तनहुँ : मोटरसाइकल दुर्घटनामा परी बायाँ हात भाँचिएकी तनहुँकी एक महिलालाई आज हेलिकप्टर चार्टर गरी उपचारका लागि काठमाडौँ लगिएको छ । जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटार निवासी २९ वर्षीय रेणु थापालाई हेलिकप्टरमार्फत् उपचारका लागि काठमाडौँ लगिएको हो । मोटरसाइकलमा सवार हुँदा सल चक्कामा बेरिएर दुर्घटना हुँदा बायाँ हातको पाखुरा भाँचिएको थियो । भाँचिएको हात जडान हुनसक्ने दमौली अस्पतालका चिकित्सकले बताएपछि घाइते महिलालाई काठमाडौँ लगिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
गण्डकी । कास्कीको सङ्घीय निर्वाचन क्षेत्र नं १ परिणाम बदलिइरहने क्षेत्रका रुपमा चासो र चर्चा कमाएको छ । लेखनाथका सात तालसँगै सिक्लेस, याङ्जाकोट, रुपाकोटलगायतका गन्तव्यले यहाँको पर्यटकीय पहिचान र ख्याति बढाएको छ । विगतका निर्वाचन हेर्दा परिणाम बदलिइरहेको यस क्षेत्रमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभामा नतीजा आफ्नो पक्षमा पार्ने लक्ष्यसाथ उम्मेदवार चुनावी अभियानमा जुटेका छन् । यसअघिको आमनिर्वाचनमा नेपाली कांग्रेस र वाम गठबन्धनबीच मुख्य प्रतिस्पर्धा भएकोमा बाम गठबन्धनले विजय हासिल गरेको थियो । अहिले भने उक्त समीकरण फेरिएर कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) सहितका पाँच राजनीतिक दलको गठबन्धन एकातर्फ छ भने नेकपा एमाले, अन्य दल तथा स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । चुनावी परिणामलाई आफ्ना पक्षमा पार्न यतिखेर उम्मेदवार गाउँ पसिसकेका छन् । गाउँ बस्तीमा यतिखेर धान भित्र्याउन सर्वसाधारण लागिरहेका अवस्थामा घरदेखि खेतका खलासम्म उम्मेदवारको सक्रियता बढेको छ । पोखराको खुलेको मौसमका कारण तालतलैयाका छेउछाउ र पदमार्गमा पर्यटक देखिएका छन् भने उम्मेदवारलाई भने भोट तान्ने गरी मतदाता रिझाउन भ्याइनभ्याइ छ । वर्षभरि दुःख गरेर फलाएको धान थन्क्याउने हतारोमा रहेका सर्वसाधारणसँग हात जोड्दै पुगेका उम्मेदवारले स्थानीय समस्या र आवश्यकतालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन् । यस पटकको निर्वाचनमा कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल उम्मेदवार हुनुहुन्छ भने नेकपा एमालेका तर्फबाट जिल्ला अध्यक्ष मनबहादुर गुरुङ उम्मेदवार हुनुहुन्छ । प्रदेशसभा सदस्यतर्फ प्रदेशसभा (क) र (ख) मा गठबन्धनका तर्फबाट क्रमशः नेकपा माओवादी केन्द्रका दीपक कोइराला र नेपाली कांग्रेसका दीपक गुरुङ (माइला) उम्मेदवार हुनुहुन्छ भने नेकपा एमालेका खगराज अधिकारी र बेदबहादुर गुरुङ उम्मेदवार हुनुहुन्छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि यस क्षेत्रमा कूल एक लाख १० हजार सात सय १५ मतदाता छन् । जसमध्ये प्रदेशसभा (क) मा ५८ हजार चार सय ४५ र (ख) मा ५२ हजार दुई सय ७० मतदाता छन् । सो क्षेत्रमा १३४ मतदान केन्द्र रहेको निर्वाचन क्षेत्र नम्वर एकका निर्वाचन अधिकृत विष्णुप्रसाद आचार्यले बताउनुभयो । यस क्षेत्रमा प्रनिधिसभामा कूल १४ जना