पोखरा: त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ को नवौं बार्षिक साधारण सभा एवं तेश्रो अधिवेशनले पुन सुमन भट्टराईको अध्यक्षतामा संचालक समितिको चयन गरेको छ । सभाले कलेजको संचालकमा बलराम ढकाल, भरतकुमार अधिकारी, यदुराज आचार्य, मधुसुदन सापकोटा, हरि बहादुर वुढाथोकी, सोमनाथ बास्तोला, शान्ति खनाल र विनोद लामिछाने चयन गरेको छ । संचालक समितिले मुक्तिनाथ सापकोटालाई कम्पनी सचिवमा नियुक्ती गरेको छ । यसैगरी राजेन्द्रमणि लामिछाने, बाबुराम गिरी, छत्रधर आत्रेय, विष्णु प्रसाद बराल र लोकराज ढकाललाई सल्लाहकारमा चयन गरेको छ । कलेजले त्रिभुवन विश्वविद्यालयबाट गुणस्तर सुनिश्चितताको प्रमाण पत्र प्राप्त गरेपछि अध्ययनका लागि नयाँ कार्यक्रम थप गर्ने जनाएको छ । यसैगरी आवश्यक पूँजि जुटाउन सर्वसाधारणमा आइपिओ जारी गर्न संभाव्यता अध्ययनका लागि एक समिति गठन गर्ने समेत जनाएको छ । यसअघि साधारण सभा एवं अधिवेशनको उद्घाटन गर्दै, गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दु कुमार थापाले बजारको माग अनुरुपको दक्ष जनशक्ति उत्पादनका लागि शैक्षिक कार्यक्रम समावेश गर्न आग्रह गरे । मन्त्री थापाले शिक्षाको गुणस्तर सुधारका लागि विद्यालय र शिक्षामा अभिभावकको भूमिका समेट्नेगरी नीतिमा सुधार हुनु पर्नेमा जोड दिए । उनले विद्यार्थीका लागि शुक्रबारलाई झोला र किताव विहिन बनाउने र उत्पादनसँग जोड्ने गरी मन्त्रालयले कार्यक्रम ल्याएको उल्लेख गरे । मन्त्री थापाले उच्च शिक्षामा समेत कक्षा छाड्ने समस्या बढ्दै गएको उल्लेख गर्दै पाठ्यक्रममा सुधारगरी उत्पादन र रोजगारीमा जोड्दै लैजानु पर्नेमा जोड दिए । उनले शिक्षा नीतिमा देखिएका समस्या समाधान गर्न संघीय शिक्षा मन्त्रीसँग आफ्नो कुराकानी भैरहेको उल्लेख गर्दै, त्यसले प्रदेशलाई पनि सहज हुने बताए । नैतिक शिक्षाका साथ योग र ध्यान एवं प्रणायायलाई समेत शिक्षामा समेट्नु पर्नेमा मन्त्री थापाले जोडदिए । कार्यक्रममा पूर्व कानून मन्त्री यज्ञवहादुर थापाले शिक्षा सुधारका लागि अभिभावक, शिक्षक र विद्यार्थीको समान भूमिका रहने उल्लेख गर्दै, सवैलाई जिम्मेवार बनाउन जोड दिए । उनले विद्यार्थीहरु अध्ययनका लागि विदेश जाने अहिलेको लहरले करोडौं लगानी भएका क्याम्पस तथा विद्यालयहरु खण्डहरमा परिणतहुन सक्ने संकेत गरे । कलेजका प्राज्ञिक सल्लाहकार प्रा.डा. इन्द्र प्रसाद तिवारीले गुणस्तर सुनिश्चितताको प्रमाण पाएपछि कलेजमा एकेडेमिक कार्यक्रम थप गर्नु पर्नेमा जोड दिए ।
गण्डकी: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ को निर्वाचनमा उपलब्धिपत्र लिएर जनतामाझ जानुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित ‘प्रजातान्त्रिक व्यवस्थामा पार्टी र जनप्रतिनिधि’ विषयक प्रदेशस्तरीय गोष्ठी उद्घाटन गर्दै उहाँले चुनावमा जाँदा उपलब्धिपत्र लिएर जानका लागि परिणाम देखाउने गरी काम गर्न निर्वाचित जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । महामन्त्री