गण्डकीः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३ गते गण्डकी प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गत चैत २५ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त हुनुभएका मुख्यमन्त्री अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभामा वैशाख २३ गते विश्वासको मत लिनुहुने भएको हो । मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते दिनको ३ बजे प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने सूचना आजै गण्डकी प्रदेशसभाको सचिवालयमा दर्ता गराउनुभएको प्रदेशसभा सचिव हरिराज पोख्रेलले जानकारी दिनुभयो ।
गण्डकीः गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब आठ हजार दुई सय ७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको छ । सुक्खा याम लम्बिँदा डढेलोका घटना अझै बढ्ने देखिएको निर्देशनालयका वन अधिकृत तिलकबहादुर थापाले बताउनुभयो । हिमालपारिको जिल्ला मुस्ताङबाहेक प्रदेशका दसवटै जिल्लामा डढेलोका घटना भएको निर्देशनालयले जनाएको छ । सबैभन्दा बढी नवलपुरमा झण्डै २५ सय ५३ हेक्टर र सबैभन्दा कम मनाङमा दुई हेक्टर वन क्षेत्रमा डढेलो लागेको हो । सबैभन्दा बढी म्याग्दीमा ८१ र मनाङमा एक स्थानमा डढेलो लागेको वन अधिकृत थापाले बताउनुभयो । नवलपुरमा ८० स्थानमा, पर्वतमा ५५, बागलुङमा ५२, स्याङ्जामा ५२, गोरखामा ५१, कास्कीमा ४५, तनहुँमा २६ र लमजुङमा २४ स्थानमा डढेलो लागेको उहाँको भनाइ छ । नवलपुरपछि सबैभन्दा बढी बागलुङमा १६ सय ८५ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको छ । पर्वतमा १४ सय १६ हेक्टर, म्याग्दीमा नौ सय २२, कास्कीमा सात सय ५०, स्याङ्जामा चार सय ९७, गोरखामा दुई सय १५, तनहुँमा एक सय ८४ र लमजुङमा ५१ हेक्टर वन क्षेत्रमा डढेलो लागेको निर्देशनालयले जनाएको छ । डढेलोले धनजनकोसमेत क्षति निम्ताएको वन अधिकृत थापाले बताउनुभयो । बागलुङको तमानखोला गाउँपालिकामा डढेलो निभाउने क्रममा एक जनाको ज्यान गएको र दुई जना घाइते भएको उहाँको भनाइ छ । ताराखोला गाउँपालिकामा स्थानीयवासीको घरगोठ जलेको र पशुधनको क्षति भएको उहाँले बताउनुभयो । म्याग्दीमा पनि डढेलो नियन्त्रणमा लिने क्रममा एक जना घाइते भएको जनाइएको छ । निर्देशनालयका अनुसार डढेलोबाट नवलपुरमा ८५ क्यूफिट काठ र एक चट्टा दाउरा क्षति भएको छ । वन क्षेत्रमा हुने बोटबिरुवा, वन्यजन्तु, काठ र दाउराको क्षति भने आँकलन नै गर्न नसकिने वन अधिकृत थापाले बताउनुभयो । “डढेलोले वन क्षेत्रमा बर्सेनि ठूलो नोक्सानी भइरहेको हुन्छ, डढेलो अनियन्त्रित भएर मानव बस्तीतिर सर्दा पनि धनजनकोसमेत क्षति हुन्छ”, उहाँले भन्नुभयो । डढेलोले पर्यावरणीय स्वच्छतामा पनि नकारात्मक असर पु¥याइरहेको वन अधिकृत थापाले बताउनुभयो । नेपालमा मुख्य गरी फागुनदेखि