पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

‘ घान्द्रुक:  कास्की क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सभा सदस्यका एमाले उम्मेदवार दामोदर पौडेल वैरागीले १० वर्षे सशस्त्र द्वन्दकालमा विद्रोही पक्षबाट हत्या गरिएका घान्द्रुकका स्थानिय दिलमान गुरुङ र ईश्वर गुरुङलाई सहिद घोषणा गर्न पहल गर्ने प्रतिवद्वता जनाएका छन् ।  मंसिर ४ गते हुने निर्वाचन लक्षित कार्यक्रम अन्र्तगत अन्नपुर्ण गाउँपालिका वडा नम्वर १० घान्द्रुकका स्थानियसँगको प्रत्यक्ष भेटमा उनले द्वन्दकालमा विद्रोही पक्षले दिएको घान्द्रुकवासीको चोटमा आफुले मल्हम लगाउने प्रतिवद्वता जनाएका हुन् । उनले भने–‘द्वन्दकालमा घान्द्रुकवासीलाई विद्रोही पक्षले दिएको चोटमा महल्म लगाउने म वाचा गर्छु । अल्पायुमै ज्यान गुमाउनु भएका दिलमान गुरुङ र ईश्वर गुरुङको चिरशान्तिको कामना गर्दै सहिद घोषणा गर्न पहल गर्नेछु । तपाईं मलाई सुर्य चिन्हमा मत दिएर विजयी गराउनुस, तपाईको घाईते मुटुको महल्म बनेर तपाईहरुकै सेवा गर्नेछु ।’ एक अर्काे प्रशंगमा उनले व्यवस्था फेरिएपनि जनताको अवस्था नफेरिएका कारण आफ्नो उम्मेदवारी रहेको बताउँदै मंसिर ४ पछि बन्ने नकपा एमालेको सरकारले अवस्था परिवर्तन गर्नेमा ढुक्क हुन आग्रह गरे । उनले जिल्लाको पर्यटकीय गन्तव्यमा परिचित रहेको घान्द्रुकमा पर्यटन प्रवद्र्धनका लागि कुनै कसर बाँकी नराख्ने र वर्षेनी वजेट छुट्याउने बताए । उनले घान्द्रुकसम्म पुग्ने बाटो स्तरोन्नती गर्ने विश्वास व्यक्त गरे । उम्मेदवार वैरागीले आमा समुहको भवन बनाउने, संग्रालय बनाउने, खानेपानी, बाटो बनाउने, सिंचाईको व्यवस्था मिलाउने, धेरै धन्दा धेरै पर्यटक भित्र्याउने काम गर्ने,  प्राकृतिक सम्पदाको संरक्षण गर्ने साथै समग्रमा क्षेत्र नम्वर ३ को विकासका लागि आफूलाई पार्टीले चुनावी मैदानमा पठाएको बताउँदै पार्टीको सुखी नेपाली,समृद्ध नेपालको अवधारणालाई जनताको अभिमतले पूरा गर्ने स्पष्ट पारे । उनले आफू बोल्ने हैन काम गरेर देखाउने सर्वहारा जनताको पार्टी नेकपा एमालेको नेता भएकाले जनताको ढाड सेक्ने गरी बढाएको करको दर घटाउने, काममा ढिलासुस्ति र भ्रष्टचारको नियन्त्रणका लागि जुनसुकै मूल्य चुकाउन पनि पछि नपर्ने उद्घोष गरे । कार्यक्रममा कास्की ३ (ख) का प्रदेश सभाका उम्मेदवार राजीव पहारी, प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार क्रान्ति वुर्लाकोटि, एमाले नेताहरु जगत विश्वकर्मा, सोमनाथ अधिकारी प्यासी, देवी सुवेदी, विवेक देवकोटा लगायतले बोलेका थिए ।  

