कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

काठमाडौं:      नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई वेस्ट इन्डिज ‘ए’ टोलीले दोस्रो टी–२० खेलमा जितको लागि मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १ सय ६१ रनको लक्ष्य पेश गरेको छ ।  वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले ३६ बलमा ३ छक्कासहित सर्वाधिक ४३ रन बनाए । यस्तै गुडाकेश मोती इनिङको अन्त्य तिर आक्रामक केहि आक्रामक ब्याटिङ गर्दै ८ बलमा २ चौका र ४ छक्का सहित ३३ रनमा अविजित रहे । म्याथ्यु फर्ड ६ बलमा ११ रन बनाएर नटआउट रहे ।   सुरुवात देखि नै लगातार अन्तरालमा विकेट गुमाएको वेस्ट इन्डिजले पहिलो खेलमा जस्तो आक्रामक ढंगले ब्याटिङ गर्न भने सकेन ।   आजको खेलमा टोलीमा आएका सागर ढकालले नेपालका लागि आफ्नो पहिलो ओभरमै दुई विकेट लिँदै राम्रो सुरुवात दिलाएका थिए । पहिलो खेलमा राम्रो सुरुवात दिलाएका ओपनर एलिक अथान्जे तेस्रो ओभरको दोस्रो बलमा ६ रन बनाएर कुशल मल्लद्वारा क्याच आउट भएका थिए । यस्तै सोहि ओभरको पाचौ बलमा सागरले अर्का ओपनर जोनसन चार्ल्सलाई ११ रन बनाएको अवस्थामा बोल्ड गर्दै पेभेलियन फर्काए । तेस्रो र चौथो नम्बरमा क्रिजमा पुगेका आन्द्रे फ्लेचर र कप्तान रोस्टन चेज मिलेर तेस्रो विकेटका लागि ४६ रनको साझेदारी गरे । सो साझेदारी कुशल भुर्तेलले तोडेका थिए । चेज २२ बलमा २ चौका र १ छक्कासहित २३ रन बनाएर १०औ ओभरको अन्तिम बलमा कुशलद्वारा बोल्ड भएका थिए ।    १४औ ओभरमा केसी कार्टीलाई आउट गर्दै कुशलले नै नेपाललाई चौथो सफलता दिलाए । केसी १६ बलमा १० रन बनाएर नेपालका कप्तान रोहित पौडेलद्वारा लङ(अनमा क्याच आउट भएका हुन् ।    पाचौँ सफलता सोमपाल कामीले १७औ ओभरको पहिलो बलमा दिलाए । पाचौ विकेटका रुपमा किमो पल १० बलमा ८ रन बनाएर सोमपालको बलमा बोल्ड भए । १८औ ओभरमा हेडन वाल्सलाई ९ रनमा रोहितले रनआउट गराए । उनले ७ बल खेल्दै २ चौका प्रहार गरेका थिए ।   सोहि ओभरमा फ्लेचर पनि आउट भए । उनलाई दीपेन्द्र सिंह ऐरिले लङ(अफमा कप्तान रोहितद्वारा क्याच आउट गराए ।  नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले समान २(२ विकेट लिए । सागरले ४ ओभरमा १९ रन दिए भने कुशलले ४ ओभर बलिङ गर्दै २२ रन खर्चिए । दीपेन्द्र सिंह ऐरिले ३ ओभरमा १ विकेट लिँदै ३९ रन खर्चिए । सोमपाल कामिले २ ओभरमा १८ रन खर्चेर १ विकेट नै लिए । आकाश चन्दले ३ ओभरमा ३९ रन दिँदै कुनै विकेट लिएनन् भने कुशल मल्लले पनि ४ ओभरमा २३ रन दिँदा लिएनन् ।    नेपाली टोलीले पहिलो खेलबाट ५ परिवर्तन गरेको छ । लोकेश बम, आरिफ शेख, सोमपाल कामी, आकाश चन्द र सागर ढकालले आज खेल्दैछन् । पहिलो खेलबाट विवेक यादव, प्रतिश जिसी, कमल सिंह ऐरी, अभिनाश बोहोरा र ललित राजवंशी बाहिर छन् । पहिलो खेल नेपालले ४ विकेटले जितेको थियो ।  वेस्ट इन्डिजले पनि टोलीमा एक परिवर्तन गरेको छ । मध्यक्रमका ब्याटर कदिम एलेनेको स्थानमा स्पिनर हेडन वाल्स जुनिअर टोलीमा आएका छन् ।

