काठमाडौं: संयुक्त अरब इमरेट्स (युएई)मा जारी १९ वर्षमुनिका खेलाडी सम्मिलित ९यु–१९० एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत बङ्गलादेशविरुद्धको खेलमा नेपालले टस हारेको छ । युएईको दुबई क्रिकेट रङ्गशालामा बङ्गलादेशका कप्तान अजिजुल हकिमले टस जितेर पहिला फिल्डिङ गर्ने भएका छन्भने नेपालले ब्याटिङ गर्नेछ । एसिया कपको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको थियो । बङ्गलादेशलाई हराउँदै नेपाल पहिलो जितको खोजीमा छ । पहिलो खेलमा अफगानिस्तानलाई हराएको बङ्गलादेश प्रतियोगिताको दोस्रो जितको खोजीमा छ । नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष तीनमा रहेर छनोट भएका हुन् । गत वर्षको अक्टोबरमा भएको उक्त प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो । प्रतियोगितामा सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । नेपालसहित श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान समूह ‘बी’मा छन् । भारत, पाकिस्तान, जापान र युएई समूह ‘ए’मा छन् ।
काठमाडौं: उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ महानगरपलिका–१६ स्थित युवक मावि मतदान केन्द्रमा मतदान गर्नुभएको छ । मतदानपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएकाले यसको सुदृढीकरणका लागि सबै मतदाता उत्साहपूर्वक मतदानमा सहभागी हुनुपर्ने बताउनुभयो । नेपाली कांग्रेसबाट वडाअध्यक्षमा निर्वाचित मुकुन्द रिजालको निधन भएपछि सो वडामा आज उपनिर्वाचन भएको हो ।
गण्डकी: “मालढुङ्गा कटेसी घुम्ती घुम्ती रोड आहा क्या राम्रो बाग्लुङ पञ्चकोट ।” पछिल्लो समयमा पोखरा र आसपासका क्षेत्रमा चर्चित गीत हो यो । गीतले भनेजस्तै केही वर्षयता बागलुङस्थित सर्वसिद्धिधाम पञ्चकोट गण्डकी प्रदेशका महत्त्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यमध्येमा रोजाइमा पर्दै आएको छ । बागलुुङ बजारबाट उत्तर–पश्चिमतर्फ छ किलोमिटरको दूरीमा रहेको यो स्थानबाट अन्नपूर्ण, धवलागिरि, निलगिरि आदि हिमशृङ्खला एकसाथ अवलोकन गर्न सकिन्छ । बागलुङको ताराजालकोट, राबराबकोट, माझकोट, कारिकोट र संसारकोट यहाँका ऐतिहासिक कोट हुन् । नेपालका बाइसे चैबीसे राजाका पालादेखि नै अस्तित्वमा आएका यी कोटको सङ्गमस्थलका रूपमा पञ्चकोटले चासो र चर्चा कमाएको छ । यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यका साथ २०७१ फागुन १ गतेदेखि १५ गतेसम्म महायज्ञ गरिएको थियो । उक्त महायज्ञका क्रममा तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइराला, हालका प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ९ गते विश्व शान्ति कलशसहितका संरचना निर्माणका लागि सामूहिक रूपमा शिलान्यास गर्नुभएको थियो । त्यसयता यो स्थल यस क्षेत्रकै प्रसिद्ध धामका रूपमा विकास भएको छ । एक दशककै अन्तरालमा यस स्थानमा बनेका सिसैसिसाको महल (सिसमहल), गण्डकी माताको मन्दिर, यज्ञशाला, हनुमानको