काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक काठमाडौंमा सुरू भएको छ । बैठकको पहिलो दिन आज सहकारीसम्बन्धी अध्यादेश, २०८१ र संसद्मा दर्ता भएका विधेयकमाथि छलफल गर्दै पार्टीको धारणा प्रस्तुत गर्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । बैठकमा रास्वपाका केन्द्रीय सदस्यहरूबीच पार्टीको सङ्गठन संरचना, समीक्षा, रणनीति, सबलीकरण र जागरणलगायत विषयमा छलफल हुँदैछ । आजै स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ गर्ने कार्यक्रम तय भएको छ ।
काठमाडौं: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूूरो (सिआइबी)ले पछिल्लो समयमा विभिन्न प्रलोभनमा पारेर अनलाइन ठगी बढेको भन्दै ठगीबाट बच्न विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले हालैमात्र पोखरामा रू ५७ लाख, चितवनमा रू १६ लाख, नेपाल सरकारका कर्मचारीहरूको रू पाँच लाख ५० हजार, विभिन्न कम्पनी तथा सर्वसाधारणको करोडौँ रकम ठगी भएको र उक्त विषयमा अनुसन्धान भइरहेको जानकारी दिँदै त्यस्ता लोभमा नफस्न अनुरोध गर्नुभएको छ । आज सिआइबीले सात बुँदामा एक सार्वजनिक अपिल जारी गर्दै केही दिनयता सामाजिक सञ्जाल जस्तै फेसबुक, इन्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, म्यासेन्जर, भाइबर तथा इमोलगायतबाट फोन गरी डिजटिल वालेट तथा बैंक÷वित्तीय संस्थाबाट बोलेको भनी विभिन्न अपरिचित नम्बरहरूबाट फोन गरी वा म्यासेज गरी नेपाल सरकारका कर्मचारी तथा आमसर्वसाधारणलाई समेत धोकापूर्ण तरिकाले प्रलोभनमा पारी ठगी गरिएको पाइएको छ । यस्ता घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको सिआइबीले जनाएको छ । त्यस्ता ठगीबाट बच्न अनुरोध गर्दै सिआइबीले विभिन्न सात बुँदे ध्यानाकर्षण पनि सार्वजनिक गरेको छ । सिआइबिले इसेवा, खल्तीजस्ता वालेट, बैंक तथा वित्तीय संस्थाको लोगोसमेत प्रयोग गरी धोकापूर्ण तरिकाले सम्बन्धित संस्थाको आधिकारिक व्यक्ति भनी कल गर्ने तथा पटकपटक गलत पासवर्ड राखेर वालेट अल्पकालीन बन्द गर्ने, त्यही समय वालेट प्रयोगकर्तालाई कल गरी तपाईँको यसमा समस्या आएको छ म सेवा प्रदायक कम्पनीबाट बोलेको भनी ओटिपी माग गर्नेहरूसँग सावधानी हुन अनुरोध गरेको छ । सावधानी नभए क्षणभरमा नै उक्त वालेटमा भएको पैसा अन्य व्यक्तिको वालेटमा वा बैंक खातामा ट्रान्सफर हुने भनी सजग पनि गराएको छ । यस्तै सामाजिक सञ्जालमा विभिन्न खालका प्रलोभनमा पार्ने म्यासेज पठाउने र विभिन्न किसिमका एआइले बनाएको आवाजबाट कल गरी तपाईँको सामान आएको छ, तपाईँलाई फाइदा हुने खालको व्यापार छ भन्नेजस्ता लिङ्क पठाई खोल्न लगाउने र लिङ्क खोल्नेबित्तिकै युजरनेम र पासवर्डमा पहुँच पुर्याएर पैसा रकमान्तर गर्ने गरेको भन्दै त्यसतर्फ पनि सावधानी हुन सिआइबीले अनुरोध गरेको छ । अनलाइन व्यापारको नाममा सामाजिक सञ्जालमा विभिन्न साइटहरू खोली सामानको आकर्षक फोटो भिडियो अपलोड गर्ने र कुनै ग्राहकले सामान अर्डर गर्दा विभिन्न बैंक खातामा रकम माग गर्ने र रकम प्राप्त गरिसकेपछि सामान डेलिभरी नगरी सम्पर्कविहीन हुने अवस्थासमेत रहेको प्रहरीले जनाएको