कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको बताउनुभएको छ । विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै अर्थतन्त्र सुधारका लागि आफूले सुरुदेखि नै अनवरतरूपमा लागेको र पछिल्लो अवस्थामा अर्थतन्त्रका अधिकाशं सूचकहरू राम्रा हुँदै गएको स्पष्ट पार्नुभयो । “चालु आर्थिक बर्षको सात महिनाको अवधिमा दुई खर्ब ९७ अर्ब ७२ करोड रुपैयाले शोधनान्तर बचत छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “विदेशी विनिमय सञ्चिति १९ दशमलव ९ प्रतिशतले बृद्धि भई झण्डै १८ खर्ब ४५ अर्ब रुपैया बराबर पुगेको छ ।” व्यापार घाटा एक दशलव ८ प्रतिशतले घटेको उल्लेख गर्दै प्रधानमन्त्रीले आन्तरिक अर्थतन्त्रतर्फ सात महिनाको अवधिमा मुद्रास्फिति ५ दशमलव १ प्रतिशतमा सीमित गरिएको बताउनुभयो । उहाँले कर्जा प्रवाह ४ दशमलव ७ प्रतिशतले बढेको छ उल्लेख गर्नुभयो । “विद्यमान आर्थिक अवस्थालाई सरकारको ठूलो उपलब्धिका रुपमा व्याख्या गर्न नसकिने होइन तर आन्तरिक उत्पादन र रोजगारी वृद्धिमा अपेक्षित प्रगति हुन सकेको छैन,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “पूँजीगत खर्च पनि अपेक्षा अनुसार बढाउन सकिएको छैन । राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त आयोजनालाई थप द्रुतता दिने, पुँजीगत खर्च बढाउने र सार्वजनिक सेवा प्रवाहमा थप सुधार गर्नुपर्ने छ ।” उहाँले प्रशासनयन्त्रलाई चुस्तदुरुस्त बनाउनु, प्रक्रियागत अवरोधहरु हटाउनु र निजी क्षेत्रको क्षमताको पूर्ण उपयोग हुने वातावरण सिर्जना गर्नु आफ्नो पहिलो प्राथमिकता हुने स्पष्ट पार्नुभयो । बैङ्क तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैङ्कहरूको आधार ब्याजदर एकल अङ्कमा पुगेको र ऋणको ब्याजदर पनि घटेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “व्यापार घाटामा कमी आएको छ, तर निर्यात बढाउन सकिएको छैन । विप्रेषण त बढे्को छ तर योसँगै भित्रिने सीप, अनुभव र दक्षताको उपयोग गरी देशभित्र उत्पादन र रोजगारी बढाउन सकिएको छैन ।”

ललितपुर:     राष्ट्रपति रामचन्द्र पौडेलले सुन्दर प्रकृति र वैभवशाली संस्कृतिले नेपाल विश्वमा आकर्षणको केन्द्र बनेको बताएका छन् । ललितपुरको बालकुमारीस्थित पुनःनिर्मित बालकुमारी मन्दिर समुद्घाटन समारोहमा राष्ट्रपति पौडेलले काठमाडौं, ललितपुर र भक्तपुरका महत्त्वपूर्ण ऐतिहासिक सम्पदाहरूको पुनःनिर्माण गरी जीवन्त राख्न गरेको प्रयास र यसले पर्यटन प्रवर्द्धनमा पुर्याएको योगदान प्रशंसनीय रहेको बताए । “काठमाडौँ उपत्यका कला र बहुसंस्कृतिको वैभवशाली सहर हो । ललितपुर महानगरले धेरै सम्पदा पुनःनिर्माण गरेर ताजगीपन दिन गरेको योगदान सराहनीय छ । देशभरका स्थानीय तहमध्ये यो महानगर उदाहरणीय पालिका बन्न सफल भएको छ । यहाँको अनुशरण अरु स्थानीय तहले गर्ने हो भने देश समृद्ध बन्नेमा विश्वस्त हुन सकिन्छ”, राष्ट्रपति पौडेलले भने। उनले पर्यटनको विकासका लागि हाम्रो कला र संस्कृति विश्वमा आकर्षणको केन्द्र बनेकाले यिनको जगेर्ना गर्नुपर्नेमा जोड दिए । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विसं २०७२ को भूकम्पले क्षतविक्षत् भएको बालकुमारी मन्दिर बनाउन महानगरपालिकाले आर्थिक सहयोग गरेको जानकारी दिँदै मन्दिर पुनःनिर्माण गरी राष्ट्रपतिको हातबाट समुद्घाटन गर्न पाएकामा खुसी व्यक्त गरे । उनले देवालय, शिवालयजस्ता पुरातात्विक महत्वका सम्पदा निर्माणमा सार्वजनिक खरिद ऐन, २०६३ बाधक भएको भन्दै उक्त ऐन संशोधन गर्न सुझाव दिए । उनले कुनै समस्या सिर्जना नहुने गरी आफ्नो कार्यकालभित्र ऐतिहासिक महत्त्वका एक सय ५५ वटा मठमन्दिर, पाटीपौवा, देवालय, शिवालय, फाल्चा निर्माण सम्पन्न गरेको पनि जानकारी दिए । बालकुमारी मन्दिर संरक्षण तथा पुनःनिर्माण समितिका अध्यक्ष खड्गलाल महर्जनले मन्दिरको ऐतिहासिक पृष्ठभूमि तथा पुनःनिर्माणका बारेमा जानकारी गराए ।

