स्याङ्जा । अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ । पहिरोले गोठ पुरिँदा दुई चौपायामा समेत क्षति पुगेको छ ।   जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बिहीबार बिहान गल्या...

म्याग्दी,  वैशाख २९ गते । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने सिमकोस र बगरगाउँका बासिन्दा मतदानका लागि तीन दिन पैदलयात्रा गर्नुपर्ने बाध्यता छ ।   भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा यातायात सुविधा नपुगेको सिमकोस बगरका बासिन्दालाई मतदान केन्द्रमा पुग्न र घर फर्कन तीन दिन समय लाग्ने भएको हो । स्थानीयवासी चित्रबहादुर तिलिजाले मतदान हुनुभन्दा एक दिनअघि घरबाट हिँडेर भोलिपल्ट मतदान गरेर मात्र फर्कने गरिएको बताउनुभयो ।   “मतदान हुने अघिल्लो दिन गाउँबाट हिँडेर नाउरामा पुगेपछि  बास बस्छौँ, भोलिपल्ट मतदान केन्द्रमा पुगेर मतदान गरी फर्केपछि नाउरामै बास बस्छौँ”, उहाँले भन्नुभयो, “घरबाट हिँडेको तेस्रो दिनमात्र फर्कन सकिन्छ ।”   धवलागिरि हिमालको आधार शिविर जाने अन्तिम मानव बस्ती बगर र सिमकोस गाउँमा ५० घरधुरी छ । साविक मुदी गाविसको वडा नं ९ मा पर्ने सिमकोस बगरका बासिन्दाको मतदान केन्द्र मुदीको बुद्धीविकास मावि हो । त्यहाँ १०० भन्दा बढी मतदाता छन् । विसं २०७४ को स्थानीय तहको चुनावमा ५७ जनाले मतदान गरेका थिए । २०५४ को स्थानीय तहको चुनावमा बगर वडाका सबै निर्विरोध भएका थिए । घर कुर्नुपर्ने भएकाले सबै स्थानीयवासी मतदान केन्द्रमा आउन सक्दैनन् ।    ज्येष्ठ नागरिक, अपाङ्गता र अशक्त नागरिकलाई मतदान केन्द्रमा पुग्न सास्ती हुने गरेको छ । पशु गोठमा बस्ने गोठाला पनि मतदानबाट बञ्चित हुने गरेका छन् । नाउराको अक्करे भीरको पैदलमार्ग छिचोलेर बगर पुग्नुपर्छ । मुदी गाउँसम्म मात्र सडक पुगेको छ । नाउराको भिरको पदमार्ग जिल्लाकै जोखिमयुक्त हो । विसं २०६४ अघि बगरगाउँ पुग्ने घोडेटो बाटो पनि थिएन । धवलागिरि आधारभूत विद्यालयमा कक्षा ५ पढेपछि यहाँका बालबालिका माथिल्लो तहको अध्ययनका लागि घर छाडेर जानुपर्छ ।   विसं २०७५ मा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको थियो । उक्त एकाइ नुहँदा बगरवासीलाई उपचारका लागि मुदी पुगेर फर्कन तीन दिन लाग्ने गरेको थियो । बगरमा छुट्टै मतदानस्थल बनाउनुपर्ने स्थानीयवासीको मागमा मतदाता सङ्ख्या थोरै भएकाले पूरा हुनसकेको छैन । एक मतदान केन्द्रमा न्यूनतम एक हजार मतदाता हुनुपर्ने निर्वाचन आयोगको मापदण्ड छ ।