थापाले निराश हुनुपर्ने अवस्था नरहेको तर आगामी तीन वर्षमा जनताले अनुभूति गर्ने गरी क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । “कांग्रेसको नेतृत्वमा देशमा धेरै उपलब्धि हासिल भएका छन् तर ती कामको प्रचार हुन सकेको छैन । अब थप उपलब्धिका लागि जुनजुन तहको सरकारको जिम्मेवारीमा छौँ, त्यहाँ परिणाम दिनेगरी काम गर्नुपर्छ । तिनै कामको विवरण लिएर आगामी चुनावमा जाने अवस्था बनाउन सबै जिम्मेवारीपूर्वक काममा लागौँ”, उहाँले भन्नुभयो । पार्टी संगठन र निर्वाचित जनप्रतिनिधिबीच संवाद आवश्यक भएको बताउँदै महामन्त्री थापाले त्यसले जनअपेक्षा सम्बोधन गर्न सहयोग पुग्ने धारणा राख्नुभयो । समस्या सुन्ने मात्र नभइ समाधान दिन सक्ने अवस्था सिर्जना गर्न संवादलाई बढावा दिनुपर्ने उहाँको भनाइ थियो । महामन्त्री थापाले पार्टीको काँधमा धेरै जिम्मेवारी रहेकाले आगामी १५औँ महाधिवेशनबाट आउने नेतृत्व पार्टी संगठन सम्हाल्न सक्ने हुनुपर्ने धारणा राख्नुभयो । उहाँले आफ्नो निर्वाचन क्षेत्रमा कामै नगर्ने तर महाधिवेशनको मात्र कुरा गर्न अवस्था बनाउन आग्रह गर्दै आगामी चैतभित्र सदस्यता नवीकरण गर्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । “चैत्र महिनाभित्र नवीकरण नगर्ने क्रियाशील सदस्यको सदस्यता त्यपछि नवीकरण हुुनेवाला छैन । साथै क्रियाशील सदस्यता फाराम दिइएका जिल्लाले समयभित्र क्षेत्रलाई दिएन भने त्यो क्रियाशील फारम नम्बर फ्रिज गरिने छ । क्षेत्रले आफूभन्दा तलका समितिलाई नदिएमा सोहीअनुसार कारबाही हुनेछ”, महामन्त्री थापाले स्पष्ट पार्नुभयो । पार्टीको विधान संशोधनका लागि करिब पाँच महिना लाग्ने र विधान महाधिवेशन गरेर तत्काल पारित हुने र त्यसकै आधारमा महाधिवेशनको प्रक्रिया प्रारम्भ हुने उहाँले जानकारी गराउनुभयो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पार्टी नेतृत्वको सरकारले गरेका कामको प्रचार हुन नसकेको भन्दै पार्टीले अपनत्व लिनुपर्ने बताउनुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले सामाजिक सञ्जाललाई संगठन निर्माणसँगै राम्रा कामलाई जनातामाझ पुर्याउने गरी उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै डा रघुराज वाग्ले र डा हेमराज लामिछानेले जननिर्वाचित प्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनुभयो । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माको सभापत्विमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, केन्द्रीय सदस्य मधु आचार्य, कृष्णचन्द्र नेपाली, नेपाली कांग्रेस गण्डकीका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु)लगायतले सम्बोधन गर्नुभएको थियो ।
