रण यन्त्र नहुँदा ठूलो क्षति भएको थियो । विराटनगरवासीको हितका लागि महानगरले गरेका हरेक निर्णय कार्यान्वयन गर्न आफूहरू तयार रहेको छलफलमा सहभागीले प्रतिबद्धता जनाएका छन् । होटलको सुरक्षाका लागि आफूहरू अग्नि नियन्त्रण यन्त्र राख्न तयार रहेको होटल एसोसिएसन नेपाल प्रदेश नं १ का अध्यक्ष राजन श्रेष्ठले प्रतिबद्धता जनाउनुभयो । “महानगरले धेरै राम्रो निर्णय गरेको छ । यो हाम्रै सुरक्षाका लागि हो”, उहाँले भन्नुुभयो, “हामी होटलको स्तर र क्षमताअनुसार चाँडै नै अग्नि नियन्त्रण यन्त्र राख्छौँ ।” विराटनगरका कतिपय ठूला होटलले समेत अग्नि नियन्त्रण यन्त्र नराखेको पाइएको छ । महानगरका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्कीसहितको उपस्थितिमा भएको छलफलमा महानगरले गरेका राम्रा निर्णय कार्यान्वयनमा आफूहरू तयार रहेको होटल व्यवसायीहरूले प्रतिबद्धता जनाएका छन् ।
बैतडी । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत सुदूरपश्चिम स्तरीय खेलकुद प्रतियोगिताका लागि बैतडीबाट एक सय ५६ खेलाडी छनोट भएका छन् । छनौट भएका खेलाडीले प्रदेशमा १३ खेलमा प्रतिस्पर्धा गर्नेछन् । जिल्ला खेलकुद समितिका प्रमुख तर्कराज जोशीका अनुसार यही भदौ १० देखि १४ गतेसम्म सञ्चालन भएको जिल्लास्तरीय प्रतियोगिताबाट प्रदेशका लागि खेलाडी छनौट भएका हुन् । क्रिकेट(महिला/पुरुष), तेक्वान्दो(महिला/पुरुष), टेबल टेनिस (महिला/पुरुष), बुद्धिचाल, भारत्तोलन (पुरुष), कराते, तेक्वान्दो (महिला/पुरुष), भलिबल (महिला/पुरुष), कबड्डी(महिला/पुरुष), एथ्लेटिक्स (महिला/पुरुष), फुटबल, बक्सिङ (पुरुष)लगायतका खेलका खेलाडी छनौट भएका हुन् । छनौट प्रतियोगितामा सहभागी हुन खेलाडीका लागि आवेदन आह्वान गरिएको थियो । छनौट प्रतियोगितामा तीन सय २९ खेलाडी सहभागी रहेको जोशीले बताउनुभयो । यसैबीच प्रदेश स्तरीय पुरुष क्रिकेट प्रतियोगिता मङ्गलबारदेखि धनगढीमा सुरु भइसकेको छ भने अन्य प्रदेशस्तरीय छनौट प्रतियोगिता केही दिनमा सञ्चालन हुने बताइएको छ । प्रदेशमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छानिने छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने तय भएको छ ।
बझाङ । बझाङमा जिपको ठक्करबाट बुधबार एक पैदल यात्रीको ज्यान गएको छ । मृत्यु हुनेमा वित्थडचिर गाउँपालिका–९ का ६० वर्षीय गगन ओखेडा रहेका छन् । केदारस्युँ गाउँपालिका–१ देउरा बजारबाट बागथलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०० च २६९० नम्बरको जिपले देउरा बजारमा पैदल हिँड्दै गरेका ओखेडालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारी जानकारी दिनुभयो । ओखेडाको घटनास्थलमै मृत्यु भएको हो । बुङ्गल नगरपालिका–६ घर भएका जिप चालक दीपेन्द्र धामी घटनापछि फरार रहेको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–४ बुसुन्डोलमा खोला तर्ने क्रममा बुधबार साँझ एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १७ वर्षीय अमित थामी रहेका छन् । मामाघरबाट तीज मनाएर आमा र बहिनीका साथमा फर्किदै गरेका थामीको खोला तर्ने क्रममा पहिरोसँगै आएको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिनुभयो । उनकी आमा र बहिनी भने सकुशल रहेका छन् । खोलामा पुल नहुँदा स्थानीले सास्ती खप्दै आएका छन् । मुलाबारीबाट पिस्कर अध्ययन गर्न आउने विद्यार्थी तथा स्थानीयलाई वर्खामा आवतजावत गर्न खोलामा जोखिम रहेको स्थानीयले बताएका छन् ।
पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोटका लागि आजदेखि गण्डकी प्रदेश स्तरीय प्रतियोगिता सञ्चालन हुँदैछ । प्रतियोगितामा गण्डकीका ११ जिल्लाका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी तीन हजार २२३ जना सहभागी हुँदैछन् । गण्डकी प्रदेशमा आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशले छनोट प्रतियोगिता सञ्चालन गर्न लागेको हो । छनोट प्रतियोगिता पोखरा रङ्गशालामा हुन लागेको हो । प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङका अनुसार प्रदेशस्तरीय प्रतियोगितामा ११ जिल्लाका महिला तथा पुरुष खेलाडी, प्रशिक्षक र व्यवस्थापक सहभागी हुँदैछन् । प्रादेशिक छनोटपछि प्रदेशको टोलीलाई बन्द प्रशिक्षणमा सहभागी गराइनेछ । सदस्य सचिव गुरुङका