गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बालबालिकाको सर्वाङ्गिण विकासका लागि ख्याल गर्नुपर्ने बताउनुभएको छ ।   उहाँले सानै उमेरमा उनीहरुमा अन्तरनिहित प्रतिभाको पहिचान गरी प्रेरित गर्न जरुरी रहेको उल्लेख...

पोखरा :   कास्की क्षेत्र नम्बर २ (२) मा पोखरा महानगरका वडा नं. ४, ८, ९, ११, १६ र २० पर्छन् । यो क्षेत्रबाट २०७४ को निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार राजकाजी गुरुङ (करण) लाई पराजित गर्दै विन्दुकुमार थापा निर्वाचित भएका थिए ।   गण्डकी प्रदेशका कानुन मन्त्री रहेका थापा फेरि जित्ने दाउमा छन् । थापाको प्रतिस्पर्धा एमाले उम्मेदवार मिना गुरुङसँग हुने देखिन्छ । गुरुङ गण्डकी प्रदेशकी निवर्तमान सांसद हुन् । उम्मेदवारीका कारण, एजेन्डा र भावी योजनाबारे एमाले उम्मेदवार गुरुङसँग गरिएको कुराकानीको अंशः    -कास्की २ (२) बाट उम्मेदवार हुनुहुन्छ, जितको शुभकामना छ । यस्ता शुभकामनालाई सार्थक बनाउने तपाईका कस्ता योजना छन् ?   गएको कार्यकालमा समानुपातिकबाट सांसद हुँदा जनताको रोजीरोटीसँग जोडिने केही काम मैले गरेँ । विकास, योजनाका लागि पहल गरेँ । अझै केही काम अपूर्ण छन्, केही कामलाई अझ प्रभावकारी रुपमा गर्नुपर्ने मैले महसुस गरेँ । यसपालि प्रत्यक्षमा जनताबाट अनुमोदित भएर ती काम पूरा गर्छु भन्ने मेरो संकल्प छ ।    अर्को कुरा महिला सधै समानुपातिकमा मात्रै रहनुहुँदैन । महिलाले योग्यता, क्षमता बढाउँदै समानताका लागि अघि बढ्नुपर्छ । हामी पनि पुरुषसरह जिम्मेवारी बहन गर्न सक्छौं, समाजका लागि, देशका लागि समाजका लागि । यो कुरा प्रमाणित गर्न पनि मैले प्रत्यक्षमा उम्मेदवारी दिन चाहे, पार्टीले मलाई अघि सा¥यो । अहिले म जनताका माग सुन्दै छु, शुभेच्छा लिँदै छु । चुनावको तयारी गर्दै छु ।    -एमालेभित्रै गण्डकी प्रदेशमा देखिएका दुई गुट छन् । तपाईको उम्मेदवारीचाहिँ कसरी सम्भव भयो ?   हाम्रो पार्टीमा गुट, उपगुट छन् भनेर धेरै हल्ला मच्याइएको छ । मेरो नजरमा एमालेमा गुट छैनन्, वैचारिक सम्बन्धका केही समूह होलान् । एउटा जीवन्त र विशाल पार्टीमा दशौं लाख कार्यकर्ता हुन्छन् । हजारौं नेता हुन्छन् । उनीहरुका आकांक्षा, सपना, कार्यशैली फरक हुन्छन् । हाम्रो पार्टीमा विभिन्न अरु स्कुलिङबाट आएका नेता, कार्यकर्ता छन्, विभिन्न क्षेत्र, जाति, समूहका मानिस छ ।   तर पार्टीको उद्देश्य, घोषणापत्र, भावी योजना र कार्यान्वयनमा हामी एक छौं । कतै समस्या छैन । हाम्रो एकताको सामना गर्न अरु सबैजसो दल गठबन्धन बनाएर आउनुपरेको छ । हो, टिकट वितरणअघि हामीबीच प्रतिश्पर्धा थियो, तर पार्टीले निर्णय गरिसकेपछि हामी सबै एक छौं ।   मसँगसँगै टिकटको आकांक्षा राख्नुभएका साथीहरु, मेरो क्षेत्रका नेता, कार्यकर्तालाई तपाईहरुले चुनावी अभियानमा मसँगसँगै देख्न पाउनुहुन्छ । यहाँहरु आफ्नो पार्टीलाई जिताउन लाग्नुहुन्छ । एमालेको शक्ति भनेकै यही हो, आन्तरिक प्रतिश्पर्धा पनि हुन्छ, एकमत भएर पार्टीलाई, आफ्ना उम्मेदवारलाई जिताउन पनि हामी परिचालित हुन्छौं ।   -बहालवाला मन्त्री, स्थापित व्यवसायी, अघिल्लो पटक वाम गठबन्धन हुँदा पनि विजयी बनेका व्यक्तित्वसँग तपाईको मुख्य प्रतिश्पर्धा देखिन्छ । तपाईका जित्ने आधार के छन् ?   गएको कार्यकालमा म समानुपातिकबाट उहाँ प्रत्यक्षबाट सांसद बनेका हौं । दुवैको पद समान हो, जिम्मेवारी समान हो । सरकार बनाउने कुरामा उहाँ कार्यकारी भूमिकामा पुग्नु भयो । हामीले प्रतिपक्षको रुपमा खबरदारी ग¥यौ । जनपक्षीय कामका लागि आवाज उठायौं ।    एउटा महिलाले सधै इमान्दारितापूर्वक, नमुना बनेर काम गर्न सक्छिन् भन्ने देखिने गरी मैले भूमिका निर्वाह गरे । एक्काइसौं शताब्दी, संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि महिलालाई समान अवसर दिइएन भने न सुशासन कायम हुन्छ, न हामीले खोजेजस्तो इन्द्रेणी समाज र समृद्धि सम्भव हुन्छ । मेरो जितका केही कारण छन् । पहिलो मेरो पार्टीले लिएको एजेन्डा हो । एमालेको स्वाभिमानको एजेन्डा, हाम्रो सरकार हुँदा भएका विकास, निर्माणका कामले पनि जनताले हामीलाई मत दिनुहुन्छ ।    म रत्ति घमण्ड गर्दिनँ, घमन्डले मान्छेलाई खुम्च्याउँछ । मैले प्रदेशसभा सदस्य हुँदा पाएका सेवा, सुविधा समाजकै लागि खर्च गरेँ । अझ त्यसमा थप व्यक्तिगत तर्फबाट पनि योगदान गरेकी छु । भलै मैले मेरा अहिलेका प्रतिश्पर्धी माननीयको जस्तो यसको विज्ञापन र प्रचार गरिनँ । समाजमा गरिएको सहयोग मानिसको कल्याण, विकासका लाग हो, त्यसको जस लिएर मेरो व्यक्तित्व निर्माणका लागि होइन । प्रदेशसभा सदस्य बन्नुअघि पनि मैले समाजिक क्षेत्रका काम गरेको थिएँ । मजदूर क्षेत्रमा काम गरेँ । श्रमजीवीको उत्थानका क्षेत्रमा सक्रिय बने । मानिसलाई सीप सिकाएर आत्मनिर्भर बनाउन भूमिका खेलेँ ।  अहिले दलहरुले देशैभर करिब ९ प्रतिशतमात्र महिलालाई प्रत्यक्षमा टिकट दिएका छन् । म घरपरिवार चलाएर, व्यवसाय सञ्चालन गरेर, सामाजिक काम गर्दै यहाँसम्म आएकी एउटी क्रियाशील महिलालाई मेरो क्षेत्रका समझदार, विवेकशील मतदाताले पक्कै न्याय गर्नुहुनेछ । ९ प्रतिशतलाई उम्मेदवारलाई घटाएर ८, ७ मा झार्नुहुने छैन भन्ने अपेक्षा छ ।    कास्कीका मतदाता विशिष्ट प्रकारका हुनुहुन्छ । गएको चुनावमा जिल्लामा एमालेको वर्चश्व थियो । पहिलो संविधानसभामा ३ क्षेत्र माओवादी केन्द्रले जितेको थियो । कुनै बेला सबै क्षेत्र कांग्रेसले पनि जितेको थियो । कास्की सधै कसैको पकड एरिया बनेको छैन ।   एजेन्डा, उम्मेदवार, पार्टी र भविष्यको कार्यभार हेरेर जनतालाई उचित निर्णय हुनुहुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु । हाम्रो विचारकै कारण यत्रो गठबन्धन बन्दा पनि देशैभर हाम्रो माहोल छ । चाहे हामी सरकारमा हौ, चाहे प्रतिपक्षमा, हामीले उठाएको एजेन्डा नै देशको एजेन्डा बनेको छ । एमालेमा प्रवेश गर्नेहरुको भीड छ । नेपाल हाम्रो एजेन्डामा अघि बढ्ने अनि एमालेले हार्ने त्यस्तो होला र ? पक्कै हुने छैन । बेला बेलामा बरु हामी नेताहरु बहकिएको देखिन्छ तर जनताले उचित निर्णय गरेको देखिन्छ ।    -एमाले देशकै ठूलो पार्टीमध्येमा पर्छ, तपाई निवर्तमान सांसद पनि हो । दोहोरिनुको साटो नयाँलाई मौका दिएको भए अझ उचित हुन्थ्यो कि ?   हेर्नुस्, मैले गएको कार्यकालमा सत्ता पक्ष र प्रतिपक्ष दुवैको अनुभव गरेँ । प्रदेशका लागि आवश्यक कानुन बनाउन, संरचना, संयन्त्र बनाउन भूमिका खेलेँ । प्रदेशको जग बनाउने कुरा, त्यही जगमा समृद्धिको खाका कोर्ने कुरा प्रयोग गर्ने कुरामात्र होइन । यसमा नयाँ र समावेशी नेतृत्व पनि आवश्य चाहिन्छ तर अनुभवी, प्रौढ, धैर्यवान् नेता पनि जरुरी हुन्छ । मैले गएको कार्यकालमा लिएको अनुभव, ममा रहेको ऊर्जा, ज्ञान देशका लागि खर्चिन चाहेकी हुँ । म सधै आफैं हुनुपर्छ भन्ने पक्षमा छैन ।    नयाँले पनि मौका पाउनुपर्छ । अर्को कार्यकालमा म फेरि उम्मेदवार बन्दिनँ । पार्टीले बनाएका उम्मेदवारलाई जिताउन, पार्टीलाई जिताउन अग्रमोर्चामा परिचालित हुन्छु । मेरा नेता, कार्यकर्ता, शुभेच्छुकलाई थाहा छ, मिना गुरुङले कहिल्यै पनि मलाई यो पद नभई हुँदैन भनेर दाबी गरेकी छैन । म त भन्छु, देशका सबैभन्दा दिग्गज मानिसहरु राजनीतिमा आउनुपर्छ । राज्य, राज्यकै नीति बनाउने ठाउँ नसुध्रिई, व्यवस्था बलियो हुँदैन, हाम्रा सपना सार्थक हुँदैनन् ।    -तपाई निवर्तमान सांसद हो । सांसदको भूमिकामा गर्न बाँकी कुनै काम केही छन् र, तपाईलाई दोहोरिनुपर्ने आवश्यकता आइपुप¥यो ?   पाँच वर्षमा हामीले प्रदेशको राजधानी तोक्यौं, ऐनहरु बनायौं । प्रदेशका संरचना, कार्यालयहरु खोल्न भूमिका निर्वाह ग¥यौं । अप्रत्यासित रुपमा कोभिड महामारी आयो । महामारीको सामनाका लागि हामीले प्रदेशले ल्याब खोल्यौं, कोभिड अस्पताल बनायौं । गण्डकी विश्वविद्यालय स्थापना भयो । गएको कार्यकालमा हामीले ऐन बनायौं, पूर्वाधारहरु बनायौं, अब कार्यान्वयन गर्ने, प्रदेशको समृद्धि गर्ने, परिणाम देखिने बेला हो । जसले पूर्वाधार बनाएको हो, उसैलाई थप काम गर्न सजिलो होला ।   हामीले योगदान गरेर बनाएको नयाँ सरकार प्रदेश सरकारलाई दरिलो, नमुना र प्रभावकारी बनाउन जरुरी छ । अब प्रहरी ऐन बनाउनु छ, कर्मचारी ऐन बनाउनु छ । आम्दानीका नयाँ स्रोत खोज्नु छ । स्थानीय सरकार र संघ सरकारबीच समन्वय गर्न पनि हामीले भूमिका निर्वाह गर्नैपर्छ । प्रदेश सरकार रहेको र त्यो सरकार प्रदेशबासीको हित, उत्थान, विकास र समृद्धिका लागि क्रियाशील रहेको आभास दिलाउन म मेरो अनुभव, ऊर्जा, सीप, भूमिका, समय लगाउनु भन्ने अठोट गरी म जनतामाझ आएकी हुँ ।    -तपाईको निर्वाचन क्षेत्र कास्की २ (२)मा कस्ता समस्या छन्, यहाँका सम्भावनाका चाहिँ के के हुन् भनी पर्गेल्नुभएको छ ?   