पोखरा:   गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाको चालु अधिवेशन आज राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य...

काठमाडौँ:    देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।   जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।   दिउँसो देशभर साधारणतया बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।   यस्तै बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।   राति देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

म्याग्दी:   म्याग्दीको मालिका गाउँपालिका–७ बिमको डाडागाउँमा निजी धारासहितको खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ ।   नेपाल पानीको लागि स्वास्थ्य (नेवा) संस्था, मालिका गाउँपालिका र उपभोक्ताको रु ३२ लाख ९७ हजार सात सय ३२ को लागतमा आयोजना निर्माण सम्पन्न भएको हो ।   आयोजनाबाट ५६ घरपरिवार, एक विद्यालय, एक स्वास्थ्यचौकीमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको वडाध्यक्ष टकलाल पुनले जानकारी दिनुभयो ।   तीन सय ३४ जनसङ्ख्या लाभान्वित भएका उहाँले बताउनुभयो । यसअघि सार्वजनिक धारामार्फत खानेपानी वितरण हुने गरेको थियो । घरआँगनकै धारामा नियमित पानी आपूर्ति हुन थालेपछि उपभोक्ताको समयको बचत भएको स्थानीयवासी टुकमान जुग्जालीले बताउनुभयो ।   “धाराबाट पानी ओसार्दा हुने दुःख र झञ्जट हटेको छ”, उहाँले भन्नुभयो, “स्थानीयवासीको दैनिकी र जीवनशैली परिवर्तन भएको छ ।” स्वास्थ्य र सफा खानेपानी आपूर्ति हुन थाले पनि दूषित पानीका कारण हुने स्वास्थ्य समस्या कम हुने अपेक्षा गरिएको छ ।   खानेपानीको व्यवस्थित र मितव्ययी प्रयोगका लागि मिटर जडान गरी हेरालु राखिएको छ । नेवाको रु १७ लाख ४० हजार आठ सय १३, गाउँपालिकाको रु छ लाख दुई हजार छ सय ४९ लगानी भएको आयोजना निर्माणका लागि रु एक लाख ६८ हजार छ सय ९३ नगद सङ्कलन गरेका उपभोक्ताहरुले रु सात लाख ८५ हजार पाँच सय ७७ बराबरको श्रमदान गरेका उपभोक्ता समितिले जनाएको छ ।   आयोजनाको बिहीबार मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुनले शुभारम्भ गर्दै स्वस्थ र स्वच्छ खानेपानी सुविधामा पहुँच बढाउन नेवासँगको साझेदारीमा डाँडागाउँसहित मालिका गाउँपालिकामा छवटा एक घर, एक धारासहितको खानेपानी आयोजना निर्माण भएको बताउनुभयो ।

पोखरा:   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे शनिबार भारतको नयाँदिल्ली उड्ने भएका छन् ।   मुख्यमन्त्री पाण्डेको सचिवालयका अनुसार घुँडाको उपचारका लागि भारतको नयाँदिल्ली जान लागेका हुन् ।   पाण्डे लामोसमयदेखि घुँडासम्बन्धी समस्याबाट ग्रसित थिए । मुख्यमन्त्री पाण्डे उपचारपछि ४ दिनमा नेपाल फर्किनेछन् ।   पाण्डे भारत जाने भएपछि  कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापालाई दिइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।  

म्याग्दी: रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।   आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।   बेनी–जोमसोम–कोरला सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले सडकमा खसेको ढुङ्गा फुटाउन ‘ब्रेकर’सहितको ‘डोजर’ पठाइन लागेको जानकारी दिनुभयो ।   “लोडरले पहिरो र ब्रेकरले ढुङ्गा फुटाउने तयारी गरेका छौँ”, आजै सडक खोल्ने लक्ष्यका साथ काम गरिने उल्लेख गर्दै उहाँले भन्नुभयो ।   स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका निर्माण व्यवसायी, सडक विभागका उपकरण, प्राविधिक र मजदुर पहिरो पन्छाउन परिचालन भएका छन् ।

