पर्यटकीय नगरी पोखरामा हुने रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को १८ औं डिस्ट्रिक्ट कन्फरेन्सको तयारी पूरा भएको छ ।   वैशाख ४ देखि ६ गतेसम्म सञ्चालन हुने  सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको...

बारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु र ११ जना घाइते भएका छन् ।   चितवनबाट वीरगञ्ज जाँदै गरेको ना ७ ख ४७४९ नम्बरको बस शनिबार राति जितपुर उपमहानगरपालिका-२ सिमरा चोकमा दुर्घटना हुँदा भारतको मोतिहारी घर भई वीरगञ्ज बस्दै २७ वर्षीय मुकेश साहको मृत्यु भएको हो । दुर्घटनामा बाराको कलैया उपमहानगरपालिका-२० का ४५ वर्षीय वीरबहादुर महतो, पर्साको वीरगञ्ज महानगरपालिका-८ का ३० वर्षीय सुरज साह कानु,  सोही ठाउँका १८ वर्षीय प्रिया गुप्ता, १६ वर्षीया मनिषा साह र २८ वर्षीय मोहन साह रहेका छन् ।   यस्तै वडानम्बर १२ बस्ने २३ वर्षीया सेजल गुरुङ, सोही ठाउँका ५२ वर्षीय ललन चौरसिया, २७ वर्षीय राजनकुमार गुप्ता, बाराको कलैया-७ का १८ वर्षीय प्रसाद गुप्ता, सोही ठाउँका ३५ वर्षीय अविनाश गुप्ता र बारा जितपुरसिपरा उपमहानगरपालिका-२ का १९ वर्षीय अनिष राई पनि घाइते छन् ।   उनीहरू मध्ये वीरबहादुर र सुरज साहको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा मोटरसाइकललाई बचाउन खोज्दा अनियन्त्रित भई बस दुर्घटना भएको पाइएको प्रहरीको भनाइ छ ।

काठमाडौं:     नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी हुनाका नाताले राजनीतिक दलहरूप्रतिको आलोचनालाई सकारात्मकरुपमा लिएको बताउनुभएको छ । बडादसैँ, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसर पारेर कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले भन्नुभयो, “दलहरूप्रति आएको आलोचना र टिप्पणीलाई मैले सकारात्मक लिएको छु ।” राजनीतिक दलहरूले आफूलाई जनताका बिचमा लोकप्रियता हासिल गर्न राम्रोसँग काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सबै राजनीतिक दलप्रति जनताको आशा र भरोसा उत्तिकै कायम रहेको दाबी गर्नुभयो । सभापति देउवाले भन्नुभयो, “ राजनीतिक दल र राज्यका संस्थाप्रति विश्वास घटेको छैन ।” कांग्रेस पार्टीभित्र बेमेल भइरहेको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले पार्टीभित्र बेमेल रहेको कुरा सत्य होइन भन्नुभयो । उहाँले भन्नुभयो, “दलभित्रको फरक मत हुन सक्लान्,यसलाई हामीले व्यवस्थापन गरिरहेका छौँ ।” सो अवसरमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सङ्कटका बेला दल हातेमालो गर्दै अगाडि बढेको विगतका घटना स्मरण गर्दै अबका चुनौतीलाई हल गर्न पनि दल एक हुनुपर्ने बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले दलबिच सद्भाव बाँड्ने परम्पराका रूपमा चियापान कार्यक्रम हुँदै आएको उल्लेख गर्दै चियापानले दलहरूप्रति संवाद आदानप्रदान हुने विश्वास व्यक्त गर्नुभयो । शुभकामना आदानप्रदान कार्यक्रममा सभामुख देवराज घिमिरे, पूर्वसभामुखद्वय दमननाथ ढुङ्गाना र अग्निप्रसाद सापकोटा, नेपालका लागि चिनियाँ राजदूत चेन सङलगायत विशिष्ट व्यक्तित्वको सहभागिता थियो ।

