काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको युगमा खेलकुद राष्ट्रको गौरव, कूटनीतिको महत्त्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहेनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको बताउनुभएको छ। मंगलबार बिहान काठमाडौंको गोकर्णमा एसियन एथलेटिक्स एसोसिएसनको तत्वावधान तथा नेपाल एथलेटिक्स संघको आयोजनामा आयोजित १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसीपमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, “आजको आधुनिक युगमा खेलकुद राष्ट्रको गौरव, कूटनीतिको महत्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहेनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको छ। जसले यसको महत्वलाई ठीक ढंगले बुझ्न सक्छ, त्यसले मात्रको राष्ट्रको सही नेतृत्व गर्न सक्छ, जनआकांक्षा सम्बोधन गर्न सक्छ। यसर्थ, खेल क्षेत्र विविधतामा एकता, सुशासन, दीगो विकास र समृद्धिको महत्वपूर्ण आधारका रूपमा विकसित भएकोमा हामी सबै गौरव गर्नैपर्छ।” प्रधानमन्त्रीले “खेल कूटनीतिमार्फत् ठूलाठूला युद्ध र मानवसिर्जित विपत्तिहरू समाधान भएको, ठूलठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका र आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा भएको” भन्दै खेल क्षेत्रको विकास सरकारको प्राथमिकतामा रहेकोसमेत बताउनुभयो। प्रधानमन्त्रीको सम्बोधन पूर्णपाठ एसियन एथलेटिक्स एसोसिएसनको तत्वावधान तथा नेपाल एथलेटिक्स संघको आयोजनामा आयोजित यस १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसीपले एसियन एथलेटिक्समा नेपालको पहिचानलाई थप फराकिलो बनाउने विश्वाससहित सर्वप्रथम प्रतियोगिताको भव्य सफलताको शुभकामना व्यक्त गर्दछु। दक्षिण एसियाली खेलकुद (साग) मा लगातार तीन पटक स्वर्ण पदक जित्ने क्रममा धावक बैकुण्ठ मानन्धरले साढे तीन दशकभन्दा अगाडि २ घन्टा १५ मिनेट ०३ सेकेन्डमा पूरा गर्दै म्याराथुनमा राखेको कीर्तिमान अहिलेसम्म कायमै छ। पछिल्लोपटक नेपालमा आयोजित १३ औं सागमा १० हजार मिटर दौडमा सन्तोषी श्रेष्ठ स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बन्नुले एथलेटिक्समा नेपालले प्राप्त गरेको सफलता प्रमाणित गर्दछ। यी सफलताहरूले नेपाली खेलाडीहरूको दक्षता र खुबीमात्रै प्रदर्शन भएको छैन, सिंगो राष्ट्रकै गौरव र प्रतिष्ठासमेत उच्च भएको छ। त्यसबीचमा अन्य खेलाडीले पनि एथलेटिक्स खेलमार्फत आ–आफ्नो ठाउँबाट विशिष्ट योगदान गर्दै आउनुभएको छ। विश्व खेलकुदको महाकुम्भको रूपमा रहेको ओलम्पिकमा नेपालबाट सबैभन्दा बढी एथलेटिक्स खेलाडीकै सहभागिता रहनु हाम्रा लागि गर्वको विषय हो। खेलकुद मात्र एउटा यस्तो क्षेत्र हो, जहाँ खेल कूटनीतिमार्फत् ठूलाठूला युद्ध र मानवसिर्जित विपत्तिहरू समाधान भएका छन्, ठूलठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका छन्। खेल कूटनीतिमार्फत् आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा भएका छन्। कुनै समय खेलकुदलाई शारीरिक र मानसिक स्फूर्तिको माध्यमका रूपमा मात्र लिइन्थ्यो। तर, अहिले समय फेरिएको छ। आजको आधुनिक युगमा खेलकुद राष्ट्रको गौरव, कूटनीतिको महत्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहेनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको छ। जसले यसको महत्वलाई ठीक ढंगले बुझ्न