सिरहा: सिरहामा स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरी प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ । नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट नेपाल– भारत सीमा नजिकै बडियारपट्टी–१ कचनारीको भित्री सडकमा गस्तीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको आज बिहान मृत्यु भएको हो । भित्री सडकमा आज बिहान ३ बजेतिर जाँच गर्ने क्रममा स्कोरपियोले ठक्कर दिँदा यादव घाइते हुनुभएको थियो । घाइते यादवलाई तत्काल उपचार गराउन रामकुमार उमापसाद स्मारक प्रादेशिक अस्पताल लहान लगे पनि अस्पताले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । यादव वडहरी बेस क्याम्पका कार्यरत हुनुहुन्थ्यो । जिल्ला प्रहरी सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानले नम्बर नखुलेको स्कारपियोले ठक्कर दिई भारततर्फ भागेकाले ठक्कर दिने गाडीको खोजतलास भइरहेको जानकारी दिनुभयो । सशस्त्र प्रहरी ७ नम्बर गण सिरहाका प्रमुख एसपी नरेश भण्डारीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीलाई देखेर भाग्ने क्रममा स्करपियोले ठक्कर दिएर भागेको भन्ने सूचना प्राप्त भएको जनाउनुभयो । उहाँले अहिलेसम्म स्कोरपियोले मदिरा बोकेको भन्ने सूचना आए पनि स्कोरपियो फेला नपरेकाले यसै भन्न नसकिने जनाउनुभयो ।
नयाँ दिल्ली: भारतको दक्षिणी तटीय क्षेत्रमा आएको न्यूनस्तरीय चक्रवातजन्य दुर्घटनाका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ । आँधीबाट भौतिक संरचनामा व्यापक क्षति भने नभएको अधिकारीहरूले बताएका छन् । फेङ्गल नाम दिइएको चक्रवात शनिबार अबेर राति ७० देखि ८० किलोमिटर प्रतिघण्टा (४३–५० माइल प्रतिघण्टा) को गतिमा तमिलनाड राज्यको तटीय क्षेत्रमा अवतरण गरेको थियो । तमिलनाडुराज्यका विपद् व्यवस्थापन मन्त्री केकेएसएसआर रामचन्द्रनले शनिबार राति चेन्नईमा आएको आँधीका कारण तीन जनाको मृत्यु भएको र उनीहरूको करेन्ट लागेर मृत्यु भएको जानकारी दिनुभयो । तर आँधीबाट भएको अन्य क्षति भने ‘न्यून’ रहेको उहाँले बताउनुभयो । ‘द टाइम्स अफ इन्डिया’ले मृतकको सङ्ख्या चार रहेको उल्लेख गर्दै आँधीका कारण कतिपय क्षेत्रमा बाढी आएको र रुखहरू ढलेको तर अनुमान गरिएभन्दा कम क्षति भएको उल्लेख गरेको छ । उत्तरी एटलान्टिक महासागरमा आँधीबेहरी वा उत्तर–पश्चिमी प्रशान्त महासागरमा आँधीबेहरी र आँधीजन्य मौसमी विपत यस क्षेत्रका वस्तीहरूका लागि एक नियमित र घातक जोखिम हो । यो आँधी आइतबारपछि बिस्तारै कमजोर हुँदै जाने अनुमान गरिएको छ भने भारतको मौसम विज्ञान विभागले भारतको दक्षिणी क्षेत्रमा भारी वर्षा हुने चेतावनी दिएको छ । विभागले आँधीको जोखिम रहँदासम्म समूद्रमा माछा मार्ने वा अन्य गतिविधिबाट टाढा रहन स्थानीयलाई सुझाव दिएको छ भने केही