पोखरा:   कास्कीको माछापुच्छ्रे गाउँपालिकाका एकीकृत समाजवादीका अध्यक्ष रामप्रसाद अधिकारी मूलघर नेकपा एमालेमा नै फर्किएका छन् ।   आसन्न स्थानीय निर्वाचनलाई लक्षित गरेर गाउँपालिकामा आयाजित चुनावी भेलामा अधिकारी आफ्नै मूलघर नेकपा एमालेमा नै फर्किएका हुन् । कार्यक्रममा बोल्दै उनले केहीले आफ्नो खुट्टा तान्ने प्रयास गरिरहेको र निषेधको राजनीति नगर्न आग्रह गरेका छन् । ‘मेरो खुट्टा तानिरहँदा, मेरो घाँटी निचोरिरहँदा तपाईं खेल मैदानबाट बाहिरिनु भएको छ ।’ उनले भने, ‘त्यसैले म के भन्न चाहन्छु भने कोही कसैले निषेधको राजनीति नगरौं, विचार र विवेकको राजनीति गरौं ।’   अबबाट आफूले एमालेमा रहेर नै राजनीति गर्ने अधिकारीले प्रतिवद्धता व्यक्त गरेका छन् ।   त्यस्तै नेकपा एमाले केन्द्रीय पोलिटब्युरो सदस्य सीता गिरीले गाउँपालिकामा नेकपा एमालेले धेरै विकासका काम गरेको र आगामी दिनमा उक्त कार्यलाई निरन्तरता प्रदान गर्न फेरी पनि एमालेले जिताउन सूर्य चिन्हमा भोट हाल्न आग्रह गरिन् । ‘नेकपा एमाले भनेको विकासको सोच बोकेको पार्टी हो, परिर्वतनको एजेण्डा बोकेको पार्टी हो । यो कुरा हामीले चुनावमा भोट माग्न मात्रै भनेका होइनौं ।’ उनले भनिन्, ‘समृद्धिको यात्रामा, विकासको अभियानमा, सुखी माछापुच्छ्रेवासी हुनको निम्ति सूर्य चिन्हमा मतदान गरिदिनुहुन अनुरोध गर्छु ।’   भेलामा गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्षका प्रत्यासी विक्रम गुरुङले आफूहरु माछापुच्छ्रेको मुहार परिर्वतनका लागि उमेद्वार बनेको बताएका छन् । नेकपा एमालेले देशभरीका स्थानीय तहमा विकासको बाढी ल्याउन उमेद्वार खटाएको उनले बताए । भुगोल तथा क्षेत्रलाई मध्यनजर गर्दै आफूले प्रतिवद्धतापत्र ल्याएको प्रत्यासी गुरुङको भनाई थियो । पार्टीले जितेको खण्डमा गाउँपालिकाको आर्थिक वृद्धिदरसंग जोडिने गुरुङको भनाई छ । गाउँपालिकामा रहेका प्राकृतिक सुन्दरतालाई प्रयोगमा ल्याएर गाउँपालिकाको आर्थिक अवस्थामा सुधार ल्याउने उनले बताए । ५ वर्षको अवधीमा आफूहरुले विभिन्न कानुन बनाएको र अब कानुन लागू गर्ने गुरुङले बताएका छन् ।   त्यस्तै गाउँपालिकामा एमालेको तर्फबाट उपाध्यक्षकी उमेद्वार सीता तिवारी अधिकारीले गाउँपालिकामा हुने विभिन्न विकास निर्माणका कामहरुमा अवरोध आउने समस्या भइरहेको बताएकी छिन् । विकासका योजना सम्पन्न गर्दा आएका त्यस्ता अवरोधलाई हटाउने आफूले पहल गर्ने उनले प्रतिवद्धता व्यक्त गरिन् ।    जेष्ठ नागरिकका लागि समेत आफूसंग योजना भएको उपाध्यक्षका प्रत्यासी तिवारीको भनाई छ । ‘गाउँपालिकामा कुनै पनि जेष्ठ नागरिकले भोकको सामना गर्नुपरेको छैन । एमालेको सरकारले ती सबै कुरा पु¥याइरहेको छ ।’ उनले भनिन्, ‘अहिले उहाँहरुलाई मानसिक शान्ति आवश्यक छ, त्यसका लागि उहाँहरुलाई खाजासहितको विश्रामगृह निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्छु ।’ गाउँपालिकाका महिलालाई आयसंग जोड्ने उनले प्रतिवद्धता व्यक्त गरिन् । ‘महिलालाई आय अन्य क्षेत्रमा विकासका काममा ल्याउन कार्यक्रम ल्याउने छु ।’ उनले भनिन् । कार्यक्रममा तिवारीले गाउँपालिकालाई डिजिटलाइजेसन गर्ने घोषणा गरेकी छिन् ।   

इलाम: ​  इलाममा आज ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका– ९ गोलाखर्कमा झापाबाट इलामतर्फ आउँदै गरेको ट्रकले माइखोलाबाट इलामतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।    मृत्यु हुनेमा पाँचथर याङ्रुप गाउँपालिका– ४ घर भई इलाम नगरपालिका– ९ शेरामा डेरा गरी बस्ने ३५ वर्षीय धनबहादुर राई हुन् । मे १ प ६५४४ नं को मोटरसाइकलले ना ४ ख ५६६९ नं को ट्रकलाई ओभरटेक गर्दा ट्रकको पछाडिको भागले मोटरसाइकललाई ठक्कर दिएको थियो ।   ठक्करबाट मोटसाइकल चालको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिनुभयो । घटनापछि ट्रक चालक फरार रहेकाले खोजी भइरहेको बताइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । 

