फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

बागलुङ: बागलुङको काठेखोला गाउँपालिकाबाट पछिल्लो पाँच महिनामा ५८ घरपरिवारका २२१ जना बसाइँ सरेका छन्। गत साउनदेखि पुस मसान्तसम्म गाउँपालिकाका स्थानीय गाउँ छाडेर सहरी तथा तराई क्षेत्रमा बसाइँ सरेका हुन्।  अन्य व्यक्तिगत घटनाभन्दा बसाइँ सर्नेको तथ्याङ्क सर्वाधिक छ। गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाले आठवटा वडा रहेको गाउँपालिकामा सबैभन्दा धेरै वडा नम्बर ५ बिहुँबाट बसाइँ सरेको जानकारी दिनुभयो। बिहुँबाट मात्रै पाँच महिनामा २२ परिवारका ८४ जनाले गाउँ छाडेका छन्। वैदेशिक रोजगारीमा रहेका र उच्च शिक्षाका लागि विदेशमा रहेका युवाका परिवार बसाइँ–सराइ गर्नेमा पर्छन्। वडा नं. ६ बिहुँबाट पनि बसाइँ सर्नेको सङ्ख्या उच्च छ। वडा नं. ६ बाट ११ परिवारका ४३ जना बसाइँ–सराइ गरेका छन्। बिहुँका स्थानीय अधिकांश जापान, अस्ट्रेलिया, पोर्चुगललगायत मुलुकमा छन्।   गाउँपालिकाबाट बसाइँ–सराइ लिएर जानेबाहेक थातथलो छाडेर अन्यत्रै बस्नेको सङ्ख्या पनि उच्च छ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले फन्को मारेको साबिकको बिहुँ गाविस (हाल वडा नं. ५ र ६) सदरमुकामदेखि छोटो दूरीका वडा हुन्। गाउँपालिकाका प्रवक्ता टीकासङ्गम विकले बिहुँमा दुईवटा सामुदायिक क्याम्पस, विद्यालय, खानेपानी, विद्युत्, स्वास्थ्य संस्थालगायतका संरचना तयार रहे पनि गाउँ रित्तिन नछाडेको बताउनुभयो।  अन्य वडाको तुलनामा बिहुँ फलफूल र नगदेबाली बढी उत्पादन हुने क्षेत्र पनि हो। राष्ट्रिय परिचयपत्र बनाउनेक्रममा घटना दर्ता भएका हुन्। काठेखोलामा सबैभन्दा कम बसाइँ–सराइ वडा नं.७ लेखानीमा छ। यो वडाबाट पाँच महिनाको अवधिमा एक परिवारका तीन जना सदस्य मात्रै गाउँ छाडेर अन्यत्र गएका छन्। “हामीले विकास निर्माणका काम गाउँमा केन्द्रित गरेका छौँ तर गाउँलेचाहिँ सहर केन्द्रित भएका छन्,” गाउँपालिका अध्यक्ष राजु थापाले भन्नुभयो, “बसाइँ–सराइको स्थिति हेरेर नीति, कार्यक्रम र बजेट बनाउनुपर्ने अवस्था आउन थालेको छ।”  वडा नं.१ पालाबाट दुई परिवारका आठ, वडा नं. २ भीमापोखराबाट छ परिवारका १८, वडा नं. ३ धम्जाबाट पाँच परिवारका १९, वडा नं. ४ तङ्ग्रामबाट दुई परिवारका १२ र वडा नं.७ रेसबाट नौ परिवारका ३४ जना बसाइँ सरेको गाउँपालिकाको तथ्याङ्क छ। बसाइँ सर्नेमा आर्थिक दृष्टिकोणले मध्यम वर्ग कम रहेका छन्। वैदेशिक रोजगारीबाट छोटो अवधिमा धेरै अर्थोपार्जन गर्ने परिवारका सदस्य बसाइँ–सराइ गरेको काठेखोला गाउँपालिका–२, भीमापोखराका वडाध्यक्ष विद्यापति शर्माको भनाइ छ।  गाउँपालिकाको तथ्याङ्कअनुसार दैनिक ज्याला–मजदुरी गरेर खानेहरू अवसरका खोजीमा सहर–बजारतिर झरेका छन्। आर्थिक रूपले सक्षम देशका ठूला सहर वा तराईमा बसाइँ सरेका छन्। उच्च शिक्षाका लागि विदेश जाने, उतै कार्ड बनाउने र परिवार मधेश झर्ने गरेका कारणले पनि बसाइँ–सराइको तथ्याङ्क बढ्दो छ। गाउँपालिकामा पछिल्लो पाँच महिनामा ११ परिवार गाउँ फर्किएका छन्।  बागलुङका १० वटा स्थानीय तहमध्ये जैमिनी नगरपालिका, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा बसाइँ–सराइ धेरै भएका छन्। काठेखोलाको जस्तै तथ्याङ्क अन्य स्थानीय तहले तयार गरिनसकेका भए पनि काठेखोलाबाहेकका स्थानीय तहमा पनि बसाइँ–सराइको दर उच्च छ।   

