काठमाडौं: ड्युटीमा रहेका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपका एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको आरुघाट गाउँपालिका–४ घर भई हाल काठमाडौं सानोभ¥याङ् बस्ने ३७ वर्षीय सन्तोष कुमार धमला रहेका छन् । काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित ट्राफिक प्रहरी वृत्त नयाँबसपार्कबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा प्रहरीलाई नै कुटपिट तथा अभद्र व्यवहार गरेपछि धमलालाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि अभद्र व्यवहार मुद्दामा म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विराटनगर: सुनसरीको बर्जुमा सादा पोसाकमा रहेका २ जना प्रहरीलाई आक्रमण गरी हतियार लुटिएको छ । बर्जु गाउँपालिका-१ शुक्रबारेमा ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण भएको हो । आक्रमणकारीले प्रहरीको साथमा भएको ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेको प्रहरीले जानकारी दिएको छ । हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको सूचनाका आधारमा त्यस सम्बन्धित सूचना संकलन गर्न प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई प्रहरीले खटाएको थियो । सादा पोसाकमा खटाइएका परियार र चौधरी पुग्नासाथ अन्दाजी चार जनाको संख्यामा रहेको समूहले आक्रमण गरेको हतियार लुटेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए । उनका अनुसार सुरुमा काठको चिर्पटले प्रहार गरेर प्रहरीलाई घाइते बनाइएकाे थियाे । आक्रमणबाट प्रहरी जवान परियारको टाउकोमा चोट लागेको छ ।
काठमाडौं: वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाउने भन्दै ९ लाख रुपैयाँ ठगी गर्ने एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका–४ का ५० वर्षीया केशरी श्रेष्ठ रहेकी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार हाल काठमाडौंको सामाखुशी बस्दै आएका ५० वर्षीया श्रेष्ठले आशामाया लामालाई अष्ट्रेलिया पुगेपछि होटलमा काममा लगाइदिने र मासिक तलब ३ लाख रुपैयाँ भन्दा बढी हुने भन्दै ठगी गरेकी थिइन् । अष्ट्रेलिया जान २० लाख लाग्ने भनेर पीडितबाट पटक–पटक गरी ९ लाख रुपियाँ लिई सम्पर्कबिहीन भएपछि श्रेष्ठविरुद्ध निवदेन परेको थियो । पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं: नक्कली नेपाली नोटसहित काठमाडौं महानगरपालिका–१५ स्वयम्भूबाट एक युवा पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा गोरखा नगरपालिका–४ धारापानी घर भई काठमाडौं नागार्जुन नगरपालिका–८ भिमढुङ्गा बस्ने ३८ वर्षीय गौरव थापा रहेकाा छन् । उनको साथबाट १ हजार दरका १ सय थान नक्कली नेपाली नोट र २ थान मोबाईल बरामद गरेकाे छ । स्वयम्भू क्षेत्रमा नक्कली नोटको कारोबार भइरहेको सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो । सो घटनाको बारेमा उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
सप्तरी: सप्तरीको विष्णुपुर गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादवसहित तीन जनाविरुद्व पाँच लाख रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार निज यादवको मिलेमतोमा सेवाग्राहीसँग घुस लिएको आरोप लागेको छ । लेखापाल टेक नारायण यादव र एम.आई.एस अपरेटर विरेन्द्रकुमार यादवलाई दुई लाख रकम र तीन लाख रुपियाँ चेकसहित नियन्त्रणमा लिइएको आयोगको विज्ञप्तिमा उल्लेख छ । भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम जरिवाना सजायको मागदाबी लिई मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।
तनहुँ: तनहुँको प्रहरी चौकी किहुँबाट खटिएको प्रहरी टोलीले ७ जनालाई जुवाखालबाट पक्राउ गरेको छ । भिमाद नगरपालिका–२ धरमपानीका गोपाल कृष्ण सुवेदीको घरमा जुवातास खेलिरहेको अवस्थामा सुवेदीसहित ७ जनालाई गएराती पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी चौकी किहुँबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद २१ हजार ६ सय ६० रुपैयाँ र ३ बुक तास बरामद गरेको थियो अहिले सो विषायमा आवश्यक अनुसन्धा भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।
म्याग्दी: म्याग्दी प्रहरीले लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने पर्वतको जलजला गाउँपालिका–३ बारीबेनी बस्ने २० वर्षीय सुमित परियार रहेका छन् । उनीसँगै अन्य २ जनासमेत रहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी गलेश्वरबाट खटिएको प्रहरीले नगरपालिका–९ गलेश्वरबा उनीहरूलाई पक्राउ गरेको हो । सो विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
पोखरा: पोखरा ८ सिर्जनाचोकस्थित लक्ष्मी होटलबाट प्रकाउ परेका मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसहित सात जुवाडे जनही १ लाख ७५ हजार धरौतीमा छुटेका छन् । जुवाखालबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष लालचनसहित घोरपझोङका इन्द्रबहादुर कार्की, नविप्रसाद थकाली, सिर्जनाचोकका शंकर ज्वारचन, पोखरा महेन्द्रपुलका गुन्ज हिराचन, रामबजारका राजु गुरुङ र रामबजारकै दलबहादुर हिराचन धरौटीमा छुटेका हुन् । अध्यक्ष लालचनसहित सात जनाले जनही २५ हजारको दरले धरौटी बुझाएर छुटेको जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए । ‘सात जनाले २५ हजारको दरले धरौटी बुझाएर छुट्नुभएको छ,’ ढकालले सुनगाभा न्यूजसँग भने । उनीहरुलाई वडा प्रहरी कार्यालय बैदामले पोखरा ८ सिर्जनाचोकस्थित होटल लक्ष्मीबाट जुवा खेलिरहेको अवस्थामा ७ जनालाई ४ लाख ४७ हजार ८० रूपैयाँसहित भदौ ७ गते प्रकाउ गरेको थियो ।
तनहुँ: प्रहरीले तनहुँको बेनीटारबाट एक जनालाई करिब १ किलो गाँजासहित फक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा चितवनको ईच्छाकामना गाउँपालिका–५ का ३० वर्षीय तिलक गुरुङ रहेका छन् । उनलाई तनहुँ प्रहरीले सोमबार बिहान आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट पक्राउ गरेको हो । मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग.२ ख ९१७ नम्बरको बसमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित पक्राउ गरिएको तनहुँ प्रहरीले जनाएको छ ।