छ । यस्ता कार्यमा यस्तो कार्यमा हालसम्म पाँच सयभन्दा बढी फोन नम्बर सक्रिय भएको हुँदा यस्ता अपरिचित नम्बरबाट आएका फोन तथा म्यासेज नउठाउन तथा उत्तर नदिन पनि सिआइबीले सबैमा अनुरोध गरेको छ । यस्ता किसिमका ठगीमा संलग्न व्यक्तिहरूका सम्बन्धमा कुनै जानकारी भएमा यस केन्द्रीय अनुसन्धान ब्यूरो तथा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन पनि अनुरोध गरिएको प्रवक्ता बोगटीले बताउनुभयो ।
अन्नपूर्ण: गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान (जिटिइभिटिइ) अन्तर्गतको गण्डकी प्राविधिक शिक्षालय स्थापना भएको चार वर्षपछि भवन बन्ने भएको छ । गण्डकीमा दक्ष जनशक्ति उत्पादन गरी युवालाई रोजगारीमा आबद्ध गर्ने उद्देश्य लिएर गण्डकी प्रदेश सरकारले २०७७ सालमा गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान (जिटिइभिटिइ) स्थापना गर्ने निर्णय गरेको थियो । स्याङ्जाको फेदीखोला गाउँपालिका–१ स्थित गुर्धुममा बन्ने प्रशासनिक भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिलान्यास गर्नुभएसँगै जिटिइभिटिइ आफ्नै भवनबाट सञ्चालनमा आउने भएको हो । शिक्षालयको पूर्वाधारका लागि कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका०सँग सम्झौता भएलगत्तै शुक्रबार भवन शिलान्यास गरिएको हो । गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका सचिव राजेन्द्रदेव पाण्डे र कोइकाका नेपाल कार्यालयका देशीय निर्देशक मुहुन कङबीच सम्झौता भएको हो । परियोजना अन्र्तगत कोइकाले करिब नौ मिलियन अमेरिकी डलर ९करिव सवा अर्ब रुपैयाँ०को सहायता अनुदान उपलब्ध गराउने छ । सोही सम्झौतापछि गुर्धुममा ‘नमुना प्राविधिक संरचना’ बनाउने कामको थालनी भएको हो । उक्त कामको शिलान्यासपछि मुख्यमन्त्री पाण्डेले पाण्डेले प्राविधिक शिक्षा आजको मुल आवश्यक भएको बताउनुभयो । प्राविधिक शिक्षालय स्थापनापछि नेपालमै प्राविधिक क्षेत्रमा सीप र ज्ञान वृद्धि गर्ने अवसर प्राप्त हुने उहाँले सुनाउनुभयो । देशमै रोजगारी गर्न वा विदेशमा रोजगारीका लागि जान चाहनेका लागि यसले टेवा पु¥याउने मुख्यमन्त्री पाण्डेको भनाइ थियो । “अहिले नेपालमा केही पनि गर्न सकिदैन भन्ने नकरात्मक सोंच छ । अब यसबाट उत्पादन भएका विद्यार्थीले स्वरोजगार सिर्जना वा रोजगारका लागि आफूलाई स्थापित गर्न दक्ष सीपयुक्त व्याक्ति निर्माण गर्छ,” उहाँले भन्नुभयो, “यहाँबाट ज्ञान, सीप प्राप्त गरेकामा भोलिका दिनमा नेपालकै केही सकिन्छ र यही गर्नुपर्छ भन्ने भावना पनि जगाउँछ भन्ने मलाई लाग्छ ।” कार्यक्रममा कोईका नेपाल कार्यालयका देशीय निर्देशक कङले परियोजनाले युवा, महिला र असक्षम व्यक्तिलाई गुणस्तरीय प्राविधिक शिक्षा प्राप्त गर्न अवसर प्रदान गर्ने बताउनुभयो । पछिल्लो समय तीव्ररूपमा विकास भइरहेको रोजगारी बजारमा अघि बढ्न आवश्यक सीपले सुसज्जित गर्ने उहाँको भनाइ थियो । कोइकाले नेपालमा प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकता दिएको पनि उल्लेख गर्दै सोहीअनुसार शिक्षालयलाई सहयोग गरेको उहाँले सुनाउनुभयो । गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक डा सोमनाथ सापकोटाले प्रदेशका लागि आवश्यक पर्ने जनशक्तिको प्रक्षेपणअनुसार तालिम सञ्चालन गर्नका लागि पूर्वाधारका लागि कोइकाबाट प्राप्त सहयोगले ठूलो महत्व राख्ने बताउनुभयो । प्रदेश शिक्षा नीतिले प्रदेशभित्र सञ्चालन हुने सबै खालका प्राविधिक शिक्षा तथा तालिम यसै संस्था मातहत रहनुपर्ने परिकल्पना पनि गरेको छ । सम्झौताअनुसार परियोजना सन् २०२५ बाट सुरु भई पाँच वर्षसम्म सञ्चालन हुने छ । यो परियोजना कोइका र गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानले संयुक्तरूपमा कार्यान्वयन गर्नेछ । यसमा कक्षाकोठा, कार्यशाला, छात्रावास ९छात्राका लागि०लगायतका आवश्यक उपकरण, फर्निचर र शैक्षिक सामग्री हुनेछन् । साथै, कोइकाले प्राविधिक शिक्षालयको मास्टर प्लान, स्थानीय आवश्यकताअनुरूप छोटो समय तालिम, सञ्चालन योजना, करियर सेवा प्याकेज र उद्योगसँगको सहकार्य विकासका लागि प्राविधिक मार्गदर्शन तथा सहयोग प्रदान गर्नेछ । गुर्धुममा पहिलो चरणमा प्रशासनिक भवन, महिला छात्रावास, तीन ल्याब भवन, परीक्षा भवन, शैक्षिक भवन बन्ने प्रतिष्ठानका कार्यकारी निर्देशक डा सापकोटाले जानकारी दिनुभयो । भवन निर्माणको काम सकिएपछि ईलेक्ट्रोनिक्स÷ईलेक्ट्रिकल, अटोमोबाइल्स र टुरिजम÷हस्पिटालिटी विषयमा पठनपाठन हुने उहाँले बताउनुभयो ।
काठमाडौं: सरकारले तय गरेको २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनका लागि रु ६५ खर्ब बराबरको लगानी आवश्यक रहेको छ । उक्त परिमाणको लगानी हुँदा रु ४० खर्ब बराबरको लगानी स्वदेशमै रहने छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले ठूलो मात्रामा लगानी हुँदा त्यसले सकारात्मक पार्ने उल्लेख गर्नुभयो । लालुपाते हाइड्रोपावर कम्पनीद्वारा प्रवद्र्वित ४९ दशमलव ९५ मेगावाट क्षमताको दानाखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनमा हस्ताक्षर समारोहमा बोल्दै अध्यक्ष कार्कीले उक्त कुरा बताउनुभएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितीमा वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।अध्यक्ष कार्कीले १० वर्ष भित्र स्वदेशी उत्पादन सिमेन्ट डन्डी लगायतका हाइड्रोपावर बनाउँदा चाहिने कच्चापदार्थ र रोजगारीमा रु ४० खर्ब खर्च भइ नेपालकै अर्थतन्त्र माथि उठ्ने बताउनुभयो । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा चार सय मेगावाट भारत निर्यात सम्झौताबाट सुरु भएको नेपालको अन्तरदेशीय विद्युत व्यापारको श्रृङखला पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकालमा १० हजार मेगावाट निर्यात सम्बन्धी दीर्घकालीन सम्झौता भएको उहाँँले स्मरण गर्नुभयो । । यस्तै, बंगलादेशमा ४० मेगावाट निर्यात सुरु भएको उल्लेख गर्दै उहाँले केही दिन पहिले मात्रै १५ हजार मेगावाट निर्यात उद्देश्यसहित २८ हजार पाँच सय मेगावाटको मार्गचित्र अघि बढाउँदा नेपालको ऊर्जा क्षेत्रको भविष्य सुन्दर देखाएको कार्कीले बताउनुभयो । ऊर्जा क्षेत्रको विकासका लागि सबै पक्ष सकारात्मक भएको बेला पनि यस क्षेत्रमा रहेको कठिनाइ हल गर्न कदम नचालिए