पोखरा: युनाईटेड क्लवको आयोजनामा आगामि पुषको २९ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना गर्ने एघारौं संस्करणको पोखरा महोत्सवमा युथ कम्युनिटी क्लवले सहयोगी संस्थाका रुपमा रहेर सहकार्य गर्ने भएको छ । युवा ब्यवसायीहरुबीच साथ, सहयोग र सहकार्यको लागि स्थापित युथ कम्युनिटी क्लवले बिगत ४ वर्ष अगाडि पोखराबाट स्थापित क्लवले हाल पोखरा मात्र नभइ नेपालभर र विदेशमा समेत सदस्य विस्तार गर्दै आएको कलवले एघारौ पोखरा महोत्सवमा सहयोगी संस्थाको रुपमा रहेर सहकार्य गर्ने सम्झौता भएको हो । मंगलवार एक कार्यक्रमका बीच महोत्सव आयोजक युनाईटेड क्लवका कार्यसमिति सदस्य तथा एघारौं पोखरा महोत्सवका व्यानर व्यवस्थापन संयोजक जयराम आचार्य र युथ कम्युनिटी क्लवका केन्द्रीय अध्यक्ष पूर्ण कुमार श्रेष्ठ, कास्की जिल्ला अध्यक्ष शोभित बराल र कास्की जिल्लाका कोषाध्यक्ष नविन श्रेष्ठ बीच सम्झौता पत्रमा हस्ताक्षर गरी एक अर्काबीच सहकार्य गर्ने निर्णय भएको हो । सम्झौता पत्रमा हस्ताक्षर गर्दै युथ कम्युनिटी क्लवका केन्द्रीय अध्यक्ष पूर्ण कुमार श्रेष्ठले युवा व्यावसायीहरुबीच साथ, सहयोग र सहकार्यको लागि “युथ कम्युनिटी क्लब” भन्ने मुल नाराको साथ नेपालभरका युवा ब्यवशायीहरुलाई एकीकृत गर्दै आइरहेको युथ कम्युनिटी क्लवले युनाईटेड क्लव संग सहकार्य गर्न पाउदा खुसी लागेको वताए । युथ कम्युनिटी क्लवले पारिवारीक र निर्वाहमुखी ब्यवशायलाई विविधीकरण, ब्यवशायीकरण, औद्योगिक एवं प्रतिस्पर्धी र दीगो बनाउन प्रभावकारी सेवा प्रवाह गर्दै एकल तथा सामुहिक लगानी बृद्धिमा सहजीकरण गर्दै विदेश पलायन भएका तथा बेरोजगार तथा युवा जनशक्तिलाई नेपालमै आत्मनिर्भर एवं उद्यमशील समाजको निर्माण गर्न युथ कम्युनिटी क्लव लागि परेको श्रेष्ठले बताए । त्यसैगरी क्लवले युवा ब्यवशायीहरुलाई लक्षित गरी विभिन्न तालिम, गोष्ठी, सेमिनार, फेलोशिप्स मार्फत सफल उद्यमीहरू उत्पादन गर्ने, एकअर्का बीच बिचार विमर्श , मित्रता कायम गराउने, व्यवसायी सदस्यहरु बीच रहेका आफ्ना ज्ञान, सीप, क्षमता अभिबृद्धिका लागी सधै तत्पर र क्रियाशिल रहने, देश भित्र विभिन्न व्यवसाय गरिरहेको युवाहरुलाई सस्थामा समाबेश गराउने, जोखीम निवारणको लागी विपत व्यावस्थापन कोर्ष स्थापना गर्ने , व्यावसायको प्रोमोशन, व्यावसाय रिसर्च, व्यावसायको छलफल, बदलिदो र विकशित अर्थतन्त्रमा हरेक क्षेत्रका व्यावसायीहरु स्थापित गर्ने लक्ष्य राखेको छ । । देश बिदेशका युवाहरुबीच साथ, सहयोग र सहकार्य गरि समय समयमा व्यावसायको बारेमा विचार आदानप्रदान कार्यक्रमहरु सचालन गर्ने समेत क्लवले जनाएको छ । सो अवसरमा बोल्दै युनाईटेड क्लवका कार्यसमिति सदस्य तथा एघारौं पोखरा महोत्सवका व्यानर व्यवस्थापन संयोजक जयराम आचार्यले युनाईटेड क्लवले आयोजना गर्ने पोखरा महोत्सव विभिन्न संघ संस्थाहरुको सहयोगमानै सम्पन्न हुदै आइरहेको वताउदै संघ संस्थाहरु बीच सहकार्य गरेर युनाईटेड क्लव संधै अगाडि वढिरहेको वताए । एघारौं संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी तीब्र रुपमा अगाडि वढिरहेको र छिट्टै नै पोखराका विभिन्न संघ संस्थाहरु संग बृहत छलफल गरी महोत्सवलाई भब्य र सभ्य बनाउन लागि पर्ने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
पोखरा: गुरु फिजिकल ट्रेनिङ सेन्टर प्रालिको आयोजनामा पोखरा ३२ को ब्रह्म रुपा मा वी भएको १ हप्ते अंग रक्षा सम्बन्धी तालिम तथा कानुनी चेतना कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालीका र पोखरा ३२ को सहयोगमा मङ्सिर २८ देखि पुष ५ गते सम्म संचालित कार्यक्रमको समापन गर्दै बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष दुर्गालाल पण्डीतले बिध्यार्थीलाइ लक्षित तालिममा सिकेको सिपलाइ व्यहारमा ल्याउनका साथै अरुलाई पनी बाँडनुपर्ने धारणा राखे । उक्त अवसरमा वडा नं ३२ का वडा