तपाइ मान्नुस्, नमान्नुस्, नेपाली कांग्रेसका कार्यकर्ता र समर्थकबीच प्रधानमन्त्री शेरबहादुर देउवाभन्दा सुन्न रुचाइने नाम हो गगन थापा । यसका विविध कारणमध्ये पहिलो कारण हो गगन सडक आन्दोलनबाट उदाएका नेता हुन् । दोस्रो कारण कांग्रेसभित्र उनी ‘पोलिटिकल सेलेब्रिटी’ हुन् । पछिल्लो र सशक्त कारण गगन ‘युवा’ हुन् । कांग्रेसभित्र गगनका समकक्षी, समर्थक, कार्यकर्ता छन् भने बाहिर फ्यान छन् । यसर्थ, कांग्रेसभित्रबाट मात्र हैन बाहिरबाट पनि उनै युवाको माग थियो । फ्यानहरु खुलेरै बोले । समर्थक र कार्यकताहरु सुषुप्तरुपमा । आसन्न निर्वाचनपछि वैकल्पिकरुपमा उदाएका दलहरुले आर्जन गरेको शक्ति युवाहरुको आडमा हो । तर उक्त दलका युवाहरु राजनीतिमा आकर्षित हुनुमा गगनकै प्रत्यक्ष–अप्रत्यक्ष हात र साथ छ । जसै गगनले चुनाव जिते, उनले स्पष्टरुपमै संसदीय दलको नेतामा साथ, समर्थन जुटाउन लागिपरे । देउवालाई चुनौति दिन फलामको च्युरा चपाउनुसरह ठानेका गगनले प्रयास नै नगरी हार मान्न चाहन्नथे । र, मंगलबार उनले कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिमा उम्मेदवारी दर्ता गराए । ५१ हजार रुपैयाँ तिरेर मनोनयन दर्ता गरेपछि उनको पक्षमा देशै गुञ्जायमान भयो । गठबन्धनका दलबाहेक अन्यले गगनको जीतलाई आवश्यक पनि ठाने । तर नतीजा उनको पक्षमा आएन । देउवाले ६४ मत पाउँदा गगनको पक्षमा २५ मत रह्यो । गणितीय हिसाबकिताबमा गगनको मत निकै कम हो । उनी ३९ मतले पछि परे । गगनलाई मत हाल्ने २५ जना कांग्रेस र देशमा परिवर्तनका पक्षधर हुन् । गगनलाई मनोनयत दर्तामा प्रस्तावक बसेका शेखर कोइरालाकै समूहमा ३१ सांसद देखिएका थिए । तर उनै समूहबाट समेत भोट नपाएपछि मतान्तर फराकिलो भयो । स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाले ०५१ को मध्यावधि निर्वाचनमा देउवालाई संसदीय दलको नेता चयन गरेपछि उनको भाग्योदय भयो । सोही कारण देउवा ४९ वर्षकै उमेरमा प्रधानमन्त्री भए । त्यसयता पटकपटक गरी ५ पटक प्रधानमन्त्री भइसकेका देउवा अब छैठौं अवसरको तयारीमा छन् । यसमानेमा अहिले संसदीय दलको नेताको चुनावमा उठ्दा गगनको उमेर ४६ वर्ष छ । थापा देउवाभन्दा ३० वर्ष कान्छा हुन् । यहाँनेर उल्लेखनीय कुरा भनेको कोइरालाले देउवालाई प्रधानमन्त्रीका लागि तयार गर्न जसरी ४९ वर्षकै उमेरमा अघि सारे देउवाले पनि त्यो कर्म गर्न सक्नुपथ्र्याे । तर अवसर र राजनीति पदकै लागि गरिने तथ्य जगजाहेर भएकाले देउवा छैठौं पटक पनि संसदीय दलको नेता बन्न चाहेपछि गगनले विद्रोहको बिगुल फुक्नै पर्ने थियो । कांग्रेसमा पूस्तान्तरणलाई महत्व नदिने र नयाँलाई कजाएरै राख्ने परिपाटीविरुद्ध गगनले दिएको उम्मेदवारी