  पोखरा ।  मंगलबार दिउँसो पोखरा १३ स्थित जय नेपाल मार्गमा एमालेको घरदैलो हुने कार्यतालिका थियो । कार्यक्रम हुने सुचना पाएपछि स्थानिय बासिन्दा नजिकको विश्राम स्थलमा जम्मा हुँदै थिए । केहि समयपछि  गण्डकी प्रदेशसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर १ ख बाट एमाले उम्मेदवार वेदबहादुर गुरुङ ‘श्याम’ उपस्थित भए । भेला भएर बसेका स्थानिय देखेपछि गुरुङले नमस्ते गर्दै भने  नमस्ते  म श्याम गुरुङ । गुरुङको वाक्य पुरा नहुँदै स्थानिय एक महिलाले गुरुङ भाषामा जवाफ फर्काए अँ सेम सेम, फिल्मर क्लोब हिरो  श्याम। तले असेबु अर्थात अँ चिन्छु नि किन नचिन्नु ? गुरुङ फिल्ममा खेल्ने श्याम हैन ?  त्यसपछि श्याम गुरुङले मुस्कुराउदै भने ? यसपाली प्रदेश सभा सदस्यको लागि उम्मेद्वारी दिएको छु। मलाई भोट गर्नुस् ल । दुई जनाको रोचक वार्तालाप सुनिरहेका अर्का स्थानिय महिलाले गुरुङ भाषामा भने, ‘छली छ्याबा फिल्म बन्दीबा। ५ वर्ष नोरु गाउँपालिका पनि बन्दीबा। तरे प्रदेश पनि बन्दील तुबा ओ। ङला भोट मात्र अङी आशिर्वाद पनि मु।’ अर्थात फिल्म पनि धेरै राम्रो बनायो।  ५ वर्ष अघि गाउँपालिकामा चुनेर गाउँपालिका पनि राम्रो बनाउनु भयो।  अब प्रदेशलाई पनि बनाउनु पर्छ।  हाम्रो भोट मात्र हैन आशिर्वाद पनि छ।   गुरुङ समुदायको बाहुल्य रहेको यस क्षेत्रमा गुरुङलाई राजनीतिक मात्र नभई कलाकारको हिसाबले पनि चिन्ने गर्छन् । राजनीति संगै लामो समय कलाकारितामा लागेका वेद बहादुर गुरुङ श्यामले थुप्रै गुरुङ सिनेमामा अभिनय र निर्देशन गरेका छन् ।  विशुद्द गुरुङ सिनेमा बनाएर गुरुङहरुको संस्कार संस्कृति जोगाउन योगदान पुर्याएका छन् । सिनेमा मात्र नभई गुरुङ  संस्कार संस्कृति माथि लेख, रचना, गीत संगीत सिर्जना गरेका छन्।   गुरुङले गुरुङ चलचित्रकर्मीहरुको साझा संस्था जिफान  अर्थात गुरुङ फिल्म एसोसियसनमा अध्यक्ष रुपमा काम गरेर समेत आफ्नो भाषा, संस्कार अनि संस्कृति जोगाउन योगदान दिएका छन्।   गुरुङले पछिल्लो ५ वर्ष मादी गाउँपालिकाको संस्थापक अध्यक्षको रुपमा रहेर उत्कृष्ट  काम गरेको दाबी गर्छन् ।  बाटो घाटो, पुल, ढल र जल विधुत निर्माण एवं संभार, शिक्षा, स्वास्थ्य क्षेत्रमा स्तर उन्नति  गरेको बताउछन् । राजनीतिक मात्र हैन कलाकारिता क्षेत्रमा इमान्दार पुर्वक काम गरेको सबैलाई थाहा छ। मेरो व्यक्तित्व कस्तो छ, धेरैलाई थाहा छ। गुरुङले भने, ‘जनताले गाउँपालिकाको अध्यक्ष हुने बेला गरेको कामको पनि मुल्यांकन गर्नेछ। त्यसैले भारी मत आउने विश्वास गरेको छु।’ मंगलबार भएको घरदैलोमा गुरुङले पुरा नहुने सपना देखाएर जनतालाई भ्रममा पार्ने र झुटा आश्वासन नदिने बताएका छन् । आफ्नो एजेण्डा आधारभूत र व्यवाहारिक रहेको समेत बताएका छन् । आफू निर्वाचित भए यस क्षेत्रको विकासमा लाग्ने प्रतिवद्दता समता जाहेर गरे।   नेकपा एमालेले कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा तर्फ जिल्ला अध्यक्ष मन बहादुर गुरुङ, प्रदेश क तर्फ खगराज अधिकारी र ख तर्फ वेद बहादुर गुरुङ श्यामलाई  उठाएका छन्।

