पाल्पा : मन्दिरमा पुगेर चिच्याएर वर माग्ने परम्परा सुन्दा झट्ट अनौठो लाग्दछ । आफूले मन्दिरमा मागेको वर भरसक अरुले थाहा नपाउन् भनेर मनभित्रैबाट वर मागिने गरिन्छ । पाल्पामा भने सबैले सुन्ने गरी चिच्याएर वर माग्ने मेला लाग्दैछ । पाल्पाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती ताल क्षेत्रमा रहेको सत्यवती मन्दिरमा यही कात्तिक १८ देखि २२ गतेसम्म मेला आयोजना गरिएको छ । हरेक वर्ष यहाँ कात्तिक पूर्णिमाका बेला तीन दिन मेला लाग्दै आइरहेको छ भने यसवर्ष दुई दिन थप गरेर पाँच दिनसम्म मेला लाग्ने भएको छ । यो वर्ष राम्रो जोग परेकाले पाँच दिनसम्म मेला सञ्चालन गर्ने तयारी भइरहेको सत्यवती मन्दिर ताल संरक्षण विकास समितिका अध्यक्ष दानबहादुर गाहाले जानकारी दिनुभयो । उहाँका अनुसार दुई वर्ष कोभिडका कारण चहलपहल नभएको मेला यो वर्ष भव्यरूपमा सञ्चालन गरिनेछ । मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीले चिच्याएर वर माग्ने चलन छ । धार्मिक पर्यटकीय स्थल सत्यवती मन्दिरमा कान कम सुन्ने बज्यै भएको विश्वासमा चिच्याएर वर माग्ने गरिन्छ । यहाँ बाँसको लिङ्गो लिएर आवाज निकाल्ने गरी चिच्याउँदै वर माग्ने र सत्यवती मन्दिर परिसरको पोखरीमा लिङ्गो गाडेर पूजा गर्ने गरिन्छ । मन्दिरमा प्रायः रातको समयमा पूजा गर्ने प्रचलन छ । किंवदन्तीअनुसार एक बज्यै उत्पत्ति भएको र ती बज्यैसँग एक युवाले आफ्नो मनोकाङ्क्षा पूरा गर्ने वर मागे । बज्यैले कसैलाई नसुनाए फल पाउने र सुनाए उसको मृत्यु हुने वचन दिइन् । ती युवाले घर फर्किए लगत्तै सुनाउँदा उनको मृत्यु भएकोले कसैलाई नभन्ने र बज्यैलाई चिच्याएर वर माग्ने चलन बसेको स्थानीयवासी बताउँछन् । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सत्यवती मेलामा दर्शन गर्न र भाकलअनुसार पूजा गर्न विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा दर्शनार्थी भित्रिने हुनाले पूजालाई व्यवस्थापन गर्न समितिलाई अनुरोध गरिएको तिनाउँ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । यो वर्ष मेलामा आउने भक्तजनलाई सहजरूपमा मन्दिरसम्म पुग्न यातायातको व्यवस्था र सुरक्षाको प्रबन्ध राम्रो गरिने अध्यक्ष श्रेष्ठ बताउनुभयो । नेपालका विभिन्न जिल्ला र भारतको सुनौली, नौतुना, गोरखपुरलगायतका क्षेत्रबाट ठूलो सङ्ख्यामा हरेक वर्ष यहाँ लाग्ने मेलामा दर्शनार्थी मन्दिरमा पूजाआजा गर्न आउने गरेको स्थानीयवासी धु्रवप्रसाद पंगेनी बताउनुहुन्छ । यसवर्ष राम्रो जोग परेकाले एक लाखभन्दा बढी दर्शनार्थी भित्रिने समितिको अनुमान छ । मेलालाई मध्यनजर गर्दै मन्दिरसम्म पुग्ने सडक मर्मत, खानेपानी, शौचालयलगायतको पूर्वाधार व्यवस्थापनका कामहरू भइरहेका छन् । चौबीस माइलदेखि झुम्सासम्मको सडकमा हुने सवारी चाप व्यवस्थापनमा जोड दिने पालिकाले जनाएको छ । परापुर्वकालमा सत्यवती बज्यैले कुभिण्डोको भाँडामा पिउने पानी लिएर हिँडेको र सोही क्रममा यहाँ विश्राम गर्दा पोखिएर बनेको पोखरी पनि कुभिण्डो आकारकै बनेको किंवदन्ती छ ।
