दोलखा: बाढी, पहिरोजस्ता प्राकृतिक विपद्बाट सुरक्षित रहन स्थानीयस्तरमै प्रभावमा आधारित मौसम पूर्वानुमान गर्नसक्ने नागरिक वैज्ञानिक अभियानलाई देशव्यापी बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ । एसियाली पूर्वतयारी केन्द्र ९एडिपिसी० को सहयोगमा भीमेश्वर नगरपालिका, इन्स्टिच्युट अफ हिमालयन रिक्स रिडक्सन (आइएचआरआर)र स्मार्टफोन फर वाटर नेपाल (एस४डब्लु)को संयुक्त पहलमा सञ्चालन गरिएको ‘भिक्टोरी’ नामक परियोजनामार्फत तयार गरिएका नागरिक वैज्ञानिकहरुको दीक्षान्त समारोहका सहभागी वक्ताहरुले सो आवश्यकतामा जोड दिएका हुन् । नागरिक वैज्ञानिकहरुले सम्प्रेषण गरेका मौसमी सूचनाका आधारमा पूर्वतयारी गर्दा जनधनको क्षति कम गर्न सकिएकाले यसलाई निरन्तरता दिनुपर्ने उहाँहरुको भनाइ रहेको छ । नगरपालिकाका नौवटै वडाका ५÷५ जना गरी ४५ जना सर्वसाधारणलाई प्रशिक्षित गरी साधारण उपकरणमार्फत गत जुनदेखि अक्टोबरसम्मको वर्षा मापनको सूचना सङ्कलन गरी त्यसका आधारमा मौसम पूर्वानुमान गरिएको थियो । हाल यो कार्यक्रम बर्दियाको बारबर्दिया नगरपालिकामा पनि ४५ जना नागरिक वैज्ञानिकमार्फत बाढी मापनमा मौसमी पूर्वानुमानको कार्य भइरहेको छ । कार्यक्रममा नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले पहिरोको उच्च जोखिममा रहेको पालिकालाई विपद् व्यवस्थापनयुक्त बनाउन नागरिक वैज्ञानिक अभियान निकै प्रभावकारी देखिएकाले यसलाई निरन्तरता दिँदै छिमेकी पालिकाहरुमा पनि विस्तार गर्नुपर्ने बताउनुभयो । आइएचआरआरका कार्यकारी निर्देशक सुरज गौतमले साधारण प्रविधि र तालिम प्रदान गरी स्थानीयस्तरमै नागरिक वैज्ञानिक तयार गर्दा विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सकिने भीमेश्वर नगरपाकिलाबाट प्राप्त अनुभवका आधारमा यस वर्ष मनाङ र लमजुङका दुई पालिकामा पनि नागरिक वैज्ञानिक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । एस ४ डब्लुका डा सञ्जीव न्यौपानेले नागरिक वैज्ञानिक कार्यत्रमलाई देशभरि विस्तार गर्न सकिएको मौसमी विपद्बाट बर्सेनि हुने जनधनको क्षति न्यूनीकरण गर्न सकिने धारणा राख्नुभयो । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सरोज पुडासैनीले स्थानीयस्तरबाटै प्राप्त मौसमी सूचनाका आधारमा मौसम पूर्वानुमान गरिने हुँदा यसलाई अझ भरपर्दो र व्यवस्थित गराउन सकिएमा प्रकृतिक विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सकिने बताउनुभयो । नगरपालिकाका वरिष्ठ इन्जिनियर सुरेश राउतले विपद् व्यवस्थापनमा नागरिक वैज्ञानिक कार्यक्रमको निकै प्रभावकारी रहेकाले आगामी दिनमा पनि पालिकाले निरन्तरता दिने बताउँदै यस्ता सफल अभ्यासहरुलाई पुस्तान्तरण गर्दै लैजानुपर्छ भन्नुभयो । नागरिक वैज्ञानिक यदुनाथ न्यौपाने र कमला ओलीले विपद्बाट जनताको जीउधन र राज्यका भौतिक सम्पत्तिको सुरक्षा गर्ने कार्यमा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै यस कार्यक्रमलाई पालिकाले निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा नागरिक वैज्ञानिकहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ जनक्रान्तिका सहिदका स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली प्रकट गर्नुभएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँले आज बेइजिङको तियानमेनस्क्वायरस्थित चिनियाँ जनक्रान्तिका सहिदहरुको स्मारकमा पुष्पहार अर्पण गर्नुभएको हो । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली सोमबार बेइजिङ आइपुग्नुभएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसीहितका विविध विषयमा विचार आदानप्रदान गर्नुका साथै नौ बुँदे सहमतिमा हस्ताक्षर गर्नुभएको छ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर २० गते स्वदेश फर्कने तालिका छ ।
काठमाडौंमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई पराजित गरेको छ । १ सय ८३ रनको बलियो लक्ष्य पछ्याएको विराटनगरलाई १६.१ ओभरमा ९२ रनमा अल आउट गर्दै ९० रनले सुदूरपश्चिम रोयल्सले जीत निकालेको हो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८२ रनको बलियो योगफल तयार गरेको थियो ।
कृषिमा भित्रिएको आधुनिक प्रविधिले गर्दा गाउँघरमा दाइँ गर्ने परम्परा लोप हुँदै जान थालेको छ । केही वर्ष अघिसम्म गोरु र मान्छेकै सहारामा दाइँ हाल्दै आएका धनुषाका अधिकांश किसानहरु पछिल्लो समय आधुनिक थ्रेसर मेशिन र ट्रयाक्टरका सहायताबाट धान चुट्न थालेपछि दाइँ परम्परा लोप हुन लागेको हो । खेती किसानी पनि गर्दै आउनु भएका जिल्ला समन्वय समिति धनुषाका पूर्वसभापति रामदेव यादवले पछिल्लो समय किसानले गोरु पाल्न छाडेपछि थ्रेसर र ट्रयाक्टरको सहायताले दाइँ गर्न थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “एक दशक अघिसम्म खेतका फाँटमा खलो बनाई धान, मसुरो, तोरी, गहुँलगायतका अन्न झाँटेर बोटमा बाँकी बसेका अन्न झार्नका लागि मियोका वरिपरि गोरु घुमाई दाइँ गर्ने परम्परा थियो । तर पछिल्लो समय गोरुको अभाव र कृषिमा भित्रिएको आधुनिक प्रविधिका कारण गाउँमा दाइँ गर्ने परम्परा हराउँदै जान थालेको छ ।” गाउँघरमा अर्मपर्म गरेर खेती लगाउने, खेती थन्काउने चलन हट्न थालेपछि ट्रयाक्टरले खेत जोत्न र थ्रेसरले धान चुट्न थालिएको क्षीरेश्वरनाथ नगरपालिका–४ का किसान जगदीश यादवले बताउनुभयो । उहाँका अनुसार कृषिमा प्रविधिको विकासले गाउँघरबाटै दाइँ संस्कृति हजाउँदै जान थालेको छ । थ्रेसर मेसिन, ट्रयाक्टर हलोको प्रयोगले किसानको समय, श्रम र पैसाको बचत भए पनि मौलिक संस्कृति भने हराउन थालेको मिथिला नगरपालिका–६ ढल्केवरका ज्येष्ठ नागरिक रामवरण महतोको धारणा छ । उहाँ भन्नुहुन्छ, “मेसिनको सहायताले दाइँ गर्दा त्यसले उडाएको भुसले वातावरणमा नकारात्मक प्रभाव पर्नुको साथै जनस्वास्थ्यमा समेत असर परेको छ । श्वासप्रश्वासको समस्या भएका बालबालिका र वृद्ध नागरिकलाई असर गरेको छ । आँखामा धुलो परेर समस्या सिर्जना हुने गरेको पनि छ । तर खेतमै खलो बनाई दाइँ गर्दा त्यस्तो समस्या हुँदैनथ्यो ।” युवा शक्ति विदेश पलायन हुनु, गाउँघरमा गोरु र काम गर्ने मान्छे पाउन सकस हुनु र पाइएका खेतालाको ज्याला खर्च महँगो भएकाले पनि जिल्लाका किसानले कृषि यन्त्रको प्रयोग बढाएका हुन् । यसबाट अन्न झार्ने तथा पराल भुसा वा नल एकैपटकमा माडिने हुँदा समय, श्रम र पैसाको बचत