फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

काठमाडौं:    नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति एवम् केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्कालाई तोकिएको छ ।   पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नियमित स्वास्थ्योपचार (फ्लोअप)का लागि सिङ्गापुर प्रस्थान गर्नुभएकाले कांग्रेसको विधानबमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि उहाँलाई पार्टीको कार्यवाहक सभापति तोक्नुभएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालयलाई खारेज नगर्न सरकारलाई निर्देशन दिएको छ ।   समितिको बुधबार बसेको बैठकले आवधिक निर्वाचन स्वतन्त्र, स्वच्छ र निश्पक्ष रुपमा सम्पन्न गराउन निर्वाचन आयोगसँग परामर्श गरी जिल्ला निर्वाचन कार्यालयलाई खारेज गर्ने प्रस्ताव पुनरावलोकन गर्न निर्देशन दिएको हो ।   १५ जेठमा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले चालु खर्च कटौती गर्न २० भन्दा बढी निकाय खारेज गर्ने बताएका थिए। जसमा जिल्ला निर्वाचन कार्यालयहरु खारेज गरी जिल्ला प्रशासन कार्यालयको इकाइको रुपमा राख्ने र निर्वाचन कार्यालयहरु प्रदेशमा मात्र रहने बजेट वक्तव्यको अनुसूचीमा उल्लेख गरिएको थियो।   निर्वाचन आयोगले  जिल्लास्थित आफ्ना संरचना खारेज गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएको थियो । 

दाङ:  प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा हुँदै नयाँ नेकपा बनाउने बताएका छन् ।   नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङले बुधबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै प्रचण्डले समाजवादी क्रान्तिको तयारीका लागि समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताए ।   मोर्चाको दस्तावेजसमेत टुंगो लगाइसकेको जानकारी दिँदै प्रचण्डले भने, ‘हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ । तल्लो तहसम्म समाजवादी मोर्चा बन्छ ।’

काठमाडौं: बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ९ सय र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ ।   आज छापावाल सुनको मूल्य एक लाख ११ हजार ८ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार २५० र चाँदीको मूल्य १४ सय २५ रुपैयाँ तोकिएको छ ।   मंगलबार छापावाल सुन एक लाख १२ हजार ७ सय, तेजावी सुन एक लाख १२ हजार १५० र चाँदीको मूल्य १४ सय ५० रुपैयाँ तोकिएको थियो ।

काठमाण्डौ:  अर्काको नाममा लोकसेवाको परीक्षा दिएको आरोपमा रुपन्देहीबाट दुई जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा सप्तरीको राजबिराज–११ घर भई कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुको सह लेखापाल पदमा कार्यरत ३३ वर्षीय मनोजकुमार शर्मा सुतिहार र त्यहि ठाउँ घर भई जिल्ला हुलाक कार्यालय सप्तरीमा नायब सुब्बा पदमा कार्यरत ३० वर्षीय नारायण यादव रहेका छन् ।   लोकसेवा आयोगले बुटवल केन्द्रमा खरिदार मधेसी पदका लागि २०७७ साल फागुन २९ गते प्रथम र २०७८ साउन ४ गते लिएको परीक्षामा मनोजकुमार शर्मा सुतिहारको नाममा नारायण यादवले परीक्षा दिएको पाइएपछि लिखित सम्बन्धी कसूर मुद्दामा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिएका हुन् ।   अर्काको नामबाट परीक्षा दिएर र दिन लगाएर बेइमानी गरेकाले अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।    

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।   शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा। चन्द्रमणि अधिकारीले विज्ञप्ति निकालेर राष्ट्रपति पौडेले नियमित स्वास्थ्य परीक्षण तथा उपचार गरी २४ घन्टाको अवलोकनमा रहेर डिस्चार्ज भएको जनकारी दिएका छन् । उनले राष्ट्रपति पौडेलेको स्वास्थ्य अवस्था सामान्य रहेको समेत जानकारी पनि गराएका छन् ।