जेठसम्ममा डढेलोका घटना बढी हुने गरेको उहाँको भनाइ छ । वन तथा वातावरण मन्त्रालयका उपसचिव प्रकाश थापाले गर्मीयाममा वनमा हुने पातपतिङ्गर र घाँसदाउरा बढी प्रज्वलनशील हुने हुँदा डढेलो छिटो फैलने गरेको उहाँको भनाइ छ । हिउँदे वर्षा नहुनु, हावाहुरीको याम जस्ता कारणले पनि डढेलोले प्रश्रय पाउने गरेको उपसचिव थापाले बताउनुभयो । मानवीय कारणले नै डढेलो लाग्ने गरेको उहाँको भनाइ छ । “५८ प्रतिशत जानीजानी, २२ प्रतिशत लापरबाही र २० प्रतिशत डढेलो दुर्घटनावश लाग्ने गरेको विभिन्न अध्ययनले देखाएको छ”, उपसचिव थापाले भन्नुभयो, “पछिल्लो समय वन व्यवस्थापनका क्रियाकलाप घट्दा पनि डढेलोको प्रकोप बढिरहेको देखिन्छ ।” आगो लगाउँदा घाँस र बुट्यान राम्रोसँग पलाउँछ भनेर व्यक्तिले जानजानी आगो लगाउँदा त्यो अनियन्त्रित भई डढेलोको रुप लिने गरेको उहाँको भनाइ छ । वन डढेलोका बहुअसर रहेको उपसचिव थापाले बताउनुभयो । “डेढेलोले जैविक विविधतामा ह्रास ल्याउनुका साथै वातावरणीय प्रदुषण निम्त्याउँछ”, उहाँले भन्नुभयो, “डढेलो लाग्दा हुने कार्बन उत्सर्जनले जलवायु परिवर्तनमा भूमिका खेलिरहेको हुन्छ ।” डढेलोले माटोको प्राङ्गारिक तत्व नष्ट हुने, जनजन्तुको बासस्थान नासिनेलगायतका समस्या निम्तने गरेको उहाँको भनाइ छ । डढेलोले भू–क्षय, बाढीजस्ता प्राकृतिक विपतका घटना पनि बढाउने उपसचिव थापाले बताउनुभयो । बर्सेनि बढीरहेको डढेलोको प्रकोप नियन्त्रणका लागि राज्यले प्रयाप्त जनशक्ति, उपकरण र स्रोतसाधनको प्रबन्ध गर्नुपर्ने उपसचिव थापाले बताउनुभयो । डढेलो लगाउने व्यक्तिलाई कानुनबाट दण्डित गर्ने गरिएपनि यसमा कमी आउन नसकेको उहाँको भनाइ छ । जनचेतना फैलाउने र प्रचारप्रसारका काम गर्नुपर्ने उहाँले बताउनुभयो । सुक्खायामपूर्व नै डढेलो संवेदनशील क्षेत्रबाट पातपतिङ्गरलगायत जल्ने पदार्थ हटाउनुपर्ने उपसचिव थापाले बताउनुभयो । “वनमा अग्नि रेखाको निर्माण, सरसफाइ जस्ता कार्य नियमित गर्नुपर्छ”, उहाँले भन्नुभयो, “डढेलो नियन्त्रणका लागि जनसहभागिता जुटाउनुपर्छ ।”
पोखरा: कास्की प्रहरीले ड्युटीमा खटिएका प्रहरीलाई हातपात गरेको आरोपमा अरविन थापामगरविरुद्द मुद्धा चलाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माका अनुसार थापामगरले गत ४ गते पोखरा ५ फिर्के पुलमा चेकिङमा रहेका प्रहरीलाई अभद्र व्यवहारसहित हातपात गरेका थिए । त्यसपछि नियन्त्रणमा लिएर उनीविरुद्ध अभद्र व्यवहार कसुरमा मुद्धा चलाइएको प्रहरी निरीक्षक भानु शर्माले बताए । ‘हाइवेलक्षित नियमित चेकिङ योजना अनुसार काम गरिरहेको अवस्था छ । फिर्केपुलमा चेकिङको क्रममा बा ०२०२४ प ३५४८ नम्बरको बुलेट र ग १३ प ८७२ नम्बरको स्कुटर चालक मापसे गरेको अवस्थामा भेटिएपछि नियमअनुसार कारवाही गर्ने क्रममा प्रहरीमाथि नियोजित तवरले हातपात भयो, इन्सपेक्टर शर्माले सुनगाभा न्यूजसँग भने, ‘त्यसपछि हातपात र मुक्का प्रहार गर्ने स्कुटर चालक अरविन थापामगरविरुद्ध अभद्र व्यवहार कसुरमा मुद्धा चलाइएको हो ।’ उनले हाइवेलक्षित नियमित चेकिङ योजनाको कार्यक्रमले निरन्तरता पाउने बताए । कास्की प्रहरीले पछिल्लो समय स्वरुप परिवर्तन गरिएको मोटरसाइकल र मिटरमा चल्न नमान्ने ट्याक्सीहरुमाथि पनि निगरानी बढाएको छ