राजनीतिक डिस्कोर्समा ‘पोलिटिकल प्याराडिग्म सिफ्ट’ हो । र, उनलाई सघाउने डा. शेखर कोइराला, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, प्रदीप पौडेल उनका सारथि हुन् । विपक्षी खेमाले कांग्रेस नरुचाउलान् तर गगनको कदमलाई सम्मान र समर्थन नगर्नेहरु केवल पार्टीका गोटीमात्र हुन् । चुनाव संख्या नाप्ने तराजु हो । जसले तौल त नाप्ला तर गुणस्तर कदापि मापन गर्न सक्दैन । अर्थात्, जोडघटाउमा गगनले हारेपनि उनको कदमले स्वयंलाई जिताएको छ । र, आगामी दिनमा कांग्रेसको बुढो रुखलाई सञ्जीवनीमा परिणत गर्नेछ । त्यसो त माउ पार्टी भनि धाक लगाउने सबै दललाई सञ्जीवनी बुटी चाहिएको छ । हालै सम्पन्न निर्वाचनले सबैलाई ‘साइज’मा ल्याइदिएको छ । सबै हारेका छन् तैपनि हार स्वीकार्न मानेका छैनन् । फ्रेञ्च सम्राट लुइ सोह्रौजस्तै आफैलाई सबथोक ठान्ने नाइके पार्टीको उच्च पदमा लामो समयदेखि आशिन छन्, रहिरहन चाहेका छन् । जसविरुद्ध बिगुल फुक्नुपर्ने तन्नेरी कार्यकर्ता ‘ख्वामित्, हजुरको म त दास पो हुँ’ शैलीमा सुमेरु घुमिरहेका छन् । विश्वास गरौं, अब दासहरुले गगनको कदमबाट थोरै भएपनि ‘टनिक’ पाउनेछन् ।
बागलुङः बागलुङको ताराखोला गाउँपालिका २ अर्गलस्थित किकल्ताको एक घरमा आगलागी हुँदा २५ लाख बढीको क्षति भएको छ । हिजो बेलुका बिरबहादर घर्तिको घरमा करिव ११ बजेको समयमा आगलागी भएको ताराखोला गाउँपालिका २ का वडाध्यक्ष भद्रबहादुर घर्तिले जानकारी दिए । हिजो बेलुका करिव १० देखि १२ बजेको बिचमा घटना भएको हो, वडाध्यक्ष घर्तिले भने, ‘आगलागी हुँदा दुईतलाको घर पुर्ण रुपमा क्षति भएको छ, अहिले दाजुभाईको घरमा ५ जनाको परिवारले आश्रय लिएका छन् ।’ आगलागी हुँदा ४५ हजार नगद, २ टोला सुन, १६मुरी मकै, टिभी,१ वटा भैसी र घरमा रहेका खाद्यान्न र लत्ताकपडासहित भाडाकुडामा क्षति भएको छ । आगलागीबाट करिव २५ लाखको क्षति भए पनि आगलागीबाट मानवीय क्षति भएको छैन् ।
काठमाडौं: बिहीबार बिहानदेखिको प्रतिकूल मौसमका कारण ठप्प भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान अहिले नियमित सुरु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठकुरका अनुसार आज बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण केही समय उडान तथा अवतरण बन्द भए पनि अहिले उडान तथा अवतरण पुनः सुरु भएको हो । कुहिरो र हुस्सु हटेपछि अहिले विमानस्थलमा जहाज उडान तथा अवतरण भइरहेको उनले बताए। कुहिरो र हुस्सुका कारण केही विमान होल्डमा रहेकाले अहिले मौसम खुलेपछि उडान अवतरणमा केही ढिलाइ हुनसक्ने विमानस्थलले जनाएको छ ।