नयाँ मतदाताहरूले आज र भोलि मतदाता परिचयपत्र पाउने भएका छन् ।   पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदाताले बुधबार र बिहीबार सम्बन्धित मतदानस्थलबाट मतदाता परिचयपत्र पाउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।   उनका अनुसार मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सही तरिकासम्बन्धी जानकारी दिने कार्यक्रम छ । ‘बढी भन्दाबढी मतदातालाई मतदानसम्बन्धी जानकारी उपलब्ध गराउन आम संचार माध्यम तथा सामाजिक सञ्जालको प्रयोग गरी श्रव्यदृश्य माध्यमबाट विभिन्न जानकारीमूलक सन्देश प्रसारण समेत भरहेका छन्,’ उनले भने ।   वालिग मताधिकारको आधारमा संविधानले सबै नेपाली जनतालाई निर्वाचनमा सहभागी हुने अधिकार दिएको छ । यो अधिकारको प्रयोग गर्न यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा कसैको डर, धाकधम्की र त्रास नमानी निर्धक्क भएर आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न आयोगले अपिल गरेको छ । शुक्रबार हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, स्वयंसेवक लगायत मतदानको कार्यमा खटिने जनशक्ति मतदान स्थलमा पुगिसकेको जानकारी दिइएको छ ।

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ का नेकपा (एमाले)को तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि अर्को उम्मेदवार मनोनयका लागि आजको समय तोकिएको छ ।   एमालेका लागि मात्रै आज बिहान १० देखि १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले बताउनुभयो ।   बिहीबार बेलुका ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ । वडा नं १७ को हकमा वैशाख ३१ गतेदेखि मौन अवधि सुरु हुने छ भने वैशाख ३१ गते मध्यरातिसम्म प्रचार प्रसार गर्न पाइने छ ।   त्यसपछि मौन अवधि सुरु हुनेछ । त्यस्तै जेठ ३ गते मतदानको समय तोकिएको छ । कलेजो, मिर्गौला रोगका कारण चौधरीको मृत्यु भएको हो । वडा नं १७ को निर्वाचन भएपछि मात्रै तुलसीपुरमा मतगणना हुने भएको छ ।-

लमजुङ:   बैंकिङ कसुरमा फरार एक महिलालाई लमजुङ प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा दोर्दी गाउँपालिका ५, पाचोककी ३० वर्षीया हस्तीमाया गुरुङ रहेकी छिन्र  ।  उनलाई काठमाडौंको बालाजुबाट पक्राउ गरेर ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर जगदीश रेग्मीले जानकारी दिए । उनका अनुसार उच्च अदालत, पाटनले २०७८ वैशाख ८ गते र फागुन २३ गतेको फैसलाअनुसार बैंकिङ कसुर मुद्दामा ३ लाख ९४ हजार रुपैयाँ जरिवाना र ३ दिन कैदको सजाय कायम हुने फैसला गरेको थियो ।   फरार हस्तीमाया काठमाडौंमै लुकेर बसेको भन्ने सूचनाको आधारमा लमजुङबाट खटिएको प्रहरीको विशेष टोलीले स्थानीय प्रहरीको समन्वयमा शनिबार पक्राउ गरेको र मंगलबार जिल्ला अदालतमा पेश गर्दा जरिवाना रकम दाखिला गर्न नसकेको र ३ दिनको कैद फैसलाअनुसार गरी ३ वर्ष ६ महिना २१ दिन कैदमा राख्ने गरी कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

