नयाँ दिल्ली: सन् १९९० को दशकको सुरुमा देशको आर्थिक उदारीकरणका वास्तुकारमध्ये एक पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनपछि भारतले शुक्रबार सात दिनको राजकीय शोक मनाउने घोषणा गरेको छ । सन् २००४ देखि २०१४ सम्म प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुभएका सिंहको बिहीबार साँझ नयाँदिल्लीको अस्पतालमा ९२ वर्षको उमेरमा निधन भएको थियो । उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ । “दिवङ्गत महानुभावप्रति सम्मान स्वरूप सम्पूर्ण भारतमा सात दिनको राजकीय शोक मनाइने निर्णय गरिएको छ”, भारत सरकारले शुक्रबार एक विज्ञप्तिमा भनेको छ । शोक जनवरी १ सम्म मनाइनेछ । “स्वर्गीय डा मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने निर्णय पनि गरिएको छ”, विज्ञप्तिमा उल्लेख छ । राष्ट्रिय झण्डा आधा झुकाइनेछ । अस्ट्रेलियासँग चौथो टेस्ट खेलिरहेको भारतीय क्रिकेट टोलीले शुक्रबार सिंहप्रति सम्मान प्रकट गर्न कालो हातको ब्यान्ड लिएर शुक्रबार मैदानमा पुगेको थियो । राजकीय अन्त्येष्टिको मिति तत्काल घोषणा नगरिए पनि कांग्रेस पार्टीका एक वरिष्ठ सदस्यले शनिबार हुनसक्ने सङ्केत गरेका छन् । – सरल टेक्नोक्र्याट – पूर्वप्रधानमन्त्री एक सरल टेक्नोक्र्याट हुनुहुन्थ्यो । उहाँलाई पहिलो कार्यकालमा एसियाको चौथो ठूलो अर्थतन्त्रको आर्थिक वृद्धिको नेतृत्व गरेकामा प्रशंसा गरिएको थियो तर उहाँको दोस्रो कार्यकाल ठूला भ्रष्टाचार काण्ड, मन्द विकास र उच्च मुद्रास्फीतिका साथ समाप्त भयो । दोस्रो कार्यकालमा सिंहको अलोकप्रियता र तल्लो सदनमा हालका विपक्षी नेता नेहरू–गान्धी वंशज राहुल गान्धीको कमजोर नेतृत्वले सन् २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो भारी जीतमा योगदान गर्यो । सन् १९३२ मा अहिले पाकिस्तानमा रहेको गाह गाउँको माटोको घरमा जन्मनुभएका सिंहले विशाल राष्ट्रमा गरिबी उन्मूलन गर्ने तरिका खोज्न अर्थशास्त्रको अध्ययन गर्नुभयो । राष्ट्रको सर्वोच्च पद लिनुअघि उहाँ कहिल्यै निर्वाचित पदमा बस्नुभएको थिएन । उहाँले केम्ब्रिजबाट अर्थशास्त्रमा प्रथम श्रेणी र अक्सफोर्डबाट विद्यावारिधि हासिल गर्न छात्रवृत्ति पाउनुभएको थियो । सिंहले वरिष्ठ निजामति सेवाका विभिन्न पदमा काम गर्नुभयो, केन्द्रीय बैंङ्कको गभर्नरको रूपमा सेवा गर्नुभयो र संयुक्त राष्ट्रसङ्घ जस्ता विश्वव्यापी एजेन्सीहरूमा विभिन्न पद सम्हाल्नुभयो । सन् १९९१ मा तत्कालीन कांग्रेसी प्रधानमन्त्री पी।भी। नरसिंह रावले उहाँलाई भारतको आधुनिक इतिहासको सबैभन्दा खराब वित्तीय सङ्कटबाट देशलाई उकास्न जिम्मेवारी दिनुभएको थियो । आफ्नो पहिलो कार्यकालमा सिंहले नौ प्रतिशतको आर्थिक वृद्धिको अवधिमा अर्थतन्त्रको नेतृत्व गर्नुभयो । यसले देशलाई लामो समयदेखि खोजिरहेको अन्तर्राष्ट्रिय प्रभाव दियो । उहाँले अमेरिकासँग एउटा ऐतिहासिक आणविक सम्झौतामा पनि हस्ताक्षर गर्नुभयो । उहाँले उक्त सम्झौताले भारतलाई आफ्नो बढ्दो ऊर्जा आवश्यकताहरू पूरा गर्न मद्दत गर्ने बताउनुभएको थियो ।
