काठमाडौं: उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता भएको छ । गृहमन्त्री लामिछानेलाई मङ्गलबार गृह मन्त्रालयमा भेट गरी कार्यकारी निर्देशक घिसिङले बधाइ तथा शुभकामना दिनुभएको हो ।
काठमाडौं: विराटनगर सुपर किङ्ग्सलाई ३४ रनले पराजित गर्दै काठमाडौं नाईट्सले प्रतियोगितामा चौथो जित हात पारेको छ । खेलाडीको पारिश्रमिक विवादका कारण ढिलो गरी खेल सुरू भएकाले ९ ओभरमा घटाइएको खेलमा काठमाडौंले विराटनगरलाई ९३ रनको लक्ष्य दिएको थियो । तर विराटनगर खेल सकिन १ बल बाँकी छँदै ५८ रनमा अलआउट भयो । विराटनगरका लागि गौरान्सु शर्माले सर्वाधिक २२ रन बनाए । विवेक कुमार यादवले १२ र नन्दन यादवले ११ रन बनाए । अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । काठमाडौंका लागि कमल सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । उनले अन्तिम ओभरमा लगातार २ विकेट लिनुका साथै सूर्य तामाङलाई रन आउट गराए । काठमाडौंका अनिल खरेल र सुनम गौतमले समान २–२ विकेट लिए । वसिर अहमद र अभिनाश बोहोराले समान १–१ विकेट लिए । यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित ९ ओभरमा ५ विकेट गुमाएर ९२ बनाएको थियो । काठमाडौंका सन्दीप रजालीले २२ बलमा २ चौका र २ छक्कासहित अविजित ३२ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्ल ११ बलमा १ चौका प्रहार गर्दै १४ रनमा आउट हुँदा कमलसिंह ऐरी ५ बलमा २ छक्कासहित १४ रनमा अविजित रहे । एलेक्स ब्लेकले १३ रनको योगदान गरे । विराटनगरका नन्दन यादवले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा १ मेडन राख्दै ८ रन राख्दै सर्वाधिक तीन विकेट लिए । हुसेन तलत र केयोन जोसेफले समान एक विकेट लिए । जितपछि काठमाडौंको ७ खेलबाट ८ अंक छ र उ तेस्रो स्थानमा छ । पराजित विराटनगर भने ७ खेलबाट ४ अंकमात्र बटुलेर तालिकाको पाँचौ स्थानमा छ ।
कास्की: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म यात्रुलाई आवतजावत सुविधा दिन सार्वजनिक बस सेवा सञ्चालन गरिएको छ। विमानस्थलभित्र तीन–तीन मिनेटको फरकमा दुईवटा बस सञ्चालन गरिएको हो। विमानस्थलबाट अमरसिंह चोक–वीरेन्द्र चोक–राम बजार–मितेरी पुल–आरटीओ रोड–बिरौटा चोक–राष्ट्रबैङ्क चोक हुँदै फिस्टेल गेटसम्म चारवटा बस १०–१० मिनेटको फरकमा र एउटा बस विमानस्थलबाट वेगनासतालसम्म ‘नन स्टप’ सञ्चालन गरिएको हो। पोखरा बस यातायात प्रालिसँगको सहकार्यमा सञ्चालन गरिएको सार्वजनिक बस सेवाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गर्नुभएको हो। यसले निजी सवारीसाधन नभएका यात्रुका लागि सहजता पुग्ने विश्वास पालिका प्रमुख आचार्यले गर्नुभयो। “निजी सवारी भएका यात्रु सिधै विमानस्थलमा जान सक्ने भए पनि पोखरामा चल्ने नगर बसबाट विमानस्थल पुग्न लामो समय खर्चिनुपर्छ। नगर बसहरू विभिन्न चोकमा रोकिँदै बजार घुमेर जाने भएकाले यात्रुलाई समस्या रहेको थियो। यही समस्याको समाधानका लागि सिधै विमानस्थलमा पुग्ने गरी सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो। महानगरपालिकाले एयरपोर्टदेखि लेकसाइड जान वैकल्पिक सडक प्रयोग गर्ने तयारी गरेको छ। एयरपोर्टबाट आउने पर्यटकलाई औद्योगिक क्षेत्र गेटको प्रहरी बिट–एयरपोर्ट अगाडिबाट मिलनटोल, रामबजार, चोरसाँघुको वैकल्पिक बाटो हुँदै बिरौटा चोकबाट फिस्टेल गेटसम्मको सेवा दिन खोजिएको छ। वडा नं। १६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले तत्कालका लागि परिकल्पना गरिएको बाटो भएको र पछि प्लानिङमा तलमाथि भए पनि मूल बाटोभन्दा सहायक बाटोबाट सहज ढङ्गले सेवा प्रवाह गर्ने प्रयास गरिने बताउनुभयो। एयरपोर्टदेखि एयरपोर्ट गेटसम्मका लागि दुईवटा गाडी र एयरपोर्ट गेटबाट वैकल्पिक बाटोका लागि चारवटा गाडी व्यवस्था गर्ने तयारी गरिएको जनाइएको छ। “पृथ्वी चोक क्षेत्रमा ज्यादा सवारीसाधनको भीडले जाम हुन्छ तसर्थ वैकल्पिक बाटोको व्यवस्था गर्न लागिएको हो,” उहाँले भन्नुभयो। महानगरपालिकाले नयाँ विमानस्थल सञ्चालन व्यवस्थित गर्न सरोकारवाला र पर्यटन व्यवसायीसँग छलफल तथा अन्तक्र्रिया गरेको छ।
बुटवल: अत्यधिक जाडो बढेपछि रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका विद्यालयहरु ६ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गरी पुस १९ देखि पुस २४ गतेसम्म सबै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले जानकारी दिए । गाउँपालिकाले सोमबार सूचना जारी गर्दै मौसम प्रतिकूल भई जाडो बढेकाले बर्खे बिदामा मिलाउने गरि ६ दिन विद्यालयहरु बन्द रहने जनाएको छ । जिल्लाका अन्य पालिकाहरुले भने अहिलेसम्म जाडो बिदा दिएका छैनन् ।
स्याङ्जा: कालीगण्डकी गाउँपालिका–४, बिर्घा काठेखोलामा १० दिनमै काठेपुल निर्माण गरिएको छ। कालीगण्डकी गाउँपालिकाको दुई लाख ७७ हजार ८१२ रुपियाँ र पर्यटन मन्त्रालयको दुई लाख ४५ हजार रुपियाँ गरी कुल पाँच लाख २२ हजार ८१२ रुपियाँमा सो पुल निर्माण भएको हो। करिब पाँच मिटर लामो यो पुल झट्ट हेर्दा सामान्य लागे पनि चिफलडाँडाका स्थानीय बासिन्दा र विद्यार्थीलाई ओहोरदोहोर गर्न ठूलो राहत पुगेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो। मन्त्रालय र पालिकाबाट विनियोजित बजेटले पुलको पक्की गोरेटो बाटो निर्माण गरिएको छ। पुल बनेपछि यहाँका स्थानीय हर्षित भएका छन्। पुलबाट ६३ घरपरिवार लाभान्वित भएको वडाध्यक्ष यादवप्रसाद पाण्डेले बताउनुभयो। यहाँ पुल नहुँदा नजिकै रहेको विद्यालय जान, दैनिक घाँस दाउरा तथा खेती गर्ने किसानलाई असहज भएको थियो। हिउँदको समयमा केही सहज भए पनि बर्खामा पुल नहुँदा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता थियो। पुल बनेसँगै यहाँका विद्यार्थी र स्थानीय कृषकलाई ओहोरदोहोर गर्नलाई राहत मिलेको पाण्डेले बताउनुभयो। यहाँ जोखिम मोलेर खोला तर्दा एक महिलाको बगेर मृत्युसमेत भएको थियो। बर्खामा खोला बढेपछि विद्यार्थी विद्यालय जानबाट र कृषकहरू खेतबारीमा जान वन्चित हुँदै आएका थिए। पर्यटकलाई आकर्षण हुने गरी निर्माण गरिएको काठेपुल दुई छेउमा ढुङ्गा, सिमेन्ट, बालुवा र गिट्टीको प्रयोग गरिएको छ। बीचमा साल र सिसौको ठूला काठ प्रयोग गरिएको छ।
