पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले स्कुटर चोरी गरेको आरोपमा १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मीको मदाने गाउँपालिका ३ घर भई हाल पोखरा महानगरपालिका ९ नयाँबजार बस्ने ३४ वर्षीय दिपक सुनार रहेका छन् । उनलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले चोरी गरिएको ग १० प ४४१२ नम्बरको स्कुटर सहित पक्राउ गरिएको हो । दिपकले आज बिहान करिब पौने ५ बजे लेकसाइडको क्लब क्याटवाक अगाडी पार्किङमा रहेको स्कुुटर चोरी गरेका थिए । हाल पक्राउ परेका उनीविरुद्व कास्की जिल्ला अदालतबाट दिन ७ (सात) म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
धनगढीः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले वर्तमान सत्ता समीकरण पूरै समयावधि चल्ने बताउनु भएको छ । प्रेस सेन्टर कैलालीद्वारा आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले बाहिर चलेका हल्लाका पछाडि लाग्न हुँदैन, सत्ता समीकरण पुरै समयावधि जाने बताउनुभयो । उहाँले प्रदेश सरकार गठन अन्तिम चरणमा पुगेको बताउनु हुँदै अव प्रदेश सरकार बलियो भएर अघि बढ्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले अहिलेको सत्ता समीकरण वामपन्थी र गैरवापन्थी दलहरुको भएको बताउनुभयो। अहिले वाम एकता भन्नु सही पनि छैन, वामपन्थी समीकरण भनेर सत्ता समीकरण गरिएको पनि होइन, यो राजनीति समीकरण मात्र हो, राम्रो काम हुँदै गयो, समझदारी बन्दै गयो भने वामपन्थी एकताको सम्भावना पनि छ उहाँले भन्नुभयो । प्रधानमन्त्री प्रचण्डले कतारका राजाको नेपाल भ्रमण, लगानी सम्मेलन, ऐन संशोधनको तयारीमा सरकार जुटेको बताउनु भयो । उहाँले आगामी बजेट नयाँ तरिकाले ल्याउने गरि सरकार लागिपरेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्ड आजै महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविधालयको दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ ।
लुम्बिनीः लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिनुभएको छ । मन्त्री अहिरको पार्टी जनता समाजवादी पार्टी (जसपा)ले सरकारबाट फिर्ता हुन निर्देशन दिएपछि राजीनामा दिनुभएको हो । मन्त्री अहिरले शनिबार नै राजीनामा बुझाए पनि आइतबार मात्र सार्वजनिक भएको हो । उहाँले मुख्यमन्त्री जोखबहादुर महराले गत चैत २२ गते आफ्नो पार्टीसँग गरेको लिखित सम्झौता कार्यान्वयन नगरेको भन्दै नेपालको संविधानको धारा १६९ को उपधारा (२) वमोजिम राजीनामा दिएको उल्लेख गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेता महरा नेतृत्वको सरकारमा गत चैत २५ गते मा चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्दा जसपाबाट अहिर बिना बिभागिय मन्त्री नियुक्त हुनुभएको थियो । वैशाख ६ गते उहाँले कृषि तथा भूमि व्यवस्था मन्त्रीको जिम्मेवारी पाउनुभएको थियो । सरकार गठनका क्रममा सरकारलाई समर्थन गरेका दलबिच भएको सझौताअनुसार जसपालाई सहरी विकास तथा पर्यटन र कृषि तथा भूमि व्यवस्था मन्त्रालय दिने लिखित सझौता भएको थियो । प्रदेशसभामा तीनजना सदस्य भएको जसपाले सरकारलाई दिएको समर्थन भने कायमै राखेको जनाएको छ ।