काठमाडौंः  चीनले नेपाली नागरिकलाई भिसा निःशुल्क गरेको छ ।   १ मे २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क नलिने निर्णय गरेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । नेपालका लागि चिनियाँ राजदूत छन सङले दुई देशबीचको सम्बन्धलाई प्रवर्द्धन गर्न र सेवालाई थप सहज बनाउन यस्तो निर्णय लिइएको जानकारी दिएका छन् ।   दूतावासका अनुसार नियमित भिसा शुल्क नलागे पनि एक्सप्रेस शुल्क र सेवा शुल्क भने लिइने छ । चिनियाँ दूतावासले नियमित, एक्सप्रेस–१ र एक्सप्रेस–२ भिसाका लागि शुल्क लिने गरेको थियो । नियमित शुल्क अब लाग्ने छैन । दूतावासले एक्सप्रेस–१ का लागि ४०० र एक्सप्रेस–२ का लागि २ हजार ७०० रुपैयाँ लिने छ । यसैगरी ग्रुप भिसातर्फ एक्सप्रेस–१ का लागि २ हजार र एक्सप्रेस–२ का लागि १ हजार ३५० रुपैयाँ लाग्ने दूतावासले जनाएको छ ।   यसैगरी भिसा सेन्टरले नियमित भिसाका लागि सेवा शुल्कवाफत् ३ हजार ९०० रुपैयाँ लिनेछ । एक्सप्रेस–१ का लागि ७ हजार ८०० र एक्सप्रेस–२ का लागि ५ हजार ८५० रुपैयाँ तोकिएको छ ।   नेपालले पहिलेदेखि नै चिनियाँलाई भिसा शुल्क लिँदैन । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले हालै गरेको चीन भ्रमणको क्रममा नेपालीलाई भिसा निःशुल्क गर्न चिनियाँ पक्षलाई आग्रह गर्नुभएको थियो।

