पोखरा २९ भण्डारढिकमा जारी  ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’  अन्तरगत शनिबारसेभेन ए साइड फुटबल प्रतियोगितातर्फ ७ खेल सम्पन्न भएका छन्  ।    क्लबका अध्यक्ष विष्णुु पुन...

काठमाडौं:    लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिने भएको छ । लोसपाको हिजो बसेको संसदीय दलको बैठकले संसदमा प्रतिपक्षको भूमिका रहने निर्णय गर्दै प्रधानमन्त्री प्रचण्ड नेतृत्वमा रहेको वर्तमान सरकारको विपक्षमा मत हाल्ने निर्णय गरेको छ । साथै आसन्न राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई मतदान गर्ने लोसपाले निर्णय गरेको छ । कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाएको छ । लोसपासँग राष्ट्रिय सभामा एक जना  र प्रतिनिधि सभामा चार जना सांसद छन् । 

काठमाडौं:     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । आज बिहान बसेको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गर्दै सबै सांसदलाई अनिवार्य उपस्थिति भएर मत दिन ह्विप जारी गरेको हो । विश्वासको मतबारे निर्णय गर्न सिंहदरबारस्थित  संसदीय दलको कार्यालयमा बैठक बसेको थियो । चार मन्त्रालयका साथ सरकारमा सहभागी भएको रास्वपाका २१ सांसद रहेका छन् ।

काठमाडौं:    हङकङमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपाल फाइनलमा प्रवेश गरेको छ । लिग चरणको दोस्रो खेलमा पिएनजीलाई ८५ रनले पराजित गर्दै नेपाल उपाधि भिडन्तमा स्थान पक्का गर्न सफल भएको हो । नेपालले प्रस्तुत गरेको १ सय ९९ रनको लक्ष्य पछ्याउने क्रममा पिएनजीले १७ औं ओभरमा अलआउट हुनुअघि १ सय १७ रन मात्र जोड्न सक्यो । मध्यक्रममा हिरी हिरीले २८ तथा ओपनर टोनी उराले १३ र सेसे बाउले २१ रन जोड्नुबाहेक अन्य ब्याटरले खासै योगदान दिन सकेनन् । कुशल भुर्तेलले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । उनले कप्तान असद भाला र लेगा सिआकालाई क्याच आउट तथा किप्लिन डोरिगा र नोर्मन भानुआलाई बोल्ड गरेका थिए । प्रतिश जिसीले २ तथा आकाश चन्द र गुलशन झाले १/१ विकेट लिएका थिए । त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतक प्रहार गरे । नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन जोड्यो । पहिलो विकेटका लागि कुशल र विनोद भण्डारीले ६४ रनको साझेदारी गरे । आठौं ओभरमा विनोद जोन कारिकोको शिकार बने । क्याचआउट हुनुअघि उनले २२ बलमा २ चौका र १ छक्कासहित २७ रन बनाए । लगत्तै अर्को ओभरमा कप्तान रोहित मात्र १ रन जोड्दै कट बिहाइन्ड भए । नवौं ओभरमा आरिफ शेख पनि ७ बलमा ४ रन जोड्दै विकेटकिपरबाट समातिए । त्यसपछि कुशल र सन्दीप जोराले ३० बलमा ५० रनको आक्रामक साझेदारी गरे । कुशलले १३ औं ओभरको चौथो बलमा गार्डनरलाई छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरे । उनले ३२ बलमा आफ्नो नवौं अर्धशतक बनाएका थिए । उनी १५ औं ओभरमा आउट भए । नोर्मन भानुआको बलमा बाउन्ड्रीनजिक क्याच हुनुअघि उनले समान ४ चौका र ४ छक्का प्रहार गरे । कुशल आउट भएपछि सन्दीप जोराले आक्रमण सम्हाले । उनले मात्र २१ बलमा आफ्नो दोस्रो टी-२०आई अर्धशतक पूरा गरे । सन्दीपले १८ औं ओभरमा क्याच आउट हुनुअघि २६ बलमा ५६ रन जोडे । उनले ३ चौका र ३ छक्का प्रहार गरे । लोकेश बम ६ बलमा २ छक्कासहित १४ रन जोड्दै १९ औं ओभरको अन्तिम बलमा रनआउट भए । अन्तिम ओभरमा विवेक यादवले ३ छक्का प्रहार गरेपछि नेपाल बलियो स्कोरसम्म पुग्यो । उनी ४ बलमा १९ रन जोड्दै नटआउट रहे । गुलशन झाले १२ बलमा १ छक्कासहित १५ रन बनाए । पिएनजीका असाद भालाले २ तथा जोन कारिको, नोर्मन भनुआ र नोसेना पोकानाले १/१ विकेट लिए । यस जितले नेपालको २ खेलमा ३ अंक भएको छ । हङकङको १ खेलमा १ तथा पिएनजी अंकविहिन छ ।