पोखरा । नेकपा एमालेका सङ्गठन विभाग प्रमुख खगराज अधिकारीले कम्युनिष्ट, देशभक्त र राष्ट्रवादी शक्तिलाई एकताबद्ध गर्ने बताउनुभएको छ । एमाले गण्डकी प्रदेश सङ्गठन कमिटीद्वारा पोखरामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध र सुदृढ गर्ने योजनाका साथ अघि बढिएको बताउनुभयो । कास्की क्षेत्र नं १ प्रदेशसभा ९१०का प्रदेशसभा सदस्यका उम्मेदवार अधिकारीले समृद्धि र विकासको स्पष्ट योजनाका साथ एमाले चुनावी अभियानमा लागेको बताउँनुभयो । उहाँले जनताले एमालेमाथि आशा भरोसा गरेको बताउनुभयो । गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले एमालेको भविष्य, पार्टी सङ्गठनलाई हेरेर अन्य दलका व्यक्तिहरू पार्टीमा आकर्षित भएको बताउनुभयो ।
बलेवा : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका एक सय छमध्ये ३५ प्रतिशत मतदानस्थल अतिसंवेदनशील देखिएका छन् । सुरक्षाका दृष्टिकोणले तीन तहमा मतदानस्थललाई वर्गीकरण गरिएको हो । जिल्ला सुरक्षा समिति बागलुङले अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरेको छ । प्रमुख जिल्ला अधिकारी रमेश ढकालका अनुसार १५ प्रतिशत मतदानस्थललाई संवेदनशील र ५० प्रतिशत मतदानस्थललाई सामान्यमा राखिएको छ । विगतको निर्वाचनमा देखिएका गतिविधि, अब हुनसक्ने गतिविधि, पूर्वाधारको विकास, सुरक्षा निकायको पहुँच, मतदाता र उम्मेदवारलाई आधार बनाएर मतदानस्थललाई वर्गीकरण गरिएको हो । गृह मन्त्रालयले मतदानस्थलको सुरक्षा संवेदनशीलताको हिसाबले गरिएको वर्गीकरण सार्वजनिक नगर्न निर्देशन दिएकाले कुन कुन मतदानस्थल संवेदनशील छन् भन्ने बारेमा भने सार्वजनिक नगरिएको ढकालले बताउनुभयो । अतिसंवेदनशील र संवेदनशील क्षेत्रका लागि विशेष सुरक्षा व्यवस्था मिलाइएको ढकालले बताउनुभयो । सुरक्षाका लागि म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानको टोलीलाई परिचालन गरिनेछ । जिल्लामा कुल एक सय छ मतदानस्थल छन् । यसमा दुई सय ३१ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोकुल शर्माले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनपश्चात् मतदाताको सुविधालाई ध्यानमा राखेर बागलुङमा तीन मतदानस्थल परिवर्तन र तीन मतदानस्थल थप गरिएको हो । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा मतदातालाई भएको असुविधालाई हटाउने उद्देश्यले मतदानस्थल थप तथा स्थानान्तरण गर्ने सहमति भएपछि परिवर्तन र थप भएको शर्माले बताउनुभयो । जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार ढोरपाटन नगरपालिका–६, ढोरपाटन नगरपालिका–२ र गलकोट नगरपालिका–१० मा एक÷एकवटा मतदानस्थल थप गरिएको छ । सबै मतदातालाई अपायक परेको बागलुङ नगरपालिका–३ बौद्ध विहारबाट, कालिका कन्या मावि, बागलुङ नगरपालिका–६ को वडा कार्यालयदेखि लहरेपीपल मावि र बडिगाड गाउँपालिका–८ सिद्धबारी प्राविबाट भृकुटी माविमा