काठमाडौंः   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन आह्वान गर्नुभएको छ ।   ‘नेपाल लगानी सम्मेलन २०२४’को आज यहाँ उद्घाटन गर्दै उहाँले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएको बताउनुभयो ।   नेपाल उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको जानकारी दिनुभयो । लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहज अवस्था सिर्जना गर्न नेपाल निरन्तर अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले हालै मात्र व्यवसाय र लगानीसम्बन्धी विभिन्न आठ कानुन परिमार्जन गरिएको जानकारी गराउनुभयो ।   उहाँले भन्नुभयो, “मलाई विश्वास छ, यसले नेपालमा लगानी गर्ने लगानीकर्ताको आत्मविश्वास बढाउँछ ।”   नेपालमा शान्ति र स्थायित्व कायम भइ आर्थिक विकास र समृद्धिका लागि अनुकूल वातावरण सिर्जना भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सङ्घीय शासन प्रणालीले राष्ट्रव्यापी सामाजिक र आर्थिक रूपान्तरणलाई बढावा दिने सन्तुलित विकास दृष्टिकोण सुनिश्चित गरेको स्पष्ट पार्नुभयो ।   “नेपालले विदेशी लगानीकर्तालाई सबल नियामक ढाँचा, दोहोरो करमुक्ति, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण, प्रतिस्पर्धात्मक कर्पोरेट करलगायत धेरै प्रोत्साहन प्रदान गर्दछ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “नेपाल सरकारले हालै द्विपक्षीय लगानी सम्झौताको ढाँचालाई स्वीकृत गरेको छ, यसले द्विपक्षीय लगानीको संरक्षण र प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।” उहाँले मित्र राष्ट्रहरूलाई द्विपक्षीय लगानी सम्झौतामा हस्ताक्षर गर्न आह्वान गर्नुभयो ।   नेपालले अवलम्बन गरेका उदार नीतिले प्राथमिकताका क्षेत्रमा विदेशी लगानीलाई प्रोत्साहन गर्ने प्रधानमन्त्रीको विश्वास छ । उहाँले नेपालमा भएका दक्ष जनशक्ति र कम श्रम लागत पनि अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि आकर्षण हुने बताउनुभयो ।   प्रधानमन्त्री दाहालले भन्नुभयो, “प्रत्यक्ष वैदेशिक लगानीकर्ता र राष्ट्रिय लगानीकर्तालाई कुनै पनि भेदभावपूर्ण व्यवहार नगरिने प्रावधान र विदेशी मुद्रामा नाफा फिर्ता लैजान पाउने सुनिश्चितताले नेपालमा लगानीको आकर्षण अझ बढाउँछ ।”   नेपालको ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या श्रमिक उमेर समूहभित्र पर्ने बताउँदै प्रधानमन्त्री दाहालले तीव्ररूपमा बिस्तार हुँदै गएको मध्यमवर्गीय जनसङ्ख्याले उपभोक्तामुखी अवस्थाको अपार सम्भावना देखाएको बताउनुभयो ।   उहाँले विदेशी भाषा बोल्ने युवाहरूको सङ्ख्या उल्लेख्य मात्रामा रहँदा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई श्रमशक्ति खोज्न मद्दत पुग्ने उल्लेख गर्नुभयो ।   “नेपालले पर्यटन, कृषि, उत्पादन, सूचना प्रविधि, गार्मेन्ट, कृषि प्रशोधन र पूर्वाधारलगायत उच्च मूल्यका बाली उत्पादन जस्ता क्षेत्रमा लगानीका अवसरहरू उपलब्ध गराएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “जलविद्युत् उत्पादनको प्रचुर सम्भावनाले नवीकरणीय र स्वच्छ ऊर्जा आपूर्तिको प्रतिबद्धता व्यक्त गरेको छ । समृद्ध सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यले पर्यटन क्षेत्रको बलियो सम्भावनालाई संकेत गर्दछ ।”   नेपालमा जलविद्युत् उत्पादनको प्रचूर सम्भावना भए पनि हालसम्म तीन हजार २०० मेगावाट मात्रै उत्पादन भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले करिब पाँच हजार पाँच सय ६८ मेगावाटका ठूला आयोजना सार्वजनिक–निजी साझेदारी (पिपीपी) मार्फत निर्माण वा कार्यान्वयनको चरणमा रहेको बताउनुभयो ।   प्रधानमन्त्रीले विद्युत् व्यापार सहज तुल्याउन भारतसँग भएको विद्युत् व्यापार सम्झौता, चीनसँग भएको सहकार्यका र समझदारी एवं बङ्गलादेशसँग भएको विद्युत् निर्यातको समझदारीले लगानीका लागि पर्याप्त पूर्वाधार तयार भएको बताउनुभयो ।   उहाँले भन्नुभयो, “यसले नेपालमा जलविद्युत् क्षेत्रमा लगानी गर्ने प्रचूर अवसरहरू स्पष्ट रूपमा देखाउँछ । भारत र चीन जोड्ने निर्माणाधीन अन्तरदेशीय प्रसारण लाइनले यस क्षेत्रभित्र ऊर्जा आदानप्रदानलाई सहज बनाउँछ ।”   प्रधानमन्त्री दाहालले तयारी पोसाक र नेपाली गलैँचा पनि विश्व बजारमा निकासी हुने र गुणस्तरका लागि प्रख्यात भएको उल्लेख गर्दै यस क्षेत्रमा पनि लगानीको प्रचूर सम्भावना रहेको बताउनुभयो ।   नेपालमा दुई विशेष आर्थिक क्षेत्र सञ्चालनमा आएका र देशका अन्य स्थानमा त्यस्ता आर्थिक क्षेत्र विकास हुने चरणमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यस्ता क्षेत्रले आर्थिक वृद्धि र औद्योगिक विकासमा बल पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।   उहाँले भन्नुभयो, “नेपालमा हाल दश औद्योगिक जिल्ला छन्, थप छ वटा विकास गर्ने योजना छ, यसले लगानीका लागि आवश्यक पूर्वाधार र सेवाको पहुँच सुनिश्चित गर्दछ ।”   उदीयमान बजार भएका भारत र चीन बीचमा रहेको नेपाल रणनीतिकरूपमा पनि लगानीको लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले क्षेत्रीय सम्झौता साफ्टा–बिम्स्टेक र स्वतन्त्र व्यापार व्यवस्थाद्वारा द्विपक्षीय र क्षेत्रीय बजारहरू सुनिश्चित भएको स्पष्ट पार्नुभयो ।   “अन्तर्राष्ट्रिय निजी लगानी प्रवाहलाई सहज तुल्याउन उद्योग विभागले रु ६ अर्बभन्दा कमको लगानी अनुमोदन गर्दछ र लगानी बोर्ड नेपालले रु ६ अर्बभन्दा बढीको लगानी वा २०० मेगावाटभन्दा बढी ऊर्जा आयोजनाहरू व्यवस्थापन गर्छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “यी दुवै सरकारी एजेन्सीहरू स्वदेशी र अन्तर्राष्ट्रिय लगानीकर्तालाई तोकिएको समयमा सहज सेवा प्रदान गर्न प्रतिबद्ध छन् ।”   वैदेशिक लगानीमा सञ्चालन भएका विभिन्न कम्पनीको हकमा नेपालमा लगानी नाफामुखी रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “ती कम्पनीहरूको लाभांश फिर्ताको अवस्था अकर्षक छ, जसले नेपालमा लगानीको उपयुक्त वातावरण छ भन्ने देखाउँछ ।”   सम्मेलनमा प्रस्तुत परियोजनाहरूले नेपाल र सम्भावित लगानीकर्ताहरू दुवैलाई फाइदा पुग्ने ठोस नतिजा प्राप्त हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले आगामी दशकमा दिगो र उच्च आर्थिक वृद्धि हासिल गर्ने नेपालको लक्ष्य पूरा हुने बताउनुभयो । उहाँले सबैको सहकार्यबाट नेपाल आर्थिक रुपान्तरण र समृद्धिको दिशामा अघि बढ्ने आशा व्यक्त गर्नुभयो ।  