र प्रदेशसभा क र खमा आठ आठजना उम्मेदवार रहेका छन् । विकासको पर्याप्त सम्भावना बोकेको यस क्षेत्रमा रुपा र मादी गाउँपालिका, पोखरा लेखनाथ महानगरपालिकाका १०, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१ र ३२ नं वडा पर्दछन् । यस क्षेत्रको प्रदेश (क) मा रुपा गाउँपालिका र पोखरा महानगरका २६, २७, २९, ३०, ३१ र ३२ नं वडा पर्दछन् भने प्रदेश (ख) मा मादी गाउँपालिका र महानगरपालिकाका १०, १२, १३, १४ र २८ नं वडा छन् । यहाँका मादी र रुपा गाउँपालिका जलविद्युत्, कृषि तथा पर्यटनमा धेरै सम्भावना बोकेर पनि अपेक्षित विकास नभएका क्षेत्र हुन् भने महानगरका वडा पनि विकास दृष्टिले अझै ओझेलमा छन् । पर्यटकीयरुपमा आकर्षक गन्तव्य सिक्लेस, ताङ्तिङ, याङ्जाकोट, नागिधार, वारचोक, भाचोक, तप्राङलगायतका पर्यटकीय गन्तव्य यही क्षेत्रमा पर्दछन् । त्यस्तै कास्की र लमजुङको सिमानास्थित तमुहरूको उद्गमस्थल क्होलासोंथर, दूधपोखरी यहाँका आकर्षण हुन् । पदयात्रा पर्यटनमा पनि उत्तिकै महत्वपूर्ण यस क्षेत्रमा मादीको सिक्लेसदेखि मनाङ र लमजुङसम्म, त्यस्तै नागिधार, भाचोक, वारचोक, याङ्जाकोट, ताङ्तिङदेखि सिक्लेससम्मका पदमार्ग पर्यटकलाई आकर्षित गर्न सकिन्छ । विश्वकै सबैभन्दा होचो स्थानमा रहेको दाबी गरिने कफुचे हिमताल पनि यही क्षेत्रमा पर्दछ । निर्माणाधीन सिक्लेस–सिसाघाट, कसेरी–भैँसे–थुमाकोडाँडा, राखी–मिजुरे–पोसी, सैमराङ–भाचोक–नागिधार–पोसी, काहुँखोला–दूधपोखरी सडक, काहुँखोलादेखि ताङ्तिङलगायतका सडकको स्तरोन्नतिलाई यस क्षेत्रका स्थानीयले उम्मेदवारसँग विकासको प्रतिबद्धता खोजेका छन् । दुर्लभ पाँचऔँले, नीरमसी, सतुवा, वन लसुनजस्ता जडीबुटी पाइने यहाँ लेकाली भेगमा पाइने टुसालाई आम्दानीको महत्वपूर्ण स्रोत बनाउन सकिन्छ । रुपातालको पर्यटकीय सम्भावनासँगै यहाँबाट जलविद्युत् निकाल्ने गरी सम्भाव्यता अध्ययनको पहल अघि बढिसकेको छ भने व्यावसायिक माछापालन पनि आयआर्जनका लागि महत्वपूर्ण विकल्प बन्ने देखिन्छ । यहाँका हंसपुरको स्याक्लुङ्कोट, इन्द्रगुफा, रूपाकोटको चिसापानी, भिरचोक कोट, बराहाथोकको कालभैरव, तल्लो गगनगौंडाका राधाकृष्ण, कालिका मन्दिरलगायतलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सकिन्छ । बेलायती राजकुमार चाल्र्सले पदयात्रा गरेको रोयल ट्रेक र तनहुँ, लमजुङ हुँदै कास्की जोडिने मिर्लुङकोट पदयात्रा मार्ग पनि यसै क्षेत्रको पर्यटकीय गन्तव्य हो । तालबेँसी, खाल्टे खोला, बृदिम, आपुखोला, थुम्सीकोट बेँसीलगायत फाँटमा व्यावसायिक कृषिको विकासका पर्याप्त सम्भावना छन् । त्यस्तै शिशुवा देउराली हुँदै सिसाघाट, रूपाकोट थुम्की, सात ताल जोड्ने लिंकरोड र बेगनास भोर्लेटारलगायतका सडक यहाँका चुनावी मुद्दा बन्दै आएका छन् । महानगरका वडा अधिकांश ग्रामीण भेगमा नै रहेकाले तिनको विकास गर्न उम्मेदवारसँग प्रतिबद्धता खोजिने विजयपुरका मतदाता राजेश घिमिरेले बताउनुभयो । “सम्भावना रहेर पनि ओझेलमा परेका कास्की क्षेत्र नं १ का बस्तीको विकासका लागि