पोखरा: पोखरालाई आज औपचारिक रूपमै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । पोखरा महानगरपालिकाले आइतबार औपचारिक कार्यक्रमका बीच पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारी पूरा भएको शनिवार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । महानगर प्रमुख धनराज आचार्यले २०७५ सालदेखि नै यस विषयमा अध्ययन भइरहेको र पर्यटकीय राजधानी घोषणाका लागि आधारभूत मापदण्ड पोखरासँग भएकाले घोषणा गरेर पोखरालाई अन्तर्राष्ट्रिय जगत्मा ‘ब्राण्ड’ बनाउन लागिएको बताउनुभयो । गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मी बस्नेतले पर्यटकीय सहरलाई राजधानी घोषणासँगै थप विशेषतालाई उजागार गरेर उत्कृष्ट गन्तव्यको पहिचानसहित पोखरा ‘ब्राण्डिङ’ हुने बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटकीय राजधानीको आवश्यक मापदण्ड र प्रक्रियाका विषयलाई पनि ध्यान दिएर घोषणा गर्न लागिएको छ, सबैको साझा सोच र अपनत्वले यो सफल हुनेछ ।” प्रदेश सरकार र महानगरपालिकाले संयुक्तरूपमा यस क्षेत्रमा रहेका अद्वितय पर्यटकीय गन्तव्यका कारण गण्डकी प्रदेशलाई पर्यटनको हब र पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरी दिगो पर्यटनको विकासमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ब्राण्डिङ गर्ने दिशामा अगाडि बढेको उहाँको भनाइ थियो । महानगर प्रमुख आचार्यले पर्यटन क्षेत्रको विकासमा पर्यटन प्रवर्द्धनात्मक क्रियाकलाप महत्त्वपूर्ण मानिने र राजधानी घोषणा गर्दा पर्यटन प्रवर्द्धनमार्फत जनताको जीवनस्तरमा गुणात्मक परिवर्तनसहित सुधार, रोजगारी सिर्जना र गरिबी निवारणमा उल्लेखनीय प्रगतिलगायत दिगो पर्यटन विकासमा टेवा पुग्ने बताउनुभयो । प्रमुख आचार्यका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आथित्यतामा सुन्दर फेवातालको किनार बाराहीघाटमा यही आइतबार पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा लेकसाइडस्थित बसुन्धारा पार्कबाट विभिन्न झाँकीसहितको र्याली र प्राकृत पोखराका लेखक वरिष्ठ साहित्यकार, भाषाविद् प्रा डा मुकुन्दशरण उपाध्याय, भूगोलविद् स्वर्गीय डा हर्क गुरुङ मरणोपरान्त सम्मान, सुप्रसिद्ध गायक, सङ्गीतकार तथा साहित्यकार स्व प्रेमप्रकाश मल्ललाई सम्मान गरिने कार्यक्रम राखिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । त्यसैगरी वरिष्ठ गायिका प्राज्ञ हरिदेवी कोइराला, कन्दरा ब्याण्ड मुख्य गायक (भोक लिस्ट) विवेक श्रेष्ठ, गायक प्रमोद खरेल, गायक प्रकाश सपुत, पोखरेली गायक धर्मेन्द्र सेवानका साथै गण्डकी प्रज्ञा प्रतिष्ठान(पोखरा प्रज्ञा प्रतिष्ठानका कलाकारको साङ्गीतिक प्रस्तुति रहने छ ।
भोजपुर: भोजपुरको हतुवागढी गाउँपालिका–७ पात्लेपानीमा आगलागीमा परी एकै परिवारका ३ बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यलय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईका अनुसार एकै परिवारका ७,६ र ३ बर्षका बालबालिकाको जलेर मृत्यु भएको हो। घटनाको थप जानकारी आउन बाँकी रहेको र इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरी निरीक्षक बिक्रम शाहको टोली घटनास्थल तर्फ गएको प्रहरी निरीक्षक राईले बताए ।