मेरो निर्वाचन क्षेत्रमा पोखरा महानगरका ६ वटा वडा पर्छन् । ३ वटा वडा महानगरका पुराना क्षेत्र हुन् । भने बाँकी ३ वडा महानगरमा पछि थपिएका हुन् । यहाँ केही साझा समस्या छन् भने केही ठाउँपिच्छे फरक फरक समस्या छन् । महानगरका पुराना वडा ४, ८, ९ मा पूर्वाधार धेरै काम भएका छन् । आधुनिक महानगरका लागि आवश्यक संरचना बनाउनु जरुरी छ । बिजुलीका तार अन्डरग्राउन्ड गर्ने, ढलको राम्रो व्यवस्थापन गर्ने, पार्किङको उचित प्रबन्ध मिलाउन जरुरी छ । सेती नदीलाई संरक्षण र सौन्दर्यकरण गर्दै यसलाई पर्यटनकीय आकर्षणको रुपमा विकास गर्न जरुरी छ ।    ग्रामीण खालका ३ वडाका बासिन्दालाई साच्चिकै महानगरबासी भएको आभास दिलाउनुपर्ने चुनौती छ । ती क्षेत्रमा राम्रो सडक निर्माण गर्न, चक्ल्याउन जरुरी छ । काहुँ लगायतका क्षेत्रमा खानेपानीकै समस्या छ । उपत्यकाबाट नजिकै रहेर पनि छायाँमा परेका काहूँ, भलाम, लामाचौर, बाटुलेचौरलाई प्रवद्र्धन गर्न जरुरी छ । पोखराका ग्रामीण क्षेत्रमा पनि पर्यटकीय सम्भावनाको खोजी, पूर्वाधार निर्माण र प्रवद्र्धन नगरी यो क्षेत्रको समृद्धि सम्भव छैन ।    कतिपय समस्या हेर्दा सानातिना लाग्छन् तर ती समस्या नसुल्झाई जनजीविका सहज बन्दैन । साँझ पर्न लागेपछि ग्रामीण क्षेत्रतिर जाने सार्वजनिक सवारी पाइँदैन । सडकमा बत्तिको व्यवस्था छैन । पुरानो पोखरा उपत्यकाभित्र चल्ने गाडीले मात्र विद्यार्थीलाई सहुलियत दिएका छन् । पोखराकै ग्रामीण क्षेत्रमा चल्ने सवारीमा विद्यार्थी सहुलियत दिइदैन । त्यसका लागि प्रभावकारी कदम चाल्नुछ । कास्कीका उज्ज्वल नक्षत्र रवीन्द्र अधिकारीको सार्वजनिक यातायातमा सहुलियतका लागि ठूलो योगदान थियो । अहिले विद्या भट्टराई, उहाँकी जीवनसाथी कास्की २ मा हाम्रै पार्टीबाट उम्मेदवार हुनुहुन्छ ।    मानवीय विकासका लागि गर्नुपर्ने काम पनि छन् । दिनहुँ विदेश हिड्ने युवाको लस्करलाई कम गर्दै जानु हाम्रो चुनौती हो। सीप सिकाएर स्वरोजगार बनाउन हामी भूमिका निर्वाह गर्छौं । बाध्यताबस विदेशै जानुपरे पनि सीप सिकेर गए सहज काम पाउने अवस्था बन्छ । अदक्ष कामदारको रुपमा विदेश गएर कष्टकर काम गर्नुपरेको देखिन्छ । हाम्रा गाउँघर रित्तै हुने, बारी बाँझै हुने, हाम्रा युवा मरुभूमिका बगैचा बनाउने, सिसामहल बनाउने यो बिडम्बना अन्त्य नगरी देशको कायाकल्प हुँदैन, समृद्धि सम्भव छैन ।    -सांसदको मुख्य काम कानुन निर्माण हो । गण्डकी सरकारलाई कस्तो बनाउने तपाईको योजना छ ?   गण्डकीको भूगोल, आवश्यकता र हाम्रो भावी पुस्ताको अपेक्षा अनुरुपका योजना र कार्यान्वयन अब जरुरी छ । प्रदेश सरकारको तीखो आलोचना पनि सुनिन्छ । तर तपाई प्रदेशहरुलाई हटाइदिनुस्, संघीयता पूर्ण हुँदैन । दशौं हजारको बलिदानी र लाखौं नेपालको पसिना, त्यागबाट आएको हो संघीयता । शिशु अवस्थामै यसको घाँटी अँचेटी हाल्ने, यो त मानवता भएन नि ? न्यायोचित देखिएन नि ?    