नवलपरासी: (बर्दघाट-सुस्तापूर्व)को कावासोती नगरपालिकाले यसै शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रम लागू गरेको छ । नगरपालिकाले सबै विद्यालयमा स्थानीय पाठ्यक्रम ‘मेरो कावासोती : मेरो गौरव’ लागू गरेको हो । विद्यालय शिक्षामा राष्ट्रिय पाठ्यक्रमले नसमेटेको नैतिक शिक्षासहित स्थानीय विषयवस्तुलाई प्राथमिकतामा राखेर पाठ्यक्रम तयारी गरी लागू गरिएको कावासोतीका नगरप्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो । “स्थानीय पाठ्यक्रममा हाम्रो नगरपालिकाभित्रको प्राकृतिक सम्पदा, स्थानीय पेसा व्यवसाय र आर्थिक क्रियाकलाप, सामाजिक संस्था, आनिबानी तथा स्वास्थ्य, प्राकृतिक प्रकोप र जोखिम व्यवस्थापनका साथै यहाँको संस्कार, संस्कृति तथा रहनसहन, योग शिक्षा, अतिथि आदर सत्कारलगायतका विषयवस्तु समेटेका छौँ”, नगरप्रमुख भुसालले भन्नुभयो । उहाँले पाठ्यक्रममा समग्र कावासोतीभित्रको आर्थिक, सामाजिक, भौतिक तथा शासकीय पक्ष, वनवातावरण, आचरण, बानीव्यहोरा, जनसाङ्ख्यिक अवस्थाका बारेमा जानकारी दिएको बताउनुभयो । विद्यार्थीलाई कक्षा कोठाभित्र पढाएर मात्रै नहुने भएकाले व्यवहारिक सिकाइ प्रदान गर्नुपर्छ भन्ने उद्देश्यले स्थलगत सिकाइलाई स्थानीय पाठ्यक्रममा अनिवार्य गरिएको नगरप्रमुख भुसालले बताउनुभयो । कावासोतीका नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीले विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्रै नभई व्यवहारिक ज्ञान प्रदान गर्ने र अनिवार्य सीप सिकाउने गरी स्थानीय पाठ्यक्रमका विषयवस्तु तयार पारिएको बताउनुभयो । “हामीले तयार पारेको स्थानीय पाठ्यक्रमको अध्ययन–अध्यापन नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा सुरु भइसकेको छ”, शिक्षा अधिकारी भण्डारीले भन्नुभयो, “नगरभित्रका केही विद्यालयले स्थानीय पाठ्यक्रममा आधारित हुँदै व्यवहारिक ज्ञान प्रदान गर्न स्थलगत सिकाइका लागि विद्यार्थीलाई जोड्न सुरु गरिसकेका छन् ।” यहाँका विद्यालयले व्यवहारिक सिकाइअन्तर्गत नगरपालिका कार्यालय, यहाँका धार्मिक र पर्यटकीयस्थल, प्राकृतिक सम्पदा, सांस्कृतिक सम्पदामा अवलोकन भ्रमण गराइसकेका भण्डारीले बताउनुभयो । कावासोती नगरपालिका शिक्षा शाखा अधिकृत राजन पाण्डेले नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रमअनुसार अहिले नगरका विभिन्न विद्यालयले स्थलगत सिकाइमा विद्यार्थीलाई संलग्न गराउने सिलसिला बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “केही विद्यालयले नगरपालिका कार्यालय, केहीले पर्यटकीयस्थल, सार्वजनिकस्थल तथा सामाजिक सङ्घ संस्था, धार्मिकस्थल, स्वास्थ्य संस्थामा स्थलगत अध्ययन तथा अवलोकन गराएर स्थानीय पाठ्यक्रममा समावेश व्यवहारिक ज्ञान प्रदान गर्ने विषयलाई सार्थकता दिँदै छन् ।” नगरपालिकाले कक्षा ८ सम्मका विद्यार्थीका लागि अनिवार्य विषय बनाएर एक सय पूर्णाङ्कको पाठ्यक्रम नै लागू गरेको हो । पाठ्यक्रम लागू भइसकेपछि आगामी दिनमा व्यवहारिक सिकाइको सिलसिला नियमितरूपमा नै सञ्चालन हुने पाण्डेले बताउनुभयो । नगरपालिकाले राष्ट्रिय पाठ्यक्रममा आधारित हुँदै स्थानीय पाठ्यपुस्तक निर्माण गर्ने कार्य गरिहेको पाण्डेको भनाइ छ । यसै शैक्षिकसत्रभित्र कक्षा ३ सम्मको स्थानीय पाठ्यपुस्तक लेखनकार्य सम्पन्न गर्ने गरी काम भइरहेको पाण्डेले बताउनुभयो ।