काठमाडौं: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन शिक्षाध्यक्ष प्रा.डा.गुरुप्रसाद खनालको पदावधि समाप्त भए पश्चात रिक्त रहेको उक्त पदमा ईन्टर्नल मेडिसिन विभागका प्रा.डा.सञ्जीवकुमार शर्मा नियुक्त भएका छन् । प्रतिष्ठानको ऐन, २०४९ को दफा ११ (ग) (१)बमोजिम प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीको सिफारिसमा प्रतिष्ठानका सहकुलपति स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ्गले शर्मालाई शिक्षाध्यक्ष नियुक्त गरेका हुन् । प्रतिष्ठानको शिक्षाध्यक्ष पदमा नियुक्त प्रा.डा.शर्माको कार्यकाल यही पुस ७ गतेदेखि पाँच वर्षसम्म रहने जनाइएको छ । प्रतिष्ठानको ऐन, २०४९ को दफा ७ को उप दफा (१) (ध) बमोजिम प्रतिष्ठानका शिक्षकहरू मध्येबाट उपकुलपतिको सिफारिसमा सहकुलपतिले स्कूल अफ पब्लिक हेल्थ एण्ड कम्यूनिटी मेडिसिनका प्राडा.नीलाम्बर झा तथा माइक्रोबायोलोजी विभागका प्रमुख डा.नारायणराज भट्टराईलाई सञ्चालक परिषद सदस्यमा मनोनीत गरेका छन् । उनीहरूको कार्यकाल पुस ६ देखि चार वर्षका लागि रहने जनाइएको छ ।
कावासोती: पूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययन गरिरहेका छन् । कावासोती–३ स्थित संस्थागत सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा उनीहरु अध्ययन गर्दै आएका छन् । नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने १३ जुम्ल्याहा जोडी रहेको विद्यालयका संस्थापक प्रध्यानाध्यापक भोजराज दाहालले बताए । ‘विगतमा पनि जुम्ल्याहा विद्यार्थी विद्यालयमा पढ्न आउने गरेका थिए, एकैपल्ट यति धेरै जुम्ल्याहा विद्यार्थी पढ्न आएका यसपटक नै हो, यो आफैंमा दुर्लभ संयोग हो,’ दाहालले भने, ‘एउटै शैक्षिक सत्रमा १३ जोडी जुम्ल्याहा विद्यार्थी हामीसँग हुँदा गर्व लागेको छ ।’ जुम्ल्याहा जन्म आफैंमा दुर्लभ जन्म भएको बताउँदै प्रिन्सिपल दाहालले जुम्ल्याहा विद्यार्थीको आफ्नो विद्यालयको गौरव भएको बताउँछन् । ‘एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा हुनु हाम्रा लागि दुर्लभ मात्रै होइन ऐतिहासिक पनि हो, हामी यी नानी बाबुको अध्ययन अध्यापनमा कुनै कमी हुन नदिने गरेर लागेका छौं’, दाहालले भने । जुम्ल्याहा विद्यार्थी अध्यापन गराउँदै आएका शिक्षकसँग पनि फरक खालको अनुभव छ । जुम्ल्याहा विद्यार्थी एउटै कक्षामा रहेकाले उनीहरुमा सहकार्य प्रतिस्पर्धाको भावना रहेको विद्यालयका सामाजिक शिक्षक ईश्वर पौडेल बताउँछन् । विद्यार्थीलाई अध्यापन गराउने क्रममा शिक्षक अनुहारमा एकरुपता भएकाले कहिलेकाहीं झुक्किने गरे पनि जुम्ल्याहा जोडीसँग व्यवहार गर्न सजिलो हुने पौडेल बताउँछन् । तेह्र जोडी जुम्ल्याहा विद्यार्थी अरु विद्यार्थीजस्तै पढाइ र अतिरिक्त क्रियाकलापमा अब्बल रहने गरेका