काठमाडौंः नेपालले आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया क्षेत्र छनोटमा नेपाल लगातार चौथो खेलमा विजयी भएको छ । मङ्गलवार यूएईमा भएको खेलमा मलेसियालाई हराउँदै नेपालले लगातार चौथो जित निकालेको हो । मलेसियाले दिएको ७३ रनको सामान्य लक्ष्य नेपालले ९ ओभरमा कुनै पनि विकेट नगुमाई भेटायो । नेपालका लागि दीपक बोहराले ३८ र अर्जुन कुमालले २१ रन बनाए । यसअघि टस जितेर ब्याटिङ गरेको मलेसिया ३५ ओभर ३ बलमा ७२ रन बनाउँदा अलआउट भयो । मलेसियाका लागि मुहम्मद मलेकले सर्वाधिक २६ रन बनाए । बलिङतर्फ नेपालका दिपेश कँडेलले १० ओभरमा ११ रन दिएर ४ विकेट लिए । यस्तै आकाश चन्दले ३, मिलन बोहराले २ र सुवास भण्डारीले १ विकेट लिए । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६ रन, दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले र तेस्रो खेलमा हङकङलाई ९ विकेटले हराएको थियो । नेपालले बिहीवार घरेलु टोली यूएईसँग खेल्नेछ । नेपालसहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएई ६ टोली सहभागी प्रतियोगिताको शीर्ष टोलीले आउँदो वर्ष श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्व कप खेल्न पाउनेछ ।
काठमाडौं: निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले काम सुरु गर्ने बेलामा मन्त्री पदबाट हट्नु परेको बताएका छन् । ४२ दिन मन्त्री रहँदा मन्त्रालयको समस्या कसरी समाधान गर्ने भनेर अध्ययन गरेको र अब काम सुरु गर्ने बेलामा भने बिदा लिनु परेको उनको गुनासो थियो । यो ४२ दिनको अवधिमा मैले स्वास्थ्य क्षेत्रको अध्ययन धेरै घनिभूत ढंगले गरेँ । सम्बन्धित पक्षहरुसँग बस्ने, अन्तर्क्रिया गर्ने, कहाँ के समस्या छन् ? ती समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा मैले धेरै भन्दा धेरै समय खर्च गरेँ भन्ने लाग्छ’ स्वास्थ्य पत्रकार मञ्चले गरेको कार्यक्रमाम उनले भने, ‘अब स्वास्थ्य क्षेत्र बुझेर काम गर्ने बेला आएको थियो । त्यही बेला यहाँबाट विदा लिनुपर्ने अवस्था बन्यो ।’ उनले स्वास्थ्य मन्त्रालयमा धेरै जटिल समस्याहरु छन भन्ने कुरा मन्त्री भएपछि मात्रै आफूले थाहा पाएको समेत टिप्पणी गरे । निवर्तमानमन्त्री गिरीले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्विचार गर्नुपर्ने आवश्यकता देखिएको बताए । त्यसका लागि बीमितलाई दिने सेवाको रकम १ लाखबाट बढाएर ५ लाख रुपैयाँ पुर्याउनुपर्ने उनको सुझाव छ । उनले स्वास्थ्य सामग्रीहरुको दुरुपयोग हुन नदिने, सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि बजेटको व्यवस्था गर्ने, स्वास्थ्यकर्मीहरुको अभिलेखीकरण गर्ने, सबै प्रदेशमा विशिष्टीकृत खालको स्वास्थ्य सेवा उपलब्ध गराउने कामलाई आफूले प्राथमिकताका साथ अघि बढाएको पनि बताए ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्त्व बोकेका मौलिक चाडपर्वले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभएको छ । माझी समुदायको लदी पर्वका अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले माझी जाति परम्परागत रूपमा पानीसँग नै रमाउँदै र जिउँदै आएको एक विशिष्ट पहिचान भएको जातिका रुपमा उल्लेख गर्नुभएको छ । प्रधानमन्त्रीले फागुन महिनाको साहिँली अर्थात् तेस्रो मङ्गलबार मनाउने नेपालको आदिवासी जनजातिअन्तर्गत अल्पसङ्ख्यक सीमान्तकृत जाति सम्पूर्ण माझी