स्याङ्जा । अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ । पहिरोले गोठ पुरिँदा दुई चौपायामा समेत क्षति पुगेको छ ।   जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बिहीबार बिहान गल्या...

पोखरा: नेपाली कांग्रेस कास्कीको पार्टी कार्यालय तोडफोडको क्रममा पक्राउ परेका २३ जना  कांग्रेसका कार्यकर्ता रिहा भएका छन् ।    जिल्ला प्रहरी कार्यालयबाट शुक्रबार पौने ५ बजे रिहा भएकौ नेपाल तरुण दल वडा २४ का सचिव रमेश तिमिल्सिनाले जानकारी दिए ।   उनका अनुसार गठबन्धनको विरुद्धमा रहेका पोखरा २४ का कार्यकर्ताहरु हिजो बिहिबार पार्टी कार्यालयमा विरोध जनाउँदै तोडफोड गरेका थिए ।    उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो ।  नेपाली कांग्रेसका उक्त कार्यकर्ताहरु पार्टीकै जिल्ला सभापतीसँग रुष्ट बनेका थिए । पाँच दलीय गठबन्धनको तर्फबाट घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममै आफ्नै पार्टीका नेता विरुद्ध नाराबाजी गरेका थिए । 

काठमाडौं- पाँच दलीय सत्ता गठबन्धनभन्दा बाहिर अन्य दलहरूसँग भएको चुनावी तालमेल खारेज हुने भएको छ । सत्तागठबन्धन दलका शीर्षनेताको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गठबन्धन बाहिरको चुनावी तालमेल खारेज नगरे सम्बन्धित दलले तत्काल कारबाही गर्ने निर्णय गरेको छ ।   प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले गठबन्धनबीच भएको सहमतिविपरीत विभिन्न दलका प्रतिनिधिले स्वतन्त्ररूपमा दर्ता गरेका उम्मेदवारीलाई तत्काल फिर्ता गर्न पहल गर्ने निर्णय गरेको छ ।   यसैगरी गठबन्धनबीच यसअघि केन्द्रबाट भएको सहमतिअनुसार छ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा भएको सहमतिविपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारी तत्काल फिर्ता लिने बैठकको निर्णय छ ।   बैठकपछि कांग्रेस सभापति देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरी निर्णय सार्वजनिक गर्नुभएको छ ।