सक्छ, त्यसले मात्रको राष्ट्रको सही नेतृत्व गर्न सक्छ, जनआकांक्षा सम्बोधन गर्न सक्छ। यसर्थ, खेल क्षेत्र विविधतामा एकता, सुशासन, दीगो विकास र समृद्धिको महत्वपूर्ण आधारका रूपमा विकसित भएकोमा हामी सबै गौरव गर्नैपर्छ। खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार हो। नेपाल सरकार यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध छ। त्यसका लागि खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्म स्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्ति विकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहनेछ। साथै एथलेटिक्सको विकासका निम्तिसमेत राज्यले उचित ध्यान दिनेछ। दुई दशकभन्दा लामो समयपछि नेपाललाई एसियन क्रस कन्ट्री च्याम्पियनसिपको आयोजनाको अवसर दिने एसियन एथलेटिक्स एसोसिएसन परिवारलाई नेपाल सरकारको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु। साथै आगामी दिनमा समेत नेपाल यहाँहरूको उच्च प्राथमिकतामा पर्नेछ भन्ने मैले विश्वास लिएको छु। अन्त्यमा, यस प्रतियोगितालाई शानदाररूपमा सफल पार्न भूमिका खेल्ने सरकारी र गैरसरकारी क्षेत्रका सबै संस्था र प्रतिनिधिज्यूहरूप्रति विशेष आभार प्रकट गर्दछु। च्याम्पियनसीपमा भाग लिने नेपालसहित ११ देशका खेलाडीहरूमा प्रतियोगितामा राम्रो प्रस्तुतिको अपेक्षासहित शुभकामना व्यक्त गर्दछु। यस प्रतियोगिताका आयोजक, व्यवस्थापक, सम्पूर्ण प्रयोजकहरू एवं सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गर्दै प्रतियोगिता सम्पन्न गर्न नेपाल सरकारको तर्फबाट खेल्नुपर्ने भूमिका र गर्नुपर्ने सहयोगप्रति प्रतिबद्ध रहेको विश्वास दिलाउँदै बिदा हुन्छु, धन्यवाद।
मुम्बई: अभिनेता अमिताभ बच्चन घाइते भएका छन् । हैदराबादमा फिल्म ‘प्रोजेक्ट के’ को एक एक्सन दृश्य सुटिङको क्रममा उनी घाइते भएका हुन् । जसको जानकारी उनले आफ्नो ब्लग मार्फत दिएका छन् । उनले लेखेका छन् ‘करङको मांसपेशी च्यातिएको छ । सुटिङ रोकिएको छ । आवतजावत गर्न कठिन छ । धेरै दुख्छ । श्वासप्रश्वासमा पनि समस्या छ । केही औषधि दिइएको छ । निको हुन केही समय लाग्छ ।’ आफू जलसामा आराम गरिरहेको बताएका बच्चनले अहिलेको अवस्थामा फ्यान भेट्न नसक्ने भन्दै फ्यानलाई जलसामा भेट्न नआउन अनुरोध समेत गरेका छन् । ‘प्रोजेक्ट के’ का निर्देशक प्रशान्त नील हुन् । ‘प्रोजेक्ट के’ मा अमिताभको अलावा प्रभास, दीपिका पादुकोण र दीसा पटानी मुख्य भूमिकामा छन् ।
काठमाडौं: काठमाडौंको कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गएराति काठमाडौं महानगरपालिका-३२ कोटेश्वरमा प्रदेश ३-०२-००९ प ७००६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। उक्त दुर्घटना हुँदा भक्तपुर चाँगुनारायण नगरपालिका-५ ताथली बस्ने ४२ वर्षीय मधुकर बालाको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको काठमाडौं मेडिकल कलेज सिनांमगलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार अन्य १ जना महिलाको सोही अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौं : बजारमा सुनको मूल्य सस्तिएको छ। आज सुन प्रतितोला ३०० रुपैयाँले घटेको हो। सुन चाँदी व्यवसायी महासंघका अनुसार ३०० रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख २ हजार ५०० रुपैयाँ कायम गरिएको छ। तेजावी सुन तोलाको १ लाख २००० रुपैयाँ तोकिएको छ। महासंघअनुसार सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी १० रुपैयाँले घटेर प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
