पर्यटकीय नगरी पोखरामा हुने रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को १८ औं डिस्ट्रिक्ट कन्फरेन्सको तयारी पूरा भएको छ ।   वैशाख ४ देखि ६ गतेसम्म सञ्चालन हुने  सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको...

ढोरपाटन:   बेलढुङ्गा बागलुङ र म्याग्दीको सिमानामा पर्छ । उच्च पहाडी क्षेत्रमा रहेको बेलढुङ्गा सिमाना मात्रै नभएर पछिल्लो समय उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ ।  स्वच्छ हावापानी, मनोरम वातावरण र यहाँबाट देखिने अनगिन्ती हिमालले धेरैलाई आकर्षित गरिरहेको छ । बाह्रै महिना बेलुङ्गामा पर्यटक आए पनि यस याममा अझ बढी आउने अपेक्षा गरिएको छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेको र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको शिरमा रहेको यस क्षेत्रमा मोटरबाटो तथा पदमार्गमार्फत सहजै पुग्न सकिने हुँदा आन्तरिक पर्यटकको भीड नै लाग्ने गरेको छ । एक दशक अगाडिसम्म सुनसान रहेको बेलढुङ्गा अहिले चर्चित बन्दै गएको छ । हरेक वर्ष हजारौँ पर्यटक पुग्ने यस ठाउँमा काठेखोला गाउँपालिकाले पनि पर्यटन पूर्वाधारका लागि बर्सेनि बजेट विनियोजन गर्दै आएको छ । पर्यटन पूर्वाधार निर्माणपछि पर्यटक बढ्ने क्रम जारी छ । समुद्री सतहदेखि दुई हजार ६ सय १४ मिटर उचाइको बेलढुङ्गामा दसैँ र तिहार बीचमा बढी पर्यटक आउने गरेको पाइन्छ । विद्यार्थी, प्राध्यापक तथा अन्य सरकारी तथा गैरसरकारी संस्थामा काम गर्ने कर्मचारी बढी आउने गरेको स्थानीयको भनाइ छ ।    मुस्ताङको मुक्तिनाथ, म्याग्दीको गलेश्वरधाम र बागलुङको कालिका मन्दिर, पञ्चकोट तथा शालिग्राम सङ्ग्रहालय नजिकै रहेको हुँदा पर्यटक दैनिक बेलढुङ्गा पुग्ने गरेका छन् । आधा दशक अगाडिसम्म यहाँ पुग्ने सडक सहज नहुँदा यो ठाउँमा ओझेलमा थियो । जब सडक सञ्जालले बेलढुङ्गा जोडिँदै गयो, तब धेरैको रोजाइमा यो ठाउँ पर्‍य ो । हिउँदमा हिउँ खेल्न र गर्मीमा जाडो छल्न जानेहरुले बेलढुङ्गामा चहलपहल निकै हुने गर्छ । अहिले पदमार्ग र साइकल लेन निर्माणपछि हाइकिङ गर्नेको सङ्ख्या अझ बढ्दो छ ।  बेलढुङ्गा नजिकै ओखले गाउँमा सामुदायिक घरबास ‘होमस्टे’ छ । जसले गर्दा यहाँ पुग्ने पर्यटकका लागि खाना, बस्न र बासको व्यवस्थापन गर्ने गरेको छ । हरेक दिन पर्यटक बेलढुङ्गा आउने गरे पनि असोज अन्तिम सातादेखि भीड नै लाग्ने गरेको स्थानीय गोपाल श्रीसले बताउनुभयो । पछिल्लो केही दिनयता दैनिक दुई सयभन्दा बढी पर्यटक बेलढुङ्गा आउने गरेको उहाँको भनाइ छ ।  अधिकांश पर्यटक दिउँसो आउने र साँझ फर्कने हुँदा ओखले गाउँमा रहेको सामुदायिक घरबासमा कम पाहुना मात्रै बस्ने गरेको उहाँले बताउनुभयो । “पहिले–पहिले बेलढुङ्गामा यस्तो चहलपहल हुँदैनथ्यो, अहिले त विकास भएर पनि होला, प्रचार पनि धेरै भएर होला, घुम्न आउनेको सङ्ख्या प्रत्येक वर्ष बढिराखेको छ, यस वर्ष निकै बढी आएको पाएका छौँ”, उहाँले भन्नुभयो, “अहिले यो ठाउँ निकै व्यवस्थित पनि भएको छ, बागलुङ र म्याग्दी दुई तिरबाट मान्छेहरु आउने गर्छन्, दुई जिल्लाबाहेक पोखरा, काठमाडौँलगायत ठाउँबाट पनि यहाँ घुम्न आउँछन्, यो ठाउँ निकै सुन्दर रहेको हुँदा कहिलेकाहीँ विदेशी पर्यटक पनि फाटफुट आउने गरेका छन्, केही दिन भयो दैनिक दुई सयभन्दा बढी