मतदानस्थल स्थानान्तरणको निर्णय गरेको निर्वाचन कार्यालयका सूचना अधिकारी शर्माले जानकारी दिनुभयो । स्थानीय तह निर्वाचनपछि जिल्लामा दुई हजार आठ सय नयाँ मतदाता थपिएका छन् । नयाँ थप भएका मतदाताले आगामी मङ्सिरमा हुने सङ्घ र प्रदेश निर्वाचनमा मत राख्न पाउने छन् । स्थानीयतहको निर्वाचनमा एक लाख ९३ हजार ६२४ मतदाता रहेकामा अहिले एक लाख ९६ हजार २९७ जना मतदाता पुगे । यसमध्ये एक लाख नौ हजार ४० महिला र ९५ हजार पाँच सय १७ महिला मतदाता रहेका छन् । असार १ देखि साउन १९ गतेसम्म जिल्ला प्रशासन, कार्यालय बागलुङ, इलाका प्रशासन कार्यालय बुर्तिवाङ र निर्वाचन कार्यालय, बागलुङमा मतदाता नामावली दर्ता गरिएको थियो । अन्तिम मतादाता नामावलीका लागि दाबी विरोध, मृत्यु भएकाको नामावली हटाउने, नाम परिवर्तन गर्ने विवाह गरी गएकाको दर्ता सार्ने गरी भदौ १२ देखि १५ सम्म स्थानीय तहको वडामा मतदाता नामावली पुगेको निर्वाचन कार्यालयको भनाइ छ ।
पोखरा: पोखरा महानगरपालिकाले भदौ १३ गते एक सूचना प्रकाशित गर्दै भन्यो ‘महानगरबाट अनडरग्राउण्ड पार्किङको अनुमति लिएर बनाएका सटर तथा व्यापारीक प्रयोजनमा प्रयोग भएका छन् भने ३५ दिनभित्र खाली गर्नु ।’ सो सूचना सार्वजनिकपछि पोखरेली जनताले बालेनलाई पत्छाउँदै पोखराका मेयर धनराज आचार्य विकासको पक्षमा भन्दै गुणगान गाउनसम्म भ्याए । महानगरको सूचनाको ३५ दिने म्याद असोज १७ गते पुरा भएपछि पनि केही लछारपटार नलगाएपछि फेरि उनै मेयर आचार्यको आलोचना चोकचोकमा सुनिन थाल्यो । उनले नेपालीहरुको महान पर्वको समय भएको भन्दै मानवीयताकै कारण तिहार पर्वपश्चात कडा रुपमा उत्रने बताएका थिए । सोही अनुरुप आज दलबलसहित मेयर आचार्यले महानगरको अल्टिमेटम लत्याउएको भन्दै फिल्डमा उत्रिए र भूमिगत पार्किङमा व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीहरुलाई तत्काल हटाउन निर्देशन दिए । उनले निर्देशन मात्रै दिएनन् अटेरी गरेको सटरहरुमा डोजर नै चलाए । उनले विग बजार सेल स्टो प्रालिका सञ्चालक जनक कार्कीलाई प्रश्न गरे– ‘यो जग्गा कति घण्टामा खाली हुन्छर?’ सो प्रश्नको उत्तरमा व्यवसायी कार्कीले भने, ‘तपाइहरुको यो सकरात्मक कार्यमा हाम्रो पनि हातेमालो छ । हामीलाई केही दिन दिनुहोस्, हैन आजै सार्नपर्छ भन्नुहुन्छ भनेपनि ठिकै छ रातारात पनि काम गर्छौ ।’ विग बजार सेल स्टोरसँगै गरिमा विकास बैंक रहेको भवन, त्यसैगरि बुद्ध विशाल बजारको अन्डरग्राउण्ड पार्किङ लगायतमा मेयर आचार्य नेतृत्वको टोलीले खाली गर्न निर्देशन दिएको थियो । विभिन्न मलका भूमिगत पार्किङहरु खाली गर्न उर्दीगरेसँगै महेन्द्रपुलस्थित मोवाइल टावर र सीता भवनको भूमिगत पार्किङ भने केही दिनमा नै महानगरले पार्किङको लागि प्रयोग गर्ने बताइएको छ । तस्बिर: सुशान्त गाहा मगर/सुनगाभा न्यूज