उनले बताए । विद्यालयको कक्षा १० मा पढ्ने जुम्ल्याहा दाजु–बहिनी निहाल क्षेत्री र निहारिका क्षेत्री दुवैले जुम्ल्याहा भएर जन्मिन पाएकोमा गर्व लागेको बताए । एउटै कक्षाको पढाइ भएकाले घरमा अध्ययन गर्न सजिलो भएको भन्दै उनीहरु घरमा अभिभावकको माया बराबर पाउने गरेको बताउँछन् । उनीहरु जस्तै विद्यालयकै कक्षा ८ मा पढ्ने रीतिका सापकोटा र रिया सापकोटा दिदी–बहिनी हुन् । दिदी–बहिनी त्यसैमाथि एउटै कक्षामा अध्ययन गर्ने भएकाले कहिलेकाहीँ साथीहरु र शिक्षक शिक्षिकासमेत झुक्किने गरेको अनुभव उनीहरुसँग छ । जुम्ल्याहा सन्तान जन्मिँदा सुरुका केही वर्ष हुर्काउन बढाउन सम्स्या भएको भए पनि दुवै सन्तानले सँगसँगै प्रगति गरेको देख्दा भने फरक खालको खुसी महसुस हुने गरेको कावासोती–२ का जुम्ल्याहा सन्तानका पिता ऋषिकान्त सापकोटा बताउँछन् । जुम्ल्याहा सन्तानलाई आमाको दूध, पोषणलगायतका कुराहरु आवश्यक मात्रमा पुर्याएर सुरु–सुरुमा हुर्काउन गाह्रो भए पनि हुर्किदै गएपछि धेरै कुराहरु मेल खाने भएकाले उनीहरुलाई बुझ्न झनै सजिलो हुने सापकोटा बताउँछन् । ‘सँगै पढ्ने, सँगै खेल्ने, एकअर्काको भावना अरु बच्चाहरुले भन्दा छिट्टै बुझ्ने भएकाले पनि रमाइलो लाग्छ’, उनले भने । वि.सं.२०४६ मा स्थापना भएको उक्त विद्यालयले आफ्नो ३३औं वार्षिकोत्सवमा मंगलबार जुम्ल्याहा सन्तान र उनीहरुका अभिभावकलाई सम्मान गरेको छ ।
काठमाडौं: बंगलादेशमा आज (बिहीबार) देखि बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिप शुरु हुँदैछ । बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी नेशनल इन्डोर रंगशालामा आजदेखि शुरु हुने च्याम्पियनसिपमा नेपालले च्याम्पियनसिपको पहिलो खेलमा आयोजक बंगलादेशसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेपछि हुनेछ । पछिल्लो समय उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरिरहेको बंगलादेशलाई स्तब्ध पार्दै नेपाल जितको लक्ष्यमा कोर्टमा उत्रनेछ । नेपाली टोली धिरोज कुमार बस्नेतको कप्तानीमा मैदान उत्रनेछ । टोलीसँग धिरोजसँगै हेमन्त मल्ल, रवि केसी, सफल विक र रुप बहादुर गुरौ लगायतको साथ रहेको छ । आज नै ६ः१५ बजे किर्गिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।
पोखरा: बुधबारको छिपिँदो साँझमा पोखराको फेवा किनार काव्यिक र सङ्गीतमय बन्यो। ‘नेपाल लिटरेचर फेस्टिभल’को पूर्वसन्ध्यामा आयोजित ‘शुभारम्भ साँझ’मा कवि नवराज पराजुली र गायक उज्ज्वल सागर प्रस्तुत भए। चिसो यामको पर्वाह नगरी उभिएरै पोखरेलीहरु कविता र गीतमा मुग्ध बने। गायक सागरको ‘तिमी खुसी त छौ नी भनन’ गीतबाट सुरु भएको कार्यक्रम झण्डै डेढ घण्टा चल्यो। सागरले