बागलुङ: उच्च पहाडको शिरमा छ रिगताल । चिसो हावापानी, शान्त वातावरण र मनै लोभ्याउने चराचुरुङ्गीको चिरबिर आवाज । आन्तरिक पर्यटकको चहलपहल भइरहने पातीहाल्ने र रिगताल यतिबेला धेरै पर्यटकलाई स्वागत गर्न कुरिरहेका छन् । निसीखोलाको शिर मानिने रिगतालबाट देखिने मनमोहक दृश्यले हजारौँलाई लोभ्याएको छ । पातीहाल्ने र रिगतालको सौन्दर्यसँग रमाउन पछिल्लो समय दैनिक सयौँ पर्यटक यहाँ आउने गरेका छन् । गण्डकी प्रदेशको निसीखोला गाउँपालिका र लुम्बिनी प्रदेशको पूर्वीरुकुमको सिमानामा रहेको यो ताल निसीखोला गाउँको चिनारीका रूपमा लिइन थालिएको छ । जब राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडियो, तब यसको प्रचार–प्रसार तीव्ररूपमा हुन थाल्यो । गोठालेले पानी पिउन प्रयोग गर्दै आएको रिगताल पर्यटकीय गन्तव्यका रूपमा विकास हुने परिकल्पना स्थानीयवासीले गरेका थिएनन् । अहिले यो क्षेत्र नै पर्यटकका लागि आकर्षणको केन्द्र भएको छ । सो क्षेत्रमा पुस–माघमा पर्यटक गाडी लिएरै हिउँ खेल्न र वैशाख, जेठ र असारमा गर्मी छल्न र हरियाली प्रकृतिसँग रम्न जाने गर्छन् । स्थानीय विकास घर्तीमगर लोकमार्ग कालोपत्र भएपछि यहाँ पर्यटकको आगमन बढेको बताउनहुन्छ । “पहिले–पहिले त यहाँ खासै मान्छे आउँदैनथे, यो ठाउँमा गोठालाले भेडाबाख्रा र गाईभैँसी चराउने गर्थे, मोटरबाटो कालोपत्र भएपछि त दैनिक सयौँ मान्छे गाडी लिएर घुम्न आउने गरेका छन्, अहिले त ताल पनि राम्रो बनेको छ, पहिलेको जस्तो छैन ।” यहाँ अहिले सडकले गर्दा बस्ती विस्तार हुन थालेको छ । उहाँ भन्नुहुन्छ, “अझै पनि यहाँबाट गोठालाले पानी भरेर उपयोग गर्ने गर्छन्, यो अहिले व्यवस्थित भएको छ, गाउँपालिकाले संरक्षण गर्न थालेको छ, पर्यटक आउन थालेका छन् ।” पातीहाल्ने मध्यपहाडी लोकमार्गमै पर्छ भने रिगताल पातीहाल्नेबाट १५ मिनेट उत्तरतर्फ पर्छ । अहिले उक्त तालसम्म पुग्नका लागि निसीखोला गाउँपालिकाले सडक निर्माण गरेको छ । जसले गर्दा पैदल र गाडीमा पनि सहजै तालमा पुग्न सकिन्छ । ताललाई व्यवस्थित गराउनका लागि निसीखोला गाउँपालिकाले पूर्वाधार निर्माण गर्न थालेको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताउनुभयो । गाउँपालिकाले यस क्षेत्रको प्रचार–प्रसार र पूर्र्वाधार निर्माणका गर्न थालेको अध्यक्ष घर्तीमगरको भनाइ छ । उहाँले यसको विकासका लागि डिपिआर तयार पारेको, तालसम्म पुगको सडकलाई व्यवस्थापन गर्ने र ताललाई फराकिलो बनाउने योजना बनाएको बताउनुभयो । “ताललाई थप आकर्षक बनाउन केही फराकिलो बनाउने, त्यस वरपर व्यवस्थित पार्क निर्माण गर्ने गरी योजना बनाएका छौँ, केही काम भएका छन् भने थप कामका लागि अबको बजेटबाट गर्ने छौँ, यहाँका समस्या समाधान गरेर यस क्षेत्रको विकास गर्ने खाका