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरेसको आसन्न नेपाल भ्रमणबाट विश्व समुदायमा नेपालको प्रतिष्ठा अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ । बडादसैँ, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसर पारेर नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले नेपाली जनताको आवश्यकता सम्बोधन गर्न उक्त भ्रमणबाट महत्त्वपूर्ण सहयोग मिल्ने छ भन्नुभयो । प्रधानमन्त्री प्रचण्डले राष्ट्र सङ्घका महासचिवले नेपाल भ्रमणका क्रममा जलवायु परिवर्तन, शान्ति प्रक्रिया र नेपालको आर्थिक विकासको लक्ष्यबारे सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । महासचिवको भ्रमणलगत्तै कतारका राजा पनि नेपाल भ्रमणमा आउन लाग्नुभएको जानकारी दिँदै उहाँले नेपालको कूटनीतिक सफलताको परिणामस्वरूप उच्चस्तरीय भ्रमण हुन लागेको बताउनुभयो । “यसबिचमा मैले भारत, अमेरिका र चीनको भ्रमणको सन्दर्भमा जुन कूटनीतिक पहल भए त्यसैको परिणामस्वरूप संयुक्त राष्ट्र सङ्घका महासचिव र कतारका राजा नेपाल आउँदै हुनुहुन्छ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो । चाडपर्वमा हुने चियापान कार्यक्रमले आपसी एकता अभिवृद्धि गर्न मात्रै नभई देशको राष्ट्रिय राजनीतिलाई पनि स्थिरतातर्फ लैजान सघाउ पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । “मुलुकलाई सहमति र समझदारीको बाटोमा लैजाने तथा जनताको अपेक्षाअनुसार विकास निर्माण र समृद्धिलाई अघि बढाउन चियापानले कुनै न कुनैरुपले सहयोग गर्दै आएको छ”, उहाँले भन्नुभयो । आफूले प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गरेदेखि नै राजनीतिक दलहरूका बिचमा समझदारी बनाउन प्रयास गर्दै आएको उहाँको भनाइ छ । मुलुकमा अराजकता सृष्टि गर्ने उद्देश्यका साथ राजनीतिक दलहरूमाथि प्रश्न उठाउने गरिएको उल्लेख गर्दै उहाँले सम्पूर्ण राजनीतिक दल एक ठाउँमा उभिएर त्यस्ता प्रवृत्तिलाई गतिलो जवाफ दिने तयारी भइरहेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता तथा कार्यकर्तामा शुभकामना व्यक्त गर्न गर्नुभयो । चियापान संस्कृति बिपी कोइराला जीवितै हुँदा उहाँले नै सुरु गर्नुभएको स्मरण गर्दै उहाँले आपसी एकता र सद्भाव वृद्धि गर्न चियापान संस्कृतिले भूमिका खेल्दै आएको बताउनुभयो । 

मुगु:    मुगुको मुन्दुगाउँस्थित एकै परिवारका चार जनाको हत्या भएको घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको छ । जिल्लाको छायाँनाथ रारा नगरपालिका–६ को मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्या भएको थियो । जिल्ला  प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षकको नेतृत्वमा कर्णाली प्रदेशको सुर्खेत कार्यालयबाट एक वटा तालिम प्राप्त कुकुरसहित तीन जना प्रहरी सायक निरीक्षकको टोलीसहित अनुसन्धानका लागि घटना स्थलमा आइपुगेको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाले घटनामा संलग्न व्यक्ति  नउम्किउन् भनेर प्रहरीले सतर्कता अपनाएको छ । घटना संलग्नहरु भाग्न सक्ने सम्भावित नाकाहरुमा निगरानी बढाइएको उहाँले बताउनुभयो । घटनाको जानकारी प्राप्त भएलगत्तै प्रदेश कार्यालयको समन्वयमा तालिम प्राप्त कुकुरसहितको टोली घटनास्थलमा कुकुरको सहयोगमा सुक्ष्म अनुसन्धान सहयोगमा घटनाको सुक्ष्म अनुसन्धान हुने उहाँको भनाइ छ । परिवारका सबै सदस्यको शव घर भित्रनै फेला परेको छ । उक्त परिवारका एक जना दिप बहादुर बोहरा भने जोगिनुभएको छ । उहाँ वैदेशिक रोजगारीका लागि कतारमा गएको  प्रहरीले बताएको छ । आठ महिने नाबालक रहर बोहरासहित चार जनाको हत्या भएको हो । २७ वर्षीया आमा  श्रीदेवी बोहरा, छोरी ११ वर्षीया मनहरा बोहरा र सात वर्षीया अप्सरा बोहरा घरभित्रै  मृतक अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