 म्याग्दी:  बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।  सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल मङ्गलबार रातिको बाढीले बगाएको हो । पुल बगाएपछि बेनी–जोमसोम सडकमा सिधा सवारी आवतजावत बन्द भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो ।   बेनीबाट मुस्ताङ जाने र मुस्ताङबाट बेनीतर्फ आउने सवारीसाधन बीच बाटोमै रोकिएका छन् । जेठ ६ गते रातिको बाढीले भुरुङ्ग–तातोपानीमा रहेको तीन मिटर लामो कल्भर्ट पुल भत्काएको थियो । पुल भत्काएपछि ह्युमपाइप राखेर अस्थायीरूपमा खोला वारपार गर्ने संरचना बनाइएको थियो । पुनः बाढी आएर ह्युमपाइप र वरपरको सडक कटान गरेर बगाएको हो । छयात्तरु किलोमिटर दूरीको बेनी–जोमसोम सडक कालीगण्डकी करिडोर सडक आयोजनामार्फत स्तरोन्नतिको क्रममा छ । आयोजनाका सुुपरभाइजर इन्द्रसिंह शेरचनले आज बिहानैदेखि डोजर र मजदुर परिचालन गरेर सडक खुलाउने प्रयास भइरहेको बताउनुभयो ।  

तनहुँ:     तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिकको नालामा बोराभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ ।  मङ्गलबार बिहान चिहानडाँडास्थित सुवर्ण कच्ची सडकको कुनामा रहेको ढलको पानीका लागि बिछ्याइएको ह्युमपाइपमा बोराभित्र फेलापरेकी अन्दाजी २५–३० वर्षीया महिलाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले मृतक महिला व्यास नगरपालिका–१४ छाब्दी निवासी रहेको जानकारी दिनुभयो । उक्त घटनामा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उहाँले भन्नुभयो, “लगभग सनाखत भएको छ, एक जनालाई अनुसन्धान गरिरहेका छौँ । पूरा विवरण आज दिउँसोसम्ममा सार्वजनिक गर्छौँ ।” अनुसन्धान प्रक्रियाका कारण मृतक महिलाको नाम र पक्राउ परेका व्यक्तिको नाम अहिले सार्वजनिक नगरिएको प्रनाउ खाणले बताउनुभयो । बोराभित्र हात बाँधिएको अवस्थामा ती महिला मृतावस्थामा फेला परेकी थिइन् । उक्त बाटो हिडडुल गर्ने स्थानीयवासीले गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए ।

पोखरा:     आर्थिक मन्दीले व्यवसायी पलायन हुने स्थिति आएको भन्दै घरभाडामा छुट दिन घरधनीसमक्ष माग गरिएको छ । पोखरास्थित नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिले घरभाडामा कम्तीमा २५ देखि ५० प्रतिशतसम्म छुट दिनुपर्ने जनाएको हो । समितिद्वारा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष कमलप्रसाद न्यौपानेले घरबहाल कर पनि घरधनी आफैँले तिर्न आग्रह गर्नुभयो । समितिले सम्झौताअनुरुप भाडा वृद्धिको समय आएको भए पनि त्यसलाई पछाडि सार्न माग गरेको छ ।  “घरभाडा बेलैमा तिर्न नसकेका कारण व्यवसायीहरू विस्थापित हुनुपरिरहेको छ”, समितिका अध्यक्ष न्यौपानेले भन्नुभयो, “सङ्कटको अवस्थामा घरधनीले व्यवसायीको मर्का बुझिदिनुस् भन्ने हाम्रो माग हो ।” कोभिड–१९ ले थलिएको व्यवसाय क्षेत्र पछिल्लो आर्थिक सङ्कटका कारण झन्झ्न मारमा परेको उहाँले बताउनुभयो । आर्थिक मन्दीका कारण १५ देखि २० प्रतिशतसम्म व्यवसायी पलायन भएको अनुमान समितिको छ ।  अधिकांशले भाडा तिर्न नसकेर व्यवसायबाट हात धुनुपरेको बताउने गरेको समितिका प्रथम उपाध्यक्ष उमापति ढकालले बताउनुभयो । उहाँले व्यवसायीहरू विषम परिस्थितिबाट गुज्रिरहेकाले घरभाडा वृद्धि नगर्न र बढेको भाडादर मिनाहा गरिदिन माग गरिएको बताउनुभयो ।  समयमा घरभाडा नतिर्ने व्यवसायीलाई घर खाली गर्न बाध्य नपार्नसमेत समितिले अनुरोध गरेको छ । “यस्तो बेला घरधनीले राहतको प्याकेज ल्याउन जरुरी छ, आखिर व्यवसायी र घरधनी भनेको एकअर्काका सहयोगी पनि त हुन्”, उहाँले भन्नुभयो