पर्यटक यहाँ आइरहेका छन् ।” स्थानीय घरबास सञ्चालक मायाकुमारी छन्त्याल श्रीसले दसैँदेखि पाहुनको चाप पनि बढ्न थालेको बताउनुभयो । पाहुनालाई स्थानीय उत्पादन कोदोको सेलरोटी, लोकल कुखुराको मासु, आलुलगायत परिकार खुवाउने गरेको श्रीसको भनाइ छ । घरबास सञ्चालनमा आएपछि बेल ढुङ्गा आउने पर्यटकलाई निकै सहज भएको उहाँले बताउनुभयो। पछिल्लो केही दिनयता पाहुन नभएको रात नै नभएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “बेलढुङ्गामा पर्यटक बढेपछि हाम्रो होमस्टे पनि राम्रो चलेको छ, पहिले कम मात्रै पर्यटक आउँदा हामीहरुलाई होमस्टे चलाउन गाह्रो थियो, यहाँ आउने पाहुनाले स्थानीय उत्पादनका परिकारको माग गर्नुहुन्छ, यहाँ उपलब्ध परिकार उहाँहरुलाई दिने गरेका छौँ, दिनदिनै पर्यटक आउने क्रम जारी छ, हरेक दिन पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।” दसैँतिहारका लागि क्याम्पस बिदा भएको हुँदा बेलढुङ्गा घुम्न आएको पर्वतका निशान कार्कीले बताउनुभयो । सामाजिक सञ्जालमा बेलढुङ्गाको फोटो र भिडियोहरु निकै भाइरल भएको हुँदा १३ जनाको समूह बनाएर यहाँ घुम्न आएको उहाँको भनाइ थियो  । बेलढुङ्गादेखि सूर्योदय पनि देखिने हुँदा एक दिन बागलुङ र अर्को दिन म्याग्दीमा बास बसेर अवलोकन गर्ने कार्कीको भनाइ छ । बेलढुङ्गाको अवलोकनपछि ढोरपाटन पुग्ने योजना रहेको उहाँले बताउनुभयो ।   “बिदाको समय घुमौँ भनेर एक हप्ताको यात्रा तय गरेका छौँ, यसपालि बागलुङ, म्याग्दी र पर्वतका पर्यटकीय ठाउँ घुमौँ भन्ने छ, दोस्रो दिन बेलढुङ्गा पुगेको निकै रमाइलो रहेछ, हिमालहरु नजिकैबाट देख्न पाइँदोरैछ, वातावरण पनि शान्त,” उहाँले भन्नुभयो, “पहिले पनि यहाँ आउने चाहना थियो तर समय नमिलेको हुँदा आउन सकेको थिएन, यसपालि चैँ मज्जाले घुमियो, ठाउँ हेरियो ।” बेलढुङ्गाबाट, धौलागिरि, माछापुच्छ्रे अनगन्ती हिमशृङ्खला आँखै अगाडि देख्न सकिन्छ । बागलुङ, पर्वत, कास्की, गुल्मीलगायत ठाउँहरु पनि सहज रुपमा देख्न सकिन्छ । काठेखोला गाउँपालिकाले पनि बेलढुङ्गाको प्रवर्धन गर्न थालिरहेको छ । गत वर्ष विनियोजन गरेको रु। दुई लाख ५९ हजारबाट बेलढुङ्गालाई फराकिलो र व्यवस्थित बनाइएको छ भने गण्डकी प्रदेश सरकारको २० लाख बजेटमा देउराली डाँडादेखि यहाँसम्म जोड्ने दुई सय ६० मिटर स्लेट ढुङ्गा बिच्छ्याएर पदमार्ग निर्माण गरिएको छ । बागलुङ नगरपालिका–६ पञ्चकोटतर्फ दुई सय ५० मिटर साइकल मार्गसमेत बनाइएको छ ।

मुगु:    मुगुको छायाँनाथ रारा नगरपालिका –६ स्थित मुन्दु गाउँमा चार जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक  विरेन्द्र थापाका अनुसार धारिलो हतियार प्रहार गरी रातिको समयमा एकै घरपरिवारका  चार जनाको  हत्या गरिएको छ ।  उहाँका अनुसार २७ वर्षीया आमा श्रीदेवी बोहरा, ११ वर्षीय छोरा मनोज बोहरा, ७ वर्षीया छोरी अप्सरा बोहरा, ८ वर्षीय छोरा रहर बोहराको हत्या गरिएको छ । हत्या कलसे लगरेको हो भन्ने खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।  प्रहरी प्रमुख थापाले भन्नुभयो, “श्रीदेवी बोहराका श्रीमान वैदेशिक रोजगारीका लागि बिदेशको कतारमा रहनुभएको छ । घटनाको थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।  छायाँनाथ रारा नगरपालिका – ६ मुन्दु गाउँकी स्थानीय धर्मी बोहराका अनुसार ८ गते बेलुका ४ बजेतिर माइतीघर कोटिलाबाट टीका लगाएर   उहाँहरु घर आनुभएको थियो । हत्या गर्ने हत्याराले घरभित्र हत्या गरेर ढोकामा ताल्चा लगाएर भागेको प्रहरीको भनाइ छ ।