 जनकपुरधाम:  भारत उतर प्रदेशको अयोध्या लगिने देव शीला जनकपुरधाम ल्याइएको छ । अयोध्यामा निर्माणाधीन रामको मन्दिरमा स्थापित गरिने प्रतीमाका लागि नेपालको श्री कृष्णा गण्डकी तटबाट विधिपूर्वक शिला ल्याइएको हो । देव शिला जानकी मन्दिर प्राङ्गणमा विशेष पूजा अर्चनाको लागि राखिएको छ । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री सरोजकुमार यादव, सभामुख रामचन्द्र मण्डल, एमाले नेतृ तथा संघीय सांसद जुली महतोलगायतले पूजा अर्चना गरेका हुन् । दर्शनको लागि जानकी मन्दिर प्राङ्गणमा भक्तजनको भीड लागेको । पूजाअर्चना गरि देव शिलालाई यहाँबाट अयोध्या लगिने जनाइएको छ।

काठमाडौँ:   पूर्व गृहमन्त्री रवि लामिछानेले जिल्ला प्रशासन कार्यालयबाट आज आइतबार नेपाली नागरिकताको प्रमाणपत्र लिने हुनुभएको छ । उहाँले पहिला प्राप्त गर्नुभएको नेपाली नागरिकता अमेरिकाको नागरिकता प्राप्त भएपछि समाप्त भएको थियो ।  उहाँ पुनः नेपाल आएर अमेरिकी नागरिकता त्याग गरेको निस्सा जिल्ला प्रशासन कार्यालयमा नबुझाउँदा उहाँको प्रतिनिधि सभा सदस्यसमेत खारेज भएको छ ।  नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट लामिछानेले पुनः नागरिकता लिने सक्ने भन्दै फैसला गरेपछि उहाँले पुनः नागरिकता लिन लाग्नु भएको हो ।  नागरिकताकै विषयमा उहाँले गृहमन्त्री र उपप्रधानमन्त्री पदबाट राजीनामा समेत दिनुभएको छ र प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट राजीनामा स्वीकृतसमेत भइसकेको छ ।   कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की समेत रहेको संवैधानिक इजलासका न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्द मोहन भट्टराई र अनिल सिन्हाको इजलासले लामिछानेविरुद्ध परेको मुद्दाको फैसला गर्दै नागरिकता कायम नहुने ठहर गरेको थियो । 

