सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

पोखरा:    एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब थाइल्यान्डले सान्त्वना जित निकालेको छ । पोखरा रंगशालामा बुधबार बिहान भएको खेलमा ट्राभल इन्क्वारीले आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटले पराजित गरेको हो ।  दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका थिए । प्रतियोगितामा ट्राभल इन्क्वारीले एकमात्र जित निकाल्यो । आर्मी भने जितविहीन रहँदै प्रतियोगिता टुंग्यायो । पहिलो सेट र दोस्रो सेट समान १८–२५ ले ट्राभल इन्क्वारीलाई सुम्पिएको आर्मीले तेस्रो सेटमा पुनरागमन गर्दै २६–२४ ले जित हासिल गरेको थियो । आर्मी चौथो सेटमा पुनः १९–२५ ले पराजित हुँदै खेल ट्राभल इन्क्वारीलाई सुम्पियो ।  

पोखरा:    गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सहिद दिवसले देश र जनताप्रति समर्पित भएर लाग्नका लागि सम्पूर्ण पक्षहरुलाई प्रेरणा मिल्ने अपेक्षा गर्नुभएको छ । सहिद दिवस, २०८१ को अवसरमा सन्देश जारी गर्दै भट्टले राष्ट्र, राष्ट्रियता, समानता, स्वतन्त्रता, नागरिक हक अधिकारको रक्षा, लोकतन्त्रको स्थापना लगायतका न्यायपूर्ण आन्दोलनहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । प्रदेश प्रमुख भट्टले निरङ्कुश तानाशाही व्यवस्थाविरुद्धको संघर्षमा आफ्नो जीवन बलिदान गर्ने सहिदहरूको सपना पूरा गर्न दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास व्यक्त गर्नुभयो । शुभकामना सन्देशमा भनिएको छ– ‘आजको दिन नेपाल र हामी सबै नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताको लागि आफ्नो जीवन बलिदान गर्ने शहिदहरूप्रति विशेष सम्मान व्यक्त गर्ने दिन हो ।  महान् सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ लगायतको बलिदानद्वारा प्राप्त भएको प्रजातन्त्रदेखि इतिहासको विभिन्न कालखण्डमा महान योद्धाहरूको योगदानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्राप्त भएको छ ।’ यो दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि सहादत प्राप्त गरेका सहिदहरूको आकांक्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभएको छ । 

काठमाडौं:    हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् रोजन लामिछानेका अनुसार आज अपराह्नसम्म काठमाडौं उपत्यकामा आंशिक बदली हुने सम्भावना छ । आज बिहान यहाँको न्यूनतम तापक्रम ८ दशमलव ५ डिग्री सेल्सियस कायम रह्यो भने अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियस रहने पूर्वानुमान गरिएको उहाँले जानकारी दिनुभयो । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भोगमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । साथै कोशी,वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्नेछ । विभागले बिहीबार बिहान तराईका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाईउड्डनमा असर पर्नसक्ने भएकाले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

काठमाडौं:    प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज सहिद दिवस देशभर मनाइँदै छ ।   विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । सहिदलाई प्रत्येक यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट सहिदको सपना पूरा गर्न लागि परेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ ।   माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद  सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा  र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए । माघ १६ गते बुधबार सहिद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरि कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।  प्रधानमन्त्री, मन्त्री, सरकारका उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरि सहिद  स्मारक लैनचौर पुगी ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।       यसैगरी लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्नुहुने सहिदको सम्झनामा मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णयअनुसार उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय सहिद स्मारकमा कार्यक्रमको तयारी भएको जनाइएको छ ।  वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिने राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिको आयोजनामा कार्यक्रम गर्न लागेको अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिनुभयो ।    विसं २०६३ अघि सहिद दिवसका दिन राज्यका तर्फबाट सहिद गेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यसपछि भने लैनचौरस्थित सहिद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ । सहिद गेटमा पनि विभिन्न सङ्घ संस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन् ।  पछिल्लो समय नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकमा सहिदप्रति श्रद्धाञ्जली गर्ने स्थल राखिने घोषणा गरिएको छ ।   स्मारकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत उच्च पदस्थले शपथ लिएपछि सहिदलाई श्रद्धाञ्जलि अर्पण गर्ने गरी तयारी गरिएको छ ।  विदेशी पाहुना आउँदा स्वतन्त्रताका लागि जीवन अर्पण गर्ने सहिदको सम्झना स्वरुप पुष्पगुच्छा अर्पण गर्ने स्थल बनाइने जनाइएको छ । 

