पोखरा ।  माओत्से गुरुङ निर्देशित नेपाली चलचित्र ‘पेन्सन पट्टा’ले पोखरामा आफ्नो दबदबा कायमै राखेको छ । प्रदर्शनको चौथो दिन सोमबार पनि पोखराका हलमा दर्शकको उत्साहजनक सहभागिता देखिएको छ । ...

पोखरा:   मिस पोखराका प्रतिस्पर्धीले नेतृत्व विकास तालिम लिएका छन् । मंगलबार उनीहरुलाई पूर्वसंचारकर्मी उत्तम पौडेलले नेतृत्व विकास तालिम प्रदान गरे ।   २२ वर्ष संचारकर्मको अनुभवलाई सुनाउँदै पौडेलले सकरात्मक सोचले नै आफुमा परिवर्तन आउने उल्लेख गरे ।   “म करिब २२ वर्ष संचार कर्ममा लागे । संचार क्षेत्रले मलाई धेरै पाठ सिकायो । कर्मलाई आत्मसात् गर्दै सकरात्मक विचार राखियो भने सफलता मिल्छ । त्यसैले सकरात्मक सोचौं ।”, उनले भने ।   पौडेलले साना साना विषयवस्तुले नै लक्ष्य दिलाउने बताए । भनाई र गराईमा फरकपन आयो भने समस्या हुने भनाई उनको छ । मिस पोखराका प्रतिस्पर्धीलाई उनले सामाजिक बन्न सुझाएका छन् । नेतृत्व विकासका लागि समाजलाई नजिकबाट पढ्न आवश्यक रहेको उनले बताए ।   “राजनीति गर्दिन त्यसैले राजनीति मन पर्दैन । व्यवसायमा चाँसो छैन त्यसैले यसको बारेमा जानकारी भएर के गर्नुु रु भन्ने सोच पाल्नुभएन ।”, उनले भने । हरेक विषयवस्तुको बारेमा जानकारी हुन आवश्यक रहेको उनले बताए । बोल्दा प्रस्तुतीकरणमा ख्याल गर्नुपर्ने बताए ।   राष्ट्रिय स्वतन्त्र पार्टीका नेता समेत रहेका उनले समाज निर्माणका लागि युवाको भूमिका महत्वपूर्ण रहेको र मिस पोखरा जस्ता कार्यक्रमले नेतृत्व गर्न सक्ने जनशक्ति उत्पादन गर्नेमा विश्वस्त रहेको बताए ।   कात्तिक १० गते फाइनल हुन लागेको मिस पोखरामा १७ जना प्रतिस्पर्धी सहभागी छन् ।   उनीहरुलाई अहिले विभिन्न तालिम दिइएको पोखरा जेसीजका अध्यक्ष जेसी देबराज शर्माले जानकारी गराए । विभिन्न विधामा २१ दिनसम्म तालिम प्रदान गरि क्षमता अभिवृद्धि गराउने लक्ष्यका साथ अगाडि बढीरहेको भनाई उनको छ ।

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले यही असोज २६ गते विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान गर्ने भएका छन्।   राष्ट्रपतिको कार्यालय, शीतलनिवासमा अपराह्न ३ बजेदेखि साँझ ५ बजेसम्म राष्ट्रिपतिबाट टीका तथा प्रसाद प्रदान हुने कार्यक्रम रहेको राष्ट्रिपति कार्यालयले जनाएको छ।   इच्छुक सम्माननीय, उपप्रधानमन्त्री तथा मन्त्रीज्यू, प्रदेश प्रमुख, न्यायाधीश, सङ्घीय संसद्का सदस्य, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट महानुभाव तथा निजामती, जङ्गी अड्डा, प्रहरी तर्फका अधिकृतस्तरसम्मका राष्ट्रसेवकलाई अपराह्न ३ बजेदेखि ३:३० बजेसम्म टीका तथा प्रसाद प्रदान हुनेछ।   इच्छुक आमनागरिकका लागि अपराह्न ३:३० बजे देखि ५ बजेसम्म टीका तथा प्रसाद प्रदान गरिने सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।     टीका ग्रहण गर्न आउने व्यक्तिका लागि मर्यादित पोशाक र प्रवेश गर्न प्रवेशद्वार नं १ तोकिएको पनि विज्ञप्तिमा जनाइएको छ।  