क्षेत्रमा “मध्यमदेखि उच्च बाढीको जोखिमको’ रहेको बताएको छ। फेङ्गलले यसै साताको सुरुमा श्रीलङ्काको समुद्री तटमा अवतरण हुँदा छ बालबालिकासहित कम्तीमा १२ जनाको मृत्यु भएको थियो । जीवाश्म ईन्धनको प्रयोगले हुने जलवायु परिवर्तनका कारण विश्वव्यापी तापमान वृद्धिसँगै शक्तिशाली आँधीबेहरीजन्य विपत् अझ बढ्न थालेको वैज्ञानिकहरूले चेतावनी दिएका छन् । समुद्रको तातो सतहले अधिक जलवाष्प छोड्छ, जसले आँधीबेहरीलाई अतिरिक्त ऊर्जा प्रदान गर्दछ र शक्तिशाली हावाहुरीमा परिणत गर्छ । राम्रो पूर्वानुमान र प्रभावकारी उद्धार योजनाले आँधीका कारण नाटकीय रूपमा हुने मृत्युको सङ्ख्यामा कमी ल्याएको छ । RSS
पोखरा: त्रिशक्ति समाज सेवा क्लबले तिहारको अवसरमा आयोजना गरेको तेस्रो सिमपानी साँझबाट संकलितमध्ये केही रकम सामाजिक कार्यमा खर्च गरेको छ । शनिबार क्लबका पदाधिकारीहरु पोखरा २५ हेमजास्थित मानव सेवा आश्रममा पुुगेर १६० जना आश्रितलाई खाना खुवाएको क्लबका सहसचिव प्रविण सुुवेदीले जानकारी दिए । यस्तै उनका अनुसार हीरक जयन्ती मनाइरहेको राष्ट्रिय माविकालाई पनि ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको हो । उनले नेपअपले आयोजना गरेको श्रीपेचको अन्तिम प्रतिस्पर्धी निशान रानामगरलाई पनि नगद रु १२ हजार आर्थिक सहयोग गरेको बताए । ‘हामीले सामाजिक काममा खर्च गर्ने योजना अनुसार नै हामीले कार्यक्रम गरेका थियौ । त्यसैले साँझबाट जम्मा भएको रकममध्ये करिब ५० हजार बराबरको हामीले सामाजिक कार्यमा खर्च गरेका हौं,’ उनले भने । क्लबले गत कात्तिक १७ गते सिम्पानी चोकमा टुबोर्ग प्रिजेन्टस् तेस्रो सिम्पानी साँझको आयोजना गरेको थियो । क्लब स्थापना लामोसमयदेखि सामाजिक तथा खेलकुदको क्षेत्रमा क्रियाशिल रहदैं आएको छ ।
तनहुं: जिल्लाको व्यास नगरपालिका–१ र २ जोड्नेगरी कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा सवारीसाधन सञ्चालन गर्न मिल्नेगरी पुल निर्माण सुरु भएको छ । व्यास नगरपालिकाको समपूरक योजनाअन्तर्गत रु छ करोड ११ लाख तीन सय २४ लागतमा निर्माणाधीन उक्त पुलको ५० प्रतिशत बढी भौतिक प्रगति भएको हो । पुल २५ मिटर लम्बाइ र आठ दशमलव ४० मिटर चौडाइको हुनेछ । पुल बनेपछि आवागमन सहज हुनुका साथै खोला किनारका करिब १ सय घर संरक्षणमा सहयोग पुग्ने सामुदायिक टोल विकास संस्था कराङकाठ बसपार्कका अध्यक्ष सोमनाथ पौडेल बताउनुभयो । हाल पुल निर्माण गरिएको स्थान नजिक कजवेबाट ९पाइप राखेर बनाइएको अस्थायी संरचना० सवारीसाधान आवतजावत हुँदै आएको थियो । वर्षायामको समयमा खोलामा बाढी आउँदा कजवेबाट पानी निकासा हुन नसक्दा खोला आसपासका बस्तीमा पानी पसेर क्षति हुने गरेको थियो । आगामी भदौ २२ गतेभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनी ज्वालामुखी कन्स्टक्सनसँग