एजेन्सी: मलेसियामा दुई सैनिक हेलिकप्टर  एक आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ।    ९०औं सैनिक दिवस मनाउन अभ्यासरत दुई सैन्य विमान ठोक्किँएको मलेसियाका  सञ्चारमाध्यमले जनाएक...

काठमाडौं:  अन्नपूर्ण हिमालमा गत सोमबारदेखि बेपत्ता भएका अर्का एक भारतीय पर्वतारोही पनि जीवितै फेला परेका छन् । ३४ वर्षीय भारतीय पर्वतारोही अनुराग मालुलाई उद्धारकर्ताले जीवितै फेला पारेका हुन् ।   यसअघि अन्नपूर्ण हिमालमै गत सोमबार नै बेपत्ता भएकी २७ वर्षीया भारतीय पर्वतारोही बलजित कौरलाई पनि उद्धारकर्ताले जीवितै उद्धार गरेका थिए ।   अनुरागका भाइ सुधीरले भारतीय समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै अनुराग जिउँदै फेला परेको तर अवस्था गम्भीर रहेको बताएका छन् । ‘उनलाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ, उनी जीवितै छन्,’ भाइ सुधीरले भनेका छन् ।   हिन्दुस्तान टाइम्सका अनुसार राजस्थानको किसनगढ निवासी अनुराग मालु गत सोमबार अन्नपूर्णको ६ हजार मिटर उचाइमा लडेर बेपत्ता भएका थिए । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल विश्वको १० औं अग्लो हिमाल हो ।

काठमाडौं:    भारत उत्तर प्रदेशका पूर्व सांसद अतिक अहमद र उहाँका दाजु अशरफको गोली हानी हत्या भएको छ। पूर्व विधायक राजु पालको हत्या आरोपमा प्रहरीले पक्राउ गरेका अतिक र अशरफलाई प्रयागराजमा रहेको एक अस्पतालमा गएराति स्वास्थ्य जाँचका लागि लैजाने क्रममा गोली हानिएको थियो । पत्रकारलाई प्रतिक्रिया दिइरहेको बेला भिडबाट गोली प्रहार भएको द हिन्दुस्तान टाइम्सले जनाएको छ । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यो घटनालाई निकै गम्भीर भन्दै तीन सदस्यीय उच्चस्तरीय अनुसन्धान आयोग गठन गर्नुभएको छ । 

काठमाडौं:    भारतमा एकै दिन छ हजार जनाभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो केही दिनदेखि भारतमा कोरोना सङ्क्रमण बढिरहेकोमा पछिल्लो २४ घण्टामा छ हजार ५० जनामा सङ्क्रमण पुष्टि भएको भारतका स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । भारतमा एकै दिन सङ्क्रमण पुष्टि भएको यो सङ्ख्या पछिल्लो दुई सय तीन दिनयताकै उच्च रहेको पनि बीबीसीको खबरमा उल्लेख छ । पछिल्लो २४ घण्टामा थपिएको सङ्ख्यासँगै भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या २८ हजार तीन सय तीन जना पुगेको छ । यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण १४ जनाको ज्यान गएको छ । पछिल्लो समय भारतमा कोभिड-१९ को नयाँ भेरिएन्ट ओमिक्रोन एक्सबीबी १.१६ फैलिरहेको छ । भारतमा गएको जनवरीमा पहिलो पटक यो भेरिएन्ट देखिएको हो ।

न्युयोर्क : अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध  फौजदारी अभियोग लागेको छ ।  लामो अनुसन्धानपछि म्यानहाटनको ग्रान्ड जुरीले उनलाई फौजदारी अभियोग लगाएको हो ।     अमेरिकाको इतिहासमा पूर्वराष्ट्रपतिलाई फौजदारी अभियोग लागेको यो पहिलो घटना हो ।    फौजदारी अभियोगबारे ग्रान्ड जुरीले स्पष्ट नगरे पनि विवाहेत्तर यौन सम्बन्धलगायत दुई दर्जन मुद्दा पूर्वराष्ट्रपतिलाई लाग्ने सञ्चारमाध्यमहरूले जनाएका छन् ।   जुरीको उक्त निर्णयसँगै उनको राजनीतिक एवम् व्यापारिक कारोबार प्रभावित हुनाका साथै पुनः राष्ट्रपतिमालड्ने उनको योजना चकनाचुर भएको छ ।  सन् २०१६ को राष्ट्रपतीय निर्वाचन अघि ट्रम्पले अश्लिल चलचित्रकी नायिका स्टर्मी डेनियलसँग कायम गरेको यौनसम्बन्ध र त्यसलाई गोप्य राख्न उनलाई भुक्तान गरिएको एक लाख ३० हजार अमेरिकी डलरलाई मुख्य मुद्दा बनाइएको जनाइएको छ ।    ट्रम्पविरुद्धका मुद्दाको विस्तृत विवरण सार्वजनिक गरिएको छैन । डेनियलले पनि आफूलाई ट्रम्पले मौन रहन रकम दिएको दाबी गरेकी छन् ।    पूर्वराष्ट्रपति ट्रम्पले आफूमाथि लगाइएको उक्त आरोपको खण्डन गरेका छन् । उनले आफूमाथि लगाइएको आरोपलाई राजनीतिक स्वार्थबाट प्रेरित भनेका छन्।    उनका छोरा एरिकले आसन्न राष्ट्रपतिको चुनावलाई लक्ष्य गरेर विपक्षीले उक्त आरोप लगाएको आरोप लगाएका छन्। म्यानहाटनस्थित सरकारी वकिलको कार्यालयले पूर्वराष्ट्रपतिको आत्मसमर्पणको सहजीकरणका निम्ति उनका वकिलसँग सम्पर्क गरिएको बताएका छन् ।    हाल फ्लोरिडामा रहेका ट्रम्प आगामी मंगलबार न्युयोर्कको अदालतमा उपस्थित हुने अपेक्षा गरिएको छ ।  अदालतमा उनले आफू निर्दोष रहेको दलिल प्रस्तुत गर्दै अपील गर्ने सम्भावना छ । उनलाई अदालतले धरौटीमा रिहा गर्ने सम्भावना पनि रहेको छ ।    शुक्रबार नै उनलाई आत्मसमर्पण गर्न भनिएको थियो तर उनका वकिलहरूले केही समय माग गरेका थिए ।

