काठमाडौं:  गाजाक्षेत्रस्थित विद्रोही समूह हमासले २ वर्षदेखि आफ्नो कब्जामा राखेका २० जना जीवित बन्दीलाई रेडक्रसको जिम्मा लगाएको छ । सोमबार बिहान सुरूमा सातजनालाई रिहा गरेको हमासले अन्तिम १३ जना जीवित...

काठमाडौँः   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जितपछि राष्ट्रपतिको प्रतिस्पर्धामा पराजित उपराष्ट्रपति कमला ह्यारिसले शान्तिपूर्ण सत्ता हस्तान्तरणमा आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  पराजयपछि भावुक बन्दै उपराष्ट्रपति ह्यारिसले वासिङ्टनमा एक सम्बोधनमा आँसु झार्दै आफ्ना समर्थकलाई ‘निराश नहुन’ र आफ्नो हारपछि पनि ‘लडिरहन’ आग्रह गर्नुभएको छ ।  रिपब्लिकन नेता ट्रम्पले ४ वर्षअघि जो बाइडनविरुद्धको हार स्वीकार्न इन्कार गरेपछि अमेरिकाको राजधानी वासिङ्टनमा उहाँका समर्थकहरूले गरेको हिंसात्मक आक्रमण भएको स्मरण गर्दै उहाँले सत्ताको शान्तिपूर्ण हस्तान्तरण सुनिश्चित गर्ने प्रतिज्ञा पनि गर्नुभएको छ ।  हावर्ड युनिभर्सिटीमा आफ्नो छोटो तर सशक्त सम्बोधनमा ह्यारिसले भन्नुभयो, “म यो निर्वाचन परिणामलाई स्वीकार गर्छु तर निर्वाचन क्रममा अभियानलाई प्रभावित पार्न गरिएको भड्किलो ‘दुस्प्रचार’लाई कहिल्यै स्वीकार गर्नेछैन ।” “मलाई थाहा छ, धेरै अमेरिकीहरूले हामी अँध्यारो समयमा प्रवेश गर्दैछौँ जस्तो महसुस गरेका छन्,” ट्रम्पको आश्चर्यजनक भारी विजयपछि पहिलो सार्वजनिक टिप्पणी गर्दै उहाँले भन्नुभयो।   उहाँले ट्रम्पको बिजयलाई सङ्केत गर्दै अगाडि भन्नुभयो, “हामी सबैको फाइदाका लागि त्यसो हुनु हुँदैनथ्यो।”  अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने असफल प्रयासका क्रममा ट्रम्पलाई लोकतन्त्रका लागि खतरा को संज्ञा दिएकी ह्यारिसले ट्रम्पलाई बधाई दिन फोन गरेको १ सहयोगीले बताएका छन् । ह्वाइट हाउसमा आफ्नो ऐतिहासिक पुनरागमन ७८ वर्षीय ट्रम्पले फौजदारी अभियोग, पदमा रहँदा २ पटक महाभियोग र आफ्ना पूर्व चिफ अफ स्टाफको चेतावनीलाई गलत पुष्टि गर्दै पहिलेको तुलनामा ठूलो मतान्तरले जित हासिल गर्नुभएको हो ।  एक्जिट पोलले मतदाताको मुख्य चासो कोभिड महामारीका कारण बाइडेनको नेतृत्वमा खस्किएको अमेरिकी अर्थतन्त्र र बढेको मुद्रास्फीति नै अमेरिकी निर्वाचनको हार वा जीतको कारक हुने देखाएको थियो ।  ह्यारिसले आफूलाई महिलाहरूको समर्थन वृद्धि हुने आशा गर्नुभएको थियो तर सीएनएनको एक्जिट पोलले उहाँलाई केवल आठ अङ्कको जनसाङ्ख्यिकीय अग्रता दिएको थियो । यो बाइडनले ४ वर्षअघि प्राप्त गरेको भन्दा लगभग आधा हो। आफ्नो उमेरको चिन्ताका कारण गत जुलाईमा चुनावी दौडबाट बाहिरिएका ८१ वर्षीय बाइडेनले ट्रम्पलाई ह्वाइट हाउसमा आगामी छलफलका लागि निमन्त्रणा गरेको अधिकारीहरूले बताएका छन् । नवनिर्वाचित राष्ट्रपतिका प्रवक्ता स्टिभन चेउङले भन्नुभयो, “ट्रम्पले निमन्त्रणालाई स्वीकार्नभएको छ र चाँडै हुने बैठकबारे आशावादी भएको बताउनुभएको छ ।”  