पोखरा : सातै प्रदेशमा निस्किएको नेपथ्य ब्याण्डले पुस १२ गते पोखरामा कन्सर्ट भएको छ । नेपथ्य ब्याण्डले मंसिर १६ देखि पुस १६ गतेसम्म एक महिना लामो देशव्यापी प्रस्तुती दिनेछ । नेपथ्यले नेपालको पूर्वी कुनादेखि पश्चिमी कुनासम्म पुग्ने तयारी गर्दै यसपालिदेखि नयाँ अठोटका रूपमा ‘मानवता प्रवद्र्धन अभियान’ मा सहभागी हुँदैछ । नेपथ्यले सामाजिक संस्था‘ मानवसेवा आश्रम’ सँग हातेमालो गर्दै ‘मानवताको लागि संगीत’ कार्यक्रमको पहिलो प्रस्तुती विराटनगरमा गर्नेछ । मंसिर १६ गते विराटनगरस्थित ‘हाटखोला मैदान’मा नेपथ्य गुञ्जिनेछ । त्यसपछि ब्याण्ड वीरगंज प्रस्थान गर्नेछ । मंसिर १९ गते वीरगंजको ‘आदर्शनगर रंगशाला’मा, मंसिर २२ गते हेटौंडाको ‘भूटनदेवी स्कुल मैदान’मा, २५ मंसिर गते नारायणघाटको ‘क्याम्पाचौर’मा ब्याण्ड उपस्थित हुनेछ। मंसिर महिनाको अन्तिम कन्सर्ट भने नेपालगन्जमा २९ गते आयोजना गरिनेछ । ब्याण्डले पुस ३ गते धनगढीको रंगशालामा आफूलाई प्रस्तुत गर्नेछ । पुस ६ गते वीरेन्द्रनगर सुर्खेतको खुलामञ्चमा, पुस ९ गते बुटवलको रामनगर खेलमैदानमा, पुस १२ गते पोखरास्थित प्रदर्शनी केन्द्रमा प्रस्तुति दिनेछ । यसरी देशका सम्पूर्ण प्रदेशहरू घुमिसकेपछि अन्तिममा ब्याण्ड काठमाडौं आइपुग्नेछ । काठमाडौंमा भने पुस १६ गते भृकुटीमण्डपमा ब्याण्ड प्रस्तुत हुनेछ । ब्याण्डले बेसहारा बन्न पुगेका नेपालीहरूको आवाज बन्ने मात्र नभई उनीहरूको सहयोगार्थ अर्थ संकलनमा हातेमालो गर्नेछ । ‘हामीले गीत संगीत मात्र नभई सामाजिक दायित्वलाई समेत अभिभाराका रुपमा उठाउँदै आएका छौं,’ ब्याण्डका गायक अमृत गुरुङले भने, ‘कुनै पनि नेपालीले कष्टपूर्ण अवस्था झेल्नु नपरोस् भनेर अब मानवताको सन्देश लिएर हामीलाई मनपराउँदै आउनुभएका श्रोता दर्शकमाझ पुग्न लागेका छौं ।’ नेपथ्यको यो भ्रमणलाई ‘नेपालय’ले व्यवस्थापन गर्न लागेको हो । यसभन्दा पहिले विद्यालयमा हतियारधारीहरूको हस्तक्षेप हटाउन ‘शान्तिको लागि शिक्षा’ र द्वन्द्वको चक्रबाट मुलुकलाई मुक्त गर्ने कामनाका साथ ‘सुन्दर शान्त नेपाल’ जस्ता अभियानहरू नेपथ्यकै सक्रियता एवम् सहभागीतामा अघि बढेको थियो। यस्ता अभियानमा नेपथ्यले गीत सुनाउनुका साथै आफूले उठाएको नारालाई अथ्र्याउने प्रयास गथ्यो । यसरी आफ्नो स्वरलाई हस्तक्षेपमुक्त विद्यालय बनाउने, शान्तिको कामना गर्ने र युद्धविरोधी आवाजमा समेत रुपान्तरण गर्दै आएको नेपथ्यले अब भने ‘मानवताको लागि संगीत’ मार्फत मानवीय आयामहरूलाई आफ्नो आवाजको उद्देश्य बनाउने सोच लिएको हो ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी (पासपोर्ट) किर्ते सम्बन्धी मुद्धामा फरार रहेका नगेन्द्रराज अधिकारीलाई ६ वर्षपछि प्रकाउ गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका २ सेराचौर बस्ने ४६ वर्षीय अधिकारीलाई राहदानी किर्ते सम्बन्धी मुद्धामा कास्की प्रहरीले ६ वर्षपछि प्रकाउ गरेको हो । कास्की प्रहरीका अनुसार अधिकारीले आफ्नै भाईको नागरिकता तथा अन्य कागजात प्रयोग गरी नक्कली राहदानी, नक्कली बैंक खाता लगायतको कागजात प्रयोग गरि साइप्रस गएका थिए । त्यही बसोबास गरि केही समयपछि संयुक्त राज्य अमेरिका पुगेका थिए । हाल उनी नेपाल आउँदा प्रकाउ परेका हुन् । प्रकाउ परेका अधिकारीलाई जिल्ला अदालत कास्कीबाट राहदानी किर्ते सम्बन्धी असुरमा ६ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ ।