 पोखरा:  दलीय भागवण्डा विरुद्धमा सुरु भएको अटेरी अभियानबारे धेरै केही त भन्नै पर्दैन । राजनीतिक दलको टाउको दुखाई बनि रहेको अटेरी अभियानले आफ्नो चुनावी खर्च समेत सार्वजनिक गरि सकेको छ ।   अटेरी अभियानका परिकल्पनाकार तथा पोखरा महानगर प्रमुख पदका उम्मेदवार गनेस पौडेलले चुनाव जितेपछि पोखराप्रति अपनत्व जगाउने बताएका छन् । पोखरा महानगरमा समावेश भए पनि अझैं पोखरा महानगरबासिले पोखराबासि भएको महसुस नै नगरेको उनले बताए ।   ‘अस्ति चुनावी कार्यक्रममा माँझठान जाँदा एक जना महिलाले केटाकेटी पोखरा गएका छन् । भरे, आउँछन् भनेर भन्नु भयो, जबकी उहाँ आफैं पोखराबासि हो,’ उनले भने, ‘पोखराबासी हुँ भन्ने महसुस नै भएको छैन । जबसम्म पोखरा बासि हुनुको महसुस हुन्न, पोखरा नामप्रति अपनत्व महसुस गर्न सक्दैन, तबसम्म विकासको थोत्रा गफ गरेर कुनै फाइदा छैन ।’ ग्रामीण क्षेत्रसम्म पहिचानको समान वितरण हुनुपर्ने उनले बताए । ‘त्यो भनेको के भन्दा सेवा सुविधाको अवधारणा । त्यसको लागि एक गाउँ एक पर्यटकीय गन्तव्य हुनुपर्छ । ति सबै प्रकृति र पर्यावरणसँग सम्बन्धित रहेका छन्,’ उनले भने ।   चुनाव जितेपछि उनले पोखरालाई सिर्जनात्मक सहर बनाउने उनले बताएका छन् ।  कल्चर हाउस र सिर्जनाग्रामको पनि पहिचान गरेर पोखरामा मुभमेन्टहरु बढाउने उनले बताए । सामुदायिक शिक्षाको दुरावस्थाले देश विकास हुन नसकेको बताउँदै उनले सबैभन्दा पहिला सामुदायिक शिक्षा सुधार गर्नपट्टी आफूहरु लाग्ने उनले बताए । अहिले स्वास्थ्यमा देखिएको विकराल समस्याका कारण घरपरिवार दुई तिर बाँडीनु परेको उनले बताए । कम्तिमा महानगरले अपनत्व लिएर उपचार गर्नुपर्ने उनले बताएका छन् ।

पोखरा:    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै, कसैको प्रभावमा नपरी स्वतन्त्ररुपमा योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न हुन सम्पूर्ण प्रदेशवासीमा अपिल गरेका छन् ।    स्थानीय तह निर्वाचन २०७९ का सन्दर्भमा मंगलबार आह्वान पत्र जारी गर्दै मुख्यमन्त्री पोखरेलले भनेका छन्, ‘ हाम्रो मत नै मुलुक रुपान्तरणको आधार भएकाले मतदानको अधिकार विवेकपूर्णरुपमा प्रयोग गर्नुहुनेछ भन्नेमा विश्वस्त छु ।’  स्थानीय तह जनताको समीपमा रहेर जनताको हेरक गतिविधिमा साथ दिने सरकार हो भन्दै मुख्यमन्त्री पोखरेलले लोकतन्त्रमा विश्वास गर्ने, जनताको अधिकारको रक्षा गर्न सक्षम, विकासप्रेमी, इमान्दार, कर्तव्यनिष्ठ र सेवा भावले ओतप्रोत उम्मेदवारलाई छनौट गर्न सकेमा मात्र आगामी ५ वर्ष हामीले चाहे बमोजिमको सेवा प्राप्त गर्न सकिने उल्लेख गरेका छन् ।    लोकतन्त्रको महत्वपूर्ण आधार र  सुन्दर पक्ष नै आवधिक निर्वाचन हो । संविधानसभामार्फत् २०७२ मा जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधानमा व्यवस्था भए बमोजिमको ३ तहको सरकारमध्ये जनताको समीपमा रहेको स्थानीय तहको १ कार्यकाल सफलतापूर्वक सम्पन्न भई विशेष अनुभवका साथ मुलुक अहिले स्थानीय तहको दोस्रो कार्यकालका लागि निर्वाचनमा जुटिरहेको छ । मुख्यमन्त्रीले भनेका छन्, ‘यस सुखद घडीमा सम्पूर्ण प्रदेशवासीमा वधाई ज्ञापन गर्न चाहन्छु ।   यसै क्षणमा हामीलाई उन्नत अवस्थाको शासन प्रणाली उपलब्ध गराउन बलिदानी गर्नुहुने सम्पूर्ण सहिदप्रति हार्दिक श्रद्धाञ्जली प्रदान गर्दै अग्रजहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।’  लामो र कठोर बलिदानीपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका उपलब्धि बचाई राख्नका लागि आवधिक निर्वाचन अनिवार्य शर्त रहेको मुख्यमन्त्रीले उल्लेख गरेका छन् ।   आह्वानपत्रमा भनिएको छ, ‘वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई भयरहित, स्वच्छ एवं मर्यादित तबरले सम्पन्न गर्ने, गराउने दायित्य सरकारसँगै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र एवं आमसञ्चार माध्यमसमेतको हो ’ राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षणमा खटिने राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संघसंस्था एवं सरोकारवाला सबै  निश्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन अग्रसर हुनका लागि उनले आह्वान गरेका छन् ।    धेरैभन्दा धेरै प्रदेशवासीको संलग्नतामा स्थानीय तहको निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गर्दै कोरोनाको त्रास कायमै रहेकाले सामाजिक दुरी र स्वास्थ्य मापदण्ड अनपाउन उनले अनुरोध गरेका छन् । 