पोखरा : पोखरा चेम्बर अफ कमर्स  कास्कीले बैंक तथा वित्तिय संस्थाहरुमा वृद्धि भएको ब्याजदर घटाउन माग राख्दै नेपाल राष्ट्र बैंकलाई ज्ञापनपत्र पठाएको छ ।    चेम्बर कास्कीले आज (मंगलबार) बैंक तथा वित्तियसंस्थाहरुमा वृद्धि गरिएको ब्याजदरको विरोध गर्दै नेपाल राष्ट्र बैंकका गर्भनरलाई ६ बुदेँ माग राख्दै नेपाल राष्ट्र बैंक गण्डकीका प्रमुख रामशरण खरेलमार्फत ज्ञापनपत्र पठाएको हो ।   ज्ञापनपत्र खरेललाई हस्तान्तरणपश्चात बोल्दै पोखरा चेम्बर अफ कमर्स  कास्कीका अध्यक्ष यामनाथ पौडेलले कोरोना, रुस र युक्रेनको युद्धले थलिएको व्यवसायले बैंक तथा वित्तिय संस्थाहरुमा ब्याजदर बढाएर थप पिडा दिएको बताए ।    ‘कोभिड १९ ले व्यवसायीहरुसमेत अछुत रहन सकेन’, उनले भने, ‘कोभिडपछि रुस र युक्रेनको युद्धका कारण धरापमा परेको नेपाली व्यवसायीहरुलाई नेपाल राष्ट्र बैंकले ब्याजदर वृद्धि गरेर व्यवसायीलाई थप पिडामा राखेको छ । यो निर्णय फिर्ता लिन हाम्रो माग हो ।’   उनका अनुसार चेम्बरले आकासिदो ब्याजदर नियन्त्रणका लागि हाल विद्यमान स्प्रेड दर ४.४ प्रतिशतमा १ प्रतिशत घटाउन माग गरेको छ । बैंकहरुको आधार दरलाई न्यूनतम विन्दुमा कायम गरिनुपर्ने, कर्जामा आधार दरको अधिकतम २ प्रतिशत सम्म प्रिमियम थप हुने गरी व्यवस्था गर्न माग गरेको छ ।    ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा चेम्बर्स आफ कमर्स  गण्डकी प्रदेशका अध्यक्ष किसान सुनारले व्यवसायीहरुहरुलाई धरापमा पार्ने गरी ब्याजदर बृद्धि गरेको बताए ।    ‘ब्यापार व्यवसाय फस्टाएमात्र देश समृद्ध हुन सक्छ’ उनले भने,‘ देश समृद्ध बनाउन ब्यापार ब्यवसाय फस्टाउन पर्छ तर राष्ट्र बैंकले व्यवसायीहरुको विरुद्ध ब्याजदर वृद्धि गरेर व्यवसाय धरापमा पारेको छ ।’ यस्तै चेम्बर पोखराले नेपाल राष्ट्र बैंकले वाणिज्य बैकहरुलाई वाणिज्य ऋण प्रवाह गर्दा विगत ६ महिना ५ प्रतिशतबाट ८.५ प्रतिशत पुर्‍याएको र त्यसलाई ५ प्रतिशत नै कायम गर्न माग गरेको छ । सिडी र्‍याटियो ९० प्रतिशतको स्थानमा अन्य वर्षको जस्तै सिडी र्‍याटियो ८५ प्रतिशत नै कायम गर्न चेम्बरको माग छ ।   त्यसैगरि सो ज्ञापनपत्रमा प्रत्यक्ष त्रैमासिकमा पुजीगत खर्चको समीक्षा गरिनु पर्ने  र खर्चको लक्ष्य प्राप्तिको लागि प्रभावकारी पहल गरिनुपर्ने माग राखेको छ । यस्तै चेम्बरले स्थानीय, प्रदेश तथा संघीय सरकार अन्तरगतका निकायहरुको खातामा रहेको पुजीगत रकम खर्च हुने नसकेको अवस्थामा रकमको ९५ प्रतिशत रकम वाणिज्य बैंकहरु मार्फत कर्जा प्रवाह गर्ने सुविधा प्रदान गर्न माग गरेको छ ।    ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा पृथ्वी बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र बहादुर केसी लगायय व्यवसायीहरुको उपस्थिति रहेको थियो ।    ज्ञापनपत्र बुझाउनुअघि पोखरा मालेपाटनस्थित चेम्बर्स अफ कमर्स  कास्कीको कार्यालयबाट पस्र्याङ, सिद्धार्थचोक, विपी चोक, न्यूरोड, सिर्जनाचोक हुदैं नेपाल राष्ट्र बैंक गण्डकी प्रदेशको कार्यालय पुगरे ज्ञापनपत्र बझाइएको थियो ।   