कहिल्यै पनि यो क्षेत्रको विकास नहुने उहाँको प्रष्टोक्ति थियो । लामो समयदेखि ४१ जलविद्युत आयोजनाको सार्वजनिक निष्कासनको निवेदन धितोपत्र बोर्डमा रोकिएको भन्दै उहाँले ‘बैकले पनि पैसा नदिने, इक्विटी ल्याउने सार्वजनिक निष्कासन पनि रोक्ने हो भने आयोजना बन्न नसक्ने’ उल्लेख गर्नुभयो । नेपालमा भएका ४÷५ वटा राम्रा जलविद्युत आयोजना मध्ये दानाखोला पनि एक रहेको र यसलाई समयमै सम्पन्न गर्न पनि उनले कम्पनीलाई शुभकामना दिनुभयो । प्रवद्र्वक कम्पनी लालुपाते हाइड्रोपावरका अध्यक्ष मोहनकुमार डाँगीले पानीलाई बत्तीमा रुपान्तरण नगरेसम्म हाइड्रोपावरमा गरेको लगानी शून्य नै हुने भएकोले आयोजना बनाउन असफल हुने छुट नभएको बताउनुभयो। सो आयोजनाका लागि रु नौ अर्ब ९६ करोड रुपैयाँलगानी सुनिश्चित भएको छ । रु ७४ करोड स्थानीयमा शेयर जारी गरेर, रु एक अर्ब ७४ करोडसञ्चालकबाट र बाँकी बैंकबाट ऋण लगानी हुने छ । सो आयोजना मनाङको नासो गाउँपालिकामा विकास गरिनेछ ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने केन्द्रीय समितिको बैठक आजदेखि काठमाडौँमा सुरू हुँदैछ । शनिबार र आइतबार बस्ने रास्वपाको केन्द्रीय समितिको बैठकको पहिलो दिन सहकारीसम्बन्धी अध्यादेश २०८१ र संसद्मा दर्ता भएका विधेयकमाथि छलफल गर्दै पार्टीको धारणा प्रस्तुत गर्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । आजको बैठकमा रास्वपाका केन्द्रीय सदस्यहरूबीच पार्टीको सङ्गठन संरचना, समीक्षा, रणनीति, सवलीकरण र जागरणलगायत विषयमा छलफल हुने कार्यक्रम छ । आजै स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ गर्ने कार्यक्रम तय भएको छ । बैठकको दोस्रो दिन संविधान परिमार्जन सम्बन्धमा छलफल गर्ने बताइएको छ । पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी तयार गर्नुभएको तालिकाअनुसार उक्त बैठकले प्रस्तावानाको व्याख्या एवं स्र्वाङ्गिण विकासको भावी रोडम्यापबारे छलफल गर्नेछ । रास्वपाको जलेश्वर बैठक र राष्ट्रिय भेलामा प्रस्तुत पार्टी सभापतिको राजनीतिक प्रतिवेदनका आधारमा पार्टीको आगामी कार्यदिशासँगै कार्यक्रम तालिकाबारे यस बैठकमा छलफल हुने बताइएको छ । कार्यवाहक महामन्त्री बुर्लाकोटीका अनुसार आइतबारकोे बैठकले केन्द्रीय समिति, सल्लाहकार परिषद्, थिंकट्यांक एवं केन्द्रीय विभागको पुनःसंरचना, पार्टीको आचारसंहिता र बैठक सञ्चालन कार्यविधि संशोधनका विषयमा गर्नेछ । रास्वपाको केन्द्रीय समितिमा सभापति रवि लामिछानेसहित जम्मा ६१ जना सदस्य छन् । सभापति लामिछानेलाई सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लागेपछि पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारीमा डोरप्रसाद अर्यालले हुनुहुन्छ ।