चितवन:   फापर प्रमुख खाद्यान्न बालीमध्ये एक हो । फापरका २ प्रजाति रहेका छन् तिते र मिठे फापर । जङ्गली अवस्थामा फल्ने एउटा प्रजाति छ जसलाई वन फापर पनि भनिन्छ ।  यो समय फापर फुल्ने मुख्य समय हो । हिजोआज चितवनका खेतहरूमा फापर र तोरी एकै साथ फुलेको देख्न सकिन्छ । फूलले रङ्गिन जस्तै बनेको छ चितवनका खेतबारीहरू । उच्च पहाडी भेगमा मुख्य गरी उत्पादन हुने गरेता पनि आजभोलि यसको खेती तराईका केही भेगमा पनि खेती गर्न थालिएको छ ।  जसमध्ये चितवन जिल्लाको मेघौली क्षेत्र र दिव्य नगर क्षेत्र यति बेला फापर फुलेर अति नै सुन्दर देखिएको छ । यही सौन्दर्यमा युवायुवतीहरू फापर खेतीमा टिकटक बनाएको पनि देख्न सकिन्छ। मेघौलीका किसान बोलबहादुर चौधरीका अनुसार यस क्षेत्रमा कात्तिक महिनामा फापर खेती गरिन्छ र फापर ६० देखि १५० दिनमा पाक्छ  करिब ७५ प्रतिशत दानाहरू खैरो, कालो वा मलिन खैरो रङ्ग भएपछि फापर काट्ने गरिन्छ। चौधरीका अनुसार बिहानको समयमा फापर काट्दा दाना झर्दैन र तुसारो पर्नु अगाडी नै बाली भित्र्याउनुपर्छ। फापर पोषणयुक्त खाद्यान्न भएको स्वास्थ्यकर्मीहरूको भनाइ छ, जसमा कार्बोहाइड्रेट ७० देखि ७३ प्रतिशत, प्रोटिन १६ प्रतिशत र लाइसिन अमिनो एसिड पनि बढी पाइन्छ ।  

बुटवलः     नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)ले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म सङ्घ वा प्रदेश सरकारमा सहभागी नहुने अडान राख्नुभएको छ।  सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष श्रेष्ठले रेशम चौधरीलगायतका टीकापुर घटनाका बन्दीलाई रिहाई नगरेसम्म सङ्घ र प्रदेशको कुनै पनि सरकारमा आफ्नो पार्टी सहभागी नहुने अडान कायमै रहेको बताउनुभएको हो।  बुटवलमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सरकारले आफूहरुको माग सम्बोधन गर्ने भनेकाले त्यो पूरा भएपछि मात्रै सरकारमा जान प्रतिबद्ध रहेको बताउनुभयो।  आफ्नो पार्टीको माग र मुद्दा सम्बोधन नभएसम्म सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने पक्षमा पार्टी नरहेको अध्यक्ष श्रेष्ठले प्रष्ट पार्नुभयो।  अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘‘जबसम्म नागरिक उन्मुक्ति पार्टीको माग, मुद्दा सरकारले सम्बोधन गर्दैन। तबसम्म हामी प्रतिपक्ष बेञ्चमै बस्नेछौं। सुदूरपश्चिम प्रदेशमा हामीले मुख्यमन्त्रीलाई चाहिँ समर्थन गरेका छौं। विश्वासको मत दिनुभन्दा अगाडि सरकारले हाम्रो माग, मुद्दा सम्बोधन गरोस् भन्ने हाम्रो पार्टीको चाहना छ। टीकापुरका राजबन्दीलाई रिहाइ गर्ने सरकारले भनिरहेको छ। हामीले यही कुरामा अडान लिएका छौं। सुदूरपश्चिम सरकारलाई पनि हाम्रो माग मुद्दा सम्बोधन भएपछि मात्रै विश्वासको मत दिन्छौं । माग सम्बोधन नभएसम्म हामी सङ्घ र प्रदेश कुनै पनि ठाउँमा सरकारमा जाने पक्षमा छैनौं।’’ अध्यक्ष श्रेष्ठले टीकापुर घटनामा निर्दोष रहेका आफ्ना पार्टीका नेता, कार्यकर्तालाई जेलमुक्त गर्ने काममा ढिलाई नगर्न पनि सरकारलाई दबाब दिनुभएको छ। 