पोखरा: ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने नाराका साथ सुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवमा शनिबार दर्शकहरुको उत्साहजनक उपस्थिति रहेको थियो । शनिबार बिदाको दिन समेत परेकाले महोत्सवमा अवलोकन गर्ने दर्शकहरुको संख्यामा वृद्धि भएको हो । महोत्सवको तेस्रो दिन शनिबार २५ हजार दर्शकहरुले अवलोकन गरेको र १ करोड बराबरको कारोबार भएको महासचिव एवं महोत्सव प्रचार प्रसार समितिकी संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिईन । महोत्सवमा शनिबार लोकदोहोरीतर्फ बालचन्द्र बराल, शान्तीश्री परियार, ध्रुव जिसी, तुलसा जिसी, नेत्र खड्का, सरिता लगायतले प्रस्तुती दिएका थिए भने हाँस्यव्यङ्ग्य तर्फ पवन खतिवडा ‘म्याकुरी’को प्रस्तुतीले दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेको थियो । यस्तै बेलुकापख लाईभ कन्सर्टमा रचना रिमाल र सुनिल गिरीको प्रस्तुतीले स्टेज तताएको थियो । शुक्रबार विद्यालयस्तरीय नृत्यतर्फ त्रिवेणी पब्लिक मावि पोखरा–२७, एपेक्स प्रि स्कुल पोखरा–३० र लेकसिटी एकेडेमी मण्टेश्वरी पोखरा–२६ ले नृत्य प्रस्तुत गरेका थिए । महोत्सवमा आइतबार लोकदोहोरी कलाकारहरु श्याम राना, भुमिका गिरी, शंकर विरही गुरुङ, बिन्दा परियार, टेक क्षेत्री, कमला गैह्रे, शिवहरी ढुंगाना र उमादेवी खनालको प्रस्तुती रहनेछ भने बेलुका लाईभ कन्सर्टमा सहिमा श्रेष्ठ, सन्तोष बस्याल र र्यापर शुसिलले प्रस्तुती दिनेछन । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवको सह–आयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश रहेका छन भने प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेका छन ।
पोखरा: पोखरा महानगरपालिका वडा नम्बर १३ ले आयोजना गरेको साहित्य पर्व २०८१ विभिन्न साहित्यिक गतिविधि गर्दै सकिएको छ । पोखरा महानगरपालिकामा नै पहिलो पटक साहित्य र संस्कृतिलाई प्रोत्साहन गर्न आयोजना गरिएको कार्यक्रममा साहित्य संवाद, कविता, गीत, चित्रकला प्रदर्शनी गर्दैै सकिएको हो । ३३ वटा वडा रहेको पोखरा महानगरपालिकामा १३ नम्बर वडाले यो प्रयास थालेको हो । डा. अभि सुवेदीले वर्तमानले देखेको र भविष्यले खोजेको शीर्षकमा विद्वत् प्रवचन दिएर सुरु भएको ‘साहित्य पर्व २०८१’ बाबा राणाको गीतसँगै सकिएको थियो । ‘जब शब्दहरु जीवनका रंगहरु बन्छन्...’ नारासहित सुरु भएको कार्यक्रममा प्रमुख वक्ता डा. अभि सुवेदीले पोखरा १३ मा जन्मिएका लोककवि स्व. अलि मियाँ र कास्कीका पहिलो पत्रकार जगन्नाथ सिग्देललगायतलाई सम्बोधनमै सम्झिएका थिए । डा. सुवेदीले राणाकालिन समयको साहित्य र भविष्यमा हुन सक्ने आर्टिफिसियल ईन्टेलिजेन्ससम्मका विषय उठान गरे । पछिल्लो समय साहित्य र नेपाली राजनीतिको कुनै आकार नभएको विषय पनि डा. सुवेदीले उठाएका थिए । राजनीतिक भविष्यले पनि साहित्यलाई सिधैं असर पार्ने उनको तर्क थियो । भविष्यले चूनौति र समस्या दिने भएकाले त्यसलाई चिरेर अघि बढनु अर्को चूनौति रहेको उनले बताए । ‘राजनीतिज्ञहरुमा साहित्य प्रतिको चाख बढि भयो भने त्यो खतरनाक हुन्छ,’ उनले भने । कार्यक्रमको पहिलो सेसनमा ‘समाज रुपान्तरणमा साहित्यको भूमिका’ विषयमा साहित्यकार सरुभक्तसँग पत्रकार भरत कोइरालाले भलाकुसारी गरेका थिए । उनीहरुले समाज परिवर्तनका लागि गीतm गजल, कविता, कथा जस्ता साहित्यका विधाले खेल्ने भूमिकाका बारेमा चर्चा गरेका थिए । ‘वडा नम्बर १३ इतिहास, वर्तमान र भविष्य’ विषयमा पत्रकार प्रकाश ढकाल र विश्व सिग्देलले छलफल गरेका थिए । नारी स्वरहरुको सेसन साहित्यकार सरस्वती श्रेष्ठले सञ्चालन गरेकी थिइन् । जसमा काजल पराजुली, रजनी परियारलगायतले कविता वाचन र गायिका सलोमी गुरुङले गीत प्रस्तुत गरेकी थिइन् । ‘लोककवि अलिमियाँका लोकगीत तथा तीर्थ श्रेष्ठका केही कविता’ शिर्षकमा पत्रकार शोभाकान्त सिग्देलले तीर्थ श्रेष्ठसँग बसेर स्व. मियाँलाई सम्झेका थिए । भने, अन्तिम सेसनमा पत्रकार दुर्गा अधिकारीले बाबा राणासँग ‘बाबा राणाको सांगितिक जीवनको यात्राँसँगको संवाद गरेका गरेकी थिइन् । कार्यक्रममा साहित्यिक गतिविधिसँगै ¥याप गीत, लोकगीतसमेत समेटिएको थियो । कार्यक्रमस्थल नजिकै वडाभित्रका कलाकारहरुको चित्रकला प्रदर्शनी पनि गरिएको थियो । पोखरा १३ का वडाध्यक्ष किरण बरालले आफ्नो पूर्ववत घोषणा र प्रतिवद्धता अनुरुप साहित्य पर्व गर्न गरिएको सुनाए । अर्को वर्ष यस कार्यक्रमलाई अझ राम्रो ढंगबाट निरन्तरता दिने उनले बताए । कार्यक्रम संयोजक राजेन्द्र भण्डारीले पोखरा १३ को कार्यक्रमको सिको अरु वडाले पनि गर्नुपर्ने बताएका थिए । आगामी दिनमा अन्य वडामा पनि यस किसिमको साहित्यिक कार्यक्रम गर्दै जानुपर्नेमा उनको जोड थियो ।
सर्लाही: सर्लाहीको हरिवनमा छ दिनदेखि बेपत्ता एक पुरुषको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको छ । हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरी उखुबारीमा गाडेको अवस्थामा आज शव फेला परेको प्रहरीले जनाएको छ । उखुबारीमा गाडेको अवस्थामा फेला परेको शवको टाउकोमा चोट देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । मृतक प्रसाईं गत पुस १५ गतेदेखि बेपत्ता हुनुभएको थियो । पुस १५ गते बिहान बरहथवा पैसा लिन जान्छु भनेर हिँडेका प्रसाईं साँझ अबेरसम्म पनि नफर्किएपछि परिवारले खोजी गरेका थिए । कतै फेला नपरेपछि पुस १६ गते बिहान इलाका प्रहरी कार्यालय हरिवनमा निवेदन दर्ता गरेका प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो । “परिवारले १६ गते बेपत्ता भनेर निवेदन दर्ता गरेपछि प्रहरीले उहाँको निरन्तर खोजी गरिरहेको थियो”, प्रहरी उपरीक्षक श्रेष्ठले भन्नुभयो, “खोजतलासको क्रममा उहाँले लगाएको जुत्ता फेला परेपछि प्रदेश प्रहरी कार्यलयबाट कुकुर ल्याएर खोजी गरेका थियौँ । पुस १८ गते सोही वडाको नहर छेउमा मोटरसाइकल र च्यातिएको फोटोसमेत फेला परेको थियो । त्यसपछि १९ गते घटनास्थलको केही किलोमिटरको दूरीमा पर्स फेला परेपछि खोजी तीव्र पारिएको थियो । आज उखुबारीमा शव गाडेको अवस्थामा फेला परेको हो ।” उहाँका अनुसार प्रादेशिक अस्पतालका चिकित्सक र जिल्लाका सुरक्षा अधिकारी, सरकारी वकिलसमेतको उपस्थितिमा खाल्डो खनेर शव निकालेको हो । प्रारम्भिक मुचुल्का पछि शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याइएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेकोे छ । अनुसन्धान कार्यमा बाधा पुग्ने भन्दै निजहरूको पहिचान भने गोप्य राखिएको प्रहरीले जनाएको छ । प्रसाईंको हत्या पछि गाउँ त्रासमा परेको छ । मृतक प्रसाईंले इँटा भट्टा सञ्चालन गर्दै आउनुभएको थियो ।