पोखरा: ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने नाराका साथ सुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवमा राखिएको बुद्धको प्रतिमा दर्शकहरुको आर्कषणको केन्द्र बनेको छ । हरेक संस्करणमा केही न केही नयाँ प्रयोगको माध्यमबाट दर्शकहरुको ध्यान तान्न सफल महोत्सवले यसपटक भने विश्व शान्तिको कामनाका साथ महोत्सव परिसरमा भगवान गौतम बुद्धको आर्कषक प्रतिमा स्थापना गरेको हो । महोत्सवमा स्थापना गरिएको उक्त प्रतिमाले बालबालिका देखी वृद्ध वृद्धाहरुसम्मको ध्यान खिच्न सफल भएको छ । प्रतिमामा सँगै फोटो खिचाउनेदेखी टिकटिक बनाउनेसम्मको भिड लाग्ने गरेको छ । उक्त प्रतिमाका परिकल्पनाकार विश्वगोपाल श्रेष्ठ भन्छन बुद्धको प्रतिमाले महोत्सवमा दर्शकहरुको ध्यान तान्न त सफल भएको छ नै त्यसबाहेक धार्मिक सहिष्णुता र विश्व शान्तिको सन्देश पनि प्रवाह गर्न सफल भएको छ । झण्डै ३ लाख ५० हजार रुपैयाँको लागतमा स्वदेशमा नै निर्माण भएको उक्त प्रतिमा महोत्सव पश्चात लेखनाथमै उपयुक्त ठाउँको खोजी गरेर स्थापना गरिने आयोजकले जानकारी दिएको छ । यसले लेखनाथ क्षेत्रको धर्मिक पर्यटन प्रर्वद्धनमा समेत टेवा पुग्ने आयोजकको दावी छ । विहिबारबाट शुरु भएको महोत्सवको दोश्रो दिन शुक्रबार १० हजार दर्शकहरुले अवलोकन गरेका छन भने र ३० लाख बराबरको कारोबार भएको महासचिव एवं महोत्सव प्रचार प्रसार समितिकी संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिईन । महोत्सवमा शुक्रबार लोकदोहोरी कलाकारहरु रामजी खाँण, सरस्वती लामिछाने, मधु रसाईली, कृष्ण सुवेदी, सविना गुरुङ, केशव देवकोटा, शिवहरी ढुंगाना, उमादेवी खनाल, रमा गौतमले प्रस्तुती दिएका थिए भने बेलुका लाईभ कन्सर्टमा प्रकाश दुतराज र सञ्जिव सिंह रानाले स्टेज तताएका थिए । शनिबार लोकदोहोरीतर्फ बालचन्द्र बराल, शान्तीश्री परियार, ध्रुव जिसी, तुलसा जिसी, नेत्र खड्का, सरिता लगायतले प्रस्तुती दिनेछन भने हाँस्यव्यङ्ग्य तर्फ पवन खतिवडा ‘म्याकुरी’ को प्रस्तुती रहनेछ । यस्तै बेलुकापख हुने लाईभ कन्सर्टमा रचना रिमाल र सुनिल गिरीको प्रस्तुती रहने कलाकार व्यवस्थापन समितिका संयोजक उपेन्द्रराज सुवेदी राजुले जानकारी दिएका छन । शुक्रबार महिला÷आमा समुहका विच भएको हाजिरी जवाफ प्रतियोगितामा सरस्वती सामुदायिक महिला समुह सेमिफाईनल चरणमा प्रवेश गरेको छ भने विद्यालयस्तरीय नृत्यतर्फ ३ वटा विद्यालयले प्रस्तुती राखेका छन । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवको सह–आयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश रहेका छन भने प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेका छन ।
गण्डकी: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भाषा, संस्कृतिहरू हाम्रो पहिचान भएको बताउनुभएको छ । नेपाल मगर सङ्घ गण्डकी प्रदेशद्वारा शनिबार पोखरामा आयोजित सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै उहाँले भाषा, संस्कृति जोगाउनुपर्ने भन्दै यी विषय हाम्रो इतिहास र पहिचानसँग प्रत्यक्ष जोडिएका उल्लेख गर्नुभयो । आदिवासी, जनजातिहरूको संस्कृति जगेर्नासँगै उनीहरूका हकहितको संरक्षणलाई लक्षित गरी सरकारले विभिन्न आयोगहरू बनाएको जनाउँदै मन्त्री गुरुङले त्यसको व्यवहारिक उपयोग हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । राज्यले आदिवासी, जनजातिका लागि आरक्षणको व्यवस्था गरे पनि त्यसको कति उपयोग गर्न सकियो त्यसतर्फ ध्यान दिनु जरुरी रहेको