काठमाडौं:     युएईले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनल खेलमा घरेलु टोली नेपाललाई चार विकेटले हराउँदै उपाधि जितेको छ । जितको लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको युएईले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । युएईको जितमा बासिल हामिद १६ बलमा २ छक्कासहित २२ रनमा आउट भए । युएईका मोहम्मद वासिम २२ बलमा ७ चौका र २ छक्कासहित ४५ रनमा आउट भए । युएईलाई ओपनर वासिम र अर्यांश शर्माले ६।४ ओभरमा ७१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । युएईलाई जितको लागि अन्तिम ६ बलमा ७ रन चाहिँएको थियो । पहिलो बलमा करण केसीलाई बासिल हामिदले कभरमा दुई रन प्रहार गरेका थिए । दोस्रो बल डट राखेपछि चार बलमा पाँच रन चाहिँएको थियो ।   तेस्रो बलमा एक दिँदा लगत्तै वाइड फ्याँले । चौथो बलमा आयनले एक रन बटुले । दुई बलमा दुई रन चाहिँएको थियो । पाँचौं बलमा स्टेटमा बासिलले छक्का हान्दै रोमान्चक जित दिलाए । त्यसअघि वासिमले दुई महत्वपूर्ण जीवनदान पाएका थिए । करण केसीको तेस्रो ओभरको चौथो बलमा प्वाइन्टमा कुशल मल्लले मोहम्मद वासिमको ब्यक्तिगत २३ रनमा क्याच छाड्न पुगेका थिए । ललितको चौथो ओभरको पाँचौं बलमा पुनः ३४ रनमा वासिमले दुई जीवनदान पाएका थिए । ललित कट एण्ड बोल्ड आउट गर्न चुकेका थिए ।   युएईले पहिलो ओभरमा १७ रन जोड्दै ड्रिम सुरुवात गरेको थियो । तीव्र गतिका बलर सोमपाल कामीले पहिलो बल गर्नेक्रममा खुट्टाले स्टम्प लागेपछि नो बल भएको थियो । त्यसपछि मोहम्मद वासिमले छक्का र दुई लगातार चौका हान्दै राम्रो सुरुवात दिलाएका थिए । वासिमलाई तीव्र गतिका बलर गुलशन झाले सातौं ओभरको चौथो बलमा बोल्ड आउट गर्दै नेपाललाई पहिलो पहिलो सफलता दिलाएका थिए । अर्का ओपनर अर्यांश शर्माले २६ बलमा २ चौकासहित २५ रन बनाए । उनी कुशल मल्लको बलमा सन्दीप जोराबाट क्याच आउट भएका थिए ।   आसिफ खान गुलशन झाको ११ औं ओभरको पाँचौं बलमा थर्डमा अभिनाश बोहराबाट ७ रनमा क्याच गराए । एलिशान शराफु १३ बलमा २ चौकासहित १३ रनमा आउट भए । उनी अभिनाश बोहराको १५ औं ओभरको तेस्रो बलमा लङअनमा कुशल भुर्तेलबाट क्याच आउट भए । १६ औं ओभरको चौथो बलमा दीपेन्द्रसिंह ऐरीले वृत्य अरविन्दलाई २५ रनमा डाइरेक्ट थ्रोमा रन आउट गरेपछि नेपालको जितको सम्भावना थियो । नेपालका अभिनाश बोहराले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । गुलशन झाले ३ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिए ।   त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले २९ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ५० रनको योगदान दिएका थिए । उनको यो टि२० आई करिअरको छैटौं अर्धशतक हो । नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ५ ओभरमा ४३ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर आयन खानले पाँचौं ओभरको अन्तिम बलमा आसिफ शेखलाई ७ रनमा बोल्ड आउट गर्दै युएईलाई पहिलो सफलता दिलाएका थिए । आयनले सातौं ओभरको चौथो बलमा कुशल मल्ललाई एक