काठमाडौं:  शुक्रबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ।   आइतबार एकको खरिददर १३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५ पैसामा कारोबार भएको अमेरिकी डलर आज पनि सोही भाउमा किनबेच भएको छ।   नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १४३ रुपैयाँ ४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७० पैसा तोकिएको छ।    बिहीबार युरो एकको खरिदमा भने १४२ रुपैयाँ ६७ पैसा र बिक्रीमा १४३ रुपैयाँ ३२ पैसा कायम गरिएको थियो। बिहीबाररको तुलनामा आज युरो  ३८ पैसा बढेको हो।   त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ६ पैसा र बिक्रीमा ८८ रूपैयाँ ४७ पैसा तोकिएको छ।    यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १६३ रूपैयाँ १२ पैसा तोकिएको छ।    क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ३ पैसा र बिक्रीमा ९७ रूपैयाँ ४८ पैसा पाइन्छ।   यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रूपैयाँ १३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २ पैसा र बिक्रीदर ३५ रूपैयाँ १८ पैसा तोकेको छ।   युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ७९ पैसा र बिक्रीमा ३५ रूपैयाँ ९५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २९ रूपैयाँ ७२ पैसा र बिक्रीमा २९ रूपैयाँ ८६ पैसा पाइन्छ।   शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२८ रूपैयाँ ६४ पैसा र बिक्रीमा ४३० रूपैयाँ ५९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४८ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३५० रूपैयाँ २० पैसा तोकिएको छ।

मुम्बई: अभिनेता अमिताभ बच्चन घाइते भएका छन् । हैदराबादमा फिल्म ‘प्रोजेक्ट के’ को एक एक्सन दृश्य सुटिङको क्रममा उनी घाइते भएका हुन् । जसको जानकारी उनले आफ्नो ब्लग मार्फत दिएका छन् ।   उनले लेखेका छन् ‘करङको मांसपेशी च्यातिएको छ । सुटिङ रोकिएको छ । आवतजावत गर्न कठिन छ । धेरै दुख्छ । श्वासप्रश्वासमा पनि समस्या छ । केही औषधि दिइएको छ । निको हुन केही समय लाग्छ ।’   आफू जलसामा आराम गरिरहेको बताएका बच्चनले अहिलेको अवस्थामा फ्यान भेट्न नसक्ने भन्दै फ्यानलाई जलसामा भेट्न नआउन अनुरोध समेत गरेका छन् ।   ‘प्रोजेक्ट के’ का निर्देशक प्रशान्त नील हुन् । ‘प्रोजेक्ट के’ मा अमिताभको अलावा  प्रभास, दीपिका पादुकोण र दीसा पटानी मुख्य भूमिकामा छन् । 

इस्तानबुल:  टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २१ हजार जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् ।   टर्कीको विपद् व्यवस्थापन निकायले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपिल गरेको छ । अन्तर्राष्ट्रिय रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीले तत्काल आफ्नो आपत्कालीन कोषबाट तत्काल नगद सहायता परिचान गर्ने बताएको छ । सिरिया र टर्कीका भूकम्प पीडितको सहयोगका लागि उक्त रकम निकासा गरिने सोसाइटीले जनाएको छ ।    संयुक्त राष्ट्रसङ्घीय सहायता निकाएका छ वटा विशाल वाहन राहत सामग्री लिएर टर्कीको सिमाना पार गरेर सिरिया पुगेका छन् । यो सहायता सिरियाका लागि पहिलो अन्तर्राष्ट्रिय सहयोग हो ।   टर्कीका केही प्रभावित क्षेत्रमा पानी, इन्धन र बिजुली नहुँदा अझ धेरैको ज्यान जानसक्ने चिन्ता विश्व स्वास्थ्य सङ्गठनले व्यक्त गरेको छ ।   प्रतिकूल मौसमका कारण खोज तथा उद्धारमा अवरोध भएको छ । यद्यपि, उद्धारकर्मीहरू भग्नावशेषमा पुरिएकाहरूको खोजीमा जुटेका छन् । बेलायतलगायत देशले टर्की र सिरियाका भूकम्पपीडितका लागि आर्थिक सहायता तथा राहत सामग्रीका निम्ति सर्वसाधारण एवम् परोपकारी संस्थासँग आग्रह गरेका छन् ।   अमेरिकाले पनि सिरियामाथिको प्रतिबन्धले मानवीय सहायतामा अवरोध नहुने जनाउँदै सहायोगको घोषणा गरेको छ । अर्थ मन्त्रालयले मानवीय सहायताका कार्यमा प्रतिबन्ध लागू नहुने बताएको छ ।  