उम्मेदवारसँग प्रतिबद्धता खोज्ने बेला आएको छ”, उहाँले भन्नुभयो, “यहीँका पूर्वाधारको संरक्षण र विकास गर्दै रोजगारीका अवसर सिर्जना गर्न सक्ने किसिमको नेतृत्व चुन्नु अपरिहार्य छ ।” कृषि पर्यटनमा क्रान्तिका माध्यमबाट देशको समृद्धि र शान्तिको बाटो अँगाल्न सकिने बताउने गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरदत्त बराल ज्ञान, उद्यमशील र सीपको शिक्षासहित विद्यालय सुधार गर्ने योजनाका साथ चुनावमा होमिएको बताउनुहुन्छ । समृद्धिको निकासका लागि गुणस्तरीय र योजनाबद्ध विकास आवश्यक रहेको बताउँदै उहाँले राजनीतिक शुद्धतासँगै संसद्को गरिमा र सांसदको मर्यादा कायम गराउने कुरा पनि आफ्नो प्रतिबद्धतामा रहेको बताउनुभयो । कास्की क्षेत्र नं १ का हरेक सम्भावनालाई उजागर गर्दै समृद्धि र विकासका लागि लाग्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । जनताका हरेक समस्या र आवश्यकतालाई सम्बोधन गर्ने कुरालाई प्राथमिकताका साथ अघि बढाउने उहाँले बताउनुभयो । नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनबहादुर गुरुङले हाम्रो मुख्य शत्रु गरिबी रहेको बताउँदै त्यसको अन्त्यका लागि आफ्नो उम्मेदवारी भएको बताउनुभयो । कास्की क्षेत्र नं १ प्राकृतिकरुपमा सम्पन्न रहेको बताउँदै उहाँले यसको संरक्षण र उपयोगमा जोड दिने बताउनुभयो । गाउँ र सहरबीचको दूरी कम गर्नुका साथै शिक्षा, स्वास्थ्यलगायतका क्षेत्र आफ्नो प्राथमिकतामा रहने उहाँको भनाइ छ । गठबन्धन तथा नेकपा एमालेका उम्मेदवार सहित अन्य राजनीतिक दलका उम्मेदवारहरू पनि मतदातालाई आफ्ना पक्षमा पार्न चुनावी अभियानलाई तीव्रता दिएका छन् । हाम्रो नेपाली पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रमोद आचार्य भ्रष्टाचाररहित समाजको निर्माण आफ्नो प्राथमिकतामा रहेको बताउनुहुन्छ । राजनीतिक नीतिगत भ्रष्टाचार उन्मूलनलाई जोड दिइने बताउँदै उहाँले यस क्षेत्रको समग्र विकाससँगै शिक्षा, स्वास्थ्य एवं रोजगारीको प्रत्याभूति गराउने गरी अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । अघिल्लो पटक नेकपा एमाले र माओवादीको गठबन्धन विजयी भएको यस क्षेत्रमा अहिले भने नेपाली कांग्रेस र माओवादीसहितका दलको गठबन्धन छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यस क्षेत्रअन्तर्गत पर्ने पालिकामा वडाध्यक्षका उम्मेदवारले प्राप्त गरेको मतलाई आधार मान्दा गठबन्धनका उम्मेदवार बलिया देखिन्छन् । पोखरा महानगरपालिकासहित रुपा र मादी गाउँपालिकाका कूल २९ वटा वडा रहेको यस क्षेत्रमा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवारले ३१ हजार ७२ मत प्राप्त गर्दा एमालेका वडाध्यक्षका उम्मेदवारले कूल २८ हजार तीन सय ४६ मत प्राप्त गरेका थिए । त्यस्तै माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवारले तीन हजार एक सय ७० मत प्राप्त गरेका थिए । स्थानीय तहको निर्वाचनमा पनि कांग्रेस र माओवादी केन्द्रसहित गठबन्धनका दलको तालमेल थियो । यस क्षेत्रमा राप्रपाका