तयार पारिसकेका छौँ, केही समयपछि यहाँ पूर्वाधार निर्माण हुनेछन् ।” रुकुमपूर्वको सदरमुकाम रुकुमकोटबाट घुम्न आउनुभएका प्रवेश केसीले सामाजिक सञ्जालमा जिकै भाइरल भएकोले हेर्न आएको बताउनुभयो । उहाँले यो ठाउँमा आउने सडक पनि राम्रो भएको हुँदा बिदाको दिनमा घुम्न आउन सकिने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “ यो ताल निकै रमणीय रैछ, मैले त फेसबुकमा देखेको थिएँ, अहिले यहाँ प्रत्यक्ष उपस्थित भएर घुम्न पाउँदा निकै ‘एक्साइटेड’ भएको छु ।” रिगतालको नाम खासगरी मगर खाम भाषाबाट बनेको हो । ‘रि’ को अर्थ पानी र ‘ग’ को अर्थ गहिरो अर्थात् एकै ठाउँ जमेको भन्ने बुझाउँछ । यस तालबाट बागलुङ जिल्लाको विभिन्न स्थान, रोल्पा, रुकुम, गुल्मी, प्युठान, अर्घखाँची, पर्वतलगायतका ठाउँको दृश्य देख्न सकिन्छ । अन्नपूर्ण, धवलागिरिलगायतका दर्जनौँ हिमशृङ्खला र उच्च पहाडी क्षेत्रको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।
पोखरा: ल्याण्डफिल्ड साइड व्यवस्थापनका लागि उपयुक्त स्थानको खोजी गरिरहेको पोखरा महानगरपालिकाले सामाजिक सञ्जालहरूमा गरिएको हल्ला जस्तो तत्काल कुनै पनि स्थानका बारेमा निर्णय गरिनसकेको महानगरका प्रमुख धनराज आचार्यले स्पष्ट पार्नुभएको छ । ‘आगामी जनवरी १ बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने कुरा हामी सबैलाई थाहा छ, त्यसका लागि पोखरा महानगरपालिकाले व्यवस्थापन गर्नुपर्ने ल्याण्डफिल्ड साइडको व्यवस्थापन हाम्रा लागि चुनौतीको विषय हो, प्रमुख आचार्यले भन्नुभयो, अहिलेसम्म हामीले विभिन्न सात स्थानको अध्ययन गरिसकेका छौँ, तर यही ठाउँ भन्ने कुराको निर्णय भैसकेको छैन, स्वाभाविक रूपमा हामी धेरै ठाउँमा हेर्न गइरहेका छौँ, स्थानीयहरूले अनुमान लगाउनु भएको छ, शङ्का गर्नुभएको छ, यहाँ त्यहाँ भनेर सामाजिक सञ्जालमा चर्चा गरिएको छ, तर हामीले ल्याण्डफिल्ड साइड व्यवस्थापन गर्ने स्थानको यकिन गरिसकेका छैनौँ ।’ निर्णय भैनसकेको विषयमा अनावश्यक रूपमा सामाजिक सञ्जालहरूमा भ्रम छर्ने काम नगर्न उहाँले सम्बन्धित सबैलाई आह्वानसमेत गर्नुभयो । तर, हाल पोखरा १४ को ल्याण्डफिल्ड साइडमा जसरी डम्पिङ गर्ने गरी फोहोरको व्यवस्थापन नगरिने उहाँले स्पष्ट पार्नुभयो । ‘साँचो कुरा के हो भने अहिले हामीले वडा नं। १४ मा जस्तो गरेर डम्पिङ साइड बनाउने होइन, अव जुनसुकै साइडमा राखे पनि त्यसलाई व्यवस्थित हिसाबले प्रशोधन केन्द्र सहित राखिन्छ, त्यो औद्योगिक क्षेत्र भित्र पनि राख्न सकिन्छ, बस्ती कै बिचमा पनि राख्न सकिन्छ, त्यस कारण यसको विषयमा तर्सनु पर्ने कुनै कारण छैन, प्लान्ट कस्तो राख्ने भन्ने विषयमा सार्वजनिक सुनुवाइ नै गरेर हामीले जानकारी गराउँछौँ ।’ तर, निर्णय नै नभएको कुरालाई अतिरञ्जित गरी नागरिकहरूमा भ्रम सृजना गर्ने कार्य तत्काल बन्द गर्न उहाँले सचेत गराउनुभयो । पोखराको फोहोर व्यवस्थापन देखी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्मका महत्त्वपूर्ण कुराहरू सारा पोखरेलीहरूको साझा विषय भएकाले सबैको साथ र समर्थन आवश्यक पर्ने उहाँले बताउनुभयो । राजनीतिक दल, स्थानीय सामाजिक सङ्घसंस्था, नागरिक समाज सबैले यसको अपनत्व लिने गरी महानगरले काम गर्ने प्रमुख आचार्यले बताउनुभयो । क्यालीब्रेसन फ्लाइटको अन्तिम तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आफूहरूले पुरै सहयोग गर्ने उहाँले प्रतिबद्धता समेत जाहेर गर्नुभयो । ‘हाल रिठ्ठेपानीको डाँडा कटानको काम भइरहेको छ, त्यहाँको माटोले हाल सञ्चालनमा रहेको ल्याण्डफिल्ड साइड पुर्ने काम जारी छ, केही दिनमा क्यालीब्रेसन फ्लाइट समेत हुदैँछ, प्रमुख आचार्यले भन्नुभयो, हामी ल्याण्डफिल्ड साइडको व्यवस्थापन गर्ने क्रममा छौँ, यसो गर्दा केही अल्पकालीन र केही दीर्घकालीन हिसाबले ल्याण्डफिल्ड साइडको व्यवस्थापन गर्दैछौँ ।’ सुरुमा अल्पकालीन र पछि दीर्घकालीन व्यवस्थापन गरिने बताउँदै उहाँले विमानस्थल सञ्चालनका लागि कुनै हालतमा व्यवस्थापन गर्ने उहाँले अठोट व्यक्त गर्नुभयो ।
पोखरा: आँखैमा ठोकिने अन्नपूर्ण हिमशृंखला । गाउँ मुन्तिर अविराल बगिरहने मादी । पूर्वतर्फ बडेमानको पलेंची अनि पश्चिमतर्फ झिजेंं डाँडा जसको कारण ताङतिङमा ढिलो घाम लाग्छ अनि दिउँसै डुब्छ । कास्कीको कर्नाली अर्थात् उत्तर– पूर्वी भेग जहाँ केहि दशक अघिसम्म मोटरबाटो पुगेको थिएन । टेलिफोन सुविधा थिएन । कास्की कै अत्यन्त विकट मानिने यस गाउँबाट पोखरा पुग्न पुरै दिन लाग्थ्यो । २० को दशकको अन्ततिर त्यसै गाउँमा बेद बहादुर गुरुङ जन्मिए । पोखरादेखि जम्मा २७ किलो मिटर मात्र भएतापनि गाउँ र विकासको दुरी कयौं माइल टाढा थियो । गाउँमा अभाव थियो । अस्पताल थिएन । राम्रो स्कुल थिएन । त्यस्तो विकट भूगोल जन्मिएको युवाको सपनाको आकार शायदै ठुलो हुन्छ । तिनै युवाहरुको भिडमा बेद बहादुर अर्थात् श्याम गुरुङ पनि एक थियो । ‘जुन भूगोलमा घाम नै १० बजेपछि लाग्छ अनि ३ नबज्दै घाम डुब्छ । त्यहाँका मान्छेले देख्ने सपना नै के ठुलो हुन्थ्यो र ? ’ बेद बहादुर सम्झिन्छन् । अन्याय, अत्याचार, शोषण, दमन, अभाव अनि असमानताले विद्रोह जन्माउछ । समयको रोटे पिङ घुम्दै जाँदा तत्कालिन पञ्चायतको घोचाइले बेद बहादुरको दिमागमा बिद्रोहको चेत भरिदियो। दौतारीहरु लाहुरे भएर गए तर बेद बहादुर लाहुर जान मन लागेन । बरु मार्क्स–एंगेल्सद्वारा लिखित घोषणापत्रले तान्न थाल्यो उनलाई । विकट भूगोलमा जन्मेका उनलाई मुक्तिको सपना देख्न थाले । फलस्वरूप आठ कक्षा पढ्दा पढ्दै बि.स. २०४५ सालमा अखिलमा आवद्ध भए । ०४६ को आन्दोलनमा भाग लिए । पञ्चायत नै अन्याय, अत्याचार, शोषण, दमन, अभावको जड हो भन्ने कुरा बुझ्न थाले अनि पञ्चायत बिरुद्द भोकै लडे । त्यसपछि बल्ल उनले सपना देख्न थाले – मुलुकलाई सहि दिशामा लैजान राजनीतिमा होम्मिने । बुबा टेकशाही गुरुङ र आमा काँबिरी गुरुङको कोखमा बि.स. २०२७ साल जेठ २३ गते शुक्रबार तत्कालिन नामर्जुङ गाबिस वडा नम्बर ५ पण्डित टोल हालको मादीगाउँपालिका वडा नम्बर २ ताङतिङमा जन्मेका थिए । उनका बुबाले देहरादुनमा अध्ययन गरेर फर्केपछि गाउँको हेडमास्टरको रुपमा काम गरेका थिए । सोही विधालयमा उनले प्राथमिक तहसम्म पढे । त्यसपछि करिब १ बर्ष दैनिक ४ घण्टा हिडेर नजिकको गाउँमा पढे । एस एल सी भने पोखरा स्थित अमर सिंह माबिबाट उतिर्ण गरेका थिए । देशमा प्रजातन्त्र पुनर्स्थापना भएपछि बि।