सुर्खेत: गत असोजमा आएको बाढी पहिरोले भत्किएर क्षतविक्षत भएको कर्णाली राजमार्ग समयमै मर्मत नहुँदा यात्रुहरूलाई सास्ती भएको छ । सवारी साधन सञ्चालनका लागि मात्र खोलिएको राजमार्ग अचेल जोखिमपूर्ण अवस्थामा रहेको छ । प्राय राजमार्ग खाल्डाखुल्डी र धुलाम्मे छ त्यसमा पनि साँगुरो अहिले सुर्खेतदेखि जुम्लासम्म यात्रा गर्नेहरू धुलोले चिन्न नसक्ने अवस्थामा पुग्ने गरेका छन् । सडक डिभिजन कार्यालयले तत्कालका लागि सडक खुलाउने कार्य गरेपछि स्तर उन्नति लगायतका काम गर्न नसक्दा राजमार्गको अवस्था बिजोक भएको छ । जसका कारण कर्णाली राजमार्ग खाल्डाखुल्डी, साँगुरो र धुलाम्मे छन् । बर्सातले तहसनहस पारेको कर्णाली राजमार्गलाई सरकारले विशेष बजेटसहित सडक सुधार गर्न पहल नगरेको यात्रुहरूको गुनासो छ । बर्सेनि जुम्ला, कालिकोट, मुगु, हुम्ला र दैलेखका स्थानीयहरू चुपचाप सास्ती खेपेरै यात्रु गर्नुपर्ने बाध्यता छ । सडक डिभिजन कार्यालय सुर्खेत र जुम्लाबाट नियमित बजेट बाहेक थप बजेट व्यवस्थापन हुन सकेको छैन । राजमार्गको अवस्था बिग्रँदा दुर्घटना जोखिम पनि बढेको छ । प्राय कालिकोट र दैलेख खण्डमा सडक बिग्रेको छ । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले कालिकोट जुम्ला र मुगुसम्मको सडक सुधारका लागि काम भइरहेको बताउनुभयो । ठुलो क्षति भएकाले सुधारका कामहरू भई रहको भए पनि तत्काल सडक स्तर उन्नतिका लागि गाह्रो हुने श्रेष्ठको भनाई छ । सडक डिभिजन कार्यालय जुम्लाका अनुसार कालिकोटको सेराबाडा देखि नाग्मसम्म २६ किलोमिटर सडक पहिरोले धुलाम्मे छ । कालिकोटको नाग्मदेखि गमगढीसम्म ९३ किलोमिटर सडकमा १८ किलोमिटरभित्र पहिरो गएको थियो । त्यस्तै कालिकोटको पिली, सेरी बाडा, भिक्म र बालीमा ठुलो पहिरो गएको थियो । त्यहाँ सडक नै बगाएका कारण नयाँ सडक खोलेर गाडी सञ्चालनमा ल्याइएको छ । दैलेख खण्डमा बर्सातमा गएको पहिरोले हिउँदमा कर्णाली राजमार्गको यात्रा गर्नेहरू साँगुरो र धुलाम्मे सडक हुँदै हिँड्नुपर्ने बाध्यता छ ।
बागलुङः बागलुङ निसीखोला गाउँपालिका अध्यक्ष सुर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा तीन वर्ष छ महिना कैद फैसला भएको छ । बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सुर्यबहादुर घर्ती माथी लागेको लागूऔषध सम्बन्धी कसुर ठहर गर्दै आज बागलुङ जिल्ला अदालतका न्यायाधिस डा. दिवाकर भट्टको इजलाशले तीन वर्ष छ महिना कैद र ५० हजार जरिवाना फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी सुर्य प्रसाद भण्डारीले जानकारी दिए । निसीखोला गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजा सहित आफ्नै घरबाट पक्राउ परेका घर्ती माथी लागेको लागूऔषध गाँजा÷चरेस सम्बन्धी कसुर २०७९ पुस ३ गते ठहर गरेपछि आज कैद तोक्न आदेश दिइएको थियो । आदेश अनुसार आज न्यायधिस भट्टले कैद र जरिवाना फैसला गरेका हुन् । जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको इजालशले घर्ती माथी लागेको कसुर ठहर गर्दै सजाय निर्धारणको गरेको हो । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई तत्कालिन अबस्थामै घरबाटै पक्राउ गरेको थियो । बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा सप्लाई गर्ने व्यक्तिको खोजी गर्ने गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो । घर्तीको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरि २०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागूऔषध गाँजारचरेसरनियन्त्रण ऐन २०३३ सम्बन्धी मुद्दा दर्ता भएको थियो । वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका घर्ती नेकपा एमालेका भुमिराज घर्तीलाई पराजित गर्दै निसीखोला गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । फैसलाको पूर्णपाठ आउन बाँकी रहेको सूचना अधिकारी भण्डारीले जानकारी दिए ।
पोखरा: गण्डकी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक सम्पन्न भएको छ । आज )सोमबार) दोस्रो कार्यकालको पहिलो बैठकमा दुई अध्यादेश पेस भएको छ। बैठकमा कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले ‘गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ र ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ संसदमा पेस गरेका गरेका हुन् । अध्यादेश पेस भएसँगै बैठक स्थगित भएको हो । अर्को बैठक पुस २९ गते बस्ने छ । गण्डकी प्रदेश सरकारले अघिल्लो संसद बैठक अन्त्य भइसकेपछि प्रदेश निजामति तथा स्थानीय सेवा सम्बन्धी अध्यादेश गत असोज ७ गते जारी गरेको थियो ।
काठमाडौंः आन्तरिक तथा बाह्य पर्यटकहरुलाई थप आर्कषण र सेवासुविधासहित प्याराडाइज विला बुटीक होटलले बुढानिलकण्ठबाट सेवा दिईरहेको छ । काठमाडौंको बुढानिलकण्ठबाट सेवा दिईरहेको प्याराडाइज विला बुटीक होटलबाट बिहानको सुर्योदयसँगै काठमाडौंको अवलोकन गर्न सकिने सञ्जालक बद्री महतले जानकारी दिए । ‘आन्तरिक तथा बाह्य पर्यटकहरु शहर भन्दा बाहिर रमाउन थालिसकेका छन्, उनीहरुलाई नै मध्यनजर गर्दै सुर्योदय र काठमाडौंको अवलोकन गर्न मिल्ने गरी होटल सञ्चालन गरेका छौं’ सञ्चालक महतले भने । सञ्चालक महत अनुसार ५ हजार देखि १५ हजारसम्मको कोठा होटलमा भएको बताए । ‘बुटीक होटलमा २० वटा कोठाहरु रहेका छन्, उनले भने, ‘ ५ हजार देखि १५ हजारसम्मको कोठा होटलमा उपलब्ध छन्, अर्गानिकसँगै नेपाली खानाको स्वाद पाहुनालाई खुवाउन सफल भएका छौं । एनआरएन जापानका कोषाध्यक्ष समेत रहेका सञ्चालक दीपक सुनारले वैदेशिक रोजगारी भएको आम्दानीलाई स्वदेशमा लगानी गरेको बताए । ‘वैदेशिक रोजगारीमा भएको आम्दानीलाई स्वदेशमा नै लगानी गरेका छौं, उनले भने, ‘स्वदेशमा नै लगानी गर्दा स्वदेशमा नै रोजगारी समेत सिर्जना भएको छ ।’ विभिन्न पेशा व्यवसायमा अग्रसर भईरहेका बद्री महत, दीपक सुनार ईश्वर सापकोटा र चन्द्रप्रसाद हुमागाइको सयुुक्त लगानीमा प्याराडाइज विला बुटीक होटल सञ्चालनमा आएको हो ।