रौतहट: मनी ट्रान्सफर सञ्चालक नितेश साहमाथि गोली प्रहार गरेको आरोपमा तीनजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । भारतको बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना चिरैया दिपही गाउँ–२ बस्ने १९ वर्षीय मुनिफकुमार यादव, सोही ठाउँका १८ वर्षीय राजकुमार पासवान र २० वर्षीय चन्द्रभानसिंह भनिने चुनुकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । उनीहरूले शुक्रबार दिउँसो परोहा नगरपालिका–९ स्थित वीरेन्द्र साहका २६ वर्षीय छोरा नितेश साहमाथि गोली प्रहार गरेका थिए । शिवमनी ट्रान्सफर कार्यालयमा कारोबार गरिरहेको अवस्थामा बिआर०६सिएल ९७९६ नम्बरको भारतीय मोटरसाइकलमा आएका उनीहरूले साहमाथि गोली प्रहार गरेका थिए । गोली प्रहार गरी भाग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल, त्यसमा प्रयोग हुने आठ एमएमको गोली एक थान, सात दशमलव ६२ एमएमको अर्धस्वचालित पेस्तोल एक थान, त्यसैको म्याग्जिन एक थान र पाँच राउण्ड गोली बरामद भएको छ । उनीहरुमाथि ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना र चोरी तथा डाँकासम्बन्धी कसुरअन्तर्गतको मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिए । गोली लागी घाइते भएका साहलाई प्रादेशिक अस्पताल गौरमा प्राथमिक उपचार गरी थप उपचारका लागि वीरगञ्ज पठाइएको थियो । उनको आँखामा समस्या देखिएपछि आज तिलगङ्गा आँखा अस्पताल काठमाडौँमा ‘रेफर’ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं: नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)कै हाराहारीमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह हुँदासमेत आर्थिक वृद्धिमा त्यसको उल्लेख्य योगदान देखिन नसकेको धारणा यस क्षेत्रका जानकारहरूले राखेका छन् । आज आयोजना भएको ‘आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४’ का वक्ताहरूले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा उत्पादनमूलक क्षेत्रमा जानुपर्ने र अर्थतन्त्रको वृद्धिमा योगदान पुर्याउनुपर्ने धारणा राखे । राजस्व सचिव डा रामप्रसाद घिमिरेले उत्पादन तथा उत्पादकत्व बढाउनुपर्ने र रोजगारी सिर्जना गर्नुपर्ने मुख्य दुईवटा चुनौती मुलुकले भोगिरहेको बताए । पुँजी निर्माणमा हुने खर्च घटेका कारण लक्ष्यअनुसार आर्थिक विकास हुन नसकेको उनको भनाइ छ । बैंक तथा वित्तीय संस्थाले उत्पादन र रोजगारी बढाउने गरी कर्जा विस्तार गर्नुपर्नेमा पनि उनले जोड दिए । मुलुकको कुल गार्हस्थ्य उत्पादनको तुलनामा राजस्व संकलन सन्तोषजनक रहे पनि नेपालको विकास आवश्यकता धेरै भएका कारण बढी स्रोत आवश्यक पर्ने सचिव घिमिरेले बताए। आर्थिक गतिविधि चलायमान भएमात्र राजस्व बढ्ने पनि उनको भनाइ छ । व्यापारमा आधारित अर्थतन्त्रलाई उत्पादनमा आधारित अर्थतन्त्रका रूपमा विकास गर्दै लैजानुपर्ने आवश्यकता पनि उनले औँल्याए । नेपालको आन्तरिक उत्पादन बढ्ने र प्रतिस्पर्धी हुने गरी सरकारले निजी क्षेत्रलाई विश्वासको वातावरण बनाइदिनुपर्नेमा उनले जोड दिए। सोही कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक डा प्रकाशकुमार श्रेष्ठले मुलुक संघीय संरचनामा गइसकेपछि सरकारी वित्त बुझ्न थप कठिन भएको बताए । अहिले सरकारी कोषमा ठूलो रकम थुप्रिएको र यसले बजार मागमा सङ्कुचन ल्याउन भूमिका खेलेको उनको भनाइ छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाप्रति