स। २०४८ सालमा उनका बुबा टेकशाही गुरुङ नेपाली कांग्रेसका तर्फबाट तत्कालिन नामर्जुङ गाबिसका अध्यक्ष बने । पारिवारिक पृष्ठभूमि कांग्रेस भएका बेद बहादुरले सुरुमा घरबाटै बिद्रोह गरे । कम्युनिस्टका झण्डा बोकेर हिडे । गाउँ गाउँमा कम्युनिस्टका पर्चा बाँड्न थाले । बुबा मात्र नभई उनका काका मेजर दिपक गुरुङपनि कांग्रेसका पूर्वसांसद थिए । बालक अवस्थादेखि नै चनाखो, तीक्ष्ण, अध्ययनशील, निडर, फरासिला स्वाभावका बेद बहादुर कम्युनिस्ट विचारधाराबाट निकै प्रभावित भए । त्यसपछि उनी कम्युनिस्ट आन्दोलनमा होम्मिए । उनी बि.स. २०४५ सालमा अनेरास्ववियु एकताको पाँचौ प्रारम्भिक कमिटी सदस्य थिए । त्यसपछि बि.स. २०४६ देखि ४८ सम्म अनेरास्ववियु कास्की जिल्ला कमिटीको सदस्यको रुपमा काम गरे । बि.स. २०४८ मा प्ररायु संघ कास्की जिल्ला कमिटीको सदस्य भए । बि.स. २०५२ मा नेकपा एमाले कास्की जिल्ला ईलाका नं ५ को उपसचिव भएर आफ्नो जिम्मेवारी पुरा गरे । युद्धकालिन समयमा पनि उनले पार्टीको लागि सक्रिय राजनीति गरेका थिए । पार्टीमा इमान्दार, निडर र कुशल संगठकको रुप परिचित छन् । पञ्चायतविरुद्धको आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्दै विद्यार्थी जीवनबाटै राजनीतिमा होमिएका बेद बहादुरले बि.स. २०५८ सालमा नेकपा एमाले कास्की जिल्ला ईलाका नं ५ को सचिवको रुपमा काम गरे। बि.स. २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले राजनैतिक ‘कु’ गरेर निरंकुश शासनको सुरुवात गरे । सम्पूर्ण राजकीय अधिकार आफ्नो हातमा लिई राजनीतिक सहमतिका आधारमा बनेको सरकारलाई अपदस्थ गरे । जनताका मौलिक अधिकार निलम्बन गरे । राजाको यस कदमबाट असह्य भएपछि सम्पुर्ण राजनैतिक दलका नेता अनि जनता सडकमा निस्किए । त्यो हुलमा उनी पनि थिए । ०६२÷०६३ सालको आन्दोलनमा उनले अग्रणी भूमिका नै खेले । प्रहरीको लाठ्ठीले घाइते भए । प्रहरीले फालेको दर्जनौं सेल आश्रु ग्यासको प्रहार थेगे । ०६२÷०६३ सालको आन्दोलनमा उनी २१ दिन हिरासतमा बिताएका थिए । उनी बि.स.२०६४ मा नेकपा एमाले कास्की जिल्ला कमिटी सदस्य बने । त्यसपछि क्रमशः २०६६ मा नेकपा एमाले कास्की जिल्ला सचिवालय सदस्य, बि।स।२०६७ मा नेकपा एमाले रास्टृय प्रतिनिधि परिषद निर्वाचित सदस्य र बि.स.२०६८ देखि नेकपा एमाले गण्डकी अञ्चल कमिटी सदस्य बनेका थिए । बि.स. २०७४ पछि नेकपा गण्डकी प्रदेश कमिटी सदस्यको रुपमा काम गरे भने बि.स. २०७८ मा नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य बने । उनले नेपाल लोकतान्त्रिक तमु संघको सस्थापक संयोजक र संस्थापक महासचिवको रुपमा काम गरिसकेका छन् भने संस्थाको बर्तमान अध्यक्ष पनि हुन् । उनी मादी गाउँपालिकाको संस्थापक अध्यक्ष पनि हुन् । बि.