अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ।   संघीय उड्डयन प्रशासन (एफएए) ले...

गलकोट:   बागलुङ नगर खानेपानी तथा उपभोक्ता समितिले आम उपभोक्तालाई लिफ्टमार्फत पानी वितरण गर्दा मासिक रु पाँच लाख विद्युत् महसुल तिर्दै आएको छ ।  अधूरो लिफ्ट आयोजनाबाट खानेपानीको सङ्कट टार्नका लागि पानी तान्दै आएको समितिले विद्युत् महसुलमा वार्षिक रु ६० लाख खर्चँदै आए पनि महसुल छुट सुविधाबाट वञ्चित भएको छ । आयोजना सम्पन्न नहुँदा गण्डकी प्रदेशले छुट दिने विद्युत् महसुुलको लाभ लिन नसक्दा लाखौँ नोक्सानी व्यहोर्दै आएको बागलुङ नगरखानेपानी तथा उपभोक्ता संस्थाले जनाएको छ ।  निर्माण व्यवसायीले आयोजना सकेर हस्तान्तरण नगर्दा विद्युत् छुटको सम्झौता गर्न नसक्दा सङ्घीय र प्रदेशले प्रदान गर्ने महसुल छुटमा जान नसकिएको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाका कार्यबाहक अध्यक्ष हरिबहादुर जिसीले जानकारी दिनुभयो ।  दुई वर्षमा सक्नेगरी २०७५ साल असार ३१ गते सम्झौता गरिएको बागलुङ नगर बृहत् खानेपानी लिफ्ट आयोजनाको ९५ प्रतिशत काम भए पनि खानेपानीलाई नयाँ संरचनाबाट वितरण गर्न अझै बाँकी छ ।  कन्काई जयमाता जेभीले २०७७ सालमा निर्माण सक्नेगरी रु ३० करोड २६ लाख ५१ हजार लागतमा ठेक्का सम्झौता भएको थियो । पछि आयोजनाको लागत रु चार करोड थपिए पनि निर्माण व्यवसायीले आयोजनालाई सम्पन्न गर्नतर्फ ध्यान नदिँदा लाखौँको विद्युत् महसुल भुक्तानी गर्न नगर खानेपानी बाध्य भएको जिसीको भनाइ छ । “गण्डकी प्रदेशको खानेपानी विद्युत् महसुल र सङ्घीय खानेपानीले समेत विद्युत् महसुलमा छुट दिने योजना ल्याएको छ, मासिक रु पाँच लाख महसुलमा केही छुट भए राहत मिल्ने थियो”, जिसीले भन्नुभयो, “निर्माण व्यवसायीले ९५ प्रतिशत काम सके पनि रातामाटामा निर्माण गरिएको सात लाख लिटरको खानेपानी ट्याङ्कीमा पानी पुर्याइएको छैन, संस्थाले अस्थायी रूपमा लिफ्टको पानी पुरानै ट्याङ्कीमा राखेर वितरण गरिरहेका छौँ ।” गण्डकी प्रदेश सरकारले लिफ्ट खानेपानी आयोजना विद्युत् महसुल अनुदान कार्यविधि, २०७९ अनुसार आयोजनाको विद्युत् बागलुङ नगर खानेपानी तथा  उपभोक्ता समितिले २५ प्रतिशत रकम छुट पाउने व्यवस्था छ । निर्माण व्यवसायीले काम सम्पन्न नगर्दा नगर खानेपानीले वार्षिक क्षति व्यहोर्दै आएको जिसीको भनाइ छ ।  वार्षिक ६० लाख विद्युत् महसुल तिर्दै आएको नगर खानेपानीले वार्षिक रु १५ लाख छुट पाउँदा राहत मिल्ने जिसीको भनाइ छ ।  बागलुङ बजारमा खानेपानीको चरम सङ्कट भएपछि आयोजना अन्तिम चरणमा रहँदै २०८१ साल जेठबाट दुईवटा मोटरबाट खानेपानी तानेर लोकमार्ग नजिकैको पुरानो ट्याङ्कीमार्फत वितरण गरिँदै आइएको छ ।  ठूलो लिफ्ट आयोजनामा सङ्घीय सरकारले पनि महसुल छुट दिने योजना ल्याएको छ ।