पोखरा:   गण्डकी प्रदेश सरकारलाई नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिले निजी सवारी साधन (रातो प्लेट) लाई यात्रु ओसारपसार गर्न दिनेगरी कार्यविधि बनाउन लागेको भन्दै २ दिने अल्टिमेटम दिएको छ । महासंघले पोखरामा पत्रकार सम्मेलनमार्फत आफ्ना मागहरु ४८ घण्टामा पूरा नगरे चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने महासंघ गण्डकी प्रदेशका सचिव योगेन्द्र बहादुर केसीले बताए ।    उनले प्रदेश सरकारलाई ७ बुँदे माग राखेको बताउदै तत्काल सरकारले आफुहरुको माग सम्बोधन नगरे यही १३ गतेदेखि आन्दोलमा उत्रने बताए ।   निजी सवारी (दुई तथा चार पाङ्ग्रे) लाई सार्वजनिक सवारी सरह यात्रु ओसारपोसार गर्न बनाउन लागेको कार्यविधीलाई तत्काल खारेज गर्नुपर्ने महासंघको माग छ ।   यस्तै यातायात प्राविधिकरण गठन गरि यातायात सञ्चालनको कार्यविधि तयार गर्न, यातायात मजदुर र व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्न, श्रम आयोग गठन, वैज्ञानिक भाडादर समयानुकुल समायोजन गर्न, सडक सुरक्षा योजना लागू गर्नुपर्ने उनीहरुको माग छ ।   आफ्ना मागहरु तत्काल सम्बोधन नभए यही १३ गतेदेखि सवारी साधन घर तथा ग्यारेजमा राखी लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालन नगर्ने यातायात व्यवसायीको अडान छ ।

म्याग्दी:   राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक दैनिक अवरुद्ध हुन थालेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमाना बैसरी अँधेरीखोलामा पहिरो रोकथामको काम थालिएको छ ।   म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बैसरीको सडकमा खस्ने पहिरो पन्छाएर थप खस्न नदिन ‘रक एङ्करिङ’ प्रविधि प्रयोग गरेर रोकथामको काम थालिएको हो ।   बेनी–जोमसोम–कोरला सडक आयोजना सबइन्जिनियर सोहनजङ्ग कार्कीले सडक माथिको पहाडमा ड्रिलिङ गरेर रड राखी, ढलानसहितको बेस बनाएर पहिरो रोकथामको काम थालिएको हो । रक एङ्करिङ गर्न ३० मिटर ‘ड्रिलिङ’ गरेर धमाधम रड राखिदैछ ।   पहाडमाथि पर्खाल बनाएर पहिरो रोक्ने संरचना बनाउन लागिएको सबइन्जिनियर कार्कीले बताउनुभयो ।   राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी खण्डको ५० भन्दा बढी ठाउँमा पहिरो खस्ने, सहायक खोलाबाट आएको बाढीले बगाउने र कालीगण्डकीले कटान गर्ने समस्या छ ।   बैसरीलगायतका ठाउँको पहिराले स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई आवतजावत गर्न समस्या भएको छ ।

गोरखा:   बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरुलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ ।   सबै वडामा गाउँपालिका, वडा र बैङ्कका कर्मचारीसहितको टोली पुगेर भत्ता वितरण गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।   गाउँपालिकाले समय तालिका बनाएर गाउँमै बैङ्किङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको उहाँले बताउनुभयो ।   “बारपाक सुलिकोट भौगोलिक हिसाबले जटिलता भएको पालिका हो,” अध्यक्ष भट्टले भन्नुभयो, “सामाजिक सुरक्षा भत्ताका लागि असहाय, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिक बैङ्कसम्म पुग्न कठिनाइ हुने भएकाले टोलटोलमै पुगेर वितरण गर्दै आएका छौँ ।”   सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत वितरण गर्नुपर्ने भएकाले गाउँपालिकाले बैङ्कसँग आवश्यक समन्वय गरी टोलटोलमा लाभग्राहीलाई बैङ्किङ प्रक्रिया पूरा गरी भत्ता उपलब्ध गराउने गरेको उहाँको भनाइ छ ।   टोलटोलबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि लाभग्राही खुसी भएका छन् ।   भौगोलिक अवस्थितिअनुसार गाउँपालिकाले प्रत्येक वडामा सामाजिक सुरक्षा भत्ता वितरण टोली परिचालन गरेको छ । हालै गाउँपालिका–४ स्थित सौरपानीबाट भत्ता वितरणको काम सुरु गरिएको छ ।   “बैङ्कसम्म सुरक्षा भत्ताका लागि धाउनुपर्दा एकतर्फ हैरानी खेप्नुपर्ने र अर्कोतर्फ अशक्त र असहाय व्यक्तिले गाडी ‘रिजर्भ’ गरेर आउजाउ गर्नुपर्दा खर्चिलोसमेत हुने गरेको थियो,” अध्यक्ष भट्टले भन्नुभयो ।

