काठमाडौं: सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद बदर गरिदिएपछि गृह मन्त्रालयबाट बाहिरिएका छन्। आज (शुक्रबार) साँझ मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरूले उनलाई सर्वोच्चको फैसलाबारे प्रश्न सोधेका थिए। 'एउटा अनागरिकलाई किन प्रश्न गरिरहनुभएको छ, अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु, पार्टीको सभापति रहिँन, म केही पनि होइन, म कहिँको पनि होइन, एउटा परिचय नभएको अनागरिकलाई किन प्रश्न गरिरहनु भएको छ।' रविले भनेका छन् ।
काठमाडौं: रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन्। सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध रहेको ठहर गरेपछि उनले शुक्रबार राजीनामा दिएका हुन्। उनले बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन्। सिंहदरवास्थित गृह मन्त्रालयबाट उनी सिधै बालुवाटार पुगेर राजीनामा बुझाएका हुन्। उनले सञ्चारकर्मीसँग सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने र अदालतभन्दा माथि कोही नरहेको बताएका थिए। उनले आफू अनागरिक भएको भन्दै प्रश्न नगर्न सञ्चारकर्मीलाई आग्रह गरेका थिए। त्यसअघि सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध रहेको ठहर गर्दै सांसद र मन्त्री पदका लागि अयोग्य रहेको आदेश सुनाएको थियो।
पोखरा: गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहामगरले शोकलाई शक्तिमा बदल्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ कास्की तथा गण्डकी प्रदेश समितिद्वारा दिवगंत पत्रकार त्रिभुवन पौडेल तथा सञ्चारकर्मी अनिल शाहीको १३ औ पुण्य तिथिमा आज (बिहीबार) आयोजित श्रद्धाञ्जली सभा तथा दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गाहामगरले यस्तो अभिव्यक्ति दिनुभएको हो । मन्त्री गाहामगले दुर्घटनामा परि मृत्युभएका द्वय पत्रकारहरुको योगदानको उच्च मूल्याङ्कन गरि महासंघले उहाँहरुको योगदानलाई जीवन्त राख्नेगरि रचनात्मक काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । ‘लोकप्रिय पत्रकारहरु आज हामीमाझ नभएपनि उहाँहरुको लक्ष्य र योगदानलाई स्मरण गर्नैपर्छ, मन्त्री गाहामगरले भन्नुभयो, ‘उहाँहरुको योगदानलाई जीवन्त राख्नको लागि यहाँहरुको महासंघले रचनात्मक काम गर्नु आवश्यक छ ।’ मन्त्री गाहामगरले भन्नुभयो । मन्त्री गाहामगले मिडिया क्षेत्र आफ्नो कार्यक्षेत्र भित्र पर्ने बताउनुहुदै आगामी दिनमा मन्त्रालयको तर्फबाट मिल्ने सहयोग गर्ने उल्लेख गर्नुभयो । उहाँले संचार क्षेत्र आफ्नै विभाग भएको बताउँदै पत्रकारहरुको रायसँगै अगाडि बढ्नेसमेत बताउनुभएको थियो । यसैगरी पत्रकार महासंघ गण्डकीका संस्थापक सल्लाहकार रविन्द्र बास्तोलाले यती एयरको जहाज दुर्घटनाले पोखराको मात्र नभई नेपालकै क्षति भएको बताउनुभयो । बास्तोलाले पोखरेली पत्रकार द्वयको देहवसानले पत्रकारितामै ठुलो धक्का पुगेको धारणा व्यक्त गर्नुभएको थियो । श्रद्धाञ्जली सभा तथा दिप प्रज्वलन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सल्लाहकार निर्मला शर्मा, कास्की शाखाका कार्यसमिति सदस्य शिवराज बास्टाकोटी लगायतले शोक वक्तव्य व्यक्त गरेका थिए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महासंघ गण्डकीका सदस्य सुनिल पाण्डेले गरेका थिए । सो कार्यक्रममा विभिन्न संस्काका प्रतिनिधि तथा पक्रकारहरुले १३ औं पुण्य तिथिमा दिवंगत आत्माको चीर शान्तिको कामनासहित दिव प्रज्वलन गरेका थिए । दिवंगत त्रिभुवन पौडेल नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष, महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष र हाल महासंघका केन्द्रीय सदस्य थिए । यस्तै सञ्चारकर्मी अनिल शाही एपोस्टल एफएम सञ्चालन गर्दै आएका थिए । काठमाडौंबाट पोखरा आएको यती एयरको जहाज गत माघ १ गते सेती खोँचमा दुर्घटनाग्रस्त हुँदा चालकदलका ४ सदस्य र ६८ यात्रु गरि ७२ जनाको ज्यान गएको थियो ।