रनमा बोल्ड आउट गरे । तीव्र गतिका बलर जहुर खानको आठौं ओभरको तेस्रो बलमा कुशल भुर्तेल बोल्ड आउट भएका हुन् । १३ औं ओभरको पहिलो बलमा कप्तान रोहित पौडेल प्याडल सर्ट खेल्ने धुनमा विकेटकिपर अर्यांश शर्माबाट क्याच आउट भएका थिए । रोहितले १७ बलमा १ चौकासहित १८ रन बनाए । तीन बलपछि दीपेन्द्रसिंह ऐरी २० रनमा बोल्ड आउट भए । दीपेन्द्रले १५ बलमा १ चौका र १ छक्का प्रहार गरे । इनस्वींग बल चाल पाउन नसक्दा दीपेन्द्र बोल्ड आउट भएका थिए । जहुर खानको १६ औं ओभरको पहिलो बलमा चोभार एन्डमा लङअनमा सर्ट खेल्न खोजेका सन्दीप जोरा मिडअनमा मोहम्मद वासिमबाट १० रनमा क्याच आउट भए । आयनले सोमपाल कामीलाई १३ रनमा बोल्ड आउट गरे । तल्लोक्रममा करण केसी १७ बलमा २ चौका र १ छक्कासहित २३ रनमा नट आउट रहे । अन्तिम ओभरमा जहुर खानले करणलाई लगातार पाँच बल डट राख्दा अन्तिम बलमा दुई रन दिएका थिए । अन्तिम ६० बलमा नेपालले ६७ रन बनाउँदा ५ विकेट गुमाएपछि विशाल योगफलमा पुग्न सकेको थिएन । युएईका आयन खानले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । अली नासिरले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । जहुर खानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । जुनैद सिद्दिकले ४ ओभरमा ४४ रन खर्चेर १ विकेट लिए । नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको लिगका चारै खेल जितेको थियो । अव सोमबार देखी आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट सुरु हुनेछ । समूह ए मा नेपाल, ओमान, सिंगापुर र मलेसिया छन् । समूह बी मा हङकङ, युएई, बहराइन र कुवेत छन् । फाइनल पुग्ने दुई टोली २०२४ मा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।

काठमाडौं:     नेपालले त्रिकोणात्मक टि-२० आई सिरिजको फाइनल खेलमा युएईलाई उपाधि जित्न १ सय ६३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनायो । नेपालका ओपनर कुशल भुर्तेल २९ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ५० रनको योगदान दिए । उनको यो टि२० आई करिअरको छैटौं अर्धशतक हो । दोस्रो ओभरको दोस्रो बलमा ब्यक्तिगत पाँच रनमा जीवनदान पाएका उनले अर्धशतक प्रहार गरेका थिए । नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ५ ओभरमा ४३ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर आयन खानले पाँचौं ओभरको अन्तिम बलमा आसिफ शेखलाई ७ रनमा बोल्ड आउट गरेका थिए । आयन खान तीन दिनअघि मलेसियामा नेपालसँग यू-१९ प्रिमियर कपको फाइनलमा युएईको कप्तानी गरेका थिए । पहिलो खेल खेलेका उनले पहिलो ओभरमै नेपालका ओपनर आसिफको विकेट लिएका थिए । आयनले सातौं ओभरको चौथो बलमा कुशल मल्ललाई एक रनमा बोल्ड आउट गरे । तीव्र गतिका बलर जहुर खानको आठौं ओभरको तेस्रो बलमा कुशल भुर्तेल बोल्ड आउट भएका हुन् । १३ औं ओभरको पहिलो बलमा कप्तान रोहित पौडेल प्याडल सर्ट खेल्ने धुनमा विकेटकिपर अर्यांश शर्माबाट क्याच आउट भए । रोहितले १७ बलमा १ चौकासहित १८ रन बनाए । तीन बलपछि दीपेन्द्रसिंह ऐरी २० रनमा बोल्ड आउट भए । दीपेन्द्रले १५ बलमा १ चौका र १ छक्का प्रहार गरे । इनस्वींग बल चाल पाउन नसक्दा दीपेन्द्र बोल्ड आउट भएका थिए । १३ औं ओभर युएई खेलमा फर्किने टर्निङ प्वान्ट बनेको थियो । नेपालले सुरुवाती १० ओभरमा ३ विकेट गुमाउँदै ९५ रन बनाएको थियो । थप २४ बलमा नेपालले दीपेन्द्र र रोहितको विकेट गुमाउँदा मात्रै १९ रन जोडेको थियो । त्यसपछि पनि नेपालले लगातार विकेट गुमायो । जहुर खानको १६ औं ओभरको पहिलो बलमा चोभार एन्डमा लङअनमा सर्ट खेल्न खोजेका सन्दीप जोरा मिडअनमा मोहम्मद वासिमबाट १० रनमा क्याच आउट भए । आयनले सोमपाल कामीलाई १३ रनमा बोल्ड आउट गरे । तल्लोक्रममा करण केसी १७ बलमा २ चौका र १ छक्कासहित २३ रनमा नट आउट रहे । अन्तिम ओभरमा जहुर खानले करणलाई लगातार पाँच बल डट राख्दा अन्तिम बलमा दुई रन दिएका थिए । अन्तिम ६० बलमा नेपालले ६७ रन बनाउँदा ५ विकेट गुमाएपछि विशाल योगफलमा पुग्न सकेको थिएन । युएईका आयन खानले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । अली नासिरले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । जहुर खानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । जुनैद सिद्दिकले ४ ओभरमा ४४ रन खर्चेर १ विकेट लिए ।

बाँके:     इलाका प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवं प्रहरी प्रमुख सुन्दर तिवारी चक्कु लागेर घाइते भएका छन्।  कोहलपुर–२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिने क्रममा उद्धारका लागि खटिएका डिएसपी तिवारीमाथि थापाले चक्कुको झटारो हानेका थिए।  चक्कु लागेपछि डिएसपी तिवारी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए। डिएसपी डाँगीका अनुसार थापाले छोरालाई आफ्नै घरमा बन्धक बनाएर परिवारका अन्य सदस्यलाई बाहिर राखी भित्रबाट चुकुल लगाएर मार्ने धम्की दिएका थिए।  सो सूचना पाएपछि उद्धारका लागि गएको प्रहरी टोलीमाथि थापाले चक्कु प्रहार गर्दा डिएसपी तिवारीलाई लागेको थियो।  चक्कुको झटारोबाट डिएसपी तिवारीको दाहिने हातको कुहिनामा चोट लागेको प्रहरी प्रवक्ता डाँगीले बताए।  तिवारीले थापालाई झ्याल बाहिरबाट लामो समयसम्म सम्झाउने प्रयास गर्दा पनि नमानेपछि तिवारीमाथि नै चक्कु प्रहार गरेका थिए। त्यसपछि प्रहरी टोलीले ढोका फोडेर थापालाई नियन्त्रणमा लिएको थियो। गएराति करिब ११ बजेदेखि थापाले छोरालाई बन्धक बनाएर मार्ने धम्की दिँदै गर्दा परिवार र आफन्तले उद्धारका लागि प्रहरीलाई खबर गरेका थिए। परिवारको भनाइलाई उद्धृत गर्दै प्रहरी प्रवक्ता डाँगीले थापाको मानसिक सन्तुलन नभएको बताए।

महोत्तरी:     महोत्तरीमा एक युवकको हत्या भएको छ । पिपरा गाउँपालिका( ५ हर्दियाटोलका  १९ वर्षीय आशिक पासवानको हत्या भएको हो । हत्या भएको अवस्थामा आशिकको शव बिहीबार साझ स्थानीय जगदिश शाहको खेतमा फेला परेको थियो । दुर्गा मेलामा भएको विवादको निहुमा स्थानीय दुई  युवकले मिलेर छुरा प्रहार गरी उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए । हत्यामा संलग्न आरोपमा दुवै युवकलाई पक्राउ पनि गरिएको डीएसपी गिरीले बताए । घटनास्थलको मुचुल्का गरी आशिकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ । पक्राउ गरिएका दुवै युवकको अहिले नाम खुलाइएको छैन ।