काठमाडौं: जापान एयरलाइन्सले बिहीबार साइबर आक्रमणको रिपोर्ट गरेको छ । एयरलाइन्सले यसबाट घरेलु र अन्तर्राष्ट्रिय उडानहरूमा ढिलाइ भएको तर पछि उक्त कारण पत्ता लगाएर समाधान गरेको बतायो । एयरलाइन्सको ब्यागेज चेक–इन प्रणालीमा समस्याहरूले धेरै जापानी विमानस्थलमा एक दर्जनभन्दा बढी उडानमा ढिलाइ भएको तर कुनै सामूहिक रद्द वा ठूलो अवरोध नभएको सार्वजनिक प्रसारक एनएचकेले बतायो । जापान एयरलाइन्स (जेएएल) अल निप्पन एयरवेज (एएनए) पछिको देशको दोस्रो ठूलो एयरलाइन्स हो । “हामीले समस्याको कारण पत्ता लगायौँ र सम्बोधन गर्यौँ । हामी प्रणाली पुनःस्थापना स्थितिको जाँच गरिरहेका छौँ”, जेएएलले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्टमा भन्यो, “आज प्रस्थान गर्ने दुवै घरेलु र अन्तर्राष्ट्रिय उडानको बिक्री स्थगित गरिएको छ । कुनै पनि असुविधाका लागि हामी माफी चाहन्छौँ ।” यसअघि बिहीबार जेएएलका प्रवक्ताले कम्पनीमाथि साइबर आक्रमण भएको बताउनुभएको थियो । स्थानीय समयानुसार बिहीबार बिहान ७ः२४ बजे नेटवर्क अवरोध सुरु भएको जेएएलले विज्ञप्तिमा जनायो । “त्यसपछि बिहान ८ः५६ बजे हामीले अवरोध सिर्जना गरिरहेको राउटर (नेटवर्कहरू बीच डाटा आदानप्रदान गर्ने उपकरण) लाई अस्थायी रूपमा अलग ग¥यौँ”, विज्ञप्तिमा उल्लेख छ । यो खबर सार्वजनिक भएपछि जेएएलको शेयर बिहानको कारोबारमा २.५ प्रतिशतसम्म घट्यो । त्यसपछि केही सुधार भयो । एयरलाइन्स साइबर आक्रमणबाट प्रभावित हुने पछिल्लो जापानी कम्पनी मात्र हो । जापानको अन्तरिक्ष एजेन्सी जाक्साले सन् २०२३ मा अज्ञात संस्थाहरूले साइबर आक्रमण गरेर प्रवेश गरेको तर रकेट वा स्याटेलाइटबारे कुनै संवेदनशील जानकारी प्राप्त नभएको बताएको थियो । सोही वर्ष जापानको व्यस्त बन्दरगाहहरू मध्ये एक नागोया बन्दरगाह ¥यान्समवेयर आक्रमणबाट प्रभावित भएको थियो । यसको दोष रुसमा आधारित साइबर अपराध सङ्गठन लकबिटलाई दिइएको थियो । जापानको साइबरट्याक्स विरुद्धको रक्षाका लागि जिम्मेवार एजेन्सी नेसनल सेन्टर अफ इन्सिडेन्ट रेडिनेस एन्ड स्ट्रेटेजी फर साइबरसिक्योरिटी (एनआइएससी) ले सन् २०२३ मा नै ह्याकरहरूले नौ महिनासम्म घुसपैठ गरेको बताएको छ । सन् २०२२ मा सरकारले टोयोटा आपूर्तिकर्तामा अवरोधको पछाडि साइबर आक्रमण भएको बताएको थियो । यसले शीर्ष बिक्री हुने अटो निर्मातालाई एक दिनका लागि घरेलु कारखानाहरूमा सञ्चालन रोक्न बाध्य तुल्याएको थियो । हालै लोकप्रिय जापानी भिडियो साझेदारी वेबसाइट निकोनिकोले ठूलो स्तरको साइबर आक्रमणको प्रभावमा परेको भन्दै जुन महिनामा आफ्ना सेवाहरू स्थगित गरेको थियो ।