वडाध्यक्षका उम्मेदवारले एक हजार सात सय ३७, स्वतन्त्रले चारसय ३५, जनता समाजवादीले ४४ र अन्य पार्टीका उम्मेदवारले ३९ मत प्राप्त गरेका थिए । वडाध्यक्षले प्राप्त गरेको मतलाई हेर्दा यस क्षेत्रमा कांग्रेस सबैभन्दा ठूलो दल देखिएको छ । कांग्रेससहितका गठबन्धनमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाको समेत मत जोड्दा मतान्तर फराकिलो देखिन्छ । पछिल्ला निर्वाचन हेर्दा यो क्षेत्र परिणाम बदलिरहने क्षेत्र हो । राजनीतिक नेतृत्वका हिसाबले यहाँबाट निर्वाचित उम्मेदवारले देशको राष्ट्रिय राजनीतिमा राम्रै प्रभाव पार्ने देखिन्छ । यसै क्षेत्रबाट निर्वाचित भएर तारानाथ रानाभाटले देशको सभामुखको जिम्मेवारी सम्हालिसक्नुभएको छ भने यज्ञबहादुर थापा, खगराज अधिकारीले मन्त्री पदको जिम्मेवारी सम्हालिसक्नुभएको छ । विसं २०६४ यताका निर्वाचनलाई हेर्दा पनि एकपछि अर्को निर्वाचनमा यहाँको परिणाम कुनै दलका पक्षमा स्थायी देखिएको छैन । विसं २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा यस क्षेत्रबाट नेकपा माओवादी केन्द्र (तत्कालीन नेकपा माओवादी)का देव गुरुङ विजयी बन्नुभएको थियो । दुई ठाउँबाट विजयी गुरुङले पछि मनाङ रोज्दा २०६५ सालमा उपनिर्वाचन भएको यस क्षेत्रमा उपनिर्वाचनमा पनि माओवादीकै कृष्णबहादुर गुरुङ निर्वाचित बन्नुभएको थियो । विसं २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा यस क्षेत्रमा कांग्रेसका यज्ञबहादुर थापा विजयी बन्नुभयो । विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा एमाले र माओवादी गठबन्धनका खगराज अधिकारी विजयी बन्नुभएको थियो । निर्वाचनको सम्भाव्य परिणाम यतिखेर यहाँका चोक, चौतारी र चिया पसलमा चर्चाको विषय बनेको छ ।
पोखरा: नेपाली महिला क्रिकेट टोली सम्मिलित नेपाल क्रिकेट सङ्घ (क्यान–११) ले नेपाल भ्रमणमा रहेको बेलायतको मेरिलेबोन क्रिकेट क्लब(एमसिसि)लाई मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको खेलमा नेपाली टोलीका कप्तान रुबिना क्षत्रीले ह्याट्रिकसहित पाँच विकेट लिएपछि नेपाली टोली १९ रनले विजयी भएको हो । खेलमा टस जितेर सुरुआतमा ब्याटिङ गरेको क्यान–११ ले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै ९९ रन जोडेको थियो । क्यान–११ का नेरी थापाले ३१ बलमा दुई चौकासहित सर्वाधिक १८ रन बनाउनुभएको थियो । खेलमा जितका लागि एक सय रनको विजयी लक्ष्य पछ्याएको एमसिसी १९ ओभरको पाचौँ बलमा सवै विकेट गुमाएर ८० रन मात्र बनाउन सफल भयो । एमसिसिका लागि एलिसा हुबर्डले २८ बलमा सर्वाधिक २० रन बनाउँदै अविजित रहनुभयो । एमसिसिका लागि अन्तिम ओभरमा जितको लागि २० रनको खाँचो थियो । अन्तिम ओभर बलिङ गर्नुभएका रुबिनाले अन्तिम पाँच बलमा चार विकेट लिन सफल हुनुभयो । रुबिनाले दोस्रो, तेस्रो, चौथो बलमा विकेट लिँदै ह्याट्रिक पूरा गर्दा पाँचौ बलमा समेत विकेट लिनुभएपछि एमसिसि नेपाली टोलीसँग पराजित हुन पुग्यो । खेलमा ‘प्लेयर अफ दि म्याच’ घोषित नेपाली टोलीका कप्तान क्षेत्रीलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पुरस्कार वितरण गर्नुभएको थियो । नेपाल भ्रमणमा रहेको एमसिसिले पोखरामा दुई ‘टी–२०’ र दुई ‘एक दिवसीय’ खेल खेल्ने छ । शनिबार एकदिवसीय खेल खेल्ने तालिका रहेको कास्की जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो ।