काठमाडौं: सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको प्रमाणपत्र हाललाई ‘कायम नरहेकाले’ त्यसले मान्यता नपाउने फैसला सुनाएको हो । कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, संवैधानिक इजलासको यो फैसलासँग गृहमन्त्री लामिछानेको चितवन–२ को सांसद पद रिक्त भएको छ । नेपालको संविधानमा गैरसांसद समेत मन्त्री हुन पाउने व्यवस्था भएपनि लामिछानेको नागरिकता समेत मान्य नभएकाले उनी उपप्रधान तथा गृहमन्त्रीबाट समेत पदमुक्त भएका छन् । सर्वोच्च अदालतको यो फैसलासँगै चितवन–२ मा उपनिर्वाचन हुने भएको छ । साथै, लामिछानेले यसअघि नै अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेकाले तत्काल जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा गएर नेपाली नागरिकताको प्रमाणपत्र लिने बाटो कायम छ । युवराज सफल र अधिवक्ता रविराज बसौला लगायतले दायर गरेको छुट्टाुछट्टै रिट निवेदनको सुनुवाईपछि सर्वोच्च अदालतले लामिछानेको नागरिकता विवादको निर्णय सुनाएको हो ।
सुनसरी: सुनसरीको इटहरीमा शुक्रबार सार्वजनिक सडक र जग्गा ओगटेर बनाएका संरचना भत्काइएको छ। यसअघि इटहरी उपमहानगरपालिकाले संरचना हटाउन पटक पटक सूचना जारी गरे पनि चासो नदेखाएपछि भवन भत्काइएको उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले बताउनुभयो ।
पोखरा: साविक विजेता विभागीय त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पन्छाउँदै घरेलु टोली गण्डकी प्रदेश तेस्रो टाइगर कप भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । पहिलो संस्करणको च्याम्पियन गण्डकीले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा एपिएफसँगको भेट पक्का गरेको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा गण्डकीको जितमा दुई भारतीय खेलाडी नितिन र अंकितसँगै रवि केसी, घनश्याम चौधरी, विवश आले र हिमाल सुनारीले सानदार प्रदर्शन गरे । पहिलो सेटमा २५–२३ को प्रतिस्पर्धात्मक जित निकालेको गण्डकीले दोस्रो सेट पनि २५–२३ ले आफ्नो पक्षमा पार्न सफल भयो । दोस्रो सेटमा १५–१७ ले पछि परेको स्थिति उल्ट्याएर जित निकाल्न सफल भयो । तेस्रो सेटमा भने सुरुवातदेखि नै अग्रता लिदै २५–१६ को सहज जित निकाल्न सफल भयो । गण्डकीका सेटर विवश प्लेयर अफ दि म्याच घोषित भए । उनले ५ हजार रुपैयाँ प्राप्त गरे । गण्डकीकै धनश्याम चौधरी स्पाइकर अफ दि म्याच घोषित भए । गण्डकीले लिग चरणमा पनि आर्मीमाथि ३–२ को रोमाञ्चक जित निकालेको थियो । अब उपाधिका लागि गण्डकीले शनिबार विभागीय नेपाल एपिएफ क्लबसँग खेल्नेछ । एपिएफले शुक्रबारै नेपाल पुलिस क्लबलाई २५–१०, २५–२१ र २५–१८ को सोझो सेटमा हराएर फाइनलमा पुगिसकेको छ । फाइनल शनिबार हुनेछ । शनिबार नै तेस्रो स्थानको लागि पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । महिलातर्फ उपाधिका लागि एपिएफ र आर्मीबीच शनिबार नै प्रतिस्पर्धा हुनेछ । महिलतातर्फ घरेलु टोली गण्डकी प्रदेशलाई २५–१९, २५–१६ र २५–१६ को सोझो सेटमा पराजित गर्दै होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले तेस्रो स्थान हासिल गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा गत आइतबारदेखि सुरु भएको प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको छ । महिलातर्फ एपिएफ, आर्मी, डायमण्ड र गण्डकीको सहभागिता छ । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल पुलिस, एपिएफ र गण्डकी प्रदेश गरी ५ टोलीको सहभागिता रहेको छ । पहिलो संस्करणमा पुरुषतर्फ गण्डकी र महिलामा पुलिस तथा दोस्रो संस्करणमा महिलातर्फ एपिएफ र पुरुषतर्फ आर्मी च्याम्पियन बनेको थियो । महिला र पुरुष दुवैतर्फको विजेताले समान ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् । तेस्रोले १ लाख २५ हजार र सान्त्वना हुनेले ६५ हजार प्राप्त गर्नेछन् । दुवैतर्फको सर्वोत्कृष्ट खेलाडीले जनही २५ हजार तथा विधागततर्फका उत्कृष्टले समान १० हजार प्राप्त गर्नेछन् ।
पोखरा: जिल्ला प्रहरी ट्राफिक कार्यालय कास्कीले सवारी दुर्घटना न्यूनिकरण गर्न स्कुल बसलाई चेकिङ गर्न थालेको छ । पोखराको बजारभित्र सञ्चालन भएको स्कुल बसहरुमा क्षमता भन्दा बढी विद्यार्थीहरु राखेको पाइएपछि स्कुल बसहरुलाई चेकिङ गर्न थालिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए । १४१ वटा बस चेकिङ गरिएको थियो । पाठकले भने, ‘११७ वटा बसमा गल्ति भेटिएको छ । ७ वटा बस कारवाहीमा परेका छन् ।’ ‘पोखरा भित्र रहेका स्कुल बसहरुले ट्राफिक नियम पालना नगरेको व्याकप गुनासो आएपछि अनुगमनलाई तिव्रता दिएका छौं, पाठकले भने, ‘अनुगमनको क्रममा स्कुल बसमा क्षमता भन्दा बढी विद्यार्थीहरु राखेको पाएका छौं ।’ ‘स्कुल बसका चालकहरुले लाइन्सेस देखि बसको कागजपत्रहरु समेत साथमा नराखेको पाइएको छ । सम्बन्धित विद्यालयलाई पत्र काटेर यसलाई नियन्त्रण गर्न छलफल गरेर कारवाहीको प्रक्रिया अगाडी बढाउँछौं ।’ पाठकले भने । बुधबारदेखि स्कुल बसहरुलाई बढी चेकिङ गर्न सुरु गरेको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ । अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो । “जनवरी महिना पर्यटनका हिसाबले अफसिजन हो, फेब्रुअरी र मार्च सिजन भएकाले पर्यटकले बुकिङ गरेका थिए । तर विमान दुर्घटनापछि बुकिङ रद्द हुन थालेक छन्”, रेवान पोखराका अध्यक्ष एवम् होटल माउण्ट कैलाशका सञ्चालक नरेश भट्टराईले जानकारी दिनुभयो । “अहिले झण्डै ४० प्रतिशत बुकिङ रद्द गर्दै २० प्रतिशतमा झरेको छ, अझै रद्द गर्ने क्रम जारी छ”, उहाँले भन्नुभयो । हवाई दुर्घटनाको असरले गर्दा उडानका लागि मानसिकरुपमा तयार हुन नसक्नु, सडक पूर्वाधार व्यवस्थित र सहज नहुनु जस्ता कारणले पर्यटक घटेको उहाँको भनाइ छ । यतिबेला पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले पनि बुकिङ रद्द गर्न थालेका छन् । होटल सरोवरका सञ्चालक प्रतीक पहारीले पछिल्लो समय आन्तरिक पर्यटकको आगमन उल्लेख्य देखिएकोमा विमान दुर्घटनापछि यो सङ्ख्या घटेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “विमान दुर्घटनापछि मानिसहरु मानसिकरुपमा घुम्न तयार छैनन्, कति कार्यक्रम लागि बुकिङ भएका थिए तर बुकिङ रद्द भइरहेका छन् ।” उहाँका अनुसार होटल सरोवरमा जनवरीमा ६० र फेब्रुअरीमा ७० प्रतिशत कार्यक्रम बुकिङ भएका थिए, अहिले २० प्रतिशतमा झरेको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले विमानस्थल सञ्चालनसँगै उत्साहित भएका पर्यटन व्यवसायी माघ १ को घटनापछि भावात्मक र व्यावसायिकरुपमा समेत दुखी भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अहिले पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ । पर्यटकीय सिजनका लागि बुकिङ गरिएका कतिपय होटलमा बुकिङ रद्द भइरहेका छन् ।” उहाँले हवाई