काठमाडौं: अजरबैजान एअरलाइन्सको यात्रुबाहक विमान पश्चिमी कजाकिस्तानमा बुधबार दुर्घटनाग्रस्त भएको छ । हावाहुरीका कारण निर्धारित गन्तव्यमा जान नसकेपछि मार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् । कजाकिस्तानका अधिकारीहरूले बाकूबाट रूसको ग्रोज्नीका लागि उडेको एम्ब्रेयर १९० विमान क्यास्पियन सागरको पूर्वी किनारामा तेल र ग्याँसको केन्द्र अक्टाउ शहर नजिकै दुर्घटना भएको बताएका छन् । कजाकिस्तानका अधिकारीले भनेका छन्, “विमानमा रहेका ३० भन्दा बढी यात्रुको मृत्यु भएको हुनसक्ने बताएका छन् । मृतकको सङ्ख्या अझै औपचारिक रूपमा पुष्टि हुन सकेको छैन ।” विमानमा ६२ यात्रु र पाँच चालक दलका सदस्य थिए भने २८ जनालाई जीवितै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ । उक्त विमान अजरबैजानको राजधानी बाकुबाट क्यास्पियन नदीको पश्चिमी किनारमा रहेको दक्षिणी रुसको चेचन्यास्थित ग्रोज्नी शहरका लागि उडेको थियो । विमान दुर्घटनापछि अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले पूर्व सोभियत राष्ट्रहरूको समूह ‘कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट्स’का नेताहरूको अनौपचारिक शिखर सम्मेलनमा भाग लिन रूसको भ्रमणको कार्यक्रम छोट्याएको उहाँको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। कजाकिस्तानको यातायात मन्त्रालयले टेलिग्राममा भनेको छ, “बाकु–ग्रोज्नी हवाई मार्गमा उडेको एउटा विमान अक्ताउ शहर नजिकै दुर्घटनाग्रस्त भएको छ । यो अजरबैजान एयरलाइन्सको हो।” अजरबैजानको राष्ट्रिय ध्वजाबाहक एयरलाइन्सका अनुसार विमानमा ६२ जना यात्रु र पाँच जना चालक दलका सदस्य थिए । विमान अक्ताउबाट करिब तीन किलोमिटर टाढा ‘आपतकालीन अवतरण’ गरिएको बताइएको छ । विमानमा अजरबैजानका ३७ जना, कजाकिस्तानका छ जना, किर्गिस्तानका तीन जना ररूसका १६ जना रहेको कजाकिस्तानको यातायात मन्त्रालयले जनाएको छ । कजाकिस्तानको आकष्मिक व्यवस्था मन्त्रालयले विमान दुर्घटना हुँदा लागेको आगो आफ्ना कर्मचारीले नियन्त्रणमा लिएको जनाएको छ । “प्रारम्भिक जानकारीअनुसार विमानमा सवार दुई बालबालिकासहित २८ जनालाई अस्पताल भर्ना गरिएको छ,” मन्त्रालयले भनेको छ । घटनास्थलमा १५० भन्दा बढी तालिमप्राप्त कर्मचारी उद्धारका लागि जुटेका छन् । कजाकिस्तानको राजधानी अस्तानाबाट घाइतेको उपचारका लागि विशेषज्ञ चिकित्सकसहितको विशेष विमान पठाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अलियेभको कार्यालयले भनेको छ, “राष्ट्रपतिले विपत्तिको कारण पत्ता लगाउन तत्काल कदम चाल्न निर्देशन दिनुभएको छ ।” स्थानीय स्वास्थ्य अधिकारीहरूले यसअघि दिएको जानकारीमा १४ जना घाइतेलाई क्षेत्रीय अस्पतालमा लगिएको र पाँच जनालाई सघन उपचार कक्षमा राखिएको बताएका थिए भने स्थानीय सञ्चारमाध्यमले विमानमा सवार २५ जनालाई जीवितै उद्धार गरिएको र पाँच जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको समाचारमा उल्लेख गरेका थिए ।