राष्ट्रपति बाइडेनले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ ।  सम्बोधनमा उहाँले पार्टीमा आफ्ना निकट सहयोगी तथा उपराष्ट्रपति ह्यारिसको ‘साहस’ र ‘निष्ठा’ को सम्मान गर्दै चुनाबी अभियानका लागि धन्यवाद पनि ज्ञापन गर्नुहुने बताइएको छ ।  ट्रम्पको जीतसँगै उहाँले आर्थिक वृद्धिलाई गति दिन आक्रामक रूपमा अघि बढ्ने अपेक्षाका साथ वाल स्ट्रिट र डलर दुवैको मूल्यमा वृद्धि भएको छ।  जनवरी २० मा राष्ट्रपतिका रूपमा कार्यभार सम्हाल्दा राष्ट्रपति पदको सपथ लिने सबैभन्दा वृद्ध व्यक्ति हुने ट्रम्पले फ्लोरिडामा बुधबार बिहान १ भाषणमा ‘मेक अमेरिका ग्रेट अगेन’ भन्ने आफ्नो नारा पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।   

दक्षिणी लेबनानको टायर जिल्लाको अल साहबिया सहरलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको जनाइएको छ ।   लेबनानको स्वास्थ्य मन्त्रालयले बार्जा (माउन्ट लेबनान) मा इजरायली हवाई आक्रमणबाट २० जनाको मृत्यु भएको तथा १४ जना घाइते भएको घोषणा गरेको छभने उद्धार तथा भग्नावशेष हटाउने कार्य अझै जारी छ ।   नेशनल न्युज एजेन्सी (एनएनए) ले रिपोर्ट गरेअनुसार इजरायली लडाकु विमानहरूले नबातीह जिल्लाको पूर्वी याहमोरमा गोलाबारीको बिचमा याहमोर अल साकिफ र अर्नुन सहरहरूमा छापा मारेका थिए ।   टायरमा लडाकु विमानहरूले देइर कानौन अल नाहर सहरमा छापा मार्दा भौतिक संरचनाहरूमा व्यापक क्षति पुगेको छ ।   सन् २०२३ अक्टोबर देखि लेबनान र इजरायलबीच हवाई आक्रमण सुरू भएको थियो ।   सेप्टेम्बरको अन्त्यदेखि, इजरायलले आक्रमणको गति बढाउदै राजधानी बेरुतसम्म विस्तार गर्दा हजारौँ लेबनानी हताहत भएका छन् भने १० लाखभन्दा बढी मानिसहरूलाई विस्तापित भएका छन् । 

पूर्वी इन्डोनेसियामा एक ज्वालामुखी विस्फोट हुँदा कम्तिमा दश जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जनाएका छन् । अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा उच्च सतर्कता कायम गरिएको छ । फ्लोरेसको लोकप्रिय पर्यटक टापुमा अवस्थित माउन्ट लेवोटोबी लाकी–लाकीमा एक हजार ७०३ मिटरको दुइटा ज्वालामुखी विस्फोट हुँदा प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन् ।   ज्वालामुखीले जलिरहेको चट्टान घरहरूमा फ्याक्न थालेपछि प्रभावित षेत्रका बासिन्दाहरूले आफुहरू भयभीत भएको बताएका छन् ।   इन्डोनेसियाको विपद् न्यूनीकरण एजेन्सी (बिएनपिबी) का प्रवक्ता अब्दुल मुहारीले पत्रकार सम्मेलनमा मृतकको सङ्ख्या पुष्टि गर्दै ज्वालामुखी विस्फोटबाट दश हजार २९५ जना प्रभावित भएको बताउनुभएको छ । उहाँका अनुसार विस्थापितको सङ्ख्या अझै गणना भइरहेको छ ।   एएफपीले प्रसारण गरेको फुटेजमा ज्वालामुखी नजिकैका घरहरू बाक्लो खरानीले ढाकिएको र केही क्षेत्रमा आगो लागेको देखिएको छ । ज्वालामुखी नजिकै पाँचवटा गाउँ खाली गरिएको र हजारौँ मानिस अन्यत्र शरण लिन बाध्य भएका छन् ।   