नकारात्मकता बढ्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरे । सहकारी क्षेत्रमा समस्या देखिँदा त्यसको असर बैंक तथा वित्तीय संस्थामा परेको पनि निर्देशक श्रेष्ठले बताए । विदेशी वस्तु प्रयोग गर्दा गर्व गर्ने संस्कृति विकास हुँदै गएकामा अब विस्तारै स्वदेशी वस्तु प्रवर्द्धन र प्रयोगलाई बढावा दिनुपर्ने बताए । हाल तरलताको अवस्था सकारात्मक रहेको, विदेशी मुद्राको सञ्चिति राम्रो रहेको, ब्याजदर न्यून रहेकोलगायतका सकारात्मक अवस्था हुँदाहुँदै पनि निजी क्षेत्र आशावादी हुन नसकेको धारणा उनले राखे । आन्तरिक मागमा कमी आएको, श्रमको अभाव भएको, उत्पादनशीलता बढ्न नसकेकोलगायत कारण अर्थतन्त्रमा आशातित गतिशीलता आउन नसकेको श्रेष्ठले बताए। नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भवानी राणाले नेपालको कृषि, पर्यटन, जडीबुटी, जलविद्युत्लगायतका क्षेत्रमा लगानी बढाइनुपर्ने बताए। मूल्य अभिवृद्धि हुने वस्तु तथा सेवामा लगानी गर्दा त्यसले रोजगारी सँगै अर्थतन्त्र विकासमा पनि मद्दत पुग्ने राणाले बताए । सरकारको नीति निजी क्षेत्रमैत्री हुनुपर्नेमा पनि उनले जोड दिए। आगामी आर्थिक वर्षको बजेटमार्फत कुन क्षेत्रमा कस्ता योजना ल्याउने भनेर सरकारले निजी क्षेत्रसँग पर्याप्त छलफल गरिनुपर्ने धारणा राणाको छ । बैंकिङ क्षेत्रमा पर्याप्त स्रोत हुँदाहुँदै पनि कर्जा लगानी हुन नसक्नुका कारण पत्ता लगाउन पहल गरिनुपर्नेमा उनले जोड दिए।
पोखरा: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रको सहभागितामा उद्यमशीलतालाई एकसाथ प्रोत्साहन गर्ने बताएका छन् । बाह्रखरी मिडियाद्वारा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’ का विजयीहरूलाई आज पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री प्रचण्डले हजारौँ नयाँ स्टार्टअप र उद्यमशीलता सुरू गर्ने बताए । “आत्मनिर्भरताको व्यवस्थित प्रयास हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “सुस्त कर्जा प्रवाह, मध्मवर्गीय उपभोगमा आएको गिरावट र पुँजीगत खर्चको न्यूनता अन्त्य गर्न नीतिगत सुधार गरिनेछ ।” वर्तमान सरकारले देशको हितमा सही कार्य गर्नेछ भन्ने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र सम्मृद्धि हासिल गर्ने सरकारको लक्ष्य भएको स्पष्ट पारे । सरकार पुनःगठनसँगै पुँजीबजारमा सकारात्मक परिवर्तन आएको उल्लेख गर्दैै प्रधानमनत्री प्रचण्डले वित्तीय अनुशासन, प्रशासनिक खर्चमा मितव्ययिता, उत्पादकत्व वृद्धि र राजस्व चुहावटमा स्थायी नियन्त्रणबाट राष्ट्रको आर्थिक जीवनलाई अझ बलियो बनाउने सरकारको अठोट रहेको बताए । “रोजगारी सिर्जना र आयात प्रतिस्थापन सरकारका प्राथमिकता हुनेछन्,” प्रधानमन्त्री प्रचण्डले भने, “पर्यटनमा अहिले देखिएको सुधारलाई कायम राख्दै पर्यटक सङ्ख्या कम्तिमा दोब्बर बनाउने लक्ष्य लिइनेछ ।” प्रधानमन्त्री प्रचण्डले सार्वजनिक सेवा प्रवाह चुस्त र नागरिकमैत्री बनाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता, राज्यका सबै संरचनामा सदाचार र जवाफदेहिता कायम गरिने विश्वास दिलाए । अघिल्लो वर्ष ऊर्जा र उत्साहका साथ आफूले कामको थालनी गरेको उल्लेख गर्दैै प्रधानमन्त्री प्रचण्डले ती थालेका काम पूरा गर्न र गत वर्षको सङ्कल्प पूरा गर्न नयाँ समीकरण सिर्जना भएको बताए । “गतवर्ष महत्त्वपूर्ण उपलब्धीहरू प्राप्त भएका छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “तर, मेरो सङ्कल्प र हुटहुटीअनुसार ती पर्याप्त छैनन् भन्ने बुझेर नै नयाँ गठबन्धनको निर्णयमा पुगेको छु । सरकार पुनर्गठनको प्रारम्भिक चरणमै केही महत्वपूर्ण कामहरू भएका छन्, यसले सरकारको उज्यालो भविष्यलाई नै सङ्केत गर्दछ ।”