काठमाडौं: दक्षिण कोरियाली राष्ट्रपति यून सुक योलले सैनिक शासनको घोषणा गरेको विषयमा अनुसन्धान तीव्र रुपमा भइरहेका बेला प्रहरीले बुधबार उहाँको कार्यालयमा छापा मारेको छ। जेल प्रशासनका अनुसार देशका पूर्व रक्षामन्त्रीले डिसेम्बर ३ को रातिको घटनालाई लिएर औपचारिक रुपमा पक्राउ पर्नुभन्दा केही समयअघि आत्महत्याको प्रयास गर्नुभएको छ । सैन्य शासन लागु भएपछि सेना र हेलिकप्टरहरू संसद्मा पठाइ सांसदहरूलाई यूनको सैन्य कानून घोषणालाई मतदान गर्नबाट रोक्नको लागि प्रयास गरिए पनि विपक्षी गठबन्धनले सेनाको घेरालाई तोड्दै संसद्मा राष्ट्रपतिविरूद्ध महाभियोगको प्रस्ताव दर्ता गरिएको थियो । दक्षिण कोरियाको प्रहरीको विशेष अनुसन्धान एकाइले बुधबार राष्ट्रपति कार्यालय, राष्ट्रिय प्रहरी निकाय, सियोल महानगर प्रहरी कार्यालय र राष्ट्रिय सभा सुरक्षा सेवामा छापा मारेको जनाएको छ । विज्ञप्तिमा छापापछिको विकासक्रमको बारेमा थप विवरण दिइएको छैन । यसैबीच, पूर्व रक्षामन्त्री किम योङ ह्युनले हिरासतमा रहँदा मङ्गलबार मध्यरातमा आत्महत्याको प्रयास गरेको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् । किमलाई पहिलो पटक आइतबार पक्राउ गरिएको थियो । उहाँलाई औपचारिक रूपमा पक्राउ गर्नुभन्दा केही समयअघि नै उहाँले आत्महत्याको प्रयास गरेको न्याय मन्त्रालय र जेलका एक अधिकारीले बताएका छन् । बुधबार उहाँको स्वास्थ्य अवस्था राम्रो रहेको प्रहरीले जनाएको छ । किमलाई ‘सैनिक कानून घोषणा गर्न महत्वपूर्ण भूमिकामा संलग्न भएको’ र ‘नागरिक अधिकारको प्रयोगमा बाधा पु¥याउन पदीय मर्यादाको दुरुपयोग गरेको’ आरोपमा पक्राउ गरिएको थियो । पूर्व रक्षामन्त्रीले आफ्ना वकिलहरूमार्फत भन्नुभएको छ, “यो स्थितिको सम्पूर्ण जिम्मेवारी ममाथि मात्र छ र मातहतका कर्मचारीहरूले मेरो ९रक्षामन्त्री०को आदेशको पालना गर्दै आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् । उहाँलाई पूर्वगृहमन्त्री र ‘मार्शल ल’ कार्यान्ववयनको जिम्मेवारीमा रहेका जनरलसँगै यात्रा प्रतिबन्ध लगाइएको थियो । कोरियाली राष्ट्रिय प्रहरी एजेन्सीका आयुक्त जनरल चो जि–हो र सियोल महानगरीय प्रहरी कार्यालयका प्रमुख किम बोङ सिकलाई पनि बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । –घोषणामा के थियो – “उत्तर कोरियाली कम्युनिस्ट शक्तिले निम्त्याएको खतराबाट जोगाउन र जनताको स्वतन्त्रता र सुखलाई लुट्ने राज्यविरोधी तत्वलाई नियन्त्रणका लागि नागरिक शासन निलम्बन गरिएको हो,” युनले घोषणाका क्रममा भन्नुभएको थियो । उहाँको घोषणा कोरियाली जनताको विरोधका सामु लामो समय टिकेन र ‘मार्शल ल’ लागु भएको घोषणा भएको केही घण्टापछि उहाँले आफ्नो निर्णय फिर्ता लिनुभएको थियो । राष्ट्रपतिको घोषणासँगै सेनाप्रमुख जनरल पार्क आन–सुको आदेशमा राजनीतिक गतिविधि र पार्टी, ‘गलत प्रचार’, हडताल र ’सामाजिक अशान्ति भड्काउने जमघट’ माथि प्रतिबन्ध लगाइएको थियो । घोषणाको जिम्मेवारी लिँदै रक्षामन्त्री किम योन ह्युनले पदबाट राजिनामा दिनुभएको थियो भने उहाँलाई अनुसन्धानका लागि पक्राउ गरिएको थियो । घटनामा दोषी रहेको आरोपमा तीन जना सैनिक जनरललाई पनि निलम्बनपछि अनुसन्धान थालिएको छ ।