आफ्नै गीत ‘मधुरो लालटिन’ र ‘निशब्द’ सुनाए। उनले अरुण थापाको ‘आँखाको गीत खोसी लाने’, साङ्गीतिक समूह कन्दराको चर्चित गीत ‘तगारोमा रुमाल राखी’, नवीन के भट्टराईको ‘अलिकति पीडा’लगायत गाए। सागरले गाउँदा दर्शकले पनि गला मिलाए। तालीले साथ दिए। सागरको गायनपछि पराजुलीले आफ्ना चर्चित कविता सुनाए। लामा कविता पनि कठस्थ र मार्मिक शैलीमा प्रस्तुत गर्ने उहाँको प्रतिभाले दर्शकदीर्घाबाट वाहीवाही पायो। पराजुलीले ‘उ’, ‘एक्लै’लगायत आफ्ना चर्चित कविता वाचन गरे। आयोजक बुकवर्म फाउण्डेशनले फेस्टिभलको औपचारिक उद्घाटनपूर्व ‘शुभारम्भ साँझ’ राखेको हो। उक्त कार्यक्रममा पहिला पुग्ने दस जनालाई पराजुलीको कविता कृति ‘सगरमाथाको गहिराइ’ उपहारस्वरुप प्रदान गरिएको थियो। दशौं संस्करणको उक्त फेस्टिभल बुधबारदेखि नै सुरु भए पनि औपचारिक उद्घाटन भने बिहीबार दिउँसो हुने आयोजकले जनाएको छ। उद्घाटन सँगसँगै काठमाडौं विश्वविद्यालयका रजिष्टार अच्युत वाग्लेले विद्धत प्रवचन, गोपाज योञ्जनको २५ औं स्मृतिवर्षको अवसर पारेर साङ्गीतिक प्रस्तुति ‘गोपालय’ र ‘घरबाट स्कुलसम्म’ शीर्षकमा छलफल सत्र तय गरिएको छ। फेवा किनारको बाराहीघाटमा छ दिनसम्म चल्ने फेस्टिभलमा देश–विदेशका कवि, लेखक, राजनीतिज्ञ, कलाकार, सङ्गीतकर्मीलगायत गरी दुई सय बढी विशिष्ट व्यक्तिको उपस्थिति रहने जनाइएको छ। फेस्टिभलमा कला, साहित्य, सङ्गीत, राजनीति, अर्थतन्त्र, खेलकुदलगायत विषयमा बहस र अन्तरसम्वाद हुनेछ। ५० बढी सत्रमा सम्बन्धित क्षेत्रका विषय विज्ञ र विद्धत व्यक्ति वक्ताका रुपमा सहभागी हुने आयोजकको भनाइ छ। फेस्टिभलमा श्रीलङ्काका लेखक सेहान करुणातिलका, लेखक एवं पत्रकार अक्षय मुकुललगायत सहभागी हुँदैछन्। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा, सीके राउत, गभर्नर महाप्रसाद अधिकारी, डा। भगवान कोइरालासहित विशिष्ट व्यक्तिहरु वक्ताका रुपमा उपस्थित हुनेछन्। पत्रकार एवं लेखक विजय कुमार, लेखक सम्राट उपाध्याय, बुद्धिसागर, सुविन भट्टराई, सङ्गीतकार रञ्जित गजमेर, अभिनेत्री स्वस्तिमा खड्कालगायतले विधागत छलफल सत्रमा भाग लिनेछन्। फेस्टिबलका सदस्य केशवशरण लामिछानेले अतिथि वक्ता र सहभागीहरु पोखरा आउने क्रम सुरु भएको बताए। दस वर्षअघि काठमाडौंबाट सुरु भएको उक्त फेस्टिभल पछिल्ला केही वर्षदेखि पर्यटकीय सहर पोखरामा हुँदै आएको छ। कोभिड–१९ का कारण फेस्टिभलको यसअघिको संस्करण रोकिएको थियो। फेस्टिभलमा कला, साहित्यप्रेमीदेखि समसामयिक र सार्वजनिक महत्वका विषयमाथि हुने बहस सुन्न चाहानेहरुको उल्लेख्य उपस्थिति रहने गर्छ। फेस्टिभलको सह–आयोजक गण्डकी प्रज्ञा प्रतिष्ठान, प्रवद्र्धकमा पोखरा महानगरपालिका र सहयोगी संस्थाका रुपमा पोखरा प्रज्ञा प्रतिष्ठान रहेको छ।