आयोजनाको निर्माण व्यवसायीले निर्माण सम्पन्न गरे पनि लोकमार्गभन्दा माथि मिर्नाण गरेको नयाँ सात लाख लिटरका दुईवटा सङ्कलन ट्याङ्कीमा पानी खसाल्ने र गौडाकोट र रमेटार क्षेत्रमा वितरण गर्न बाँकी छ ।  बागलुङ नगरपालिका–३ स्थित काठेखोलाको पानी कैलामपोखरीबाट २५० मिटरमाथि रातामाटामा पुर्याउने गरी आयोजना अन्तिम चरणमा पुगे पनि सम्पन्न नहुँदा विद्युत् महसुलको भार नगर खानेपानीलाई परेको छ । खानेपानीको परीक्षण नै असफल भएपछि खानेपानीको पाइप नै खानेपानी तथा ढल व्यवस्थापन विभागले परिवर्तन गरेको थियो । निर्माण व्यवसायी कृष्णहरि चौलागाईँले आयोजना सम्पन्नमा ढिलाइ भएको स्वीकार गर्नुभयो ।  उहाँले आयोजनास्थल भौगोलिक रूपमा कमजोर भएको, पहिरो व्यवस्थापमा ढिलाइ भएको, कोरोना त्रास, आर्थिक सङ्कट र पाइपलाइन डिजाइनको समस्या सुल्झाउनेलगायत कारण सम्पन्नतामा ढिलाइ भएको बताउनुभयो । लिफ्ट आयोजनाले बागलुङ बजारमुनि रहेको काठेखोलाको पानी लिफ्टमार्फत रातमाटामा तानेर शुद्धीकरण गरेर वितरण गर्नेगरी निर्माण भएको थियो ।

काठमाडौं:  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन क्रमशः कमजोर हुँदै गएको बताएको छ । बिहीबार  दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थान र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली र अन्य भागमा आंशिक बदली रहनेछ । गण्डकी प्रदेशका पहाडी तथा तराईलगायत वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । महाशाखाले  वर्षाका कारण देशका पहाडी भागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध पनि गरेको छ । 

काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय, मन्त्री र मुख्यसचिवहरुबीच आज कार्यसम्पादन सम्झौता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै आगामी कार्यक्रमको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान भएको हो । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न थालिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका लागि तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौताको अभ्यास प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ गरिएको हो । प्रधानमन्त्रीसँग मन्त्रीहरुले कार्यसम्पादन सम्झौता गरेपछि मन्त्रीहरुले सम्बन्धित सचिवहरुसँग कार्यसम्पादन सम्झौता गर्नुपर्नेछ ।।

पोखरा: पोखरामा मेट्रो गुप्र प्रालिको शुभारम्भ गरिएको छ । छिमेकी मुलुक चीन तथा थाइल्याण्ड र बंगलादेश लगायतका मुलुकहरुबाट ‘लेडिज एण्ड जेन्ट्स’को अन्डर गार्मेन्ट्सका सम्पूर्ण सामग्रीहरु आयात गरेर पोखरामा होलसेल बिक्री वितरण गर्ने उद्धेश्यले मेट्रो ग्रुपको स्थापना गरिएको हो ।  पोखरा महानगरपालिका–४ पन्थीगल्लीमा खुलेको मेट्रो ग्रुपको आज पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले उद्घाटन गर्नुभयो । पोखराका व्यवसायिक क्षेत्रमा स्थापित १७ जना व्यवसायी मिलेर ग्रुपको स्थापना गरेका हुन् ।  