काठमाडौं: न्युजिल्यान्डको सबैभन्दा अग्लो हिमाल माउन्ट कुक आरोहणका क्रममा बेपत्ता भएका तीन आरोहीको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ। मृत्यु हुनेमा ५६ वर्षीय अमेरिकी कर्ट ब्लेयर र ५० वर्षीय कार्लोस रोमेरोसहित एक क्यानेडियन आरोही (परिवारको इच्छाअनुसार नाम गोप्य राखिएको) रहेका बताइएको छ । दक्षिण टापुको तीन हजार ७०० मिटर अग्लो माउन्ट कुकको आरोहणबाट फर्कन नसकेपछि तीनै जना पाँच दिनअघि बेपत्ता भएका थिए । स्थानीय प्रहरी निरीक्षक विकी वाकरले भन्नुभयो, “शुक्रबार उनीहरू हराएको पाँचौँ दिन पुगेको छ । उनीहरू बाँचेको हुनसक्ने कुनै आधार छैन।” खतरनाक मौसमका कारण तीन दिनसम्म खोजी कार्य रोकिएको थियो, तर शुक्रबारको अवस्थाले अल्पाइन इलाकामा खोजीका लागि हेलिकप्टर र ड्रोन तैनाथ गर्न सहज भएको छ । खोजी टोलीले यसअघि उनीहरूको भनिएको एक थान ज्याकेट, हिँउमा बाटो बनाउन प्रयोग गरिने हतियार ९हाते बन्चरो० लगायतका सामग्री भेटिएको जनाएको छ । शुक्रबारको ड्रोन फुटेजमा पनि पदचिह्नहरू पछ्याइएको र उनीहरू तीनै जनाले जुरब्रिगेन पहाडको चुचुरो काटेको सङुकेतहरू पाइएका छन् । वाकरले भन्नुभयो, “पर्वतारोहीहरू कति दिनदेखि हराइरहेका छन्, उनीहरूसँग कुनै सञ्चार छैन, हामीले प्राप्त गरेका सामानहरू र आज हाम्रो टोलीको समीक्षापछि, ती व्यक्तिहरू बाँचेका हुनसक्ने कुनै आधार भेटिएन ।” वाकरले तीनै आरोहीका परिवारसँग सम्पर्क गरिएको बताउँदै र नयाँ सूचना वा विश्वसनीय दृश्य देखिएमा प्रहरीले पुनः खोजी कार्य सुरु गर्ने बताउनुभयो ।
नयाँ दिल्ली: भारतको दक्षिणी तटीय क्षेत्रमा आएको न्यूनस्तरीय चक्रवातजन्य दुर्घटनाका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ । आँधीबाट भौतिक संरचनामा व्यापक क्षति भने नभएको अधिकारीहरूले बताएका छन् । फेङ्गल नाम दिइएको चक्रवात शनिबार अबेर राति ७० देखि ८० किलोमिटर प्रतिघण्टा (४३–५० माइल प्रतिघण्टा) को गतिमा तमिलनाड राज्यको तटीय क्षेत्रमा अवतरण गरेको थियो । तमिलनाडुराज्यका विपद् व्यवस्थापन मन्त्री केकेएसएसआर रामचन्द्रनले शनिबार राति चेन्नईमा आएको आँधीका कारण तीन जनाको मृत्यु भएको र उनीहरूको करेन्ट लागेर मृत्यु भएको जानकारी दिनुभयो । तर आँधीबाट भएको अन्य क्षति भने ‘न्यून’ रहेको उहाँले बताउनुभयो । ‘द टाइम्स अफ इन्डिया’ले मृतकको सङ्ख्या चार रहेको उल्लेख गर्दै आँधीका कारण कतिपय क्षेत्रमा बाढी आएको र रुखहरू ढलेको तर अनुमान गरिएभन्दा कम क्षति भएको उल्लेख गरेको छ । उत्तरी एटलान्टिक महासागरमा आँधीबेहरी वा उत्तर–पश्चिमी प्रशान्त महासागरमा आँधीबेहरी र आँधीजन्य मौसमी विपत यस क्षेत्रका वस्तीहरूका लागि एक नियमित र घातक जोखिम हो । यो आँधी आइतबारपछि बिस्तारै कमजोर हुँदै जाने अनुमान गरिएको छ भने भारतको मौसम विज्ञान विभागले भारतको दक्षिणी क्षेत्रमा भारी