स्याङ्जा । अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ । पहिरोले गोठ पुरिँदा दुई चौपायामा समेत क्षति पुगेको छ ।   जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बिहीबार बिहान गल्या...

पोखराः नेपाल कम्युनिष्ट पार्टी एमालेले पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार फेरबदल गरेको छ ।   यसअघि उक्त पदका लागि दीपक पौडेल सिफारिस भएका थिए । सामाजिक सञ्जालमा सुन चोरीको भिडियो भाइरल भएपछि एमालेले पौडेलको सट्टा कृष्ण थापालाइ उम्मेदवार बनाउने निर्णय गरेको हो । भाइरल भिडियोमा सुन पसलमा एक व्यक्तिले चोरी गरेको देखिन्छ । भिडियोमा चोरी गर्ने व्यक्ति पौडेल भएको भन्दै सामाजिक सञ्जालमा भाइरल छ ।   विभिन्न टिप्पणी हुदै आएपनि पौडेलले भने भिडियोमा देखिने व्यक्ति आफू नभएको भन्दै स्पष्टोक्ति दिदै आएका थिए । चोरी केसमा संलग्न व्यक्तिलाई मयेरको टिकट दिइएको भन्दै एक पक्षले असन्तुष्टी पोख्दै आएको थियो । अहिले टिकट पाएका कृष्ण थापा यसअघि २०५४ को निर्वाचनमा पोखराको मेयरमा निर्वाचित भएका थिए ।   उनी गण्डकी प्रदेश सभा सदस्य तथा एमालेका केन्द्रीय सदस्य हुन् । यता उपमेयरमा भने मञ्जुदेवी गुरुङ नै यथावत रहेको एमाले कास्कीले जनाएको छ ।

आसन्न स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनय सुरु भएको छ । देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यलयमा बिहान १० बजेदेखि उम्मेदवारको मनोनय सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।   आयोगले आज बिहान १० देखि अपराह्न ५ बजेसम्म र सोमबार पनि बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्नसक्ने कार्यतालिका बनाएको छ । विगतका स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम एक दिनको रहेकामा एक दिनमा मनोनय दर्ता गर्दा उम्मेदवार, राजनीतिक दल, निर्वाचन अधिकृतको कार्यालय समेतले कार्य चाप धान्न कठिन भएको र केही स्थानीय तहको उम्मेवारी दर्ता भोलिपल्ट बिहानसम्म गर्नुपरेकाले उम्मेदवारको मनोनय दुई दिन राख्न राजनीतिक दल तथा सरोकारवालाबाट प्राप्त सुझावका आधारमा आइतबार र सोमबार मनोनयन दर्ता गर्ने कार्यक्रम बनाएइको आयोगको प्रष्टीकरण छ ।   यही वैशाख ८ गते देशभरका स्थानीय तहका केन्द्र रहेका स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका थिए । कानूनबमोजिम स्थानीय तह सदस्यको निर्वाचनमा उम्मेदवार बन्न योग्यता पुगेका कुनै पनि व्यक्तिले कुनै पनि समयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गर्न सक्ने आयोगले जनाएको छ ।   स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख पदका लागि उम्मेदवारी दिने व्यक्तिले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी राखेको बैंक भौचर वा नगद रसिद, दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको औपचारिक पत्र र सम्बन्धित स्थानीय तहको कुनै वडाको मतदाता नामावलीमा नाम समावेश भएको तथा वडाअध्यक्ष र वडा सदस्यले सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा तथा उम्मेदवारको स्वघोषणा पेश गर्नुपर्नेछ । दलित महिला वडा सदस्यले दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा पनि पेश गर्नुपर्ने आयोगले जनाएको छ ।   स्थानीय तहको प्रमुख वा उपप्रमुखमा उम्मेदवार दिने व्यक्तिले धरौटीबापत रु एक हजार ५००, वडाध्यक्षले रु एक हजार र वडा सदस्यले रु ५०० धरौटी राख्नुपर्ने आयोगले जनाएको छ । महिला, दलित, विपन्न तथा अल्पसङ्ख्यक उम्मेदवारको हकमा धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ । सोमबार साँझ नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।   वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने तथा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेको छ ।   मनोनयनसँग सम्बन्धित सम्पूर्ण कार्य सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट हुने आयोगले जनाएको छ ।

