बागलुङ । बागलुङ नगरपालिका–९ स्थित तित्याङ स्वास्थ्यचौकी पहिराको उच्च जोखिममा छ । भवन निर्माण गर्नुपूर्व उपयुक्त ठाउँ छनोट नहुँदा लाखौँ रुपैयाँको लागतमा निर्माण भएको उक्त स्वास्थ्यचौकी भवन पहिराको जोखिममा परेको हो । विसं २०७६ मा निर्माण भएको उक्त भवन नजिकै पहिरा जाने क्रम रोकिएको छैन । भवन माथिदेखि झरेको पहिराले पछाडितिरका झ्यालमा क्षति पुर्याएको छ । भवनमाथिदेखि तथा तलपट्टिबाट पहिरो गएको छ । माथिदेखि झरेको पहिराले भवन पुरिन थालेको छ । तलदेखि भवनको जगनै उप्किन थालेको छ । रु दुई करोड तीन लाखमा निर्माण भएको सो भवन पहिराको जोखिममा परेपछि वडा कार्यालयले यसको संरक्षणका लागि पहल थालेको छ । बागलुङ नगरपालिका–९ का वडाध्यक्ष राजु थापाले भवन जोखिममा परेपछि यसको संरक्षणका लागि रु ६५ लाख विनियोजन भएको बताउनुभयो । उहाँले बर्खा सकिएपछि पर्खाल लगाउने बताउनुभयो । “बर्खा रोकिएपछि पर्खाल लगाएर संरक्षण गर्ने योजना छ”, थापाले भन्नुभयो । ठाउँ उपयुक्त नहुँदा अहिलेको अवस्था सिर्जना भएको उहाँको भनाइ छ । “यो ठाउँमा हुँदैन, जोखिम हुन्छ भन्दाभन्दै जबर्जस्ती भवन निर्माण गर्ने काम भयो”, थापाले भन्नुभयो, “पानीको मूल फुटने ठाउँमै भवन निर्माण गरिएको छ ।” भवनको जग नै कमजोर भएको पाइएको छ । उक्त भवन निर्माणका लागि स्थानीय यामबहादुर खड्का र बेलबहादुर खत्रीले चार रोपनी जग्गा दान गर्नुभएको हो ।
काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेकाले बदलीसँगै वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । विभागका अनुसार आगामी २४ घण्टा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकाले वर्षा हुने पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव दुई डिग्री र अधिकतम तापक्रम २५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।
झापा । झापाको कनकाईमा ‘मास लाइट’ जडान धमाधम भइरहेको छ । नेपाल विद्युत् प्राधिकरण र कनकाई नगरपालिकाको सहकार्यमा मास लाइट जडान गर्न लागिएको हो । नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार रु दुई करोड ६० लाखको लागतमा चारवटा मास लाइट तथा एक सय स्मार्ट लाइट जडान गरिँदै छ । उक्त कार्यका लागि नगरपालिकाले ६० तथा प्राधिकरणले ४० प्रतिशत लगानी गरेको छ । एउटा मास लाइट जडान गर्न रु १६ लाख खर्च हुने उहाँले बताउनुभयो । हाल कनकाई नगरपालिकाको कोटीहवन, सुरुङ्गा, दुर्गापुर र लक्ष्मीपुरमा मास लाइट जडान भइरहेको छ । “दुई स्थानमा जडान भइसकेको छ”, पोखरेलले भन्नुभयो, “थप दुई स्थानमा जडान जारी छ ।” सोह्र मिटर अग्लो पोलमा जडान गरिने वचालित मास लाइटले एक सय मिटर वरपरसम्म उज्यालो दिन्छ । भरतपुर, पोखरालगायत सहरमा मात्र जडान गरिएको मास लाइट प्रदेश १ मै पहिलोपटक कनकाईमा जडान गर्न लागिएको उहाँको भनाइ छ । हाल बजार र संवेदनशील क्षेत्रलाई लक्षित गरी जडान गरिएको मास लाइटले बजार क्षेत्रमा हुने चोरीडकैतीलगायत विभिन्न आपराधिक घटनामा कमी आउनुका साथै व्यापारिक क्षेत्रमा समेत मद्दत पुग्ने नगरपालिकाको विश्वास छ । नगरपालिकाले नगर क्षेत्रमा सिसीक्यामेरासमेत जडान गर्ने योजना बनाएको छ ।
काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले कुमारी इन्द्रजात्रा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले एक शुभकामना सन्देशमार्फत सहकालका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई प्रतिविम्बित गर्ने उल्लेख गर्नुभएको छ । साथै उहाँले शताब्दीयौँदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वले प्राचीन सभ्यता एवं संस्कृतिको जगेर्ना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । यो पर्व देवराज इन्द्रको पूजाअर्चनाका साथै जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गरी मनाउने गरिन्छ । काठमाडौँको वसन्तपुरमा भाद्र शुक्ल द्वादशीका दिन लिङ्गो ठड्याएर इन्द्रजात्रा शुभारम्भ हुन्छ भने आश्विन कृष्ण चौथीका दिन लिङ्गो ढालेर जात्रा समापन गर्ने प्रचलन रहेको छ । प्रधानमन्त्री देउवाले काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा मनाइने कुमारी इन्द्रजात्रा जस्ता पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीका बीचमा आपसी सद्भाव र सहिष्णुतालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने उल्लेख गर्नुभएको छ । उहाँले यस पर्वले जल, जमिन र जङ्गललगायतका प्राकृतिक स्रोतको दिगो उपयोगका साथै ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्न प्रेरणा प्रदान गर्न सकोस् भनी कामना गर्नुभएको छ ।
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारी इन्द्रजात्रा पर्व, २०७९ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सो पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै शताब्दीयौँदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वले प्राचीन सभ्यता एवं संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको हो । सन्देशमा उहाँले काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइने कुमारी इन्द्रजात्रा जस्ता मौलिक सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको पनि उल्लेख गर्नुभएको छ । राष्ट्रपतिको सन्देशमा कुमारी इन्द्रजात्रा पर्वले जल, जमिन र जङ्गललगायतका प्राकृतिक स्रोतको दिगो उपयोगका साथै अमूल्य ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यतर्फ अघि बढ्न सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छासमेत व्यक्त गरिएको छ । यो पर्व देवराज इन्द्रको पूजाअर्चनाका साथै जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गरी धुमधामका साथ मनाउने प्रचलन रहेको छ । काठमाडौँको वसन्तपुरमा भाद्र शुक्ल द्वादशीका दिन लिङ्गो ठड्याएर इन्द्र जात्रा शुभारम्भ हुन्छ भने आश्विन कृष्ण चौथीका दिन लिङ्गो ढालेर जात्रा समापन गर्ने चलन रहेको छ । पर्याप्त वर्षा र शीतका कारण फलेको राम्रो अन्नबालीका लागि सहकालका देवता इन्द्रप्रति कृज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई प्रतिविम्बित गर्दछ ।