काठमाडौं: नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको केन्द्रीय अध्यक्षमा कास्कीका किसान सुनार सर्वसम्मत निर्वाचित भएका छन् । काठमाडौंमा जारी १० औं अधिवेशनबाट युवा व्यवसायी सुनार सर्वसम्मत निर्वाचित भएका हुन् । अध्यक्षसहित प्रथम उपाध्यक्ष र द्धितीय उपाध्यक्षमा सर्वसम्मत निर्वाचित हुँदा बाँकी ५ पदाधिकारी र १९ सदस्यका लागि भने निर्वाचन सुरु भएको छ । महासंघको प्रथम उपाध्यक्षमा द्धारिका विश्वकर्मा र द्धितीय उपाध्यक्षमा सुधिर अग्रवाल सर्वसम्मत निर्वाचित भए । शुक्रबारबाट काठमाडौंमा सुरु भएको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको १० औं अधिवेशनबाट किसान सुनारको नेतृत्वका ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुदंैछ । ५ पदाधिकारीसहित १९ जना सदस्यमा निर्वाचन हुँदै नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको तृतीय उपाध्यक्षसहित, महासचिव, २ सचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्ष र १९ जना सदस्यमा निर्वाचन हुन लागेको हो । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको तृतीय उपाध्यक्षमा चितवन सुनचाँदी व्यवसायी संघ पूर्वी चितवनका प्रेम बहादुर विक (खाती) र नेपाल रत्न तथा आभुषण संघका निभा रत्न शाक्यको उम्मेवारी परेको छ । महासंघको महासचिवमा २ जना उम्मेदवारी परेको छ । सुनचाँदी व्यवसायी संघ पाँचथरका विमल धमला (निरबहादुर वि.क) र नेपाल सुनचाँदी शिल्प व्यवसायी संघका टंकबहादुर बराईलीको उम्मेदवार परेको निर्वाचन समितिले जनाएको छ । यस्तै २ सचिव पदमा ३ जनाको उम्मेदारी परेको छ । सगरमाथा सुनचाँदी व्यवसायी संघ,उदयपुरका पृथ्वी विश्वकर्मा, नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका खेमराज विश्वकर्मा (तिरुवा) र नेपाल सुनचाँदी व्यवसायी संघका केशर बहादुर विकले सचिव पदमा उम्मेवारी दिएका हुन् । यस्तै कोषाध्यक्षमा नेपाल रत्न तथा आभुषण संघका प्रविण शाक्य र नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका गणेश प्रसाद विश्वकर्माको उम्मेवारी परेको छ । यस्तै सह–कोषाध्यक्षमा रत्न व्यवसायी संघ नेपालका मेघ नाथ पाण्डेय र नेपाल सुनचाँदी कला व्यवसायी संघका दिपक धनुकको उम्मेवारी परेको छ । यस्तै १९ पदको कार्यसमिति सदस्यमा २४ जनाको उम्मेवारी परेको छ । नयाँ नेतृत्वका लागि सर्वसम्मत गर्ने तयारी गरेपनि अध्यक्ष, प्रथम र द्धितीय उपाध्यक्षबाहेक अन्य पदमा निर्वाचन हुन लागेको हो । सो महासंघमा देशभरका ३२ वटा संस्थाहरु आबद्ध छन । जारी अधिवेशनमा देशभरबाट कुल ३ सय ८४ जना प्रतिनिधि रहेका छन् ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) बीच एकता गर्ने सहमति भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा केन्द्र र समाजवादी पार्टी केन्द्रीय समितिको एकता संयोजन समितिको बैठकले उक्त निर्णय