नवलपुर : पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको पश्चिम नवलपरासी प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार डुङ्गा दुर्घटना हुँदा सुस्ता –४ का २२ वर्षीय गुड्डु हरिजन, सोही स्थानका १८ वर्षीय नीरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ताको मृत्यु भएको थियो । डुङ्गामा सवार दुई जना नदीमा डुबेर घाइते भएका छन् । घाइते हुनेमा २२ वर्षीय किशोर हरिजन र सोहित सहानी छन् । उनीहरूलाई उपचारका लागि भैरहवा लगिएको छ । घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
पोखरा : पोखरा महानगरपालिकाले भोलिदेखि (मंगलबार) भूमिगत पार्किङ खाली गर्ने भएको छ । महानगरले आज एक सूचना प्रकाशित गर्दै महानगरभित्र रहेका भूमिगत पार्किङहरुलाई सोही प्रयोजनका लागि प्रयोग गराउन भोलिदेखि दलबलसहित लाग्ने बताएको छ । महानगरले दशै अगाडी महानगरबाट भूमिगत पार्किङको अनुमति लिएर ब्यापारी प्रयोजनमा लगाएको सटरहरु ३५ दिनभित्र खाली गराउन निर्देशन दिएको थियो । तर नेपालीहरुको ठुला चाडपर्वको कारण देखाउँदै तिहार र छठपछि एक्सनमा उत्रने पोखरा महानगरका प्रमुख धनराज आचार्यले बताएका थिए ।
पोखरा : जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा कौडा ( जुवा ) खेलिरहेका २३ जनालाई प्रकाउ गरेको छ । पोखरा महानगरपालिका ३० शिसुवास्थित यमुना पराजुलीको घरमा कौडा ( जुवा ) खेलिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीले २३ जनालाई नगद ५ लाख ३१ हजार ९ सय ५० रुपैयाँसहित प्रकाउ गरेको हो । प्रकाउ पर्नेमा पोखरा महानगरपालिका ३० शिसुवा बस्ने २३ वर्षीय बिनित सुवेदी, ३० वर्षीय भिष्म लामिछाने, ६५ वर्षीय गोकर्ण कुमार श्रेष्ठ, ५३ वर्षीय मणि खनाल, ३६ वर्षीय निभान देवान, ४३ वर्षीय राजेन्द्र अर्याल, ३० वर्षीय विवश बास्तोला रहेको कास्की प्रहरीले जनाएको छ । त्यस्तै ३८ वर्षीय राजेन्द्र अधिकारी, ५० वर्षीय धुर्व तिवारी, ५० वर्षीय जनक थापा, ४८ वर्षीय नवराज भट्ट, ५३ वर्षीय शेखर पौडेल, ३६वर्षीय तिर्थ पौडेल, ३१ वर्षीय अमित गौतम, ३५ वर्षीय रेमश गुरुङ, ५० वर्षीय भुवन शर्मा, ३० वर्षीय प्रदिप चापागाई, २६वर्षीय अमृत श्रेष्ठ, ४९ वर्षी सुरज भट्राई, ४३ वर्षीय नारायण तिवारी, ४३ वर्षीय पुर्णबहादुर घले, पोखरा महानगर ३१ बस्ने ३५ वर्षीय विश्वज्योति सुवेदी र पोखरा महानगर ३२ बस्ने ४० वर्षीय सागर श्रेष्ठ रहेका छन् । प्रकाउ परेका २३ जुवाडेलाई सार्वजनिक हित स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको असुर अन्र्तगत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्धा शिर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ ।