काठमाडौं: नेपालका केही स्थानमा आज मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा अहिले जारी पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तो छ महाशाखाको तीन दिने मौसम पूर्वानुमान २०७९ फागुन २३ गते (मंगलबार) दिउँसोː देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्गसहित क्षणिक / हल्का वर्षाको सम्भावना रहेको छ।साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति ː कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। २०७९ फागुन २४ गते (बुधबार) दिउँसोː देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित क्षणिक / हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति ː देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। २०७९ फागुन २५ गते (बिहिबार) दिउँसोː देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ। राति ː देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघ गर्जन /चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।
चितवन: चितवनका विभिन्न क्षेत्रमा पालिएका कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको छ। भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका अनुसार जिल्लाका विभिन्न स्थानमा पालिएका कुकुरमा सो भाइरसको सङ्क्रमण देखिएको हो। केन्द्रका सूचना अधिकारी डा प्रभात न्यौपानेले अस्पतालमा उपचारका लागि ल्याइएका कुकुरमा ३० देखि ४० प्रतिशतमा भाइरस देखिएको बताए। मौसममा आएको परिवर्तनसँगै यो समस्या आएको हो। घरपालुवा कुकुर उपचारको लागि ल्याउने गरिए पनि सडकमा रहेका भुस्याहा कुकुरको उपचारमा भने कसैले ध्यान नदिएको उनले बताए। यो रोग घरपालुवासहित छाडा छोडिएका कुकुरमा देखिने गरेको उनको भनाइ छ। पार्वोको सङ्क्रमण भएका कुकुरमा खानमन नलाग्ने, पखाला लाग्ने, रगत मासी पर्ने जस्ता लक्षण देखापर्ने उनले बताए। सामान्यतया पार्वो खतरनाक समस्या नभए पनि उपचार नभएमा कुकुरको मृत्यु हुने गर्दछ । कुकुरलाई नियमित खोप नलगाउँदा यस्तो समस्या देखापर्ने गर्दछ। कुकुरलाई डीएचएलपीपी नामक खोप नियमित पाँच वटा दिएमा यस्ता सङ्क्रमण नहुने न्यौपानेले बताए। अधिकांश घरपालुवा कुकुरमा नियमित खोप लगाउने अभ्यास नभएकाले यस्तो खालको समस्या देखिने गरेको उनले बताए। कुकुरलाई जन्मिएको छदेखि आठ हप्तामा पार्वो विरुद्धको नियमित खोप लगाउनुपर्ने चिकित्सकको सुझाव छ ।
जाजरकोट: चिस्यान केन्द्रको अभाव र बजार नपाउँदा जाजरकोटको नलगाडमा उत्पादन भएको स्याउ बिक्री हुन सकेको छैन । स्थानीय सरकारले चिस्यान केन्द्र र सडक निर्माणमा ढिलासुस्ती गरेका कारण लाखौँ रुपियाँको स्याउ कुहिएर नष्ट हुने गरेको किसानले गुनासो गरेका छन् । नलगाड नगरपालिका–१३ का महेन्द्र बोहराले तीन गाडीभन्दा बढी स्याउ उत्पादन हुने गरेको बताउनुभयो । बिक्री वितरण र चिस्यान केन्द्र नहुँदा उचित मूल्य पाउन नसकेको गुनासो गर्नुभयो । “गाउँमा यातायातको सहज पहँुच छैन, सरकारले कोल्ड स्टोर निर्माण गर्दैन । बजार अभावका कारण उत्पादन गरेको वस्तु कुहिएर नष्ट हुने गरेको छ,” बोहराले भन्नुभयो । स्थानीय मेलापर्वमा