स. २०७४ सालको निर्वाचनमा भारी मतान्तर सहित विजयी भएका थिए। आफ्नो कार्यकालमा त्यस क्षेत्रका सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार निर्माण, नीति निर्माणमा महत्वपूर्ण काम गरेका छन् । कलाकारिता जीवन उनलाई कुशल राजनीतिककर्मी मात्र नभई कलाकारको दृस्टीकोणबाट पनि चिन्ने गर्छन् । राजनीतिसंगै लामो समय कलाकारितामा लागेका बेद बहादुर गुरुङ श्यामले थुप्रै गुरुङ सिनेमामा अभिनय र निर्देशन गरेका छन् । विशुद्द गुरुङ सिनेमा बनाएर गुरुङहरुको संस्कार संस्कृति जोगाउन योगदान पुर्याएका छन् । सिनेमा मात्र नभई गुरुङ संस्कार संस्कृति माथि लेख, रचना, गीत संगीत सिर्जना गरेका छन्। बि.स. २०५२ सालमा बनेको गुरुङ चलचित्र कुहिरो भित्रबाट अभिनय सुरु गरेका थिए । त्यसपछि गोठालोमा अभिनय गरे । गोठालोमा समावेश गरेको आशामारा चुरोट बोलको गीतमा नृत्य गरे जुन चर्चित गायक युक्त गुरुङले गाएका थिए। त्यसपछि उनको कलाकारिताको चौतर्फी गुनगान हुन थाल्यो। पछि आफ्नै निर्देशनमा हाम्रो गाउँ घर नामक गुरुङ चलचित निर्माण गरे । उनले दर्जनौँ चलचित्र निर्माण गरेका छन्। त्यसकै कारण उनी निकै लोकप्रिय छन् । उनले गुरुङ चलचित्रकर्मीहरुको साझा संस्था जिफान अर्थात गुरुङ फिल्म एसोसियसनमा अध्यक्ष रुपमा काम गरेर समेत आफ्नो भाषा, संस्कार अनि संस्कृति जोगाउन योगदान दिएका छन्। उनी जिफानमा दुई कार्यकाल अध्यक्षका जिम्मेवारी बहन गरिसकेका छन् । आसन्न निर्वाचनमा उनी नेकपा एमालेको तर्फबाट उनी चुनावी मैदानमा छन्। कास्की १ ख बाट प्रदेश सभा सदस्यको लागि उम्मेद्वारी दिएका बेद बहादुर ५ वर्षे योजना सुनाउन अहिले मतदाता भेट्न घरदैलोमा व्यस्त छन्।
पोखरा: मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकीका अर्का मन्त्रीपनि बर्खास्त गरेका छन् । उनले मंगलबार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्री कुमार खड्कालाई हटाएका हुन् । कांग्रेसबाट समानुपातिक सांसद बनेर मन्त्री बनेका खड्कालाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको 'ग्रिन सिग्नल' मिलेपछि मुख्यमन्त्रीले हटाएकाे बताइएकाे छ । स्रोतका अनुसार मुख्यमन्त्री र कांग्रेस पार्टी तथा उमेदवारलाई 'असहयोग गरेपछि' उनलाई हटाइएको हो । यसअगाडि बर्खास्तीमा परेका हरिशरण आचार्यलाई चाहिँ प्रचण्डलाई असहयोग गरेको भन्दै हटाइएको थियो ।
पोखरा: कास्की क्षेत्र नम्बर २ (ख) का कांग्रेस उम्मेद्वार विन्दुकुमार थापाले पोखरामा अन्तरराष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माणको पहल गर्ने प्रतिबद्धता जनाएका छन् । यसअघि प्रदेश सरकारले हरेक बजेटमा रकम राखेर पनि काम अघि बढाउन नसकेको सम्मेलन केन्द्र आगामी ५ वर्षभित्र निर्माण गर्न आफुले पहल गर्ने थापाले बताए । ‘गण्डकी प्रदेशको राजधानी पोखरामा अन्तरराष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण गर्न योजनालाई मूर्त रुप दिने काम गर्छु,’ उनले भने, ‘यसबाट पोखराको नयाँ गन्तव्य थपिने छ । सम्मेलन र सभाका लागि आउने पर्यटक बढ्ने छन् ।’ थापाले गण्डकीमा बाह्य लगानी भित्राउन र पर्यटनको विकास गर्नका लागि लगानी सम्मेलन गर्ने प्रतिबद्धता जनाए । यस्तै, पोखराको मुख्य बजार र वरपरका क्षेत्रलाई समेटने गरी चक्रपथको निर्माणमा जोड दिने बताए । ‘सहरी क्षेत्रमा ट्राफिक जाम अत्याधिक बढेको छ । काँठका मान्छेहरुको दैनिकी सीधै मुख्य बजारसँग ठोकिएको छ,’ उनले भने, ‘चक्रपथ निर्माण गरेर गाउँबाट हुने बसाईंसराईं रोक्न पहल गर्छु । यसबाट सहरको विकेन्द्रीकरण हुन्छ ।’ उनले लेखनाथमा निर्माण गर्ने भनिएको बसपार्कलाई अत्याधुनिक रुपमा तत्काल निर्माण थाल्न सम्बन्धित पक्षसँग समन्वय गर्ने बताए । यसैगरि मौजामा हाइ अल्टिच्युड खेल मैदान र स्टेडियम निर्माणका लागि पहल गर्ने थापाको प्रतिबद्धता छ । ‘मौजामा अहिले पनि खेल मैदान निर्माणको क्रम चलिरहेको छ । तर निकै सुस्त काम भैरहेको छ,’ उनले भने, ‘यसलाई तीब्रता दिइने छ । एक हदसम्मको हाइ अल्टिच्युड खेल मैदान यहाँ बन्छ ।’ थापाले भूमिहिन सुकुम्बासीको समस्या समाधान गर्न जग्गाको लालपुर्जा वितरणका लागि चासो दिएका छन् । निस्सा पाएकालाई लालपुर्जा र निस्सा पाउन बाँकीलाई तत्कालै निस्सा दिन आफुले पहल गर्ने थापाको भनाई छ । कास्कीमा सुकुम्बासी समस्या समाधान आयोगले निरन्तर काम गरिरहेको छ ।
कास्की: आम निर्वाचन २०७९ का लागि कास्कीमा ७ जना मतदातालाईमात्रै छुट्टै अस्थायी एक मतदान केन्द्र स्थापना गरिने भएको छ । कास्की कारागारमा कैद सजाय भोगिरहेका ७ जना कैदीबन्दीलाई कारागार परिसरमै अस्थायी मतदान केन्द्र स्थापना गरिने जिल्ला निर्वाचन कार्यालय कास्कीका सुचना अधिकारी रुद्रनाथ न्यौपानेले कास्कीको दुई स्थानमा अस्थायी मतदान केन्द्र स्थापना गरिने बताए । उनका अनुसार कास्की कारागारसँगै जिल्ला समन्यव समितिमासमेत अस्थायी मतदान केन्द्र स्थापना हुनेछ । ‘आसन्न निर्वाचनका लागि कास्की जिल्लामा दुईवटा मतदान केन्द्र तोकिएको छ । जसमध्ये एउटा कास्की कारागार कार्यालय रहेको छ भने अर्काे जिल्ला समन्वय समितिको कार्यालय रहेको छ, प्रवक्ता न्यौपानेले सुनगाभा न्यूजसँग भने, ‘कैदीबन्दीहरुको लागि कारागारमै र मतदानमा नखटिएका बाँकी कर्मचारीले जिससमा मतदान गर्नुहुन्छ ।’ आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कास्की कारागारका ४ जना पुरुष र ३ जना महिला कैदीबन्दीले मतदान गर्ने कास्की कारागार प्रमुख भीमराज कोइरालाले बताए । कोइरालाका अनुसार उनीहरुले प्रतिनिधि सभाको समानुपातिक तर्फमात्रै मतदान गर्न पाउनेछन् । ‘कैदीबन्दीले केन्द्रको लागि समानुपातिक तर्फमात्रै मतदान गर्न पाउने छन्, उनले भने, ‘जिल्ला निर्वाचन कार्यालय कास्कीले कैदीबन्दीको आवश्यक कागजात मागेपछि पठाएका थियौ, जसमध्ये मतदाता नामावलीमा नाम रहेका ७ जनाले मात्रै मतदान गर्न पाउने भएका छन् ।’ कोइरालाका अनुसार मतदान गर्न पाउनेहरुमा लमजुङका नवराज तामाङ, कास्कीका प्रकाश गुरुङ, गोरखाका छ्योतक घ्यान्चोक लामा, मुस्ताङका सुक बहादुर विक, कास्कीकी भिम कुमारी विक र मनु परियार, स्याङ्जाकी सुनिता थापा रहेकी छिन् । हाल कास्की कारागारमा रहेका ८ सय ४८ कैदीबन्दी मध्ये ७ जनाको मात्रै मतदाता परिचयपत्र रहेको छ ।