पाल्पाः पाल्पामा शनिबार दिउँसोदेखि लागेको आगो निभाउने क्रममा २ जना घाइते भएका छन् । घाइते हुनेमा रैनादेवी छहरा १ का ५५ वर्षीय टोपबहादुर बुढा र माथागढी ४, जामुनडाँडाका ६५ वर्षीय पूर्णबहादुर काम्मु छन् । गम्भीर घाइते भएका बुढालाई थप उपचारका लागि तानसेनस्थित अस्पतालमा रिफर गरिएको रैनादेवी छहरा–१ का वडा अध्यक्ष सोमबहादुर दर्लामीले जानकारी दिए। सिद्धेश्वरको साउने, मन्द्रान, मोहरे क्षेत्रमा शनिबर बिहानैदेखि आगलागी भएको थियो । स्थानीय खमीसरा काम्मुको गोठबाट सल्केको आगोले ५ जनाको घर गोठ जलेर पूर्ण रूपमा नष्ट भएको थियो । घर गोठमा लागेको आगो नियन्त्रणमा आए पनि उक्त आगो जंगलमा पसेको र अझै नियन्त्रणमा आउन नसकेको स्थानीयले बताएका छन् । यसैबीच जिल्ला सदरमुकाम तानसेनसहित जिल्लाका विभिन्न स्थानमा गरी २ दर्जनबढी स्थानमा डढेलो लागेको छ । तानसेनको बतासेडाँडा, श्रीनगरडाँडा, धरमपानी, वनदेवी, विस्कुनडाँडाको तल्लो भेगलगायतका क्षेत्रमा आगो लागेको हो । यस्तै बगनासकालीको चिर्तुङधारा, बगनास, रिब्दीकोकोटको विभिन्न स्थानमा लागेको आगो पनि नियन्त्रणमा आउन नसकेको स्थानीयले जनाएका छन् ।
काठमाडौंः कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आगामी मङ्गलबार नेपालको दुईदिने औपचारिक भ्रमण गर्नुहुने भएको छ । अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताउनुभयो । कतारी अमिर एसियाली मुलुकको औपचारिक भ्रमणमा आज निस्कनुहुने तथा त्यस क्रममा उहाँले फिलिपिन्स, बङ्गलादेश र नेपालको भ्रमण गर्ने राजदूत अल अन्सारीले बताउनुभयो । राजदूत अल अन्सारीका अनुसार अमिर अल थानीले तीनवटै देशका उच्च नेतृत्वसँग पारस्परिक चासो र सहयोग अभिवृद्धिमा केन्द्रित रहेर भेटवार्ता गर्नुहुनेछ । कतारी प्रतिनिधिमण्डलका नेता अमिरको उपस्थितिमा विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्द्धन गर्नेसम्बन्धी सम्झौता र सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । कतारका अमिरबाट पहिलो पटक यो भ्रमण हुन लागेको हो । भ्रमणका क्रममा दुई देशबीचको श्रम सम्झौतालाई परिस्कृत गर्नेलगायत विषयलाई उच्च प्राथमिकतामा राखिएको बताइएको छ ।
गाेरखा: हिमपहिरोको कारण गोरखाको बूढीगण्डकी नदीमा ठूलो बाढी आएको गृह मन्त्रालयले जनाएको छ। हिउँ पहिरो खसेपछि गोखराको चुमनुब्री गाउँपालिका(१ स्थित वीरेन्द्रताल फुटेकाले बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको भन्दै गृहले सचेत रहन नदी आसपासका नागरिकलाई आग्रह गरेको हो। ताल फुटेपछि बूढीगण्डकी नदीमा पानीको बहाब उच्च भएको छ। बाढीले नदी आसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार घटनाबारे बुझ्न सामागाउँ चौकीबाट प्रहरी त्यसतर्फ गएको पनि प्रवत्ता भट्टराईले जानकारी दिए।
तनहुँ: इलाका प्रहरी कार्यालय बेलचौताराले आफ्नै बुवाको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीगाउँपालिका–६ बस्ने २६ वर्षीय दिपक बिक रहेका छन् । तनहुँ प्रहरीका अनुसार उनले आफ्नै ७६ वर्षीय बुवा रापबहादुर बिकलाई चक्कु प्रहार गरी हत्या गरेका थिए । तनहुँ शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित छोरी रस्मी बिकको घरमा बस्दै आएका राप बहादुरलाई दिपकले चक्कु प्रहार गरी हत्या गरेको सूचना प्राप्त भएपछि सोही आधारमा शुक्रबार दिपकलाई पक्राउ गरिएको हो । सो विषयमा थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।
हेटौंडा: बागमती अटोमोबाइल्स एसोसिएसन र चितवन अटोमोबाइल्स डिलर एसोसिएसनको संयुक्त आयोजनामा भएको अटोक्रस्ट च्याम्पियनसिप कम्पिटिसन २०२४को उपाधि सुमन तामाङले जितेका छन् । हेटौंडाको गौरीटार स्टेडियम भित्र एक किलोमिटर अस्थायी ट्रयाकमा सम्पन्न सो प्रतियोगितामा राजन पिया दोस्रो बने । दुवैजना यसै वर्ष हुने एसिया प्यासिफिक अटो जिमखाना च्याम्पियनसिपमा सहभागी हुनेछन् । नेपालभरका ड्राइभर्सहरूको खुल्ला प्रतियोगितामा विजयीहरूलाई बागमती खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी, उद्यमी अरुणराज सुमार्गी, नेपाल खेलकुद महासंघका महासचिव धरम कुमार लामा, नेपाल अटोमोबाइल एसोसिएसनका उपाध्यक्ष अनिल कुमार बराल तथा कोशी अटोमोबाइल एसोसिएसनका अध्यक्ष प्रकाश कपुरी लगायतले पुरस्कृत गर्नुभयो । पहिलोपटक डिजाइन गरिएको कलात्मक ट्रयाकमा सहभागी हुन सबै उमेर समूहका ड्राइभरहरू उत्साहित थिए तर उनीहरूको ड्राइभङ स्किल, उमेर अवस्था, शारीरिक क्षमता र स्वास्थ्य अवस्था समेतको विश्लेषण गरी फाइनल राउन्डमा २० जना ड्राइभर्स र नेभिगेटरहरुलाई मात्र चयन गरिएको थियो । यसअघि गरिएको ओरिएन्टेसनमा राउन्डमा भने १८ ड्राइभर्स र १६ को–ड्राइभर सहभागी थिए । बागमती प्रदेश संघले पहिलोपटक तथा नासा नेपालले काठमाडौँ बाहिर पहिलोपटक आयोजना गरिएको सो प्रतियोगिता अन्तर्राष्ट्रिय अटोमोबाइल फेडरेसन एफआईएका स्पोर्ट्स ग्रान्ट अन्तर्गत र बागमती खेलकुद विकास परिषद् र भरतपुर मनपाको विशेष सहयोग तथा पोखरा राइडर्स क्लबको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।
पोखरा: ब्रान्डेड र गुणस्तरीय पर्फ्युमका पारखीहरुलाई लक्षित गरी ‘इना सेन्टर’ले आफ्नो पाँचौं आउटलेट पोखरा सभागृहचोकको मिडटाउनमा खोलेको छ । ब्रान्डेड पर्फ्युमको व्यवसाय गर्दै आएको इना सेन्टरका काठमाडौंको सिभिल मल, बबरमहल रिभिजिटेड, धर्मपथ र दरबार मलसँगै पोखरामा पनि पाँचौं आउटलेटको रुपमा सञ्चालनमा ल्याएको हो पोखरामा शनिबारदेखि सञ्चालनमा आएको सेन्टर बिहान ११ बजेदेखि साँझ साढे ७ बजेसम्म खुला रहने प्रबन्ध निर्देशक उद्धव बर्तौलाले बताए । उनका अनुसार सेन्टरमा क्लिभ क्रिस्टियन, लिक्विड्स इमेजिनरिज, निसेन, टिजियाना, एसेन्सियल, भिक्यान्टोलगायत पर्फ्युमहरू उपलब्ध रहेको छ । पोखरामा पनि ब्रान्डेड पर्फ्युमका पारखीहरु रहेको हुँदा उनीहरुको सेवाका लागि नयाँ आउटलेट थपेको बताए । ‘कतिपयले अनलाइनबाटै अर्डर गर्नुहुन्थ्यो, कतिपय काठमाडौं नै पुगेर पनि किन्नुहुन्थ्यो, उनले भने, ‘अब पोखरेली ग्राहक भएकै ठाउँमा हामी आएका छौं । पोखराको आउटलेटमा अहिले २ हजारदेखि ५० हजारसम्मका पर्फ्युम उपलब्ध छ ।’ काठमाडौं बाहिर पोखरासँगै धरान, इटहरी र चितवन लगायत सहरमा पनि इना सेन्टरकोे आफ्नै आउटलेट थप्ने योजना छ । इना सेन्टर पोखरा आउटलेटको नेपाली फिल्मकी कलाकार वर्षा राउत, युवा उद्यमी वैभव पौडेल र पत्रकार रामकृष्ण ज्ञवालीले शनिबार संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