गरेको हो । नेपाल समाजवादी पार्टीका महासचिव रमेशप्रसाद यादव र नेकपा (माओवादी केन्द्र( का महासचिव देवप्रसाद गुरुङले बैठकपछि संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिअनुसार एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुङ्गो लगाउने निर्णय भएको छ । पार्टी एकताका लागि वैचारिक एकरुपता र सङ्गठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ । कार्यदलमा नेकपा (माओवादी केन्द्र का तर्फबाट महासचिव गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेपाल समाजवादी पार्टीका तर्फबाट सहअध्यक्ष गङ्गानारायण श्रेष्ठ र महासचिव यादव रहनुभएको छ । बैठकमा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव गुरुङ सहभागी हुनुहुन्थ्यो भने समाजवादी पार्टीबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष श्रेष्ठ र महासचिव यादव सहभागी हुनुहुन्थ्यो ।
पोखरा: लेखनाथको भण्डारढिकमा भोलि (शनिबार) देखि हुने खेलमहोत्सवको तयारी पूरा भएको छ । सूर्य तारा क्लब (पोखरा) र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा भोलिदेखि ११ गतेसम्म लेखनाथमा हुने सूर्य तारा (नेकोस) खेल महोत्सवको तयारी पूरा भएको नेकोस गण्डकीका अध्यक्ष तथा संयोजक विष्णु पुनले जानकारी दिए । उनका अनुसार सो खेल महोत्सवका उद्घाटन बिहान साढे ११ बजे लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलले गर्ने छन् । उनले राष्ट्रिय स्तरको ब्याड्मिन्टन प्रतियोगिता, गण्डकी प्रदेशस्तरीय तेकवान्दो प्रतियोगिता, विभिन्न जातिका भाmँकी प्रदर्शन प्रतियोगिता र क्लबस्तरीय फुटबल प्रतियोगिताको उद्घाटन हुने बताए । अध्यक्ष पुनका अनुसार फुटबलतर्फ आयोजक नेकोस र त्रिशक्ती युवा क्लब माछापुच्छ्रेबीच उद्घाटन खेल हुनेछ । आगामी ११ गतेसम्म सञ्चालन हुने महोत्सवले खेलकुदको माध्यमबाट राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रचारमा सघाउ पुग्ने आयोजकको विश्वास छ । सो खेल महोत्सवमा फुटबल, ब्याडमिन्टन, एथ्लेटिक, तेक्वान्दो, खुला महिला स्लो स्कुटर रेस, गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता, कास्की जिल्ला स्तरीय विद्यालय स्तरीय नृत्य प्रतियोगिता, संघसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता र लोक दोहोरी प्रतियोगिता समावेश गरिएको छ । यस्तो छ, खेल तालिका महोत्सव अन्तर्गत चैत्र २ र ३ गते खुल्ला ब्याडमिन्टन प्रतियोगिता, चैत्र ३ गते संघसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता, चैत्र ३ र ४ गते गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता, चैत ३ गतेदेखि ११ गतेसम्म पुरुष फुटबल प्रतियोगिता, चैत्र १० गते खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता र चैत ८ देखि १० सम्म खुल्ला लोक दोहोरी प्रतियोगिता हुनेछ भने गत फागुन १९ गते एथलेटिक्स प्रतियोगिता अन्तर्गत ७ किलोमिटरका चार विधामा दौड प्रतियोगिता सम्पन्न भइसकेको छ । खेल महोत्सवमा फुटबल प्रतियोगिता तर्फविजेता टिमले नगद रु ३ लाख ३ हजार ३ सय ३३ र उप विजेता टिमले १ लाख ७७ हजार ७ सय ७७ सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र अनुशासित टिमलाई जनही ७ हजार ७ सय ७७ नगद पुरस्कार प्रदान गरिनेछ । महोत्सवको मुख्य प्रायोजकमा कर्माचार्य वेक्स एण्ड फुड्स प्रालि रहेको छ भने प्रवर्द्धकमा पोखरा महानगरपालिका, गण्डकी प्रदेश खेलकुद परिषद् र राष्ट्रिय खेलकुद परिषद्को साथ रहेको छ । महोत्सवको प्रचारप्रसारकै क्रममा आयोजक नेकोस र मिडियाकर्मीबीच मैत्रीपूर्ण फुटबल आयोजना गरिएको थियो । सो खेलमा मिडियाकर्मीको टोलीले आयोजकलाई ८–५ गोल अन्तरले पराजित गरेको थियो ।