पोखराः नेकपा एमालेको शनिबार साँझ बसेको केन्द्रीय कमिटीको सचिवालय बैठकले देशभरका ६ महानगरपालिकाका मेयर उपमेयरका उम्मेदवार टुंगो लगाउने क्रममा पोखरामा दिपक पौडेललाई चयन गरेको छ ।    उपमेयरमा भने मञ्जुदेवि गुरुङकै नाम सिफारिश गरिएको छ । यसअघि सञ्चारकर्मीसँग महानगरमा प्रतिष्पर्धा नगर्ने अभिव्यक्ति दिएकी गुरुङ्लाई एमालेले पुनः दोहो¥याउने भएको हो ।   मेयरमा सिफारिश पौडेल शिक्षण पृष्ठभूमिबाट आएका हुन् । पौडेल हाल प्रदेश कमिटी सदस्य छन् ।   यसअघि विभिन्न नामहरु चर्चामा आएपनि पौडेलले बाजी मार्न सफल भए । उपमयेरमा गुरुङ् समुदायकै उम्मेदवार आवश्यक रहेको र अन्य महिला नेतृले मेयरमा दाबी गरेका कारण पुनः गुरुङलाई टिकट दिइएको आंकलन गरिएको छ ।    गत चुनाबमा पोखराको मेयर पदमा एमालेका उम्मेदवार मान बहादुर जिसीले ७३ हजार मतले चुनाव जित्दा नेपाली कांग्रेसका उम्मेदवार रामजी कुँवरले करीब ६० हजार मत पाएका थिए।

सप्तरी- हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा आज दुईवटा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।   हनुमाननगर कङ्कालिनी नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप यादव र बुच्चु भनिने २५ वर्षका रञ्जीत यादवको मृत्यु भएको प्रहरी उपरीक्षक अविनारायण काफलले जानकारी दिनुभयो ।   सप्तरीको भारदहबाट पथरगाडातर्फ लागि जन्ती जाँदै गरेको प्रदेश १–०२४१ प २२९६ नम्बरको मोटरसाइकल र प्रदेश १ –०२०४१ प ९५२४ नम्बरको मोटरसाइकल एकापसमा ओभरटेक गर्ने क्रममा ठोकिएका थिए ।