काठमाडौं:     तेस्रो लगानी सम्मेलनका क्रममा निजी क्षेत्रबीच आज दुई वटा सम्झौता भएका छन् । सम्मलेनको उद्घाटनसत्रपछि स्वदेशी तथा विदेशी निजी क्षेत्रका संस्थाबीच व्यावसायिक सहकार्यका लागि सम्झौता भएको हो । सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ र नेसनल चेम्बर अफ कमर्स, मलेसियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धन गर्ने विषयमा सम्झौता भएको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र मलेसियन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष टान सी डाटो थायन लाईले हस्ताक्षर गर्नुभएको हो । त्यसैगरी डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्यका लागि नेपाल र भारतका दुई व्यावसायिक समूहबीच सम्झौता भएको छ । डाटा सेन्टर स्थापनाका लागि बिएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता भएको हो । बिएलसी ग्रुपका प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टाका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले हस्ताक्षर गर्नुभयो ।

काठमाडौंः  आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरू सञ्चालन हुँदैछन् ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट उद्घाटन भएको सम्मेलनमा अर्थमन्त्री वर्षमान पुनले स्वागत मन्तव्य दिनुभएको छ भने सम्मेलनको प्रतीक चिह्न (लोगो) प्रदर्शनी गरिएको छ । लगानी सम्मेलनसम्बन्धी भिडियो सन्देशसहितका सामग्री प्रदर्शनीमा राखिएको छ ।    उद्घाटन सत्रमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र निजी क्षेत्रका प्रतिनिधिले पनि मन्तव्य दिने कार्यक्रम छ ।    उद्घाटन सत्रकै क्रममा केही महत्त्वपूर्ण परियोजनाको सहमति पत्रमा हस्ताक्षर र लगानी घोषणा हुने कार्यक्रम रहेको छ । सम्मेलनको विषयगत छलफल सत्रका क्रममा ‘नेपालमा लगानीका अवसरहरू’, ‘नेपालमा लगानीका सफलताका कथा’, ‘आशयपत्रका लागि परियोजनाहरूको प्रस्तुति (सोकेसिङ)’ गर्ने कार्यक्रम छ ।    ‘नेपालमा लगानीका अवसरहरू’ विषयक सत्रमा अर्थमन्त्री वर्षमान पुन, पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत, डा. युवराज खतिवडा, पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपालका लागि संयुक्त राष्ट्र सङ्घीय कार्यालयका प्रतिनिधि हाना सिङ्गरलगायत वक्ता रहनुहुनेछ ।    ‘नेपालमा लगानीका सफलताका कथा’ विषयक सत्रमा मुख्यसचिव डा. वैकुण्ठ अर्याल, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भवानी राणा, लगानी बोर्डका पूर्वकार्यकारी प्रमुख राधेश पन्तलगायत वक्ताले विचार व्यक्त गर्नुहुनेछ ।    सम्मेलन स्थलमा प्रधानमन्त्री दाहालसँग आमन्त्रित अतिथिले भेटवार्ता गर्न सक्नेछन् । यसैगरी आजको सत्रको अन्त्यमा प्रत्यक्ष वैदेशिक लगानी र सरकार–निजी साझेदारी परियोजनाको प्रदर्शनी रहनेछ ।   सम्मेलनको दोस्रो दिन अर्थमन्त्री पुनले विकास साझेदारका प्रतिनिधिसँग छलफल गर्नुहुनेछ भने पहिलो सत्र ‘नेपालमा नवीकरणीय ऊर्जाको सम्भावना’ विषयका छलफल सत्र हुनेछ । सो सत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीलगायत वक्ता हुनुहुन्छ ।    ‘नवप्रवर्तनीय आर्थिक परिदृश्य’ विषयक सत्रमा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी, ‘नेपालमा हरित र जलवायु अनुकूलन व्यवसायमा लगानीका अवसर’ विषयक सत्रमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, ‘यातायात पूर्वाधार सुधार’ विषयक सत्रमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, राष्ट्रिय योजना आयोका सदस्य प्रा।डा। सङ्गीता सिंह, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा।डा। भोला थापा र प्राध्यापक डा सुरेशराज आचार्यलगायत वक्ता रहनुभएको छ ।    सम्मेलनमा समानान्तर बहस सत्र पनि सञ्चालन हुनेछन् । समापन सत्रमा सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलेसम्बोधन गर्नुहुने छ भने समापन मन्तव्य अर्थमन्त्री पुनले दिने कार्यक्रम छ । 