पोखरा:     तमु धिं नेपाल केन्द्रिय युवा समितिको अध्यक्षमा कास्कीका रमेश गुरुङ सर्वसम्मत चयन भएका छन् । पोखरामा सम्पन्न भएको तमु धिं नेपाल केन्द्रिय युवा समिति अधिवेशनले रमेश गुरुङको अध्यक्षतामा ४५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । तमु धिं नेपाल केन्द्रिय युवा समितिको अध्यक्षमा निर्वाचित गुरुङ कास्कीको अन्नपूर्ण गाउँपालिका–९ का वडाध्यक्ष समेत हुन् ।  समितिको उपाध्यक्षहरुमा सुदर्शन गुरुङ, अमृत गुरुङ र सपना गुरुङ, सचिवमा रामप्रसाद गुरुङ, सहसचिवमा हेमन्त गुरुङ र शिला गुरुङ, कोषाध्यक्षमा लक्ष्मी गुरुङ, सहकोषाध्यक्षमा विराज गुरुङ चयन भएका छन् ।  युवा साँस्कृतिक विभाग संयोजकमा सुमिना गुरुङ, सहसंयोजकमा रोहित गुरुङ, युवा प्रशिक्षण विभाग संयोजकमा मोनिका गुरुङ, सहसंयोजकमा मनिक गुरुङ, युवा खेलकुद विभाग संयोजकमा चोकबहादुर गुरुङ र सहसंयोजकमा दिपेन्द्र गुरुङ, युवा सुरक्षा विभाग संयोजकमा विकास गुरुङ, सहसंयोजकमा अरुण गुरुङ चयन भएका छन् ।  यस्तै केन्द्रिय सदस्यहरुमा महादेव(राकेश) गुरुङ,निष्मा गुरुङ, आकृति गुरुङ, टोनिस गुरुङ, निश्चल गुरुङ, सुमित्रा गुरुङ, सुहाना गुरुङ, सौगात गुरुङ, खड्गबहादुर गुरुङ, क्षेत्रबहादुर गुरुङ, शेरबहादुर गुरुङ, विजय गुरुङ, निराजन गुरुङ, नबिन गुरुङ, अमन गुरुङ, प्रदिप घले, कृष्ण गुरुङ, दिपक गुरुङ चयन भएका छन् ।  युवा समिति गठन एवम जिम्मेवारी बाँडफाँडका लागि तमु धिं नेपालका केन्द्रिय सदस्यहरु कृष्णकुमार गुरुङ र सुरेन्द्र गुरुङले समन्वयका लागि भुमिका निर्वाह गरेका थिए ।      नवनिर्वाचित युवा समितिलाई तमु धिं नेपालका केन्द्रिय अध्यक्ष हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।  नवनिर्वाचित अध्यक्ष रमेश गुरुङले तमु युवा, समुदाय, संस्थाका लागि युवा समितिको तर्फबाट सक्दो भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे । नवनिर्वाचित युवा समितिलाई तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, संरक्षक परिषद सहसंयोजक मेजर लक्ष्मी प्रसाद गुरुङ, समन्वयकर्ता कृष्णकुमार गुरुङले बधाई र शुभकामना व्यक्त गरे ।  तमु धिं नेपालका प्रथम उपाध्यक्ष गीमाया गुरुङ, महासचिव जुनाकुमारी गुरुङ, अतिथि दिलबहादुर गुरुङ, संरक्षक परिषद सहसंयोजक मेजर लक्ष्मीप्रसाद गुरुङ, तमु धिं नेपाल केन्द्रिय आमा समितिकी अध्यक्ष पवित्रादेवी गुरुङ लगायत केन्द्रिय पदाधिकारी, सदस्यहरु र क्षेत्रीय समाजका अध्यक्षहरुले बधाई ज्ञापन गरे ।  उक्त अवसरमा युवा समितिको माइन्युट तमु धिं नेपालकी महासचिव अधिवक्ता जुनाकुमारी गुरुङले नवनिर्वाचित सचिव रामप्रसादलाई हस्तान्तरण गरिन् ।  नवनिर्वाचित युवा समितिको कोषका लागि तमु धिं नेपालले ५१ हजार रुपैयाँ, संरक्षक परिषद सहसंयोजक मेजर लक्ष्मीप्रसाद गुरुङले ५१ हजार, दिलबहादुर गुरुङले ५१ हजार गरी १ लाख ५३ हजार रुपैया सहयोग गरिएको थियो । 