सम्झौता भएको व्यास नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारीले बताउनुभयो । कम्पनीले गत वैशाखदेखि निर्माणलाई निरन्तरता दिएकाले छोटो अवधिमा उल्लेख्य प्रगति हासिल भएको उहाँको भनाइ छ । “सम्झौता अवधि भन्दा अगावै सम्पन्न गर्ने अपेक्षा गरिएको छ”, शाखा अधिकृत तिवारीले भन्नुभयो, “निर्माण कम्पनीले फागुनभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।” सम्झौता अगावै निर्माण सम्पन्न गरेमा नगरपालिकाले पुरस्कृत गर्ने योजना बनाएको उहाँले बताउनुभयो ।
काठमाडौं: सर्वाधिक चासो र चर्चामा रहेको नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपिएल) शनिबारदेखि काठमाडौँमा सुरू भयो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्गसलाई आठ विकेटले हरायो । विराटनगरले दिएको एक सय २७ रनको लक्ष्य जनकपुर बोल्ट्सले १५ दशमलव तीन ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो । त्रिवि क्रिकेटमा मैदानमा समर्थकको ‘क्रेज’ पनि उत्तिकै थियो । रङ्गशालामा दर्शकहरू खचाखच थिए । कोही रूखमा चढेर क्रिकेट हेर्न बाध्य भए भने केहीले टिकट काटेर पनि खेल हेर्न पाएनन् । शनिबार भएको एनपिएलकोे पहिलो खेल मध्याह्न सवा १२ बजे सुरू भएको थियो तर समर्थकहरू बिहान ९ बजेदेखि नै रङ्गशालामा पुगेका थिए । कीर्तिपुरमा जनकपुर बोल्ट्स र विराटनगर किङ्गसका समर्थकहरूले प्लेकार्ड, नेपालको झण्डासहित मैदानमा पुगेका थिए । तर, रङ्गशालामा जनकपुर र विराटनगरका समर्थक मात्रै थिएनन् । नेपाली क्रिकेटलाई माया गर्ने क्रिकेटप्रेमीको उपस्थिति पनि बाक्लै थियो । उनीहरू कुनै टोलीको समर्थनमा नभएर नेपाली खेलाडीहरूको समर्थनमा खेल हेर्न पुगेका थिए । कीर्तिपुरमा हेर्न पुगेका क्रिकेटप्रेमीमध्ये एक हुनुहुन्थ्यो, अर्घाखाँचीका उत्तम गैरे । उहाँ बिहान १० बजे नै खेल हेर्न कीर्तिपुर मैदानमा पुग्नुभएको थियो । उहाँले एनपिएलमा लुम्बिनी लायन्सको समर्थनमा रहेको बताउनुभयो । तर नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरू र अन्न विदेशी खेलाडीहरू खेल्ने भएकाले खेल हेर्न पुगेको प्रतिक्रिया दिनुभयो । नेपालको घरेलु क्रिकेट भएकाले कुनै टोलीभन्दा सबै टोलीप्रति आफ्नो समर्थन रहने उहाँले बताउनुभयो । “नेपाली अन्य विदेशी टोलीहरूसँग खेलेको भए, खुलेरै नेपालको समर्थनमा हुन्थे । तर यो घरेलु क्रिकेट हो”, रासससँग गैरेले भन्नुभयो, “नेपाली राष्ट्रिय क्रिकेट टोली सदस्यहरू विभिन्न टोलीमा हुनुहुन्छ । आफू लुम्बिनी प्रदेशको बासिन्दा भएकाले लुम्बिनी लायन्सलाई समर्थन गर्नु स्वभाविक हो । तर, मेरो समर्थन सबै टोलीलाई छ ।” कीर्तिपुरमा मैदानमा पाल्पाकी राधिका सुवेदी पनि खेल सुरू हुनुभन्दा दुई घण्टा अगाडि नै पुग्नुभएको थियो । उहाँले पनि नेपाली क्रिकेटको समर्थनमा खेल हेर्न