  पोखरा । गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य बर्खास्त भएका छन् । निर्वाचन आचार संहिता उल्लंघन गर्दै आसन्न निर्वाचनका लागि एमाले प्रचारप्रसारमा हिँडको आरोपमा उनलाई मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई पत्राचार गरेपछि उनलाई बर्खास्त गरिएको हो ।   मन्त्री आचार्यलाई हटाई मन्त्रिपरिषदमा समेत फेरबदल भइसकेको मुख्यमन्त्रीको कार्यालयले जानकारी दिएको छ । गण्डकीमा अहिले ११ मन्त्रालय रहेका छन् ।   आचार्य २०७८ जेठ २९ मा बिनाविभागीय मन्त्रीमा नियुक्त भएका थिए । पछि असार ११ मा उनलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका थिए । आचार्य गत निर्वाचनमा गोर्खाबाट बाबुराम भटराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीबाट प्रदेशसभामा विजयी भएका थिए ।

  कास्की । कास्की कारागारमा कैद सजाय भोगिरहेका ७ जना कैदीबन्दीले आम निर्वाचनमा मतदान गर्ने पाउने भएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा ४ जना पुरुष र ३  जना महिला कैदीबन्दीले मतदान गर्ने भएका हुन् ।  उनीहरुले प्रतिनिधि सभाको समानुपातिक तर्फमात्रै मतदान गर्न पाउने कास्की कारागार प्रमुख भीमराज कोइरालाले बताए । ‘कैदीबन्दीले केन्द्रको लागि समानुपातिक तर्फमात्रै मतदान गर्न पाउने छन्, उनले भने, ‘जिल्ला निर्वाचन कार्यालय कास्कीले कैदीबन्दीको आवश्यक कागजात मागेपछि पठाएका थियौ, जस्मध्ये मतदाता नामावलीमा नाम रहेका ७ जनाले मात्रै मतदान गर्न पाउने भएका छन् ।’ कोइरालाका अनुसार मतदान गर्न पाउनेहरुमा लमजुङका नवराज तामाङ, कास्कीका प्रकाश गुरुङ, गोरखाका छ्योतक घ्यान्चोक लामा, मुस्ताङका सुक बहादुर विक, कास्कीकी भिम कुमारी विक र  मनु परियार, स्याङ्जाकी सुनिता थापा रहेकी छिन् । हाल कास्की कारागारमा महिला पुरुष गरि ८ सय ४८ कैदीबन्दी छन् ।

  पोखरा ।  बजार नजिकै रहेको आर्बा आन्तरिक समस्याले गर्दा पिछडिएको छ । पोखरा महानगरपालिका–१३ मा पर्ने उक्त ठाउँ खानेपानी र कच्ची बाटोको समस्या देखिन्छ । कास्की क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा उम्मेदवार दिपक गुरुङले ‘माइला’ले पाँच वर्षभित्र आर्वाको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।  ‘अबको पाँच वर्ष आर्वाको विकासको लागि मलाई जिम्मा दिनुहोस् । गुणस्तरीय शिक्षा, खानेपानी, पूर्वाधारमा विकास गर्नेछु,’ उनले भने, ‘म यहाँ तपाईसामु प्रतिबद्धता सुनाउन भन्दा पनि आर्शिवाद लिन आएको हुँ । झुटो आश्वासन दिन्न । जिताउनुहोस् धोका पनि दिन्न ।’ मंसिर ४ को निर्वाचन पछि आर्वाको मुहार फेरिने उनले सुनाए । ‘यहाँको बुथबाट एमाले छैन भन्ने अनुभुति दिलाइदिनुहोला । त्यसपछि समस्या समाधान र विकास तर्फ लाग्नेछु,’ उनले भने, ‘आर्बाको समस्या मलाई प्रस्टसँग थाहा छ । मलाई मत दिएर उदाहरणीय काम गर्न दिनुहुनेछ भन्ने विश्वास लिएको छुँ ।’ उनले खानेपानीको समस्यालाई स्थानीय सरकारसँग समन्वय गरेर निकास दिने बताए ।  