उडान सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउनुपर्ने साथै सडक पूर्वाधारमा पनि राज्यले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले विमान दुर्घटना हुनु अघिल्लो दिनसम्म लेकसाइडका होटलमा ३०÷४० प्रतिशत बुकिङ रहेको दुर्घटनापछि झरेर १०÷१५ प्रतिशतमा पुगेको बताउनुभयो । “ विस्तारै चलायमान हुँदै गरेको पर्यटन क्षेत्र जहाज दुर्घटनापछि पुनः सुस्ताएको छ । सडक पूर्वाधार राम्रो छैन त्यसैले अधिकांशले हवाईमार्ग प्रयोग गरेर घुम्न आउने गर्थे दुर्घटनासँगै हवाई मार्ग प्रयोग गर्न पर्यटक तयार देखिएका छैनन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार लेकसाइड र ड्याम साइडमा पर्यटकीयस्तरका सात सय र पोखरा आसपास गरी १२ सय पर्यटकीयस्तरका होटल छन् । जहाज दुर्घटनाको असर पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा पनि देखिएको छ । सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानेले सङ्ग्रहालयमा दैनिक सिजनको बेला १५ सयदेखि दुई हजार आन्तरिक, बाह्य, विद्यार्थी अवलोकनका लागि आउने गरेको र सामान्य अवस्थामा पनि पाँचसयको हाराहारीमा आउने गरेको तथ्याङ्क अहिले घटेको जानकारी दिनुभयो । उहाँले बाह्य पर्यटक नआए पनि आन्तरिक पोखरा र आसपासबाट आउने विद्यार्थी एवम् अन्य पर्यटक पनि नआएको उहाँको भनाइ छ । माघ १ मा काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको जहाज सेतीको खोंचमा दुर्घटना हुँदा जहाजमा सवार सबैको निधन भएको थियो ।
काठमाडौं: चालकहरुले आफ्नै पेट्रोलियम ट्यांकर चलाउन पाउनुपर्ने माग नेपाल पेट्रोलियम ट्यांकर चालक संघले राखेको छ । शुक्रबार काठमाडौंमा आयोजित नेपाल पेट्रोलियम ट्यांकर चालक संघको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै संघका अध्यक्ष ईश्वर लामाले चालकहरुले आफ्नै ट्यांकर चलाउन पाउनुपर्ने माग राखेका हुन् । उनले सधैँ परनिर्भर हुनुभन्दा भविष्यमा आत्मनिर्भर हुनुपर्ने भएकाले आफ्नै ट्यांकर चलाउन पाउनुपर्ने माग आफूहरुले राखेको बताए । देशभर १ हजार ९०० जना पेट्रोलियम ढुवानी गर्ने चालकहरु रहेको उल्लेख गर्दै उनले चालकहरुको भूमिका महत्वपूर्ण रहेको बताए । अध्यक्ष लामाले एकपटक चालकहरुका लागि कन्ट्याक्ट नामसारी खुलाइदिन पनि माग गरे । उनले आफूहरुको माग सुनुवाइ नभएमा ३० दिनभित्र ट्यांकरको साँचो हस्तान्तरण गरेर आन्दोलनमा उत्रिने बताए । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले ट्यांकर चालकहरुको माग सम्बोधन गर्नका लागि विद्यमान ऐन, कानुनहरुमा संशोधन गर्न आवश्यक रहेको बताए । उनले विनियमावलीमा भएका केही व्यवस्थाहरु समेत परिमार्जन गर्नुपर्ने अवस्था रहेकाले सम्बन्धित निकायहरुले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताए । उनले भने, ‘यो विषयमा भएका विद्यमान ऐन, कानुनमा केही संशोधन गर्नुपर्ने अवस्था छ । विनियमावलीको केही व्यवस्था परिमार्जन गर्नुपर्ने अवस्था छ । त्यसको लागि आ–आफ्नो ठाउँबाट सबै जनाले पहल गर्नुहुनेछ भन्ने मैले अपेक्षा राखेको छु ।’ कार्यक्रममा सांसद राजन केसीले ट्यांकर चालकहरुको स्वरोजगार बन्न पाउनुपर्ने माग सम्बोधनका लागि निर्णय गराउन आफू लागिपर्ने बताए । उनले ट्यांकर चालकहरुको पेशा मर्यादित पेशा भएको भन्दै आफूमा हिनताबोध नराखी काम गर्न चालकहरुलाई आग्रह गरे । कार्यक्रमका बीच नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र बिहार ट्यांकर चालक उपचालक संघका बीचमा आपसी सहयोग आदान–प्रदान गर्नेगरी ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