पोखरा । गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य बर्खास्त भएका छन् । निर्वाचन आचार संहिता उल्लंघन गर्दै आसन्न निर्वाचनका लागि एमाले प्रचारप्रसारमा हिँडको आरोपमा उनलाई मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई पत्राचार गरेपछि उनलाई बर्खास्त गरिएको हो । मन्त्री आचार्यलाई हटाई मन्त्रिपरिषदमा समेत फेरबदल भइसकेको मुख्यमन्त्रीको कार्यालयले जानकारी दिएको छ । गण्डकीमा अहिले ११ मन्त्रालय रहेका छन् । आचार्य २०७८ जेठ २९ मा बिनाविभागीय मन्त्रीमा नियुक्त भएका थिए । पछि असार ११ मा उनलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका थिए । आचार्य गत निर्वाचनमा गोर्खाबाट बाबुराम भटराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीबाट प्रदेशसभामा विजयी भएका थिए ।
पोखरा: आम निर्वाचनमा खटिएका म्यादी प्रहरीले गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचनकै युनिफर्म लगाउँछु भन्दा प्रहरीबाट कुटिएका छन् । घटना कास्कीको हो । बिहीबार जिल्ला प्रहरी कार्यालय कास्की अन्तरगत वडा प्रहरी कार्यालय बैदामका म्यादीलाई पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा युनिफर्म वितरण कार्यक्रम राखिएको थियो । त्यहाँ उपस्थित म्यादीमध्ये केहीले गत बैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा खटिँदा पाएको युनिफर्म नै लगाउने जानकारी गराए । तर जिप्रका कास्कीले भने म्यादीलाई अहिले दिएको युनिफर्म नै लगाउनुपर्ने बतायो । तर जिप्रकाको यस निर्णयप्रति असन्तुष्टी जनाउँदै केही म्यादीले पोशाक भत्तास्वरुप छुट्याइएको ६ हजार रुपैयाँ दिन आग्रह गरे । त्यही क्रममा प्रहरी नायब निरीक्षक (सई) आर पि गौतमसहितका प्रहरीले दुई म्यादीमाथि मुक्कासहित बुट बजारे । कुटाई खाएपछि सुनगाभा न्यूजको सम्पर्कमा आएका म्यादीले भने, ‘मलाई पहिला सुरुमा मलाई हानेको हो । पछिपनि हान्नत हातले हानेको हो तर मैले ब्लक गरे ।’ उनले आफुलाई पहिला हातपात गरेको बताउदै त्यसपछि आफ्नो साथीलाई कुटेको जानकारी दिए । ‘हामी यो देशलाई केही योगदान दिन म्यादीमा आएका हौं प्रहरीको कुटाई खान होइन् ।’ कास्की प्रहरी प्रवक्ता तिवारी भन्छन्– ‘प्रहरी र म्यादीबीच मनमुटाव हुनुपर्ने अवस्था छैन’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले म्यादीलाई प्रहरी हातपात नगरेको बताए । डिएसपी तिवारीले म्यादीको तालिम निरन्तर सञ्चालन भइरहेको बताउदै प्रहरी र म्यादी प्रहरीबीच कुनै मनमुटाव नभएको स्पष्ट पारे । ‘प्रहरी र म्यादी प्रहरीबीच मनमुटाव हुनुपर्ने अवस्था नै छैन । त्यस्तो केही पनि होइन ।’ उनले भने । उनले पोशाक वितरणका क्रममा मादक पदार्थ सेवन गरेर आएका र चोरीको आरोपमा २ जना म्यादी प्रहरीलाई नियन्त्रणमा लिएको जानकारी दिएका थिए । म्यादी प्रहरीहरुले पुरानै पोशाकको प्रयोग गर्ने बताएपनि आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको लागि म्यादीका लागि नयाँ पोशाक आउने भएकाले पोशाक नै वितरण गर्नुपर्ने बताइएको छ ।