पोखरा: गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री हरी बहादुर चुमानले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले पुजिगत खर्चको बढाउन सरकारले विशेष ध्यान दिनुपर्ने भन्दै आगामी वर्ष लगानी सम्मेलन गर्ने निर्णय गरे । मन्त्री चुमानले विगत देखिनै प्रदेश सरकारले खर्चदर बृद्धि गर्ने कुरा गर्दे आएको र यो पटक कार्यान्वयन गर्न लागिपर्ने बताए । लगानी सम्मेलनका लागि लगानी सम्मेलन अध्ययन कार्यदलसमेत गठन गर्ने र्निणय गरे । उनले प्राविधिक कमजोरीलाई टेकेर रातो किताबका योजनासमेत कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न कर्मचारीहरुलाई निर्देशन दिए । उनले बजेट खर्च गर्ने परिपाटीमा पनि आगामी आर्थिक बर्षमा सुधार गरेर लैजाने धारणा राखे ।
गाेरखा: हिमपहिरोको कारण गोरखाको बूढीगण्डकी नदीमा ठूलो बाढी आएको गृह मन्त्रालयले जनाएको छ। हिउँ पहिरो खसेपछि गोखराको चुमनुब्री गाउँपालिका(१ स्थित वीरेन्द्रताल फुटेकाले बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको भन्दै गृहले सचेत रहन नदी आसपासका नागरिकलाई आग्रह गरेको हो। ताल फुटेपछि बूढीगण्डकी नदीमा पानीको बहाब उच्च भएको छ। बाढीले नदी आसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार घटनाबारे बुझ्न सामागाउँ चौकीबाट प्रहरी त्यसतर्फ गएको पनि प्रवत्ता भट्टराईले जानकारी दिए।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मौलिकता जोगाएर नेपाली गीत संगीतको संरक्षण र विकास गरिनुपर्नेमा जोड दिनुभएको छ । पोखरामा आयोजित दोस्रो राष्ट्रिय संगीत अवार्डमा बोल्दै उहाँले मौलिक संस्कृति, संगीत र कला विश्वमाझ देशको प्रमुख पहिचान तथा चिनारी बनेको बताउनुभयो । प्रदेश प्रमुख भट्टले भन्नुभयो – ‘विश्व संगीतको बजारमा प्रभाव पार्ने संगीत हामीसँग छ । संगीतकर्मीहरुले नेपाली मौलिक संगीतप्रति मोह बढाउने काम गर्न आवश्यक छ । मौलिकता रहने गरी संगीतलाई समयसापेक्ष विकास गर्नुपर्दछ।’ उहाँले पश्चिमा संगीतको दबदबा भइरहेको बेलामा नेपाली संगीकर्मीहरुले विदेशी संगीतलाई प्रतिस्थापन गरी नेपाली संगीतलाई स्थापित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । देशको पहिचान जोगाइराख्न, राष्ट्रिय एकतालाई सुदृढ गर्न, देश भक्तिभावले नागरिकलाई ओतप्रोत बनाइराख्न तथा भोलिका सन्ततीहरुलाई सहजतापूर्वक हस्तान्तरण गर्न भाषा, संस्कार, संस्कृतिको संरक्षण र सम्वद्र्धन अनिवार्य रहेको प्रदेश प्रमुख भट्टको भनाई छ । ‘गीत संगीतले सजिलै स्रोता र दर्शकको मन र मस्तिकमा प्रभाव पार्न सक्छ । हामीले रचना गरेको गीत संगीतले समाजलाई सकारात्मक सन्देश दिनुपर्छ र त्यसले समाजलाई सही दिशामा डो¥याउनुपर्छ ।’