विशाल मूर्तिलगायतका धार्मिक संरचनाका कारण देशका विभिन्न स्थानका धार्मिक पर्यटक आकर्षित बन्दै गएका छन् । मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलानयनाचार्यको परिकल्पनामा निर्मित यस स्थानमा महायज्ञबाट सङ्कलित रकमका साथै विभिन्न दाताको सहयोग एवं सरकारबाट भएको करोडौँको लगानीले यहाँको स्वरुप नै परिवर्तन भएको छ । धवलागिरिलगायतका हिमालसँगै कालाञ्जर पर्वत आदिसँग सिधै आँखा जुुधाउन सकिने यो स्थल समुद्री सतहबाट एक हजार सात सय ५० मिटरको उचाइमा रहेको विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का कार्यालय सचिव रामबहादुर क्षेत्रीले बताउनुभयो । एक दशककै अन्तरालमा यहाँका अग्लो भिरालो पहाड विशिष्ट धार्मिक गन्तव्यमा परिणत बनेको बताउँदै उहाँले यसले मुक्तिनाथ दामोदरकुण्डदेखि त्रिवेणीधामसम्मका धार्मिक पर्यटकलाई यस तीर्थस्थलले जोडिरहेको बताउनुभयो । हिमालपारीको जिल्ला मुस्ताङको मुक्तिनाथ, दामोदरकुुण्ड, बागलुुङको बागलुुङ कालिका, म्याग्दीको गलेश्वर धामलगायत तीर्थस्थलमा दर्शनका लागि आएका दर्शनार्थीले नछुटाउने गन्तव्यका रुपमा पञ्चकोट पर्ने गरेको उहाँले जानकारी दिनुभयो । यहाँ निर्मित पञ्चमहालक्ष्मी मन्दिर, विशाल हनुुमान मूर्ति, शिखर शैलीमा निर्मित गण्डकीमाताको मन्दिर, गणेश मन्दिर, सिसमहल, पाँच हजार पाँच सय किलोको घण्टा, गरुढारुढ नारायण(गरुड शिला), सिंह गुफा, ध्यान कुुटी आदि महत्वपूर्ण आकर्षणका रुपमा स्थापित बनेको उहाँको भनाइ छ । यहाँको करिब ९० रोपनी क्षेत्रफललाई समेटर धार्मिक धामको रुपमा विकास गर्न खोजिएको छ । दर्शनार्नीको बढ्दो आगमनसँगै यस तीर्थस्थलमा विभिन्न दान सहयोग पनि बढ्ने क्रममा रहेको छ । अघिल्लो वर्ष दानपेटिकामा मात्रै रु १५ लाख ५० हजार दान सहयोग जम्मा भएको थियो भने पर्यटकलाई लक्षित गरी निर्माण गरिएको सिस महलको अवलोकनबाट रु २१ लाख ५० हजार सङकलन भएको थियो । त्यस्तै धाम परिसरमा सञ्चालन गरिएको हनुुमान झुलामा रमाउने पर्यटक वापत वार्षिक आठ लाख रुपैयाँसम्म आम्दानी हुुने गरेको उहाँको भनाइ छ । मन्दिरमा हाल तीन पुुजारी एवं आठ कर्मचारी छन् । पञ्चकोट धामको सरसफाइ, कर्मचारी व्यवस्थापनलगायतमा मासिक पाँच लाख रुपैयाँसम्म खर्च हुने गरेको थापाले जानकारी दिनुभयो । एक अर्बको हाराहारीमा लगानी, १३५ फिट अग्लो विश्वशान्ति कलश बन्दै पञ्चकोटमा हालसम्म विभिन्न पूर्वाधार निर्माणमा करिब एक अर्बको हाराहारीमा लगानी भैसकेको विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का अध्यक्ष जगन्नाथ आचार्यले जानकारी दिनुुभयो । रु ५० करोडको लागतमा १३५ फिट अग्लो विश्व शान्ति कलशलगायतको निर्माणका उद्देश्य राखी पञ्चकोटमा ब्रम्हाण्डीय महायज्ञसमेत सञ्चालन गरिएको थियो । उक्त महायज्ञबाट रु १२ करोड दान तथा सहयोग प्राप्त भएकामा करिब चार करोड १५ लाख रुपैयाँ खर्च भएको थियो । कलश निर्माणका लागि अघिल्लो वर्ष संघ सरकारबाट २० करोड रुपैयाँ विनियोजन भएपनि पछि उक्त रकम अन्यत्र नै रकमान्तर गरिएको आचार्यले बताउनुभयो । यस वर्ष कलश निर्माणका लागि रु दुुई करोड ८५ लाख विनियोजन भएको उल्लेख गर्दैै उहाँले यस योजनालाई बहुवर्षीयअन्तर्गत राख्नका लागि पहल भैरहेको बताउनुुभयो । विभिन्न १३ तल्ला संरचनामा निर्माण हुुने उक्त कलशको सबैभन्दा माथि विश्वभरका तीर्थस्थलको जल राखिनेछ भने अन्य तल्लामा आवश्यकताअनुुसार विभिन्न देवीदेवताका मूर्ति, चारधामलगायतका तीर्थस्थलहरूको झल्को दिने संरचनाहरू तयार गरिने बताइएको छ । त्यस्तै एक तल्लामा सबै गोत्रीय ऋषिहरूका मूर्तिहरू राखिनेछ । सङ्घअन्तर्गत शहरी विकास मन्त्रालयबाट यसै आर्थिक वर्षमा फूूल प्रसाद राख्ने स्थानका लागि एक करोड रुपैयाँ विनियोजन भएकामा उक्त योजना सञ्चालनका लागि बोलपत्र प्रक्रियामा लैजाने तयारी गरिएको अध्यक्ष आचार्यले जानकारी दिनुुभयो । कार्यालय प्रमुुख क्षेत्रीका अनुसार यहाँस्थित अतिथि आवासमा सुविधासम्पन्न स्नानकक्षसहितका पाँच वटा कोठा सहित दैनिक १५० जना व्यक्तिलाई राख्न सकिने संरचना रहेको छ । यस धामअन्तर्गत नै एक वर्षयता कन्या गुरुकुल सञ्चालनमा आएको छ । उक्त गुरुकुलमा हाल १७÷१८ जना कन्या अध्ययन गरिरहेका छन् । त्यस्तै यस धामअन्तर्गत नै सञ्चालनमा आएको गौशालामा हाल स्थानीय जातका ६० वटा गाईपालन समेत भैरहेको उहाँले जानकारी दिनुभयो । पञ्चकोटमा सामान्यतः सबै दिनजसो नै दर्शनार्थीहरू आउने गरेको पञ्चनारायण मन्दिरका पुुजारी कुुमार आचार्यले बताउनुुभयो । विभिन्न तिथि, पर्व विशेषका साथै सार्वजनिक विदाका दिनमा ठूलै संख्यामा दर्शनार्थी तथा पर्यटक आउने गरेको उहाँको भनाइ छ । धार्मिक दृष्टिका साथै यहाँको दृश्यावलोकनका लागि टाढाटाढाबाट दर्शनार्थी आउने गरेका कारण त्यसले समग्र बागलुुङको पर्यटनमा समेत टेवा पुगेको स्थानीयवासी बताउँछन् । टाढाटाढाबाट आउने गरेका पर्यटकहरू यहाँ निर्मित संरचनाका साथै यहाँबाट देखिने दृश्यावलोकनले मोहित हुने गरेका छन् । पञ्चकोटका बारेमा यस अघि विभिन्न सामाजिक सञ्जालबाट देखेसुनेको बताउनुुहुने तनहुँ ढोरफिर्दीका युवा प्रकाश भट्टराई आफू मङ्सिरको पहिलो साता पारिवारिक भ्रमणका क्रममा पञ्चकोट पुुगेको अनुुभव सुनाउनुभयो । यसअघि सामाजिक सञ्जालमा देखे सुनेको पञ्चकोटमा त्यहाँ पुुगेपछि छुुट्टै किसिमको रमाइलो अनुभूति गरेको उहाँले बताउनुुभयो । “पञ्चकोटको भूबनोटलाई उपयोग गरी बनाइएका संरचना र यहाँ भैरहेको पर्यटकीय विकास हाम्रा देशका धेरै स्थानका लागि प्रेरणाका स्रोत पनि हुन्”, उहाँले भन्नुुभयो, “पोखरा पर्यटनको राजधानी भैसकेको अवस्थामा बृहत पोखराको अवधारणाका साथ समग्र गण्डकी प्रदेशको पर्यटकीय विकासका लागि पञ्चकोटजस्ता गन्तव्यहरूको प्रवद्र्धनमा राज्यले पनि चासो दिनुु आवश्यक छ ।” कालीगण्डकी सभ्यता र शालिग्रामको महत्व बुझाउन गण्डकी सभा कालीगण्डकी सभ्यता र शालिग्रामको महत्वबारे बुुझाउन पञ्चकोटमा