पाखुरीकोट गुरुङ समाजद्वारा आयोजित एक महिने कृष्ण चरित्र प्रशिक्षण मंगलवबार सम्पन्न भएको छ ।   समापन समारोहका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै गण्डकी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले कला, संस्कार र संस्कृतिको संरक्षण गर्नु यस्तै सामाजिक संस्थाको महत्वपूर्ण भूमिका रहने भएकाले समाजले स्तुत्य कार्य गरेको धारणा राखे ।   कार्यक्रम संयोजक केशबहादुर गुरुङले गण्डकी प्रज्ञा–प्रतिष्ठानको आर्थिक सहयोगमा सञ्चालित उक्त प्रशिक्षणमा एक सय जना सहभागी रहेको जानकारी गराए ।    संस्थाका अध्यक्ष सि.आई. हरि ध्वोज गुरुङले हाम्रो मौलिक संस्कार संस्कृतिको संरक्षण महत्वपूर्ण विषय रहेकाले समाजबाट लोपोन्मुख हुन लागेको कृष्ण चरित्रलाई जीवन्त राखी नयाँ पुस्तामा पुस्तान्तरण गर्नका लागि कार्यक्रम आयोजना गरिएको हो ।    गायन र नृत्यतर्फ कुलवीर गुरुङ, हरिध्वज गुरुङ र मानध्वज गुरुङले सहजीकरण गरेका थिए । यस्तै, वाद्यवादनतर्फ गोविन्द गुरुङले सहयोग गरेका थिए ।   प्रशिक्षणपछि सबै लिलामा गाउन, बजाउन र नाच्न सक्षम भएको सहभागी नेत्रबहादुर गुरुङले बताए ।   कृष्णबहादुर गुरुङले कृष्ण चरित्र प्रशिक्षणमा सहभागी सबैलाई आभार व्यक्त गर्दैै गुरुङ समुदायमा प्रचलित कृष्ण चरित्र नाच जेठा छोराको वंश निरन्तरताका लागि विजोड वर्षमा नाच्ने गरिएको बताए ।   एक महिनासम्म चलेको प्रशिक्षणमा श्रीकृष्ण जन्म लिला, बाल लिला, राधाकृष्ण लिला, होली लिला, पे्रम लिला, नाग लिला र चिर लिला गरी सातै लिलाको प्रशिक्षण गराइएको थियो ।  

आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।   छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो ।   स्कन्दको माता भएकाले पार्वती नै स्कन्दमाताका नामले कहलाएकी हुन्।   नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।    यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।   नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।

काठमाडौं:   हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान चाड बडादसैंको अवसरमा हङकङमा सांगितिक कार्यक्रम हुने भएको छ ।  दीप समाज हङकङको आयोजनामा “दीप साँझ” हुने भएको हो । कार्यक्रममा पोखरेली ब्याण्ड “ओपन सी” र चर्चित गायिका मेलिना राईको प्रस्तुति रहने दीप समाज हङकङका अध्यक्ष गोकुल गुरुङले बताए ।  कार्यक्रममा ब्याण्डबाट गायिका अजुदा थापा, गायक सन्तोष बस्याल र गायिका प्रीया गुरुङले प्रस्तुति राख्नेछन् भने बाध्यबादन तर्फ ड्रमसेटमा सुनिल थापा, तबलामा राजा मुखिया, लिड गितारमा अमित गुरुङ्ग, किबोर्डमा महिपाल लामा र बेस गितारमा अनिल गुरुङको प्रस्तुति रहनेछ ।  