बताउँदै उहाँले भन्नुभयो, “राज्यले आरक्ष्णको व्यवस्था गरेर मात्रै हुँदैन त्यसको व्यावहारिक उपयोग हुनुपर्दछ ।” जनताले अपेक्षा गरेअनुसार वर्तमान सरकारले काम गर्न पहल गरिरहेको बताउँदै सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले विभिन्न स्थानमा अवरोधका रूपमा देखिएका नीतिगत समस्याको समाधानका लागि विभिन्न ११ वटा कानुन बनाएर संसद्बाट पारित गराउने तयारी भइरहेको जानकारी दिनुभयो । आगामी संसद् अधिवेशनमा ती कानुन पारित गरेर अघि बढ्ने तयारीमा सरकार रहेको उहाँले बताउनुभयो । सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न संसद्मा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि सम्मिलित छानबिन समिति गठन गरिएको उल्लेख गर्दै मन्त्री गुरुङले सहकारी क्षेत्रका समस्याको दीर्घकालीन समाधानतर्फ सरकार अघि बडिरहेको उल्लेख गर्नुभयो । सहकारीमा गल्ती नगर्नेले तसिर्नु नपर्ने भन्दै उहाँले भन्नुभयो, “न्यायिक प्रक्रियामा साथ दिनुहोस् डराउनुपर्दैन, जनताको पैसा हिनामिना गर्नुभएको छैन भने नडराए हुन्छ ।” सहकारीमा ठगीमा संलग्न जोकोही कानुनी कारबाहीको दायरामा आउनुपर्ने बताउँदै मन्त्री गुरुङले भन्नुभयो, “जसले सहकारी बचतकर्ताको रकम ठगेको छ, त्यो जुनसुकै दलको भएपनि पार्टीको छाता ओढेर छुट पाउने छैन ।” हरेक १० वर्षभित्र संविधान कार्यान्वयन गर्दै जाँदा कहाँ कहाँ कमजोरी देखियो, बाधा परेका धारा तथा कानुन परिवर्तन गरिने व्यवस्था रहेको उल्लेख गर्दै मन्त्री गुरुङले संविधान संशोधन गर्दा सहमति र समन्वयबाट गरिने बताउनुभयो । उहाँले संविधानको मूल मर्म सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी व्यवस्थालगायत विषयमा भने संशोधन हुन नसक्ने उहाँले स्पष्ट पार्नुभयो । विविधता युक्त हाम्रो समाज इन्द्रेणी समाज रहेको उल्लेख गर्दै सञ्चारमन्त्री गुरुङले यसको उदाहरणका रूपमा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा, तथा पालिकाहरूमा प्रतिनिधित्व हुँदै आएको बताउनुभयो । सरकार अविकसितबाट विकासशील राष्ट्रमा पुगेको जनाउँदै उहाँले यसबाट अघि बढ्नका लागि व्यापार घाटा घटाउनुपर्ने, उत्पादन बढाउनुपर्ने, निर्यात बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । विसं २०४७ यता देशमा धेरै उपलब्धि हासिल भएकाले नेपाली कोही पनि निराश हुनुपर्ने अवस्था नरहेको बताउँदै मन्त्री गुरुङले सबै पालिकाहरूमा बाटोको सुविधासँगै बिजुलीबत्ती, खानोपानीलगायत सुविधा र पूर्वाधार विकास हुँदै गएको जानकारी गराउनुभयो । गरिबी घटाउने, पूँजीगत खर्च बढाउनेलगायत काममा सरकार लागेको उल्लेख गर्दै उहाँले सरकारले सुरु गरेका केही सकारात्मक कामको आगामी जेठसम्ममा अनुभूति हुने धारणा राख्नुभयो । मगर जाति मौलिक संस्कृतिले धनी रहेको बताउँदै मन्त्री गुरुङले समुदायमा समन्वयको भावनासहित आफ्ना संस्कृतिको जगेर्ना गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । संस्कृतिको जगेर्नासँगै समयसापेक्ष रूपमा यसको संरक्षण र प्रवर्द्धन गर्दै अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेपाल मगर सङ्घ गण्डकीका अध्यक्ष तारामाया थापा मगरले मौलिक संस्कृतिको जगेर्नाका लागि महोत्सव गरिएको जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न जिल्लाबाट प्रतिनिधित्व गरेका मौलिक मगर नृत्य प्रस्तुत गरिएको थियो ।