तिर्थ सुयलले आजको समयमा अंगरक्षा तालिम अपरिहार्य रहेको बताए । सदस्य शोभा बिकले वडाको अन्य विद्यालयमा पनि अंगरक्षक र कानुनी सचेतना तालिम लैजानुपर्ने बताइन । वडा सदस्य सावित्री पण्डीत महिलको क्षमता विकासमा तालिमले सहयोग पु¥याएको बताइन । धर्म वस्नेतले निवर्तमान वडा सदस्य संम्भावतित दुर्घटनाबाट बच्नको लागि तालिमको आवस्यकता परेको बताए । बिद्यालयका प्रध्यानध्यापक जनार्दन सुवेदी विद्यार्थीको क्षमता अभिबृदिको लागि अन्य कार्यक्रमको पनि आवस्यक परेको बताए । अन्य कार्याक्रम गर्नको लागि जनप्रतिनिधीको ध्यान दिनुपर्ने बताए । कक्षा १० की छात्रा डीम्पल बि कले अंगरक्षक तथा कानुनी सचेतना कार्यत्रलमले सकरात्मक उर्जा दिएको बताइन । कक्षा ७ देखि १२ सम्मका बिध्यार्थीहरुलाइ लक्षीत गरी आयोजना गरीएको तालीममा करिब ५ सय विद्यार्थी सहभागी रहेका छन् । गुरु फिजिकल ट्रेनिङ सेन्टरका संचालक सुरेश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन विजय नेपालीले गरेका थिए ।
काठमाडौंः नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका छन्। देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्तावक गरेका छन् भने उपसभापति पूर्णबहादुर खड्काले समर्थन जनाएका छन्। संसदीय दलको नेताका उम्मेदवारले दरखास्त दिने समय मंगलबार दिउँसो २ देखि ३ बजेसम्म तोकिएको छ। उम्मेदवारको अन्तिम नामावली आज नै प्रकाशन गर्ने कार्यक्रम छ। उम्मेदवारीका साथ बुझाउनुपर्ने शुल्क समितिले ५१ हजार रुपैयाँ रहेको निर्वाचन समितिले जनाएको छ। कांग्रेस संसदीय दलको उम्मेदवारी दरखास्त दिन आज दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ मा हुँदैछ । मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ ।
काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका छन् । थापाको प्रस्तावकमा शेखर कोइरला छन् भने समर्थमकमा धनराज गुरुङ रहेका छन्। थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले समर्थन गरेका छन्। कांग्रेस संसदीय दलको नेताका लागि मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ ।
बागलुङ: बागलुङको निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ती लागूऔषध गाँजारचरेससम्बन्धी कसुरमा दोषी ठहर भएका छन् । निसीखोला गाउँपालिका(६ को वडाअध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका घर्तीमाथि लागेको कसुर ३ पुस ०७९ मा ठहर भएको हो । जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको इजालसले घर्तीमाथि लागेको कसुर ठहर गर्दै सजाय निर्धारणको लागि पेस गर्न आदेश दिएको जिल्ला अदालत बागलुङका स्रेस्तेदार सुर्यप्रसाद भण्डारीले बताए । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई पक्राउ गरेको थियो । बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा सप्लाई गर्ने व्यक्तिको खोजी गर्ने क्रममा प्रहरी घर्तीसम्म पुगेको थियो । घर्तीको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरि ०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागुऔषध गाँजारचरेस(नियन्त्रण ऐन २०३३ सम्बन्धी मुद्दा दर्ता भएको थियो । अध्यक्ष घर्तीलाई अदालतले दोषी ठहर गरे पनि अहिले सजाय भने तोकेको छैन । सजायका लागि अर्को पेसी तोकिने अदालतले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मेमोरी किङ’ का रूपमा परिचित अर्पण शर्मालाई बधाई तथा शुभकामना दिएका छन्। स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका अर्पणलाई प्रधानमन्त्री निवास बालुवाटारमा बधाई दिइएको हो। प्रधानमन्त्री देउवाले दोस्रो विश्व रेकर्ड राखेको जानकारी पाएपछि सोमबार उनलाई आफ्नो निवासमा बोलाउँदै बधाई ज्ञापन गरेका हुन्। शर्माले एक मिनेटमा ८३ वस्तुहरूको क्रम स्मरण गरेर दोस्रो विश्व कीर्तिमान कायम गरेका छन्। उनले आफ्नो ध्यान साधना र मेमोरी टेक्निकहरूको प्रयोगबाट कीर्तिमान राख्न सफल भएको बताए। ‘यो विश्व रेकर्डको प्रमाण पत्र मेरो मात्रै नभई सम्पूर्ण नेपालीहरूको भएको महसुस गर्दै आगामी दिनमा अझै वर्ल्ड रेकर्डहरू राखेर नेपालको नाम विश्व सामु फैलाउँछु,’ उनले भने। अर्पणले आफ्नो स्मरण शक्ति तालिमद्वारा विद्यार्थीहरूको पनि स्मरण शक्ति बढाई शिक्षा क्षेत्रमा मद्दत पुर्याइरहेका छन्। शर्माले यसअघि सन् २०१५ मा १ मिनटमा ४२ वस्तुहरूको क्रम स्मरण गरेर गिनिज बुकमा आफ्नो नाम लेखाएका थिए।