काठमाडौं: कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सुनचाँदा तथा रत्न आभुषण व्यवसायीहरुको गुनासो सुन्न मन्त्रालयको ढोका सधै खुल्ला रहने बताएका छन् । काठमाडौंमा आज देखि सुरु भएको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको दशौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री गिरीले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले व्यवसायीको समस्या र गुनासो सुन्नका लागि आफ्नो मन्त्रालय सधै तयार रहेको बताए । ‘चुनौतीपूर्ण क्षेत्रबाट सुनचाँदी व्यवसायी तथा आभुषण महासंघ अगाडि बढिरहेको छ’, मन्त्री गिरीले भने, ‘अहिले व्यवसायीहरुको गुनासो धेरै छन्, व्यवसायीहरुको गुनासो सुन्ने राज्यको संयन्त्रमा छु, गुनासो सुन्न मन्त्रालयका ढोका सधै खुल्ला रहनेछ ।’ उनले राज्यको कमजोर नीतिका कारण व्यवसायीहरु मारमा परेको उल्लेख गरे । ‘जनताहरुमा अहिले निराशा बढिरहेको छ, जनताको निराशालाई आशामा बढल्ने गरी अब काम गछौं’, उनले भने, ‘राज्यको कमजोर नीतिका कारण व्यवसायीहरुम मारमा परेकाले अब व्यवसायीमैत्री नीति ऐनमा ध्यान दिन्छौं ।’ उनले सुनचाँदी व्यवसायी तथा आभुषण महासंघले राज्यको राजश्वमा महत्वपूर्ण योगदान पु¥याएको बताउदै आफ्नो कार्यकालमा समस्याहरु सक्दो सुल्झाउने प्रतिवद्धता जनाए । यस्तै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले सुनचाँदी व्यवसायी तथा आभुषण महासंघ कला र संस्कृतिको संरक्षक भएको बताए । सरकारले व्यवहारिकताको पाटोलाई हेरेर कार्यनिर्देशिका बनाउनुपर्ने मल्लले धारणा राखे । ‘व्यावसायीहरुलाई पहिला थुन्ने अनि सुन्ने काम पछिल्लो समय भइरहेको छ, उनले भने, ‘ग्राहकहरु पुरानो सुन लिएर बेच्न आउनुहुन्छ । उहाँहरुसँग पुरानो बिल बिजक हुदैन । र व्यवसायीहरुले उहाँहरुको समस्या बुझेर खरिद गर्नुहुन्छ । त्यसकै आधारमा थुनामा पुग्नुपर्ने अवस्था छ । त्यसैले व्यवहारिक पाटोलाई हेरेर निर्देशिका बनाउनुपर्ने देखिएको छ ।’ उनले सुनचाँदी आयातमा भन्सार कर वृद्धि गरेकै कारण अवैध रुपमा सुन भित्रिने र तस्करी बढेको उल्लेख गरे । ‘सुन भित्राउन भन्सारमा बढाइएको १५ प्रतिशत करकै कारण सुनको तस्करी बढेको छ, उनले भने, ‘अबको सरकारले त्यो कार्यलाई कम्तिमा १२ प्रतिशत सम्म झार्नुपर्छ ।’ यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष जोत्सना श्रेष्ठले रत्न तथा आभुषणका लागि कच्चापदार्थ नेपालमै भएकाले सरकारले व्यवस्थापनमा ध्यान दिन आग्रह गरिन् । ‘नेपालमै पाइने रत्नहरु भारतमा सस्तो मूल्यमा निर्यात हुन्छ र नेपालमा भित्राउदा हजारौ बढी तिरेर आयात गर्नुपरेको स्थिति छ । त्यसैले सरकारले यसको व्यवस्थापनमा पनि ध्यान दिन जरुरी छ ।’ आज (शुक्रबार) बाट सुरु भएको दशौं महाधिवेशन भोलि (शनिबार) सकिनेछ । नयाँ नेतृत्वका लागि सर्वसम्मत गर्ने तयारी रहेको छ । सो महासंघमा देशभरका ३२ वटा संस्थाहरु आबद्ध छन् ।