पोखरा: सहनशील महिला समूह पोखरा ५, राधाकृष्ण टोलमा शनिबार भएको निशुल्क रक्त परीक्षण शिविरमा १ सय २४ जनाको सित्तैमा जाँच गरिएको छ । पोखराको गिरी कम्प्लेक्समा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी)सम्बन्धी निशुल्क जाँच गरिएको हो । कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले मधुमेह र टिजीका समस्या हुने कारण, निदान र उपचार पद्धतिबारे प्रकाश पारे । उनले उचित खानपान, नियमित व्यायम, बेला बेलामा चेकजाँच गरे यी रोग लाग्ने सम्भावना कम हुने र लागि हाले पनि बेलैमा उपचार गर्दा अनेक कठिनाइबाट बच्न सकिने उल्लेख गरे । पोखरा ५ का कार्यवाहक वडाध्यक्ष गोविन्दप्रसाद पराजुलीले यस खालका शिविरले नागरिकलाई स्वास्थ्यको महत्व बुझाउँदै टोल टोलमै गुणस्तरीय स्वास्थ्य सेवासमेत पु¥याउने उल्लेख गरे । गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणित रेफरेन्स ल्याब युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले स्थापना कालदेखि नै सेवासँगै सामाजिक उत्तरदायित्व निर्वाहसमेत गर्दै आएको उल्लेख गरे । युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले अहिले प्रदेशका १५ शाखाबाट सेवा प्रदान गरिरहेको जनाउँदै चाँडै केही जाँचहरु थप्ने योजनासमेत सुनाए । युआरएलले विभिन्न संघ, संस्थाको सहकार्यका आयोजना गरेको यो एक सय ८७ औ शिविर हो । यी शिविरमा अहिलेसम्म दुई लाखभन्दा बढीले सित्तैमा सेवा लिइसकेका छन् । सहनशील महिला समूहकी अध्यक्ष विजयलक्ष्मी कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष रमा कोइराला, लक्ष्मणप्रसाद कोइराला, पूर्वअध्यक्ष सुमित्रा कोइराला, सचिव सुनिता लामिछाने कोइराला लगायतले बोलेका थिए ।
कञ्चनपुर: ‘ढोग दिया’ शब्दको दुरूपयोग भएकोप्रति देउडा संस्कृति संरक्षण प्रतिष्ठानले आपत्ति प्रकट गरेको छ । प्रतिष्ठानका अध्यक्ष धु्रवबहादुर सिंहले सुदूरपश्चिमको मौलिक संस्कार, भाषा–संस्कृतिलाई होच्याउने खालका गीत सङ्गीतप्रति आपत्ति प्रकट गर्नुभएको हो । प्रेस विज्ञप्ति जारी गर्दै उहाँले भूगोल विशेष क्षेत्र, सम्प्रदाय, जातजाति तथा समुदायसँग जोडिएको मौलिक कला संस्कृति, परम्परालाई अपमानित गर्ने खालका गीत सङ्गीत प्रसारणमा रोक लगाउनका लागि सम्बन्धित निकायसँग माग गर्नुभएको छ । काली–कर्णालीको मौलिक संस्कार र सभ्यतासँग जोडिएका ओजपूर्ण शब्दहरूलाई शिष्टताको खिल्ली उडाउने र अपहेलित गराउने कार्य तत्काल बन्द हुनुपर्ने उहाँको भनाइ रहेको छ । संस्कृति र परम्परालाई अपमानित गर्ने खालका सामाजिक सञ्जालमा प्रकाशन, प्रसारण हुँदै आएका अपाच्य गीत सङ्गीत तथा विषयवस्तु प्रकाशन प्रसारण गर्ने र तयार गर्नेहरूमाथि उहाँले कारबाहीको माग गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशमा मान्यजनको आदर गर्दै खुट्टामा दण्डवत् प्रणाम गरी आर्शिवाद लिने कार्यलाई ढोग दिने भनिन्छ ।