काठमाडौँ : वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आराधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी भक्तपुरको चितपोल जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ । उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ । आजको दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि सुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको ‘भरणी नक्षत्रको रातमा लडाउने शास्त्रीय व्यवस्था छ, ‘भरण्यां निशि पातयेत्’ भनी उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । यस उपलक्ष्यमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन सोमबार स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ । अनन्त चतुर्दशी भाद्र शुक्ल चतुर्दशीका दिन अनन्तनाथ (भगवान् विष्णु) को पूजा, आराधना पनि गरिन्छ । यसैले यस दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ । आज चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्नाले वर्षभर शुभ हुन्छ भन्ने विश्वास छ । श्रावण शुक्ल पूर्णिमाका दिन कुनै कारणवश जनै (यज्ञोपवीत) मन्त्रन नपाएकाले आजै मन्त्रने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् गौतमले बताउनुभयो । अनन्त चतुर्दशीको व्रत पनि आज गर्नुपर्ने समितिले जनाएको छ । चतुर्दशीमा इन्द्रजात्रा मनाएपछि पूर्णिमामा इन्द्रदहमा गई स्नान गर्नुपर्ने धार्मिक विधि छ ।
मलेखु । नेपालका जातिअनुसार रोचक र अनौठा किसिमले पर्वहरू मनाइन्छ । यहाँका सीमान्तकृत चेपाङ समुदायले मनाउने न्वागी पर्व निकै रमाइलो र चाखलाग्दो छ । चेपाङ अर्थात् प्रजा समुदायले मनाउने यो ‘न्वागी’ राष्ट्रिय पर्व हो । चेपाङ भाषामा ‘न्वागी’ भनेको ‘छोनाम’ हो । पितृ बुझाउने र भूमि पूजा गर्ने पर्वको रूपमा परिचित यो पर्वमा आफ्ना कुलभरिमा मानिस मुल झाँक्रीको घरमा जम्मा भएर झाँक्री फलाक्ने गर्दछन् । यो पर्वमा विशेषगरी घैया धान, गाभा, निबुवा, घिरौलालगायत कन्दमूल र तरकारी पितृलाई बुझाएर अन्न फलाउने भूमिलाई पूजा गर्ने प्रचलन रहिआएको छ । “नयाँ बाली पाकेपछि पितृलाई नबुझाइ खाँदा पितृ रिसाउने, अनिष्ट हुने भन्ने जनविश्वास रहेकाले झाँक्रीहरूले रातभर फलाकेर पितृ बुझाउने र अन्न फलाउने भूमिलाई धन्यवाद दिने गरिन्छ”, धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ माथिल्लो ओर्वाङका ८३ वर्षीय झाँक्री जीतबहादुर चेपाङले भन्नुभयो, “नयाँ बाली पितृलाई नबुझाइ र अन्न फलेको भूमिको पूजा नगरी खायो भने कुल रिसाउँछ, मानिस बिरामी पर्छ, अनिष्ट भएरै छोड्छ ।” चेपाङ समुदायले आफ्नो प्रमुख चाडको रुपमा हरेक वर्ष भदौ २२ गते न्वागी पर्व मनाउँछन् । भदौमा नयाँ अन्नवाली, फलफूल पाकेपछि पूजा गर्ने परम्परा रहेको छ, यसका लागि चेपाङ झाँक्री (पान्दे)हरुले एकपाखे ढ्याङ्ग्रोे ठोक्दै कुखुराको बलि चढाउने प्रचलन पनि रहिआएको छ । “पितृ नबुझाइ र अन्न उत्पादन गराइदिएकामा भूमिलाई धन्यवाद नदिई नयाँ बाली खाएमा अनिष्ट हुन्छ, अशुभ हुन्छ, पितृ रिसाउँछ भन्ने धार्मिक विश्वास रहिआएको छ”, चेपाङ सङ्घ बागमती प्रदेश समितिका कोषाध्यक्ष उद्धव चेपाङले भन्नुभयो, “यो पर्वमा झाँक्री बसेर रातभर सिमेभुमे फालाकेर मात्रै खानुपर्छ भन्ने मान्यता परापूर्वकालदेखि