हुने गरेको किसान स्वयं बताउँछन् । धान उत्पादनमा वृद्धि हुने अनुमान यसैबीच मधेश प्रदेशमा यसवर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । मधेशका आठवटै जिल्लाबाट गतवर्षको तुलनामा यसवर्ष कूल दुई लाख पाँच हजार २५१ मेट्रिक टन बढी धान उत्पादन हुने मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय जनाएको छ । मन्त्रालयका प्रवक्ता वरिष्ठ कृषि प्रसार अधिकृत रोशनकुमार मेहताका अनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा १२ लाख ९६ हजार छ सय सात मेट्रिक टन धान उत्पादन भएको थियो । उहाँले चालु आर्थिक वर्ष २०८१÷८२ मा १५ लाख दुई हजार चार सय ५८ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको जानकारी दिनुभयो । गत वर्षभन्दा यस आवमा धान रोपाइँ बढी क्षेत्रफलमा भएको हुँदा उत्पादनमा समेत वृद्धि हुने बताइएको छ । कषि प्रसार अधिकृत मेहताले गत वर्षको तुलनामा यस वर्ष पाँच हजार २६४ दशमलव पाँच हेक्टर क्षेत्रफल बढीमा धानबाली लगाएको जानकारी दिनुभयो । आव २०८०/८१ मा तीन लाख ७० हजार ३५० हेक्टर क्षेत्रफलमा धानबाली लगाएको थियो भने चालु आवमा तीन लाख ७५ हजार ६१४ दशमलव पाँच हेक्टर क्षेत्रफलमा धान रोपिएको उहाँले जानकारी दिनुभयो । धानबाली लगाएको क्षेत्रफल र उत्पादन हुने अनुमान गरिएको आधारमा यस वर्षमा शून्य दशमलव पाँच मेट्रिक टन प्रतिहेक्टर धान उत्पादनमा वृद्धि हुने देखिएको छ । गतवर्ष तीन दशमलव ५० मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएको थियो भने यसवर्ष प्रतिहेक्टर चार मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ ।
काठमाडौँ: भारतको भ्रमणमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र उहाँका भारतीय समकक्षी पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदिपसिंह पुरीबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ । सोमबार अपराह्न उहाँहरूबीच भएको भेटवार्तामा दुई पक्षीय हितका साथै पारस्परिक चासोका विविध विषयमा कुराकानी भएको मन्त्री भण्डारीको निजी सचिवालयले जनाएको छ । उहाँहरूबीच नयाँ पूर्वाधार योजनाअन्तर्गत सिलीगुडी–झापा र अमलेखगञ्ज–चितवन पेट्रोलियम पाइपलाइन निर्माणबारे छलफल भएको थियो । साथै उहाँहरूले विगतमा दुई देशबीच भएका सम्झौता तथा तिनको कार्यान्वयनका सम्बन्धमा पनि छलफल गर्नुभएको थियो । यसैबीच,सर्लाहीको ग्यास पाइपलाइन निर्माण, त्रिभुवन विमानस्थलको इन्धन डिपो स्थानान्तरण, भारतीय आयल कर्पोरेशन लिमिटेड र नेपाल आयल निगमबीचको साझेदारीलगायत विषयमा छलफल भएको तथा दुवै निकायद्वारा प्रस्तुत एकीकृत प्रतिवेदन प्राप्त भएपछि सक्दो सहयोग गर्न भारत तत्पर रहेको मन्त्री पुरीले बताउनुभएको मन्त्री भण्डारीले नयाँदिल्लीबाट राससलाई बताउनुभयो । त्यसैगरी, द्विपक्षीय सरकारी संयन्त्रका सबै बैठक नियमित रूपमा गर्न दुवै पक्ष सहमत भएका उहाँले बताउनुभयो । भारतीय पक्षले नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्री भण्डारीले जानकारी दिनुभयो ।