काठमाडौं: काठमाडौँ उपत्यकामा ट्राफिक जरिवना क्युआर कोर्डमार्फत तिर्न सकिने भएको छ ।   उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उलङ्घन गर्ने चालकको सहजताका लागि ‘क्युआर स्क्यान पे फाइन एण्ड विथड डकुमेन्ट’ सुविधाको थालनी गरेको हो ।   कुमारी बैंक लिमिटेडको सहकार्यमा बिहीबारदेखि सुरु गरिएको उक्त सेवाको कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र बैंकका डिजिटल प्रमुख अनिश ताम्राकारले संयुक्तरुपमा शुभारम्भ गर्नुभयो ।   उक्त सेवा प्रारम्भ भएसँगै जरिवाना रकम तिर्न बैंक खोज्न भौतारिनुपर्ने वा नगद पैसा बोकेर बैंकमा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य हुने कार्यालय प्रमुख जोशीले बताउनुभयो । उहाँले ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनमा नयाँनयाँ प्रविधिको उच्चतम प्रयोगलाई बढाउँदै लगेकाले आम सडक प्रयोगकर्तालाई थप सहज, सरल, छिटो र भरपर्दो भएको उल्लेख गर्नुभयो ।   कुमारी बैंकका डिजिटल बैंकिङ प्रमुख ताम्राकारले उक्त व्यवस्थाबाट नागरिकलाई थप सुविधा भएको र आगामी दिनमा अझ सुलभ तथा उत्कृष्ट सेवाका लागि ट्राफिक प्रहरीसँग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तनहुँः आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँमा मतपत्र आइपुगेको छ । नेपाली सेनाको सुरक्षामा तनहुँमा बिहीबार मतपत्र ल्याइएको हो ।   तनहुँमा ५३८ पेटी मतपत्र आइपुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार जिल्लाका लागि दुई लाख ६९ हजार थान मतपत्र आइपुगेको हो । ‘निर्वाचनलाई आवश्यक ६१ प्रकारका सामग्री आइपुगेको छ’, ढकालले भने, ‘निर्वाचनलाई चाहिने रबरम्याट, स्ट्यामप्याड, स्वस्तिक छाप, लाहाछाप, मार्कर पेन, स्यानिटाइजर, कैची, कर्मचारी परिचयपत्र, स्वयंसेवक परिचयपत्र लगायत सामग्री कार्यालय आइपुगिसकेको छ ।’   तनहुँमा कुल १३६ मतदानस्थल र २९७ मतदान केन्द्र निर्धारण गरिएको छ । ढकालका अनुुसार निर्वाचनका लागि २९७ मतदान अधिकृत, २९७ सहायक मतदान अधिकृत, ५९४ सहायक, २९७ सहयोगी परिचालन हुनेछ । यसका साथै मतदान केन्द्रमा ८९१ कर्मचारी नियुक्त गरिनेछ । तनहुँका दुई लाख ४४ हजार ३४० मतदाताले मतदान गर्दैछन् । गत स्थानीय तह निर्वाचनभन्दा यसपटक ४९ हजार आठ सय ६९ मतदाता थपिएका छन् । कुन पालिकामा कति मतदाता ? विसं २०७४ सालको स्थानीय तह निर्वाचनमा जिल्लामा एक लाख ९४ हजार चार सय ७१ मतदाता थिए ।   आँबुखैरेनीमा ६ हजार ६४२ पुरुष र ६ हजार ९८९ गरी १३ हजार ६ सय ३१, ऋषिङ गाउँपालिकामा आठ हजार ९५१ पुरुष र नौ हजार दुई सय ८७ महिला गरी १८ हजार दुई सय ३८, घिरिङ गाउँपालिकामा सात हजार एक सय १७ पुरुष र सात हजार पाँच सय ५९ महिला गरी १४ हजार ६ सय ७६, देवघाट गाउँपालिकामा ६ हजार तीन सय ७५ पुरुष र ६ हजार चार सय ४० महिला गरी १२ हजार आठ सय १५ मतदाता कायम भएका छन् ।   यस्तै बन्दीपुर गाउँपालिकामा सात हजार पाँच सय ६४ पुरुष र आठ हजार ७४ महिला गरी १५ हजार ६ सय ३८, भानु नगरपालिकामा १९ हजार पाँच सय ४४ पुरुष र २० हजार नौ सय ५२ महिला गरी ४० हजार चार सय ९६, भिमाद नगरपालिकामा ११ हजार आठ सय ९९ पुरुष र १२ हजार नौ सय ८५ महिला गरी २४ हजार आठ सय ८४, म्याग्दे गाउँपालिकामा आठ हजार पाँच सय ७९ पुरुष र नौ हजार पाँच सय २६ महिला गरी १८ हजार एक सय पाँच, व्यास नगरपािलकामा २२ हजार चार सय १३ पुरुष र २५ हजार एक सय २९ महिला गरी ४७ हजार पाँच सय ४२, शुक्लागण्डकी नगरपालिकामा १८ हजार ५० पुष र २० हजार दुई सय ६५ महिला गरी ३८ हजार ३१५ मतदाता रहेका छन् ।

काठमाडौं- नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीका नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध बागी उम्मेदवारी दिएकाहरुलाई आफ्नो मनोनयन फिर्ता लिन आग्रह गरेको छ ।   काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी निर्वाचन आयोगले तोकेको समयभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको हो ।   सो समयभित्र उम्मेदवारी फिर्ता नलिने बागी उम्मेदवारका साथै उनको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित गरिने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।   निर्वाचन आयोगले आज विहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी फिर्ताका लागि समय निर्धारण गरेको छ ।