नै चलिआएको हो ।” छरछिमेकी, नाताकुटुम्व आमन्त्रण गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुख–दुःख साट्ने गर्छन् । ठाउँ र कूलअनुसार पनि न्वागी मनाउने चलन फरक–फरक छ । चेपाङले न्वागी पर्वलाई ‘पान्देई घ्यासा’ चाड पनि भन्छन् । भेला भएर ढ्याङ्ग्रोे बजाउने, टीका लगाएर आपसमा आशीर्वाद थाप्ने गरिन्छ । न्वागीको दिनलाई चेपाङहरुले वारनाको रूपमा मनाउने चेपाङ सङ्घ धादिङका अध्यक्ष भीमबहादुर चेपाङले बताउनुभयो । वारनामा कोही चेपाङ काममा निस्कँदैनन् । यो वर्ष पनि वर्षभरि मृत्युवरण गरेका परिवारका सदस्य र आफन्तको नाममा बुधबार रातभर ढ्याङ्ग्रोमा फलाकेर बिहान न्वागी पूजा सम्पन्न भएको छ । चेपाङको न्वागीमा पहिलोपटक सार्वजनिक बिदा यस्तै चेपाङ सङ्घले हरेक वर्ष कहिले चितवन, कहिले धादिङ त कहिले मकवानपुरको चेपाङ बहुल्य क्षेत्रमा न्वागी मनाउँदै आएका छन् । यो वर्ष चितवनमा मनाएका छन् । न्वागी मनाउन धादिङ, चितवन र मकवानपुरमा सरकारले बुधबार सार्वजनिक बिदा दिइएको थियो । न्वागी मनाउन सार्वजनिक बिदा दिइएको यो नै पहिलो वर्ष हो । सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये चेपाङ पनि एक हो । महाभारत पर्वत शङ्खला वरिपरिको रैथाने बासिन्दा मानिन्छन् । मकवानपुर पश्चिम, चितवन उत्तर र धादिङका दक्षिणी भेगमा चेपाङहरूको घना बसोबास छ । राष्ट्रिय जनगणना विसं २०६८ अनुसार चेपाङ जातिको जनसङ्ख्या ६८ हजार तीन सय ९९ जना रहेको छ । यो समुदायको जनसङ्ख्या सबैभन्दा धेरै चितवन, मकवानपुर र धादिङमा बाहुल्यता छ । इलाम, झापा, मोरङ, सुनसरी, भोजपुर, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, बारा, पर्सा, ललितपुर, काठमाडौं, गोरखा, लमजुङ, तनहुँ, कास्की, गुल्मी, नवलपरासी, रूपन्देही, दाङ, बाँके र बर्दिया गरी २६ जिल्लामा चेपाङ जातिको बसोबास रहेको तथ्याङ्ककले देखाएको छ । चेपाङ भाषाबाटै ‘धादिङ’को नाम धादिङ जिल्लाको नाम पनि चेपाङ (प्रजा) भाषाबाटै राखिएको भन्ने कथन छ । चेपाङले ‘धा’ भनेको ‘आगोको ज्वाला’ र ‘दिङ’ भनेको ‘देवी देउता’ हो, यसैलाई मिलाएर धादिङ नाम बसेको हो”, चेपाङ सङ्घ बागमती प्रदेश समितिका कोषाध्यक्ष उद्धव चेपाङले भन्नुभयो । चेपाङहरू पहिलादेखि नै यहाँ बसोबास गरेको र उनीहरुले पूजा गर्ने ज्वालामुखी देवीको मन्दिर पनि यसै जिल्लामा रहेकाले चेपाङ भाषाबाट नै जिल्लाको नाम ‘धादिङ’ रहन गएको हो भन्ने जनश्रुतिले यहाँ जनसमर्थन पाएको छ । चेपाङ जातिलाई भौगोलिक सिमानाभन्दा सामाजिक तथा सांस्कृतिक सिमानाले बाँधेको छ । जन्मदेखि मृत्युसम्मको संस्कार भूमिसँग सम्बन्धित छ । उनीहरूको मूलथलो गाउँघर, खोलानाला, भिरपहरा आदिको नाम चेपाङ भाषाबाटै राखिएका छन् ।