नुवाकोट:    नुवाकोटको किस्पाङ गाउँपालिका–५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका छन् ।  ५५ वर्षीय नेपालीको गत बिहीबार मध्यरातमा भएको हत्यामा संलग्न रहेको अभियोगमा मङ्गलबार उनका छोरा र बुहारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुुसार पक्राउ पर्नेमा १७ वर्षीय युवक र उनकी श्रीमती ३७ वर्षीया जमुना नेपाली रहेका छन् । “बाबु  छोराबीच यही फागुन २५ गते रातको समयमा घरायसी विषयमा भएको विवादमा १७ वर्षीय युवक र उनकी श्रीमतीले  ‘ढोकामा लगाउने आग्लोले टाउकामा प्रहार गरी घाँटी थिचेर हत्या गरेको’ पाइएकाले पक्राउ गरिएको हो”, प्रनाउ खड्काले भन्नुभयो, “शव परीक्षण प्रतिवेदन र अभियुक्तहरूको बयानका आधारमा उनीहरूको संलग्नता पाइएकाले मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसुरमा कारबाहीका लागि अनुसन्धान अघि बढाएका छौँ ।” प्रहरीको प्रारम्भिक अुनसन्धानका क्रममा अभियुक्तहरूले आफूहरूले भनेका विषयमा बाबुबाट असहयोग हुने गरेकाले ‘हत्या गरेको’ भनेर स्वीकार गरेको पाइएको छ । ती युवकले दुई वर्षअघि जमुनासँग विवाह गरेका थिए । त्यसपश्चातदेखि नै बाबुसँग आफूहरूको विवाद उत्पन्न हुँदै आएको प्रहरीसमक्ष ती अभियुक्तले बयान दिएका छन् ।

पाेखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीले बाल यौन दुर्व्यहार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर ८ सभागृह बस्ने  ४६ वर्षीय सुरेश श्रेष्ठ रहेका छन् ।     उनीविरुद्ध गत फागुन २८ गते बिहान साढे ७ बजेको समयमा १५ वर्षकी बालिकालाई यौन दुर्व्यहार गरेको उजुरी परेको थियो ।   सोही उजुरीको आधारमा पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो ।   पक्राउ परेका उनीमाथि बाल यौन दुर्व्यहार कसुरमा ५ दिन म्याद थप गरि आवश्यक अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।

पोखरा:   गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता आगामी चैत्रको अन्तिम साता  हुने भएको छ ।   उक्त प्रतियोगिता प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको व्यवस्थापनमा  हुन लागेको हो ।   सो प्रतियोगिता चैत्र २५ देखि ३० गतेसम्म पोखरा रंगशालामा आयोजना हुने गण्डकी प्रदेश फुटबल संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।   उनका अनुसार प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य दिल बहादुर गुरुङको संयोजकत्वमा गठित आयोजक समितिको बैठकले प्रतियोगिताको मिति निर्धारण गर्दै गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट टिमको सहभागिता गराइने बताइएको छ ।   नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको पहिलो चरणको तयारी सुरु भएको गण्डकी प्रदेश फुटबल संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिए।  

काठमाडौं:     राष्ट्रियसभा अध्यक्षमा माओवादीका उम्मेदवार नारायण दाहाल निर्वाचित भएका छन् । आज भएको राष्ट्रियसभाको अध्यक्ष निर्वाचनमा कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै दाहाल विजयी भएका हुन्। दाहाललाई एमाले, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थन छ । माओवादीको १८, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ गरी दाहालले ३९ प्राप्त गरे । भने कांग्रेसका शर्मालाई कांग्रेसको १६ र लोसपाका एक गरी १७ मत ल्याए । जम्मा ५६ भोट खसेको थियो ।

काठमाडौं:    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का बिच ७ बुँदे सहमति भएको छ । मंगलबार बिहान नयाँ बानेश्वरमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा दलहरुबिच लिखित सहमति भएको हो । सहमति पत्रमा जनचाहनाअनुरूप सुशासन, विकास र सामाजिक न्यायका आकाङ्क्षा पुरा गर्न, राष्ट्रिय हित र सरोकारलाई प्राथमिकतामा राखेर सन्तुलित र फराकिलो अन्तर्राष्ट्रिय सम्बन्धको विकास गर्न तथा नेपालको संविधानको मर्म र भावनाअनुरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धिको दिशामा प्रभावकारी ढङ्गले अघि बढ्न सहमत भएको उल्लेख छ । सहमति पत्रमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा पुनर्गठित वर्तमान सरकारलाई सुदृढ र सफल पार्ने भनिएको छ ।त्यस्तै राष्ट्रिय सभाको रिक्त रहेको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का उम्मेद्वारलाई समर्थन गर्ने तथा नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने उल्लेख छ । त्यस्तै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुङ्ग्याउने र सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने पनि दलहरूबिच सहमति भएको छ । देशका आर्थिक समस्याहरू सम्बोधन गर्दै राष्ट्रिय हित र लोकतन्त्रलाई सुदृढ बनाउन सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरूका बिचमा साझा न्यूनतम कार्यक्रम तयार गर्ने भनिएको छ ।  

पर्वत:    कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले तीनै तहका सरकारलाई आवश्यक पर्ने कानुन निर्माण गर्न सङ्घीय सरकारले ढिला नगर्ने बताउनुभएको छ । आज गृह जिल्ला पर्वतमा नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री गिरीले आवश्यक कानुन निर्माणमा मन्त्रालय जुटेको बताउनुभयो ।  “अहिले पनि कतिपय महत्वपूर्ण ऐन, कानून र नीतिको अभावमा सङ्घीय, प्रदेश र स्थानीय सरकारले काम गर्न नपाइरहेको गुनासो छ । सो समस्या समाधानका लागि छिटोभन्दा छिटो आवश्यक ऐन निर्माणका लागि गृहकार्य भइरहेको छ”, उहाँले भन्नुभयो ।  मन्त्री गिरीले कतिपय नीति तथा कानुन अहिलेको परिस्थिति प्रतिकुल रहेको भन्दै मुलुक र आम नागरिकका लागि आवश्यक नीति तथा कानून निर्माण जरुरी रहेकोमा जोड दिनुभयो । उहाँले आवश्यक ऐन तथा कानुन निर्माणको जिम्मेवारी र दायित्व आफ्नो काँधमा आएको भन्दै सबै मन्त्रालय र सरोकारवालासँगको समन्वयमा अघि बढ्ने समेत उल्लेख गर्नुभयो । मन्त्री गिरीले मुलुक चरम आर्थिक सङ्कटमा रहेका बेला यसको सुधारका लागि उचित कानुन निर्माण अहिलेको आवश्यकता भएको बताउनुभयो । “अहिलेका नीति लगानीमैत्री छैनन्”, उहाँले भन्नुभयो, “लगानी र व्यवसायीमैत्री कानुन बनाउन हामी लाग्छौँ ।” वर्तमान सरकार मुलुकमा सुशासन कायम गर्नका लागि गम्भीर रहेको भन्दै मन्त्री गिरीले मुलुक अप्ठ्यारो अवस्थामा रहेका बेला सरकार परिणाममुखी काम गर्नेगरी अघि बढेको बताउनुभयो । उहाँले न्याय क्षेत्रमा रहेका विकृति विसङ्गतिको पनि अन्त्य गरिने दाबी गर्नुभयो ।  उहाँले वर्तमान सत्ता गठबन्धन आगामी चार वर्ष नै टिक्ने जिकिर  गर्नुभयो । उहाँले सत्य निरुपण तथा मेलमिलाप, सङघीय निजामती ऐन र शिक्षा ऐन तत्काल सदनबाट पास गरेर देशलाई निकास दिने समेत उल्लेख गर्नुभयो ।