पाँच दलका साझा उम्मेदवार गुरुङले आर्वावासीको आधारभूत आवश्यकता पूरा गर्न सधै अग्रसर भएर लाग्ने घोषणा गरे । ‘निर्वाचन लगत्तै यहाँका वासिन्दाहरुलाई सेतो लालपूर्जा वितरण गरिनेछ । सबै प्रक्रिया पूरा भइसकेको छ । निर्वाचनपछि यसलाई वितरण गरिनेछ,’ उनले भने, ‘पूर्जाको समस्यालाई समस्याको रुपमा नलिनुहोला । पूर्जा पाउनुहुनेछ, ढुक्क हुनुहोस् ।’ उनले देश विकास र संविधान जोगाउन सबै दल मिलेर आएको बताए । देशको ठूलो शक्ति गठबन्धन रहेको हुँदा संविधान रक्षा र समुन्नतको बाटोमा देशलाई लैजाने बताए ।   

राष्ट्रिय स्वतन्त्र पार्टी, कास्कीले क्षेत्र नम्बर १ अन्तरगत मादी गाउँपालिकामा चुनावी अभियानलाई तीब्रता दिएको छ ।   अभियानकाक्रममा पार्टीका उम्मेदवार र कार्यकर्ताले स्थानीयसमक्ष चुनाव चिन्ह ‘घन्टी’मा मतदान गर्न आग्रह गरे ।    रबि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको कास्की क्षेत्र नं १ बाट प्रतिनिधि सभातर्फका प्रत्यक्ष उमेदवार राजु राईको टोली मादीकोे ताङतिङसम्म पुगेको छ ।      पुराना दलले बिकासको काममा अग्रसरता नदेखाएको र समाजमा भ्रष्टाचार मौलाएको र त्यसलाई रोक्न अब रास्वपाको बिकल्प नरहेको भन्दै उमेदवार राईले मतदातासँग मत मागेका छन् ।    स्थानीय ठाउँको बिकासमा अब रास्वपाको बिकल्प नरहेको भन्दै उनले मतदातालाई घण्टी चुनाव चिन्हमा मत मागेका थिए । उनीसँगै समानुपातिकतर्फका उम्मेदवार शिव नेपालीले पनि बिकासका लागी रास्वपा नै रोज्न जनतालाई आग्रह गरेका छन् ।    जनता पुराना पार्टिको रबैया र गलत प्रबृत्तिबिरुद्ध उठ्नुपर्ने भन्दै कास्कीमा रास्वपाले चुनावी अभियानलाई तिब्रता दिएको छ ।      ताङतिङ पुगेका उम्मेदवार राई र उनको टोलीले जनता आफुहरुसँग उत्साहित रहेको र घण्टी चिन्हमा मतदान गर्ने बाचा गरेको समानुपातिक उम्मेदवार शिव नेपालीले जानकारी दिएको छन ।    नेपालीले आफुहरु मादी गाउँपालिकाका सबै वडाहरु पुग्ने बताए । 

  पोखरा। वि.स.२०२६ साल वैशाख २ गते स्याङ्जाको टक्सारमा जन्मिएर हाल पोखरा महानगरपालिकाका वडा नम्वर ३३ भरतपोखरीका स्थायी बासिन्दा रहेका भिम बहादुर कार्की आन्दोलनको राप र तापले खारिएका  नेता हुन् । आसन्न मंसिर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनमा कास्कीको क्षेत्र नम्वर २(१) बाट गण्डकी  प्रदेश सभा सदस्य पदका उम्मेदवार कार्की २०३७ साल अर्थात ११ वर्षको कलिलो उमेरमा नै निर्दलीय पञ्चायती व्यवस्थाको कु्रर दमनका विरुद्ध अनेरास्ववियु पाँचौको सदस्यता लिएर विद्यार्थी आन्दोलन मार्फत न्याय र समानताको पक्षमा आवाज बुलन्द पार्दै संघर्षको मैदानमा होमिएका व्यक्ति हुन् । कार्की १४ वर्षे कलिलो उमेर अर्थात वि .स.२०४० सालमा पहिलो पटक गिरफ्तार परेका थिए ।  