बागलुङ । कतै सडक खन्दाको समस्याले जमिन खस्छ, पहिरो जाने धेरै घटना छन् तर, बागलुङको रायडाँडामा भने अनौठो तरिकारले बस्ती नै बग्न थालेको छ । बागलुङ नगरपालिका–११ को तल्लो रामतोलामा पहिरो बगेर दर्जनौँ घर परिवार विस्थापित भएका छन् । केही दिनदेखि जमिनमा चिरा परेको र मङ्गलबारको अविरल वर्षापछि जमिन बग्न थालेको हो । जमिन बग्दा सडक, जङ्गल, ठूला पिपलका रुख, सुन्तलाको बगान, कुखुरा पालन फार्म र कतिपय घरमा चिरा परेका छन् भने केही घर र गोठ भत्केका छन् । “घर कटेरो भत्केपछि सबै छाडेर हिँड्नुपरेको छ”, स्थानीय ढालनाथ शर्माले भन्नुभयो, “छिमेकीका घरपनि चिरा परेका छन्, जुनसुकै बेला खस्छन् ।” केही दिनदेखि जमिन चर्केकामा बुधवार बिहान बढी पहिरो खसेको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताउनुभयो । यो बस्तीका बिजुलीका खम्बा ढलेपछि झण्डै एक सय घरमा बिजुली अभाव भएको उहाँले बताउनुभयो । खानेपानीको ट्याङ्कीसमेत बगेपछि स्थानीय चिन्तामा छन् । पहिराले बिजुलीका खम्बा ढल्दा ती घरमा विद्युत् अवरुद्ध भएको गौतमले जानकारी दिनुभयो । उक्त पहिराले स्थानीय कुलराज शर्मासहित दर्जन बढी घरपरिवार विस्थापित भइसकेका छन् । केही घरपरिवार सुरक्षित ठाउँको खोजीमा रहेको स्थानीय विष्णु पौडेलले जानकारी दिनुभयो । जमिन चिरा परेको स्थान हेर्दा थप सयौँ रोपनी जमिन, घर तथा सडक बग्ने अवस्थामा रहेको देखिएको उहाँले बताउनुभयो । पहिरोले यहाँको तमाखुवारी भन्ने अर्को बस्तीमा पनि जोखिम बढेको हो । “यो सङ्केत हेर्दा यहाँको बस्ती नै जोखिम भयो, अब धेरै घर विस्थापित हुने भए”, पौडेलले भन्नुभयो, “कतै रोकथाम गर्ने अवस्था नै छैन ।” हरेक बारीका पाटामा कुखुराले खोस्रेझै खाल्डा पर्ने र चिरा पर्दै बग्ने गरेको उहाँले बताउनुभयो । बगेको पहिराले जैमिनी नगरपालिका–१ को ओडार भन्ने स्थानमा पनि जोखिम बढेको छ । केही स्थानमा क्षति भइसकेको छ । रामतोलादेखि तल्लो खण्ड जैमिनी नगरपालिका–१ मा पर्छ । केही दिनदेखि परेको वर्षाले पहिरो खस्न थप सहयोग पुगेको इन्जिनियर त्रिलोचन गिरीले जानकारी दिनुभयो । “तत्काल कुनै पनि उपायले पहिरो रोक्न सकिने अवस्था छैन”, गिरीले भन्नुभयो, “यो अनौठो तरिकारले सिंगो पहाड खस्ने अवस्था भयो ।”
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप दुई सय २७ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा चार हजार चार सय एक जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार पाँच सय १८ जनाले पिसिआर र दुई हजार आठ सय ८३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा एक लाख ४३ हजार पाँच सय ९५ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । यही अवधिमा एक सय ६८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ८३ हजार नौ सय ४९ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ७३ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १० पुगेको छ । होम आइसोलेशनमा दुई हजार तीन सय ७०, संस्थागत आइसोलेशन एक सय तीन, सघन उपचार कक्षमा २२ र भेन्टिलेटरमा तीन जना सङ्क्रमित रहेका छन् । हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित रहेको जिल्लामा ललितपुर रहेको छ । शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, मुग, जुम्ला र बझाङ रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार ७२, ललितपुरमा चार सय ३५ र भक्तपुरमा ३६ सक्रिय सङ्क्रमित रहेका छन् । कूलमा सङ्क्रमणदर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