गु्रपको स्थापनासँगै छिमेकी मुलुक चीनबाट पोखरामा सिधै सामानहरु आयात गर्ने र काठमाडौँको परनिर्भरता हट्ने मेट्रो ग्रुपका अध्यक्ष यादवराज पोखरेलले बताउनुभयो । उहाँले एकल व्यवसायमा स्थापित व्यवसायीले खोलेको संस्था भएकाले मेट्रो ग्रुपको साझेदारी व्यवसाय समेत सफल हुने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष पोखरेलले भन्नुभयो,“चीनबाट सिधै पोखरामा अन्डर गार्मेन्ट्सका सम्पूर्ण सामग्रीहरु उपलव्ध गराउने कम्पनीको उद्धेश्य छ । चीनमा उत्पादक कम्पनीसँग जोडिने भएकाले काठमाडौँको तुलनामा यहाँ ल्याउँदा लागत समेत सस्तो पर्छ। साझेदारी व्यवसायमा चूनौती रहेपनि, एकल व्यवसायममा भन्दा कम जोखिम रहेकाले नाफा पनि आर्जन गर्ने र राज्यलाई समेत राजश्व तिर्ने योजना छ ।” मेट्रो ग्रुपका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक नवराज त्रिपाठीले एक वर्षअघिको अवधारणा अहिले साकार भएको बताउँदै कम्पनीले अहिले चीनबाट सिधै सामान आयात सुरु गरेको बताउनुभयो । सुरुआतमा शेयरसदस्यहरुबीच सामान खपत भइरहेको र सदस्य भन्दा बाहिर जान सकेको खण्डमा सम्भावना धेरै राम्रो रहेको बताउनुभयो ।  “निकट भविष्यमा पोखरामा आँफै उत्पादन गर्ने वा चीनबाट आफ्नै ब्राण्डमा ल्याउने योजना छ । संस्थाका सवै सदस्यहरु व्यवसायिक क्षेत्रमा उत्कृष्टता हासिल गरेका व्यक्ति भएकाले यो सामुहिक व्यवसाय सफल हुने विश्वासमा छौँ ।” त्रिपाठीले भन्नुभयो । त्रिपाठीले कम लागतमा उच्च गुणस्तरका आयतित सामग्रहीहरु यहाँका व्यापारीहरुलाई बिक्री गर्ने योजना सुनाउनुभयो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले भूकम्पछि मन्दीमा गएको व्यवसाय कसरी माथि उठाउने भन्ने चूनौती रहेको बताउनुभयो ।  कार्कीले व्यवसाय चलायमान नभएको अहिलेको अवस्थामा मेट्रो ग्रुपका लागि अवसर समेत बन्न सक्ने बताउनुभयो । “बैँक तथा वित्तिय संस्थाको व्याजदर न्यून भएपनि अहिले कर्जाको माग छैन, व्यापार व्यवसाथ मन्दीमा छन् । मन्दीमा रहेको व्यवसाय चलायमान बनाउनु अहिलेको आवश्यकता हो ।” कार्कीले भन्नुभयो । पोखरा महानगरपालिका वडा नं ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले महेन्द्रपुल तथा चिप्लेढुुँगा क्षेत्रको फुटपाथको समस्या समाधान गरिएको बताउँदै व्यवसायीमा उत्साह जगाउनका लागि स्थानीय सरकारले काम गरिरहेको बताउनुभयो । पोखरा उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष पवनकुमार प्रजापतिले व्यावसायिक चूनौतीको अवस्थामा मेट्रो ग्रुपले सहुलियत र सहज रुपमा व्यवसाय सञ्चालन गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।  पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष उमराज बास्तोलाले उत्पादनमा जोडिने ग्रुपको योजना राम्रो रहेको बताउनुभयो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ वस्तुगत संघका संयोजक पृथ्वीराज तिमिल्सिना, उद्योग व्यवसायी महासंघ गण्डकीका अध्यक्ष बबरजंग गुरुङ, कपडा व्यवसायी एशोसिएसन कास्कीका अध्यक्ष लेखनाथ पौडेल, ग्रुपका सचिव लेखनाथ सुवेदी, संस्थाका शेयर सदस्य अर्जन पोखरेल लगायतले व्यवसायी निराश भएको अवस्थामा ग्रुपले पोखरा तथा गण्डकी क्षेत्रभर आशाको दियो बाल्न सफल हुने विश्वास व्यक्त गर्नुभएको थियो ।   