स्थानीय सरकार पहिले नै थिए, संघ सरकार पनि थियो । बनाउने, स्थापित नहुँदै उखेलेर फाल्ने दृष्टता गर्नुहुँदैन । होला, हाम्रो प्रदेशका केही कमजोरी छन्, ती कमजोरी हटाउने जिम्मेवारी पनि हाम्रै हो । संसारमा कुनै व्यवस्था पनि निरपेक्ष रुपमा कामयावी छैनन् । अहिले पाँच दलीय गठबन्धनसँग हामी एक्लै लड्दै छौं अनि हामी जित्दै पनि छौं । चुनावपछि उहाँहरु पाँचतिर फर्कनुहुन्छ । हाम्रो विचार, संगठन, कार्यदीशा र कार्यान्वयनको प्रणालीसँग प्रतिश्पर्धा गर्न नसकेर उहाँहरुले मोर्चाबन्दी गर्नु परेको हो । यो जनताको भलाईका लागि होइन कि आफूले पद पाउन गरिएको गठबन्धन हो । त्यो बलियो घेरा तोडेर नेकपा एमालेले प्रदेश र संघ सरकार बनाउँछ र समृद्ध नेपाल र सुखी नेपालीको हाम्रो सपना पूरा गर्छ ।    -तपाई आफ्ना मतदातालाई कुनै के भन्न चाहनुहुन्छ ?   मेरो क्षेत्रका मतदाता मेरो काम, पार्टीको एजेन्डा, मेरो भूमिकासँग परिचित हुनुहुन्छ । लामो समयदेखि समाजसेवा, मजदूर, महिलाको क्षेत्रमा सक्रिय भएँ । गएको कार्यकालमा सांसद बनेर भूमिका निर्वाह गरे । अब प्रदेशको समृद्धिको खाका तयार गर्न तपाईहरुको प्रतिनिधि हुन चाहेकी छु । मंसिर ४ गते यहाँहरुबाट विवेकसम्मत निर्णयको अपेक्षा गर्दछु । 

तनहुँ : मोटरसाइकल दुर्घटनामा परी बायाँ हात भाँचिएकी तनहुँकी एक महिलालाई आज हेलिकप्टर चार्टर गरी उपचारका लागि काठमाडौँ लगिएको छ ।    जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटार निवासी २९ वर्षीय रेणु थापालाई हेलिकप्टरमार्फत् उपचारका लागि काठमाडौँ लगिएको हो । मोटरसाइकलमा सवार हुँदा सल चक्कामा बेरिएर दुर्घटना हुँदा बायाँ हातको पाखुरा भाँचिएको थियो ।    भाँचिएको हात जडान हुनसक्ने दमौली अस्पतालका चिकित्सकले बताएपछि घाइते महिलालाई काठमाडौँ लगिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

पोखरा:   क्याप्टेन विजय लामाले नेपाल सरकारले केही विषयलाई लिएर कसैको व्यवसाय रोक्न नहुने बताएका छन् ।  सोमबार पोखराको लेकसाइडमा बिजिबी कोरियन रेष्टुरेन्टको उद्घाटन गर्दै उनले केही विषयलाई लिएर कसैको व्यवसाय रोक्न नहुने बताएका हुन् ।    पोखरामा आयोजना भएको नवौं खेलकदु प्रतियोगितामा भएको प्याराग्लाइडिङ दुर्घटनालाई लिएर व्यवसाय नै बन्द गराउनु व्यवासयीको लागि उचित नभएको क्याप्टेन लामाले बताए ।  ‘दुर्घटना कहिले हुन्छ कहाँ हुन्छ कसैलाई थाहा छैन् । यसलाई रोक्न न सरकारले सक्छ न व्यवसायीले नै, उनले भने, ‘त्यसैले कुनै विषयलाई कारण देखाएर त्यो व्यवसाय बन्द उचित होइन ।’   नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको दौरानमा प्याराग्लाडिङ खेलको क्रममा त्रिभुवन आर्मी क्लबका निसिम थापाको ज्यान गएको थियो । उनले खेलाडी प्रति समवेदना प्रकट गर्दै राष्ट्रले एक नौजवान खेलाडी गुमाएकाले अब यस्तो दुर्घटना हुन नदिन सबैले यसमा ध्यान पु¥याउनुपर्नेमा जोड दिए ।   