काठमाडौं:      स्पिनर सन्दीप लामिछानेले राष्ट्रिय क्रिकेट टोलीमा फर्किएका छन् । नेपालले सोमबार देखी टियु र मुलपानी मैदानमा हुने आइसिसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल खेल्ने टोली घोषणा गर्दा सन्दीप टोलीमा छन् । सन्दीपले दुई साताअघि सामाजिक सञ्जालमार्फत परिवारलाई समय दिन चाहेको बताउँदै आगामी प्रतियोगिताबाट नाम फिर्ता लिएको बताएका थिए । त्यसैको कारण उनले हङकङ र युएईसँग त्रिकोणात्मक टि–२० आई सिरिज गुमाएका थिए । आइसिसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखि २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ । समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् । फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि–२० विश्वकप खेल्न पाउनेछन् ।   नेपालको टोली:   रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि।सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी ।

पोखरा:    पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर मिचेर बनेका संरचना ३५ दिन भित्र हटाउन निर्देशन दिएको छ । महानगरले शुक्रबार एक सूचना जारी गरी खोलाघर मिचेर बनेका स्थायी÷अस्थायी सबै संरचना हटाउन निर्देशन दिएको हो । पोखरा महानगरपालिका १८ अधेरी कुना हुँदै पोखरा २, ४, ५, ७, ८, ६ र १७ हुँदै फेवातालमा मिसिने फिर्केखोलाको खोलाघर मिचेर बनेका संरचना हटाउन निर्देशन दिएको हो । पोखरा महानगरले केही समयअघि प्राविधिक खटाएर खोलाको वास्तविक आकार खोज्न सुरु गरेको थियो । सो क्रममा खोलाघर पर्ने क्षेत्रमा सीमांकन गर्दै स्तम्भ गाडेको थियो । प्राविधिकले गाडेको उक्त स्तम्भभित्र पर्ने सबै संरचना हटाउन महानगरले सूचना जारी गरेको हो । ‘यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र पूर्णरुपमा हटाउनुहुन यो सार्वजनिक सूचना जारी गरिएको छ,’ सूचनामा भनिएको छ, ‘उल्लेखित मिति भित्र संरचनाहरू नहटाएमा महानगरपालिका आफैले हटाउने र सो क्रममा लाग्ने लागत समेत सम्बन्धित व्यक्ति वा संस्थाले सरकारी बाँकी सरह भुक्तानी गर्नुपर्ने व्यहोरा यसै सूचना साथ जानकारी गराइन्छ ।’ पोखरा महानगरले सर्वेक्षक वासुदेव पौडेलको नेतृत्वमा साउन ३ गतेदेखि फिर्केखोलाको वास्तविक आकार खोज्न प्राविधिक खटाएको थियो । खटिएको टोलीले २ महिनापछि असोज ६ गते अध्ययन प्रतिवेदन तयार पारेर महानगरलाई बुझाएको थियो । प्रतिवेदनअनुसार १ सय ६० संरचना खोलाघरमै बनेको पाइएको थियो । त्यसमध्ये ९७ संरचना अस्थायी, ३५ वटा स्थायी र २८ वटा विभिन्न सरकारीसहितका संघसंस्थाले संरचना बनाएको पाइएको प्रतिवेदनमा उल्लेख छ । खोलाघरनै मिचेर ९७ अस्थायी बनेका संरचनामध्ये दायाँतर्फ ५० र बायाँतर्फ ४७ संरचना बनको पाइएको प्रतिवेदनले देखाएको छ । ‘त्यसमध्ये कतिपय शतप्रतिशत र कतिपय आंशिक भाग खोलाघरमा बनेको पाइयो,’ प्रतिवेदनमा भनिएको छ । फिर्केखोला मिचेर ३५ वटा व्यक्तिगत स्थायी संरचना बनेका छन् । जसमध्ये दायाँतर्फ १८ वटा र बायाँतर्फ १७ वटा रहेको प्रतिवेदनमा उल्लेख छ । फिर्केलाई व्यक्तिगतमात्रै नभएर संस्थागत तरिकाले पनि अतिक्रमण गरिएको प्रतिवेदनमा समावेश छ ।