काठमाडौं:   पश्चिमी न्यून चापीय प्रणाली सुदूरपश्चिम प्रदेशबाट भित्रने क्रममा रहेकाले सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम बदली हुने अनुमान छ । यो प्रणालीको प्रभावका कारण अबको केही दिन सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार उच्च पहाडी र हिमाली जिल्लामा यो  प्रणालीको प्रभाव अलि धेरै पर्ने सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेश बाहेक अन्य प्रदेशको मौसम भने सामान्यतया सफा नै रहने अनुमान छ । हिउँदे वर्षा नहुँदा बाग्मती, गण्डकी, मधेस प्रदेश र प्रदेश १ मा गर्मी हुन थालेको छ । बिहान बेलुका चिसो भए पनि दिउँसो गर्मी छ । केही दिनअघि पश्चिमी न्यून चापीय प्रणालीकै कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा हल्कादेखि सामान्य वर्षा र हिमपात भएको थियो । अन्य प्रदेशमा भने अझै पानी पर्न सकेको छैन । पानी नपर्दा सुक्खापन बढेको छ । यसले हिउँदे बालीमा नोक्सानी पुर्याएको छ भने नदी तथा खोलामा पनि पानी सुक्दै जाँदा विद्युत् उत्पादनमा समस्या हुन थालेको छ ।

बागलुङः   बागलुङको ताराखोला गाउँपालिका २ अर्गल सिलेको स्थानीयको खरबारीमा आगलागी हुँदा वस्ती जोखिममा परेको छ ।  स्थानीयले खरबारीमा स्याउला जलाउन लगाएको आगो एक्कासी फैलिदा आगो नियन्त्रण बाहिर गएको स्थानीय भुमिराज विश्वकर्माले जानकारी दिए ।  ‘आगो वस्ती भन्दा तल लागेको छ, आगो भन्दा केही माथि वस्ती छ, अहिले आगो नियन्त्रण बाहिर छ, विश्वकर्माले भने, ‘अप्ठ्यारो भिर भएकाले आगो नियन्त्रण गर्न सकिएको छैन, वस्तीतिर आउँछ कि भनेर सजग भएर बसेका छौं ।’   ताराखोला गाउँपालिका २ का वडाध्यक्ष भद्रबहादुर घर्ति मगरले आगोको जोखिम भएका वस्तीलाई दिउँसो जोगाइएका जानकारी दिए ।  ‘दिउँसो आगलागीबाट वस्ती जोखिममा परेको थियो, स्थानीयको सहयोगमा वस्ती जोगाइएको छ, घर्तिले भने, ‘आगो भिरमा लागेकाले नियन्त्रण गर्न सकिएको छैन, रात परेकाले नियन्त्रण गर्न समस्या भएको छ ।’ स्थानीयले आगो नियन्त्रणको प्रयास गरे पनि आगो नियन्त्रणमा आउन सकेको छैन । आगो खरबारीमा फैलिएकाले नियन्त्रण बाहिर गएको स्थानीयले जानकारी दिएका छन् ।  खईम भन्ने स्थानमा लागेको आगो अहिले ताराखोला गाउँपालिका २ सिलेको कोट र गर्जुरे भन्ने स्थानमा फैलिएको छ । खरबारीमा सल्ला लगायत अन्य रुखको पातहरु र खर सुकेकाले आगो नियन्त्रण गर्न समस्या भएको स्थानीयले जानकारी दिएका छन् । 

धनकुटाः    धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाहरूको भीडमा परी नौ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकी धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएकाको अस्पतालको इमर्जेन्सी शाखाले जानकारी दिएको छ । अत्यधिक भीडका कारण झण्डै नौ जनाभन्दा बढी दर्शक घाइते भएकाले उपचारका लागि अस्पताल लगिएको प्रहरी उपरीक्षक लक्ष्मीप्रसाद अधिकारीले जानकारी दिनुभयो ।  कन्सर्ट हेर्न आउनेहरूको भीडमा परी घाइते भएकाको विवरण र क्षति भने यकिन हुन नसकेको कलाकार संयोजन समितिका संयोजक रिदम श्रेष्ठले जानकारी दिनुभयो । आजका सबै कार्यक्रम स्थगन भएको आयोजकले जनाएको छ ।