ज्वालामुखीमामिला सुरक्षा निकायले स्थानीय र पर्यटकहरूलाई ज्वालामुखी विस्फोट भएको (केन्द्रविन्दु) को सात किलोमिटर दायराभित्र केहि गतिविधिहरू नगर्न निर्देशन दिएको छ ।   पछिल्लो समयमा माउन्ट लेवोटोबी लाकी–लाकीमा ज्वालामुखी गतिविधिमा उल्लेखनीय रुपमा वृद्धि भइ घरहरुमा क्षति गरे पछि स्थानीयले साम्प्रदायिक भवनमा शरण लिएका छन् ।   ज्वालामुखी सुरक्षा निकायले वर्षाले गर्दा लाभा बाढी आउन सक्ने चेतावनी दिदै ज्वालामुखीको प्रभावबाट बच्न स्थानीयहरूलाई मास्क लगाउन आग्रह गरेको छ । 

स्पेनमा बुधबार आएको बाढीका कारण बिहीबारसम्ममा कम्तीमा १५८ जनाको मृत्यु भएको स्पेनी अधिकारीले पुष्टि गरेका छन् । स्पेनले बाढीका कारण ज्यान गुमाएका व्यक्तिको सम्मानमा तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ । अधिकारीहरूले बाढी प्रभावित क्षेत्रका मानिसहरूलाई घरभित्रै बस्न आग्रह गरेका छन्। भूमध्यसागरमा मङ्गलबारदेखि आएको असाधारण आँधीका कारण भारी वर्षा हुनुका साथै माटोले भरिएको पानीको बहाव (बाढी)ले मानिसहरूलाई बगाएको छ भने घरहरू भत्किएका छन् । बाढीका कारण पूर्वी भ्यालेन्सिया क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। भ्यालेन्सिया क्षेत्रमा उद्धार कार्यको समन्वय गर्ने निकायले बिहीबार दिउँसोसम्म त्यहाँ १५५ जनाको शव फेला परेको जानकारी गराएको छ । क्यास्टिला–ला मञ्च र अन्डालुसियाका अधिकारीहरूले बुधबारको बाढीका कारण आफ्नो क्षेत्रमा तीन जनाको मृत्यु भएको घोषणा गरेका छन् ।   अझै धेरै मानिस हराइरहेका र केही क्षेत्र उद्धारकर्ताको पहुँचबाहिर रहेकाले सरकारका मन्त्रीहरूले मृत्युसङ्ख्या अझै बढ्नसक्ने बताएका छन् ।

नयाँ दिल्लीः   भारतको एक मन्दिरमा पटाका प्रदर्शनी भयानक विस्फोटमा परिणत भएपछि करिब एक सय जना अस्पताल भर्ना भएका र आठ जनाको अवस्था गम्भीर रहेको प्रहरीले मङ्गलबार बताएको छ । प्रहरीले घटनामा दुई जनालाई नियन्त्रणमा लिएको छ । भारतीय पत्रपत्रिकाहरूले पोस्ट गरेका भिडियोहरूमा देखाएअनुसार सोमबार साँझ दक्षिणी राज्य केरलाको नीलेश्वरमस्थित एउटा हिन्दू मन्दिर वरिपरि सयौँ मानिसहरू आतसबाजी हेर्न भेला भएका थिए । भिडियोमा त्यसपछि एउटा भवन भित्रबाट चर्को आवाज सुनिन्छ र एक शक्तिशाली आगोको गोला आकाशमा माथि उठ्छ । “करिब आठ जनाको अवस्था गम्भीर छ र करिब एक सय ५४ जना घाइते भएको रिपोर्ट छ, तीमध्ये ९७ जना अस्पतालमा भर्ना छन्”, स्थानीय प्रहरी प्रमुख शिल्पा द्यवैयाले भन्नुभयो, “उनीहरूले पटाका भण्डारण गरिएको ठाउँ नजिकै पटाका फुटाए ।”  