प्रत्येक महिनाको पहिलो शनिबार गण्डकी सभा सञ्चालन भैरहेको अध्यक्ष आचार्यले जानकारी दिनुभयो । उहाँका अनुुसार गण्डकी सभाका प्रत्येक संस्करणमा विभिन्न विशिष्ट व्यक्तित्वलाई बोलाएर कालीगण्डकी सभ्यता र शालिग्रामको महत्व सम्बन्धमा विशेष छलफल एवम् अन्तरक्रिया गरिएको छ । “हालसम्म ३२औँ संस्कणको गण्डकी सभा सम्पन्न भइसकेको छ”, उहाँले भन्नुुभयो, “आगामी दिनमा कालीगण्डकी सभ्यतासँग जोडिएका नदी किनारस्थित म्याग्दी, पर्वत, स्याङ्जालगायतका स्थानका विभिन्न गन्तव्यमा पुगी सभाका कार्यक्रम सञ्चालन गर्ने हाम्रो दीर्घकालीन सोच छ ।” विश्वमा नै यहाँ मात्रै पाइने शालिग्रामको महत्वसँगै कालीगण्डकीको महिमा र गरिमालाई प्रचार गर्न सकेमा यसैका माध्यमबाट समग्र गण्डकी प्रदेश समृद्ध बन्न सक्ने उहाँले बताउनुभयो । त्रिवेणीदेखि मुक्तिनाथ हुँदै दामोदरकुण्डसम्म दर्शनका लागि आउने भारतीय पर्यटकका लागि यसको महिमा र गरिमालाई बुुझाउन सकेमा देशको समृद्धिमा महत्वपूर्ण टेवा पुुग्न सक्ने उहाँको भनाइ छ ।
काठमाडौं: कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि उत्साहपूर्वक मतदान जारी छ । मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार नगरप्रमुख र वडा नं १ र ४ का वडाध्यक्षका लागि जारी मतदानमा नगरप्रमुखमा दलीय र स्वतन्त्र गरी २० उम्मेदवार तथा वडा नं १ मा नौ र वडा नं ४ मा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नगरप्रमुख राजकुमार नकर्मी, वडा १ का अध्यक्ष हीरालाल महर्जन र वडा नंं ४ का अध्यक्ष श्यामराज अधिकारीको निधनपछि ती पद रिक्त भएका हुन् ।
काठमाडौं: स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । यसै सन्दर्भमा दार्चुला, गोरखा र गुल्मीमा उत्साहपूर्वक मतदान भइरहेको हाम्रा स्थानीय समाचारदाताहरूले जनाएका छन् । दार्चुलाको दुहुँ गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि ‘क’ र ‘ख’ मतदान केन्द्रमा मतदान जारी छ । यो पालिकामा एक हजार दुई सय ७२ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उक्त पदका लागि एक स्वतन्त्रसहित चार जना प्रतिस्पर्धामा छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको असार २०८० मा निधन भएपछि उपनिर्वाचन भएको हो । त्यसैगरी गोरखा नगरपालिका–५ मा वडाध्यक्ष पदका लागि मतदान जारी छ । उक्त पदका लागि वडाका दुई स्थानमा मतदान भइरहेको छ । यहाँ दुई हजार दुई सय २५ मतदाता छन् । उक्त पदका लागि नौ राजनीतिक दलबाट नौ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । गत निर्वाचनमा वडाध्यक्षमा विजयी खिलबहादुर रानाको निधन भएको थियो । त्यसैगरी, गुल्मीको मुसिकोट नगरपालिका–१ मा वडाध्यक्ष पदको लागि तीनवटा मतदान केन्द्रमा उत्साहपूर्वक मतदान भइरहेको छ । निर्वाचन अधिकृत ऋषिराम घिमिरेका अनुसार हालसम्म पाँच प्रतिशत मतदान भइसकेको छ । यो वडामा चार हजार ९१ मतदाता छन् । उक्त पदका लागि आठ जनाले मनोनयन दर्ता गराएका छन् । तत्कालीन वडाध्यक्ष मोहन घिमिरेको मृत्युपछि यहाँ उपनिर्वाचन भएको हो ।