पोखरा: पोखरा महानगर भित्र सञ्चालन हुने कक्षा ८ को परीक्षालाई थप व्यवस्थित गरिने भएको छ । होम सेन्टरका रूपमा विद्यार्थीहरूले शैक्षिक सत्रको अन्तिममा दिने वार्षिक परीक्षा आफ्नै विद्यालयमा दिने व्यवस्थालाई परिमार्जन गरी परीक्षा केन्द्रहरू नै तोकेर परीक्षा सञ्चालन गरिने भएको हो । शुक्रवार बसेको सरोकारवाला सहित महानगर शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको महानगर शिक्षा समितिका अध्यक्ष समेत रहनुभएका नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँका अनुसार महानगर क्षेत्रमा सञ्चालन गरिने कक्षा ८ को विद्यमान परीक्षा प्रणालीलाई परिमार्जन गरी थप व्यवस्थित बनाउन लागिएको हो । यसले विद्यार्थीहरूलाई एसइई परीक्षाका लागि समेत मार्गदर्शन प्रदान गर्ने उहाँको विश्वास छ । ‘हालको परीक्षा सञ्चालन प्रणालीले विद्यार्थीहरूलाई परीक्षाका सम्बन्धमा कुनै प्रकारको नयाँ अनुभूति मिल्ने अवस्था रहेन, यो आफ्नै विद्यालयमा तल्लो तहका नियमित परीक्षाका रूपमा जस्तै सीमित भयो, उहाँले भन्नुभयो, अव यसलाई उनीहरूको निकट भविष्यमा हुने विद्यालय तहको निकै महत्त्वपूर्ण मानिने एसइई परीक्षाको पूर्व अभ्यासका रूपमा विकास गर्नु पर्दछ ।, ताकी विद्यार्थी मानसिक रूपमा पनि त्यसका लागि तयार होस् ।’ यसो गर्दा कक्षा ८ का विद्यार्थीहरूलाई परीक्षाका सम्बन्धमा नयाँ अनुभूति पनि हुने र, यो एसइई परीक्षाको पूर्व अभ्यासका रूपमा समेत महत्त्वपूर्ण हुने नगर प्रमुख आचार्यले बताउनुभयो । यसले अन्तर विद्यालय विद्यार्थी घुलमिल, नयाँ साथीहरूसँग उनीहरूको भेटघाट, नवीन वातावरणमा सामञ्जस्ययता, आफ्नो विद्यालय र अन्य विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाको अनुभूति लगायतमा विद्यार्थीहरूलाई नयाँ सिकाइ प्रदान गर्ने विश्वास गरिएको महानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुसार महानगरपालिकाले विद्यार्थीहरूको सिकाइ प्रवर्द्धनका लागि विभिन्न किसिमका रचनात्मक उपायहरू अवलम्बन गर्दै आइरहेको । सोही अनुसार आधारभूत तहको परीक्षा प्रणालीमा सुधार सहित यसलाई समयानुकूल बनाउन लागिएको उहाँले बताउनुभयो । शिक्षा समितिको बैठकले परीक्षा सञ्चालनका लागि विद्यार्थीहरूलाई पायक पर्ने गरी ३३ वटा परीक्षा केन्द्रहरू उपयुक्त हुने प्रस्ताव समेत गरेको छ । तर, विद्यालय शिक्षाका सरोकारवाला (प्याव्सन, एन प्याव्सन, युनिप्स र पेसागत संघसंगठन) हरूसँग आवश्यक छलफल तथा परामर्श गरी यसलाई टुङ्ग्याइने छ । परीक्षा केन्द्र तोक्दा सामान्यतया परीक्षा सञ्चालन प्रणालीको मापदण्डका आधारमा विद्यार्थीहरूलाई पायक पर्ने गरी नै तोकिएको समितिले जनाएको छ । यस वर्ष पोखरामा १० हजार ५२२ जना विद्यार्थीहरू कक्षा ८ को परीक्षामा सहभागी हुनेछन् । जसमा ६ हजार ५ सय संस्थागत विद्यालयका रहेका छन् भने, ४ हजार २२ जना विद्यार्थी सामुदायिक विद्यालयका रहेका छन् । महानगरपालिकामा ८ हजार बढी विद्यार्थीहरू सामुदायिक विद्यालयहरूमा थपिएका छन् भने, यसलाई व्यवस्थित गर्न हरेक सामुदायिक विद्यालयहरूमा बाल विकासका कक्षाहरू अनिवार्य गरिएको छ । यसले महानगरपालिका भित्रको शिक्षालाई व्यवस्थित गर्न र आधारभूत तहको शिक्षाको पहुँचमा सबै विद्यार्थीहरूको सहभागिता सुनिश्चित गर्न मद्दत पुगेको छ ।
काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निजी क्षेत्रको सहभागीतामार्फत ऊर्जा क्षेत्रको विकासमा सरकार लागेको बताउनुभएको छ । लालुपाते हाइड्रोपावरद्वारा मनाङको नासोङ गाउँपालिका–२ मा निर्माण हुन लागेको ४९.९५ मेगावाटको दानाखोला हाइड्रोपावरको वित्तिय व्यवस्थापन हस्ताक्षर समारोहमा शुक्रबार साँझ आयोजित कार्यक्रममा बोल्दै उहाँले निजी क्षेत्रलाई साथमा लिएर सरकारले राखेको ऊर्जा विकासको लक्ष्य पुरा गरिने बताउनुभएको हो । “सरकारले आम्दानीको मुख्य स्रोतका रुपमा जलविद्युत् क्षेत्रलाई लिएको छ, स्रोतलाई अधिकतम प्रयोग गरेर नीजि क्षेत्रलाई साथमा लिएर यस क्षेत्रको विकास गछौँ, देशभित्रका लगानीकर्तालाई उत्साहित गर्नेगरी सरकारले काम गरिरहेको छ,” उहाँले भन्नुभयो । आयोजना ओगटेर बस्न नहुने उहाँको भनाइ थियो । ऊर्जामन्त्री खड्काले स्रोतमाथिको अधिकार सबैका लागि हुने भन्दै गरिब र विपन्न जनताको लागि सरकारले न्यूनतम व्याजदरमा शेयर खरीद गर्ने व्यवस्था मिलाउन लागेको उल्लेख गर्नुभयो । उहाँले देशका अधिकाशं स्थानमा मोटरबाटो पुगेकाले आयोजना निर्माणका लागि अब धेरै समय नलाग्ने बताउनुभयो । उहाँले छिमेकी मुलुक भारतसहित अन्य मुलुकसमेतले नेपालबाट विद्युत् आयत शुरु गरेकाले बजार सुनिश्चित भएको भन्दै आयोजना निर्माणमा लाग्न लगानीकर्तालाई आग्रह गर्नुभयो । ऊर्जा क्षेत्रलाई चलायमान बनाउन जरुरी रहेको उहाँको भनाइ थियो । सांसद टेकबहादुर गुरुङले समयमा आयोजना पुरा हुनेगरी काम गर्न लगानीकर्तालाई आग्रह गर्नुभयो । उहाँले कृषि, पर्यटन र जलस्रोतको धनी मनाङमा मोटरबाटोको पहुँच सबै स्थानमा पु¥याउन सके समृद्ध जिल्ला बन्ने दावी गर्नुभयो । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले ऊर्जा विद्येयकलाई परिमार्जन गरेर अगाडि बढेमात्र सरकारले १० वर्षमा २८ हजार पाँच सय विद्युत् उत्पादन गर्न राखेको लक्ष्य पुरा हुने बताउनुभयो । मनाङको नासोङ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले आयोजना प्रभावित बासिन्दालाई आयोजनाले रोजगारी र शेयरको शुनिश्चितता गर्नुपर्ने बताउनुभयो । विस २०८४ कात्तिक २ गतेसम्म सक्ने लक्ष्यका साथ निर्माण हुन लागेको दानाखोला हाईड्रोपावरमा मुख्य लगानी सानिमा बैँकको रहेको छ । उक्त जलविद्युत् गृहमा वित्तिय व्यवस्थापनका लागि सानिमा बैँकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र लालुपाते हाईड्रोपावरका अध्यक्ष मोहनकुमार डाँगीले हस्ताक्षर गर्नुभएको छ । लालुपाते हाईड्रोपावरका अध्यक्ष डाँगीले नौ अर्ब ९६ करोडको लगानीमा दानाखोला जलविद्युत् केन्द्र निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।