काठमाडौँ: सुनको मूल्य प्रतितोला रू एक हजारले बढेको छ । सोमबार प्रतितोला रू एक लाख ४९ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर रू एक लाख ५० हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला रू एक हजार आठ सय १५ मा कारोबार भएको चाँदीको मूल्य आज रू एक हजार आठ सय ४५ कायम भएको छ ।
काठमाडौं: युएईमा जारी यु–१९ एसिया कप क्रिकेटमा प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले टस हारेको छ । दुबईको सारजाह क्रिकेट रङ्गशालामा भएको टसमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ रोजेको छ । यससँगै नेपालले पहिला बलिङ गर्नेछ । प्रतियोगिताबाट बहिरिसकेका दुवै टोली पहिलो जितको खोजीमा छन् । नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रन र दोस्रो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो । अफगानिस्तान पहिलो खेलमा बङ्गलादेशसँग ४५ रन र दोस्रो खेलमा श्रीलङ्कासँग १३१ रनले पराजित भएको थियो । एसिसीको आयोजनामा जारी प्रतियोगितामा एसियाका आठ देश सहभागी छन् । प्रतियोगितामा एसियाका पाँच टेस्ट राष्ट्र स्वत छनोट भएका थिए । नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष तीनमा रहेर छनोट भएका थिए । समूह ‘बी’ मा नेपाल, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र युएई छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।
बेइजिङ: नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको होे । वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीनको औपचारिक भ्रमणमा हिजो बेइजिङ आइपुगेको हो ।
कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई बलियो लक्ष्य दिएको छ । एनपिएलको चौथो खेलमा विराटनगरलाई सुदूरपश्चिमलाई १ सय ८३ रनको बलियो लक्ष्य दिएको हो । मंगलबारको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८२ रनको बलियो योगफल तयार गर्यो । सुदूरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरीले नट आउट रहँदै सर्वाधिक ५७ रन जोडे । उनले २४ बलमा ३ चौका र ५ छक्का प्रहार गरे । ब्रेन्डन मक्मेलनले २६ बलमा २ चौका र २ छक्काको सहयोगमा ३६ रन जोडे । पाँचौ ओभरको अन्तिम बलमा अनिल खरेलको बलमा ३ बलमा ७ रन जोडेका मक्मेलनको स्टपिङ आउट गराउन विराटनगरका विकेटकिपर लोकेश बम चुकेका थिए । विनोद भन्डारीले २० बलमा ४ चौकाको सहयोगमा २३ रन जोडे । दोस्रो विकेटका रुपमा सुदूरपश्चिमले ओपनर विनोदलाई गुमाएको थियो । विनोद पाँचौ ओभरको चौथो बलमा अनिल खरेलद्वारा आउट भए । इशान पान्डेले १६ बलमा २ चौका र १ छक्काको सहयोगमा २१ रन बनाए । १७औं ओभरको पाचौं बलमा इशान रन आउट भए । त्यसअघि पहिलो विकेटका रुपमा सुदूरपश्चिमले अमित श्रेष्ठलाई १ रनमा गुमाएको थियो । अमित दोस्रो ओभरको अन्तिम बलमा इस्मत आलमको बलमा मार्टिन गप्टिलबाट समातिए । आरिफ शेखले ५ बलमा २ चौकाको सहयोगमा ९ रन जोडे । आरिफ छैठौं ओभरको चौथो बलमा बसिर अहमदको बलमा निकोलस किर्तनबाट क्याच आउट भए । सेफ जेबले १५ बलमा १ छक्काको सहयोगमा १४ रन जोड्दै अनिल खरेलको बलमा बोल्ड आउट भए । विराटनगरका लागि अनिल खरेलले ३ तथा इस्मत आलम, बसिर अहमद र क्रिस सोलले समान १ विकेट लिए । मंगलबारको दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच खेल हुदैछ ।