पोखरा:   स्थानीय तहको निर्वाचनको प्रचार प्रसारको मौन अवधी सुरु हुन केही घण्टा मात्रै बाँकी रहदा पोखरामा एमाले प्रवेशको क्रम जारी छ ।   यसैबीच सो महानगरको वडा न ३३ मा एमाले प्रवेश गर्ने क्रम रोकिएको छैन ।  सो वडाका नेपाली काँग्रेसका पुराना कार्यकर्ता श्रीकृष्ण नेपालीसहित ४ दर्जन युवा एमाले प्रवेश गरेका छन् । यसरी प्रवेश गर्नेहरु आपुकसेरी तल्लो पुडि, छप्ल्याङ लगाएतका स्थानका युवा रहेको साविक भरत पोखरी गाविसका अध्यक्ष तथा एमाले पोखरा महानगर कमिटी सदस्य गोपाल पुनले बताए ।   उनीहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य भिम कार्की, केन्द्रीय सदस्य विद्या भट्टराई, प्रदेश उपसचिव रश्मि आचार्य लगायले उक्त वडाको चुनावी आमसभामा स्वागत गरेका थिए ।   कार्यक्रममा बोल्दै सो पार्टीका स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारीले ऐतिहासिक बिरासत बोकेको सो वडाबाट एमालेको विजय सुनिस्चित भैसकेको जिकिर गरे । उनले रुप फेरेर जनतासंग आउनेदेखि भरतपोखरीवासी सतर्क भइसकेको विशाल जन सहभागिताले पुष्टि गरेको बताएका छन् ।    एमाले केन्द्रीय सदस्य भिम कार्कीले जनताबाट स्वीकृत हुन कामै गर्नुपर्ने भन्दै एमालेका विकासका अभियन्तालाइ जिताउन आग्रह गरे ।    अर्का केन्द्रीय सदस्य विद्या भट्टराईले एमालेले गरेको विकास सबैका लागि भएकाले विकास गर्ने पार्टीदेखि कोही पार्टी नआत्तिन आग्रह गर्दै विकासका काम नै एमालेको परिचय भएको उल्लेख गरिन् । मेयर पदका उमेद्वार कृष्ण थापाले सो वडालाई पूर्ण भौतिक पूर्वाधार सहितको समृद्ध वडा बनाउने प्रतिवद्धता व्यक्त गरे ।    उप मेयर पदका उमेद्वार मन्जुदेवी गुरुङले सो वडामा अघिल्लो कार्यकालमा सुरु भएका विकासका योजनाको चर्चा गर्दै अब केही नया योजना सहित लागि पर्ने उल्लेख गरिन् ।  एमाले प्रदेश उपसचिव रश्मि आचार्यले भरत पोखरीको एमालेको विरासत झन्झन् उँचो हुने भन्दै सम्पूर्ण स्थानीयको रहर लाग्दो साथ नै यसमा काफी भएको उल्लेख गरे ।   चुनावी सभामा सो वडाका पूर्वसचिव बसन्तराज आचार्य, पूर्व गाविस अध्यक्ष गोपाल पुन, युवा नेताद्वय श्रीधर पौडेल, ऋषिराज आचार्य, खुल्ला सदस्य पदका उमेद्वार, बिनोद भण्डारी, अध्यक्ष पदका शिवप्रसाद आचार्य, एमाले ३३ का उपसचिव रमेशराज आचार्य, प्रेस चौतारी नेपाल लेखा आयोग उपाध्यक्ष रामजीप्रसाद लम्साल लगाएतले बोलेका थिए । सो वडा कमिटी अध्यक्ष दीपक लामिछनेको अध्यक्षतामा सम्पन्न चुनावी सभामा सयौंको संख्यामा जनसहभागिता थियो ।