जुम्लाः तिला गाउँपालिकाका–३ जुम्ला कुडारी सार्कीवाडा गाउँमा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ ।   आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ । मृत्यु हुनेमा सार्कीका छोरीहरु ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख नायब उपरीक्षक नरेन्द्र चन्दले राससलाई जानकारी दिनुभयो ।   “आगलागीबारे राति ११ः४५ बजे हामीलाई जानकारी भयो”, प्रहरी नायब उपरीक्षक चन्दले भन्नुभयो, “सूचना पाउने बित्तिकै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईसहितको टोलीले त्यहाँ पुगेर आगो नियन्त्रणमा लियो ।” आगलागीबाट घरको दोस्रो र तेस्रो तला पूर्णरुपले क्षति भएको उहाँले बताउनुभयो ।   आगलागीका कारण बेहोस भएका मानसिं र उहाँकी श्रीमती फागुनी तथा बहिनी रुन्चकलीलाई उपाचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । मृतक चारै बालबालिकाको शव परीक्षणका लागि प्रतिष्ठानमा ल्याउँदै गरेको उहाँले जनाउनुभयो । घटना कसरी भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हेटौँडा: मदन भण्डारी फाउण्डेसनले हेटौँडा उपमहानगरपालिका–९ मा निर्माण हुँदै गरेको जननेता मदनकुमार भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।   फाउण्डेसनका सचिव पेम्बा लामाले आज विज्ञप्ति जारी गरेर लोकतान्त्रिक र सामाजिक रुपान्तरणको आन्दोलनमा होमिएबापत मृत्यु वरण गर्नुपरेका दुई लोकप्रिय नेताका नाममा स्थापित संरचनालाई क्षति पु¥याउनु विकृत मानसिकता र अलोकतान्त्रिक व्यवहार भएको उल्लेख गर्नुभएको छ ।   विज्ञप्तिमा लोकतन्त्रको उच्चतम् अभ्यासका रुपमा रहेको स्थानीय तह निर्वाचनको प्रक्रिया सुरु भएसँगै भएको यो घटनाले लोकतान्त्रिक शक्तिलाई चुनौती दिएको अनुभूति भएको जनाउँदै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउनुपर्ने बताउनुभएको छ ।   विद्युतीय सवारी साधनसम्बन्धी अन्तक्र्रियामा उहाँले वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिनुपर्ने बताउनुभएको हो । पेट्रोलियम पदार्थको विश्वव्यापी बढ्दो उपभोग र आकासिँदै गएको मूल्यले देशको मुद्रा बाहिरिएको भन्दै विद्युतीय सवारीको प्रयोगलाई बढावा दिनुपर्ने बताउनुभयो ।   “यातायात क्षेत्रमा प्रयोग हुने खनिज इन्धनबाट हुने मुद्रा बहिर्गमन, वैदेशिक निर्भरता, वातावरण प्रदूषण विश्वमा भएको जलवायु परिर्वतनको सन्दर्भमा विश्व उष्णीकरण, हरित ग्यास तथा हानिकारककणजन्य तत्वको उत्र्सजन गर्ने विषयजस्ता कार्यमा यातायात क्षेत्रबाट वातावरणमा उत्पन्न हुने नकरात्मक असरलाई न्यूनीकरण गर्दै हरित विकास गर्नुपर्ने अवश्यकता छ”, उहाँले भन्नुभयो । मन्त्री पौडेलले अनसन्धानलाई प्रोत्साहन गर्ने गरी मन्त्रालय अघि बढेको बताउँदै अप्ठ्यारो परेका बेला गाँठो फुकाउने आश्वासन दिनुभयो ।   उहाँले देशमा वायु प्रदूषण बढिरहेको बताउँदै प्रदूषण नियन्त्रण गर्ने गरी काम गर्न अनुसन्धानकर्तालाई आग्रह गर्नुभयो । “पेट्रालियम पदार्थको मूल्यवृद्धि र वायु प्रदूषण दिनप्रतिदिन बढिरहेको छ”, मन्त्री पौडेलले भन्नुभयो, “अहिलको अवस्थालाई मध्यनजर गर्दै विद्युतीय सवारीको प्रयोगलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ ।”

ओखलढुङ्गा, वैशाख ९ गते । बैशाख ३० मा हुने स्थानीयतहको निर्वाचनमा उम्मेदवारी दर्ता गर्नका लागि ओखलढुङ्गाका २० जना शिक्षकले जागिरबाट राजीनामा दिएका छन् ।    स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसँगै २० जना शिक्षकले जागिरबाट राजीनामा दिनुभएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख नेत्रप्रसाद गजुरेलले बताउनुभयो ।   देवी आधारभूत विद्यालय मानेभञ्ज्याङका शिक्षक रामचन्द्र महतो, सरस्वती आधारभूत विद्यालय रावादोलुका रामबहादुर बस्नेत, कालिका आधारभूत विद्यालय आहालेका शिक्षक चन्द्र कटुवाल, जेसे माध्यमिक विद्यालय पात्लेका गुन्जबहादुर सुनुवार, बालज्योति माध्यमिक विद्यालय चित्रेका शिक्षक मधुकरप्रसाद चौधरी, जन्तरखानी माध्यमिक विद्यालय जन्तरखानीका प्रधानाध्यापक मेखबहादुर मगरको राजीनामा स्वीकृत भएको एकाइ प्रमुख गजुरलले जानकारी दिनुभयो ।    यस्तै हिमगंगा माध्यमिक विद्यालय रावादोलुका शिक्षक डिल्लीराम बस्नेत, तिलक विश्वकर्मा र टोपबहादुर बस्नेत लगायत हर्कपुर माध्यमिक विद्यालय मानेभञ्ज्याङका गोविन्दप्रसाद अधिकारी, कालिका आधारभूत विद्यालय चुहानछापका शिक्षक जयकुमार कार्की, कालिका आधारभूत विद्यालयका भालुथुम्काका शिक्षक युवराज घिमिरेको पनि राजिनामा स्वीकृत भएको छ ।    सोडान्तर आधारभूत विद्यालय मानेभञ्ज्याङका होमप्रसाद दाहाल, भुमेथान आधारभूत विद्यालयका शिक्षक तोयानाथ काफले, चन्चला आधारभूत विद्यालय खोदम्पाका शिक्षक बालकुमार खड्का र जन्तरखानी मावि जन्तरखानीका शिक्षक शङ्खवीर राईले राजीनामा दिनुभएको शिक्षा विकास तथा समन्वय एकाइ ओखलढुङ्गाले जनाएको छ । 