म्याग्दी:   अवरुद्ध बेनी–दरवाङ सडक दश दिनपछि खुलेको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा गत असार २८ गते पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।   चौबीस किलोमिटर सो सडक पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिन्छ । सडक अवरुद्ध हुँदा आवतजावत, निर्माण र खाद्यान्न सामग्री ढुवानीका साथै बिरामीलाई अस्पताल पुर्याउन समस्या भएको थियो ।   प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले भन्नुभयो, “सडकखण्डमा जोखिम टरेको छैन, वर्षात् र साँझबिहान आवतजावत गर्दा सतर्कता अपनाउन अनुरोध गरेका छाँै, पहिराले अवरुद्ध हुनेबित्तिकै पन्छाउने प्रयास गरे पनि पहिरो नरोकिएपछि यातायात अवरुद्ध भएका थिए । पहिरो पन्छाएपछि आइतबार साँझदेखि बेनी–दरवाङ सडक खुलेको छ ।”   मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले वैकल्पिक सडकलाई तत्काल बजेटको माग गरिएको र अबदेखि यात्रुलाई सास्ती नहुनेगरी काम गर्न सम्बन्धित निकायमा अनुरोध गरिएको बताउनुभयो ।   सडकदेखि करिब दुई सय मिटरमाथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको जनाइएको छ । उक्त सडकखण्डमा फापरखेत र बाङ्ग्रेपहिरो मुख्य चुनौती मानिन्छ । पश्चिम म्याग्दीको धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनीसँग सो सडकले जोड्छ ।   यसैबीच फापरखेतअन्तर्गतको बेनी–दरबाङ सडकको वैकल्पिक मार्ग खोजिने भएको छ ।   सांसद खमबहादुर गर्बुजाले उक्त सडकको वैकल्पिक मार्गको खोजी भइरहेको बताउनुभयो । उहाँले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत विभिन्न कार्यालय प्रमुखलाई जिल्लाको पहिरोका समस्या समाधान गरिदिन आग्रह गरेको जानकारी दिनुभयो । सडकमार्ग खोल्नुपूर्व नै पहिराको जोखिम थियो ।   पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा वर्षायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको छ ।

पोखरा:   गण्डकी प्रदेशको नीति तथा योजना आयोगको सदस्यमा नवलपुरका दीपक भण्डारी नियुक्त भएका छन् । गत बुधबार बसेको मन्त्रिपरिषदको बैठकबाट योजना आयोगको सदस्यमा नवलुरका भण्डारीलाई नियुक्तलाई गर्दै योगले पूर्णता पाएको हो ।  उनी राप्रपाको कोटाबाट नियुक्त भएका हुन् । नवलपुरको कावासोती नगरपालिका ७ का भण्डारी ग्रामीण विकासमा स्नातकोत्तर हुन् । उनीसँग मध्यविन्दु बहुमुखी क्याम्पसमा पढाएको अनुभव छ ।   योजना आयोगको सदस्यमा नियुक्त भएका भण्डारी चेम्वर अफ कमर्स नवलुरकाका अध्यक्ष समेत हुन् । नीति तथा योजना आयोग गण्डकी प्रदेशको सदस्यमा नियुक्त भएका भण्डारीलाई चेम्बर अफ कमर्शले बधाई ज्ञापन गरेको छ ।   यसअघि पाण्डे सरकारले आयोग सदस्यमा असार २१ गते नेपाल समाजवादी पार्टीको कोटाबाट माया तिम्सिनालाई नियुक्त गरेको छ । उपाध्यक्षमा जेठ १७ गते गोरखाका डा कृष्णचन्द्र देवकोटा नियुक्त भएका थिए ।