आएको प्रतिक्रिया दिनुभयो । “नेपालका इतिहासमा पहिलोपटक आयोजना भएको खेल हो । सबै टोलीको नेपाली खेलाडीले कप्तानी गर्नुभएको छ । उपाधि जसले जिते पनि त्यो जित नेपाली क्रिकेट कै हो”, सुवेदीले भन्नुभयो । पोखराका अमृतराज पौडेल पनि शनिबारको खेल हेर्न कीर्तिपुर मैदानमा पुग्नुभयो । आफू नेपाली क्रिकेट र खेलाडीको समर्थक भएको हुनाले खेल हेर्न पुगेको प्रतिक्रिया दिनुभयो । उहाँले नेपाली क्रिकेट र नेपाली खेलाडीहरूको भविष्य उज्ज्वल रहेको पनि बताउनुभयो । पौडेलले भन्नुभयो, “म नेपाली क्रिकेट र नेपाली खेलाडीहरूको समर्थक हुँ । नेपाली क्रिकेट र खेलाडीहरूको भविष्य राम्रो छ । हामीले आफ्नो ठाउँबाट समर्थन गर्नुपर्छ ।” कञ्चनपुरका चन्द्रप्रकाश रानाले पनि नेपाली खेलाडीहरूलाई ऊर्जा दिन खेल हेर्न आएको बताउनुभयो । मैदानमा केही क्रिकेट समर्थकहरूको ‘प्ले कार्ड’मा लेखिएको थियो, ‘नो म्याटर हुँ विल विन । इट इज द भिक्टोरी अफ नेपाली क्रिकेट ।’ नेपाली समर्थकले दिएको एउटै सन्देश थियो, ‘कसले जित्छ त्यो फरक पर्दैन । यो नेपाली क्रिकेटको जित हो ।’ बढ्दो क्रिकेट क्रेज पछिल्लो केही वर्षयता नेपाली क्रिकेटको अवस्था पनि सुधारिँदै गएको छ । क्रिकेटमा नेपालमा मुहार फेरेसँगै क्रिकेट समर्थकहरूको क्रेज पनि बढ्दै गइरहेको छ । एनपिएलका लागि नेपाली समर्थकको क्रेज कतिसम्म बढेको थियो भन्ने उद्घाटन खेलको टिकट बिक्रीबाटै प्रस्ट आङ्कलन गर्न सकिन्थ्यो । क्यानले एनपिएलकोे उद्घाटन खेलका लागि १० हजार टिकट बिक्रीका लागि राखेको थियो । त्यसको २४ घण्टामै भिआइपीतर्फका आठ सय र सामान्यतर्फका नौ हजार दुई सय टिकट बिक्री भएका थिए अर्थात्, खेल सुरू हुनु तीन दिनअगावै नै सबै टिकट बिक्री भइसकेका थिए । यस्तो छ अन्य खेलहरूको टिकट मूल्य सोमबारदेखि लिग चरणका अन्य खेलहरू हुँदैछन् । खेलहरूका लागि सामान्यतर्फ रू तीन सय र भिआइपीतर्फ रू पाँच सय टिकट मूल्य तय गरिएको छ । एनपिएलको ‘प्लेअफ’ का खेल हेर्न दर्शकहरूले सामान्यतर्फ रू पाँच सय र भिआइपीतर्फ रू सात सयको टिकट काट्नुपर्नेछ । त्यस्तै, फाइनल खेलका लागि भने सामान्यतर्फ रू पाँच सय र भिआइपीतर्फ रू एक हजार टिकटको मूल्य तोकिएको क्यानले जनाएको छ । एनपिएलको पहिलो संस्करणमा जनकपुर बोल्ट्स र विराटनगर किङ्गससहित सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, लुम्बिनी लायन्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र पोखरा एभेन्जर्स गरी आठ टोली सहभागी छन् । सोमबार दुई खेल हुँदै आज भने कुनै पनि खेल राखिएको छैन । कीर्तिपुर नगरपालिकासहित देशका विभिन्न स्थानमा हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका कारणले मङ्सिर १६ गते कुनै पनि खेल नराखिएको हो । आगामी सोमबार दुई खेल हुँदैछन् । बिहान ९ः१५ बजे हुने पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोज भिड्नेछन् । त्यस्तै, सोमबार नै दिउँसो १ः१५ बजेदेखि हुने दोस्रो खेलमा जनकपुर बोल्टस् र कर्णाली याक्स भिड्नेछन् ।