पोखरा: नेपालीहरुले दशैंपछि तिहारलाई विशेष प्राथमिकताका साथ मान्ने गरिन्छ । विशेषगरि दशैंमा गाउँघरमा चहलपहल हुन्छ भने तिहारमा शहरमा । विशेषगरि दिदिबहिनीको हातबाट दाजुभाइहरुले टिका ग्रहण गरेर भाइटिका मनाइने प्रचलन रहेको छ । तिहारमा विभिन्न रङका बत्तिहरुले घरलाई सजाइने हुदाँ बत्तिको पर्व पनि भन्ने गरिन्छ । तिहारको समयमा पोखरामा देखिएको झिलिमिलीलाई सुनगाभा न्यूजले तस्बिरमा कैद गरेको छ । सुनगाभा न्यूजको लेन्सबाट हेरौं, १५ तस्बिरमा झिलिमिली पोखरा:-
पोखरा । आसन्न ‘प्रधानमन्त्री कप एक दिवसीय’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ । गण्डकी प्रदेश क्रिकेट सङ्घले यही कात्तिक २ देखि ८ गतेसम्म प्रादेशिक छनोट प्रतियोगिता गरी १४ नियमित र चार वैकल्पिक गरी १८ जना खेलाडी प्रधानमन्त्री कपका लागि छनोट गरेको हो । गण्डकीको टोलीको कप्तानमा विपिन खत्री छन् । यसैगरी चन्द्रकान्त पौडेल, समिर कँडेल, विधान श्रेष्ठ, सचिनराज अधिकारी, अर्जुन कुमाल, सन्दीप खत्री, अमृत गुरुङ, करन पङ्गेनी, सन्देश बस्नेत, अभिशेक बस्नेत, सुवास भण्डारी र कमल परियार टोलीमा रहेको गण्डकी प्रादेशिक क्रिकेट सङ्घले जनाएको छ । यसैगरी वैकल्पिक चार खेलाडीमा दिनेश बुढामगर, प्रदीप अर्याल, सौजन्य रेग्मी र सन्दीप पराजुली छन् । गण्डकीको प्रशिक्षकमा रिजन प्रजु र ब्यवस्थापकमा चन्द्रकुमार गुरुङ छन् । नेपाल क्रिकेट सङ्घको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता यही कात्तिक १३ देखि २६ गतेसम्म राजधानी काठमाडौँमा हुँदैछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टोलीको सहभागिता रहने नेपाल क्रिकेट सङ्घले जनाएको छ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा गण्डकी प्रदेश, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश र सुदूरपश्चिम तथा समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेस प्रदेश र प्रदेश नं १ छन् ।
कास्की: कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ र ३ जोड्ने गरी रातोपानीस्थित सेती नदीमा पक्की मोटरेवल पुल निर्माणको काम सुरु भएको छ । सो स्थानमा पुल नहुँदा वडा नं २ सार्दिखोलाका बासिन्दा गाउँपालिकाको प्रशासकीय कार्यालय लाहाचोक आउजाउका लागि पोखरा पुग्नुपर्ने बाध्यता छ । लामो समयको प्रतिक्षापछि अहिले पुल निर्माणको काम अघि बढेपछि स्थानीय उत्साहित छन् । सेतीमा पुल नहुँदा झोलुङ्गे पुलबाट जोखिम मोलेर मोटरसाइकल वारपार भए पनि ठूला सवारीसाधन सञ्चालनमा कठिनाइ हुँदैआएको छ । माछापुच्छ्रे–२ सार्दिखोलाका पुष्पराज गौतमले प्रदेश सरकारबाट बजेट विनियोजन भएर पुल निर्माणको काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पुल नहुँदा हामीलाई धेरै सास्ती थियो, गाउँपालिका मुकाम जानसमेत पोखरा भएर जानुपर्ने बाध्यता छ । अहिले पुल निर्माणको काम सुरु हुँदा खुशी छौँ । यसै वर्षभित्र पुलको काम सकिए अर्को बर्खायामा सहज हुन्थ्यो ।” गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालको पहलमा पुल निर्माण थालिएको हो । उहाँले नै पुलको शिलान्यास गर्नुभएको थियो । माछापुच्छ्रे–२ सार्दिखोला र वडा नं ३ घाचोक जोड्ने गरी प्रदेश सरकारको रु १० करोड ४३ लाख ५७ हजार लागतमा पुल निर्माण गर्न हिमदुङ एण्ड थोकर र राम जानकी जेभी काठमाडौँसँग ठेक्का सम्झौता भएको छ । पूर्वाधार विकास कार्यालय कास्कीका अनुसार सो पुल आगामी २०८० साउनसम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । पुलको लम्बाइ ७० मिटर छ । गण्डकी प्रदेश सरकारले पाँच वर्षको अवधिमा माछापुच्छ«ेमा दुई पक्की मोटरेवल पुल निर्माण गरेको छ भने तीनवटाको काम भइरहेको छ । माछापुच्छ«े–६ इदीखोलामा भिँडाबारी र डाँडागाउँ जोड्ने गरी पक्की पुल बनेपछि सञ्चालनमा आएको छ । यसैगरी वडा नं ५ रिभानस्थित खहरेखोलामा समेत मोटरेवल पुल निर्माण गरिएको छ । वडा नं ६ र ४ लाहाचोक जोड्ने पक्की पुलका लागि गण्डकी प्रदेश सरकारबाट चालू आर्थिक वर्षमा रु पाँच करोड ५० लाख विनियोजन गरिएको छ । यसैगरी वडा नं १ को धिप्राङ खोलामा मोटरेवल पुल निर्माण गर्न रु ५० लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिनुभयो ।
पोखरा : तिहारमा देउसी भैलो, शहर होस् या गाउँ, विभिन्न उमेर समूहका देउसी भैलोले चोक र घरका आँगनी खाली छैनन् । तिहारको पहिलो दिनदेखि नै पोखराको विभिन्न चोक तथा घरहरुमा दिनानुदिन देउसी भैलो खेल्न आउँछन् । त्यही देउसी भैलोका समूहमा भेटिए पर्वतका ६८ वर्षीय कान्छा गुरुङ । पोखराको पृथ्वीचोकमा एक समूह देउसी भैलोको ब्यानरसहित नाचिरहेका थिए । यही मेसोमा उनले मुस्कुराउँदै सुनाए ‘उमेर अनुसार समय पनि परिवर्तन भएछ, मादलको तालमा नाच्ने हामीहरु । रेकर्ड गरेका गीतमा देउसी भैलो खेल्ने अचेलका युवाहरु ।’ कान्छा गुरुङ पोखरा बसाईसराई गरेको ४० वर्ष भयो । देउसी भैलो रिपोर्टिङकाक्रममा भेटिएका उनले अहिलेको देउसी भैलोको भन्दा आफ्नो पालाका देउसी भैलो फरक रहेको बताए । ‘हाम्रो पालामा यस्तो साउण्डसिस्टम थिएन’, उनले भने, ‘मादल दम्फु, खैजडीको तालमा देउसी रे, भैलो भन्दै खेल्थ्यौं । अचेल साथीहरु कहाँ होलान् ? बसाईसराईले गाउँमा भैलो खेल्ने मान्छे होला कि नहोला, त्यो दिनको झल्को आँखामा घुम्छन् ।’ उनले देउसी भैलो खेलेवापत आफुहरुलाई दानस्वरुप नगद हुनेले नगद, नहुनेले मकैको झुत्ता दक्षिणास्वरुप पाएको सुनाए । ‘अहिले जस्तो देउसी भैलोमा दानमा नगद नै दिनुपर्छ भन्ने थिएन, हाम्रो पालामा नगद हुनेले नगद दिन्थे नहुनेले मकैको झुत्ता, अहिले जस्तो पैसा सबैको साथ थिएन, जे दिए पनि हामी खुशी हुन्थ्यौं’ कान्छा गुरुङले भने । पृथ्वीचोकमा पिपलको रुखको आड लगाएर देउसी भैलो हेरिरहेका उनले दिनभर खेतीपाती र गोठको धन्दा सकाएर मात्र आफुहरु देउसी भैलो खेलेको अनुुभव सुनाए । ‘अहिले जस्तो समय थिएन दिनभर खेतीपाती गथ्थौं, वस्तुभाउलाई २ दिन पुग्ने घाँस काटे मात्र देउसी भैलो खेल्नी समय पाइथ्यो’ उनले भने, ‘समय अनुसार देउसी भैलो खेल्ने समय पनि परिवर्तन भएछ ।’ यता जिल्ला प्रशासन कार्यालय कास्कीले भने सुरक्षाको कारण देखाउँदै बेलुका ९ बजेसम्म मात्र देउसी भैलो खेल्न अनुरोध गरेको छ ।
काठमाडौं : नेपाली सेनाले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न विधामा नयाँ रेकर्ड कायम गर्दै ‘च्याम्पियन’को उपाधिमासमेत ‘ह्याट्रिक’ कायम गर्न सफल भएको छ । मुलुकको प्रमुख सुरक्षा अङ्ग सेनाले पोखरामा असोज २८ देखि कात्तिक ३ गतेसम्म भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ‘च्याम्पियन’को उपाधिमासमेत ह्याट्रिकको रेकर्ड बनाउन सफल भएको हो । यसअघि सातौँ र आठौँ संस्करणमा पनि सेनाको त्रिभुवन आर्मी क्लब ‘च्याम्पियन’ घोषित भएको थियो । प्रभावकारी तालिम, प्रशिक्षण, तयारी र व्यवसथापन गर्दै उच्च मनोबलसाथ प्रतिस्पर्धामा उत्रिएकाकारण खेलाडीले अनुमान गरेभन्दा राम्रो नतिजा दिलाउन सफल भएको नेपाली सैनिक शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रका प्रमुख महासेनानी मुनाल बस्नेतले प्रतिक्रिया दिनुभयो । प्रतियोगितामा सेनाले एक सय ७२ स्वर्ण, एक सय १० रजत र ८९ कास्य पदक जितेको हो । सर्वाधिक पदक जितेर सेनाले रु १० लाखको लागतमा प्रतियोगिताका लागि पहिलो पटक तयार गरिएको ‘राष्ट्रिय ट्रफ्री’ चुम्ने अवसर प्राप्त ग¥यो । राष्ट्रिय खेलकुद प्रतियोगिता देशभित्र खेलको सबैभन्दा ठूलो समारोह हो । यसअघि आठौँ प्रतियोगितामा सेनाका खेलाडीले एक सय ४८ स्वर्ण, ८७ रजत र ७२ कास्य पदक हात पारेको थियो । बाह्रैमहिना तालिम, खेलकुद पूर्वाधार, व्यवस्थापन, सुविधा र प्रशिक्षणसहितको तयारीकाकारण एथ्लेक्टिस, पौडीसहितका विधामा नयाँ–नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्दै सेनाले पूर्वानुमानभन्दा बढी पदक जित्न सफल भएको छ । प्रतियोगिता चलिरहँदा सेनाका विभिन्न विधाका १५ जना खेलाडीमा डेंङ्गु सङ्क्रमण भएका कारण सेनाले आँकलन गरेका केही पदक भने गुमाउन परेको थियो । तथापी सेनाले सबै टिमलाई पछि पार्दै आफनो पुरानो च्याम्पियनको छवि र वर्चश्व कायम राख्न सफल भएको छ । महासेनानी बस्नेत भन्नुहुन्छ, “प्रतिस्पर्धा र रेकर्ड राम्रो भयो, सबै विधाका खेलाडीको तयारी र व्यवस्थापन राम्रो थियो, एथ्लेक्टिस र पौडीमा धेरै रेकर्ड ब्रेक भएको छ । सोचेको भन्दा निकै राम्रो नतिजा प्राप्त गरियो, खेलाडीको उच्च मनोबल र चुस्त व्यवस्थापनले यो परिणाम हात परेको हो ।” सेनाले प्रतिस्पर्धामा पदक आफ्नो पक्षमा बढाउन सामूहिकभन्दा व्यक्तिगत खेल विधालाई बढी ध्यान केन्द्रित गर्ने रणनीति बनाएको देखिन्थ्यो । मुलुक सङ्घीयतामा प्रवेश गरेसँगै खेलकुदप्रतिको सर्वत्र चासो र रुचि बढेको हुँदा प्रतिस्पर्धा र गुणस्तरीय खेलाडी उत्पादनमा प्रभावकारी सावित