हङकङको रिच गार्डन रेष्टुरेण्ट जेडी मल (जोर्डन कोरियन रेष्टुरेण्ट बिल्डिङ) मा १९अक्टुबर २०२४ मा  हुने कार्यक्रम दीप साँझको छैठौं संस्करण हो ।  हङकङको समयानुसार साँझ ७ः३० बजेबाट सुरु हुने कार्यक्रममा ओपन “सी” ब्याण्डले नेपाली नयाँ पुराना गीत प्रस्तुत गर्नेछ भने गायिका मेलिना राई आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्ने सचिव अशु रानाले जानकारी गराए ।  संस्कृति संरक्षण गर्ने उद्देश्य स्वरुप हङकङमा रहेका नेपाली मनहरुलाई जोड्ने कार्यक्रम दीप साँझ भएको भनाई उनको छ । कार्यक्रमका लागि सम्पूर्ण तयारी भइसकेको उनले बताए ।  कार्यक्रमलाई सफल पार्न हङकङमा प्रचारप्रसारलाई समेत तीव्र पारिएको छ । कार्यक्रमका लागि अग्रीम टीकट बुकिङ समेत खुल्ला गरिएको छ । कार्यक्रम सफल हुनेमा दीप समाज हङकङ विश्वस्त छ । कार्यक्रमका लागि नेपालबाट कलाकारहरु ३० अक्टुबरमा हङकङ प्रस्थान गर्नेछन् ।

काठमाडौं:    भगीराज इङ्नामद्वारा सङ्कलित लिम्बुवानका अभिलेख सङ्ग्रह नामक पुस्तक सार्वजनिक भएको छ ।       आज यहाँ आयोजित एक कार्यक्रमकाबीच कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, प्राडा दीनेशराज पन्त, प्राडा बालकृष्ण माबुहाङ, डा कमल तिगेला, किराँत याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, महासचिव निरन्ती तुम्बापो र लेखक इङनामले संयुक्त रुपमा पुस्तकको विमोचन गर्नुभएको हो ।      इतिहास अन्वेषक इङ्नामको विसं २०७७ मै मदन पुरस्कार प्राप्त पुस्तक ‘लिम्बुवानको दस्तावेज सङ्ग्रह’ प्रकाशित छ । उक्त दस्तावेज सङ्ग्रहमा छुटेका तथा त्यसपछिका खोज अध्ययनमा पाइएका महत्त्वपूर्ण अभिलेखहरु यस पुस्तकमा समेटिएको प्रकाशक मुन्धुम एकेडेमीले जनाएको छ ।      विमोचन कार्यक्रममा अभिलेख सङ्ग्रहबारे डा कमल तिगेला, प्राडा दीनेशराज पन्त र बालकृष्ण माबुहाङले टिप्पणी गर्नुभएको थियो । डा कमल तिगेलाले आठ सय ४० पृष्ठको यस पुस्तक ऐतिहासिक दस्तावेज रहेको बताउनुभयो ।       टिप्पणीकार प्राडा बालकृष्ण माबुहाङले लिम्बुवानको सामाजिक, सांस्कृतिक र राजकीय मामिलाको अध्ययन गर्नेका लागि महत्त्वपूर्ण काम भएको उल्लेख गर्नुभयो । यस सङ्ग्रहमा लिच्छवीकाल सम्मका दस्तावेजहरु अध्ययन गर्न पाइने उहाँले बताउनुभयो ।      प्राडा दीनेशराज पन्तले इतिहासमा मूल सामाग्रीसम्म इतिहासकारहरु पुग्न नसकेको समयमा सङ्कलक तथा लेखक इङ्नामले गर्नुभएको कामको प्रशंसा गर्नुभयो । “यो अत्यन्तै महत्त्वपूर्ण काम भएको छ”, उहाँले भन्नुभयो, “अझै हामी इतिहास खोज्ने क्रममा किरातकालसम्म राम्रोसँग पुग्न सकेका छैनौँ ।”      