काठमाडौं: नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको जनाएको छ । महासंघले आजको मूल्य निर्धारण गर्दै हिजो सोमबारको तुलनामा भाउ ओरालो लागेको जानकारी दिएको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४०० र तेजाबी सुनको मूल्य ९९ हजार ९०० रुपैयाँ छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोालमा १ लाख ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख रुपैयाँ थियो । हिजो सोमबार सुन र चाँदीकै मूल्य स्थिर रहेको थियो । महासंघले आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार हुने जनाएको थियो । यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम रहेको जनाएको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ थियो ।
सर्लाही: सर्लाहीको हरिपुर नगरपालिकामा मानसिक सन्तुलन ठीक नभएका युवकले आफ्नै घरमा आगो लगाउँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ । जिल्लाको मध्यभागमा पर्ने हरिपुर –२ सानो जगतपुरका कुम्भमाया बराल न्यौपानेका छोरा दीपक न्यौपानेले सोमबार राति आफ्नै घरमा आगो लगाएका थिए । इँट्टा र काठले बनेको दुईतले घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विजय कुँवरले जानकारी दिए । आगलागीबाट घरसहित घरभित्र रहेको अन्न, कपडा, भाँडा र नगदसहित सम्पूर्ण सरसामग्री जलेर नष्ट हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको उनले बताए । आगलगीका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कुँवरले बताए । आगलागी स्थानीय, प्रहरी र हरिवन नगरपालिकाबाट गएको दमकलको सहयोगमा नियन्त्रणमा लिएको थियो ।
चितवनः नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो । आजदेखि एक महिना दैनिक चार घण्टा सडक बन्द रहने नागढुङ्गा– मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुनेछ । भौगोलिकरूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्नेलगायतका कामका लागि सवारी आवागमन रोक्न लागिएको कार्कीले बताए । उनका अनुसार सडकखण्डमा १५ पुल निर्माणको काम भइरहेकामा नौ वटाको काम सम्पन्न भइसकेको छ । चारवटा पुल निर्माणका लागि ठाडो कडा पहाड काट्नुपर्ने भएका कारण यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि यातायात बन्द गरेर काम गर्नुपरेको आयोजनाले जनाएको छ । उक्त समयमा वैकल्पिक राजमार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गरेको छ । नारायणगढतर्फबाट जाने यात्रुबाहक सवारीसाधनलाई पन्ध्रकिलो बजारबाट जुगेडीसम्म बिहान ११ बजे रोकिनेछ भने मालवाहक सवारीसाधनलाई भतेरी जङ्गलबाट रामनगरसम्म बिहान १०ः५० बजेदेखि नै रोकिने छ । काठमाडौँतर्फबाट आउने यात्रुवाहक सवारीलाई मुग्लिन बजारबाट मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुवाहक सवारीसाधनलाई बेनीटारबाट पावर हाउससम्म बिहान १०ः५५ बजे रोकिने छ । काठमाडौँतर्फबाट आउने मालवाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालवाहक सवारीलाई आँबुखैरहनीमा बिहान १०ः४५ बजे रोकिने छ । बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकललगायतका अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोडिनेछ । नारायणगढ–मुग्लिङ सडकखण्डमा एक अर्ब २५ करोडको लागतमा विश्व बैंकको सहयोगमा पुल निर्माण भइरहेको छ ।