पोखरा महानगरपालिका–११ रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरमा ‘नेपाल नर्सिङ दिवस’ मनाइएको छ ।    मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरको आयोजनामा आज हस्पिटलमा कार्यरत नर्सहरुले दिवस मनाएका हुन् ।    मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरमा आयोजित कार्यक्रममा हस्पिटलमा कार्यरत ममता थापा, सुस्मिता विश्वकर्मा र सविना माकाजुले  नेपाल नर्सिङ दिवसको शुभकामना दिदैं उनीहरुले नागरिकको जिवन समर्पण गर्ने पेशामा आवद्ध हुनु आफैमा गौरवको विषय भएको धारणा राखिन् ।    यस्तै कार्यक्रममा हस्पिटलका मेडिकल डाइरेक्टर डा. सरोज पोखरेलले बिरामीको सेवा गर्ने कर्तव्य रहेको बताए ।   ‘हस्पिटलमा हाम्रो कर्तव्य भनेको आफ्नो बुवाआमालाई जस्तै बिरामीको सेवा गर्ने हाम्रो कर्तव्य हो, डा. पोखरेलले भने, ‘हामीहरुको भन्दा बिरामीलाई बढी समय तपाईहरुको हुन्छ, बिरामी हस्पिटलमा आउँदा हामीले आफ्नो बुवाआमालाई जस्तै व्यवहार गर्नुपर्छ’ ।    उनले हस्पिटलको समयमा बिरामी, बिरामीका करुवा, डाक्टर लगायतले केही चर्को बोल्दा झर्को लाग्ने भएपनि आफु कार्यरत रहेको संस्थामा प्रतिवद्ध भएर लाग्दा आफु मात्र नभएर संस्था नै राम्रो हुने उल्लेख गरे ।      मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका प्रमुख सञ्चालक अधिकृत प्रकाश विकले हस्पिटलमा कार्यरत नर्स, डा तथा कर्मचारीहरुका परिश्रमिकलाई वृद्धि गर्दै जाने बताए ।    कार्यक्रममा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका कम्पनी सचिव गौतम पौडेलले नर्सहरुको योगदात विगतदेखि वर्तमानसम्म अतुलनीय रहेको बताए ।    ‘विशेषगरी हेल्थकेयरमा नर्सहरुको योगदान विगतदेखि वर्तमानसम्म अनुलनिय छ, हिजो हस्पिटल स्थापना कालसम्म होस् या कोरोनाको समयमा अन्य अस्पतालका ढोका बन्द हुँदा हाम्रो हस्पिटलमा तपाईहरुले दिनुभएको सेवा, सचिव पौडेलले भने, ‘ हामी छिटै नै बीमासँग जोडिदै छौं, बीमासँग जोडिएपछि तपाईहरुले जुन माग राख्दै आउनुभएको छ त्यो पनि हामी पूरा गर्छौ ।’     नर्सहरुको पेशागत सुरक्षा र हकहितका लागि भन्दै २०१८ माघ १५ गते नेपाल नर्सिङ संघको स्थापना भएको थियो ।   संघकै स्थापना दिनको अवसरमा नेपाल नर्सिङ दिवस मनाउन थालिएको हो । 