पोखरा:   पोखरा नदीपुरमा घाँस काट्ने क्रममा भीरबाट लडेर अभिनेता प्रकाश घिमिरे घाइते भएका छन् । शुक्रबार बिहान ९ः३० बजे नदीपुर–३ मा घाँस काट्न जाने क्रममा घिमिरे भीरबाट लडेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए । घाइते घिमिरेलाई मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको कास्की प्रहरीले जनाएको छ ।  पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पनि सामाजिक संजालमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै घिमिरेको स्वास्थ्य लाभको कामना गरेका छन् । मेयर आचार्यले अभिनेता घिमिरेलाई आकस्मिक उपचार कक्षमा राखिएको जनाएका छन् ।

खोटाङ:     खोटाङमा श्रीमानले चिर्पटले हानेर श्रीमतीको हत्या गरेका छन् । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ फलाँटेका दावा शेर्पाले श्रीमती लाक्पा डिकु शेर्पाको हत्या गरेका हुन् ।  ४० वर्षीय दावाले मादक पदार्थ सेवन गरी बिहीबार साँझ करिब ७ बजे ३६ बर्सिया लाक्पा शेर्पालाई चिर्पट प्रहार गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । उनीहरूबिच सामान्य विवाद हुँदा श्रीमानले चिर्पट प्रहार गरेको बताइएको छ । श्रीमती लाक्पाको शव घरदेखि करिब २०० मिटर टाढा गोरेटो बाटोमा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) पुरुषोत्तम खड्काले बताए ।  चिर्पटले हानेर हत्या गर्ने श्रीमान् दावालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

अन्तराष्ट्रिय​:     कतारको दोहामा पक्राउ परेका आठ जना पूर्व नौसैनिक अधिकारीलाई कतारको अदालतले मृत्युदण्डको फैसला सुनाएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । विदेश मन्त्रालयले फैसलाबाट आफू स्तब्ध भएको र अब विस्तृत फैसलाको प्रतिक्षामा रहेको जनाएको छ । “कतारको कोर्ट अफ फस्र्ट इन्स्टेन्सले अल दहरा कम्पनीका आठ जना भारतीय कर्मचारीको संलग्नता रहेको मुद्दामा आज फैसला सुनाएको हामीलाई प्रारम्भिक जानकारी प्राप्त भएको छ,” विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मृत्युदण्डको फैसलाले हामी स्तब्ध भएका छौं र विस्तृत फैसलाको प्रतिक्षामा छौं ।” “हामी परिवारका सदस्य र कानुनी टोलीसँग सम्पर्कमा छौं र हामी सबै कानुनी विकल्पहरूको खोजी गरिरहेका छौं,” विज्ञप्तिमा भनिएको छ । विदेश मन्त्रालयले भनेको छ, “हामी यो घटनालाई उच्च महत्व दिन्छौं र यसलाई नजिकबाट नियालिरहेका छौं । हामीले सबै परिवारलाई कुटनीतिक तथा कानूनी सहायता प्रदान गर्न जारी राख्नेछौं ।  “हामी कतारी अधिकारीहरूसँग पनि सम्पर्क गरी थप निर्णय लिनेछौं,” विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस मुद्दाको कारबाहीको गोप्य प्रकृतिका कारण यस घडीमा थप टिप्पणी गर्नु उपयुक्त हुने छैन ।” सन् २०२२ को अक्टोबरदेखि कतारमा रहेका ती आठ भारतीय नागरिकमाथि पनडुब्बी कार्यक्रमका लागि जासुसी गरेको आरोप लागेको थियो । नयाँ दिल्लीले ती आठ जना भारतीयलाई सल्लाहका लागि पहुँच प्रदान गरेको थियो र उनीहरूको रिहाइका लागि काम गरिरहेको थियो ।  मार्चको अन्त्यमा ती भारतीय नागरिकको मुद्दामा पहिलो सुनुवाई गरिएको थियो । त्यसपछि ग्वालियरमा बस्दै आएकी एक पूर्व नौसैनिक अधिकारीकी बहिनी मीतू भार्गवले आफ्नो भाइलाई फिर्ता ल्याउन भारत सरकारसँग सहयोगको याचना गर्नुभएको थियो । गत जुन ८ मा एक्स (ट्वीटर)मा एक पोस्ट लेख्दै उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीलाई मुद्दामा हस्तक्षेप गर्न आग्रह गर्नुभएको थियो । एजेन्सी