पोखरा: पोखरा महानगरपालिका– ३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय व्यवस्थित ढङ्गले सञ्चालन गर्न अक्षयकोष स्थापना भएको छ । कोष स्थापना भएसँगै त्यसमा रु ३० लाख दाखिला पनि भएको छ । विभिन्न सङ्घसंस्था प्रतिष्ठान एवं व्यक्तिहरूबाट अक्षयकोषमा रकम दाखिला भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नागेन्दप्रसाद्र रेग्मीले जानकारी दिनुभयो । अक्षयकोषमा कम्तीमा रु एक करोड पु¥याउने लक्ष्य रहेको उहाँले बताउनुभयो । अक्षयकोषमा पद्मजगत् स्मृति प्रतिष्ठानले रु १० लाख, धनबहादुुर थापाले रु एक लाख ११ हजार, भगवती पन्तले ५२ हजार ५५, मातृका सिग्देलको स्मृतिमा हरिमाया सिग्देल र परिवारजनले रु ५१ हजार १११, वासुदेव तिवारीले रु ५० हजार, खगराज अधिकारीले रु ३७ हजार र विष्णुुमाया पण्डितले १५ हजार प्रदान गर्नुभएको जानकारी उहाँले दिनुभयो ।
काठमाडौं: स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । हेटौँडाबाट हाम्रा स्थानीय प्रतिनिधिले जनाएअनुसार हेटौँडा उपमहानगरपालिका– १२ मा वडाध्यक्ष पदका लागि मतदान जारी छ । मतदाता उत्साहका साथ भोट खसाल्न उक्त उपमहानगरपालिका–१२ स्थित प्रतिभा आधारभूत विद्यालय र विष्णुज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा लामबद्ध भएका छन् । सो वडामा आठ हजार ५३ मतदाता रहेका बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । गत निर्वाचनमा वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान मकवानपुर जिल्ला समन्वय समितिको प्रमुख भएपछि उक्त पद रिक्त भएको हो । सो वडाको वडाध्यक्षका लागि विभिन्न दलका नौ जना तथा तीन जना स्वतन्त्र गरी १२ जना चुनावी मैदानमा छन् । यसैगरी, रासस प्रतिनिधिले सप्तरीको राजविराजबाट सम्प्रेषण गरेको समाचारमा डाक्नेश्वरी नगरपालिका वडा नं. १ र ४ मा वडाध्यक्ष पदका लागि पाँच मतदान केन्द्रमा मतदान जारी छ । दुवै वडाबाट निर्वाचित वडाअध्यक्षको निधन भएपछि उपनिर्वाचन भएको हो । वडा नं. १ मा एक स्वतन्त्रसहित आठ जना तथा वडा नं। ४ मा पनि एक महिलासहित आठ जना उम्मेदवार छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार डाक्नेश्वरी नगरपालिका– १ मा दुई हजार ६३५ र वडा – ४ मा एक हजार २८१ मतदाता छन् । दैलेखस्थित रासस समाचादाताका अनुसार महावु गाउँपालिका–५ को वडाध्यक्ष पदका लागि दुई मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । आज बिहान निर्धारित समयमा सुरु भएको मतदानमा ९२ वर्षीया जगत्कुमारी सिंहले पहिलो मतदान गर्नुभएको छ । उक्त निर्वाचनमा सात उम्मेवारबीच प्रतिस्पर्धा हुँदैछ । उक्त वडामा एक हजार सात सय ६० मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यसैगरी हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदका लागि शान्तिपूर्ण रुपमा मतदान भइरहेको सिमकोटस्थित हाम्रा समाचारदाताले जनाएका छन् । सर्केगाडका देवल प्रावि, सरस्वती मावि, लालीगुँरास मावि, देवकोटा मावि, हिमज्योति मावि, भवानी मावी, धुमचुली मावि कल्लास, स्वयम्भू मावि, ईश्वर मावि, कोट मावि, अंशुवर्मा मावि र नीलकण्ठ सामुदायिक प्राविमा मतदान केन्द्रमा भोट हाल्न मतदाता लामबद्ध भएका छन् ।