काठमाडौं:     आज राष्ट्रिय सभा अध्यक्षका लागि मतदात हुँदैछ । बिहान ११:९ बजे बस्ने राष्ट्रिय सभा बैठकमा अध्यक्षको निर्वाचन हुने संघीय संसद सचिवालयले जनाएको छ । अध्यक्षका लागि युवराज शर्मा र नारायण दाहालले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार नेपाली कांग्रेसबाट शर्मा र सत्ता गठबन्धनबाट दाहालले उम्मेदवारी दर्ता गरेका हुन् । निर्वतमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना यही फागुन २० गते कार्यकाल सकेर बिदा भएपछि यो पदमा चुनाव हुन लागेको हो । नयाँ गठबन्धन बनेपछि अध्यक्ष माओवादीलाई दिने सहमति भएको छ । राष्ट्रिय सभामा माओवादी नै पहिलो दलसमेत हो ।  

पोखरा:    कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुसमा फागुन ३० देखि चैत ३ गतेसम्म धम्पुस उत्सव हुने भएको छ । मिलन युवा क्लबले पोखरामा आज (सोमबार) पत्रकार सम्मेलन गर्दै धम्पुस उत्सवको बारेमा जानकारी दिएको हो ।  माछापुच्छ«े गाउँपालिका–७ को संयोजन र मिलन युवा क्लबको आयोजनामा फागुन ३० देखि चैत ३ गतेसम्म धम्पुस उत्सव हुन लागेको हो ।  धम्पुस उत्सव २०८० मा कास्की जिल्ला अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, क्लबस्तरीय महिला भलिबल प्रतियोगिता, टोलस्तरीय प्रौढ भलिबल, सामुहिक नृत्य लगायतका कार्यक्रम आयोजना गरेको क्लबका अध्यक्ष ललित पुनले जानकारी दिए ।  ‘मिलन युवा क्लबले विगतदेखि नै विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ’, अध्यक्ष पुनले भने, ‘यसपटक वडा कार्यालयसँग संयोजन गरेर धम्पुस उत्सव २०८० फागनु ३० देखि ३ गतेसम्म सञ्चालन गर्न लागेका हौं ।’ उनका अनुसार धम्पुस उत्सवमा आयोजित अन्तर कास्की वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ६० हजार र सेमिफाइनलमा पराजित हुने २ टिमले १०÷ १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन एक टिमलाई ५ हजार ५ सय रुपैयाँ शुल्क कायम गरिएको छ ।  यस्तै क्लबस्तरीय महिला भलिबलतर्फको विजेताले ४० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिला भलिबलमा सहभागिता जनाउन एक टिमलाई ३ हजार रुपैयाँ शुल्क कायम गरिएको छ । महिला तथा पुरुष भलिबल प्रतियोगिताको विधागततर्फ सर्वोकृष्ट खेलाडीले ५ हजार, उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही २५÷२५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । कार्यक्रममा माछापुच्छ«े गाउँपालिका–७ का टोलस्तरीय प्रौढ भलिबल प्रतियोगिताको विजेताले खसी र उपविजेताले बोका पुरस्कार पाउनेछन् । यस्तै सामुहिक महिला नृत्य प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने समूहले समानः १५, १० र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।   यस्तै पुरुष रस्साकस्सी प्रतियोगिताको विजेता, उपविजेताले १५ हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै पुरुष छेलो प्रतियोगिताको विजेताले ५ हजार र उपविजेताले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 