द्यवैयाले फुटेका पटाकाका झिल्काहरू भण्डारण गरिएको पटाकासम्म पुगेको बताउनुभयो । भारतीय सञ्चारमाध्यमहरूले अधिकारीहरूलाई उद्धृत गर्दै बाक्लो भीडमा रहेका मानिसहरूको अनुहार र हातमा जलन भएको बताएका छन् । स्थानीय सरकारी अधिकारी के। इन्बासेखरले पटाका प्रदर्शनीका लागि कुनै अनुमति नदिइएको बताउनुभयो । द हिन्दू पत्रिकाले मन्दिरका अध्यक्ष र सचिवलाई हिरासतमा लिइएको जनाएको छ । भारतमा धार्मिक जमघटहरूमा सुरक्षा कमजोरी र भीड व्यवस्थापनमा कमीका कारण घातक घटनाहरूको दुःखद इतिहास छ । सन् २०१६ मा हिन्दू नयाँ वर्षको अवसरमा एक मन्दिरमा प्रतिबन्धित पटाका प्रदर्शनीमा भएको ठूलो विस्फोटमा कम्तीमा एक सय १२ जनाको मृत्यु भएको थियो । भारत यस हप्ताको अन्त्यमा हिन्दू चाड दीपावलीको अवसरमा हुने प्रमुख आतसबाजी मौसमका लागि तयार हुँदैछ । यो भव्य र रङ्गीन चाडले हिन्दू देवी लक्ष्मीको पूजा गर्छ र अँध्यारोमाथि उज्यालोको विजयको प्रतीक मान्छ । पटाकाले हानिकारक तीतो धुवाँ फैलाउँछ । राजधानी नयाँदिल्लीले खतरनाक वायु प्रदूषण रोक्न पटाकामा प्रतिबन्ध लगाएको छ । हिन्दू भक्तजनहरूको पटाकाप्रतिको बलियो धार्मिक भावनाका कारण प्रहरी प्रायः उल्लङ्घनकर्ताहरू विरुद्ध कारबाही गर्न अनिच्छुक हुन्छन् ।  

काठमाडौं:   पूर्वी लेबनानमा भएको इजरायली आक्रमणमा तीन जना पत्रकारको मृत्यु हुनुका साथै बेरुतको दक्षिणी उपनगरका भवनहरूमा भौतिक क्षति भएको लेबनानको राष्ट्रिय सञ्चार माध्यामले शुक्रबार जनाएको छ । लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले हसबायामा भएको उक्त घटनाको रिपोर्ट गरेको थियो । रिर्पोटका अनुसार इजरायलले सिरियाली सीमा नजिकै   शुक्रबार बिहान ३ः३० मा आक्रमण गरेको थियो ।  एनएनएका अनुसार बेरुतको दक्षिणी चौइफत अल–अमरोसिह क्षेत्रमा, इजरायली हामलाले “दुई वटा भवनहरू क्षतिग्रस्त बनाएको थियो ।  सेन्ट थेरेस क्षेत्रलाई लक्षित गरी गरिएको आक्रमणमा संवैधानिक परिषद् नजिकैका दुईवटा भवनहरूसमेत ढलेको जनाएइको छ ।   इजरायली सेनाका अरबी भाषाका प्रवक्ता अविचे अद्राईले सामाजिक सञ्जाल एक्स मार्फत निकासी चेतावनी जारी गरे पछि बेरुतको दक्षिणमा आक्रमण भएको एनएनएले रिपोर्ट  गरेको छ ।    एएफपिटिभीको फुटेजमा आक्रमणपछि बेरुतको दक्षिणबाट धुवाँको मुस्लो उठेको देखाइएको छ ।   केही समय अघि दक्षिण बेरुतको चौइफत क्षेत्रमा नयाँ आक्रमण सुरु गरेको इजरायलले ,  विस्तारै हारेत ह्रीक र हदथलाई पनि लक्षित गरी आक्रमया सुरु गरेको  छ । बुधबारको इजरायली आक्रमणले दक्षिण बेरुतमा छ वटा भवनहरू क्षेतिग्रस्त राष्ट्रिय सञ्चार माध्याम तथा र एएफपी फुटेजले देखाएको थियो भने इजरायली सेनाले हिजबुल्लाह हतियार उत्पादन केन्द्र भित्र आक्रमण गरेको जनाएको छ ।    सेप्टेम्बर–२३ मा, इजरायलले लेबनानमा तीव्र आक्रमण सुरु गरे पछि गाजा युद्धलाई लिएर इरान समर्थित हिजबुल्लाहसँग सीमापार झडपपछि स्थलगत आक्रमणको घोषणा गरेको  छ । पत्रकार संरक्षण समितिले सन् २०२३ अक्टोबरमा इजरायल–हमास युद्ध सुरु भएदेखि गाजा, वेस्ट ब्याङ्क, इजरायल र लेबनानमा कम्तिमा १२८ पत्रकारहरुको मृत्यु भएको जनाएको छ ।