काठमाडौं: राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे संसदीय अध्ययन तथा अवलोकन भ्रमणका लागि १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मलेसियाको क्वालालम्पुर प्रस्थान गर्नुभएको छ । मलेसिया सरकारको निमन्त्रणमा नेपाली संसदीय टोली यही मङ्सिर २१ गतेसम्म औपचारिक भ्रमणका लागि गए राति त्यसतर्फ प्रस्थान गरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिमण्डलमा मधेश, बागमती र कोशी प्रदेशका सभामुख क्रमशः रामचन्द्र मण्डल, भुवनकुमार पाठक र अम्बरबहादुर विष्ट हुनुहुन्छ । त्यस्तै लुम्बिनी प्रदेशका उपसभामुख मेनुका खाण केसी, गण्डकी प्रदेशका उपसभामुख विनाकुमारी थापा, सुदूरपश्चिम प्रदेशका उपसभामुख कोइलीदेवी चौधरी र कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपाने पनि उक्त अध्ययन भ्रमण टोलीमा सहभागी हुनुहुन्छ । नेपाली प्रतिनिधिमण्डलले मलेसियाका सभामुख र उपसभामुखका साथै सेलागोर प्रान्तीय संसद्का सभामुख र उपसभामुखसँग पनि भेटवार्ता गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ । उपाध्यक्ष घिमिरेको नेतृत्वमा रहेको टोली यही मङ्सिर २१ गते स्वदेश फर्कनेछ ।
काठमाडौं: नेपाल पहिलो पटक दृष्टिविहीन टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । पाकिस्तानमा जारी दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगिताको चौथो संस्करणमा नेपाल चौथो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको हो । नेपालले अब आइतबार सेमिफाइनलमा घरेलु टोली पाकिस्तानसँग खेल्ने छ । यसअघि पाकिस्तानले लिग चरणको खेलमा नेपाललाई १० विकेटले पराजित गरेको थियो । लिग चरणमा श्रीलङ्का, बङ्गलादेश र पाकिस्तानसँग पराजित भएको नेपालले दक्षिण अफ्रिका र अफगानिस्तानलाई पराजित गरेको थियो । नेपाल अफगानिस्तानसँग एक सय आठ रनले तथा दक्षिण अफ्रिकासँग ११ रनले विजयी भएको थियो भने श्रीलङ्कासँग ७० रनले, बङ्गलादेशसँग ६७ रनले तथा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो । पाकिस्तानमा जारी दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालसँगै बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, दक्षिण अफ्रिका र अफगानिस्तान सहभागी छन् । दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपाल सन् २०१२ देखि सहभागी हुँदै आएको छ । यसअघि सम्पन्न तीनवटै संस्करणमा नेपाल सेमिफाइनलमा पुग्न सकेको थिएन । दोस्रो सेमिफाइनल खेल आइतबार नै बङ्गलादेश र श्रीलङ्काबीच हुनेछ । फाइनल खेल भने मङ्गलबार हुनेछ ।