पोखरा: नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज प्रदर्शन (डेमो) उडान हुने भएको छ । आज यति एयरलाइन्सले बिहान १० बजे र बुद्ध एयरले २ बजे यो विमानस्थलमा डेमो उडान गर्दैछन् । दुवै कम्पनीका जहाज पोखरास्थित पुरानो विमानस्थलबाट उडेर नयाँ विमानस्थलमा अवतरण गर्ने छन् । नवनिर्मित विमानस्थलमा १ जनवरी २०२३ बाट आन्तरिक उडान समेत सर्दैछ । त्यसको तयारीका लागि आज प्रदर्शन उडान गर्न लागिएको हो ।
पोखराः पोखरामा भएको दोस्रो मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगितामा हिक्मत विक, लक्ष्मी मगर र नयन मानन्धर विजेता बनेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा बुधबार भएको साइकल दौडमा तीन जना फरक–फरक विधाबाट विजेता बनेका हुन् । ४० वर्षमुनिको पुरुषतर्फ हिक्मत प्रथम हुँदा सन्दिप सुन्दौली द्वितीय र सुमित गुरुङ तृतीय भए । हिक्मतले निर्धारित ५० किलोमिटर दुरी ३ घण्टा १२ मिनेट, सन्दिपले ३ घण्टा २८ मिनेट ३४ सेकेण्ड र सुमितले ३ घण्टा ४८ मिनेटमा पार गरेको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । ४० वर्षमुनिको महिलातर्फ लक्ष्मी प्रथम हुँदा सुधा राई द्वितीय र सोफिया विश्वकर्मा तृतीय भए । लक्ष्मीले निर्धारित ५० किलोमिटर दुरी ३ घण्टा ३९ मिनेट ४९ सेकेण्डमा पार गरेकी थिइन् । यो विधामा तीन जनामात्रै प्रतिस्पर्धी भएकाले एक राउण्ड पार गरेका सुधा र सोफियालाई द्वितीय र तृतीय घोषित गरिएको हो । ४० वर्षमाथिको पुरुष विधामा नयन प्रथम हुँदा देवबहादुर बोहोरा द्वितीय र बाबुराम विश्वकर्मा तृतीय भए । मानन्धरले ३ घण्टा ५१ मिनेट १६ सेकेण्ड, बोहोराले ४ घण्टा १ मिनेट २५ सेकेण्ड र विकले ५ घण्टा ८ मिनेट २७ सेकेण्डमा निर्धारित दुरी पार गरेको खड्काले जानकारी दिए । प्रतियोगितामा ४० वर्षमुनिको महिला र पुरुषतर्फ प्रथम हुनेले ३० हजार, द्वितीयले २० हजार र तृतीयले १० हजार रुपैयाँ पुरस्कार पाएका छन् । ४० वर्षमाथिको विधामा प्रथम हुनेले १० हजार, द्वितीयले १० हजार र तृतीयले ५ हजार पुरस्कार पाए । ४० वर्षमुनिको विधामा सान्त्वना हुने दुई जना पुरुष प्रतियोगीले ५र५ हजार रुपैयाँ सान्त्वना पुरस्कार पाएका छन् । चौँथो भएका सुमन विक र पाँचौ भएका शिवप्रसाद थारुले उक्त पुरस्कार पाएका हुन् । पोखरा–२१ कमेरेबाट सुरु भई सोही वडाको मट्टिखान, धुवारकोट, बाघखोर, भालुडाँडा हुँदै पुनः कमेरेमा आएर साइकल दौड समापन भएको थियो । यो रुट दुई फन्को लगाएपछि दुरी पार भएको थियो । नेपाल साइक्लिङ संघ, कास्की जिल्ला साइक्लिङ संघको प्राविधिक सहयोगमा प्रतियोगिता भएको हो ।