जनताको मुक्तिको खातिर सतिसाल झै उभिएको त्यो बालापन न त कुनै गिरफ्तारी धरपकडले अत्तालियो न त कुनै क्रुर निर्मम यातनाले नै विचलित भयो । पञ्चायत विरोधीहरूलाई क्रुर यातना दिने तत्कालिन शासकको प्रताडनाले कार्कीको हुर्कदो मस्तिष्कमा उव्जेको आन्दोलनको ज्वारभाटा रोकिएन । २०४२ सालको आन्दोलन,२०४५ सालको नाकाबन्दी विरोधी आन्दोलन, २०४६ र २०६२–६३ को आन्दोलनमा पटक पटक गिरफ्तारी र जेल जीवन बिताउदा आगो खाएर अगार ओकल्न सक्ने,यातना र संघर्स सजिलै पचाउन सक्ने, क्षमताले एक परिपक्व र आदर्श नेताको रूपमा चिनिन्छन् भिम कार्की । विद्यार्र्थी आन्दोलनको मूल प्रवाह अनेरास्ववियुका विद्यालय र क्याम्पसका विभिन्न कमिटीमा रहेर नेपालको विद्यार्र्थी आन्दोलनका सशक्त अगुवाको रूपमा अघि बढेका भिम कार्की वि.स.२०४७ मा  पार्टीको स्याङ्जा जिल्ला कमिटी सदस्य र कार्यालय सचिबको जिम्मेवारी कुशलतापूर्बक निर्वाह गरे । जीवनमा जनताको मुक्तीगामी आन्दोलनको कुशल सिपाही र कुशल संगठन क्षमताका धनी भिम कार्कीको वैचारिक र साङ्गठनिक कार्यक्षमताकै कारण पार्टीले उनँलाई तत्कालिन गण्डकी अञ्चलका विभिन्न जिल्लामा संगठन निर्माणमा खटायो । पार्टीको आग्रहलाई शिरमा राखेर एक इमान्दार सिपाही भएर २०४८ सालमा  गोर्खा जिल्लामा पुगि पार्टीको कामलाई व्यवस्थित बनाउन तल्लिन भए उनी । पार्टीको आदेश शिरोपर गर्ने एक कर्मठ इमान्दार संगठक कार्की फेरि  वि.स. २०५२ देखि २०६२ सम्म १९ वर्ष मनाङको सचिवको जिम्मेवारी सहित जनता जगाउन तल्किन भए । कतै हिउँका डल्ला, कतै  जाडो, कतै पहाड, के अनुकुल, के प्रतिकुल सबै परिस्थितिको सामना गर्दै निरन्तर नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने कार्की २०५२ सालमा राष्ट्रिय प्रतिनिधि परिषदको सदस्यमा निर्वाचित भए । त्यसपछि निरन्तर २०७० सालसम्म राष्ट्रिय प्रतिनिधि परिषद सदस्य भएका उनी २०५८ सालमा गण्डकी अञ्चलको कार्यालय सचिव हुँदै २०६६ देखि २०७४ सम्म पार्टीको केन्द्रीय स्कुल विभागको सदस्य भए । पार्टीका वैचारिक प्रशिक्षणहरूमा कुशल प्रशिक्षक उनको  परिचय त हो नै कुशल बौद्धिक नेतृत्व उनको अर्को परिचय हो । २०७५ सालमा एमाले र माओवादी केन्द्र एकीकरण हुँदा बनेको तत्कालीन नेकपाको केन्द्रीय सदस्यको भुमिका प्रभावकारी ढंगले निर्वाह गरेका कार्की एमालेको दशौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भए लगत्तै कास्की इन्चार्ज भएर कार्यमा तल्लिन भए ।हाल पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीसहित केन्द्रीय भुमि व्यवस्था विभागको उप–प्रमुखको रूपमा समेत क्रियाशिल छन् । निरन्तर ४० वर्ष पार्टी आन्दोलन मै जीवन समर्पित गरेका कार्कीले पटक–पटक पार्टी सरकारमा जादा न कुनै सांसद मन्त्रीको चाहना राखे न त कुनै कुनै राजकीय नियुक्तिको चाहना नै, चुपचाप पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्ने कामयावी गुणका कारण नै उनलाई तत्कालिन केपी ओली नेतृत्वको सरकारद्वारा गठित भुमी सम्वन्धी समस्या समाधान आयोगको प्रवक्ता सहित केन्द्रिय  सदस्यको जिम्मेवारी काँधमा आइपुग्यो । जस्तोसुकै कठिन कामलाई पनि