अनुसार जिल्ला छनोटमा पाँच हजार ६७७ खेलाडी सहभागी भएका थिए । प्रत्येक खेलमा एउटा प्रशिक्षक र एउटा व्यवस्थापक राखिएको छ । प्रादेशिक छनोटमा कास्कीले ३५ वटै खेलमा सहभागिता जनाउने भएको छ भने मनाङले पाँच खेलमा मात्र प्रतिस्पर्धा गर्नेभएको छ । यही भदौ ८ देखी १४ गतेसम्म सञ्चालन भएको जिल्लास्तरीय छनोटबाट प्रादेशिक प्रतियोगिताका लागि खेलाडी छानिएका हुन् । प्रदेश स्तरीय प्रतियोगितका लागि खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी कास्कीबाट छ सय ७३, मुस्ताङबाट एक सय ६६, म्याग्दीबाट दुई सय ८३, बागलुङबाट तीन सय ६१, पर्वतबाट दुई सय २३, स्याङ्जाबाट तीन सय ४७ र तनहुँबाट तीन सय तीन खेलाडी छनोट भएका छन् । यसैगरी लमजुङबाट दुई सय १३, गोरखाबाट दुई सय ३०, मनाङबाट ४६ र नवलपुरबाट तीन सय ७८ खेलाडी छनोट भएका छन् । गण्डकीले नवौँ राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रदर्शनी गरी ३८ वटै खेलमा सहभागिता जनाउने भएको छ । नवौँ राष्ट्रियमा गण्डकीबाट सात सय नौ खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा चार सय चार स्पर्धामा चार सय ११ पुरुष र दुई सय ९८ महिला सहभागी हुन लागेको परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङले जानकारी दिनुभयो । “जिल्ला, प्रदेश छनोट र बन्द प्रशिक्षणसम्म कूल रु सात करोड ८५ लाख खर्च हुने अनुमान छ”, उहाँले भन्नुभयो । राष्ट्रिय खेलकुद परिषद्ले यही भदौको २५ गतेभित्रमा सबै प्रदेशलाई खेलाडी, प्रशिक्षक र व्यवस्थापकको नाम दर्ता गर्न समयसीमा तोकेको छ । नवौँ राष्ट्रिय खेलकुदमा तीन विभागीय, सात प्रदेश र एनआरएनएका खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा तीन सय ९३ स्वर्ण, तीन सय ९३ रजत र ६०० कास्य पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुने बताइएको छ । तयारीका लागि बजेट अपुग भयो: प्रदेश खेलकुदमन्त्री गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले राष्ट्रिय खेलकुदको तयारीका लागि बजेट अपुग भएको बताउनुभएको छ । उहाँले सङ्घीय सरकारले प्रतियोगिताका लागि रु ६० करोड स्वीकृत भएको जानकारी दिए पनि हालसम्म रकम प्राप्त नभएको उल्लेख गर्नुभयो । “रकम अभावले खेलाडीको बन्द प्रशिक्षण सञ्चालनमा कठिनाइ हुने भएको छ”, उहाँले भन्नुभयो । राष्ट्रिय खेलकुदका कतिपय पूर्वाधार बजेट अभावका कारण निर्माण हुन नसकेको मन्त्री गुरुङले गुनासो गर्नुभयो । पुलिसलाई राष्ट्रिय महिला भलिबल उपाधि यसैबीच नेपाल पुलिस क्लबको महिला टोलीले पोखरामा सञ्चालन भएको राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा–१६ लामाचौरमा सम्पन्न २४औँ संस्करणको ‘लामाचौर तीज महोत्सव–२०७९ एवं लामाचौर कप राष्ट्रिय भलिबल’ प्रतियोगिताको बुधबार सम्पन्न फाइनल खेलमा पुलिसले न्यू डायमण्ड एकेडेमीलाई ३–० सेटमा पराजित गर्दै उपाधि चुमेको हो । डिफेन्डिङ च्याम्पियन पुलिसले उपाधिसहित रु एक लाख ५० हजार १११ पुरस्कार प्राप्त ग¥यो । उपविजेता न्यू डायमण्डले रु एक लाख १११ पुरस्कार पाएको छ । फाइनलमा पुलिसले न्यू डायमण्डलाई २५–१५, २५–१४ र २५–८ अङ्कले हराएको हो । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब तृतीय भयो । उसले गण्डकी प्रदेशलाई २५–१७, २५–१७ र २५–१५ अङ्कले पराजित गर्दै रु ५० हजार १११ पुरस्कार हात पा¥यो । प्रतियोगितामा पुलिसकी उषा भण्डारी सर्वोत्कृष्ट खेलाडी र पुलिसकै रुपेश विष्ट उत्कृष्ट प्रशिक्षक घोषित भए । दुवै जनाले जनही रु पाँच हजार पुरस्कार प्राप्त गरे । यसैगरी उत्कृष्ट सेटर न्यू डायमण्डकी प्रगति नाथ, उत्कृष्ट ब्लकर आर्मीकी सोफिया पुन, उत्कृष्ट सर्भर डायमण्डकी सलिना बुढामगर, उत्कृष्ट स्पाइकर पुलिसकी कामना विष्ट र उत्कृष्ट लिब्रो डायमण्डकी सलिना श्रेष्ठ घोषित भइन् । विजयी टोली तथा उत्कृष्ट खेलाडीलाई गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजी रामदत्त जोशी, नेपाल भलिबल सङ्घका वरिष्ठ उपाध्यक्ष यामबहादुर गुरुङ, आयोजक नवआदर्श सामुदायिक विकास समाजका अध्यक्ष रेश्मा शेरचन अधिकारीलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीच फाइनल खेल हुन बाँकी रहेको प्रतियोगिता संयोजक सुशीलकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