काठमाडौं:     बङ्गलादेशका प्रदर्शनकारीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजिनामा माग गर्दै राष्ट्रपति भवन ’बङ्गभवन’ कब्जा गरेका छन् ।  यसअघि मङ्गलबार दिउँसो प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्नौ नेतृत्वको समूह ’एन्टी–डिस्क्रिमिनेशन स्टुडेन्ट मुभमेन्ट’ले ढाकाको केन्द्रीय शहीद मिनारमा भएको र्यालीमा राष्ट्रपतिको राजिनामासहित पाँच बुँदे मागको घोषणा गरेको थियो ।  राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग गर्दै मध्यराति बङ्ग भवनतर्फ अघि बढेका प्रदर्शनकारीहरु सेनाले ब्यारिकेड लगाएर रोकेको छ ।  प्रदर्शनकारीहरूले बङ्गभवन बाहिर उभिएर बङ्गलादेशका राष्ट्रपतिको राजीनामा मागको नारा लगाउन थालेका छन् ।  “राष्ट्रपति हसिनाको अधिनायकवादी सरकारका सहयोगी हुन् । उहाँले तुरुन्तै राजीनामा दिनुपर्छ”, एकजना प्रदर्शनकारीले भने ।   मोहम्मद साहाबुद्दिन बङ्गलादेशका १६औँ राष्ट्रपति हुन। उहाँ सन् २०२३ को राष्ट्रपति चुनावमा अवामी लिगको मनोनयनमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।   भेदभाव विरोधी विद्यार्थी आन्दोलनले सन् १९७२ मा लेखिएको संविधान खारेज गर्न माग गर्दै सन् २०२४ को सन्दर्भमा नयाँ संविधान लेख्न आह्वान गरेको छ ।  त्यसैगरी विद्यार्थीहरूले अवामी लिगको विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाउन माग गरेका छन् ।  प्रदर्शनकारीहरुले सन् २०१८ र २०२४ मा शेख हसिनाको नेतृत्वमा भएको चुनावलाई अवैध घोषणा गर्नुपर्ने र यी चुनावमा विजयी भएका सांसदहरूलाई अयोग्य ठहर गर्नुपर्ने माग गरेका छन् । उनीहरूले जुलाई–अगस्ट विद्रोहको स्फूर्तिलाई ध्यानमा राख्दै गणतन्त्रको घोषणा गर्न आह्वान गरेका छन् ।  सरकारी जागिरका लागि आरक्षण प्रणाली अन्त्य गर्न माग गर्दै जुलाईमा बङ्गलादेशमा विद्यार्थीहरूको नेतृत्वमा भएको विरोध प्रदर्शनले सरकार विरोधी प्रदर्शनको रूप लिएको हो ।  बढ्दो विरोधको पृष्ठभूमिमा, शेख हसिनाले ५  अगस्टमा प्रधानमन्त्रीको रूपमा राजीनामा दिएपछि बङ्गलादेशमा अन्तरिम सरकारको स्थापना भयो ।  हसिनाको राजीनामापछि हाल नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । 

नयाँ दिल्ली:     दिल्लीको भोलानाथ नगरस्थित एउटा घरमा शुक्रबार आगलागी हुँदा दुई जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएको प्रहरीले जनाएको छ ।  भोलानाथ नगरस्थित स्थानीय प्रहरी अधिकारीका अुनुसार सबै घाइते तथा मृतकहरू एउटै परिवारका सदस्य रहेका र उनीहरूको आगलागीका कारण कोठामा धुवाँले निस्सासिएर मृत्यु भएको हो ।   प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,  “शुक्रबार बिहान ५ः५० बजे दिल्लीको भोलानाथ नगरको घर नम्बर–१९७  आगलागी भएको जानकारी प्राप्त भएको र तत्काल प्रहरी तथा उद्धार टोली घटनास्थलमा पुगी घाइतेलाई उपचारको लागि जीटीबी अस्पतालमा लगिएको थियो ।”   फायर ब्रिगेडले आगलागीलाई केही समयमा नै नियन्त्रणमा लिएको थियो भने भग्नावशेषबाट ४२ वर्षीय शिल्पी गुप्ता र १६ वर्षीय प्रणव गुप्ताको मृत शरीर निकालेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।  

