उचित मुल्य पाउदैँ कास्कीका किसान

पाेखरा | कात्तिक २१, २०७९

उचित मुल्य पाउदैँ कास्कीका किसान

 

लेखनाथ । पोखराका उपभोक्ताले पाँच दिन अघि मात्र प्रतिमुठा साग रु एक सय ५० तिरेर खरिद गरेका थिए । एक महिना अघि मात्र प्रतिकेजी धनियाँको साग एक हजारमा बिक्री भएको थियो । तिहारमा सयपत्री फूलको मूल्य प्रतिकेजी रु एक हजार पुगेको थियो  । यसैबाट प्रमाणित हुन्छ कि अब कास्कीका किसानले  उत्पादन गरेको वस्तुले मूल्य पाउन थाल्यो । 

    
पोखरा महानगरपालिका–२२ भुम्दी निवासी २४ वर्षीया अप्सरा मिजारसँग आफ्नो जमिन नभए पनि दई रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्नुभएकीमा भदौ र आसोज महिनामा उत्पादन गरिएको काँक्राले मात्र रु एक लाख आम्दानी गरायो । यसै महिनामा उत्पादन भएको सिमीले रु ५० हजार मुनाफा दियो । बजारमा  यतिबेला  सिमीको मूल्य प्रतिकेजी रु एक सय २० थियो । तीन रोपनी जग्गामा लगाइएको तरकारीबाट मासिक रु ३० हजार मुनाफा हुने गरेको कृषक मिजारले सुनाउनुभयो । उहाँको पति कुमार रोजगारीका लागि कतारमा हुनुहुन्छ, कतार गएको पनि तीन महिना मात्र भयो । 


स्याङ्जा आरुखर्कबाट पाँच वर्षअघि विवाह गरेर  भुम्दी आउनुभएकी अप्सराले गाउँका किसानले व्यावसायिकरुपले तरकारी खेतीबाट मनग्य आम्दानी गरेको देखेर उहाँ पनि तरकारी खेतीतर्फ आकर्षित हुनुभएको थियो । 


गाउँलेको तीन रोपनी जग्गा भाडामा लिएर तरकारी खेती सुरु गरेको पाँच वर्ष भयो, यस अवधिमा उहाँले मासिक रु ३० हजार आम्दानी गरेर आत्मनिर्भर हुँदै आउनुभएको हो । अप्सराले भन्नुभयो, “तीन वर्षदेखि तरकारी खेतीको आम्दानीले नै परिवार पालिएको छ । यतिबेला भाडाको जमिनमा केराउका बेर्ना लगाइएको छ । यस गाउँमा व्यावसायिक कृषि सुरु भएको १८ वर्ष पुगिसकेको छ । एक सयभन्दा वढी किसानले तरकारी खेती गर्दै आएका छन् ।” 


भुम्दीका अधिकाशं परिवारले तरकारी खेतीमै व्यस्त छन् । किसानको उत्पादन बारीबाटै बिक्री हुँदै आएको छ । अठार वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका ४९ वर्षीय श्यामु अधिकारीले नौ रोपनी जमिनमा तरकारी खेती गर्दै आउनुभएको छ । छ रोपनी आफ्नै  र तीन रोपनी जमिन भाडामा लिएर व्यावसायिक तरकारी खेती गर्नुभएका उहाँले प्रतिवर्ष रु नौ लाख मुनाफा गर्दै आउनुभएको छ ।


पछिल्लो समय तरकारीले बजार र मूल्य पनि पाउन थालेको छ । यहाँ उत्पादन भएको तरकारी पोखरा बजारमा बिक्री हुने गर्छ । आफूले पाँच जनाको परिवार तरकारीबाट नै पाल्दै आएको जानकारी दिँदै  श्यामुले भन्नुभयो– “यहाँका किसानलाई प्राविधिक ज्ञान र कोल्ड स्टोरको खाँचो छ ।”  किसानले गोलभेडा, काउली, सिमी, काँक्रो, साग, मुला, बन्दा, करेला, घिराँैला, धनियाँ, फर्सी, गाँजरलगायत तरकारी उत्पादन गर्दै आएका छन् ।” 


कृषि फार्म सञ्चालन गर्दै आउनुभएका श्यामुले कुखुरा र भैँसी पालनसमेत गर्नुभएको छ । यतिबेला उहाँका बारीमा अन्नपूर्ण दामी र वाइट टप जातका काउली लहलह भएका छन् । बारीमा काम गर्दै गर्नुभएका उहाँले भन्नुभयो,  “सधै ओझेलमा पारेका  किसानको उत्पादनले बल्ल बजार र मूल्य पाउनु थालेको छ ।” गाउँमा कृषि  समूह बनाएर तरकारी खेती गर्ने थुप्रै किसान छन् । 

अर्का  तरकारी खेती  गर्दै आउनुभएका रमेश अधिकारीले भन्नुभयो, “माटोमा खेल्न सके सफल भइँदोरहेछ । चार पाँच रोपनी जग्गामा लगाइएको तरकारी खेतीको आम्दानीले एक परिवार सजिलै पाल्न सकिने रहेछ । कसैसँग ऋण माग्न जानु परेको छैन, दुई छाक खान र छोराछोरी पढाउन पनि पुगेको छ आवश्यक परेमा केही पैसा गोजीबाट निकाल्न पनि सकिने तरकारी खेतीले बनाइदियो ।”


 सोही गाउँ निवासी ५५ वर्षीया किसान धनकुमारी गुरुङले आफू विवाह गरेर यहाँ आउँदा लोग्ने छोराले रक्सी पिउने र तासै मात्रै खेल्ने गर्थे, सडकसँगै तरकारीको व्यावसायिक खेती हुन थालेपछि अहिले गाउँमा जुवातास खेलेको देख्न  पाइँदैन, ७५ वर्षका वृृद्धवृद्धासमेत तरकारी बारीमा व्यस्त भएको देखिन्छ । 


गाउँमा तरकारीले अनौठो परिवर्तन ल्याइदियो उहाँले भन्नुभयो । किसानले उत्पादन गरेको तरकारी अवलोकनका लागि आइतबार बिहान  पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरिया, वडाध्यक्ष हिमलाल बरालसहित सञ्चारकर्मीको टोली त्यहाँ पुगेको थियो । अवलोकनमा आएका पाउनालाई उक्त गाउँका किसानले  यहाँका एक सय घरपरिवारले वार्षिक दुई करोडभन्दा बढीको तरकारी उत्पादन गर्दै आएको जानकारी दिए ।  


 तरकारी खेती अवलोकन गर्दै प्रमुख कडरियाले  यस गाउँबाट अन्य गाउँका किसानले पनि व्यावसायिकरुपले  तरकारीे खेती सिक्न जरुरी भएको बताउनुभयो । घरका मान्छे विदेश भए पनि र यहाँका बाझो जग्गा भाडामा लिएर पनि व्यावसायिक तरकारी  सुरु हुनु कृषिमा क्रान्ति भएको उहाँले प्रतिक्रिया दिनुभयो । 


वडाध्यक्ष बरालले तरकारीमा सिँचाइको लागि पानी अपुग भएमा थप स्रोतबाट पानी ल्याउनका लागि आफूले वडाको तर्फबाट पाइप उपलब्ध गराइदिने आश्वासन दिनुभयो । पुम्दी र भुम्दी दूध र तरकारी उत्पादनमा कास्कीमै अगाडि भएकाले यहाँका किसानलाई व्यावसायिक तालिमको व्यवस्था गर्नसमेत उहाँले कृषि महाशाखालाई आग्रह गर्नुभयो । 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्