भयो । पछिल्लो समय खेलकुदका विकासका लागि प्रादेशिक र स्थानीय तहमासमेत विभिन्न संरचना र कार्यक्रम विकास र विस्तार हँुदै गएको छ । सेनाले टिमलाई जिताउन मात्र केन्द्रित नभइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको पहिचान र तयार गर्नसमेत महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । प्रतियोगितामा सेनाले फुटबल, एथ्लेक्टिस, बक्सिङ, तेक्वान्दो, कराते, भारत्तोलन, भलिबल, टेवलटेनिस, कबडडी, कुस्ती, ब्याडमिन्टन, उसु, जुडो, बास्केट बल, बुद्धिचाल, आइटिएफ तेक्वान्दो, ह्याण्डबल र स्क्वासमा प्रतिस्पर्धा ग¥यो । नियमित अभ्यास र प्रशिक्षण गर्न प्रत्येक युनिटका साथै लगनखेल र सैनिक मुख्यालय परिसरमा सेनाको सुविधा सम्पन्न प्रशिक्षण केन्द्र र खेलमैदान समेत छ । यस पटकको प्रतियोगितामा एपीएफ दुई सय १९, नेपाल प्रहरी एक सय ८५, आयोजक गण्डकी प्रदेश एक सय २०, बागमती प्रदेश एक सय ४५, प्रदेश नम्बर १ ले ८३, सुदूरपश्चिम प्रदेश ६३, एनआएएनए २६, लुम्बिनी प्रदेश ६८, मधेश प्रदेश ३९ र कर्णाली प्रदेशले १८ पदक जित्न सफल भएको छ । त्रिभुवन आर्मी क्लबका खेलाडीले हक्की, सुटिङ, जिम्न्याष्टिक, लन–टेनिस, क्रिकेट, साइक्लिङ, आर्चरी, सेपाताक्रो, खोखो, फेन्सिङ, ट्रायथलन, पौडी, शारीरिक सुगठन, गल्फ, प्याराग्लाइडिङ, सफटटेनिस र रग्बीमा अन्य टिमका खेलाडीसँग प्रतिस्पर्धा गरी नतिजा आफनो पोल्टामा राख्न सफल भएका हुन् ।
पोखरा । तेस्रो रनिङशिल्ड तथा छैटौं ल्याम्ह पुचः फुटसलको उपाधि पृथ्वीचोक ल्याम्ह पुचः ले जितेको छ । महेन्द्रपुल ल्याम्ह पुचः को आयोजनामा भएको फुटसल लिगको फाइनलमा पृथ्वीचोकले हेम्जा ल्याम्ह पुचः लाई फाइनलमा ४–१ गोलले हराउँदै च्याम्पियन बन्न सफल भएको हो । च्याम्पियन पृथ्वीचोकले नगद ४० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता हेम्जाले २० हजार रुपैयाँको साथमा शिल्डक मेडल र प्रमाणपत्र प्राप्त गर्यो । यस्तै तेस्रो भएको भीमसेनटोलले १० हजार रुपैयाँ प्राप्त गर्यो। नेवार समुदायका युवाहरुबीच आपसी भाइचारको सम्बन्ध विकसित गर्ने लक्ष्यका साथ प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पृथ्वीचोकका विजय श्रेष्ठ घोषित भए । यस्तै पृथ्वीचोककै अजय श्रेष्ठ उत्कृष्ट एला, कृष्णराज भण्डारी उत्कृष्ट फिक्सो घोषित भए । हेम्जाका चार्लित श्रेष्ठ उत्कृष्ट गोलरक्षक र अंकित श्रेष्ठ उदीयमान खेलाडी घोषित भए । प्रतियोगिताको अनुशाशीत टिम मोहोरिया ल्यह्मा पुचः घोषित भयो । ल्याम्ह पुच: नेवार समुदायका युवाहरु बिच भाइचारा सम्बन्ध राख्न आयोजना गरिएको प्रतियोगिता शुक्रबारदेखी सुरु भएको थियो । शुक्रबार र शनिबार लिगचरणका खेलहरु भएका थिए । आइतबार सेमिफाइनल तथा फाइनल खेलहरु सम्पन्न भएको प्रतियोगिता संयोजक रोविन मानन्धरले जानकारी दिए । कोरोना महामाररीका कारण ३ वर्ष प्रतियोगिता आयोजना गर्न सकिएको थिएन । २०७४ सालदेखी रनिङशिल्ड सुरु गरिएको प्रतियोगिताको तेस्रो संस्करणमा कुल १५ टिमको सहभागिता रहेको थियो ।