पोखरा:    एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत भोलि बुधबार लिग चरणका ४ खेल हुने भएका छन् ।  टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा जारी उक्त प्रतियोगिताको पाँचौं दिन भोलि महिला र पुरुषतर्फ दुईदुई खेल हुने तालिका छ । पहिलो र दोस्रो खेल महिलातर्फको हुनेछ । पहिलो खेल प्रतियोगिताबाट बाहिरिसकेका ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब थाइल्यान्ड र त्रिभुवन आर्मी क्लबबिच हुनेछ । प्रतिष्ठाका लागि हुने उक्त खेल बिहान पौने ९ बजेबाट सुरु हुनेछ । दोस्रो खेल बिहान पौने ११ बजे पहिलो क्वालिफायर खेल्ने टुंगो लागेका सशस्त्र प्रहरी बल एपिएफ र आयोजक टाइगर ग्रुप पोखराबिच हुनेछ । यो खेलले ‘जित्ने समूह’ को विजेता र उपविजेताको भने टुंगो लगाउनेछ । उक्त समूहबाट तेस्रो हुँदै पुलिस एलिमिनेटरमा प्रवेश गरिसकेको छ । भोलिको तेस्रो र चौथो खेल पुरुषतर्फको हुनेछ । तेस्रो खेलमा टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र सशस्त्र प्रहरी बल एपिएफबिच हुनेछ । उक्त खेल पौने १ बजे सुरु हुनेछ ।  भोलिको चौथो तथा अन्तिम खेल दिउँसो पौने ३ बजे भारतको सुनिल भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबिच हुनेछ । यसअघि आइतबार स्थगित भएको गण्डकी प्रदेश र हेल्प नेपालबिचको खेल बिहीबार हुने आयोजकले जनाएको छ । आज भएको खेलमा पुरुषतर्फ आर्मीले पुलिस र गण्डकी प्रदेशले एपिएफलाई पराजित गरेको थियो । यस्तै महिलातर्फ आयोजक टाइगर ग्रुपले टिपटप न्यू डायमण्ड स्पोटर््स क्लब र पुलिसले आर्मीलाई पराजित गरेको थियो ।

पोखरा:    एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।  टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम खेलमा आर्मीले पुलिसलाई ३–१ को सेटले पराजित गरेको हो । पहिलो सेटमा २५–१३ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २१–२५ ले पुलिसलाई सुम्पिएको थियो । तेस्रो सेट र चौथो सेटमा पुनरागमन गर्दै आर्मीले खेल आफ्नो पोल्टामा पा¥यो । आर्मीले तेस्रो सेट २५–१५ र चौथो सेट २५–२२ ले जित हासिल ग¥यो ।  ‘जित्ने समूह’ अब आर्मीले भोलि भारतको सुनिल भलिबल क्लबसँग प्रतिष्पर्धा गर्नेछ । यो समूहबाट शीर्ष दुईमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । तेस्रो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ । महिलातर्फ भने पहिलो क्वालिफायर खेल्ने टोलीको टुंगो लागेको छ । एक खेलअगावै आयोजक टोली र एपिएफले पहिलो क्वालिफायर खेल्ने टुंगो लागेको हो ।  पुलिस र न्यू डायमण्डले एलिमिनेटर खेल्नेछन् । पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरमा विजयी हुने टोलीले फाइलन प्रवेशका लागि दोस्रो क्वालिफायरमा प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।

पोखरा:    टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई हराउँदै आयोजक टोली एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ क्वालिफायरमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आज भएको खेलमा आयोजक टोलीले न्यू डायमण्डलाई ३–० को सोझो सेटमा पराजित हो ।  योसँगै महिला टोलीतर्फ ‘जित्ने समूह’ बाट आयोजक टोली र सशस्त्र प्रहरी बल एपिएफ शीर्ष दुई स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने टुंगो लागेको छ । पहिलो र दोस्रो स्थानको टुंगो भने लिगको अन्तिम खेलबाट लाग्नेछ । लिग चरणको एक खेल अगावै आयोजक टोलीले ३–३ अंक जोड्दै पहिलो क्वालिफायर खेल्ने टुंगो लागेको हो । उक्त समूहबाट दुवै खेलमा पराजित भएको न्यू डायमण्डले ‘हार्ने समूह’ बाट शीर्ष स्थानमा रहेको नेपाल पुलिस क्लबसँग एलिमिनेटरमा प्रतिष्पर्धा गर्नेछ । आजै भएको पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटले पराजित गरेको थियो । अहिले पुरुषतर्फको गण्डकी प्रदेश र सशस्त्र प्रहरी बल एपिएफबिच खेल जारी छ । त्यसपछि पुरुषतर्फ नै नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल दिउँसो पौने ३ बजेबाट सुरु हुनेछ ।

काठमाडौं:     स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा ९०० सय रुपैयाँले घटेको हो ।  आज एक तोला छापावाल सुनको मूल्य एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घका जनाएको छ । सोही परिमाणको सुनको मूल्य सोमबार एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।  यसैगरी, सोमबार एक  हजार ८५० रुपैयाँ कायम भएको एक तोला चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।