वर्षा हुने चेतावनी दिएको छ । विभागले आँधीको जोखिम रहँदासम्म समूद्रमा माछा मार्ने वा अन्य गतिविधिबाट टाढा रहन स्थानीयलाई सुझाव दिएको छ भने केही क्षेत्रमा “मध्यमदेखि उच्च बाढीको जोखिमको’ रहेको बताएको छ। फेङ्गलले यसै साताको सुरुमा श्रीलङ्काको समुद्री तटमा अवतरण हुँदा छ बालबालिकासहित कम्तीमा १२ जनाको मृत्यु भएको थियो । जीवाश्म ईन्धनको प्रयोगले हुने जलवायु परिवर्तनका कारण विश्वव्यापी तापमान वृद्धिसँगै शक्तिशाली आँधीबेहरीजन्य विपत् अझ बढ्न थालेको वैज्ञानिकहरूले चेतावनी दिएका छन् । समुद्रको तातो सतहले अधिक जलवाष्प छोड्छ, जसले आँधीबेहरीलाई अतिरिक्त ऊर्जा प्रदान गर्दछ र शक्तिशाली हावाहुरीमा परिणत गर्छ । राम्रो पूर्वानुमान र प्रभावकारी उद्धार योजनाले आँधीका कारण नाटकीय रूपमा हुने मृत्युको सङ्ख्यामा कमी ल्याएको छ । RSS
काठमाडौं: पूर्वी युगान्डामा भूस्खलनले छ वटा गाउँमा ४० घर पुरेपछि कम्तीमा १३ जनाको मृत्यु भएको छ । युगान्डा रेड क्रस सोसाइटीले १३ जनाको शव बरामद गरिएको र उद्धार कार्य जारी रहेको बताएको छ । स्थानीय मिडियाले मृतकको सङ्ख्या ३० सम्म पुग्नसक्ने अधिकारीहरूले अनुमान गरेको बताएका छन् । पहाडी जिल्ला बुलम्बुलीमा बुधबार राति भारी वर्षा भएपछि भूस्खलन भएको हो । यहाँँ भूस्खलन सामान्य छ । यस जिल्ला राजधानी कम्पालाबाट करिब २८०किलोमिटर पूर्वमा पर्दछ । यस क्षेत्रका एका पत्रकारले एसोसिएटेड प्रेसलाई स्थानीय अधिकारीहरूले उद्धार प्रयासमा सहयोग गर्न उत्खनन ल्याउने बताएका छन् तर सडकहरू पहिरोले ढाकिएका छन् र अझै पनि वर्षा भइरहेको छ । प्रभावित क्षेत्र करिब ५० एकडको छ । त्यहाँ घरहरू र कृषियोग्य जमिनहरू डाँडामा फैलिएका छन् । पीडितहरूको खोजीमा माटो खन्ने मानिसहरूको फोटो र भिडियोहरू सामाजिक सञ्जाल प्लेटफर्महरूमा साझा गरिएको थियो । केही घरहरू पहिरोले ढाकिएका थिए भने अरूमा जमिन माथि मात्र छाना देखाइएको थियो । डेली मोनिटर अखबारले अहिलेसम्म बरामद भएका अधिकांश शवहरू बालबालिकाहरूको भएको जनाएको छ । प्रधानमन्त्री कार्यालयले बुधबार विपद् चेतावनी जारी गर्दै देशभर भारी वर्षाले प्रमुख सडकहरू अवरुद्ध भएको बताएको छ । बुधबार नाइल नदीमा एक उद्धार अभियानका क्रममा दुई उद्धार नौकाहरू पल्टिए । त्यहाँ पाकवाच पुल डुबेको थियो ।
काठमाडौं: ज्वालामुखी विस्फोटका कारण अवरुद्ध भएका इन्डोनेसियाली रिसोर्ट टापुमा आउने र जाने उडानहरू पुनः सञ्चालनमा आएको विमान कम्पनीहरूले बिहीबार जनाएका छन् । विगत दुई हप्तादेखि भएको ज्वालामुखी विस्फोटका कारण कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै हजारौंलाई सुरक्षित स्थानमा सारिएको थियो । मौसम ‘सुध्रिएको’ अवस्थालाई उल्लेख गर्दै क्वान्टास र जेटस्टारले बालीमा आफ्नो सेवा पुनः सुरु गरेको विज्ञप्तिमार्फत जनाएका छन् । एयरएशियाले बिहीबारदेखि बाली जाने उडानहरू पुनः सुरु गर्ने जनाएको छ भने अस्ट्रेलियाले आफ्नो