काठमाडौं:    प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) का प्रमुख तथा गत वर्ष अक्टोबर ७ मा भएको भयानक आक्रमणका मुख्य योजनाकार याह्या सिनवारको मृत्यु भएको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बिहीबार राति पुष्टि गर्नुभएको छ ।  प्रधानमन्त्री नेतन्याहूले आफ्ना सहयोगीलाई हमास प्रमुखको मृत्युबारे इजरायली बन्धकका परिवारलाई जानकारी दिन पनि निर्देशन दिनुभएको छ ।   अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले हमास प्रमुखको मृत्यु ‘न्यायिक’ भएको बताउनुभएको छ। “हमासले इजरायलका लागि निम्त्याएको खतरालाई निर्मूल पार्नुपर्छ,” अर्को महिना हुने अमेरिकी राष्ट्रपतीय चुनावका लागि डेमाक्र्याटिक उम्मेदवार ह्यारिसले भन्नुभयो, “परिणामस्वरुप विश्वले सुरक्षित महशुस गर्न सक्नेछ र पीडितका परिवारले राहत महसुस गर्नेछन्।” इजरायली रक्षा बल (आईडीएफ) ले गाजामा आफ्नो कारबाहीका क्रममा तीन जना हमास लडाकू मारिएको पुष्टि गरेको थियो । इजरायली आक्रमणमा मृत्यु भएका तीन लडाकूमध्ये एक हमासका प्रमुख याह्या सिनवार भएको बताइएको छ ।  आईडीएफले एक्समा एक पोस्ट शेयर गर्दै लेखेको छ, “गाजामा आईडीएफ अपरेसनको क्रममा तीन जना मारिएका थिए । आईडीएफ र आईएसएले आतंकवादीमध्ये एक याह्या सिनवार भएको सम्भावनाको वैज्ञानिक पुष्टि गर्न आवश्यक जाँच भइरहेको छ ।”  मङ्गलबार आईडीएफ र शिन बेट सुरक्षा निकायले अक्टोबर ७ मा भएको आक्रमणमा सहभागी हमासका तीन ‘आतङ्ककारी’ हालैका दिनमा भएका हवाई आक्रमणमा मारिएको जनाएको छ । इजरायलले लेबनानमा गरेको हवाई आक्रमणमा हिजबुल्लाहका अर्का उच्च पदस्थ नेता हसन नसरल्लाहको मृत्यु भएको केही हप्तापछि यो घटना भएको हो । यसअघि हमासका अर्का वरिष्ठ नेता इस्माइल हनियाको इरानमा मृत्यु भएको थियो । तेहरान र हमासले हनियाको मृत्यु भएको घटनामा आक्रमणको आरोप इजरायलमाथि लगाए पनि इजरायलले न त यो आरोप स्वीकारेको छ न त अस्वीकार नै गरेको छ । हालै आईडीएफले गाजामा हमास सरकारका प्रमुख राउही मुश्ताहा र हमासको राजनीतिक ब्युरोमा सुरक्षा जिम्मेवारीे सम्हालेका समेह अल सिराजसहित हमासका उच्च पदस्थ अधिकारीहरूको मृत्यु भएको जनाएको थियो ।   टाइम्स अफ इजरायलका अनुसार मङ्गलबार आइडीएफले जाबालियामा भएको हवाई आक्रमण र भिडन्तमा हमासका करिब २० जना लडाकू मारिएको जनाएको छ । इजरायली सेनाका अनुसार युद्धका क्रममा सेनाले एउटा हतियार डिपो र अन्य हतियार पनि फेला पारी नष्ट गरेको छ । सेनाले भनेको छ, “यो अभियान आवश्यक भएसम्म जारी रहनेछ र योजनाबद्ध रूपमा आक्रमण र त्यस क्षेत्रमा रहेका आतङ्कवादी संरचनालाई पूर्ण रूपमा नष्ट गरिनेछ।” सोमबार आइडीएफले उत्तरी गाजाका बेइट हनौन, जबालिया र बेइट लहियाका प्यालेस्टिनीहरूलाई गाजाको दक्षिणमा रहेको इजरायलद्वारा निर्दिष्ट मानवीय क्षेत्रमा स्थानान्तरण गर्न आदेश दिएको टाइम्स अफ इजरायलले जनाएको छ।