काठमाडौं:  टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ४८ सय नाघेको अन्तर्राष्ट्रिय मिडिया बिबिसीले जनाएको छ । साथै हजारौँ संख्यामा घाइते भएका छन् । सोमबार बिहान स्थानीय समयअनुसार ०४:१७ मा (०१:१७ GMT) पहिलो भुकम्प ७.८ म्याग्निच्युडको गएको थियो ।  बिबिसीका अनुसार पहिलो भुकम्प पछि टर्किमा मात्रै ३ हजार ३ सय ८१ जनाले ज्यान गुमाएका र १५ हजार भन्दा बढि घाइते भएका छन् ।  करिब १३ घण्टा पछि पुनः दोश्रो शक्तिशाली भुकम्प ७.५ म्याग्निच्युडको गएको थियो । तर त्यसबीचमा सयौं पराकम्प गएका थिए । भुकम्पविदका अनुसार टर्कीको पहिलो भुकम्प अहिले सम्मको सबैभन्दा शक्तिशाली भुकम्प रहेको बताएका छन् ।  सोमबार बिहानको भूकम्प १७.९ किमिको गहिराइसम्म पुगेको थियो ।       

बेरुत: टर्की र सिरियाको सिमानामा केन्द्रबिन्दु भएर अहिलेसम्म सात रेक्टर स्केलभन्दा बढी तीनवटा भूकम्पले सो क्षेत्रको जनजीवन प्रभावित बनाएको छ ।   चार रेक्टर स्केलभन्दा बढी मापन गरिएका भूकम्प करिब पाँच दर्जन गइसकेका छन् । पराकम्पनकै बीचमा ७.८ र ७.५ रेक्टर स्केलका भूकम्पहरू गइसकेका छन् ।   अहिलेसम्म सो क्षेत्रमा निरन्तर गइरहेको भूकम्पका कारण मृत्यु हुनेकाे १३ सयभन्दा बढी पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा ठूलाे भूकम्प हो ।   भूकम्पविद्का अनुसार सो क्षेत्रमा केही दिनसम्म पराकम्पन व नयाँ भूकम्पहरू जाने सम्भावना रहेको छ ।     अमेरिकी भौगर्भिक सर्भेकाअनुसार स्थानीय समय सोमबार बिहान ४ : १७ बजे टर्की अधीनस्थ दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै १७.९ किलोमिटरको गहिराइमा केन्द्रबिन्दु भएर सुरु भएको भूकम्पको ७.८ म्याग्निच्युडको रहेको थियो ।    ३७ लाख सिरियाली शरणार्थीहरू बसोबास गरिररहेकाे सो स्थानको नजिकै केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । यो  विश्वको सबैभन्दा ठूलाे शरणार्थी शिविर हो । भूकम्पमा परी १७ सय भवनहरू भत्किएका छन् ।   युनिभर्सिटी कलेज अफ लण्डनका स्टेफेन हिक्कका अनुसार अहिलेसम्म दर्जनौँ भूकम्पका पराकम्पन गइसकेका छन् । मुख्य भूकम्प गएको दश मिनेटपछि ६.७ म्याग्निच्युडको पराकम्पन गएको थियो ।    भूकम्पमा परी सिरियाको अलेप्पो, लाटकिया, हामा र टार्टस प्रान्तमा गरी ५६० भन्दा बढीको मृत्यु भएका छन् । टर्कीमा मात्रै ९१२ जनाको ज्यान गएको छ ।     भूकम्पको धक्का लेबनान, साइप्रसमा पनि महसुस गरिएको थियो । भूकम्पका कारण सम्भावित सुनामीको मध्यनजर गरी इटालीमा जोखिम न्यूनीकरणे व्यवस्थापन गरिएको बीबीसीले उल्लेख गरेको छ ।    ८० वर्ष अघि टर्कीमा सन् १९३९ मा ७.८ म्याग्निच्युडको भूकम्प जाँदा ३० हजार सर्वसाधारणको मृत्यु भएको थियो । यस्तै, २०२० जनवरीमा ६.७ म्याग्निच्युडकोकाे भूकम्प जाँदा ४१ जनाको ज्यान गएको थियो । –उपेश महर्जन (बीबीसी, अलजजिरा) को सहयोगमा ।