पोखराः    चेम्बर अफ कमर्स गण्डकीले प्रदेशमा ‘आइडिया बैंक’ स्थापना गर्ने निर्णय गरेको छ ।  चेम्बर अफ कमर्स गण्डकी प्रदेशको आठौं कार्यसमिति बैठकले ‘सोचबाट उद्यमशिलता’ भन्ने प्रमुख लक्ष्यसहित गण्डकीमा आइडिया बैंक स्थापना गर्ने निर्णय गरेको चेम्बर गण्डकीका अध्यक्ष किसान सुनारले जानकारी दिए ।  ‘गण्डकी प्रदेश भित्र स्थापना भएका उद्योगी, व्यवसायीहरुलाई थप व्यवस्थित र वस्तु तथा सेवाको व्यवसायिक प्रवद्र्धन गर्ने प्रमुख लक्ष्य हो, सुनारले भने, ‘आइडिया बैंक स्थापना भएसँगै नया उद्यम गर्न चाहने र विदेशबाट ज्ञान सीप सिकेर पूँजी लिएर आएका उद्यमीहरुलाई विशेष सहयोग पुग्छ ।’  देशमा भएका बेरोजगार युवालाई स्वरोजगार सृजना गर्न चेम्बरले तीन तहको सरकारसँग सहकार्य गर्न आइडिया बैंकले सहयोग गर्ने बताए ।  ‘पछिल्लो समय देशमा बेरोजगार प्रमुख समस्या बनेको छ, तीनै तहको सरकारसँग समन्वय गर्दै दातृनिकायसँग साझेदारी गर्दै विउ पूँजी उपलब्ध गराई बेरोजगारीलाई स्वरोजगार सृजना गर्न सक्छौं ।’ उनले भने ।  चेम्बर अफ कमर्स गण्डकीको आठौं बैठकलले गण्डकी प्रदेशमा फ्रि हटलाईन नम्वर हेल्लो चेम्बर हेल्प डेस्क स्थापना गर्ने निर्णय गरेको छ । गण्डकी प्रदेश भित्ररहेका उद्योगी, व्यवसायीहरुको हक हित,समस्या पहिचान र निराकन गर्नका लागि व्यवसायीक प्रवद्र्धन गर्न सरकार र निजी क्षेत्रबीच पुलको काम गरी सरकरलाई व्यवसायी मैत्रि नीति निर्माण गर्न लगानी मैत्री वातावरण तयार गर्न नीतिगत सुझावका लागि हेल्प डेस्क स्थापना गर्ने निर्णय गरेको हो ।  यस्तै चेम्बर गण्डकीले एक पालिका एक उत्पादन र उत्पादित वस्तुको बजारिकण गर्ने निर्णय समेत गरेको छ । सिप सिकेर स्वदेशमा नै कृषि व्यवसाय गर्न चाहाने तथा कृषि पेशामा सिप सिकेर विदेश जान इच्छुक व्यक्तिलाई आवश्यक तालिम प्रदान र विदेशबाट फर्र्किएका युवाहरुलाई कृषि तालिम दिएर कृषिमा आवद्धता गर्ने निर्णय समेत गरेको छ ।  चेम्बर अफ कमर्स गण्डकीको वार्षिक साधारण सभा चैत ११ गते पोखरामा गर्ने निर्णय समेत भएको अध्यक्ष सुनारले जानकारी दिए । बैठकमा जिल्ला चेम्बरको प्रगति प्रतिवेदन, एसोसिएट र वस्तुगत संघ दर्ता सम्बन्धमा लगायतका विषयमा छलफल भएको थियो ।