म्याग्दी: प्रविधिको प्रयोग गरी सेवा प्रवाहमा सहजता ल्याउन, दोहोरो सुविधा हटाउने र लक्षित वर्गसम्म योजना तथा कार्यक्रमको पहुँच बढाउन बेनी नगरपालिकाले सबै घरपरिवारको विद्युतीय अभिलेखीकरण गरेको छ । सबै घरपरिवारको विस्तृत विवरण रहेको आर्थिक सामाजिक जोखिम व्यवस्थापन सूचना प्रणाली प्रयोगमा ल्याएको हो । यस्तो सूचना प्रणालीको प्रयोग गर्ने बेनी नगरपालिका नेपालकै पहिलो स्थानीय तह भएको नगर प्रमुख सुरत केसीले बताउनुभयो । “घरदैलो गरेर सबै नगरवासीको घरपरिवारको विवरण सङ्कलन गरेर सफ्टवेयरमा राखेका छौँ”, उहाँले भन्नुभयो, “लक्षित समुदाय र आवश्यकता पहिचान गरेर कार्यक्रम सञ्चालन गर्न यो सूचना प्रणालीले सहयोग गरेको छ ।” कोही एकै व्यक्तिले दोहोरो, तेहोरो सुविधा पाउने र कसैले नपाउने अवस्थाको अन्त्य हुने नगर प्रमुख केसीले बताउनुभयो । प्रणालीमा घरको तस्बिर, परिवारका सदस्य, उनीहरूको रोजगार, आर्थिक, शैक्षिक, स्वास्थ्य अवस्थालगायत ९२ किसिमका सूचना राखिएको छ । दश किसिमका व्यक्तिगत सूचनालाई गोप्य राखिएको छ । नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, सचिव र विषयगत शाखाका कर्मचारीको पहुँच हुने प्रणालीको विवरण अद्यावधिक गर्ने अधिकार पनि उनिहरूलाई नै दिइएको छ । यही प्रणालीका आधारमा बेनी नगरपालिकाको १० वटा वडाका सात हजार चार सय ४० घरमा क्युआर कोडसहितको विद्युतीय घर नम्बर प्रणाली लागू भइसकेको छ । यसबाट घरधनीको नाम र सम्पर्क नम्बरबाट घरको स्थान पहिचान गर्न सकिनेछ् । सूचना प्रणालीको विवरण सङ्कलन गर्ने क्रममा पहिचान भएका तीन सय ४० जना विपन्न महिलालाई संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी०को सम्बोधन परियोजनामार्फत आयआर्जनमुलक क्रियाकलाप गर्न बीउपुँजी स्वरूप रू २७ हजारका दरले सहयोग गरिसकेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो । “सूचना प्रणालीको अधिकतम प्रयोग गरेर विकास आयोजना र कार्यक्रमलाई लक्षित समुदायको पहुँचमा पुर्याउने प्रयास गरेका छौँ”, उहाँले भन्नुभयो, “योजना निर्माण र कार्यान्वयनका लागि आर्थिक सामाजिक जोखिम सूचना प्रणालीले सहयोग गरेको छ ।” टहरामा बस्दै आएका सात घरपरिवारका लागि यस वर्ष घर बनाउने कार्यक्रम पनि यही सूचना प्रणालीबाट प्राप्त जानकारीका आधारमा बनाएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । युएनडिपीको आर्थिक सहयोगमा स्थानीय गैरसरकारी संस्था सङ्गममार्फत प्रत्येक बस्तीमा जनशक्ति परिचालन गरेर घरधुरीको विवरण सङ्कलन गरिएको थियो । युएनडिपीले कोड फ्युजन कम्पनीमार्फत विकास गरेको सफ्टवयरको अवधारणा, डिजाइन र विवरण राख्ने काम नगरपालिकाका सूचना प्रविधि अधिकृत खिम खत्री नेतृत्वको कर्मचारीहरूले