पोखरा:   सामाजिक कथावस्तुमा आधारित भारतीय फिल्म ‘मिलियन भ्युज’ को टिमले विहीबार पोखरामा पत्रकारहरूसँग भेटघाट गरेको छ। सेप्टेम्बर १२, २०२५ मा नेपालमा रिलिज हुन लागेको यो सिनेमा नेपालका सबै हलमा एकसाथ प्रदर्शन हुने बताइएको छ। पोखराको पत्रकार भेटमा श्रीकृष्ण हलका सञ्चालक तथा वितरक केदार पराजुली मिलियन भ्यूज सामाजिक कथावस्तुमा आधारित फिल्म भएको उल्लेख गरे ।  कथा प्रभावकारी भएकाले नेपालका दर्शकलाई मन पर्ने विश्वास उनको छ । भारत पुगेर आफुले उक्त सिनेमा हेरेको र कथावस्तु राम्रो लागेर नै नैपालमा रिलिजको तयारी गरिएको जानकारी उनले गराए । फिल्मका विश्वव्यापी वितरक विकास कुमार सिंह राजपूतले सिनेमा साइकोलोजिकल थ्रिलर भएको उल्लेख गरे । ब्ल्याक वेबको भयावह गहिराइमा आधारित भारतीय थ्रिलर ‘मिलियन भ्युज’ ले २५ वर्षीया दृढ इच्छाशक्ति र आत्मसम्मान बोकेकी युवतीको जीवन–मरणको संघर्षलाई पर्दामा उतारेको भनाई उनको छ । ‘मिलियन भ्युज’ मा युवतीको आत्मसम्मानको विषयलाई प्रभावकारी रुपमा उठाइएको छ ।  ९० मिनेटभित्र १० लाख भ्युज हासिल गर्न वा आफ्नी साथीको ज्यान गुमाउनुपर्ने कठोर अल्टिमेटमको विषयलाई आत्मसम्मान जोगाउने संकल्पसँग सिनेमामा जोडिएको उनले जानकारी गराए । ब्ल्याक वेब र डिजिटल अपराधको पृष्ठभूमिमा बनेको थ्रिलर सिनेमाले मानव सहनशीलताको सीमा, व्यक्तिगत सम्मानको मूल्य र अनलाइन संसारमा लुकेको अँध्यारो सत्यलाई उजागर गर्ने उनले उल्लेख गरे । वितरक विकास कुमार सिंहका अनुसार करिब १२ करोड रुपैयाँको लागतमा निर्माण भएको यस फिल्मलाई नेपालमा सयभन्दा बढी हलमा रिलिज गर्ने तयारी छ । काठमाडौंमा विशेष शोको योजना पनि गरिएको छ । फिल्म सेन्सर प्रक्रियामा रहेको र नेपालमा मल्टिप्लेक्स तथा सिंगल थिएटर दुवैमा प्रदर्शन हुने उनले जानकारी दिए। नालापानीका निर्देशक रिनेश अधिकारीले फिल्मको कथावस्तु नेपाल र भारत दुवैको सामाजिक पृष्ठभूमिसँग मेल खाने बताए । थ्रिएटर कलाकार सिद्धी जेसवालको मुख्य भूमिका रहेको ‘मिलियन भ्युज’ आउटपुट मिडियाको ब्यानरमा निर्माण भएको हो । लेखक, निर्देशक तथा निर्माता अंशुल सिन्हा हुन्। सिनेमाटोग्राफर कृष्णा गोली, कला निर्देशक नानी, मेकअपमा लीला, पोशाक डिजाइनमा एमडी रहमान, पोस्टर डिजाइनमा कुनाल र सेट तथा प्रोप डिजाइनमा एमडी तौसीफ छन्। फिल्म केवल थ्रिलर मात्र नभई डिजिटल संस्कृतिमा फैलिँदो मानव शोषण, नैतिक पतन र व्यक्तिगत सम्मानको मूल्यबारे गहिरो प्रश्न उठाउने सामाजिक टिप्पणीका रूपमा प्रस्तुत भएको दाबी गरिएको छ । 