काठमाडौं: अष्ट्रेलियालाई कर्मभूमि बनाइरहनुभएकी आयुमी तामाङले आफ्नो नयाँ साङ्गीतिक कोसेली ‘आफँैलाई’ सार्वजनिक गर्नुभएको छ । आर्मी अफिसर्स क्लबमा शनिबार १ कार्यक्रमकाबीच उहाँले आफ्नो उक्त गीतको ‘भिडियो’ सार्वजनिक गर्नुभएको हो । सार्वजनिक गीतमा शब्द र सङ्गीत पनि आयुमीकै छ । गीतको भिडियो थोमसको निर्देशनमा तयार गरिएको हो । भिडियोमा गायिका तामाङले अभिनेता कुन्साङ बम्जनसँग अभिनय गर्नुभएको छ । आयुमी २ वर्ष अगाडि ‘जाने भए’ बोलको गीत सार्वजनिक गर्दै नेपाली सङ्गीतमा प्रवेश गर्नुभएको थियो । सङ्गीतमा उहाँ आफ्नो परिवारको तेस्रो पुस्ता हुनुहुन्छ । उहाँकी हजुरआमा धनमाया तामाङ गण्डकी क्षेत्रका चर्चित ठाडी भाका, ढिलो भाका तथा दाँइ गीतजस्ता गीतकी लोकगायिका हुनुहुन्थ्यो भने बाजे लोकबहादुर तामाङ लोकगायक हुनुहुन्थ्यो । आयुमाका बाबु आशबहादुर तामाङ रचनाकार, लोक गीत सङ्कलकका रुपमा परिचित हुनुहुन्छ । नयाँ गीतका बारेमा बोल्दै आयुमीले ‘आफैँ’लाई प्रेम वा बिछोडको नभई आशावादी गीत भएको बताउनुभयो ।
सङ्खुवासभा: सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा भलिबल प्रशिक्षकसहित दुईजना राष्ट्रिय खेलाडी सम्मानित हुनुभएको छ । सङ्खुवासभामा शुभ बिहानी नमस्ते क्लबले आज भलिबल प्रशिक्षकसहित दुईजना राष्ट्रिय खेलाडी सम्मान गरेको हो । सदरमुकाम खाँदबारीमा राष्ट्रिय महिला भलिबलका प्रमुख प्रशिक्षक कुमार राई, राष्ट्रिय महिला भलिबल खेलाडी सुमित्रा रेग्मी र अन्डर–२० की राष्ट्रिय महिला भलिबलकी कप्तान जेनिसा विश्वकर्मा सम्मानित हुनुभएको शुभ बिहानी नमस्ते क्लबका अध्यक्ष खेम गुरागाईंले जानकारी दिनुभयो । क्लबले राष्ट्रिय भलिबल खेलाडी रेग्मीलाई हौसला बढाउन खाँदबारी नगरपालिका–५ माल्टाका भलिबल प्रशिक्षक राई, चैनपुर नगरपालिका–९ त्रिसुले निवासी राष्ट्रिय महिला भलिबल खेलाडी रेग्मी र खाँदबारी नगरपालिका–८ पिप्लेकी अन्डर २० की राष्ट्रिय महिला भलिबलकी कप्तान विश्वकर्मालाई सम्मान गरेको हो । भलिबल प्रशिक्षक राई, राष्ट्रिय खेलाडी रेग्मी, अन्डर २० राष्ट्रिय महिला भलिबल कप्तान विश्वकर्मा खाँदबारी नगरपालिका–५ माल्टामा यही मङ्सिर १२ गते भएको अन्तरपालिका महिला भलिबलमा सहभागी जनाउन गृह जिल्ला आउनुभएको हो ।
