‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ पुस्तक सार्वजनिक
काठमाडाैं | असोज १८, २०८१

काठमाडौं: भगीराज इङ्नामद्वारा सङ्कलित लिम्बुवानका अभिलेख सङ्ग्रह नामक पुस्तक सार्वजनिक भएको छ ।
आज यहाँ आयोजित एक कार्यक्रमकाबीच कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, प्राडा दीनेशराज पन्त, प्राडा बालकृष्ण माबुहाङ, डा कमल तिगेला, किराँत याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, महासचिव निरन्ती तुम्बापो र लेखक इङनामले संयुक्त रुपमा पुस्तकको विमोचन गर्नुभएको हो ।
इतिहास अन्वेषक इङ्नामको विसं २०७७ मै मदन पुरस्कार प्राप्त पुस्तक ‘लिम्बुवानको दस्तावेज सङ्ग्रह’ प्रकाशित छ । उक्त दस्तावेज सङ्ग्रहमा छुटेका तथा त्यसपछिका खोज अध्ययनमा पाइएका महत्त्वपूर्ण अभिलेखहरु यस पुस्तकमा समेटिएको प्रकाशक मुन्धुम एकेडेमीले जनाएको छ ।
विमोचन कार्यक्रममा अभिलेख सङ्ग्रहबारे डा कमल तिगेला, प्राडा दीनेशराज पन्त र बालकृष्ण माबुहाङले टिप्पणी गर्नुभएको थियो । डा कमल तिगेलाले आठ सय ४० पृष्ठको यस पुस्तक ऐतिहासिक दस्तावेज रहेको बताउनुभयो ।
टिप्पणीकार प्राडा बालकृष्ण माबुहाङले लिम्बुवानको सामाजिक, सांस्कृतिक र राजकीय मामिलाको अध्ययन गर्नेका लागि महत्त्वपूर्ण काम भएको उल्लेख गर्नुभयो । यस सङ्ग्रहमा लिच्छवीकाल सम्मका दस्तावेजहरु अध्ययन गर्न पाइने उहाँले बताउनुभयो ।
प्राडा दीनेशराज पन्तले इतिहासमा मूल सामाग्रीसम्म इतिहासकारहरु पुग्न नसकेको समयमा सङ्कलक तथा लेखक इङ्नामले गर्नुभएको कामको प्रशंसा गर्नुभयो । “यो अत्यन्तै महत्त्वपूर्ण काम भएको छ”, उहाँले भन्नुभयो, “अझै हामी इतिहास खोज्ने क्रममा किरातकालसम्म राम्रोसँग पुग्न सकेका छैनौँ ।”
लेखक इङ्नामले यस सङ्ग्रह अभिलेखहरुको सङ्कलनमात्र भएको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि वैरागी काइँलाले यस पुस्तकबाट तीन सय वर्षयताको हाम्रो समाजबारे थाहा हुने बताउनुभयो । “यो अभिलेख सङ्कलन गर्नु चानचुने कुरा होइन”, उहाँले भन्नुभयो, “अनुसन्धाताका लागि यस्ता झ्याउलाहरु पार गर्नु कुनै ठूलो कुरा होइन ।”
पूर्वप्रशासकसमेत रहनुभएका लेखकले यस सङ्ग्रहमा तीन सय ८८ वटा विभिन्न लालमोहर, रुक्का, सनद, पुर्जी, इस्तिहार, स्याहा मोहर, कास्यपत्र, शिलालेखलगायतका दस्तावेज र तिनका अनुवादसहितका टिप्पणी उल्लेख गर्नुभएको छ । पुस्तक आजैदेखि बजारमा उपलब्ध हुने प्रकाशकले जनाएको छ । पुस्तकको मूल्य रु दुई हजार राखिएको छ ।
ढोरपाटन: ढोरपाटन उपत्यकादेखि करिब साढे चार घण्टाको पैदलयात्रामा पुग्न सकिन्छ, गर्पाछेडा । समुन्द्री सतहदेखि चार हजार मिटरको उचाइमा रहेको गर्पाछेडा बुकीपाटनको पहिलो प्रवेशद्वार हो । भीर...
काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । महाशाखाले दैनिक जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा...
सप्तरी: मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गएराति सप्तरीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । राजगड गाउँपालिका–२ कमलपुरका ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो । भारतीय...