काठमाडौं- बागमती प्रदेश सरकारले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति प्राडा विश्वराज जोशीलाई निलम्बन गरेको छ ।   पदीय जिम्मेवारी पूरा नगरेको आरोपमा छानबिन गर्नका लागि उहाँलाई निलम्बन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यमलाल भुषालले जानकरी दिनुभयो ।   प्रतिष्ठानका एक चौथाई सदस्यले उपकूलपति डा. जोशीले जिम्मेवारीपूर्वक काम नगरेकोलगायत विषयमा लिखित निवेदन दिएपछि छानबिनका लागि उहाँलाई निलम्बन गरिएको बताइएको छ ।   मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को उपदफा( ३) बमोजिम छानबिनका लागि उपकूलपति प्राडा जोशी स्वतः निलम्बनमा परेको सचिव भुषालको भनाइ छ । प्रा.डा जोशी २०७७ साउन १६ गते चार वर्षका लागि उपकूलपतिमा नियुक्ति हुनुभएको थियो ।

पोखराः नेपाली कांग्रेसको पोखरा माहानगरपालिका वडा १८ र २४ का असन्तुष्टी पक्षले जिल्ला पार्टी कार्यालयमा तोडफेड गरेको छ ।   आफ्नै पार्टी विरुद्ध सँघर्ष गर्दै दुई वडाका कार्यकर्ताले जिल्लाको पार्टी कार्यालय कबिर ४ बजे तोडफोड गरेको हो । उनीहरुले पार्टी कार्यालयको कुर्ची तथा टेवल लगायतका सामान तोडफोड गरेका छन् ।   असन्तुष्टी जनाएका उनीहरुले आफ्नो वडामा गठबन्धन नगरीकनै चुनाव जित्ने बताउदै आएका थिए । पोखरा महानगरपालिकाको मेयर र उपमेयर पदकालागि पाँच दलीय गठबन्धनले आयोजना गरेको घोषणापत्र सार्वजनिक कार्यक्रमको अवसरमा गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु कुमार थापालाई गल्ती सच्चाउन आग्रह गरेका थिए ।   असन्तुष्टी जनाएका कार्यकर्ताले भनेका थिए, ‘कांग्रेस बेच्न पाइदैन । यदी गल्ती नसच्चिए कालो झण्डा देखाउछौ ।’

 (रासस) : मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज वाइडबडी ए–३३० जहाजले उडान भर्दैछ ।   राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स्)को वाइडबडी जहाजले गौतमबुद्ध विमानस्थलमा ‘अप्रेशनल पर्फमेन्स टेस्ट फ्लाइट’ गर्न लागेको हो । उक्त प्रयोजनका निम्ति निगमको वाइडबडी जहाज दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेर करिब ४५ मिनेटको उडानपश्चात गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ । जुन नेपालको उड्डयन इतिहासमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ठूलो जहाजले उडान भर्न लागेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ ।   नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जीनियर प्रदीप अधिकारीले नेपालमा दोस्रो विमानस्थल औपचारिकरूपमा सञ्चालनमा आउनु मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले भन्नुभयो “नेपालको भूमिमध्ये काठमाडौँबाहेक अन्य भूमिमा पहिलोपटक वाइडबडी जहाज अवतरण गर्दैछ । नेपालको हवाई क्षेत्रको इतिहासको ७४ वर्षे इतिहासमा यो कोशेढुङ्गा भएको छ । अहिलेसम्म ठूला जहाज काठमाडौँमा मात्र उडान अवतरण गरिरहेका थिए ।”   प्राधिकरणका अनुसार आजदेखि नै तराई क्षेत्रका अन्तरिक विमानस्थल दैनिक १८ घण्टा सञ्चालन हुँदैछन् । गौतमबुद्ध विमानस्थलमा पनि आजदेखि दैनिक १८ घण्टा र आगामी जेठ २ गतेदेखि २४ घण्टा अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन हुने छ । महानिर्देशक अधिकारीले राष्ट्रिय गौरवको आयोजना सम्पन्न भएर पूर्ण कार्यान्वयनमा आएको पहिलो आयोजना भएको बताउनुभयो ।   नेपालमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको र विश्वभरका एयरलाइन्सले उडान गर्न सक्छन् भन्ने सन्देश प्रवाह गर्न पनि वाइडबडी जहाजबाट ‘अप्रेशनल पर्फमेन्स टेस्ट फ्लाइट’ परीक्षण उडान गर्न लागिएको हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत जेठ ८ गतेदेखि विधिवतरूपमा सञ्चालनमा आइसकेको छ । यद्यपि यो विमानस्थलमा आगामी जेठ २ गते बुद्धपूर्णिमाका दिनदेखि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ । जजिरा एयरले उडान अनुमति लिएर आवश्यक तयारी गरिरहेको छ । अन्य एयरलाइन्सले पनि विमानस्थलबाट उडान भर्न चासो देखाएका छन् ।   गौतमबुद्ध विमानस्थलमा न्यारोबडी र वाइडबडी जहाजले उडान–अवतरण गर्नेछन् । यो विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भइसकेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने प्राधिकरणले जनाएको छ । गौतमबुद्ध विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । राष्ट्रिय गौरवका आयोजनामध्ये चाँडो प्रगति हासिल गर्ने नमूना आयोजना भएको प्राधिकरणको बुझाइ छ ।   सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो । पछिल्लोपटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिकरूपमा सञ्चालनमा आएको हो ।   विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्शन ग्रुपले निर्माण गरेको हो । एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब रु ११ अर्ब खर्च भएको प्राधिकरणले जनाएको छ । अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै निर्माण प्रक्रिया अघि बढाइने छ ।   कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ । बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने तयारी गरेको हो । टिआइएसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अब २४सै घण्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ ।

एजेन्सीः म्यानमारको जुन्ता अदालतले आङ सान सुकीलाई भ्रष्टाचारको आरोपमा थप पाँच वर्षको जेल सजाय सुनाएको छ । यहाँको जुन्ता सरकारले अपदस्थ नागरिक तथा नेतालाई दशकौंसम्म जेलमा पार्न सक्ने संकेत देखाएको छ ।   पछिल्लो मुद्दामा नोबेल पुरस्कार विजेता सुकीलाई ६ लाख अमेरिकी डलर नगद र सुन घुस लिएको आरोप लगाइएको थियो । दुई दिनपछि सेनाद्वारा निर्मित राजधानी नेपिदको विशेष अदालतले फैसला र सजाय सुनाएको हो । सुकीका वकिलहरूलाई पत्रकारसँग बोल्न प्रतिबन्ध लगाइएको थियो ।   सैन्य शासनको अधिनमा रहेको म्यान्मारको विशेष अदाललत गोप्य सुनुवाइपछि नेत्री सुकीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ ।सन् २०२१ को फेब्रुअरीमा भएको सैन्य ‘कू’ मा आफ्नो नेतृत्वको सरकार अपदस्थ भएयता सुकीलाई सैन्य हिरासतमा राखिएको छ ।   सैन्य शासकले ७६ वर्षीया नोबल पुरस्कार विजेता नेत्रीलाई थुप्रै फौजदारी अभियोगहरू लगाएको छ । उहाँले सबै आरोपहरु अस्वीकार गर्नुभएको छ भने मानवअधिकारकर्मीहरुले पनि अदालतको सुनुवाइ निष्पक्ष नरहेको बताउँदै आएका छन् ।   उहाँलाई पाँच वर्षको थप जेल सजाय तोकिएपछि जेल बस्नुपर्ने कुल समय ११ वर्ष पुगेको जनाइएको छ । गत डिसेम्बरमा उहाँलाई कोभिडसम्बन्धी स्वास्थ्यका नियम तोडेको र जनवरीमा घरमा प्रतिबन्धित वाकीटकी राखेको मुद्दामा दोषी ठहर गरिएको थियो ।