समुदायसहित नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको मुलुकका रुपमा उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विकासका पूर्वाधार, जलविद्युत्, सडक आदिको विकासका कारण यस जातिको परम्परागत पेसा बिस्तारै लोप हुँदै गएको उल्लेख गर्नुभएको छ । “माझी जातिले आजको दिनमा विशेष गरेर नदी र पानीको पूजा गरी मनाउन लागेको चाडपर्वले माझी जाति र पानीको सम्बन्धलाई थप उजागर र स्थापित गर्नेछ”, प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ । वर्तमान सरकार बदलिएको व्यवस्थाअनुरूप जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने सङ्कल्पका साथ अवस्था बदल्न दृढ सङ्कल्पित रहेको प्रधानमन्त्री दाहालले सो सन्देशमा भन्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण नेपालीलाई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न र यस पर्वलाई माझी जाति र अन्य समुदायका बीचमा एकता, सद्भाव र सहकार्य थप बलियो बनाउने ऐतिहासिक अवसरमा रूपमा मनाउन अपिल गर्नुभएको छ ।
काठमाडौं: वैदेशिक रोजगारी सम्बन्धी विज्ञापन राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित भएपछि अब म्यानपावर कम्पनीको वेबसाइटमा समेत अनिवार्य राख्नु पर्ने भएको छ । वैदेशिक रोजगार विभागले सोमबार एक सूचना प्रकाशित गर्दै यस्तो व्यवस्थाबारे जानकारी गराएको हो । विभागका अनुसार इजाजत प्राप्त संस्थाबाट हुने वैदेशिक रोजगार सम्बन्धी विज्ञापन ‘अटो अप्रुभ’ हुने व्यवस्था गरिएको छ । अब इजाजत प्राप्त संस्थाले विभागबाट स्वीकृत बमोजिमको विज्ञापनको पहिलो पटकको हकमा राष्ट्रिय दैनिक र त्यसपछिको विज्ञापन आ–आफ्नो संस्थाको वेवसाइटमा अनिवार्य राख्नु पर्ने भएको छ । यस कामको नियमित अनुगमन समेत हुने भएको छ । त्यसो गरेको नपाइएमा कारवाही गर्ने चेतावनी समेत विभागले दिएको छ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त भएका छन् । गत बिहीबार (११ फागुन) मा बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सकको रुपमा डा. शर्मा नियुक्ति भएका हुन् । डा. शर्माले हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक तथा मेडिकल डाइरेक्टरको पदमा कार्यरत छन् । सोमबार साँझ प्रधानमन्त्रीको निजी चिकित्सक नियुक्तिको पत्र बुझेको शर्माले बताए । सरकारी सेवामा रहेको व्यक्तिले दोहोरो सेवा–सुविधा लिन नमिल्ने भएका कारण डा. शर्माले पाटन अस्पतालको मात्रै सेवा–सुविधा लिने बताए । ‘पाटन अस्पतालमा भएको साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको निजी चिकित्सकको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नेछु,’ डा. शर्माले भने । नेपालमा दुई विषयमा एमडी गरी विदेशबाट फेलोसिप समेत गरेका डा. शर्मा नेपालका अब्बल चिकित्सकमध्येमा गनिन्छन् । डा. शर्माले उच्च विशेषज्ञता इन्टनरल मेडिसिन र पेट तथा कलेजो विषयमा गरेका छन् ।