– उहाँले भन्नुभयो । मौलिक संगीतको सिर्जना गर्ने, संगीत क्षेत्रको विकासमा योगदान पु¥याउने र यसलाई अन्तर्राष्ट्रियकरण गर्न महत्वपूर्ण योगदान पु¥याउनुहुने नेपाली संगीतकर्मीहरुमा उच्च सम्मान व्यक्त गर्दै उहाँले देशभरका उत्कृष्ट कलाकारलाई सम्मान गर्ने यस्ता कार्यक्रमको निरन्तरताको कामना पनि गर्नुभयो । ‘अग्रजलाई सम्मान, नयाँ पुस्तालाई प्रोत्साहन’ नाराका साथ आयोजित दोश्रो राष्ट्रिय संगीत अवार्डमा विभिन्न २६ विधामा सर्वोत्कृष्टलाई अवार्ड वितरण गरिएको आयोजक संस्था कास्की खबरका अध्यक्ष ऋषिराम दाहालले जानकारी दिनुभयो । उक्त अवसरमा नेपाली संगीत र कला क्षेत्रमा पत्रकारितामार्फत् योगदान पुु¥याएकोमा पत्रकारहरु रञ्जन अधिकारी, गौरव त्रिपाठी र कमल सरगमलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सागर कार्की, साहिल गायक लगायतका संगीतकर्मीलाई पनि सम्मान गरिएको थियो ।
पोखरा: गण्डकीको संसद् बैठक स्थगित भएको छ । राष्ट्रियगानको धुन सुनाएर संसद् बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो । बैठकमा कांग्रेस र राप्रपाका सांसद उपस्थित थिएनन् । बैठकमा राष्ट्रियगानको धुनसँगै सहिदप्रति एक मिनेट मौन धारण गरिएको छ भने प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको थियो । बैठकमा एमाले, माओवादी र स्वतन्त्र सांसद मात्रै उपस्थित थिए । आजको बैठकमा जीवनाशक विषादी व्यवस्थापन गर्ने विधेयक टेबुल गर्ने कार्यसूची थियो । कांग्रेसले औपचारिक रुपमै बैठकमा सहभागी नहुने जानकारी गराएको थियो भने राप्रपाले कुनै जानकारी गराएको थिएन ।
पोखरा: गण्डकी प्रदेश प्रमुख दिल्लीराज भट्टले आह्वान गरेको प्रदेश सभामा कांग्रेस संसदीय दलले बहिस्कार गर्ने भएको छ । शुक्रबार बसेको संसदीय दलको बैंठकले शुक्रबार दिउँसो ३ बजे बोलाइएको प्रदेश सभा बैंठमा अनुपस्थित हुने निर्णय गरेको हो । नेपाली कांग्रेसले सर्वोच्च अदालतको फैसला नआएसम्म गण्डकीमा संसद बैठक बहिस्कार गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सभामुख कृष्ण धिताललाई ध्यानाकर्षण पत्र पनि बुझाएको छ ।
पोखरा: गण्डकी प्रदेश प्रदेश प्रमुख डिल्लीराज भट्टले वैशाख ७ गते गण्डकी प्रदेश सभा अधिवेशन आह्वान गरेका छन् । मन्त्रीपरिषद्को सिफारिस बमोजिम वैशाख ७ गते शुक्रबार दिउँसो ३ बजे सभा भवनमा अधिवेशन आह्वानका गरेका हुन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख ७ गते विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।