झापा: जिल्लाका तीन छुट्टाछुट्टै ठाउँमा गए राति आगलागी हुँदा रु १९ लाख ६० हजारभन्दा बढीको क्षति भएको छ । दमक नगरपालिका–१ का शिव राईको घरको भुइँतलामा रहेको किराना कस्मेटिक र खाद्यान्न पसलमा विद्युत् सट भई आगलागी हुँदा पसलमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् । आगलागीबाट १५ लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । गए राति नै झापा गाउँपालिका–७ रमितेटोलका लुखी हस्दाको घरमा विद्युत लाइन सट भई आगलागी हुँदा टिनको छानो र बाँसको टाटीले बनेको तीनकोठे घर र सामान जलेर पूर्ण रूपमा क्षति पुगेको छ । उक्त घर नजिकै रहेको ग्वाली कोठामा क्षति पुग्दा रु दुई लाख ५० हजार बढीको क्षति भएको प्रहरीले जनाएको छ । त्यसैगरी, अर्जुनधारा नगरपालिका–११ सालबारीस्थित भूमिनाथ बराल र अमर राउतले एक बिघा जमिनको धान काटिराखेका कुनिउमा आगलागी भएको छ । यसरी अचानक आगलागी हुँदा धान र कुनिउ जल्दा रु दुई लाख १० हजार बराबरको क्षति भएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । प्रनाउ चन्दका अनुसार आगलागी भएका तीनवटै ठाउँको आगो स्थानीय तहका दमकल, स्थानीय मानिस र प्रहरीको सहयोगमा निभाइएको छ । आगलागी सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।
नवलपरासी: बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका–५ धौवादी डाँडास्थित रुद्रपुरमा नमूना आयोजनाका रूपमा सञ्चालन भएको धौवादीमा वायु ऊर्जा केन्द्र मर्मतसम्भारको अभावमा ठप्प भएको छ । एसियाली विकास बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा २०६८ सालमा रु २ करोडको लागतमा स्थापना भएको केन्द्र टर्वाइन मर्मत तथा पुरानो ब्याट्री प्रतिस्थापन नहुँदा उत्पादनविहीन बनेको हो । हावाबाट पङ्खा घुमाएर टर्वाइनका माध्यमले ब्याट्री चार्ज भई बिजुली उत्पादन हुँदै आएकामा टर्वाइनमा समस्या भएपछि बन्द भएको तथा अन्य उपकरणका पुर्जा पनि काम नलाग्ने भएका हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानामगरले बताउनुभयो । केन्द्रबाट दैंनिक १० किलोवाट उत्पादन हुँदै आएको थियो । “केही वर्ष पूर्ण क्षमतामा विद्युत् उत्पादन भए पनि पछि टर्वाइन र ब्याट्रीमा खराबी आएपछि उत्पादन बन्द भएको हो”, वडाध्यक्ष मगरले भन्नुभयो । हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले केन्द्रका उपकरण तत्काल मर्मत गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसमक्ष पटकपटक अनुरोध गरेको तर सुनुवाइ नभएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “प्राविधिक टोली पठाउँछौँ भन्छन् तर आजसम्म कोही आएका छैनन् ।” स्थानीय सरकारको बजेटले मात्र मर्मत गर्न नसकिने भएकाले नसक्ने हुँदा केन्द्र सरकारलाई पनि गुहारिएको तर परिणाम प्राप्त नभएको उहाँले बताउनुभयो । वायु ऊर्जा परियोजना सञ्चालनपछि केही वर्ष स्थानीयले चौबीसै घण्टा विद्युत् प्रयोग गर्न पाएका थिए । धौवादी क्षेत्रमा गत वर्षदेखि राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेपछि बिजुलीको समस्या नभए पनि नमूनाका रूपमा स्थापित वायु ऊर्जा केन्द्र सञ्चालन हुनुपर्नेमा अध्यक्ष पाण्डेको जोड छ ।