अवसरको रूपमा सदुपयोग गर्न सिपालु कार्की जीवनकालमा पहिलो पटक प्राप्त राजकीय यो भुमिकालाई झन् नयाँ ढंगबाट सम्पादन गर्न रत्तिभर पनि चुकेनन् । ‘समृद्ध नेपाल – सुखी नेपाली’ नै अवको आफ्नो अन्तिम लक्ष्य भएको बताउने कार्की भुमी आयोगमा रहदा कहिले नीति नियम बनाउन तल्लिन भए भने कहिले पूर्वदेखि पश्चिमका अधिकांश जिल्लामा भुमीहिन र अव्यवस्थितहरूको पहिचान र उनीहरूको हक अधिकारको वकालत गर्न चुकेनन् । सबै कामहरू सम्पन्न हुने क्रममै रहेका बेला देशमा सरकार फेरिए लगत्तै उनको आयोग पनि विगठन भएसँगै कतिपय काम असरल्ल परे । केपी ओली सरकारका अधुरा बग्रेल्ती काम पूरा गर्नु त छदैछ त्यसका अलावा केही व्यवस्थित योजना सहित पार्र्टीकै आदेश अनुसार आफू समृद्ध गण्डकी अनि समृद्ध नेपाल निर्माण गर्ने एक मात्र स्वार्थ सहित प्रदेश सभा सदस्य पदको उम्मेदवार बनेको बताउने  भिम कार्की एक सादगी,त्यागि र इमान्दार  नेताको रूपमा चिनिन्छन् । चाहे विकासका योजना बनाउदा होस या कैयौं बौद्धिक बहसहरूमा होस आफ्नो प्रभावशाली छवि बनाउन प्रयत्नशील रहने कार्की अबको निर्वाचन मार्फत जनताको मन र मतबाट अनुमोदित हुनेमा ढुक्क छन् ।  

  पोखरा । बैंक तथा वित्तिय संस्थाका कारण आफूहरुले निकै समस्या झेल्नुपरेको व्यवसायीहरुले गुनासो गरेका छन् । रेडियो अन्नपूर्ण पोखरा र नेपाल उद्योग बाणिज्य महासंघ गण्डकीले सोमबार आयोजना गरेको ‘आर्थिक अन्योल र समाधान’ बिषयक अन्तक्र्रियामा बोल्दै उनिहरुले कर्जा र ब्याजको समय सीमा बढाउन सरोकारवालासँग आग्रह गरेका हुन् । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अध्यक्ष एवं रेडियो अन्नपूर्णका अध्यक्ष विश्वशंंकर पालिखेले आफू अस्वस्थ भएर अस्पताल वेडमा उपचारारत हुँदा समेत बैंकको फोनले पीडा दिएको सुनाए । व्यवसायीहरुलाई प्रताडित नबनाउन समेत उनले बैंक तथा वित्तिय संस्थालाई आग्रह गरे । महानगरपालिकाले जग्गाको बर्गीकरण नगर्दा सम्पत्ति हुँदापनि बेचबिखन गर्न समस्या भएको उनको भनाइ छ । पोखरा पर्र्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बैंकबाट लिएको कर्जा आफूहरुले पर्यटन क्षेत्रमा नै लगानी गरेको स्पष्ट पारे । ब्याजदरमा भएको वृद्धिका कारण पर्यटन व्यवसायी बढी मारमा परेको उनले बताए । नेपालको प्रमुख आयस्रोत पर्यटन क्षेत्र भएकाले यसको संरक्षणमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिडका समयमा राष्ट्रबैंंकले दिएको सुविधा समेत निजी बैंकहरुले नदिएको गुनासो गरे । उनले पर्यटन व्यवसायीलाई व्यवसाय पुनरुत्थानका लागि दिएको रकम समेत पर्यटन व्यवसायीहरुले नपाएको भन्दै असन्तुष्टि जनाए । नेपाल राष्ट्रबैंक गण्डकीका निर्देशक रामशरण खरेलले निर्यातमा कडाई, बढ्दो रेमिटयान्स तथा पर्यटकहरुको आगमनमा भएको वृद्धिका कारण केही सहजता आउने विश्वास व्यक्त गरे । राष्ट्रबैंकले विभिन्न बैंक तथा बित्तिय संस्थाहरुमा निमयन गरिरहेको उनको भनाइ छ । बैंंकहरुले प्रिमियम बढाउन नहुने उनको भनाइ छ । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले नेपाल राष्ट्रबैंक र अर्थमन्त्रालयलबिच नै सामञ्जस्यताको अभाव हुँदाको परिणाम उद्योगी व्यवसायीहरुले पीडा भोग्नु परेको बताए । राष्ट्रबैंक दलहरुको भर्तीकेन्द्र जस्तो भएको भन्दै उनले सुधारको खाँचो औंल्याए । राष्ट्रबैंकले पूँजी पलायनलाई रोक्न कुनै ध्यान नदिँदा वित्तिय क्षेत्रमा तरलता देखा परेको उनको भनाइ छ । व्यवसाय चलायमान नहुँदा कर्जा प्रवाहमा कठिनाइ हुने भएकाले संरचनामा नै सुधान हुनुपर्ने उनको जोड छ । नेपाल बित्त कम्पनी बैंकर्श एसोसिएसनका उपाध्यक्ष रवि गुरुङले बित्तिय पार्टनरबिना व्यवसायीहरुलाई अगाडी बढ्न समस्या हुने बताए । उनले बैंकहरुले विभिन्न शिर्षकमा चार्ज नलिएको दाबी गरे ।  नेपाल डेभलपमेन्ट बैंकर्श एसोसिएसनका पूर्व अध्यक्ष गोबिन्द ढकालले ब्याजदर आन्दोलनले नभइ बजारको अवस्थाले घटबढ हुने बताए । राष्ट्रबैंकको नीतिलाई अवलम्बन गर्दै आफूहरु व्यवसायीकै पक्षमा रहेको उनको भनाइ छ । नेपाल बैंकर्श एसोसिएसन गण्डकीका कार्यवाहक संयोजक सूर्य रोकाले व्यवसायको नाममा लिएको कर्जा व्यवसायीहरुले अन्य क्षेत्रमा लगानी गरेको बताए । नेपाल उद्योग बाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजीवबहादुर कोइरालाले बैंक तथा वित्तिय संस्थाहरु सामाजिक उत्तरदायित्व बहन गर्न चुकेकाले ब्जाजदर बृद्धि मात्र भन्दापनि यसतर्फपनि ध्यान दिनुपर्ने बताए । गलत काम गर्नेहरुलाई व्यवसायीहरुले उजुरी नगरेपनि राष्ट्रबैंकले कारबाही गर्नुपर्ने उनको माग छ । नेपाल उद्योग परिसंघ गण्डकीका अध्यक्ष विनोद शर्माले बैंकहरुले अनुत्पादक क्षेत्रमा लगानी गर्दा सबै क्षेत्रमा समस्या उत्पन्न भएको बताए । निक्षेपमा ब्याजदर बढाउने प्रवृत्ति नरोकिँदा धेरै व्यवसायीहरु पलायन हुनुपरेको उनले बताए । पोखरा उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष गोकर्ण कार्कीले व्यवसायीहरुको मर्काप्रति बैंक तथा बित्तिय संस्था अनुदार भएको र आफूहरुको आवाज सरकारलेपनि नसुनेका कारण बाध्य भएर सडकमा उत्रनुपरेको बताए । यो समस्या व्यवसायीहरुको मात्र नभएर सबैको साझा समस्या भएको उनको भनाइ छ । ब्याजदर वृद्धिको असर नागरिकको चुल्हो सम्म पुग्ने कार्कीले बताए । होटल संघ गण्डकीका अध्यक्ष एवं पर्यटन व्यवसायी हरी शर्मा गैहो, पोखरा हस्तकला संघका अध्यक्ष रामकली खड्का, उद्योगी टिकाराम सुवेदी र नविन श्रेष्ठले व्यवसाय उत्थानका लागि बैंकहरुले ध्यान दिनुपर्ने बताए । बैंक तथा बित्तिय संस्थाहरुले मनोमानी ढंगले ब्याजदर बढाएको भन्दै पछिल्लो समय व्यवसायीहरुले आन्दोलन गर्दै आइरहेका छन् । कार्यक्रमको सहजीकरण अन्नपूर्णकर्मी बासुदेव मिश्रले गरेका थिए । कार्यक्रमको रेडियोले प्रत्यक्ष प्रशारण गरेको थियो । पोखरा उद्योग बाणिज्य संघ र पब्लिक फोरके टेलिभिजनले कार्र्यक्रम सहकार्य गरेका थिए ।