काठमाडौं : यूकेमा रोजगारी मिलाई दिन्छु भन्दै अनलाईनमार्फत् २३ लाख नगद ठगी गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी रामपुर ग्राम पञ्चायत थाना दारपा घर भई काठमाडौं कालीमाटी बस्ने २५ वर्षीय सुदिश कुमार साह र काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-११ घर भई काठमाडौं कालीमाटी बस्ने २७ वर्षीया सुनिता परियार रहेका छन् । उनीहरूले सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप, ईन्टारग्राम,भाइबर र टिकटकमार्फत साथी बनाई आफू मलेसियाको नागरिक भएको र हाल यूके मा डेन्टिस डाक्टर पेशा गर्छु भनि पीडितहरूसँग मोबाईल नम्बर लिइ ह्वाट्सएपमार्फत् कुराकानी गरी प्रलोभनमा पारेका थिए । त्यसपछि यूकेमा हेल्थकेयर असिस्टेनटमा नोकरी लगाई दिन्छु भन्दै व्यक्तिगत विवरण पठाउन लगाई कागजात लिएपश्चात विभिन्न व्यक्तिहरूलाई पार्सल,आकर्षक गिफ्ट, डलरलगायतको सामान पठाएको र त्यसको लागि कस्टम चार्ज,क्लिरियन्स,इन्सुरेन्स, डेलिभरी चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भन्दै पीडितहरूबाट सुनिताको बैंक खातामा रुपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएपछि उनीहरूई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई ठगी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टकु काठमाडौं पठाइएको छ ।
पोखरा: पोखरा महानगरपालिका ५ मालेपाटन धारापानी पिकनिक डाँडानजिकको जंगलमा पहिचान नखुलेको एक व्यक्ति मृत फेला परेका छन । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगर ५ धारापानी पिकनिक डाँडानजिकको जंगलमा एक पुरुष शव फेला परेको हो । कास्की प्रहरीको जानकारी अनुसार झुण्डिएको अवस्थामा फेला परेका ति व्यक्तिको पहिचान खुल्न सकेको छैन । अहिले शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ । प्रहरीले जंगलमा मृत भेटिएका व्यक्तिले आत्महत्या गरेका हुन् वा हत्या हो भनेर अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
पोखरा: गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम बहादर जुग्जाली मगरले जनजातिले नेतृत्व गरेको क्षेत्र सफल भएको भन्दै मुलुकको नेतृत्व जनजातिले गर्न आवश्यक रहेको बताएका छन् । नेपाल मगर संघको ४१ औं स्थापना दिवसको अवसरमा नेपाल मगर संघ कास्कीले आयोजना गरेको मगर एकता दिवसलाई सम्बोधन गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले मुलुकको समृद्धिका लागि जनजातिले देशको नेतृत्व गर्न आवश्यक देखिएको उल्लेख गरे । ‘देशको महत्वपूर्ण क्षेत्रमा जनजातिले नेतृत्व गर्न आवश्यक छ, जनजातिले नेतृत्व गरेको क्षेत्रमा सफलता मिलेको छ, मन्त्री जुग्जालीले भने, ‘कुलमान घिसिङले उर्जामा सफलता दिलाए, महावीर पुनले बन्द अवस्थामा रहेको आविष्कार केन्द्र सञ्चालनमा ल्याए । त्यसैले यो एक सफलताको उदाहरण हो ।’ पर्यटनमन्त्री जुग्जाली मगरले जनजातिले नेतृत्व गरेको क्षेत्रमा सफलता पाएको भन्दै अब देशको कार्यकारी पदमा जनजातिले नेतृत्व गर्न अधिकार खोज्नै पर्नेमा जोड दिए । उनले फरक प्रसंगमा बोल्दै पोखरा अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालन गर्न पोखराको मात्र नभएर गण्डकी प्रदेशका ग्रामीण क्षेत्रमा रहेका पर्यकीय क्षेत्रको प्रचार र पूर्वाधार विकास गर्न आवश्यक रहेको बताए । ‘पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आयो, अहिले फोटो खिच्ने र टिकटक बनाउने भन्दा अरु भएन, उनले भने, ‘अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन गर्न पोखराको मात्र नभएर गण्डकी प्रदेशका सबै जिल्लाको पर्यटकीय क्षेत्रको विकास गर्न सके मात्र विमानस्थल सञ्चालन गर्न सहज हुनेछ ।’ उनले मगर जातिले विदेशी मोह त्यागेर निजामती क्षेत्रमा प्रवेश गर्न आवश्यक रहेको बताए । ‘मगर तथा जनजाति समुदायहरु विदेशी मोहमा बढी क्रियाशिल छन्, यसलाई रोक्न जनजाति समुदायले निजामती सेवा प्रवेशका लागि लोकसेवाका कक्षा सञ्चालन गर्न आवश्यक छ, तब मात्र जनजाति समुदायको केही हदसम्म विकास र उत्थान हुन्छ ।’ यस्तै कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले मगर तथा जनजाति समुदायले देश र जनताका लागि महत्वपूर्ण योगदान दिएको धारणा राखे । ‘मुलकु जोगाउन र बनाउन मगर तथा जनजाति समुदायको महत्वपूर्ण योगदान छ, केसीले भने, ‘देश र जनताका लागि केही गर्नुपर्छ भनेर इतिहास कालदेखि हरेक क्षेत्रमा जनजाति समुदायको योगदान रहेको छ ।’ नेपाल मगर संघ गण्डकी प्रदेशका उपाध्यक्ष तारा थापा मगरले मगर जातिको भाषा संस्कृतिलाई पाठ्यक्रममा समावेश गर्नुपर्ने तर्क राखिन् । यसैगरी तमु धिं नेपाल कास्कीका अध्यक्ष हुम बहादुर गुरुङले राज्यको कार्यकारी क्षेत्रमा रहेर काम गर्न जनजाति समुदाय एकजुट हुन आवश्यक रहेको बताए । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका महासचिव सुजन लामा, नेपाल मगर विद्यार्थी संघका सल्लाहकार बालकृष्ण काउछा मगर लगायतले बोलेका थिए । नेपाल मगर संघको ४१ औं स्थापना दिवसको अवसरमा पोखराको चिप्लेढुङ्गाबाट सुरु भई झाँकी तथा ¥याली महेन्द्रपुल, नयाँबजार, लखनचोक हुँदै पोखरा रंगशालास्थित मगर संघ कास्कीको सभाहलमा गएर कोण सभामा परिणत भएको थियो ।
पोखरा: पोखरा महानगरपालिका वडा नं ३३ मा क्रियाशिल सिलिङ्गे महिला चेतना समूहको १६ औं वार्षिक साधारण सभा एवम् सातौं अधिवेशन एक कार्यक्रमकाबीच आज सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले सिलिङ्गे महिला चेतना समूहको सकृयता अनुकरणीय भएको बताउनुभयो । सामाजिक जागरणसँगै विकास निर्माणमा समूहले उल्लेख्य काम गरिहेको बताउँदै उहाँले समूहका हरेक गतिविधिमा वडाका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सिलिङ्गे महिला चेतना समूहका अध्यक्ष कर्णकुमारी महतले समूहको सकृयतामा सदस्यहरूलाई विभिन्न सिपमुलक तालीमका साथै ऐतिहासिक चौतारा, प्रतिक्षालय आदि निर्माण गरिएको बताउनुभयो । समूहले आगामी दिनमा पाण्डेबारीमा चौतारा निर्माणसँगै वातावरण संरक्षणका कार्यक्रम, चेतना एवम् सीपमुलक तालीम प्रदान लगायतका काम गर्ने बताउनुभयो । समूहका सचिव सीता केसी महतको सञ्चालन एवम् उपाध्यक्ष सरला महतले स्वागत गर्नुभएको कार्यक्रममा वडा सदस्य विनोदबाबु भण्डारी, रामचन्द्र पौडेल, गुरुप्रसाद पौडेल, चेतबहादुर महत लगायतले समूहले सामाजिक सचेतनासँगै ऐतिहासिक स्थलहरूको संरक्षण र विकासमा गरेको योगदान प्रशंसनीय भएको बताउनुभयो । उक्त अवसरमा समूहका संस्थापक सल्लाहकार एवम् पदाधिकारी एवम् रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेललाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो । यसैबीच समूहको सातौं अधिवेशनले पुनः कर्णकुमारी महतको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । नव गठित समितिको उपाध्यक्षमा सरला महत, सचिवमा सीता केसी महत, कोषाध्यक्षमा सविता आचार्य पौडेल, सहसचिवमा विष्णु पौडेल र सदस्यहरूमा लक्ष्मी जमरकटेल, गंगा क्षेत्री, जौमाया विक, सम्झना भट्टराई, विष्णुमाया विक, सुनिता अर्याल महत, जमुना महत र सविता पौडेल रहनुभएको छ । अधिवेशन सम्पन्न गर्नका लागि वासुदेव पौडेलको संयोजकत्वमा हेमबहादुर थापा र राधा पौडेल सदस्य रहनुभएको निर्वाचन समिति गठन गरिएको थियो ।