काठमाडौं:    बडादशैँ पर्व महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमामा आज बेलुका सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैँ पर्व समापन हुन्छ । शास्त्र अनुसार गर्नुपर्ने अखिल बलिपूर्तिको काम भने हिजो बेलुका नै समापन भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइ मान्यजनबाट आशीर्वाद लिने क्रम पनि हिजो नै सकिएको छ । जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगेर सेलाइएको छ । व्यवहारमा भने कोजाग्रत पूर्णिमाका दिनसम्म नै नवदुर्गाको प्रसाद लगाएर आशीर्वाद थाप्ने गरिन्छ । तर, आज टीका लगाउनेले जमरा लगाउँदैनन् । दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ  । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको पूजा, आराधना गरिने भएकाले यस पर्वको विशेष महत्त्व छ । यस्तै, कार्तिक स्नान गरी तुलसीको विशेष रुपमा गरिने पूजा आराधना पनि आजैदेखि शुरु गरिँदैछ । आकाशदीपदान पनि आजै बेलुकादेखि शुरु गरिने छ । 

पोखरा:  कास्कीको माछापुच्छ्रे  गाउँपालिकाले गाउँपालिका भित्रका पर्यटकीय पदमार्गहरु भ्रमण गरे बापत आन्तरिक तथा बाह्य पर्यटकबाट शुल्क उठाउने निर्णय गरेको छ ।  गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै पर्यटकीय पदमार्गहरुको भ्रमण गरे बापत आन्तरिक तथा बाह्य पर्यटकबाट रु १ सय र ५ सय शुल्क उठाउने निर्णय गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपी कृष्ण अर्यालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘गाउँपालिकाका सुन्दर पर्यटकीय पदमार्गहरु भ्रमणमा पाल्नुहुने पदमार्गमा स्वदेशी पर्यटकका लागि १ सय र विदेशी पर्यटका लागि ५ सय रुपैया शुल्क उठाउने निर्णय गाउँ कार्यपालिकाको बैठकले निर्णय भएको छ ।’   गाउँपालिकाले पर्यटकबाट उठाएको शुल्कबाट पदमार्गमा पूर्वाधार निर्माण तथा व्यवस्थापन गर्ने, सूचना केन्द्र स्थापना गर्ने, सोलार बत्ति जडान, फोहोर मैला व्यवस्थापन लगाएतका काम गर्न शुल्क लिन लागेको विज्ञप्तीमा उल्लेख गरेको छ । 

काठमाडौं:     प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले० अध्यक्ष केपी ओलीबीच शुक्रबार दिउँसो भेटवार्ता भएको छ ।  प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार उहाँहरुबीच सिंहदरबारमा करिब एक घण्टादेखि जारी छलफलमा समसामयिक राजनीति विषयमा छलफल भइरहेको छ । उहाँले भन्नुभयो, “उहाँहरुबीच छलफल जारी छ।  विस्तृत विषय बैठकपछि थाहा हुनेछ ।”