वेबसाइटमा उडानहरू पुनः सुरु गर्ने बताएको छ । यसैबीच, सिङ्गापुरको स्कुट एयरलाइन्सले लेवोटोबी लाकी–लाकीको ज्वालामुखी गतिविधिको कारण सिङ्गापुरबाट बाली र सुराबायाका लागि उडानहरू पुनर्निर्धारित गरेको जनाएको छ । विमानस्थललका महाप्रबन्धक अहमद स्योगी साहाबले माउन्ट लेवोटोबी लाकी–लाकीबाट ज्वालामुखीको खरानी बुधबार साँझदेखि विमानस्थलबाट टाढा गइरहेको बताउनु भएको छ । ज्वालामुखी विज्ञान विभागका अनुसार लेवोटोबी बिहीबार पुनः विस्फोट हुदाँ यसको खाडलबाट बाक्लो खरानी स्तम्भ र लाभा बगिरहेको देखिएको थियो । विमानस्थलको इन्स्टाग्राम अनुसार ज्वालामुखी नजिकैको लाबुआन बाजोको पर्यटक स्थलमा रहेको विमानस्थल बिहीबार पुनः खोलिएको छ ।
काठमाडौं: अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपतीय निर्वाचनबाट हालै नयाँ कार्यकालका लागि पुनरागमन गर्नुभएका रिपब्लिकन नेता डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुभएको छ । स्मरण रहोस्, राष्ट्रपति निर्वाचित ट्रम्फले चार वर्षअघि जो बाइडेनको विजयलाई अस्वीकार गर्दै शिष्टाचार भेट गर्ने र राष्ट्रपति निर्वाचित व्यक्तिलाई ह्वाइट हाउसमा स्वागत गर्ने र बधाई तथा शुभकामना दिने अमेरिकी परम्परालाई तोड्नुभएको थियो । बाइडेनले आफ्ना कटु प्रतिद्वन्द्वीलाई नयाँ कार्यकालका लागि ह्वाइट हाउसमा उपस्थित हुने र भेटवार्ता गर्ने निम्तो दिएर शिष्टताको प्रदर्शन गर्नुभएको छ । ट्रम्पको यो भ्रमण उहाँलाई अमेरिकी कङ्ग्रेसको पूर्ण नियन्त्रण प्रदान गर्नका लागि हाउस अफ रिप्रेजेन्टेटिभ्समा रिपब्लिकनहरूलाई बहुमत प्राप्त दल घोषणा गरिएको र उहाँले महान्यायाधिवक्ताको रूपमा फायरब्रान्ड म्याट गेट्जसहित आफ्नो शीर्ष टोलीको लागि केही प्रमुख नियुक्तिहरूको घोषणा गरिएको समयमा भएको हो । अमेरिकी राष्ट्रपति बाइडेन र आगामी फेब्रुअरी २० मा अमेरिकी नेतृत्वमा पुनरागमन गर्न लागेका नवनिर्वाचित राष्ट्रपति ट्रम्पले ओभल अफिसमा न्यानो आगोको अगाडि हात मिलाउँदै भेटवार्ता शुरू भएको थियो । ट्रम्पले सन् २०२० मा बाइडेनसँग आफ्नो हारलाई मान्यता दिन अस्वीकार गरेपछि तोडेको परम्परालाई पुनः स्थापित गर्दै बाइडेनले भन्नुभयो, “स्वागत छ ।” गत जुलाईमा चुनावबाट बाहिरिएका तर गत साता कमला ह्यारिस ट्रम्पसँग पराजित भएको देखेका एकासी वर्षीय बाइडेनले ७८ वर्षीय ट्रम्प लोकतन्त्रका लागि खतरा भएको संज्ञा पटक–पटक दिनुभएको थियो तर भेटमा मिठो स्वरमा शान्तिपूर्णरूपमा सत्ता हस्तान्तरण गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । दुई नेताले हात मिलाउँदा बाइडेनले तलतिर हेर्नुभएको थियो भने भने ट्रम्पले अगाडि झुकेर बाइडेनको आँखामा नियाल्नुभएको थियो । बाइडेनसँगको निर्वाचनमा ट्रम्पले हार अस्वीकार गरेपछि सन् २०२१ मा अमेरिकी संसद भवनमा उहाँका समर्थकले आक्रमण गरेका थिए । रिपब्लिकन नेता ट्रम्पले यस वर्ष आक्रोशक र विभाजनकारी चुनावी अभियान चलाउनुभएको थियो ।