उनले पोखरा पर्यटनको हिसाबमा टप ५ मा पर्ने बताउदै यसको विकास र प्रचारप्रसारमा स्थानीय तहदेखि सरकारले विशेष ध्यान दिनुपर्ने धारणा राखे । ‘पोखरा विश्वको टप ५ मा छ । पोखराको पर्यटकको रोजाई मध्येको एक, जहाँ हरियालीदेखि पर्यटकको रोजाईका ठाउँहरु पोखरा र आसपासमै छन् त्यसैले पोखरा टप ५ मा पछ ।’ क्याप्टेन लामाले भने ।   लामाले पोखराको पर्यटकको रोजाईमा हुँदापनि उचित विकासको पूर्वाधार निर्माण हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै भने, ‘देशलाई आर्थिक रुपमा चलायन बनाउन पर्यटन क्षेत्र हो तर यसमा राज्यले उचित ध्यान दिन सकेन । पर्यटकलाई पोखरासँगै मनाङ, मुस्ताङ लगायतका जिल्लामा जोड्न पूर्वाधारको अभाव भएको छ । यसमा ध्यान कहिले पुग्ला? सडकको अवस्था कै कारण पर्यटक विचल्ली हुनु परेको अवस्थामा छ ।’  

पोखरा : नवौं राष्ट्रिय खेलकुदको समापन समारोहमा बोल्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नवौंमा देखिएका समस्यालाई दशौंमा सुधार गर्ने बताए । उनले नवौं खेलकुदले धेरै कुरा सिकाएको र यसलाई खेलकर्मी तथा पदीय जिम्मेवारीमा बसेकाले पनि ख्याल गर्नुपर्नेमा जोड दिए ।    यो प्रतियोगिताले विभिन्न विधाका खेलाडीहरूले स्वस्थ प्रतिस्पर्धाका माध्यमबाट उत्कृष्ट खेलकौशल प्रदर्शन गर्दै उच्च मनोवलका साथ प्रतिस्पर्धामा सहभागी भई पदक प्राप्त गर्ने तथा नयाँ राष्ट्रिय कीर्तिमान बनाउने काम समेत भएको उनले सुनाए ।     नवौंबाट प्राप्त ज्ञान, सीप र क्षमताले आगामी दिनमा अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालको उपस्थिति अझ सशक्त हुनेमा आफु आशावादी रहेको बताए । खेलकुद क्षेत्रको २० वर्षे गुरुयोजना निर्माण तथा खेल विश्वविद्यालय स्थापनाको चरणमा रहेको उनले सुनाए ।   

पोखरा : प्रधानमन्त्री शेरबहादुर देउवाले खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन सरकार प्रतिवद्ध भएको बताएका छन् ।   नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पोखरामा आयोजित समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपाल सरकारले विभिन्न सिमा र अप्ठ्याराका बाबजुद खेलकुदलाई प्राथमिकता दिइरहेको बताए ।   चार दशक पुरानो इतिहास भएको राष्ट्रिय खेलकुद नियमित हुन नसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले आगामी दिनमा राष्ट्रिय खेलकुद लगायतका प्रतियोगिता नियमित तवरमा आयोजना हुने विश्वास व्यक्त गरे ।   राष्ट्रिय खेलकुद खेलाडी, प्रशिक्षक, रेफ्री तथा अन्य प्राविधिक सबैको आफ्नो क्षमता र खेलकौशल प्रदर्शन गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै भने “यसले हाम्रा खेलाडीको खेल कौशललाई थप निखार्दै अन्तराष्ट्रियस्तरमा हुने विभिन्न प्रतियोगितामा मुलुकको तर्फबाट राम्रो प्रदर्शन गर्न सघाउ पुग्छ । अतः यो निश्चित समयको अन्तरालमा नियमित तवरमा भइरहनु आवश्यक हुन्छ ।”   नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेल र सहभागी खेलाडी संख्याका आधारमा नेपाली खेलकुद इतिहासमा हालसम्मकै ठूलो प्रतियोगिता भएको भन्दै प्रधानमन्त्रीले “प्रतियोगितामा दुई प्रदर्शन खेलसँगै ३६ वटा खेल समावेश गरिएकोमा छ हजार भन्दा बढी खेलाडीले ३९६ स्वर्ण लगायत पदकका लागि प्रतिष्पर्धा गरेका थिए” उनले भने ।  

पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरा रंगशालामा भएको खोखो प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीले स्वर्ण पदक हात पारेको छ । लुम्बिनी प्रदेशलाई १०–१४ को अंकले हराउँदै विभागीय टिमले स्वर्ण पदक हात पारेको हो ।     महिलातर्फ लुम्बिनी प्रदेशले स्वर्ण पदक हात पारेको छ । विभागीय टिम नेपाल आर्मीलाई १८–१६ ले पराजित गर्दै लुम्बिनी प्रदेशले स्वर्ण पदक पाएको हो ।   राउन्ड रोबिन लिग आधारमा भएको खोखो प्रतियोगितामा महिलातर्फ सुदूरपश्चिम र पुरुषतर्फ बागमती प्रदेशले रजत पदक हात पारेका छन् । पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा तेस्रो स्थानका लागि भएको स्पर्धामा महिलातर्फ प्रदेश १ लाई पराजित गर्दै काँस्य पदक जितेको हो ।  पुरुषतर्फ बागमती प्रदेश १ लाई नै हराउँदै बागमती प्रदेशले काँस्य पदक जितेको छ । बागमतीले २८–७ अंकले प्रदेश १ लाई पराजित गरेको हो । असोज ३० देखि सुरु भएको प्रतियोगितामा २ विभागीयसहित ९ टिम सहभागी थिए ।  

पोखरा : पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा सम्पन्न स्क्वास प्रतियोगिताको पुरुष टिम इभेन्टतर्फ गण्डकी प्रदेशले च्याम्पियन बनेको छ ।   आज (बिहिबार) भएको फाइनल खेलमा गण्डकीका अमृत थापामगरले बागमती प्रदेशका अरहान्त सिम्हलाई ११–८, ११–६ र ११– ८ सहित ३–० को सोझो सेटमा पराजित गरे भने टिम इभेन्टमै गण्डकीकै दिपक थापाले बागमतीका अमिर ब्लोनलाई  ११–७, १३–११ र ११– ३ सहित ३–० सो सेटमा हराउदै आफ्नो प्रदेशलाई स्वर्ण पदक दिलाए ।    त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपिएफ र प्रदेश नम्बर १ लाई हराउँदै लुम्बिनी प्रदेश सँयुक्त तेस्रो बन्दै कास्य पदक प्राप्त गरे ।    त्यसैगरि महिलातर्फ बागमतीकी विपना ब्लोन च्याम्पियन बनिन् । उनले सोही प्रदेशकै स्वस्थानी श्रेष्ठलाई ३–१ को सेटमा हाराउँदै ब्लोनले स्वर्ण पदक जितिन् भने बागमतीकी भावना सुनुवार र गण्डकीकी कृष्णा थापामगर सँयुक्त तेस्रो बन्दै कास्य पदक प्राप्त गरिन् ।   पदक विजेताहरुलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायतले पुरस्कार वितरण गरेका थिए ।   यसअघि पुरुषतर्फ व्यक्तिगत विधामा गण्डकीकै अमृत थापामगरले स्वर्ण बागमतीका अरहान्त सिम्ह रजत र सोही प्रदेशकै अमिर ब्लोन र गण्डककीका दिपक थापा सँयुक्त तेस्रो बन्दै कास्य पदक हात पारेका थिए ।   सो प्रतियोगितामा २ विभागीय र ५ प्रदेशको गरि पुरुषतर्फ कुल २५ जना र महिलातर्फ ७ जनाको सहभागिता रहेको थियो ।  

पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत कबड्डीमा डिफेन्डिङ च्याम्पियन त्रिभूवन आर्मी क्लबले दोहोरो स्वर्ण जितेको छ ।     बिहीबार पोखरामा सम्पन्न अन्तिम प्रतिस्पर्धामा पुरुषतर्फ लुम्बिनी प्रदेशलाई ४१–२० पोइन्टले र महिलातर्फ नेपाल पुलिस क्लबलाई ३०–२३ पोइन्टले पराजित गर्दै आर्मीले दोहोरो स्वर्ण जितेको हो ।  । पुरुषतर्फ पराजित लुम्बिनी प्रदेश र महिलातर्फ नेपाल पुलिस क्लबले उपविजेत बन्दै रजत पदकमा चित्त बुझाएका छन् ।     प्रतियोगितामा पुरुषतर्फ सुदुरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब यस्तै महिलातर्फ लुम्बिनी प्रदेश र सशस्त्र प्रहरी बल कास्य पदक विजेता बने ।   प्रतियोगितामा पुरुषतर्फ कर्णाली प्रदेशका मिराप थापा मगर र महिलातर्फ त्रिभूवन आर्मी क्लबकी अनुजा कुलिङ्ग राई उत्कष्ट खेलाडी घोषित जनही ५/५ हजार रुपैयाँसहित मेडल र पमाणपत्र प्राप्त गरे । आर्मी सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि महिला तथा पुरुष दुवै समुहको स्वर्ण विजेता हो ।   यही असोज ३० गतेदेखि शुरु भएको प्रतियोगितामा  महिला तथा पुरुषमा गरि सात प्रदेश र ३ विभागिय गरि १०/१० टिमको सहभागिता रहेको थियो ।

पोखरा : राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले गण्डकीका खेल पत्रकारको प्रशंसा गरेका छन् ।   पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अन्तिम दिन पोखरा रंगशालामा रहेको मिडिया सेन्टरमा पत्रकारसँग भेट गरी गरेको कामको प्रशंसा व्यक्त गर्दै धन्यवाद दिएका हुन् ।   उनले भने–‘नवौं राष्ट्रिय प्रतियोगिता मेरो लागि पहिलो थियो । मेरो नयाँ अनुभवसँगै गण्डकीका पत्रकारहरूले प्रतियोगितालाई सफल बनाउन जुन भूमिका खेल्नु भएको छ त्यो प्रशंसनिय छ ।’   नवौ राष्ट्रिय खेलकुद आफ्ना लागि पहिलो तर यस्ता ठुल्ठूला राष्ट्रिय खेलकुद तथा अन्तर्राष्ट्रिय खेलकुदहरू नेपाली खेलकुद पत्रकारहरूले गरेको कार्य आफूले सधैँ देख्दै र धेरै पटक व्यहोर्दै सम्हाल्दै आएको उल्लेख गर्दै भने–‘ गण्डकी प्रदेशका खेलकुद पत्रकारहरूबाट सन्देश अरू सबै प्रदेशका र केन्द्रका खेलकुद पत्रकारहरूले पनि लिएर जानु हुनेछ भन्ने मैले विश्वास लिएको छु । र उहाँहरूलाई त्यो लिएर जानुहोस् पनि भनेको छु ।’   नवौं राष्ट्रिय खेलकुदमा गण्डकीका पत्रकारहरूले जोश र जाँगरका साथ व्यवस्थित रूपमा कार्य गरेको देख्दा आफू पनि उत्साहित भएको बताउँदै भने–‘अहिले सबै राष्ट्रिय मिडियाका खेलकुद पत्रकारहरूको भनाइ के छ भने– गण्डकी प्रदेशमा कार्यरत खेलकुद पत्रकारहरूले नवौं राष्ट्रिय खेलकुदमा निकै उत्कृष्ट, निकै व्यवस्थित खालको मिडियाको कामलाई तुल्याएको छ भन्ने उहाँहरू सबैको प्रतिक्रिया छ । यो प्रतिक्रियाप्रति म निकै आभारी छु, त्यसका लागि खुसी व्यक्त गर्न चाहन्छु र गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’