काठमाडौं:     सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख पदमुक्त गरेको छ । यसअघि कांग्रेस(माओवादी गठबन्धन हुँदा कांग्रेसको कोटामा नियुक्त भएका प्रदेश प्रमुखलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले पदमुक्त गर्ने निर्णय गरेको हो । गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, मधेशमा हरिशंकर मिश्र र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुख थिए । ती प्रदेशमा नयाँ प्रदेश प्रमुख पनि सिफारिस गरेको छ । जस अनुसार मधेशमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँ सिफारिस भएका सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘कतै विश्वासको मत फिर्ता लिने, कतै मन्त्रीहरुलाई बर्खास्त गर्ने भइरहेको छ । राजनीतिक रुपमा सहज होस्, केन्द्र र प्रदेशको राजनीतिक दृष्टिकोण समान बनोस् भनेर गरिएको हो’, सञ्चारमन्त्री शर्माले भनिन् ।   नयाँ नियुक्ति सिफारिस भएका तीनैजना प्रदेश प्रमुख नेकपा एमाले निकट हुन् ।

काठमाडौं:     नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्विप जारी गरेका हुुन् ।  प्रधानमन्त्री प्रचण्डले यही फागुन ३० गते विश्वासको मत लिन लागेका छन् । उक्त दिन अनिवार्य उपस्थित हुन र विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसले ह्विप जारी गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘मिति २०८० फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभको बैठकमा अनिवार्य उपस्थित हुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निदेएशन (ह्विप) जारी गरिन्छ ।’’ कांग्रेस सम्मिलित गठबन्धन तोडेर प्रधानमन्त्री प्रचण्डले २१ फागुन नयाँ गठबन्धन बनाएका थिए । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)सहितको नयाँ गठबन्धन बनेको छ । गठबन्धन फेरिएपछि कांग्रेस प्रमुख प्रतिपक्ष दल बनेको छ ।

काठमाडौं:    कोटेश्वरमा जुनेली यातायातको बसको ठक्करबाट गम्भीर घाइते हुनुभएका ट्राफिक प्रहरी नायब निरीक्षक टोपबहादुर खत्रीको मृत्यु भएको छ ।  यही फागुन २० गते जुनेली यातायातको प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते खत्रीको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।   उनले भने, “जुनेली यातायातको बसको ठक्करबाट उनी गम्भीर घाइते भएर अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना भएका उनका हिजो उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटना गराउने बसका चालक नवराज गिरी प्रहरी नियन्त्रणमा छन् ।” बसका चालक गिरीलाई प्रहरीले ‘सवारी ज्यान’सम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको र खत्रीको मृत्यु भएपछि अब सोहीअनुसारको मुद्दा प्रक्रिया अगाडि बढ्ने प्रवक्ता श्रेष्ठले बताए ।