पोखरा:   कास्कीको माछापुच्छ«े गाउँपालिका–७ धम्पुस सत्लेमा भदौ ९ देखि ११ गतेसम्म हरितालिका तीज मेला हुने भएको छ ।   हिमशिखर युवा क्लब धम्पुसले ९ औं हरितालिका तीज मेला तथा विविध सांस्कृतिक कार्यक्रमहरु आयोजनबा गरेको हो ।  ‘विकासका लागि युवा’ भन्ने मूल मन्त्रका साथ स्थापित क्लबले स्थापना कालदेखि नै खेलकुद, पर्यटन, संस्कृति र सामाजिक चेतनामूलक गतिविधिहरू सञ्चालन गर्दैै आएको छ ।  यो वर्षको तीज मेला, अघिल्ला वर्षहरूभन्दा झन भव्य, व्यवस्थित र समावेशी हुने आयोजक भनाइ छ ।  आयोजकका अनुसार मेलामा स्थानीय भलिबल खेलाडीहरूको भिडन्तदेखि लिएर, नाचगान, लोक गीत र झाँकीहरु प्रस्तुत हुनेछन् ।  मेलाको आकर्षणका रुपमा महिला भलिबल, पुरुष भलिबल, रस्सी तान्ने, ठेलो हान्ने, एकल र सामूहिक नृत्यजस्ता प्रतिस्पर्धात्मक कार्यक्रमहरू रहेको क्लवका सचिव अनिल सुनारले जानकारी दिए ।  ‘मेलालाई थप आर्कषण गर्नको लागि मञ्चलाई ग्रामीण संस्कृति र सौन्दर्यले सजाइनेछ, जहाँ धम्पुसको लोकसंस्कृति, हस्तकला, कृषि उत्पादन र कला–साहित्यले विशेष स्थान पाउनेछ । यो मेलाले केवल मनोरञ्जन मात्र होइन, समुदायको आर्थिक गतिशीलता र सामाजिक समावेशितामा समेत महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ,’ उनले भने । उनले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।   

काठमाडौंः  जिल्ला प्रहरी परिसर काठमाडौंमा बैंकिङ कसुरका मुद्दाको चाङ लागेको छ । परिसर  प्रमुख विश्व अधिकारीका अनुसार बितेको एक वर्षमा दर्भएका १२ हजार ९१५ मुद्दामा छ हजार ५५३ मुद्दा बैंकिङ कसुरका छन् । सहकारी ठगी, अनुचित लेनदेन, विद्युतीय कसुर, साइबर अपराध र अभौतिक मुद्रासम्बन्धी अपराधका घटना बढेका छन् ।   परिसरमा दैनिक ३५ मुद्दा दर्ता हुने गरेका छन् ।  आव २०८०/८१ मा सहकारी ठगीका २६ मुद्दा दर्ता भएकामा आव २०८१/८२ मा ३२ मुद्दा परेका छन् । परिसरमा ज्यानमार्ने उद्योगका १४० मुद्दा दर्ता भएका प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

गलकोट:  बागलुङको काठेखोला गाउँपालिका–७ रेश गाउँका गुमबहादुर घर्ती र उहाँकी श्रीमती देवी तथा अमरबहादुर थापाले गाउँका खेत बाँझिन थालेपछि ठेक्कामा रोपाइँ गर्न थाल्नुभएको छ ।  गाउँको एक हजार ५०० रोपनी रोपाइँयोग्य खेत बाँझिने क्रम बढेपछि प्रतिरोपनी रु तीन हजार २६६ मा ठेक्का लिएर उहाँहरूले रोपाइँको  चाजोपाजो मिलाउनुभएको हो । खेतालो खोज्नेदेखि ब्याडबाट बिउ ल्याउनेलगायत सबै कामको व्यवस्था उहाँहरूले गरिदिनुहुन्छ, तर त्यसबापत अग्रिम रुपमा रकम उपब्ध गराउनुपर्छ ।  घर्ती दम्पतीले गत असारमा १८९ रोपनीमा रोपाइँ गरेर रु छ लाख १७ हजार ४०० आर्जन मात्र गर्नुभएन १० जनालाई रोजगारी पनि दिनुभयो ।  