लेखक इङ्नामले यस सङ्ग्रह अभिलेखहरुको सङ्कलनमात्र भएको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि वैरागी काइँलाले यस पुस्तकबाट तीन सय वर्षयताको हाम्रो समाजबारे थाहा हुने बताउनुभयो । “यो अभिलेख सङ्कलन गर्नु चानचुने कुरा होइन”, उहाँले भन्नुभयो, “अनुसन्धाताका लागि यस्ता झ्याउलाहरु पार गर्नु कुनै ठूलो कुरा होइन ।”      पूर्वप्रशासकसमेत रहनुभएका लेखकले यस सङ्ग्रहमा तीन सय ८८ वटा विभिन्न लालमोहर, रुक्का, सनद, पुर्जी, इस्तिहार, स्याहा मोहर, कास्यपत्र, शिलालेखलगायतका दस्तावेज र तिनका अनुवादसहितका टिप्पणी उल्लेख गर्नुभएको छ । पुस्तक आजैदेखि बजारमा उपलब्ध हुने प्रकाशकले जनाएको छ । पुस्तकको मूल्य रु दुई हजार राखिएको छ । 

गण्डकी:       ‘चाहिँदैन मलाई सुनको दरबार     चाहिँदैन मलाई हिरामोती हार     यसै राम्रो छ मेरो पैदल यात्रा     चाहिँदैन मलाई टल्कने कार...’   जनगायक जीवन शर्माले यो गीत गाउँमा दर्शकदीर्घाबाट एकनासले तालीको गड्गडाहट सुनिन्थ्यो । कसैले शर्माको स्वरमा स्वर मिलाए । कतिले नाचेर साथ दिए ।  बुधबार सन्ध्यापख जनजनका प्रिय गायक शर्मालाई रक्तिम सांस्कृतिक अभियानले पोखरा सभागृहमा उभ्याएको थियो । उहाँले ‘चाहिँदैन मलाई सिसाको महल...’, ‘सिमली छायाँमा बसी...’लगायत आफ्ना चर्चित सुनाउनुभयो ।  वर्षौँपछि घर फर्केको प्रवासीको मनोभावना समेटिएको ‘म हिँडेको गाउँको बाटो मुस्कुरायो...’बाट गाउन सुरु गर्नुभएका शर्माले पूरा अवधि दर्शकको मन जितिरहनुभयो । गायन प्रस्तुति सँगसँगै उहाँले गीतको रचनागर्भ, तत्कालीन समाज र परिवेशबारे पनि प्रसङ्ग उप्काउन भ्याउनुभयो । शर्माले गणतन्त्र स्थापनापछि पनि भ्रष्टचारले मुलुकलाई गाँजिरहेपछि ‘चाहिँदैन मलाई सुनको दरबार...’ गीत जन्मिएको बताउनुभयो । “भ्रष्टचार गरेर ठूल्ठूला दरबारमा बस्ने, चिल्ला कार चढ्ने र कालो धन थुपार्नेको मनमा चिसो पस्छ कि भनेर यो गीत गाएको हुँ तर सोचेजस्तो हुन सकेको छैन, अहिले पनि अवस्था उस्तै छ”, उहाँले भन्नुभयो ।  शर्माले श्रम र पसिना बगाएर सम्पत्ति आर्जन गर्नेहरुकाप्रति भने आफूले सँधै सम्मान गर्ने बताउनुभयो । “राम्रो घर, गाडी त श्रमिक र मजुदुरले पनि पाउनुपर्छ, मालिकले मात्र होइन, तिनै गरिब, सर्वहाराको सुदिन पक्कै आउँछ भन्दै हामीले गीत गाउँदै हिँडेका छौँ”, उहाँले भन्नुभयो ।  उहाँले सुशासन र सामाजिक न्यायसहितको समतामूलक समाज निर्माणमा लागि सांस्कृतिक फाँटबाट आफूहरुले सँधै राज्यलाई घच्घचाइरहेको बताउनुभयो । शर्माले नेपालको जनसांस्कृतिक आन्दोलनलाई नयाँ ढङ्गले पुर्नजागृत गर्नुपर्ने बेला आएको धारणा राख्नुभयो । शर्माले आफ्नो बहुचर्चित गीत ‘सिमली छायाँमा बसी...’ गाउँदा कार्यक्रममा सहभागी राजनीतिक दलका नेता, जनप्रतिनिधिलगायत मञ्चमै उक्लेर नाचेका थिए ।  