इलामः   प्रतिनिधि सभा सदस्यका लागि इलाम(२ मा भएको उपनिर्वाचनको मतगणाना सुरु भएको छ ।   सरोकारवाला निकायसहित बसेको सर्वदलीय बैठकको निर्णय अनुसार गौतम बुद्ध सभागृह (सिटी हल) मा मतगणना सुरु गरिएको हो ।   फाकफोकथुङ गाउँपालिकामा रहेका केन्द्रका ब्यालेटबक्स खोलेर मतगणना सुरु गरिएको छ । बिहान ११ बजेदेखि सुरु गर्ने भनिए पनि केही ढिला गरी मत गणना सुरु भएको हो ।   मतगणनाका क्रममा आउनसक्ने समस्या समाधानका लागि सबै दल र स्वतन्त्र उम्मेदवारबीच सहमति भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।   इलाम–२ का एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए । मतदान अधिकृत र प्रहरीले गरेको टिपोट अनुसार यो ६० प्रतिशत हो ।   इलाम–२ मा दलका र स्वतन्त्र गरी १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।  

काठमाडौंः  राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् ।   लगानी सम्मेलनका पूर्व संध्यामा सरकारले ९ वटा ऐन संशोधनका लागि अध्यादेश सिफारिस गरेको थियो । संविधानको धारा ११४ (१) बमोजिम राष्ट्रपतिले आइतबार अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।   लगानी प्रतिकूल ठानिएका कानुनका विभिन्न प्रावधान संशोधनका लागि अध्यादेश ल्याउने निर्णय गत सोमबारको मन्त्रिपरिषद बैठकले गरेको थियो ।   सरकारले भूमिसम्बन्धी ऐन २०२१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२८, जग्गा प्राप्ति ऐन २०३४, विद्युतीय कारोबार ऐन २०६३, विशेष आर्थिक ऐन २०७३ र सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, वन ऐन २०७६ र औद्योगिक व्यवसाय ऐन २०७६ अध्यादेशमार्फत संशोधन गरिँदै छ ।  

काठमाडौं:     नेपालले दोस्रो टी–२० खेलमा वेस्टइन्डिज ए सँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको टसमा वेस्टइन्डिज ए का कप्तान रोश्टन चेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । शनिबार भएको पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई ४ विकेटले हराएको थियो । २०५ रनको लक्ष्य नेपालले १९‍।४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । कप्तान रोहित पौडेलले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रन बनाएका थिए । पहिलो खेलको प्रदर्शनले नेपाली टोलीको मनोबल उच्च छ तर, रोहित बाहेक अन्य ब्याटरले राम्रो गर्न सकेका थिएनन् । सबै ब्याटरबाट नेपाल भूमिका अनुसार प्रदर्शन चाहन्छ । तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुनेछ ।

काठमाडौं:     तेस्रो लगानी सम्मेलन आज काठमाडौंमा सुरु भएको छ । सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचनण्डले शुभारम्भ गर्नुभएको हो । सम्मेलनमा स्वदेश तथा विदेशबाट गरी एक हजार ६ सय जनाभन्दा बढीको सहभागिता हुनेछ । लगानी बोर्डको कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सम्मेलनका लागि दुई हजार चार सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो । विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनका लागि आउँदैछन् । सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागिता सुनिश्चित भइसकेको छ । त्यसैगरी, चीनका दुई सय ६५, भारतका एक सय ४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स (युएई) का १३ र जर्मनीका १० जना सहभागी हुँदैछन् । दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका ९÷९ जना सम्मेलनमा सहभागी हुन लागेका लगानी बोर्डले जनाएको छ । १० सत्रमा सञ्चालन हुने सम्मेलनमा पचासभन्दा बढी वक्ता रहने वोर्डले जनाएको छ ।