किसान अमरबहादुरले पनि सोही महिना १८६ रोपनी खेत रोपेर रु छ लाख सात हजार ६०० कमाउनुभयो । उहाँले पनि १० जना खेतालालाई एक महिना रोजगारीको व्यवस्था गर्नुभयो ।  नयाँ अवधारणाका साथ बाझा खेत हरियालीमा परिणत भएपछि वडा कार्यालयले उहाँहरूलाई सम्मान गरेको छ । साथै खनजोत गर्न उहाँहरूलाई वडाले एउटा मिनी टिलर उपहार दिने घोषणा गरेको छ ।  बुधबार वडा कार्यालयमा पौरखी किसानलाई सम्मान गर्दै वडाध्यक्ष प्रेम लामिछानेले भन्नुभयो, “प्याकेजमा खेत रोप्ने योजना अनुकरणीय छ । जग्गाधनीले खेताला खोज्ने, उनीहरूलाई खाना, पानी, गोरु, ट्याक्टरको व्यवस्थाको झन्झट परेन । रकम भुक्तानी भए खेत रोपियो ।”

नुवाकोट:  त्रिशूली नदीले पक्कि सडक कटान गरेपछि त्रिदेशिय सडक मार्ग अवरुद्ध भएको छ । कपितपय स्थानमा वस्ती नै जोखिममा परेका छन् । त्रिदेशिय सडक मार्ग अन्तर्गत विदुर–वेत्रावति–किस्पाङ–मैलुङ–रसुवागढी सडकको बीचमा त्रिशूली नदीले पक्कि सडक नै कटान गरेपछि बुधवारदेखि आवतजावत नै ठप्प भएको छ । उक्त सडकमार्गको विदुर–वेत्रावति–किस्पाङको वचिमा त्रिशूली नदीले एकसय मिटर पक्कि सडक नै कटान गरेको छ । उक्त स्थानमा सडक कटान भएपछि त्रिदेशीय सडकमार्ग अवरुद्ध हुँदा रसुवा तथा नुवाकोटको किस्पाङ, शान्तिबजार जाने बाटो ठप्प भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । त्रिशूली नदीले कटान गर्दा उक्त स्थान आसपासका वस्ती तथा उत्तरगया गाउँपालिका कार्यालयसमेत प्रभावित हुन पुगेको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, रसुवाका प्रजिअ अर्जुन पौडेललगायका सुरक्षाकर्मीसहित उत्तरगया गापाका अध्यक्ष माधव अर्यालको अध्यक्षतामा बुधवार बसेको आकस्मिक वैठकले तत्काल सडकको मर्मत तथा पुर्ननिर्माण गरि यातायात सुचारु गर्नुपर्ने र नदीबाट थप कटान हुनवाट रोक्नुपर्ने निर्णय गरेको छ । कटान र जोखिम नियन्त्रण गर्न जाली भरेर तटवन्ध निर्माण गरिने निर्णय भएको छ । छिमेकी चीनको तिव्वतस्थित लेन्देखोला हुँदै त्रिशूली नदीमा आएको अकल्पनिय बाढीले गत असार २४ र यहि साउन १४ गते नुवाकोट र रसुवाका विभिन्न स्थानमा क्षति गरेको थियो । उत्तरगया गापा(५ नौबिसेमा बस्तीनै जोखिम परेको छ । बेत्रावती पेट्रोल पम्प नजिकै त्रिशूल नदीले कटान गर्दै गरेको ठूलो क्षतिको सम्वन्धमा सरोकारवाला पक्षबीच पुर्ननिर्माण गर्ने निर्णय भएको छ । गल्छी–विदुर–बेत्रावती–मैलुङ सडक खण्डमा कटान हुदा स्थानीय नौबिसे तथा खाल्टे क्षेत्र उच्च जोखिममा परेको स्थानीयवासी दिलकृष्ण श्रेष्ठको भनाई छ । यसैवीच, जिल्ला प्रशासन कार्यालय नुवाकोटले भारी मात्रामा बर्षा भइरहेको कारण सचेत हुन सर्वसाधारणमा अपिल जारी रहेको छ । जल तथा मौसम पूर्वानुमान विभागले बुधबारदेखि शुक्रबारसम्म तीन दिनसम्मा वर्षाको सम्भावना रहेको जनाएको छ । नुवाकोटको सदरमुकाम विदुरलगायत विभिन्न स्थानमा बुधवार बिहानैदेखि पानी परिरहेको छ ।