गरेका थिए । सफ्टवयर निर्माण, घरधुरी सर्वेक्षण र प्रणालीमा प्रविष्ट गराउन रू ३९ लाख खर्च भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । म्याग्दीको बेनी नगरपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका र सुर्खेतको पञ्चमुल गाउपालिकामा आर्थिक सामाजिक जोखिम व्यवस्थापन सूचना प्रणाली प्रयोगमा ल्याउन युएनडिपीले सहयोग गरेको थियो । पुतलीबजार र पञ्चमूलभन्दा अघि बेनी नगरपालिको प्रणालीको विकास गरी प्रयोगमा ल्याइसकेको नगर प्रमुख केसीले बताउनुभयो ।
ढोरपाटन: चिसो बढेपछि ढोरपाटन उपत्यका सुनसान बन्न थालेको छ । मङ्सिर अन्तिम सातासम्म पर्यटकको चहलपहल रहेको ढोरपाटनमा पुस पहिलो सातादेखि नै सुनसान बन्दै गएको हो । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको ढोरपाटनमा बर्सेनि पर्यटक बढ्दै गएका छन् । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यहाँको मनमोहक दृश्यको प्रचार हुँदै गएपछि पर्यटकको आकर्षण बढेको हो । जाडोका कारण स्थानीय बासिन्दासमेत बोबाङ, अधिकारीचौर र निसीखोला झर्ने हुँदा ढोरपाटन सुनसान हुने गर्छ । पर्यटकको आगामन कम भएपछि यहाँ संचालित होटल व्यवसायी पनि फुर्सदिला बनेका छन् । ढोरपाटनमा हिउँ परे घुम्न आउने पर्यटक बढ्ने भए पनि अहिले सुनसान भएको ढोरपाटन होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन अदैले बताउनुभयो । ढोरपाटनमा घुम्ती बसाई हुने हुँदा यति बेला धेरै स्थानीय बेँसी झरेको उहाँको भनाइ छ । अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष पर्यटकको सङ्ख्या बढेको भन्दै हरेक वर्ष पुसदेखि फागुनसम्म पर्यटक आगमन निकै कम हुने अध्यक्ष अदैले बताउनुभयो । अध्यक्ष भण्डारीले भन्नुभयो, “यो यामनै ढोरपाटनमा कम चहलपहल हुने गर्छ, चिसो बढेको छ, चिसोका कारण कम मात्रमा पर्यटक आउने गरेका छन्, मङ्सिरसम्म दैनिक एक सय ५० जना पर्यटक घुमफिरका लागि आउने गर्थे भने अहिले घटेर ३०÷४० जना मात्रै आउने गरेका छन्, प्रचारप्रसार निकै भएर होला पहिलेका वर्षहरूमा भन्दा अहिले पर्यटकको सङ्ख्या बढ्दै गएका छन् ।” पाँच वर्ष अगाडिसम्म ढोरपाटनमा होटल व्यवसाय गर्ने स्थानीय कम थिए । तर अहिले ढोरपाटन उपत्यकामा मात्रै करिब ४० हाराहारी होटल सञ्चालनमा छन् । चिसोका कारण पाहुन आउन कम भऐपछि केही दिनका लागि आफू पनि बेसी झरेको होटल व्यवसायी श्यामलाल घिमिरेले बताउनुभयो । पछिल्लो समय ढोरपाटनमा बास बस्ने र खाना खाने सुविधा बढ्दै गएपछि पर्यटकको आकर्षण बढ्दै गए पनि यो सिजनमा कम भएको उहाँको भनाइ छ । अहिले शुक्रबार र शनिबार फाट्टफुट्ट पाहुन ढोरपाटन पुग्ने घिमिरे बताउनुहुन्छ । आएपश्चिम बागलुङको ठूलो व्यापारी केन्द्र बुर्तिबाङ बजारदेखि करिब ३२ किलोमिटरको दूरीमा रहेको ढोरपाटनसम्म कच्ची सडक पुगेको छ । राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकले ढोरपाटन जोडिएपछि थप चर्चा पाएको छ । तर उक्त सडक स्तरोन्नति नहुँदा पर्यटकले सास्ती खेप्नु परेको छ ।