थोरै बिक्री हुने भए पनि बाँकी कुहिएर नष्ट हुने गरेको उहाँले बताउनुभयो । स्याउ उत्पादनलाई प्राथमिकता दिएको स्थानीय सरकारले बजारीकरणका लागि सडक सञ्जाल र कोल्ड स्टोरको व्यवस्थापनमा ध्यान नदिँदा किसान मर्कामा परेका हुन् । नलगाड नगरपालिकाले १३ वटै वडामा माटो परीक्षण गरी पकेट क्षेत्रका आधारमा तरकारी, खाद्य बाली, बिरुवा, मौरी घार वितरण गरेको थियो । वडा नं. १३ लाई नगरपालिकाले स्याउको पकेट क्षेत्र घोषणा गरेको छ । कृषि शाखाका प्रमुख बालकृष्ण आचार्यले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार किसानको लागत साझेदारीमा बिरुवा वितरण गरेको बताउनुभयो ।
काठमाडौं: फागुपूर्णिमा अर्थात होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइँदै छ । सोमबार हिमाली एवं पहाडी जिल्ला सो पर्व मनाइएको थियो । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रुपमा मनाउने प्रचलन रही आएको छ ।
काठमाडौं: आईसीसी विश्वकप लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपालले यूएईमाथि रोमाञ्चक जित हात पारेको छ । जितसँगै नेपालले विश्वकप छनोटको गणितीय सम्भावना कायम राखेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सोमबार भएको खेलमा नेपाल घरेलु टोली यूएईलाई ४२ रनले हरायो । जितका लागि नेपालले दिएको दुई सय ३० रनको लक्ष्य पछ्याएको यूएई ४५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ८७ रनमा समेटियो । यूएईका लागि आशिफ खानले सर्वाधिक ८२ रन बनाए । आर्यन लक्राले ५० र भिरितिया अर्भिन्दले १३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा नेपालका सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले तीन-तीन विकेट लिए । आरिफ शेख, करण केसी र सन्दीप लामिछानेले एक-एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय २९ रन बनाएको थियो । नेपालका लागि भीम सार्कीले अर्धसतकीय इनिङ्स खेले । उनले सर्वाधिक ७० रन बनाए । उनले ९९ बलमा सात चौकाको सहयोगमा उक्त रन बनाएका हुन् । भीमको यो एक दिवसीयमा पहिलो अर्धशतक हो । आरिफ शेखले अविजित ४३ रन बनाए । कुशल मल्लले ३२, सन्दीप लामिछानेले २७, करण केसीले १७, प्रतिश जिसीले अविजित ११, ओपनर ज्ञानेन्द्र मल्लले ११ र आशिफ शेखले ६ रन बनाए । बलिङमा यूएईका जुनेद सिद्धिकीले तीन विकेट लिए । आर्यन लाक्रा र रोहन मुस्तफाले दुई(दुई विकेट लिए । कार्तिक मेइयापानले एक विकेट लिए । जितसँगै नेपाल पाँचौं स्थानमा उक्लिएको छ । नेपालले ३२ खेलबाट ३२ अंक बनाएको छ । समान खेलबाट ३१ अंक बनाएको यूएई छैटौं स्थानमा झरेको छ । यसअघि नेपाल छैटौं स्थानमा थियो । यस सिरिजको अर्को टोली पपुवा न्युगिनी (पीएनजी) समान खेलबाट नौ अङ्क जोड्दै तालिकाको अन्तिममा छ । युएईपछि सिरिजका बाँकी खेल नेपालमा हुनेछ । नेपाललाई विश्वकपमा छनोट हुन अबका सबै (चार) खेल जित्नु पर्ने बाध्यता छ । सात टोली सहभागी लिगमा सबै खेल सकेको स्कटल्यान्ड सिरिज च्याम्पियन बन्दै शीर्षस्थानमा छ । यस्तै सबै खेल सकेको ओमान ४४ अङ्कसहित दोस्रो, ३९ अङ्क बनाएको नामिबिया तेस्रो र ३५ अङ्क बनाएको अमेरिका चौथो स्थानमा छ । लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने तीन टोलीले एकदिवसीय विश्वकप खेल्न पाउनेछन् । नेपाललाई एकदिवसीय मान्यता कायम राख्न पनि कम्तीमा पाँचौँ स्थानमा रहनु पर्नेछ ।