उक्त विविध जनसांस्कृतिक कार्यक्रममा रक्तिम र सामना परिवारका कलाकारले कलाकारले गीत, नृत्य र अभिनयका माध्यमबाट समाजका विसङ्गति माथि खबरदारी गरेका थिए । न्याय, मुक्ति र समानताका पक्षमा स्वर उराले । सर्वहारा वर्गका दुःख, बेदना र सङ्घर्षका कथालाई गीतमा प्रस्तुत गरे । दर्जनबढी कलाकारले कार्यक्रममा सामूहिक र बेग्लाबेग्लै प्रस्तुति दिएका थिए । कार्यक्रममा थारु समुदायमा प्रचलित गीतसहित टप्पा नाच र अपेरा पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा गायक दलबहादुर विकले ‘पाखुरी यिनै हुन्...’, गायिका सुशिला थापा र उदय रिजालले ‘पूर्व क्षितिज...’लगायत गीत सनाउनुभएका थियो ।   व्यवस्था फेर्न जनताले ठूलो बलिदानीपूर्ण सङ्घर्ष गरेपनि अवस्था उस्तै रहेकाले अहिले पनि परिवर्तनका गीतहरु गाउँदै हिँड्नुपरिरहेको कलाकारहरुले सुनाएका थिए ।  समाजमा अहिले पनि विभेद र शोषण कायमै रहेकाले गीतसङ्गीतमार्फत खबरदारी गरिहरनुपरको उनीहरुको भनाइ थियो ।  देशमा देखिएका बेथिति, विसङ्गति, भ्रष्टचार र महँगीका विरुद्ध सांस्कृतिक सचेतना नथा जनजागरण सिजर्नाका लागि सांस्कृतिक अभियान सञ्चालन गरिएको रक्तिम सांस्कृतिक अभियानकाका अध्यक्ष नारायण शर्माले बताउनुभयो ।  

पोखरा:    गीतकार इन्द्रधारा बिष्टको नयाँ गीत “आमा तिम्रो” सार्वजनिक भएको छ । नेपालीको महान पर्व बडा दशैंको अवसर पारी घटस्थापनामा गीत सार्वजनिक भएको हो ।  गीतमा विश्व डोङको स्वर र संगीत रहेको छ । सुभाष राई र निरा थापा मगरको अभिनय रहेको गीतको म्युजिक भिडियोलाई एस टु प्रोडक्सनका सुरज श्रेष्ठले निर्देशन गरेका हुन् । गीत निरा थापा मगरकोको अफिसियल युटुब मार्फत सार्वजनिक गरिएको हो । पछिल्लो समय बिष्ट सिर्जनामा लागिरहेका छन् । उनले सिर्जना गरेका गीतले भेगीय मौलिकतालाई समेत समेटेको छ । आमा प्रति सम्मान गर्दै गीत निर्माण गरिएको उनले बताए । गण्डकी प्रदेश सरकारको पूर्व सांसद समेत रहेका बिष्टले आमाको सम्झनालाई आत्मसात् गर्दै गीत लेखेको सुनाए । उसो त बिष्टले एक वर्ष अघि सार्वजनिक गरेको गीत “मुस्ताङे नानी” लाई निकै रुचाइएको थियो । युटुबमा उक्त गीतलाई हेर्नेको संख्या १७ लाख माथी छ । मुस्ताङे नानी जस्तै आफ्नो नयाँ सिर्जनालाई समेत दर्शकले मन पराउनेमा उनी आशावादी छन् । मुस्ताङ जिल्लाको लोमान्थाङ र कोरला नाकाको वरिपरि छायाँकन गरिएको भएर पनि होला म्युजिक भिडियो उत्कृष्ट बनेको छ । उक्त गीतले लोमान्थाङको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास बिष्टको छ । अपर मुस्ताङको रहनसहन र सामाजिक अवस्थालाई समेत गीत मार्फत दर्शाउन खोजिएको छ ।

सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ ।   श्री जानकी भित्तेपात्रोमा रहेको मिथिला पञ्चाङ्गअनुसार मिथिलाञ्चलभरिमा आज ओंगठन, असोज ८ गते मङ्गलबार जितिया व्रत र असोज ९ गते बुधबार साँझ ५ः१५ बजे जितिया व्रत पारण उल्लेख रहेको कारण मिथिलाञ्चलमा आजदेखि जितिया व्रत सुरु भएको हो ।   तिथिको हेरफेरअनुसार यस वर्ष मिथिलाञ्चलमा आज नहा खा (नुहाएर खाने) विधिबाट सुरु हुने जितिया पर्वमा व्रतालु महिलाहरु मङ्गलबार बिहान ४ बजेदेखि मङ्गलबारको दिनभरि र रातभरि तथा बुधबार दिनभरि उपवास बस्नुपर्ने छभने बुधबारकै दिन साँझ ५:१५ बजे पारण गर्दै व्रत सम्पन्न गर्ने पञ्चाङ्गमा उल्लेख रहेको जलेश्वरनाथ महादेव मन्दिरका पुजारी पण्डित उपेन्द्र पाठकले बताउनुभयो ।   व्रत (उपवास) बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जितमाहन देवता र आफ्ना दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादका रुपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।   त्यसैगरी, भोलि (मङ्गलबार) बिहान ४ बजेदेखि उपवास बसी निराहार एवं निर्जल व्रत बसी पर्सि (बुधबार) साँझ ५ः१५ बजे व्रत सम्पन्न गर्नेछन् ।   सयौँ व्रतालुहरुले जिल्लाको विग्ही, रातो जङ्गहा, अङ्कुशी नदी तथा पवित्र पोखरीहरु लक्ष्मी सागर, बरुणसागर, भार्गवसरलगायत पवित्र सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्दछन् ।   कथा भन्ने र सुन्ने क्रममा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ । व्रत बस्नु अघिल्लो दिनमै (आज) व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सक्खर र तोरीको तेलसहितका पदार्थ चढाउनु पर्छ ।   देवतालाई चढाएकै तेलमध्येबाट आ–आफ्ना शाखासन्तानलाई पनि प्रसाद रुपमा सोही तेल लगाइदिने चलन छ ।   व्रतको पहिलो दिन (आज) पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ, जसलाई स्थानीय भाषामा ‘माछ मरुवा (कोदो )’ भनिन्छ । त्यसैगरी, विधिअनुसार भोलि एकाबिहानै काग कराउनुभन्दा पहिल्यै व्रती (व्रतालु) महिलाहरु ओङ्गठन सम्पन्न गर्नुपर्छ अर्थात् केही खानेकुरा ओँठमा लगाउनुपर्छ ।   प्रायः जसो महिलाहरुले ओङ्गठनमा च्यूरा, दही खाने गरेको पाइन्छ ।   त्यसपछि सुरु हुन्छ विकट उपवासको क्रम आश्विन कृष्ण पक्षको अष्टमीको दिन मनाइने यो व्रत विशेष विकट रहेको जलेश्वर नगरपालिका–८ का पण्डित बद्रीनारायण झा बताउनुहुन्छ । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत छ ।   यालना संस्कृत विद्यापीठ मटिहानीका प्राध्यापक धु्रव रायले भन्नुभयो, “यस पर्वले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्व उजागर गर्छ ।” पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैँले दिवङ्गत पितृलाई पिण्ड चढाउँछन् । मिथिलाञ्चलमा मनाइने व्रतहरुमध्ये जितिया व्रतलाई पवित्र व्रतका रुपमा मानिन्छ ।   उपवास बसेका दिन महिलाहरुले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ ।   त्यसैले यस पर्वलाई खड् जितिया पनि भनिन्छ । फेरि एकपटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिन ।