पोखरा:  रोजगारीको शिलसिलामा कोरियामा रहेका नेपालीले पोखराका दुई विद्यालयलाई सहयोग गरेका छन्। कोरियामा रोजगारीसँगै त्यहाँका सरकारी निकायमा कार्यरत व्यक्तिसँग समन्वय गरी संकलन गरेको रकमबाट पोखरा १...

इलाममा एक किशोरीको शव गाडिएको अवस्थामा फेला परेको छ ।   फाकफोकथुम गाउँपालिका– ३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेलको शव उनी हराएको १५ दिनपछि फेला परेको हो ।    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार कट्टेलको शव फाकफोकथुम गाउँपालिकाको गोलाइ भन्ने स्थानमा आज फेला परेको हो । शव उत्खनन गर्ने कार्य भइरहेको उनले बताए ।    शव उत्खनन गरेपछि कानुनी प्रक्रिया पूरा गरेर अनुसन्धान अघि बढाइने सूचना अधिकारी राईले बताए।   प्रहरीले उनका श्रीमान् उमेश गिरीलाई नियन्त्रणमा लिएको छ ।     देउमाई नगरपालिका जितपुर माइत भएकी कट्टेल यही चैत १ गतेदेखि बेपत्ता थिइन् । हराएपछि उनका ससुरा कृष्णलाल गिरीले प्रहरीमा उजुरी दिएका थिए । 

मुस्ताङ:   उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पाँच शय्याको आधारभूत अस्पताल भवन निर्माण गरिएको छ ।    संघीय सरकारको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत लोमान्थाङ गाउँपालिकाको सहलगानीमा साढे दुईतले आधारभूत स्वास्थ्य सेवा भवन निर्माण गरिएको हो।   उपल्लो मुस्ताङका नागरिकलाई स्वास्थ्य सेवा पुर्‍याउने गरी आर्थिक वर्ष २०७८/७९ मा पूर्वाधार निर्माणको ठेक्का सम्झौता गरिएको थियो ।     सम्झौता अवधि दुई वर्ष रहेको लोमान्थाङस्थित आधारभूत स्वास्थ्य सेवा पूर्वाधार निर्माण चल्दै गर्दा कोरोना माहामारी र प्रतिकूल मौसमलगायतका कारण तोकिएको समय सम्पन्न हुन सकेको थिएन ।   ठेक्का सम्झौताअनुसार उक्त भवन आव २०८०/८१ जेठमा सकिनुपर्ने थियो।   लोमान्थाङ–५ लोमान्थाङ बजार नजिक २७ कोठे भवन निर्माण गरिएको हो ।     उक्त भवन सात करोड १९ लाखको लागतमा निर्माण सम्पन्न गरिएको गाउँपालिकाका निमित्त कार्यालय प्रमुख विकास केसीले जानकारी दिए। विशेषज्ञ चिकित्सकसहितको सेवा प्रवाह गर्ने उद्देश्यले शल्यक्रिया कक्ष, एक्सरे कक्ष, ल्याब कक्ष, प्रसूति कक्ष, फार्मेसी कक्षलगायत चिकित्सक तथा स्वास्थ्यकर्मी बस्ने आवास निर्माण गरिएको उनले जानकारी दिए।   लोमान्थाङका अध्यक्ष टसीनर्बु गुरुङले उपल्लो मुस्ताङका नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको सुविधा पु¥याउन भवन निर्माण गरिएको बताए। भवन बनेपनि सेवा सञ्चालन गर्न उपकरण र जनशक्ति अभाव भएको उनको भनाइ छ ।   'सेवा सञ्चालन गर्न संघीय तथा प्रदेश सरकारको सहयोगको आवश्यकता छ,' उनले भने।

म्याग्दी:   म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र बसन्त ऋतुको आगमनसँगै फुलेका लालीगुराँसले सिंगारिएको छ ।    घोडेपानी क्षेत्रमा लालीगुराँस फुलेपछि मनमोहक बनेको छ । विशेषगरी चैत–बैशाखमा गुराँस फुल्ने भएकाले यतिबेला पर्यटकीय गतिविधिसमेत बढेको छ ।   पाखोमा फुलेका गुराँसको जङ्गलको पृष्ठभूमिमा धवलागिरी, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रेलगायत १६ भन्दा बढी हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ ।    नेपालमा ३२ प्रजातिका लालीगुराँस पाइन्छन् भने स्थानीयका अनुसार घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइन्छ ।    अहिले लालीगुराँससँग पिरती साट्न जाने पर्यटकको सँख्या ह्वाट्टै बढेको छ । घोडेपानी म्याग्दी र कास्कीको विरेठाटी हुँदै जान सकिन्छ ।    तस्बिरहरू:-                      

रूपन्देही:   रूपन्देहीमा एक प्रहरी नायब निरीक्षक (सइ)लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ३० हजार घुस रकमसहित पक्राउ गरेको छ । रूपन्देहीको हाटीबनगाई (दुर्गौलिया) प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर खड्कालाई रु ३० हजार घुसको रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जनाएको छ ।  बिहीबार दिउँसो भन्सार छली र चोरी तस्करी गर्न सहजीकरण गरीदिने भन्दै घुस रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले प्रहरी नायब निरीक्षक खड्कालाई पक्राउ गरेको अख्तियारको बुटवल कार्यालय प्रमुख बिनिता भट्टराईले जानकारी दिनुभयो ।   कार्यालय प्रमुख भट्टराईका अनुसार, रुपन्देहीको मर्चवार क्षेत्रस्थित मायादेवी गाउँपालिका–६ मकरीचोकबाट घुस रकमसहित पक्राउ परेका प्रनानि खड्कालाई घुस प्रकरणमा आवश्यक कारबाहीका लागि थप अनुसन्धान भइरहेको छ ।” पक्राउ परेका खड्का हाटीबनगाई ९दुर्गौलिया० प्रहरी चौकीका प्रमुख हुन् । 

पोखरा:  नेपाल सुनचाँदी व्यवसायी महासंघको १२ औं वार्षिक साधारण पोखरामा हुने भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पोखरामा पत्रकार सम्मेलन गर्दै साधारण सभा पोखरामा हुन लागेको जानकारी दिएको हो ।  चैत १६ गते पोखरामा हुने १२ औं वार्षिक साधारणमा सभामा ७ सय बढी प्रतिनिधिहरुको सहभागिता रहने महासंघका केन्द्रिय अध्यक्ष अर्जुन रसाइलीले बताए ।  साधारणसभाको उद्घाटन नेपाल सरकारका सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नेछन् । साधारण सभामा सुनचाँदी व्यवसायलाई मर्यादित , प्रतिष्पर्धी, गुणस्तरयुक्त, पारदर्शी र दिगो बनाउने उद्धेश्यले विभिन्न एजेण्डाहरुलाई समेटेर पोखरा घोषणापत्र समेत सार्वजनिक गर्ने अध्यक्ष रसाइलीले बताए ।   

पोखरा:   ६८ औं राष्ट्रिय दिवस कास्कीमा पनि विविध कार्यक्रमसहित मनाइने भएको छ । जिल्ला सहकारी संघ कास्कीको आयोजनामा भोलिदेखि विविध कार्यक्रम गरेर ६८ औं राष्ट्रिय सहकारी दिवस मनाउन लागिएको हो ।  जिल्ला सहकारी संघ कास्कीका महासचिव दिपक प्रकाश आचार्यले राष्ट्रिय सहकारी दिवसको अवसरमा अन्तर सहकारी स्तरीय बुद्धिचालदेखि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताए । ‘६८ औं राष्ट्रिय सहकारी दिवस (मर्यादित सहकारीः समुन्नत समाज) भन्ने नारासहित मनाउँदै छौं’, महासचिव आचार्यले भने, ‘जिल्ला सहकारी संघ कास्कीले विविध प्रतियोगितादेखि अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरेर मनाउँदै छौं ।’ उनका अनुसार राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित अन्तर सहकारीस्तरीय बुद्धिचाल प्रतियोगितामा ३० प्रतियोगीको सहभागिता रहेको छ । यस्तै सहकारी दिवसमो अवसरमा अन्तर विद्यालयस्तरीय निबन्ध प्रतियोगिता समेत आयोजना गरिएको छ । ‘आजको सहकारी उत्पादनमा साझेदारी’ र मर्यादित सहकारीः समुन्नत समाज’ शिर्षकमा विद्यालयस्तरीय निबन्ध प्रतियोगिता सञ्चालन हुनेछ ।  सहकारी दिवसको अवसरमा साइकल ¥याली, रक्तदान, सरसफाई, अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिएको छ । सहकारी दिवसको दिन चैत २० गतेको साँझ दिप पञ्वलन समेत आयोजना गरिएको छ। जिल्ला सहकारी संघ कास्कीका पूर्वअध्यक्ष एवं पोखरा महानगर सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले यो बेला सहकारी क्षेत्रमा देखिएको निरासा समाधान गर्न दिवस सफल हुने अपेक्षा राखे । जिल्ला सहकारी संघ कास्कीमा ४ सय ४१ वटा सहकारी आवद्ध छन् । संघमा आवद्ध ४ वटा सहकारी समस्या ग्रष्ट सूचीमा रहेको जनाइएको छ । 

पोखरामा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराको आयोजनामा आज (बिहीबार) देखि  ‘वाडा अटो शो २०२५’ सुरु भएको छ ।   अमरसिंहचौरमा आजदेखि सुरु भएको ‘वाडा अटो शो’ आगामी १७ गतेसम्म सञ्चालन हुनेछ ।    उक्त ‘शो’मा विभिन्न १९ वटा ब्राण्डका ४–पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्शियल, ७ वटा ब्राण्डका २–पाङ्ग्रे लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एशोसेरिजहरू तथा वित्तीय संस्थाहरूका २० वटा स्टलहरू रहेका छन् ।    थप तस्बिरमा ‘वाडा अटो शो’:-                                

गोरखा:   उत्तरी गोरखास्थित मनासलु पदयात्रामा पर्यटकलाई पथप्रदर्शन गर्न आएका पथप्रदर्शकको मृत्यु भएको छ । सोताङ गाउँपालिका–४ सोलुखुम्बुका ५४ वर्षीय पथप्रदर्शक सार्की शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।       शेर्पाको विकट मानिने धार्चे गाउँपालिका–३ खोर्लाबेँसीस्थित खोला किनारमा आज बिहान हिँड्ने क्रममा अचानक ढलेर घाइते हुनुभएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।       “शेर्पा आइएनएफओ नेपाल ट्रेकिङ एजेन्सीमार्फत अमेरिकी नागरिकको पथप्रदर्शकका रूपमा यहाँ आएका रहेछन्”, उहाँले भन्नुभयो, “हिँड्ने क्रममा अचानक ढल्दा टाउकोमा गहिरो चोट लागेपछि उपचारका लागि धार्चे आधारभूत अस्पताल लगिएको थियो ।”       प्रनाउ सुवेदीका अनुसार शेर्पाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

तनहुँ:  मार्ग खुलेको २४ वर्षपछि स्तरोन्नति थालिएको जिल्लाको दुलेगौँडा-हर्कपुर खण्डमा हालसम्म ४१ प्रतिशत भौतिक प्रगति भएको छ ।  गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्रः एक रणनीतिक सडक’ अन्तर्गत तनहुँको दुलेगौँडा-हर्कपुर खण्डमा स्तरोन्नति थालिएको हो ।      लामो समयदेखि काम हुन नसकेको उक्त खण्डमा अहिले निर्माण कम्पनीका प्रतिनिधिले काम सुरु गरेका छन् । शुक्लागण्डकी नगरपालिकाको दुलेगौँडाबाट म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिका जोडिने उक्त सडकमा विसं २०७६ मङ्सिरदेखि काम सुरु गरिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।       कार्यालयका प्रमुख रवीन्द्र तिवारीका अनुसार विसं २०५२ मा ट्रयाक खोलिएको दुलेगौँडा-हर्कपुर खण्डको १० दशमलव १८ किलोमिटर कालोपत्रका लागि विसं २०७६ कात्तिक ४ गते सम्झौता भई २०७६ साल मङ्सिर २४ गते शिलान्यास गरिएको थियो ।      विसं २०७८ माघ १० गतेभित्र सम्पन्न हुनुपर्ने सडकमा पटकपटक म्याद थप गरिएको छ ।  यो सडकको म्याद आगामी असारसम्म रहेको छ । उक्त खण्ड कालोपत्रका लागि एमएस शङ्करमाली निर्माण सेवाले रु २५ करोड १० लाख ६० हजारमा ठेक्का पाएको थियो ।      शुक्लागण्डकी नगरपालिकाको पहलमा निर्माण कम्पनीका प्रतिनिधि श्याम लामासहितको टोली अहिले सडक स्तरोन्नतिका लागि कार्यक्षेत्रमा खटिएको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो । तत्कालका लागि पाँच किमी कालोपत्र गर्न दबाब दिएपछि निर्माण कम्पनी अहिले कार्यक्षेत्रमा खटिएर काम अघि बढाएको उहाँले बताउनुभयो ।       शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने उक्त खण्डको दूरी २३ किलोमिटर छ । पहिलो चरणमा १० किमी सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो । ट्रयाक खुलेको २४ वर्षपछि स्तरोन्नति सुरु हुँदा स्थानीयवासी खुसी भएकामा कामले गति नलिँदा निराश भएका छन् ।       दुलेगौँडा–हर्कपुर मोटरमार्ग उपभोक्ता समितिका पूर्वअध्यक्ष देउबहादुर श्रेष्ठले यस क्षेत्रको पुरानो सडक समयमा सम्पन्न नहुँदा स्थानीय र यात्रुले सास्ती पाएका बताउनुभयो । उहाँले यथाशीघ्र सडक स्तरोन्नति गरी यात्रा सहज बनाउनुपर्नेमा जोड दिनुभयो ।