काठमाडौँ, वैशाख ४ गते  । सुरुङमार्ग आयोजनाको कार्यालयमा स्थानीयले आक्रमण गरेपछि थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणकार्य ठप्प भएको छ । सुरुङमार्ग आयोजना प्रमुख नरेशमान शाक्यले स्थानीयले आयोजनाको कार्यालय र कार्यरत जनशक्तिमाथि आक्रमण गरेपछि सुरक्षा अभावमा चैत २८ गतेदेखि नै सुरुङ निर्माणकार्य ठप्प भएको जानकारी दिनुभयो ।   उहाँले भन्नुभयो, “आयोजनाको कार्यालय, काम गरिरहेका जापानी इन्जिनियर र कामदारमाथि साङ्घातिक आक्रमण गर्नुका साथै गाडीलगायतका भौतिक संरचनामा समेत हानि पु-याएको भन्दै जापानी निर्माण कम्पनीले काम गर्न नमान्दा काम ठप्प भएको हो ।”आयोजना प्रमुख शाक्यका अनुसार करिब एक सय जनाको समूहमा आएका स्थानीयवासीले ढुङ्गामुढा, लाठी र लात्तीमुक्का प्रयोग गरी कार्यालयको ब्लक नम्बर १ भवनको छ सेट झ्याल र एउटा ढोका, ब्लक नम्बर २ को चार सेट झ्याल, मेडिकल हलको दुईवटा झ्याल र एउटा ढोका तोडफोड गरेको थियो ।   त्यसैगरी, आक्रमणकारीले कार्यालय परिसरमा राखिएको बा१८च ४१२ नम्बरको जिप तोडफोड गरेका छन् । प्रहरीले घटनालाई केही समयमै नियन्त्रणमा लिएको थियो ।    दातृनिकाय तथा निर्माण कम्पनीका विदेशी जनशक्तिमाथि कुनै पनि बहानामा आक्रमण गर्नु निकै नै संवेदनशील विषय भएको बताउँदै प्रमुख शाक्यले राज्यको तर्फबाट सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म काम पुनः सुरु हुन नसक्ने स्पष्ट पार्नुभयो ।   उहाँले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालय काठमाडौँले छलफलका लागि निर्माण पक्ष र स्थानीयलाई आइतबार बोलाएको छ । छलफलमा प्रशासनबाट निर्माणस्थलमा २४ घण्टा सुरक्षाको सुनिश्चितता नभएसम्म हामी काममा फर्कन सक्दैनौँ ।”   उहाँका अनुसार दैनिक १२ मिटर सुरुङ खन्ने काम हुँदै गरेकोमा छ दिनदेखि काम ठप्प छ ।   सुरुङमार्ग निर्माण ठप्प हुँदा राज्यलाई दैनिक करिब डेढ करोड रुपियाँ घाटा भइरहेको आयोजना प्रमुख शाक्यले बताउनुभयो । राज्यले निर्माण कम्पनीलाई दैनिक डेढ करोड रुपियाँ भुक्तानी गर्नुपर्छ ।  हाम्रा कारणले काममा अवरोध भएर काम रोकिएको अवस्थामा सो रकम राज्यले तिर्नैपर्छ ।   आयोजना प्रमुख शाक्यले सुक्खायामका कारण काठमाडौँ उपत्यकाभरि नै पानीका मुहानबाट पानी कम आएको बताउनुभयो । उहाँले भन्नुभयो, “पानीका अन्य मुहानजस्तै त्यस टोलको पनि मुहानबाट  पानी कम आएको हो । मुहान सुकेको होइन ।”